Logo

पुल्चोकदेखि पेचिङसम्म-५



Spread the love

हुनत चीन जानुअघि मैले भारतीय दूतावासको छात्रवृत्ति परीक्षामा समेत सामेल भएको थिएँ र त्यसमा मेरो नाम निस्केको खबर ढिला गरी चीनमा पुगेपछि पाएको थिएँ, तर चीन गएर अध्ययन गर्ने मनस्थिति बनाएर, एक वर्ष चिनियाँ भाषा समेत पढिसकेको हुनाले मलाई जुनसुकै अवस्थामा पनि चीनमा रहेर नै अध्ययनलाई निरन्तरता दिनुपर्छ भन्ने सोच आयो । आखिर समस्या त जहाँ पनि आउनसक्छन् । जस्तोसुकै प्रतिकुल परिस्थितिसँग पनि हार नखाईकन जुध्दै अघि बढ्नुपर्छ भन्ने सिद्धान्त बोकेको व्यक्ति पराजित सोच राखेर त्यत्तिकै कसरी नेपाल फर्कन त पो सक्थ्यो र? जतिसुकै मानसिक पीडाबाट गुज्रिए पनि मैले हार खानुहुन्न भन्ने सोच जबर्जस्त रुपमा मनमा राखिरहें । अमेरिकन उपन्यासकार अर्नेष्ट हेमिङवेले “मानिस असफलता स्वीकार गर्नका लागि बनेको प्राणी होइन । मानिसलाई नष्ट गर्न सकिन्छ, तर पराजित गर्न सकिन्न” भन्ने कुरा “बुढो मानिस र समुद्र” नामक प्रसिद्ध उपन्यासमा भनेका छन् । मैले नियमित रुपमा कक्षामा जाने क्रमलाई निरन्तरता दिईराखें । कक्षामा दिइएका गृहकार्यहरु समयमै गरिसक्ने र पढाईका लागि थप मिहिनेत गर्ने काममा लागिराखें ।

नेपालको जाडो यामसँग तुलना गर्ने हो भने थियानचीन शहर र उत्तरी चीनमा निकै नै जाडो हुन्छ । त्यहाँ हिउँदमा शून्य भन्दा तल माइनस दश-पन्ध्रसम्म तापक्रम झर्नु सामान्य कुरा हो, जुन किसिमको जाडोको अनुभव हामीलाई हिमाली भेगमा बस्ने नेपाली बाहेक अरुलाई प्राय: हुँदैन । मलाई थियानचीन स्कूलका शिक्षकहरुले बेला बेलामा भन्ने गर्नुहुन्थ्यो – “यति मात्र लुगा लगाउँदा तिमीलाई जाडो महसुस भएको छैन ? अलिक बाक्लो र न्यानो लुगा लगाउने गर ।” हाम्रो काठमाडौं उपत्यकाको तापक्रम प्राय: शून्य भन्दा तल झर्ने गर्दैन, तर पनि काठमाडौंको हिउँदमा कहिलेकाहीं ठिहिर्‍याउने किसिमको जाडो हुनु स्वाभाविक कुरा हो ।अहिले म छक्क पर्छु, त्यत्तिका जाडोका बिच पनि मैले त्यतिबेला किन जाडोको त्यति महसुस गर्दिनथें हुँला? शायद अघोर मानसिक पीडाका बिच आफ्नो शरीरले जाडो महसुस गर्ने कुरामा मेरो त्यति ध्यान जान सकेको थिएन कि? तर जे होस्, म त्यति साह्रो बिरामी चाहिं परिंन, त्यतिबेला र पछिको मेरो चीन बसाईका क्रममा पनि ।
मलाई थाहा थियो, यस्ता पीडा र एक्लोपनका बिच पनि आफूलाई बलियो बनाई राख्नु पर्छ भनेर । यति हुँदाहुँदै पनि मैले आफूलाई मनभित्र निकै कमजोर महसुस गर्न थालेको थिएँ । कहिलेकाहीं कुनै मानिसको निधन हुँदा शोकसन्तप्त परिवारका लागि धैरले समवेदना सन्देश दिएको देख्छु । सान्त्वना र सहानुभूति दिन शोकमा परेका मानिसलाई भेटन गएको देख्छु । अनि सोच्छु, अहो, ती दु:खद क्षणहरुमा म त एक्लै थिएँ, मेरा साथमा न त कुनै परिवारजन थिए न त कुनै आफन्तजन, न त आफ्ना कुनै आत्मीय साथीहरु, जससँग मनका पीडाहरु प्रत्यक्ष साट्न सकियोस् । अहिले ती क्षणहरु सम्झँदा पनि कहाली लागेर आउँछ । यस घटनाले गर्दा मानिसलाई दु:ख पर्दा सान्त्वना र सहानुभूति प्रकट गर्ने मानिसहरुको कत्तिको खाँचो पर्ने रहेछ भन्ने कुरा मैले जिन्दगीमा राम्रोसँग अनुभूत गर्न पाएको छु । साँच्चै, मानिसले दु:ख परेर रुन खोज्दा रुने अवस्थासम्म पाउन सकेन भने त्यसको पीडा झन् दु:खदायी हुँदो रहेछ ।

ती दिनहरुमा म एक्लोपन, पीडा, निराशामा छटपटिएर ले रातभर सुत्न सक्दिनथें । लामो समयसम्म रातरातभर निदाउन नसक्दा त्यसले मनमा अझ धेरै बेचैनी, छटपटाहट र अशान्ति बढाउने भयो । मन अशान्त भएपछि पढाईमा मन केन्द्रित बनाउने काम पनि स्वत: कठिन हुने नै भयो । राति निद्रा नलागेर पलंगमा छटपटाउँदै गर्दा कहिलेकाहीं मध्यरातमा दिवंगत मित्र चन्द्र कोठा बाहिर कतै हिंडिरहे जस्तो महसुस हुन्थ्यो । शौचालयतिर जाँदा पनि उनी कतै मेरै नजिक हिडिंराखेका पो हुन् कि जस्तो भान हुन थाल्यो । मलाई लाग्न थाल्यो कि म थियानचीनमा बसेर अध्ययनरत भईराख्दा चन्द्रको निधनबाट उत्पन्न मानसिक पीडा र प्रभावबाट पर रहन सक्दिन ।

मेरो भित्री अन्तस्करणबाट निस्केको विश्वविद्यालय फेरेर मैले बाँकी अध्ययन अगाडि बढाउनुपर्छ भन्ने आवाज मेरो अन्तरआत्मामा गुञ्जियो ।

तर मेरो विश्वविद्यालय पढाईको पहिलो वर्षको पहिलो सेमेष्टर त बल्ल शुरु भएको थियो । मैले कसरी विश्वविद्यालय फेर्न सक्ने? यो कुरा मनमा सम्झिँदै कठिन लाग्थ्यो, मलाई । सरकारी छात्रवृत्तिमा चीन गएको हुनाले हाम्रो दूतावाससँग विश्वविद्यालय फेर्ने बारेमा कुरा गरें । चीनमा विश्वविद्यालय फेर्ने, त्यसमाथि भर्खर पढाई शुरु हुनासाथ स्थानान्तरण हुने विषय मुख्यगरी चिनियाँहरु र चिनियाँ विश्वविद्यालयकै तजबिजमा भर पर्ने भएकोले उनीहरुसँग नै कुरा गर्नु पर्ने दूतावासका अधिकारीहरुले मलाई बताए ।

हाम्रो विश्वविद्यालयको विदेशी विद्यार्थी सम्पर्क कार्यालयका शिक्षकहरुसँग स्कूल फेर्दा राम्रो हुन सक्ने बारेमा कुरा गरें, ताकि यी सब दु:खान्त घटनाहरु नयाँ स्थानमा गएपछि मैले बढी सहजताका साथ बिर्सदैं जान सकुँ ।

थियानचीन स्कूलका शिक्षकले मलाई बताउनुभयो – “तिमीले यहीं बसेर आफ्नो अध्ययनको निरन्तरता दिएको र स्नातक तह पूरा गरेको हामी देख्न चाहन्छौं । तिम्रो पढाइको सिलसिलामा होस् वा दैनन्दिन जीवनमा आइपर्ने समस्या र कठिनाइका बारेमा होस्, हामीलाई बताए हुन्छ । हामीले पक्कै पनि सक्दो सहयोग गर्नेछौं । सकभर यहीं पढाईलाई निरन्तरता दिने कोशिस गर । यहाँ बसेर पढाईलाई निरन्तरता दिन साँच्चै कठिन हुने जस्तो लाग्यो भने हाम्रो तर्फबाट विश्वविद्यालय स्थानान्तरण कुरामा पनि पक्कै सक्दो सहयोग गर्नेछौं । कुन कुन विश्वविद्यालयमा वातावरणीय ईञ्जिनियरिङको पढाई हुन्छ भन्ने कुरा बरु आफूले पनि बुझिराख्दा हुन्छ ।”

यदि अध्ययनका लागि स्थानान्तरण हुने हो भने थियानचीनबाट पेचिङ सर्दा बढी उपयुक्त हुने जस्तो लाग्यो, किनकि त्यहाँ थुप्रै नेपाली विद्यार्थीहरु अध्ययनरत हुनाको साथै केही गाह्रोसाँगुरो पर्दा सहयोग गर्न सक्ने नेपाली दूतावास पनि थियो । यसो बुझ्दा, पेचिङको छिङह्वा विश्वविद्यालयमा वातावरणीय ईञ्जिनियरिङ विषयको पढाई हुने कुरा जानकारीमा आयो ।

थियानचीन विश्वविद्यालयका शिक्षकले मलाई भन्नुभयो –”तिमीले यहाँ पहिलो सेमेष्टरको पढाई शुरु गरिसकेका छौ । यहाँ पढाई हुने पाठ्यक्रम र छिङह्वा विश्वविद्यालयको सबै उही नहुन सक्छ । उनीहरुको प्राज्ञिक मापदण्ड यताको भन्दा अझ माथिल्लोम स्तरको हुनसक्छ । हामीले छिङह्वा विश्वविद्यालयमा अध्ययनका लागि सिफारिश गर्न त सक्छौं, तर तिमीले पनि त्यता पुगेर एकचोटि कुरा गर्दा हुन्छ ।” त्यसो त ईञ्जिनियरिङ विषयको पढाईमा छिङह्वा विश्वविद्यालय चीनको सबभन्दा उत्कृष्ट विश्वविद्यालय हो ।

थियानचीन विश्वविद्यालयका शिक्षकहरुले छिङह्वा विश्वविद्यालयका शिक्षकहरुसँग मेरो बारेमा कुरा गर्नुभयो र मलाई भन्नुभयो -“हामीले छिङह्वा विश्वविद्यालयको विदेशी विद्यार्थी सम्पर्क कार्यालयसँग कुराकानी गरिसकेका छौं । तिमीले पनि एकचोटि त्यहाँ गएर कुरा गर्नु । भोलि बिहान नौ बजे त्यहाँ पुगेर त्यहाँका ‘सिन’ नामका शिक्षिकालाई भेट्नु। बरु सबेरै थियानचीन पश्चिम रेलवे स्टेशन पुगियो भने पेचिङ जानका लागि बिहान समयमै रेल पक्रन सकिन्छ ।”

भोलिपल्ट सबेरै उठेर बिहान छ बजेतिर थियानचीनको पश्चिम रेलवे स्टेशन पुगें । बिहानीको समय भएकोले रेलवे स्टेशनमा मानिसहरु त्यति आइसकेका थिएनन् । त्यहाँबाट रेल चढें, रेलमा भएका मानिसहरु मेरा लागि विराना हुने नै भए । डिसेम्बरको महिना शुरु भईसकेको थियो ।थियानचीन र पेचिङमा निकै जाडो बढिसकेको थियो । रेल बाहिर चलिराखेको चिसो बतासको सुसाहट कहिलेकाहीं रेलभित्र पनि ठोकिन्थ्यो । रेलमार्गको बाहिर दायाँबायाँ उभिएका रुखहरुको पात झरिसकेकाले नांगा र उजाड देखिन्थे । मनमनै सोचे – “के हिउँद आईसकेको छ भने वसन्त अझै टाढा होला र? (पर्सि बेस शेली, ब्रिटिश कवि) ।

म पेचिङ रेलवे स्टेशनमा पुगेर ओर्लिएँ, त्यसपछि नजिक स्टेशनबाट मेट्रो चढेर सिच्रमन मेट्रो स्टेशनमा पुगेर पुन: ओर्लिएँ । त्यहाँबाट ३७५ नं को बस चढेर छिङह्वा विश्वविद्यालयको पश्चिमी प्रवेशद्वारबाट भित्र छिरें । त्यहाँको विदेशी विद्यार्थी सम्पर्क कार्यालयमा पुगेर त्यहाँको ‘सिन नामकी शिक्षिकसँग चिनजान, भेटघाट र कुराकानी गरें ।आफ्नो अवस्थाको बारेमा बताएँ । चिनियाँ शिक्षिकाले बताउनुभयो – “हामीले थियानचीन विश्वविद्यालयसँग कुराकानी गरेर तिम्रा कागजातहरु जस्तै: नेपालबाट आउँदा दिइएको परीक्षाको नतिजा, चिनियाँ भाषा परीक्षाका नतीजा लगायतका कागजातहरु मगाउनेछौं । तिम्रो पहिलो सेमेष्टरको परीक्षाको नतीजा पनि हेर्नेछौं । यताको वातावरणीय ईञ्जिनियरिङ विभागसँग पनि सल्लाह गर्नेछौं । तिमीलाई हाम्रो विश्वविद्यालयमा भर्ना लिने बारे सकारात्मक हिसाबले सोच्नेछौं ।”

त्यस दिन वहाँले मसँग यसो भनिरहनुहुँदा मैले वहाँको आँखामा मेरा आफ्नै आशाहरु प्रतिविम्बित भईराखेको पाएँ । त्यस भन्दा बढी अझ वहाँको आँखामा एक किसिमको ईश्वरीय पुञ्जको ज्योति टल्किराखेको पाएँ । रुसी लेखक लियो टोल्सटोयले लेखेको एक कथा “मानिस केले बाँच्छ” मा सोधिएको दोस्रो प्रश्न “मानिसमा केले बास गरेको हुन्छ?” पनि त्यतिखेर झल्झल्ती सम्झिएँ । वास्तवमा कहिलेकाहीं मानिसलाई बुझ्न भाषाको त्यति आवश्यकता नपर्ने रहेछ ।

यस दिन मेरा लागि घोर निराशा र पीडाका कालो बादल मडारिरहेको समयका बिच आशाका मधुरा किरणहरु भेटिएको दिन थियो । शायद मानिसले बेलाबखत भेट्ने यस्तै आशाका किरणको न्यानो स्पर्शमा नै जस्तोसुकै कठिनाईको पहिरोमा पनि धैर्यताका लहरोहरु समात्ने प्रयत्न गर्ने गर्छन् ।
तिनै धैर्यताको लहरो समाउँदै म त्यसदिन पुन: थियानचीन फर्किएँ । पढाईमा केन्द्रित हुने प्रयास गरें । मित्र चन्द्रको निधन भएपछि मलाई त्यही छात्रावासको पाँचौ तलाको अर्को कोठामा सारियो । केही महिनासम्म चन्द्रको देहान्त भएको हाम्रो कोठा खाली नै रह्यो । उनको देहान्त भएको एक हप्ता जति म सिनियर ब्याचका श्रीलंकन पेरमपलन कुमारासँग सँगै खाना पकाएर खाएँ । उनी आफैंले मलाई सँगै खाना पकाएर खान निम्त्याएका थिए । शायद पीडा र एक्लोपनबाट गुज्रिएका मेरा ती क्षणहरुलाई उनले धेरथोर नजिकबाट बुझेका थिए । त्यस समयमा ती श्रीलकंन मित्रले पकाउने मिठो खानाको स्वाद बिर्सन सक्दिंन । उनीहरु प्रायजसो: खानेकुरामा नरिवलको जुस राख्ने गर्दारहेछन् र खानाको स्वाद निकै मिठो हुने रहेछ ।

छात्रावासको नयाँ कोठामा सरेपछि मेरा रुममेट हुन आइपुगे – अर्का श्रीलंकन, मोहम्मद रिज्मी । उनी अघिल्लो वर्ष चीन आइपुगेका थिए, संघाईमा रहेर चिकित्साशास्त्र पढ्नका लागि । पछि विविध कारणले गर्दा उनले विषय परिवर्तन गर्ने निर्णयमा पुगेका रहेछन् र थियानचीन विश्वविद्यालयमा अटोमेशन ईञ्जिनियरिङ विषय पढ्नका लागि आइपुगेका रहेछन् ।

मेरो छेउछाउका कोठामा अन्य उत्तर कोरियाली विद्यार्थीहरु बस्ने गर्दथे । उनीहरुले मलाई उत्तर कोरियाली नेताहरु किम इल सङ र कोम जोङका अंग्रेजी भाषामा लेखिएका जीवनी किताबहरु दिएका थिए । ती किताबहरु मेरो किताबको र्‍याकमा त्यत्तिकै रहिरहेको थियो । एक दिन सामान्य चिनजान भएका, हाम्रै विश्वविद्यालयमा चिनियाँ भाषा पढ्न आएका दुई जना स्वीडिशहरु संयोगले मेरो कोठामा आइपुगे । मेरो कोठाको र्‍याकमा उत्तर कोरियाली नेताका जीवनी किताबहरु देखेर त उनीहरु ज्यादै रिसाए । किताब हातमा लिएर फर्रर पल्टाउँदै, “यस्ता बकबास किताबहरु पनि कोठामा राख्ने हो, तुरुन्तै मिल्काईहाल” पो भने मलाई ।

हाम्रो छात्रावासमा चिनियाँ भाषा पढ्न आएका थुप्रै दक्षिण कोरियाली विद्यार्थीहरु पनि बस्ने गर्दथे । चिनियाँ भाषा पढ्न आएका एक जना यस्तै दक्षिण कोरियाली विद्यार्थी मसँग निकै आत्मीय व्यवहार गर्दथे । पछि नजिकिंदै जाँदा उनले मलाई येशु सम्बन्धी किताबहरु पढ्न दिन थाले । उनको आत्मीय व्यवहार त राम्रो लाग्थ्यो, तर उनले धार्मिक प्रचारका किताबहरु दिन थालेपछि म उनीसँग त्यति नजिकिराख्न सकिंन ।

पहिलो सेमेष्टरमा मेरो विभागमा अध्ययनरत विदेशी विद्यार्थी म मात्र थिएँ । थियानचीन विश्वविद्यालयका सबैजसो शिक्षकहरुले हामी विदेशी विद्यार्थीहरुलाई धेरै आत्मीय व्यवहार गर्ने र सहयोग गर्ने गर्नुहुन्थ्यो । हामीलाई गणित पढाउनुहुने शिक्षक विश्वविद्यालयकै एक उत्कृष्ट गणित शिक्षक हुनुहुन्थ्यो । हामीलाई पढाई हुने गणित किताब वहाँ आफैंले लेख्नुभएको थियो । वहाँले मलाई पढाईमा पनि धेरै सहयोग गर्नुभयो । पहिलो सेमेष्टरको गणितमा धेरैजसो विषयवस्तुहरु क्यालकुलससँग सम्बन्धित थिए । त्यसबाहेक अजैविक रसायनशास्त्रको शिक्षिकाले पनि थुप्रै अतिरिक्त कक्षाहरु लिएर मलाई सहयोग गर्नुभएको थियो । वहाँले आफ्नो विश्वविद्यालय शिक्षा चीनको साँस्कृतिक आन्दोलनका ताका लिनुभएको रहेछ । त्यतिबेला वहाँहरुलाई विश्वविद्यालयमा पढ्दापढ्दै गाउँतिर खेतबारीको काम गर्न खटाइएको रहेछ । चीनको साँस्कृतिक आन्दोलनको समाप्तिपछि मात्र पुन: विश्वविद्यालयमा फर्केर आफ्नो अध्ययन पूरा गर्नुभएको रहेछ ।

हामीलाई फोरटान कम्प्युटर ल्याङग्वेज पढाउनुहुने शिक्षक पनि साह्रै सहयोगी र असल हुनुहुन्थ्यो । वहाँ कक्षामा हुने पढाईका अतिरिक्त कति चोटि हाम्रै छात्रावासमा आएर मलाई कम्प्युटर विषय पढाउनुभयो । पढाईमा हौसला बढाउने किसिमका कुराहरु गरिराख्नुहुन्थ्यो । पहिलो चोटि कम्प्युटर पढ्दै गरेको, त्यो पनि चिनियाँ भाषामा पढ्नुपर्ने कुरा त्यति सहज हुने कुरा थिएन । ईञ्जिनियरिङ ड्रइङ विषय भने पुल्चोकमा पनि पढिसकेको र आफ्नो रुचिको विषय समेत भएको हुँदा तुलनात्मक रुपमा निकै सहज भयो । प्रयोगात्मक कक्षाहरुमा चिनियाँ क्लासमेटहरुसँगै एउटै समूहमा हुने हुँदा बढी सहज हुन्थ्यो ।

पहिलो सेमेष्टरमा मसँग नजिकिएका चिनियाँ क्लासमेटहरुमध्ये एक जना थिए – लिन थियान छियाङ्ग । उनी चीनको दक्षिणी टापू प्रान्त, हाइनानबाट आएका थिए । कहिलेकाहीं हाम्रो छात्रावासमा मेरो कोठातिर आइराख्थे । म पछि पेचिङ सरेपछि र उनी पेचिङ आउँदा पनि मलाई भेट्न आइराखेका थिए । यस बाहेक, हु वेन ली र वाङ पन याङ नामका चिनियाँ क्लासमेटहरुले मलाई गणित विषयमा सघाएका थिए ।हाम्रा कक्षा मनिटर थिए – लिउ याङ, जो चीनको लियाओनिङ प्रान्तबाट पढ्न आएका थिए ।

मैले पहिलो सेमेष्टरका चिनियाँ क्लासमेटहरुसँग केही कक्षा गतिविधिहरुमा सामेल भएँ । कक्षाका सबैजसो विद्यार्थीहरु बाहिर रेष्टुरेण्टमा गएर केही पटक सँगै खाना खाएका थियौं । प्रायजसो: चिनियाँहरु रक्सी खाने कुरामा चाहिं माहिर नै हुने रहेछन् । मैले रक्सी खाएको नदेख्दा छक्कै पर्थे उनीहरु ।हामी क्लासमेटहरु ‘आइस स्केटिङ’ खेल्ने ठाउँमा पनि गएका थियौं ।

त्यतिबेलाका मेरा क्लास मनिटर, लिउ याङका श्रीमती उनको छोरी सहित दुई वर्ष जति अघि (अगष्ट, २०१८) नेपाल घुम्न आएका थिए । लिउ याङ त्यतिबेला तिब्बतको ल्हासामा ईञ्जिनियरिङ योजना विभागमा रहेर काम गर्दैथे । उनी आफैं भने केही कारणले गर्दा सँगै नेपाल आउन सकेनन् । उनकी श्रीमतीले मेरा लागि भनेर केही चिनियाँ रक्सी उपहार ल्याइदिन खोजेकी रहिछिन्, तर लिउ याङले रक्सी किन्न रोकेछन् र त्यसको साटो केही चिनियाँ चियापत्ती किनेर पठाइदिएछन् । कक्षाका क्लासमेटसँगै खाना खाँदा उनले मेरो रक्सी नखाने बानीको हेक्का राखिरहेका रहेछन् ।

समग्रमा, भन्नुपर्दा इञ्जिनियरिङ विषयको पहिलो सेमेष्टरको पढाई मेरा लागि अत्यन्त चुनौतीपूर्ण बनेको थियो । अनेकौं चुनौती र बाधाव्यवधानका बिच पनि पढाईको बलियो पृष्ठभूमि, मिहिनेत गर्ने बानी र चिनियाँ शिक्षक तथा सहपाठीहरु समेतको सहयोगमा पहिलो सेमेष्टरको पढाई राम्रैसँग सकाएँ । परीक्षा आयो । सबैजसो परीक्षाहरु राम्रै भए । परीक्षामा चिनियाँ विद्यार्थीलाई भन्दा हामी विदेशी विद्यार्थीहरुलाई आधा घण्टा समय बढी दिइन्थ्यो । किनभने चिनियाँ भाषा बुझ्ने र लेख्ने दुवै मामलामा हामी चिनियाँ विद्यार्थी भन्दा अलिक ढिला हुने त स्वाभाविक भयो । परीक्षामा सोधिने प्रश्नपत्रहरु भने उनीहरु र हामी विदेशी विद्यार्थीलाई समान नै हुन्थे ।

पहिलो सेमेष्टरको परीक्षाको नतीजा आयो । सबै विषयमा उत्तीर्ण हुन सकेछु । इञ्जिनियरिङ ड्रईङमा त निकै राम्रो अंक आएको रहेछ । मेरो पहिलो सेमेष्टरको पढाईमा सहयोग पुर्‍याउनुहुने विश्वविद्यालयका सबै शिक्षक, सहपाठीहरु र प्रतिकुल समयमा पनि मेरो पढाईमा विराम लाग्न नदिन मलाई प्रेरित गरिराख्नु हुने विदेशी विद्यार्थी सम्पर्क कार्यालयका शिक्षकहरु लगायत त्यहाँका सबैजना प्रति वहाँहरुको सहयोग र आत्मीयताप्रति यसक्षण नतमस्तक छु ।

पहिलो सेमेष्टरको मेरो पढाई सकिएपछि थियानचीन विश्वविद्यालयले मेरा व्यक्तिगत कागजात तथा पहिलो सेमेष्टरको परीक्षा नतीजा सहितका कागजातहरुलाई छिङह्वा विश्वविद्यालयमा पठाईदियो । त्यसपछि छिङह्वा विश्वविद्यालयमा आधिकारिक रुपमा भर्ना भएँ । अब छिङह्वा विश्वविद्यालयको वातावरणीय ईञ्जिनियरिङ विभागमा भर्ना भएर नियमित रुपमा कक्षा जान सक्ने भएँ । मेरो विश्वविद्यालय स्थानान्तरण भएको कुरालाई पेचिङस्थित हाम्रो दूतावासलाई पनि जानकारी दिएँ । विश्वविद्यालय स्थानान्तरणका यी सबै प्रक्रियाहरु म आफैंले पूरा गरेको थाहा पाएर दूतावासका कर्मचारीहरु केही चकित पर्नुभयो, किनकि अध्ययन वर्षको बिचमै, त्यसमाथि पनि पेचिङको एक उत्कृष्ट विश्वविद्यालयले त्यति सहज हिसाबले मेरो भर्ना लिएको कुरा अलिक नौलो लागेको हुन सक्थ्यो । वहाँहरुले भन्नुभयो – “तपाईंले छिङह्वा विश्वविद्यालयमा कसरी यति सजिलै आफैं स्थानान्तरण हुन सक्नुभयो ? यसको मतलब चिनियाँहरुले तपाईंलाई धेरै नै मन पराउँदा रहेछन् त?”

विश्वविद्यालय स्थानान्तरणका सबै आधिकारिक प्रक्रियाहरु सकाएपछि म अब विधिवत रुपमा पेचिङ सर्न सक्ने भएँ । थियानचीनबाट पेचिङमा मेरा सामान सार्ने क्रममा पहिलो खेपमा चिकित्साशात्रमा अध्ययनरत पेचिङका सिनियर दाइहरु उदय कोइराला र मनिल रत्न बज्राचार्य तथा दोस्रो खेपमा चिकित्साशास्त्रकै सिनियर दाइ बद्री पौडेल तथा मेरा ब्याचका साथीहरु पंकज कण्ठ र हरिश भट्ट मेरा साथमा थियानचीन आएर सामान सार्न सघाएका थिए ।

यसपछि मेरो पेचिङ बसाईको यात्रा शुरु भयो ।

थियानचीन विश्वविद्यालयबाट पेचिङको छिङह्वा विश्वविद्यालयमा सरे पनि थियानचीन विश्वविद्यालयको मोट्टो ‘तथ्यबाट सत्यको खोजी” लाई कहिल्यै बिर्सन सक्नेछैन ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्