पेचिङ सरेपछिको पहिलो सेमेष्टरको छात्रावास बसाईमा मेरो कुनै रुममेट नभएपनि दोस्रो सेमेष्टरपछि मेरा रुममेट हुन आएका व्यक्ति थिए – कम्प्युटर साइन्स, पहिलो वर्षमा अध्ययनरत इण्डोनेशियन विद्यार्थी, लियोनिद जोन । उनी इण्डोनेशियामा बसोबास गरेका चिनियाँ मूलका परिवारबाट आएका थिए । उनका दाजु पनि पेचिङकै अर्को विश्वविद्यालयमा व्यवस्थापन विषय अध्ययन गर्थे । उमेरमा शायद म भन्दा एक-दुई वर्ष कम उमेरका थिए । हामीले अध्ययन गर्ने विषय फरक फरक भएकोले पढाईका बारेमा त्यति कुरा हुन्थेन । उनी मिलनसार व्यक्ति थिए । हामी एक वर्ष जति सँगै बस्यौं र पछि उनी अर्को कोठामा सरे ।
त्यसपछि मेरा रुममेट हुन आइपुगेका व्यक्ति थिए, ललितकला पढ्न बंगलादेशबाट चीन आइपुगेका विद्यार्थी, हुसेन मोहम्मद ताफिक (थाओ फेई) । पेचिङ ललितकला अध्ययन संस्थानलाई छिङह्वा विश्वविद्यालयमा गाभिएसँगै उनी पनि छिङह्वा विश्वविद्यालयमा आईपुगेका थिए सेरामिक्स कला पढ्न र साथमा मेरो रुममेट हुन पनि । उनी मुस्लिम भएपनि हामी दक्षिण एशियालीहरुको कतिपय रहनसहन भने अरुको तुलनामा नजिक थियो । उनी खाना पकाउने कुराको सौखिन थिए । उनको संगतले मैले थुप्रै बंगलादेशी खानाको स्वाद चाख्ने अवसर पाएँ । उनी माछा पकाउन धेरै मन पराउँथे । हप्ताको दुई तीन चोटि हाम्रो भान्सामा माछाको तरकारी पाकिरहन्थ्यो । उनी एक वर्ष मसँगै बसेपछि दोस्रो वर्ष देखिको उनको पढाई भने पुरानै स्थानमा रहेको ललितकला अध्ययन संस्थानमा हुने भएपछि उनी त्यतै लागे । उनी चिनियाँ केटीसँगको प्रेमसम्बन्धमा थिए र कहिलेकाहीं उनका प्रेमिका हाम्रो कोठामा आइराख्थे । उनले पढाई सकेपछि पनि चीनमै बसिराखे, पछि चिनियाँ केटीसँगै बिहेबारी गरेर हाल दुई छोराका साथमा पेचिङमै बसेर व्यापार व्यवसाय गरिराखेका छन् ।
पछि ललितकला पढ्न आएका श्रीलंकन र चिनियाँ भाषा पढ्न आएका रसियन पनि मेरा रुममेट भए । उनीहरु भने मसँग त्यति धेरै घुलमिल भएनन् । रसियन रुममेटका थुप्रै युरोपियन साथीहरु थिए । एउटा सामान्य झोला बोकेर हाम्रो कोठामा आएका ती रसियन विद्यार्थीको चीन आएको केही महिनामै जीवनशैली धेरै परिवर्तित हुँदै गएको देखेको थिएँ । मसँग कमैमात्र बोलचाल हुने भएपनि उनी निकै ‘स्मार्ट’ जस्ता लाग्थे मलाई ।
हाम्रो ब्याचमा ईञ्जिनियरिङ विषय पढ्ने अन्य विदेशी विद्यार्थीहरुमा नेपालका हरिश भट्ट, पाकिस्तानका हासिब, दक्षिण कोरियाका इन थाइ चन (कम्प्युटर साइन्स), लाओसका तिलोङ (जलस्रोत ईञ्जिनियरिङ), मलेशियाका माई कोसाओ (सिभिल ईञ्जिनियरिङ), मलेशियाका व्हाङ स्रश (जीव विज्ञान) थिए । हाम्रा भौतिकशास्त्रको प्रयोगात्मक कक्षाहरु चिनियाँ विद्यार्थीहरुसँग नभई हाम्रा ब्याचका सबै विदेशी विद्यार्थीको एउटै समूह बनाएर गराइएको थियो ।
चिनियाँ क्लासमेटहरुको छात्रावास भवन हामी बस्ने स्थान भन्दा अलिक पर (दश-बाह्र मिनेटको हिंडाई दूरी) रहेकोले दैनन्दिन जीवनमा त्यति धेरै घुलमिल हुने अवसर हुँदैनथियो । हाम्रो विभागमा र कक्षामा एक मात्र विदेशी विद्यार्थी भएको नाताले पनि बेलाबेलामा उनीहरु बस्ने छात्रावासतिर गइराख्थें । केही चिनियाँ सहपाठीहरु पनि मकहाँ आउँथे । मसँग घुलमिल भएका साथीहरु मध्ये पेचिङ घर भएका ऊ छुन स्यु नामका साथीले मलाई उनको घरमा लगेका थिए । यो सन् १९९९ को गर्मी विदातिरको कुरा थियो । यो मेरो कुनै चिनियाँ परिवारमा गएर बास बसेको पहिलो अनुभव थियो । उनी उनका बुबाआमाका एक मात्र सन्तान थिए । उनले मलाई लिएर घर जाँदा एक विदेशी विद्यार्थीलाई भेटन पाएकोमा उनका बुबाआमा पनि खुशी भए । मेरो लागि त यो झन् खुशीको कुरा हुने नै भयो । वास्तवमा मेरो लामो चीन बसाईमा साथीकै घरमा भए पनि पारिवारिक स्नेहको अनुभूति गरेको त्यो एक मात्र दिन थियो । ऊ छुन स्युलाई घर जाँदा उनी धेरै रमाएको देखें । घरमा हुँदा टिभि सिरियलहरु हेर्न मन पराउँदा रहेछन् । त्यतिबेला चिनियाँ टेलिभिजनहरुमा प्रतिबन्धित ‘फालुनकोङ’ र ताइवानका तत्कालीन राष्ट्रपति लि तङ हुईको ‘दुई राष्ट्र नीति’को भत्सर्ना गरिएका समाचारहरु कानै टट्टाउने गरि प्रसारण भईराखेका थिए । उनी भने ती समाचार च्यानलहरुलाई पन्छाउँदै टिभि सिरियल प्रसारण गर्ने च्यानलहरु खोजिराखेका हुन्थे ।
अध्ययनको पहिलो वर्षको गर्मी विदामा कक्षाका वाङ यान र लि स्यु नामका सहपाठीहरुसँगै पेचिङको चिडियाखाना घुम्न गइएको थियो । त्यस्तै, चिनियाँ सहपाठीहरुका साथमा पेचिङका समर प्यालेस, युयान मिङ युयान पार्कहरु घुम्न गइएको थियो भने हिउँदका बखत केही चिनियाँ सहपाठीहरुसँगै नजिकै रहेको पेचिङ विश्वविद्यालयभित्रका पोखरीहरुमा जमेको हिउँमाथि आइसस्केटिङ गर्न गइएको थियो । हाम्रो कक्षामा एक जना विद्यार्थी मनिटरको रुपमा छानिएको हुन्थ्यो । पहिलो वर्षमा हाम्रा मनिटर सु वेई थिए भने दोस्रो वर्षमा वाङ यान, तेस्रो वर्षमा चाओ च्र र चौथो वर्षमा छन मिन थिए । कक्षाको मनिटर छान्नका लागि चुनाव हुन्थ्यो । यस्तो चुनावमा विदेशी भएपनि उही कक्षाको हुनुको नाताले मैले पनि मनिटरको चुनावमा मत दिएको थिएँ ।
विश्वविद्यालयमा रहँदा विभिन्न खेलकुद प्रतियोगिताहरुमा मेरो खासै सहभागिता रहेन । नेपालमै छँदा पनि मैले स्कूल, कलेजमा खेलकुद प्रतियोगितामा भाग लिइंन । यद्यपि एकचोटि हाम्रो कक्षाका छात्र र छात्राका समूहहरुका बिचमा भलिबल प्रतियोगिता भएको थियो । मैले भलिबल खेलमा खेलाडीको रुपमा सहभागी भएको थिएँ। हाम्रो कक्षामा छात्राको संख्या कम भएकोले मलाई छात्रा समूहमा सहभागी गराइएको थियो ।
म बरु बिहान बेलुकी दौड्न मन पराउँथे । शुरुका वर्षहरुमा बिहानीको समयमा दौडने गरेको थिएँ भने पछिल्ला वर्षहरुमा बेलुकी समयमा दौडने गरेको थिएँ । केही महिना जति विश्वविद्यालयको पश्चिमी स्टेडियममा स्वे च्युन नामका चिनियाँ सहपाठीसँगै दौडने गरें । मङ युयान हाङ र युयान वेन छ्वान नामका चिनियाँ सहपाठीहरु कहिलेकाहीं हाम्रो छात्रावास परिसरमा भएको टेनिस कोर्टमा टेनिस खेल्न आउँथे । मैले पनि यदाकदा उनीहरुसँग टेनिस खेल्ने गरें ।
एकचोटि मङ युयान हाङ नामका चिनियाँ सहपाठीसँगै पेचिङ वानस्पतिक उद्यान घुम्न गएको थिएँ । त्यो स्नातक चौथो वर्षतिर अध्ययन गर्दाको कुरा थियो । वनस्पति उद्यान घुम्ने क्रममा त्यहाँ एउटा बुद्धको मूर्ति देखियो । मेरा चिनियाँ साथीले केही बेर आँखा चिम्लेर केही वर मागे । मैले उनलाई ‘के वर माग्यौ?’ भनेर सोधें । उनले ‘जिआरईको परीक्षा राम्रो होस् र अमेरिकाको भिसा सजिलोसँग लागोस्’ भन्ने वर मागेको कुरा बताए । हुनत त्यतिबेला उनले कम्युनिष्ट पार्टीको सदस्यता लिईसकेका थिए, कम्युनिष्ट पार्टीका सदस्यले सामान्यतया ईश्वर र धर्ममा विश्वास राख्दैनन्, तर कतिपय परम्परागत विश्वास र आस्थालाई राजनीतिक सिद्धान्तले समेत जित्न सक्दो रहेनछ भन्ने मलाई लाग्यो ।
हामीले वानस्पतिक उद्यान घुम्ने काम सकाएपछि हिंड्दै नजिकैको एक सानो डाँडोतिर उक्लियौं । डाँडोको टुप्पोमा पुगेपछि डाँडोको अर्को पाखोतिरबाट ओरालो झर्न थाल्यौं । मान्छे हिंड्ने बाटाहरु त थिएनन्, तर सामान्य गोरेटाहरु भने थिए । परका डाँडाका थुम्कोहरुमा केही चेकपोष्टहरु जस्ता संरचना देख्न सकिन्थे । हामी ओरालो झरेर तल पुग्दा विभिन्न भवनहरु भएको क्षेत्रमा पुग्यौं । त्यो क्षेत्र त सैनिक क्याम्पभित्र पो पर्ने रहेछ । सुरक्षामा खटिएका सैनिकहरुले हाम्रो सोधपुछ गरे । हामीले हाम्रो विद्यार्थी परिचयपत्र देखायौं र बाटो भुलेर यता आइपुगेको कुरा गर्यौं । सैनिकहरुले हामीलाई मुख्य प्रवेशद्वारबाट बाहिर निस्कन मदत गरे । बाहिर निस्केपछि मेरा चिनियाँ साथीले हाँस्दै भने – “तिमीलाई सैनिकहरुले पक्कै पनि कुनै अमेरिकन गुप्तचर भनेर चाहिं शंका गरेनन् ।”
पछि कुओ छिङ पिङ भन्ने चिनियाँ सहपाठीसँग म ऊ ताओ खऊ बजारमा रहेको फिल्महलमा गएर ‘स्पाइडरम्यान’ फिल्म हेर्न गएको थिएँ भने उनीसँगै ग्रेटवाल घुम्न पनि गएको थिएँ ।
विश्वविद्यालयभित्र आफू भुलिन सक्ने स्थानहरु मध्ये एक स्थान पुस्तकालय थियो । हाम्रो विश्वविद्यालयमा नयाँ र पुराना पुस्तकालय भवनहरु थिए । नयाँ पुस्तकालय भवन आधुनिक वास्तुकलामा बनेको थियो, जहाँ चिनियाँ र अंग्रेजी भाषाका पुस्तक, म्यागाजिन, पत्रपत्रिकाहरु प्रशस्त मात्रामा उपलब्ध थिए । म त्यहाँ पढाईका विषयवस्तुसँग सम्बन्धित बाहेक आफ्ना रुचिका विभिन्न विधाका किताबहरुको अध्ययन गर्ने गर्थें ।
हाम्रो छात्रावास भवनको भुईंतल्लामा केही कक्षाकोठाहरु थिए, जहाँ चिनियाँ भाषा पढ्न आएका विदेशी विद्यार्थीहरुलाई पढाइने गरिन्थ्यो । आफ्नै कोठामा बसेर पढ्नुका अतिरिक्त बिहान बेलुकी हामी तिनै कक्षाकोठाहरुमा गएर पनि स्वाध्ययन गर्ने गर्थ्यौं । कहिलेकाहीं चिनियाँ विद्यार्थीहरुले स्वाध्यायान गर्ने ३, ४, ५ नं कक्षाभवनका कोठाहरुमा गएर समेत पढ्ने गरेको थिएँ । ३ नं र ४ नं कक्षाकोठा भवनको बिचबाट गएको सडकको छेउमा केही पत्रपत्रिका टाँस्न राखिएका काठका बोर्डहरु थिए । ती बोर्डमा अंग्रेजी भाषाको चाइना डेली पत्रिका पनि टाँसिएको हुन्थ्यो । ती पत्रिकामा म यदाकदा नेपालको समाचार भेटाउने गर्थें ।
खालि समयमा विश्वविद्यालय परिसरभित्र डुल्नु निकै रमाइलो लाग्थ्यो । ठूलो क्षेत्रफलमा फैलिएकोले एक दुई फन्का मार्दा एक-दुई घण्टा समय सजिलै बित्दथ्यो । विश्वविद्यालयभित्रका विभिन्न वास्तुकला झल्कने भवनहरु, पोखरी, नदी र रुखबिरुवा आदिको सम्मिश्रणले बनेको मोहक वातावरणमा सजिलैसँग भुल्न सकिन्थ्यो । त्यहाँका पोखरीमा पोखिएको चिनियाँ कला र सौन्दर्य आजपर्यन्त मेरो स्मृतिपटमा सजिएर बसेको छ र यसको सम्झनाले मलाई भित्रभित्रै मुग्ध बनाउँछ पनि ।
हाम्रो छात्रावासम एउटा भान्साकोठा रहेकोले समयको उपलब्धता भएसम्म आफैं नेपाली खाना बनाएर खाने गर्थ्यौं । चामल, सागसब्जी, मासु किन्न पन्ध्र मिनेट जतिमा हिंडेर पुगिने विश्वविद्यालभित्रकै चाओ लान युयान बजारमा गएर किन्ने गर्थ्यौं । त्यहाँ कृषि बजार रहेको थियो । एकचोटि तरकारी किन्न जाँदा मैले पैसा लग्न बिर्सेको रहेछु । तरकारीहरु किनिसकेपछि मात्र मलाई यो कुरा थाहा भयो । तरकारी बेच्ने दिदीले यो कुरा थाहा पाएपछि ऊनले मलाई भनिन् – “अहिले पैसा ल्याउन बिर्सेको भए पनि केही छैन, मलाई पछि दिंदा हुन्छ । बरु अन्य कुरा किन्न पैसा छैन भने म सापट दिन्छु । नभन्दै मलाई ती दिदीले अन्य कुराहरु किन्नका लागि पचास युयान उल्टो सापटी पो दिइन् ।
हुनत हाम्रो छात्रावास नजिकै विदेशी विद्यार्तीका लागि एउटा क्याफ्टेरिया रहेको थियो । हामी त्यहाँ विरलै खाना खान जाने गर्थ्यौं । बरु अलिक पर रहेका, चिनियाँ विद्यार्थीहरुका विभिन्न क्याफ्टेरियाहरुमा जाने गर्थ्यौं । ती मध्ये हामी प्राय: जाने क्याफ्टेरियाहरु छिङसी, सात नं, दश नं क्याफ्टेरियाहरु थिए । हाम्रो ब्याचमा एक जना पाकिस्तानी मुस्लिम विद्यार्थी भएकोले कहिलेकाहीं उनीसँगै मुस्लिम विद्यार्थीको क्याफ्टेरियामा गएर पनि खाना खाने गर्थ्यौं । ‘छिङसी’ क्याफ्टेरियामा पाइने माटोको भाँडोमा भात पकाएर त्यसैमा मासु, तरकारी राखेर दिइने खाना मलाई औधी मन पर्थ्यो ।
त्यस्तैगरी, एकचोटि विश्वविद्यालय बाहिर नजिक रहेको सिनतोङफाङ भन्ने स्थानमा पुगेको थिएँ । त्यस स्थानमा चिनियाँ विद्यार्थीहरु विशेषगरी टफेल, जिआरईको तयारी कक्षाका लागि जाने गर्थे । एकदिन डुल्दै त्यता पुग्दा सडकपेटीमा टाइम्स, न्युजविक लगायतका अंग्रेजी म्यागाजिनहरु बेच्न राखिएका रहेछन् । संयोगले त्यसदिन मैले आफ्नो साथमा पैसा लग्न बिर्सिएको रहेछु । पत्रिका बेच्ने पसलेले यो कुरा थाहा पाएर “पैसा पछि आएर दिंदा पनि हुन्छ” भनेर मलाई त्यसदिन आफूले मन पराएका टाईम्स पत्रिकाका प्रतिहरु दिई पठाए ।
हामी पढाई हुने समयमा अधिकांश समय विश्वविद्यालयभित्रै रहने गर्थ्यौं र विरलै बाहिर निस्कने गर्थ्यौं । परीक्षा सकाई सकेपछि बाहिर निस्कँदा शहरका कतिपय भागमा ठूलो परिवर्तन भईसकेको हुन्थ्यो । स-साना झोपडी बस्तीहरु भत्काएर ठूल्ठूला भवनहरु, फराकिला सडकहरु बनाउन थालिएको हुन्थ्यो । छोटो समयमा देखिएका भौतिक परिवर्तनहरुले हामीहरुलाई अचम्मित पार्थ्यो । हामी चीनमा छँदा नै चिनियाँ आर्थिक सुधारका पिताका रुपमा सम्मान गरिने तङ स्याओ फिङको निधन हुँदा समेत एक दिन पनि विदा नदिएको देख्दा अचम्म लागेको थियो । वास्तवमा कामप्रतिको चिनियाँ लगाव र समर्पण साँच्चिकै अद्भूत छ ।
हामीहरुको परीक्षा सकिएपछिको गर्मी र जाडो विदामा छुट्टीको समय लामो हुन्थ्यो । चिनियाँ विद्यार्थीहरु यस विदामा घर फर्कन सक्थे । चीन बसाईको कुनै पनि यस्तो लामो विदामा म घर फर्किंन । कुनै कुनै विदामा भने विश्वविद्यालयले नै विदेशी विद्यार्थीका लागि घुमघामको व्यवस्था मिलाएको हुन्थ्यो । सन् १९९९ को जाडो विदामा यस्तै घुमघाम कार्यक्रम अन्तर्गत संघाई र हांगचाउ शहर घुम्न गइएको थियो । हुनत संघाई र हांगचाउ शहरहरु म थियानचीनमै रहँदा पनि घुम्न गइएको थियो । यसचोटि भने हांगचाउ बाहेक चचियाङ प्रान्तको छ्यान ताओ हु (हजार टापू भएको तलाउ) पनि घुम्न गइएको थियो । यो जलविद्युतका लागि निर्माण गरिएको ठूलो कृत्रिम ताल थियो । थुप्रै स-साना टापूहरु बनेका थिए, तलाउको बिच बिचमा । ती मध्ये कतिपय टापूहरुलाई एक एक विशेषतायुक्त चिनारी दिने किसिमको बनाइएको थियो । जस्तै कुनै टापूमा साँचोहरुको संकलन थियो, कुनैमा सर्पहरुको संकलन गरेर राखिएको थियो । एक टापूबाट अर्को टापूमा जानका लागि डुंगा र स-साना स्टीमरको सहायता लिनुपर्थ्यो ।
चचियाङमै गुफाहरु रहेको अर्को एक स्थानको भ्रमणमा पनि हामी पुगेका थियौं । यसचोटि हांगचाउ जाँदा त्यहाँ अध्ययनरत मेरा ब्याचका दुई नेपालीहरु उमेश अधिकारी र प्रदीप खत्रीसँग समेत मेरो भेट भयो । ऊनीहरुले केही दिन त्यतै बस्न मलाई कर गर्दैथिए, तर म बसिंन, स्कूलको टोलीसँगै फर्किएँ । त्यसैगरी संघाईमा घुमघाम गर्दै गर्दा हाम्रै ब्याचका साथी मदन विक्रम खड्कालाई भेटन थोङची विश्वविद्यालयमा गइयो । त्यहाँ संयोगले हामी भन्दा पछिल्लो ब्याचमा चीन अध्ययन गर्न गएकी तथा पुल्चोकमा डिप्लोमा तह पढ्दाका मेरा सहपाठी निरा राजभण्डारीसँग पनि भेटघाट भएको थियो ।
चीनका अन्य केही स्थानहरुमा अन्य नेपालीहरुसँग घुम्न गएको थिएँ । सन् २००० को जाडो विदामा दक्षिणी चीनको क्वाङसी प्रान्तको नानिङमा चिकित्साशास्त्र अध्ययनरत अनुप सुवेदी पेचिङ घुम्न आएका थिए र एक हप्ता जति मकहाँ बसेका थिए । उनी र म ग्रेटवाल लगायत पेचिङका थुप्रै स्थानहरु सँगै घुमेका थियौं । उनको चीनको श्रीलंकन दूतावासमा काम गर्ने एक जना कर्मचारीसँग मित्रता रहेछ । उनी र म ती श्रीलंकन कुटनीतिज्ञको निवासमा गएर एक रात बसेका थियौं । अनुप र म उत्तरी चीनको हार्बिन शहर घुम्न गयौं । त्यहाँ जाँदा हारबिन इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत नवीन राजभण्डारीको छात्रावासमा गएर बसेका थियौं । त्यतिबेला हारबिनको आईस फेष्टिभल तथा दोस्रो विश्वयुद्ध ताका जापानीले चिनियाँलाई बर्बर यातना दिइएको सम्झना स्वरुप बनाइएको ७३१ नं क्याम्पको भ्रमण गरेका थियौं । हिउँदको निकै चिसोमा हारबिन घुमघाम गर्दा हामीले प्रशस्त लुगा लगाएका थियौं । साँच्चै, निकै जाडो थियो त्यहाँ ।तापक्रम माइनस बीस-तीसमा पुग्नु सामान्य थियो, त्यहाँ ।
अनुप र म हार्बिनबाट पेचिङ फर्केपछि हामीले ऊहानमा अध्ययनरत तीर्थ उपाध्यायलाई पनि पेचिङ बोलायौं ।अनि तीनै जना सिआन घुम्न गयौं । त्यहाँ हामी भन्दा पछिल्लो वर्षमा हाईवे ईञ्जिनियरिङ अध्ययनरत प्रमोद कुमार गुप्ताको छात्रावासमा बसेका थियौं । प्रमोद भाइ पुल्चोकमा डिप्लोमा तहमा अध्ययनरत हुँदा म भन्दा एक वर्ष जुनियर थिए । हामी तीन जनाले टेराकोटा वारियर, छिनस्रहवाङ सम्राटको समाधिस्थल लगायत सिआन शहरका प्रमुख पर्यटकीय गन्तव्यहरुको घुमघाम गरेका थियौं ।
सिआन शहरको घुमघाम सकिए पछि अनुप र तीर्थ आ-आफ्ना स्थानतिर (नानिङ र ऊहान) लागे भने म चाहिं चङचउ (हुनान प्रान्तको राजधानी) तिर लागें । वास्तवमा प्रमोद भाइ त्यतिखेर सिआनमा नभई चङचउमा रहेका थिए र मलाई चङचउ आउनका लागि निमन्त्रण गरे । एक दुई वर्ष अघिदेखि आफ्नै खर्चमा चीनमा चिकित्साशास्त्र पढ्न आउने नेपाली विद्यार्थीहरुको संख्यामा व्हात्तै वृद्धि भएको थियो र सिआन र चङचउमा सयौंको संख्यामा नेपाली विद्यार्थीहरुले चिकित्साशात्र अध्ययन गर्दै थिए । म चङचउ पुग्दा त्यहाँ अध्ययनरत थुप्रै नेपाली विद्यार्थीहरुसँग भेट भयो । पेचिङबाट चङचउ घुम्न गएका मनोजमान श्रेष्ठ दाइसँग त्यहाँ भेट भयो । मनोज दाइसँगै म चङचउ शहर नजिकै रहेको व्हाङ हो नदी र त्यस छेउको पार्क घुम्न गयौं । एक-दुई दिन चङचउमा बसेर त्यहाँबाट म पेचिङ फर्किंए ।
यस बाहेक पेचिङ चिकित्सा विश्वविद्यालयमा अध्ययनरत सिनियर दाइ कमल कोइरालासँग सान्सी प्रान्तको राजधानी थाइयुयान घुम्न गएको थिएँ । उनलाई अस्पतालमा भेटिएका एक बिरामीका आफन्तले त्यता घुम्न बोलाएका थिए । वहाँको साथमा म पनि थाइयुयान घुम्न गएको थिएँ ।
चिनियाँ सहपाठीहरुसँगै घुम्न गइएका स्थानहरु मध्ये पेचिङ शहरको छेउछाउतिर पर्ने येशानफो भन्ने स्थान एक थियो । हामीले त्यहाँ वरिपरिका पहाड, गुफा, नदी र ग्रामीण जनजीवनको अवलोकन गरेका थियौं । पहाडहरु भने पराय: उजाड थिए । नेपालको जस्तो हरियालीपूर्ण पहाडहरु नदेखिए पनि पहाडसँगको हाम्रो आत्मीयता छुट्टै किसिमको छ । त्यहाँ पर्यटकीय पूर्वाधारहरु भर्खरै विकास हुने क्रममा रहेछ । त्यसो त चिनियाँ सहपाठीहरुसँगै भित्री मंगोलिया प्रान्तको छ्रफङ शहरमा गएको थिएँ । यो शहर मरुभूमि नजिकै थियो । मैले पहिलो चोटि मरुभूमि त्यहाँ नै देखेको थिएँ । मरुभूमिको छेउमा केही स-साना तालहरु पनि थिए । हामी त्यहाँ मंगोल जातिहरु बसोबास गर्ने गुम्बज आकारको टेन्टघरभित्र बसेका थियौं । भोलिपल्ट शहर नजिकै रहेको होङ शान सनलिन पार्कमा घुम्न गएका थियौं ।
पेचिङमा बसेकाले हामी बेलाबेलामा नेपाली दूतावासमा हुने साँस्कृतिक वा अन्य जमघटहरुमा सहभागी हुने गर्दथ्यौं । विशेषगरी चीनमा रहँदा हामीले दशैं मनाउने स्थान भनेको नेपाली दूतावास नै हुन्थ्यो । यस बाहेक दूतावासका अन्य औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा आउँदा पनि हामी त्यता जाने गर्दथ्यौं । दूतावासका कर्मचारीहरु रेवतीरमण पौडेल, लोक बहादुर थापा, नेत्र बहादुर थापा, खड्ग प्रसाद दाहालहरुले वहाँहरुको निवासस्थानमा बोलाउनुहुँदा एकदुई चोटि त्यता गएको थिएँ । सन् २००१ मा तत्कालीन राजा वीरेन्द्रले चीनको भ्रमण गर्दा हामी पेचिङमा रहेका पेचिङमा रहेका प्रायजसो: नेपाली विद्यार्थीहरु दूतावासमा गएर उनीसँग भेट्ने मौका पाएका थियौं । त्यस भ्रमणमा राजाका साथमा रानी ऐश्वर्य र राजकुमार निराजन पनि सहभागी थिए । राजा वीरेन्द्र हाइनान प्रान्तमा आयोजित अन्तरराष्ट्रिय पोआओ सम्मेलनमा सहभागी भएर पेचिङ आइपुगेका थिए ।
त्यस्तै, चीनियाँ अन्तरराष्ट्रिय रेडियोमा कार्यरत पुष्प अधिकारी हाम्रो विश्वविद्यालयबाट नजिकै पर्ने फ्रेण्डशिप होटलमा बस्नुहुन्थ्यो र एक दुई चोटि वहाँको निवासमा गएको थिएँ । पछि वहाँको ठाउँमा भाषाशास्त्री माधव प्रसाद पोखरेल आउनुभएको थियो । वहाँलाई भेट्न म र कमल कोइराला दाइ वहाँको त्यसै निवासस्थानमा गएका थियौं । त्यस अवसरमा वहाँले लेख्नुभएका आफ्ना केही पुस्तकहरु मलाई उपहार दिनुभएको थियो । त्यसो त सीमाविद बुद्धिनारायण श्रेष्ठ पेचिङ आउनुहुँदा कमल कोइराला दाइको कोठामा बस्नुभएको थियो र वहाँले हामीलाई ‘नेपालको सीमा’ भन्ने पुस्तक उपहार दिनुभएको थियो ।
हाम्रो विश्वविद्यालय नजिकैको पेचिङ विश्वविद्यालयमा त्यतिखेर सिबी मल्ल दाइ राजनीतिशास्त्रमा स्नात्तकोत्तर तहमा अध्ययनरत हुनुहुन्थ्यो । कहिलेकाहीं म वहाँलाई भेट्न त्यता जाने गर्थें ।वहाँ मार्फत मैले चीनको बसाइका क्रममा नै विपि कोइरालाको ‘जेल जर्नल’, ‘आत्मवृतान्त’, धनुषचन्द्र गौतमको संस्मरणात्मक कृति ‘सम्झनाका गल्छेंडाहरुमा’ पढ्न पाएको थिएँ ।
फुर्सदको समयमा मैले प्राय: जाने भनेका स्थानहरु नेपालीहरु रहेका अन्य विश्वविद्यालयहरु थिए । यसमध्ये सबभन्दा गइराख्ने स्थान भनेको पेचिङ चिकित्सा विश्वविद्यालय थियो । त्यहाँ नेपाली विद्यार्थीहरु धेरै थिए । एकचोटिको गर्मी विदामा त म सिनियर दाइ बद्री पौडेलको कोठामा गएर एक महिना बसेको थिएँ । त्यस विदामा वहाँको कोठा खालि रहन्थ्यो । वहाँले कोठाको साँचो मलाई नै दिनुभएको थियो । त्यस बाहेक त्यहाँ गएर बढी बस्ने गरेको ठाउँ भनेको कमल कोइराला दाइको कोठा थियो । पेचिङ बसाईको क्रममा वहाँ र मेरो एक किसिमको सान्निध्यता गाँसिएको थियो । वहाँ पनि बेलाबखत मकहाँ आईराख्नुहुन्थ्यो । वहाँ र मेरो विश्वविद्यालय बिचको दूरी साइकलमा लगभग आधा घण्टाको थियो । हामी कहिलेकाहीं राति एघार-बाह्र बजे पनि एक अर्काको विशवविद्यालयतिर साईकलमा लाग्ने गर्थ्यौं । रातिको समयमा हिंडडुल गर्दा पनि कुनै डर, भय नलाग्ने किसिमको सुरक्षा चुस्तता थियो पेचिङमा । कहिलेकाहीं म पेचिङ टेलिकम्युनिकेशन विश्वविद्यालयमा पनि जाने गर्थें ।
पछिल्ला वर्षहरुमा हामी बसेको कोठामा टेलिफोन लाइन जडान बए । विस्तारै इन्टरनेट पनि जोडियो । कम्प्युटर पनि किनेपछि नेपालका समाचार लगायत अन्य अन्य विषयमा जानकारी लिन निकै सहज भयो र खालि समय बिताउन पनि निकै सहज भयो । हामीले इन्टरनेटमै अमेरिकाको ट्वीन टावरमा भएको हमला तथा राजा वीरेन्द्रको वंशनाश सम्बन्धी तात्तातो समाचार पढ्न पाएका थियौं ।
आखिर जे होस्, मेरो चीन बसाई भित्री मनदेखि नै खुशी भएर बिताइएका क्षणहरु पक्कै थिएनन् । चीनमा अध्ययन गर्न जाँदाका शुरुवाती वर्षहरुमा भोग्नुपरेको अकल्पनीय परिस्थितिहरुका कारण मेरो समग्र चीनको बसाई एक प्रकारले एक खराब दुस्वप्न थियो जस्तो लाग्छ, आजकल सम्झँदा । त्यसबेला मेरो घरमा केही पारिवारिक समस्याहरु पनि थिए । यी विविध कारणले गर्दा चीनमा रहँदा मेरो अध्ययन अपेक्षाकृत रुपमा राम्रो हुन सकेन । शायद आफ्ना समस्या र पीडाहरु अरुलाई हतपत नभन्ने, नबाँड्ने मेरो अन्तरमुखी स्वभावले गर्दा पनि ती पीडाका चोटहरु मेरो अन्तरह्रदयमा अझ घनीभूत भएर गडिए होलान् जस्तो मलाई लाग्छ । हुनत यस्ता दु:खदायी क्षणहरुले मानिसको धैर्यता र सहनशीलताको परीक्षा लिईराखेको हुन्छ जस्तो पनि लाग्छ ।
पेचिङको विद्यार्थी जीवनमा कहिलेकाहीं भित्री मनमा चरम एक्लोपन र अत्यन्त पीडाको महसुस हुँदा मैले जाने भनेको स्थान यसै कमलपोखरी थियो, जुन पोखरी चीनको छिङ शासन वंशका उत्तराधिकारीहरुका लागि बनाइएको बनाइएको बंगैचाको एक महत्वपूर्ण अंश पनि हो । पोखरीमा फुलेका कमलका फूलहरु, वरिपरिका रुखहरु, पोखरी छेउछाउमा रहेका कलात्मक ढुङगाहरु र पुरानो वास्तुशैलीमा बनाइएको घरले पोखरीको समग्र सौन्दर्यलाई निखारेको थियो । पोखरीको अर्को पट्टिको छेउमा माटोलाई अलिक उठाएर बनाइएका साना ढिस्काहरु थिए । त्यसै ढिस्काको एक कुनामा चु च छिङ नामका एक चिनियाँ कविको सालिक रहेको थियो । पोखरी छेउछाउमा बस्नका लागि लामा मेचहरु राखिएका थिए ।
बेलुकीपख समय ढल्किंदै गएपछि पोखरी छेउछाउका मेचमा आराम गरेर बसेका मानिसहरुको संख्या पातलिंदै जान्थ्यो र पोखरी परिसरको वातावरणमा सन्नाटा छाउँदै जान्थ्यो । मलाई साँझ छिप्पिदैं जाँदा त्यहाँ फैलिएको निरव शान्ति र सुनसान वातावरण साह्रै मन पर्थ्यो । कहिलेकाहीं पोखरीको छेउछाउको मेचमा दुई, तीन घण्टासम्म एक्लै बस्ने गर्थें र आफ्ना पीडाहरुलाई बिर्सने प्रयत्न गर्थें । विशेषगरी पूर्णिमाको साँझ, पोखरीको पानीमा पोखिएको जूनको उज्यालो, त्यसबाट टल्किएको पानी र त्यही उज्यालोमा चम्किएका रुखका पातहरु, अनि रातको सुनसान चकमन्नता मलाई औधी मादकतापूर्ण लाग्थ्यो । कहिलेकाहीं सोच्ने पनि गर्थें- “पोखरीको अर्को छेउमा रहेको चु च छिङ कविको सालिकले एक्लोपन महसुस गर्छ कि गर्दैन होला?”
त्यसरी साँझमा मैले घण्टौं बिताउने गरेको त्यो मेच, मैले आफ्ना पीडा र मनका बहहरु मनमनै साट्ने गरेको त्यो कमल पोखरीको याद आज पनि ताजा भएर मेरो मनमा बेलाबखत आउने गर्छ । वास्तवमा मैले चीनमा अध्ययनरत हुँदा पाठ्यपुस्तकका कुराहरु कति पढें, कति जानें, थाहा छैन, तर जिन्दगीको ती कालखण्डका पानाहरुमा भोगिएका धेरै कुराहरु पढें जस्तो लाग्छ, जसले मलाई जिन्दगीका यात्रामा आउने अनेकौं अनकण्टार गल्छेंडोको अध्याँरा खोंचहरुमा टर्च लाइटले जस्तै उज्यालो छर्ने काम गर्छन् ।