Logo

पुल्चोकदेखि पेचिङसम्म-२



Spread the love

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा छनौट हुनु वर्षौंदेखि मनमा हुर्किएको आकांक्षा र मिहिनेतको एक प्राप्ति थियो । साथै यसले देखाएको थियो, जिन्दगीमा उघारिन सक्ने नयाँ संभावनाका क्षितिजहरु पनि । म जस्ता गाउँको निम्न मध्यमवर्गीय पृष्ठभूमिबाट अध्ययनका लागि काठमाडौं छिरेकाहरुका लागि अभिभावकहरुको माथिको आर्थिक भारको बोझ हलुको बनाउने अवसर पनि थियो यो । साँच्चै, म चीन गएपछि नै बुबाले अठ्ठाइस वर्ष लामो अध्यापन पेशाबाट विदा लिनुभएको थियो । हुन त बुबाले गाउँकै स्कूलमा पढाउनुहुने भएकोले निकै सहज थियो, तर गाउँको स्कूलमा हुने चरम राजनीतिले थपिदिने तनाव त्यो भन्दा धेरै गुना बढी थियो ।

शिक्षा मन्त्रालय हुँदै चिनियाँ राजदूतावासबाट हामी छात्रवृत्तिका लागि छनौट भएपछि मन्त्रालयमा जापान सरकारबाट पनि दुई वटा छात्रवृत्तिका कोटाहरु आएका थिए र ती कोटामा मन्त्रालयको वरीयताक्रमको मास्तिर रहेका साथीहरु छनौट भई जापान जाने अवसर पाए । म बाहेक छात्रवृत्तिमा छनौट भएर चीन जाने अन्य साथीहरुमा अनुप सुवेदी, मनिष प्रधान, रामबाबु खड्का (नानिङ, क्वाङसी, चिकित्साशास्त्र), तीर्थ उपाध्याय (उहान, हुबेई, चिकित्साशास्त्र), नविन सापकोटा, विनोद भट्टराई (चिकित्साशास्त्र, संघाई), उमेश अधिकारी (कृषि इञ्जिनियरिङ, हांगचाउ), प्रदीप खत्री (केमिकल इञ्जिनियरिङ, हांगचाउ), मदन विक्रम खड्का (आर्किटेक्चर, संघाई), सरोज कार्की (टेक्सटायल इञ्जिनियरिङ, संघाई), प्रमोद केसी (इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, संघाई), रविन्द्र केसी, वसन्त अधिकारी (हाइड्रोपावर इञ्जिनियरिङ, नानचिङ), जेनी राजवंशी (कम्प्युटर इञ्जिनियरिङ, नानचिङ), चन्द्रकान्त पौडेल (केमिकल इञ्जिनियरिङ, थियानचिन), पंकज कुमार कण्ठ (मेकानिकल इञ्जिनियरिङ, पेचिङ) र कुमार ब्रजभुषण (इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, पेचिङ) थिए । माथि उल्लेखित हामी सबै जना अध्ययनका लागि चीन गएपनि कुमार ब्रजभुषण भने बेजिङ पुगेर एक महिना जति चिनियाँ भाषा पढेपछि नेपाल फर्किएका थिए र पछि उनी अध्ययनका लागि छात्रवृत्तिमै भारत गएका थिए ।

त्यतिबेला हामीलाई चीनका विश्वविद्यालयबारे कुनै जानकारी थिएन । यसले गर्दा विश्वविद्यालय छनौट गरेर फर्म भर्ने काम हाम्रा लागि कठिन भयो । हामी बालुवाटार स्थित चिनियाँ राजदुतावासमा गयौं । त्यहाँ चिनियाँ विश्वविद्यालयका नामहरु भएको एउटा किताब रहेछ । त्यो किताब पल्टाएर हामीले नो फर्ममा कुनै विश्वविद्यालयको नाम लेख्यौं । पेचिङ र संघाईमा भएका विश्वविद्यालयहरु पक्कै राम्रा हुने ठहर गरी हामीले त्यसै अनुसार फर्म भरेका थियौं, तर पछि हाम्रा छनौट भएर आउँदा भने हामीले उल्लेख गरेका भन्दा फरक विश्वविद्यालयहरुमा हामी भर्ना भएको सूचना आइपुग्यो ।

चिनियाँ राजदूतावासमा विश्वविद्यालय छनौट सहितको फर्म भर्न जाने क्रममा अर्का एक जनासँग हाम्रो भेट भयो । उनी पनि त्यही वर्ष छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्नका लागि चीन जाँदै रहेछन् । उनी थिए – रेवतीरमण राय । उनीसँग कुराकारी गरेपछि हामीलाई थाहा भयो, साँस्कृतिक कोटा अन्तर्गत पनि छात्रवृत्ति दिंईदो रहेछ । उनी त्यसै मार्फत चीनमा अध्ययनका लागि जाँदै रहेछन् । पछि चीन गएपछि थाहा भयो, यसरी साँस्कृतिक कोटा मार्फत् हाम्रो ब्याचमा चीन अध्ययनका लागि जाने अन्य साथीहरुमा मन्दाकिनी ओली, दिपक सिंह मौनी, रेवतीरमण राय (चिकित्साशास्त्र, पेचिङ), हरिश भट्ट (कम्प्युटर साइन्स, पेचिङ), सन्तोष खत्री (इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, संघाई), विकासमान प्रजापति (चिकित्साशास्त्र, उहान) थिए । पछि हरिशदेव गौतमले पनि हाम्रै ब्याचमा आर्किटेक्चर (नानचिङ) विषय पढे ।

चीन जाने भएपछि मेरो उच्च शिक्षाको अध्ययनले एउटा दिशा पक्रिएको थियो । चीनमा हाम्रो शैक्षिक सत्र सेप्टेम्बर, १९९६ देखि मात्र शुरु हुने वाला थियो । २०५२ साल चैततिर हाम्रो छात्रवृत्ति छनौट प्रक्रिया सकिएपछि म अलि फुर्सदिलो भएँ । कुनै प्रवेश परीक्षाका लागि थप तयारी गरिराख्नु पर्ने भएन । त्रिचन्द्र क्याम्पसमा जारी राखिएको बि.एस्सी.को पढाईप्रतिको लगाव पनि घट्दै गयो, यद्यपि जेठमा भएको बि.एस्सी. प्रथम वर्षका केही परीक्षाहरुमा भने म सामेल भएको थिएँ । बरु भारतीय राजदूतावासले प्रदान गर्ने छात्रवृत्तिका लागि लिइएको परीक्षामा समेत सामेल भएको थिएँ । परीक्षा केन्द्र सेन्ट मेरिज स्कूलमा परेको थियो । भारतीय राजदूतावासले दिने छात्रवृत्तिमा म छनौट भएको रहेछु, यसको खबर भने मैले चीनमा गएको एक वर्ष जति पछि थाहा पाएको थिएँ ।

यता मेरा रुममेट शेर बहादुरजी पुल्चोकको प्रवेश परीक्षाको तयारीमा दिलोज्यानले लाग्दै हुनुहुन्थ्यो । वहाँले कन्सल्टिङ फर्ममा बिहान गरिराखेको काम मलाई हस्तान्तरण गर्नुभयो । वहाँले काम गरिराख्नुभएको डिल्लीबजारको एक कन्सल्टिङ फर्ममा मैले वहाँको साटो काम गर्न थालें । शायद चार महिना जति (वैशाख, २०५२ – साउन, २०५३) मैले त्यस कन्सल्टिङ फर्ममा काम गरें । बखुण्डोलबाट बिहान छ बजेतिर उठेर अफिस जान्थें । बखुण्डोलबाट हिंडदै कुपण्डोल, हनुमानस्थान निस्केर पाटनढोकाको बस चढी सिंहदरबारसम्म पुगिन्थ्यो र त्यहाँबाट पुन: हिंडदै पुतलीसडक, कालिकास्थान हुँदै डिल्लीबजार अफिस पुगिन्थ्यो । बखुण्डोलबाट कुपण्डोल लाग्ने बाटोमा पूर्व प्र.म. कृष्ण प्रसाद भट्टराई बस्ने उनको भाञ्जाको घर पनि पर्थ्यो । कहिलेकाहीं उनी भाञ्जाको त्यही घरको बरण्डामा घाम तापेर बसिराखेका देखिन्थे ।

अफिस समय बिहान सात बजेदेखि दश बजेसम्म तीन घण्टाको थियो र मासिक तलव रु. तीन हजार थियो । अफिसबाट फर्किंदा शेर बहादुरजी पनि कुपण्डोलको कोचिङ कक्षा सकाएर फर्कि सक्नुहुन्थ्यो । हामी दुई जना रेडियो नेपालले भर्खरै शुरु गरेको एफएम रेडियोले प्रसारण गर्ने गीतहरु सुन्दै खाना पकाउँथ्यौं । त्यतिबेला लोकप्रिय र हामीलाई मन पर्ने केही गीतहरु मध्ये नेपथ्य समूहको ‘छेक्यो छेक्यो देउराली डाँडा, हुस्सु र कुहिरोले, ….’ तथा हिन्दीको ‘घर से निकलते हो, कुछ दूर चल्ते हो……’ गीत पनि थिए ।

शेर बहादुरजीले नगरपालिकामा काम गर्ने सिनियर दाइहरु वीर बहादुर खडका, गोविन्द पौडेल, रुद्र अधिकारीहरुसँग राम्रो सम्बन्ध विस्तार गरिसक्नुभएकोले वहाँहरु पनि कहिलेकाहीं हाम्रो कोठामा आइरहनुहुन्थ्यो । वहाँहरुले दिनुभएका केही घरको नक्शा बनाउने कामहरु शेर बहादुरजी र मैले घरमै बसेर पनि गर्‍यौं । घरको नक्शा बनाउनका लागि अहिलेको जस्तो कम्प्युटर ‘अटो क्याड’ को प्रयोग हुन थालिसकेको थिएन । ट्रेसिङ पेपरमा ‘पेन’ ले नक्शा कोरिन्थ्यो । यसबाट हामीलाई काठमाडौंमा बस्ने र जिउने खर्चको जोहो भएको थियो ।

आजभोलि डिल्लीबजारतिर जाँदा मैले काम गरेको फर्मको अफिस रहेको घर, खाजा खान निस्कने रेष्टुरेण्टतिर अनायासै पुलुक्क नजर पर्ने गर्छ र विगतका दिनहरु सम्झने गर्छु । त्यस घरमा अहिले अरु नै कुनै अफिस रहेको छ ।

डिल्लीबजारको कन्सल्टिङ फर्ममा काम गर्दा मैले थुप्रै घरहरुको नक्शा कोर्ने काम गरें ।ती घरहरु बन्ने स्थानको साइट भ्रमण पनि गरेर नापजाँच पनि गर्नुपर्थ्यो । यसैक्रममा अनामनगर र बुद्धनगर क्षेत्रतिर पनि पुगेको थिएँ । त्यतिबेला ती क्षेत्रमा फाट्टफुट्ट मात्र घरहरु थिए । मैले हेरेका, नक्शा बनाएका घरका साईटहरु अहिले पत्ता लगाउन सकुँला जस्तो लाग्दैन । सानो गौचरण, कालो पुलतिर बनेका केही घरहरुको निर्माण सुपरिवेक्षण पनि गरेको थिएँ ।

शेर बहादुरजीको पुर्ख्यौली घर म्याग्दीको भकिम्ली भए पनि वहाँको परिवार पछि रुपन्देहीको सेमलारमा बसाई सरेको थियो । वहाँको दाइले डोल्पाको दुनैमा गएर व्यापार गर्नुहुँदो रहेछ र शेर बहादुरजीले पनि एसएलसी दिएपछिको आठ-दश महिना खालि समयमा डोल्पा गएर दाइको व्यापार व्यवसायमा सघाउनु भएको रहेछ । व्यापारको त्यस अनुभवसँगै वहाँमा त्यतिखेरै व्यावसायिक चेत आइसकेको कुरा मैले वहाँसँगको बसाईमा थाहा पाएको थिएँ । वहाँले मलाई त्यतिबेला भन्नुभएको थियो – “निरञ्जनजी, तपाईंले त्यति धेरै क्वीज कन्टेष्टमा भाग लिनुभएको छ । क्वीज कन्टेष्टका प्रश्नहरु संग्रहित गरेर एउटा राम्रो किताब प्रकाशित गर्नुहोस् न । काम पनि भयो, पैसा पनि भयो ।” वहाँले मलाई यसमा प्रोत्साहित गर्नुभएपनि चीन जानु अघि केही महिना मात्र समय बाँकी रहेको अवस्थामा यस कामको शुरुवात गर्ने आँट गर्न सकिंन ।

बरु यस बिचको समयमा पनि मैले स्टिफन हकिंग्सको ‘ब्रिफ हिस्ट्री अफ टाइम्स’, खप्तड स्वामीको ‘विचार विज्ञान’, बर्टेण्ड रसेलको ‘म्यारिएज एण्ड प्रपोजल्स’ तथा धर्म र दर्शनका बारेमा लेखिएका एस. राधाकृष्णनका किताब लगायत अन्य थुप्रै गहकिला पुस्तकहरुको अध्ययन गरें । मित्र टोपेन्द्रजी त्यतबेला वामपन्थी दर्शनका किताब हुँदै ओशोका किताबहरु प्रति आकर्षित भईसक्नुभएको थियो । मैले पनि वहाँको संगतमा ओशोका केही किताबहरु पढें ।

चीनमा चिकित्साशास्त्र पढ्न जानका लागि नाम निस्केका साथी मनिष प्रधानको घर कुपण्डोलमा हाम्रो डेरा नजिकै थियो । उनीसँग पनि मेरो नियमित भेटघाट, सम्पर्क भईराख्थ्यो ।वास्तवमा चिनियाँ राजदूतावासको परीक्षाका लागि हामीले सँगै बसेर तयारी गरेका थियौं ।चीन जानु अघिको दुई तीन महिनाको समयमा उनी र मैले विश्व भाषा क्याम्पसमा चिनियाँ भाषा पढाउने चिनियाँ शिक्षक वाङ पाओ ह्वासँग चिनियाँ भाषा पढ्यौं । उनी चीनको आन्हुई प्रान्तको वुहु शहरका बासिन्दा थिए । उनको डेरा पुतलीसडकको नयाँ प्लाजामा थियो । हामीले त्यस अवधिमा उनीसँग चिनियाँ भाषाका सामान्य कुराहरु पढ्यौं । जीवनमा पहिलोचोटि पासपोर्ट बनाइयो । पासपोर्ट बनाउने फर्म भर्नका लागि त्यतिबेलाको परराष्ट्र मन्त्रालय रहेको स्थान शीतलनिवासमा पुगिएको थियो ।
अघिल्लो वर्षको बीई प्रवेश परीक्षामा सामेल नभएका वा नाम ननिस्किएका थुप्रै साथीहरु त्यस वर्ष (२०५३साल) प्रवेश परीक्षाका लगि तयारी गर्दै थिए । उनीहरुसँग मेरो नियमित सम्पर्क, भेटघाट भईराख्थ्यो । ती साथी मध्ये एक थिए – नारायण मरासिनी । नारायणजी, शेर बहादुरजी र मेरा बिच त्यतिबेला निकै घनिष्ठता थियो । त्यस्तै नियमित सम्पर्कमा रहेका, अर्का साथी थिए – श्याम प्रसाद भुषाल । मैले कन्सल्टिङ फर्ममा काम गर्न थालेपछि मैले पढाउँदै आएका ‘होम ट्युसन’ हरु मित्र श्याम प्रसाद भुषालजीलाई हस्तान्तरण गरेको थिएँ ।

म चीन जानुअघि नै मेरा रुममेट शेर बहादुरजी लगायत नारायण मरासिनी, श्याम प्रसाद भुषाल, रामकृष्ण रेग्मी र अन्य थुप्रै घनिष्ठ साथीहरुको पुल्चोक क्याम्पसको बीई प्रवेश परीक्षामा नाम निस्कियो । यसले हाम्रा मित्रहरुको वृत्तमा खुशियाली छाएको थियो । बीई प्रवेश परीक्षाको प्रकाशित नतीजा हेर्न म क्याम्पसमा आएको थिएँ, शेर बहादुरजी भने कोठामै बसिराख्नुभएको थियो । मैले कोठामा पुगेर आर्किटेक्चर समूहमा मास्तिरै (शायद तेस्रो कि चौथोमा) वहाँको नाम निस्केको कुरा बताउँदा दुवै जना खुशीले गदगद भएर अंकमाल गरेको क्षण हिजै जस्तो लाग्छ । त्यसो त हाम्रै अर्का मित्र श्याम प्रसाद भुषालजीको नाम पनि सिभिल समूहमा वरीयता क्रमको एक नंबरमा निस्केको थियो ।

चीन जाने समय नजिकिंदै आएपछि म भेटघाटका लागि सानीमा (चमा) को घर मनकामना र मामाघर गोरखा गएँ । त्यताबाटै घर (धादिङ, सल्यानटार) गएँ । घरबाट छुट्टिने दिन घरमा आमाले निधारमा टिका लगाईदिई आशिर्वाद सहित विदावारी गर्नुभयो । गाउँका अरु थुप्रै मानिसले पनि मेरो निधारमा टिका लगाइदिएका थिए । बुबा र म घरबाट दिउँसोतिर प्रस्थान गरेका थियौं । घरबाट निस्कनलाई अलिक ढिला भएको हुँदा त्यो दिन धादिङबेसीं पुग्नु अघिको ज्यामिरे भञ्ज्याङ भन्ने ठाउँमा बास बसेर भोलिपल्ट काठमाडौं पुगेका थियौं । त्यो दिन घरबाट विदावारी भएपछि मैले छ वर्ष भन्दा बढी समयपछि मात्र चीनबाट फर्केर आफ्नो घरमा पुन: पाइला टेकें ।

रुममेट शेर बहादुरजी र अन्य साथीसँग छुट्टिने दिन पनि नजिकियो । म र मनिष दुवै जना उनकै कुपण्डोल घरबाट चीन जानका लागि विदावारी भयौं । मलाई विदावारी गर्नका लागि घरबाट बुबा तथा गोरखा, मनकामनाबाट भाइ राकेश सहित सानीमा पनि आउनुभएको थियो । संयोगले मेरा पुल्चोक होष्टेलका रुममेट फलेन्द्रजी पनि त्यतिखेर काठमाडौंमै हुनुहुन्थ्यो । हामीलाई एयरपोर्टसम्म विदाई गर्न शेर बहादुरजी, रामहरि खड्का सहित मेरा होष्टल रुममेटहरु टोपेन्द्र, फलेन्द्रजी, नारायण मरासिनी तथा सिनियर दाइहरु हरिकृष्ण सिंखडा, जयराम भट्टराईहरु लगायत जानुभएको थियो । मनिषका परिवार र उनका काका गंगालाल तुलाधार पनि एयरपोर्ट पुग्नुभएको थियो । संयोगले हाम्रा क्लासमेट लव कार्कीजीसँग पनि एयरपोर्टमा भेट भएको थियो ।

सन् १९९६, अगष्ट ३१ का दिन राति ११ बजेतिर तत्कालीन शाही नेपाल वायु सेवा निगमको काठमाडौं-संघाई-ओसाका प्लेनबाट हामी संघाई जाँदैथियौं । पहिलो चोटि छात्रवृत्तिमा विदेश पढ्न जान लागेको खुशीको उत्तेजनामा पहिलो चोटि प्लेन चढ्दै गर्दाको रोमाञ्चक अनुभुति पनि थपिएको थियो । विदेश पढ्न जान लागेका हामी सबै विद्यार्थीहरु आ-आफ्ना परिवारसँग खुशी र टाढिनु पर्ने क्षणलाई अनुभूत गर्दै अश्रुपूर्ण नजरका साथ हात हल्लाएर, अंकमाल गरेर विदावारी भयौं ।

प्लेनले नेपाली धर्ती छाड्दा मध्यरात भईसकेको थियो । पहिलोचोटि प्लेन चढेको र आफ्नो मातृभूमि छाड्दै गरेको उत्तेजनामा कसरी निदाउन सक्नु? प्लेन चढेको एक घण्टा बित्दानबित्दै प्लेनमा दिइएको खानेकुरा खायौं । प्लेनमा मेरो छेवैको सिटमा संघाईको थोङची विश्वविद्यालयमा आर्किटेक्चर पढ्न जाँदै गरेका साथी मदन विक्रम खड्का थिए । अघिल्लो सिटमा संघाईको टेक्सटायल विश्वविद्यालयमा पढ्दै गर्नुभएकी सिनियर दिदी, रश्मी अमात्य हुनुहुन्थ्यो । वहाँले नै हामीजस्ता पहिलो चोटि प्लेन चढेकाहरुलाई प्लेन चढ्दा ध्यान दिनुपर्ने कतिपय कुरा बताइदिनुभएर सहज पारिदिनुभएको थियो ।

खुशी र रोमाञ्चले जत्तिकै उत्तेजित भएपनि मध्यरातको समय भएकोले बाहिर हेरेर रमाउन सक्ने अवस्था थिएन । राति ढिला गरी एक-दुई घण्टा यसो झकाइएछ, प्लेनमा । बिहान चार-पाँच बजेतिर आँखा खुल्दा पूर्वी क्षितिजतिर देखिन थालेको राताम्मे उज्यालोमा भर्खरै अर्ध निद्राबाट खुलेका हाम्रो आँखाहरु ठोकिए । त्यसपछि पुन: आँखा बन्द गरेर निदाउन मन लागेन । प्लेन विस्तारै चिनियाँ धर्तीतिर नजिकिंदै थियो । भाद्र महिनाको समय भएकोले संघाई पुग्नु अघि प्लेन पानीले टिलपिल भरिएका खेतका फाँटहरु माथि भएर उड्दैथियो । कतिपय ठाउँहरु बाढीको पानीले ढाकेको पनि देखिन्थ्यो ।जहाजको सानो झ्यालबाट हामी उत्सकुतापूर्वक विशाल चिनियाँ भूमिलाई नियाल्दै थियौं । चिनियाँ समय अनुसार बिहान सात बजेतिर हामी (सेप्टेम्बर १, १९९६) संघाई एयरपोर्टमा ओर्लंदा एयरपोर्ट लगभग सुनसान थियो । एयरपोर्टबाट बाहिर संघाई शहरमा निस्कँदै थियौं, बाहिर निस्कँदा एयरपोर्टमा पासपोर्टमा ‘आगमन’ छाप लगाइदिने बाहेक अन्य कुनै चेकजाँच भएन । हामी आएको शानेवानिको प्लेन भने संघाईबाट थप केही यात्रुहरु बोकेर ओसाकातिर जाँदैथियो ।

हामीसँग एउटै प्लेनमा काठमाडौंबाट चीन जानेमा केही नेपाली सिनियर दाइ/दिदीहरु पनि हुनुहुन्थ्यो । संघाईबाट हामीहरु नानिङ, नानचिङ, थियानचिन र पेचिङ जाने साथीहरु छुट्टिदैं थियौं ।नानिङ जाने साथीहरु नानिङमै रहेर चिनियाँ भाषा पढ्ने वाला थिए भने हांगचाउ, संघाई र नानचिङमा पढ्ने साथीहरु चिनियाँ भाषा पढ्नका लागि नानचिङ जाँदै थिए । पेचिङ र उहानमा पढ्ने साथीहरु पेचिङको पेचिङ भाषा तथा संस्कृति अध्ययन संस्थानमा बसेर चिनियाँ भाषा पढ्ने वाला थिए । थियानचिनमा रहेर चिनियाँ भाषा र ईञ्जिनियरिङ विषय पढ्नेमा चाहिं चन्द्रकान्त पौडेल र म थियौं ।

संघाईबाट हामी दुई जना मात्र रेल चढेर थियानचिनतिर जाँदै थियौं । हाम्रो रेलको टिकट त्यस दिन बेलुकीको समयको थियो । थियानचिन जाने रेलको टिकट र डेढ सय युयान हामीलाई संघाई एयरपोर्टबाट ओर्लिएको समयमा नै कुनै चिनियाँ प्रतिनिधिले दिएका थिए ।

थियानचिनतर्फ जानलाई रेल चढ्नु अघि हामीसँग अझै थुप्रै घण्टा समय बाँकी रहेकोले सिनियर दाइहरुसँगै ट्याक्सी चढेर संघाईको टेक्सटायल विश्वविद्यालयतिर लाग्यौं । बाटामा देखिएका संघाईका फराकिला बहुलेनयुक्त सडकहरु, लामा लामा फ्लाइओभर र अग्ला गगनचुम्बी घरहरु हाम्रा लागि नौला थिए । हाम्रो मस्तिष्कमा आफ्नो राजधानी शहर, काठमाडौं सानो र पुरानो प्रतीत हुँदै गएको थियो । टेक्सटायल विश्वविद्यालयमा पुदा थाहा भयो, त्यहाँ थुप्रै नेपाली विद्यार्थीहरु अध्ययनरत रहेछन् । उनीहरु बस्ने विदेशी विद्यार्थीको छात्रावासमा पुगेर हामीले केही समय आराम गर्य्यौं । उनीहरुकै क्याफ्टेरियामा खाना खायौं । दिउँसोतिर टेक्सटायल विश्वविद्यालयका राजेन महर्जन र अर्का एक जना (….जोशी) दाइले हामीलाई संघाईको रेलवे स्टेशनमा छोड्न आउनुभयो । रेल चढेर आ-आफ्ना गन्तव्यतिर लाग्ने क्रममा साथमा सिनियर नभएकाहरुमा थियानचिन जाने म र चन्द्र मात्र थियौं ।राजेन दाइले हामीलाई रेलभित्र हाम्रो सिटसम्म पुर्‍याइदिनुभयो र छेवैको सिटमा बस्ने अन्य चाइनिजलाई हामी नेपालबाट आएका विद्यार्थी भएको र थियानचिनमा ओर्लने कुरा बताउँदै कुनै कुरा अप्ठेरो परेमा सहयोग गरिदिनका लगि चिनियाँ भाषामा अनुरोध गर्नुभयो । एउटा कागजको टुक्रामा थियानचिन शहर र थियानचिन विश्वविद्यालयको नाम लेखेर दिनुभयो, ताकि भाषा नबुझेर अलमल पर्दा वा कुनै अप्ठेरो पर्दा कम्तीमा हामी पुग्ने गन्तव्यका बारेमा अन्य चाइनिज यात्रु र रेलवे कर्मचारीलाई जानकारी होस् ।

नानचिङ र नानिङतिर छुट्ने रेलको समय हाम्रोभन्दा केही ढिला थियो । संघाई रेलवे स्टेशनबाट त्यतातिर लाग्ने साथीहरुलाई हामीले विदाइका हातहरु हल्लायौं । थियानचिनतिर जाने रेलका डिब्बामा नेपाली र अझ विदेशी भनौं, चन्द्र र म मात्र थियौं । पहिलो चोटि हामी दुवै जनाले रेल चढ्दै थियौं । नेपालको जनकपुरमा रेल भएको कुरा पढिएतापनि जिन्दगीमा यस अघि कहिल्यै रेल प्रत्यक्ष देखिएको र चढिएको थिएन । रेलमा भएका अन्य चाइनिजहरु चिनियाँ भाषामा कल्याङमल्याङ गरिराखेका हुन्थे । हामीले उनीहरुले बोलेको केही बुझ्न सक्ने र संवाद गर्न सक्ने कुरा भएन । रेल धानखेतका हरिया फाँटहरु, ठूल्ठूला माछपोखरीहरुको बिचबिचबाट उत्तरतिर आफ्नै वेगमा कुद्दै थियो । बिचका साना-ठूला शहरमा भएका रेलवे स्टेशनहरुमा रेल केही क्षणका लागि रोकिन्थ्यो । रेलमा भएका केही यात्रुहरु ओर्लिन्थे भने केही नयाँ यात्रुहरु थपिन्थे पनि । ती रेलवे स्टेशनहरुको नाम अंग्रेजी अक्षरमा पनि लेखिएको हुँदो रहेछ । चन्द्र र मैले बाटोमा देखिएका ती रेलवे स्टेशनका नामहरु कापीमा टिप्दै गयौं ।

साँझ छिप्पिदैं जाँदा वरिपरिको धर्ती र रेललाई विस्तारै अध्याँरोले निल्दै गयो । रेलबाट बाहिरका दृश्यहरु हेरेर मजा लिन सक्ने अवस्था भएन । भोक पनि बढ्दैगयो, तर रेलमा कसरी खानेकुरा किन्ने भन्ने बारेमा केही मेसोमेलो थिएन । भाषा पनि आउँथेन । झोलामा नेपालबाटै लगिएका केही वाइवाइ चाउचाउ, स्याउहरु थिए । हामीले त्यसदिन त्यही खायौं र आफ्ना बेडसिटमा पल्टियौं । अघिल्लो दिनको अनिद्रा, भोक र थकाईले केही छिनमै हामी भुसुक्क निदाएछौं । राति केही घण्टापछि बिउँझदा त रेलभित्र सबैजसो यात्रुहरु निदाइरहेका थिए । बाहिर कालो अन्धकार थियो । रेल त्यही अन्धकारलाई चिरेर बेतोडले कुदिराखेको थियो । कहिलेकाहीं रेलभित्र हिंडडुल गरिराख्ने कर्मचारीले रात्रिकालीन निरवतालाई भंग गर्थे । राति बिउँझेपछि पानीको प्यास लाग्यो, तर त्यस समयमा कसरी, कता पानी किन्नु?

भोलिपल्ट बिहान झिसमिसेमै बाहिर केही उज्यालिएको देखिन थालेपछि बेडसिटबाट ओर्लेर रेलको झ्याल नजिक बसेर चीनको विशालतालाई रेलको सानो झ्यालबाट चियाउन थाल्यौं । बढदै गएको बिहानीको उज्यालोसँगै चीनको विशालभूमि हाम्रा आँखा अगाडि खुल्दै गएको थियो । रेलभित्र चिनियाँ यात्रुहरु बिस्तारै सलबलाउन थाले । कतिपय चिनियाँहरु रेलको दुई डिब्बा बिचको खालि भागमा बसेर चुरोट तान्ने रहेछन् । शौचालयको बाहिरी छेउमा रहेको भाँडोबाट कपमा तातोपानी भर्न सकिंदो रहेछ । त्यस तातोपानी, बट्टामा भएको चाउचाउमा केही बेर राखेर चाउचाउ खान सकिंदो रहेछ । रेलमा भएका अन्य चाइनिज यात्रुका गतिविधिलाई नियाल्दै गर्दा हामीले यी कुराहरु थाहा पायौं ।

पूरा बिहान भईसकेपछि रेलभित्र चिनियाँ यात्रुहरुको कल्याङमल्याङ विस्तारै बढदै गयो । चाउचाउ लगायत अन्य खानेकुरा बेच्ने मानिसहरु पनि रेलभित्र ओहोरदोहोर गर्न थाले । चन्द्र र म दुई जना विदेशीलाई रेलभित्र देखेपछि चिनियाँहरु हामीसँग बोल्न खोज्थे, तर भाषाका कारण हामी उनीहरुसँग संवाद गर्न सक्ने अवस्थामा थिएनौं । केही क्षणपछि थाहा भयो, त्यस रेलमा केही चिनियाँ विद्यार्थीहरु पनि आ-आफ्ना विश्वविद्यालयमा भर्ना हुनका लागि जाँदै रहेछन् । उनीहरु अलि अलि अंग्रेजी भाषा बुझ्न सक्थे । बोलीमा बुझ्न नसकिए लेखेर भएपनि सीमित मात्रामा संवाद गर्न सकिन्थ्यो । ती मध्ये एक जनाको नाम ‘चाङ स्यु होङ’ रहेछ र उनी बेजिङको छिङह्वा विश्वविद्यालयमा ‘चिसे कोङछङ’ (मेकानिकल ईञ्जिनियरिङ) पढ्नका लागि जाँदै रहेछन् । त्यतिखेर चिनियाँ अक्षर त चिन्न सकिंदैनथ्यो, तर उनको हातमा अंग्रेजी-चिनियाँ भाषाको सानो शब्दकोष भएकोले केही शब्दहरु त्यसमा खोज्दै गरेर अलिअलि संवाद गरिएको थियो । उनी सिचुवान प्रान्तका रहेछन् । उनले आफ्नो साथमा राख्न ल्याएका, हावाको झोंकामा हल्लिएर सुमधुर ध्वनि निकाल्ने साना घण्टीहरु (फङलिङ) उपहार दिए ।

अघिल्लो दिनको तुलनामा दोस्रो दिनको रेलयात्रा केही रमाइलो भयो । जानी नजानीकन चिनियाँहरुसँग केही संवाद भयो । । हामी संघाईबाट अगाडि बढ्दा बाटोमा क्रमश: चिनका चियाङसु प्रान्त र नानचिङ शहर, आन्हुई प्रान्त, सान्तोङ प्रान्त ह्वाङहो नदी र हबेई प्रान्तलाई पार गर्दै थियानचीन रेलवे स्टेसनमा आइपुग्यौं । याङजे नदीलाई रातिको समयमा पार गरिएछ, तर ह्वाङहो नदीलाई सान्तोङ प्रान्तको राजधानी जिनान नजिक पुग्दै गर्दा प्रत्यक्ष देख्न सकियो ।

दिउँसो चार बजेतिर हामी थियानचिनको रेलवे स्टेशनमा ओर्लंदै र्दा शरद ऋतुको शीतल सिर्सिरे बतासले हामीलाई स्वागत गर्‍यो । पानी परिराखेकोले त्यो सिर्सिरे बतासमा अलिकति चिसोपन पनि थपिएको थियो । रेलबाट ओर्लिएपछि ट्याक्सी खोज्यौं, ट्याक्सीवालालाई चिनियाँ भाषामा ‘थियानचीन विश्वविद्यालय, विदेशी विद्यार्थी छात्रावास’ लेखिएको कागजको टुक्रा देखायौं, जुन कागजको टुक्रा हामीलाई सिनियर दाइले संघाईको रेलवे स्टेशनमा दिएका थिए । एक जना ट्याक्सीवाला हामीलाई गन्तव्यमा पुर्‍याउन तम्तयार भए । विश्वविद्यालय नजिक आईपुगेपछि कुन गेटबाट हामी पुग्नु पर्ने कार्यालयसम्म पुग्ने भन्ने कुरामा ट्याक्सीवाला अल्मलिए । ट्याक्सीवालाले हामीसँग ३० युयान लिए । खासमा रेलवे स्टेशनबाट विश्वविद्यालयसम्म पुग्न ट्याक्सीभाडा १० युयान लाग्दोरहेछ, पछि थाहा भयो । जे होस्, हामी आफ्नो गन्तव्यमा पुग्यौं ।

विदेशी विद्यार्थी छात्रावासको प्रागंणमा पुग्ने बित्तिकै दुई जना विदेशी विद्यार्थीहरुले “तपाईंहरु नेपालबाट आएको हो” भनेर सोधे ।हामीले “हो” भन्यौं । उनीहरु एक जना श्रीलंकाका र एक जना बंगलादेशका त्यही पढ्ने एक ब्याच सिनियर विद्यार्थी रहेछन् । दक्षिण एशियाली मुलुक मध्ये नेपालबाट यस विश्वविद्यालयमा दुई जना नयाँ विद्यार्थीहरु थपिंदैछन् र त्यसै दिन त्यहाँ आइपुदैछन् भन्ने थाहा पाएर उनीहरु भवन बाहिर हाम्रो प्रतीक्षामा बसेका रहेछन् ।

उनीहरुले हामीलाई विश्वविद्यालयको सम्पर्क कार्यालयमा पुर्‍याए । हामीले आफूसँग लगेका सम्बन्धित कागजात देखायौं । आवश्यक प्रक्रिया पूरा गरेपछि हामीलाई छात्रावासको एक कोठाको चाबी दिइयो । हाम्रो कोठा नं थियो – ५०१ । त्यसो त, पुल्चोक क्याम्पसको पुरानो छात्रावासमा बस्दाको मेरो कोठा नं ३०१ थियो । कोठामा सुटकेश, बेडसिट र अन्य आवश्यक सामानहरु लग्न ती बंगाली र श्रीलंकन सिनियरहरुले हामीलाई सघाए । बिरानो भूमिमा अन्य कुनै नेपाली नभेटिएको अवस्थामा उनीहरुले देखाएको आत्मीयताले कुनै दक्षिण एशियाली भेटिंदा पनि नेपाली भेटिंदा पाइने जत्तिकै न्यानोपनको आभाष दिलाए उनीहरुले हामीलाई ।

हामी पुगेको केही दिनपछि चिनियाँ भाषाको पढाइ शुरुवात भयो । हाम्रो चिनियाँ भाषाको पढाई त्यसै छात्रावास भवनको तेस्रो तल्लाको एक कोठा (३०२) मा हुने भयो । प्रायजसो: कक्षाहरु बिहानीको समयमा हुन्थ्यो भने ‘सुनाई (लिसनिङ)’ को कक्षा मात्र दिउँसोको समयमा हुन्थ्यो । हाम्रो चिनियाँ भाषाको कक्षामा चन्द्र र म बाहेकका अन्य सहपाठीहरु थिए – आइकेन (अल्बानिया), एरिक गोफू (केमरुन), मोहम्मद साइने (गिनी) र फिडेल (चाड) । यस मध्ये साइने बाहेकका हामी सबै जना अर्को वर्ष त्यही विश्वविद्यालयमा ईञ्जिनियरिङ, स्नातक तहको पढाई शुरु गर्ने वाला थियौं भने साइनेले रसायन शास्त्रको स्नातकोत्तर तहको पढाई शुरु गर्ने वाला थिए । आइकेनले आर्किटेक्चर, एरिकले इलेक्ट्रिकल र फिडेलले इलेक्ट्रोनिक्स इञ्जिनियरिङ विषयको पढाई शुरु गर्ने वाला थिए ।

केही दिनपछि थाहा भयो, त्यस विश्वविद्यालयमा तीन जना नेपालीले अघिल्लो वर्षसम्म अध्ययन गर्दै रहेछन् । तीमध्ये एकजना (हरिहर जोशी) सं.रा.अ. पढ्न गएछन् भने त्यसै वर्षदेखि प्रज्वल गुरुङ र प्रेरणा गुरुङ (दिदीभाइ) ले पेचिङको विज्ञान तथा प्रविधि विश्वविद्यालयमा स्थानान्तरण हुने चाँजोपाँजो मिलाइसकेका रहेछन् । हामी थियानचिन पुगेको केही समयपछि वहाँहरुले थियानचिन छात्रावासमा बाँकी रहेका आफ्ना केही सामानहरु पेचिङ सार्नुभयो ।

त्यस विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरु अब चन्द्र र म मात्र हुनेभयौं । हाम्रो पढाई एक वर्षे चिनियाँ भाषाको अध्ययनसँगै अघि बढ्न थाल्यो ।

क्रमशः….

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्