Logo

पुल्चोकदेखि पेचिङसम्म-६



Spread the love

यसरी अनपेक्षित दु:खद घटनाले ल्याएको मोडसँगै म थियानचीनबाट पेचिङतिर स्थानान्तरित भएको थिएँ, ईञ्जिनियरिङ अध्ययनको पहिलो वर्षको दोस्रो सेमेष्टर शुरु हुनु अघि । मसँगै चीनमा अध्ययन गर्न आएका मित्र चन्द्रकान्त पौडेल पहिलो सेमेष्टरको शुरुवातीमै अनन्ततर्फको यात्रामा विलीन भए । म एक जना मात्र थियानचीनबाट पेचिङतर्फ जाँदै गर्दा साहित्यकार इन्द्र बहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी” कथाको पात्र जयमायासँग आफूलाई तुलना गर्दै थिएँ । विदेश अध्ययनको यात्रामा अचानक घटेको अनपेक्षित घटनाले छिन्नभिन्न भएका सपना र आकांक्षाहरुलाई फेरि जोडेर मूर्त रुप दिने साहस बटुल्नु थियो, मलाई ।

छिङह्वा विश्वविद्यालयमा स्थानान्तरण हुनका लागि सबै प्रक्रियाहरु पूरा गरिए । विदेशी विद्यार्थी छात्रावासको एक कोठा उपलब्ध गराइयो मलाई । म शैक्षिक सत्रको बिचमा आएको हुनाले त्यस सेमेष्टरको छात्रावास बसाईमा मेरा कोही रुममेट भएनन् । त्यतिबेला छिङह्वा विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरुमा मेकानिकल ईञ्जिनियरिङको अन्तिम वर्षमा विश्व कर्माचार्य र ईश्वर लामा, आर्किटेक्चर तेस्रो वर्षमा सन्तोष जोशी तथा कम्प्युटर साइन्सको प्रथम वर्षमा हरिश भट्ट थिए ।

त्यस बाहेक विश्वविद्यालयमा अध्ययनरत अन्य विदेशी विद्यार्थीहरुमा पाकिस्तान, लाओस, भियतनाम, मलेशिया, इण्डोनेशिया, उत्तर कोरिया, यमन, दक्षिण कोरिया, जापान, केही अफ्रिकन मुलुकहरु, ब्राजिल, मरिशस, मेक्सिको लगायत मुलुकका थिए । दक्षिण कोरिया, जापान र केही युरोपेली मुलुकबाट चिनियाँ भाषा अध्ययन गर्न आउनेहरु पनि थुप्रै थिए र उनीहरु मध्ये प्रायजसो: एक, दुई वर्ष मात्र विश्वविद्यालयमा रहन्थे ।

हाम्रो छात्रावास विश्वविद्यालयको उत्तर पश्चिमी कुनामा छुट्टै कम्पाउण्डभित्र रहेको थियो । कम्पाउण्डको गेट नजिकै साइकल पार्किङको स्थान तथा त्यसको उत्तरपट्टि टेनिस र भलिबल खेल्ने कोर्टहरु रहेका थिए । दुई तले छात्रावास भवनको सँगै क्याफ्टेरिया जोडिएको थियो । यहाँबाट हामीलाई अध्यापन गराइने कक्षाकोठाहरु, विभिन्न शैक्षिक विभागहरुसम्म पुग्न भने अलिक टाढा पर्दथ्यो । विश्वविद्यालय निकै ठूलो क्षेत्रफलमा फैलिएको हुनाले छात्रावासबाट कक्षा जानका लागि साइकलको आवश्यकता अनिवार्य जस्तै थियो । कक्षा शुरु भएपछि हाम्रै ब्याचमा जलस्रोत ईञ्जिनियरिङ पढ्ने तिलोङ नामका एक लाओसियन विद्यार्थीले मलाई साइकल मिलाईदिएका थिए । अहिले विश्वविद्यालय प्रांगणभित्र स्कूलबसहरु समेत चलाइने गरिएको छ र विश्वविद्यालयभित्र विभिन्न बस स्टेशनहरु छन्।

सन् १९११ मा पेचिङको हाईतियान जिल्लाको उत्तर-पश्चिमी क्षेत्रमा स्थापना भएको छिङह्वा विश्वविद्यालयलाई चीनको ईञ्जिनियरिङ विषय पढाई हुने सर्वोत्कृष्ट विश्वविद्यालय मानिन्छ । चिनियाँ विद्यार्थीहरुलाई यस विश्वविद्यालयमा प्रवेश पाउनका लागि अत्यन्त कडा प्रतिस्पर्धाको सामना गर्नुपर्छ र यहाँ पढ्न पाउने अवसर पाउनु चीनमा निकै प्रतिष्ठाको विषय मानिन्छ । यहाँ प्राकृतिक विज्ञान, ईञ्जिनियरिङका साथसाथै मानविकी, व्यवस्थापन, कानुन र ललितकला विषयहरुमा समेत अध्यापन हुने गरेको छ । चीनका पूर्व राष्ट्रपति हु चीन थाओ (१९६४ ब्याच) र वर्तमान राष्ट्रपति सि चिन फिङ (१९७९ ब्याच) यसै विश्वविद्यालयका एलुम्नाई हुन् भने पूर्व प्रधानमन्त्री चु रोङ ची यस विश्वविद्यालयका अर्थशास्त्र तथा व्यवस्थापन संकायका डिन थिए । म अध्ययनरत हुँदा हाम्रो वातावरणीय विज्ञान तथा ईञ्जनियरिङ विभागको विभाग प्रमुख रहनुभएका छन चिनिङ सन् १९१५-१९१७ मा चीनको वातावरण संरक्षण मन्त्री हुनुभयो र हाल पेचिङ शहरको मेयर हुनुहुन्छ । यस अर्थमा यस विश्वविद्यालय सम्बद्ध व्यक्तिहरुको चिनियाँ राजनीतिमा एक तहको पकड पनि रहेको छ ।

यो विश्वविद्यालय रहेको स्थान कुनै समय छिङ वंशका शासक सम्बद्ध व्यक्तिहरुको बगैंचाको रुपमा रहेको थियो । विश्वविद्यालय हाताभित्र रहेका थुप्रै पोखरीहरु, वरिपरिको भूसौन्दर्य तथा चिनियाँ परम्परागत शैलीको वास्तुकलामा सजिएका भवनहरुका लागि पनि यो उत्तिकै प्रसिद्ध छ । पुस्तकालय, अडिटोरियम हल र पछि बनेका नयाँ भवनहरुले भने आधुनिक पश्चिमी शैली पछ्याएका छन् । विश्वविद्यालय हाताभित्रका फराकिला सडकहरु र त्यसका छेउछाउमा लहरै रोपिएका रुखहरु, विभिन्न शैक्षिक विभागका ठूल्ठूला भवनहरु, छात्रावास भवनहरु, थुप्रै क्याफ्टेरियाहरु, ठूल्ठूला खेलकुद मैदानहरु, अडिटोरियम हल, प्रशासकीय भवन, पुस्तकालय भवनहरु, पानीका नहर र त्यस छेउको बाटो र बाटो छेउमा रोपिएका रुखहरुको सौन्दर्यले विश्वविद्यालय घुम्न जाने जो कोहीलाई प्रभावित पार्ने गर्छ । विश्वविद्यालयको दक्षिणी-पूर्वी भागमा ‘ऊ ताओ खउ’ बजार र दक्षिणी-पश्चिमी क्षेत्रमा ‘चोङ क्वान छुन’ नामले चीनको सिलिकन भ्यालीको रुपमा चिनिने ठूलो कम्प्युटर बजार तथा सूचना प्रविधि केन्द्र छ । विश्वविद्यालयको नजिकै दक्षिणी-पश्चिमी दिशातिर चीनको अर्को प्रसिद्ध पेचिङ विश्वविद्यालय रहेको छ ।

अध्यापनका लागि प्रयोग हुने कक्षाकोठाहरु विश्वविद्यालयको लगभग केन्द्र भागमा रहेको छ । विषय अनुसार गणित, भौतिकशास्त्र जस्ता साझा विषयका कक्षामा एक भन्दा बढी विभागका विद्यार्थीहरुलाई एउटै ठूलो हलमा राखेर पढाइने गरिन्थ्यो र सम्बन्धित विभागसँग मात्र सम्बन्धित कक्षामा भने विशुद्ध विभागीय पाठयक्रमसँग सम्बन्धित विषयका विद्यार्थीहरुलाई मात्रै राखेर पढाइन्थ्यो ।

म पेचिङमा सरिसकेपछि विश्वविद्यालयको विदेशी विद्यार्थी सम्पर्क कार्यालयसँग सम्बन्धित कामहरु सकाएपछि वातावरण विज्ञान तथा इञ्जिनियरिङ विभागमा सम्पर्क गरें । यस विभाग हाम्रो छात्रावासबाट करीब पाँच सय मिटरको दूरीमा पूर्वतिर अवस्थित थियो । यस विभागलाई त्यतिबेला विश्वविद्यालयभित्रको सानो विभागको रुपमा लिइन्थ्यो । हाम्रो स्नातक तहको ब्याचका दुई वटा सेक्सनमा कुल ६३ जना विद्यार्थीहरु अध्ययनरत थिए । यस विभाग सन् १९८४ मा स्थापना भएको थियो । यस अघि सिभिल ईञ्जिनियरिङ वा आर्किटेक्चर विभाग अन्तर्गतको खानेपानी तथा ढलनिकास र सरसफाई ईञ्जिनियरिङको विस्तारित रुप थियो भने यस विभागको भवन सन् १९८६ मा बनेको रहेछ । सन् १९९७ मा यस विभागको नाम वातावरणीय इञ्जिनियरिङ विभागबाट वातावरण विज्ञान तथा इञ्जिनियरिङ विभागको नाममा परिणत भएको थियो । पछि सन् २०११ मा वातावरण स्कूलको रुपमा परिणत भयो र यस अन्तर्गत वातावरण विज्ञान, वातावरण इञ्जिनियरिङ र वातावरणीय योजना तथा व्यवस्थापन विषयको पढाई हुन थालेको छ ।

विभागमा सम्पर्क गरेपछि मलाई विभागको प्रशासनमा रहेका चोङ नामकी शिक्षिकाले हाम्रो पढाईको पाठ्यक्रम, पाठ्यपुस्तकहरु र कक्षा तालिका उपलब्ध गराउनुभयो । विभागमा मेरो पठनपाठन र अन्य कुरामा सहयोग गर्नका लागि ‘चाङ होङ थाओ’ नामका शिक्षकलाई तोकिएको थियो । कक्षा तालिका अनुसार म कक्षामा उपस्थित हुन थालें ।

१० फेब्रुअरी, सन् १९९८ ।

यो दिन मैले छिङह्वा विश्वविद्यालयमा कक्षा लिएको पहिलो दिन थियो । मेरो पहिलो दिनको पहिलो कक्षा नौ बजेतिर शुरु हुने वाला थियो र पढाई हुने विषय थियो – ईञ्जिनियरिङ ड्रइङ । कक्षा हुने स्थान छिङह्वा स्वेथाङ भवनको भुईंतल्ला थियो । कक्षा शुरु हुनुभन्दा अघि केही समय अघि नै म कक्षाकोठामा पुगिसकेको थिएँ । त्यसभन्दा अघि चिनियाँ क्लासमेट साथीहरुको विदेशी भाषाको कक्षा रहेछ । हामी विदेशी विद्यार्थीले भने विदेशी भाषाको कक्षा लिनु पर्थेन । म त्यहाँ पुग्दा उनीहरुको अघिल्लो कक्षा छुटिसकेको थिएन । कक्षाकोठा बाहिर केहीबेर बसिराखें । त्यसबेला दुई जना छात्राहरु देखा परे, ऊनीहरु मेरै कक्षाका रहेछन् । रसियन र जापानिज भाषाको कक्षा लिएर आएका रहेछन् र अन्य सहपाठीहरु भने अंग्रेजी भाषाको कक्षा लिंदैरहेछन् । पछि थाहा भयो, ती दुई छात्रा सहपाठीहरुको नाम पु छिङ चे र फाङ सि लिन रहेछ ।

मैले लिएको पहिलो कक्षा ईञ्जिनियरिङ ड्रइङ मेरो रुचिको विषय थियो । यस विषय पढाई हुने ठूलो कक्षाकोठामा अग्ला अग्ला ड्रइङ टेबलहरु थिए । कक्षामा अन्य क्लासमेटहरुसँग परिचय हुँदै गयो । मेरो टेबल छेउका अर्का क्लासमेटको नाम लि स्यु रहेछ र उनी थियानचीनबाट आएका रहेछन् । थियानचीन नाम सुन्ने बित्तिकै मेरो मनमा एक किसिमको आत्मीय भाव पैदा भयो । त्यस पछि अन्य क्लासमेटहरुसँग पनि परिचय हुँदै गयो – तिङ ली, सु वेई, ………. । सु वेई हाम्रो कक्षामा पहिलो वर्षका मनिटर रहेछन् ।

पहिलो वर्षमा पढ्नुपर्ने अन्य विषयहरुमा गणित, जैविक रसायनशास्त्र, भौतिकशास्त्र तथा रसायनशास्त्रको प्रयोगात्मक कक्षा लगायत थिए । गणित क्यालकुलस विषयको पढाई ५ नं भवनको कक्षाकोठामा हुन्थ्यो । विश्वविद्यालयमा विभागीय भवनका अतिरिक्त अध्यापन कार्यहरु मात्र हुने १ देखि ५ नं सम्मका भवनहरु थिए । ती भवनहरुमा ठिक्कको विद्यार्थी संख्या देखि ठूलो संख्यामा विद्यार्थी अट्ने विभिन्न साइजका कोठा/हलहरु थिए । हामीलाई क्यालकुलस पढाउनुहुने क यान लिन नामका शिक्षकले देब्रे हातले लेख्नुहुन्थ्यो । वहाँको लेखाई र बोली दुवै हामी विदेशी विद्यार्थीहरुका लागि बुझ्न निकै कठिन हुन्थ्यो । धेरै विभागका विद्यार्थीहरुलाई एकै ठूलो कोठामा राखेर पढाइने हुँदा विद्यार्थीले आफ्ना लागि अनुकुल सिट पाउने संभावना कम हुन्थ्यो । चिनियाँ विद्यार्थीहरुले कलम, कापी वा स्याउ समेत राखेर सिट ओगटेको देख्न सकिन्थ्यो । आफूलाई गणित विषय निकै सहज लाग्थ्यो, तर यस सेमेष्टरको गणित विषय उत्तीर्ण हुनका लागि मैले जिन्दगीमै पहिलो चोटि दोहोर्‍याएर परीक्षा दिनुपर्ने अवस्थाको सामना गरें ।
भौतिक शास्त्रको पढाई तीन नं भवनको ठूलो हलमा हुन्थ्यो । पढाउने गुरु हुनुहुन्थ्यो – तङ सिन युयान । वहाँसँग मैले चिनापर्ची गरेर म नेपालबाट आएको विदेशी विद्यार्थी भएको कुरा बताएपछि वहाँले मलाई कक्षा हलको सबभन्दा अगाडिको सिट छुट्टयाईदिने प्रबन्ध मिलाईदिनुभयो । त्यसो त मैले स्कूल र कलेज पढ्दा पनि सँधै सबभन्दा अगाडिको सिटमा बस्ने गर्दथें । वहाँले कक्षामा सबै विद्यार्थीका अगाडि मेरो परिचय गराउनुभयो र सबै विद्यार्थीले ताली बजाएर मेरो स्वागत गरे । त्यसपछि मलाई ठूलो कक्षाहलमा प्रत्येक दिन आफ्नो सिट खोजिराख्ने झण्झट गरिराख्नु परिराखेन । वहाँले मेरा लागि कक्षामा छुट्टयाइदिनुभएको त्यो सिटको सम्झना मलाई अझै पनि आइरहन्छ । वहाँ साठी वर्ष हाराहारी उमेरको भए पनि बडो जोशिलो किसिमले पढाउनुहुन्थ्यो । वहाँले एकचोटि कक्षामा भौतिकशास्त्रको नोबेल पुरस्कार वितरण समारोहमा आफू सहभागी हुँदा खिचाइएको फोटो हामीहरुलाई देखाउनुभएको थियो । त्यसो त हाम्रा विश्वविद्यालयमा प्राध्यापन गर्ने दुई भौतिकशास्त्रीहरु लि चङ ताओ र यान चन निङले सन् १९५७ मा भौतिक शास्त्रको नोबेल पुरस्कार पाएका थिए ।

एकचोटि रुघाखोकीले सताएर सामान्य ज्वरो पनि आईराखेको हुँदा भौतिक रसायनशास्त्रको कक्षामा जान सकेको थिईंन । कोठामा नै सुतिराखेको थिएँ । केही क्षणपछि त्यस विषय शिक्षिकाको फोन त मेरो कोठैमा आइपुग्यो, किन कक्षामा उपस्थित नभएको भनेर? छिङह्वाका शिक्षकहरुले कक्षामा भएका विदेशी विद्यार्थीहरुको विशेष ख्याल राख्ने गर्नुहुन्थ्यो । न्युमेरिकल एनालाईसिस विषयको पढाई हुँदा एकचोटि मैले सबै गृहकार्यहरु गरेको थिईंन । हामीलाई त्यो विषय पढाउनुहुने शिक्षिका, लिउ यिङले कक्षामा “किन सबै गृहकार्य नगरेको? विदेशी विद्यार्थी भन्दैमा गृहकार्य गर्ने कुरामा कुनै छुट हुँदैन । पढाईको मापदण्ड चिनियाँ होस् कि विदेशी विद्यार्थी, सबैका लागि समान हो ।” भनेर हप्काउनुभएको थियो । सबै गृहकार्य नगर्दा यस्तै एक हप्काई क्लिनर प्रोडक्शन विषयको शिक्षकबाट पनि खाएको थिएँ ।

खानेपानी तथा ढलनिकास र सरसफाई ईञ्जिनियरिङ विषयको गृहकार्य गर्नका लागि वेई चे र चउ हुई यु नामका दुई चिनियाँ सहपाठीहरु पनि मेरै समूहमा परेका थिए । यो विषयका गृहकार्यहरु गर्नका लागि मलाई निकै सहज भएको थियो । उनीहरु गृहकार्यहरु गर्ने सिलसिलामा हाम्रो छात्रावासको मेरो कोठामा आइरहन्थे । चिनियाँ विद्यार्थीहरु बस्ने छात्रावास हामी विदेशी विद्यार्थी बस्ने छात्रावास भन्दा दश-पन्ध्र मिनेट हिंडाईको दूरीमा थियो । मेरो कोठामा उनीहरुको आगमन भईरहने क्रममा ती दुई चिनियाँ सहपाठीहरुसँगको मेरो सम्बन्ध नजिकियो । उनीहरु मध्ये वेई चे नामका सहपाठी हाल शेञ्जेन शहरको नगर योजना अनुसन्धान ब्युरोमा कार्यरत छन् भने अर्का सहपाठी चउ हुई यु चिनियाँ रेलवे निर्माण कम्पनीमा कार्यरत छन् र हामी नियमित सम्पर्कमा छौं ।

अध्ययनका क्रममा फोहरमैला व्यवस्थापन स्थल, फोहरपानी प्रशोधन केन्द्रहरुको भ्रमण गरिने अवसरहरु पनि आईराख्थ्यो । यस्ता भ्रमणहरुबाट सम्बन्धित विषयहरुको प्रयोगात्मक पक्षहरुमा आफ्नो ज्ञान बढाउनका लागि निकै उपयोगी हुन्थ्यो ।

त्यतिखेर हाम्रो सम्पूर्ण विभाग तथा मेरो कक्षामा पनि विदेशी विद्यार्थी म मात्र भएको र कक्षाका अन्य चिनियाँ विद्यार्थीहरु बस्ने ठाउँ भन्दा अलिक पर नै भएकोले अध्ययनका क्रममा कहिलेकाहीं केही व्यावहारिक समस्याहरु पनि आइपर्थे । जस्तो कि एक चोटि ईञ्जिनियरिङ स्ट्रक्चर विषयको कक्षागत परीक्षा हुने समय मैले आफ्नो नोटकापीमा गलत टिपेछु । यसको नतीजा, म परीक्षाको दिनमा गईन र मेरो त्यो दिनको परीक्षा नै छुट्न पुग्यो । पछि मलाई त्यस विषयको शिक्षिकाले छुट्टै परीक्षा लिने प्रबन्ध मिलाउनुभएको थियो ।

सन् १९९९ मा युगोस्लाभियामा रहेको चिनियाँ दूतावासमा अमेरिकाले ‘गल्तीवश’ बम विष्फोट गराउन पुग्दा चिनियाँहरु अमेरिका प्रति आक्रोशित थिए । हामीलाई प्रोब्याबिलिटी तथा स्टाटिक्टिक्स पढाउनु हुने शिक्षकले कक्षाकोठामा अमेरिकाको उक्त कदमको कडा शब्दमा भत्सर्ना गर्नुभएको थियो । सबै विद्यार्थीहरुले ताली बजाएर वहाँको समर्थन गरेका थिए । वहाँलाई नेपालको राजनीतिको पनि सामान्य ज्ञान रहेछ, वहाँले मसँग नेपालका भूपू प्रधानमन्त्रीहरु विपि कोइराला र गिरिजा प्रसाद कोईरालाको नाम पनि लिनुभएको थियो ।

हाम्रा थुप्रै प्रयोगात्मक कक्षाहरु थिए । त्यसमध्ये केही एनालाइटिकल केमेष्ट्री, इन्स्ट्रुमेन्टल एनालाइसिस, भौतिक शास्त्रका प्रयोगात्मक कक्षाहरु थिए । यी प्रयोगात्मक कक्षाहरुमा म धेरैजसो चिनियाँ विद्यार्थीहरुले गर्ने कार्य हेर्दै आफ्नो प्रयोगात्मक अभ्यासहरु पूरा गर्ने गर्थें ।

मेरो विषय वातावरणीय ईञ्जिनियरिङ भनिए तापनि हामीहरुको पाठ्यक्रममा वातावरण विज्ञान र वातावरण ईञ्जिनियरिङ सम्बद्ध दुवै किसिमका विषयहरुको सम्मिश्रण थियो । भौतिकशास्त्र र गणित जस्ता आधारभूत विषयहरु त हुने नै भए । केमेष्ट्री विषयहरुमा ईनअर्गानिक केमेष्ट्री, अर्गानिक केमेष्ट्री, एनालाइटिकल केमेष्ट्री, बायोकेमेष्ट्री, विषयहरु पढ्नुपर्थ्यो भने माइक्रोबायोलोजी विषय पनि पढेका थियौं । ईञ्जिनियरिङसँग सम्बन्धित विषयहरुमा मेटल वर्क्स प्रयोगात्मक अभ्यास, सर्वे, न्युमेरिकल एनालाईसिस म्याटेरियल मेकानिक्स, बेसिक इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स टेक्नोलोजी, फ्ल्युड मेकानिक्स, केमिकल ईञ्जिनियरिङ, ईञ्जिनियरिङ स्ट्रक्चर, क्लिनर प्रोडक्सन लगायतका विषयहरु पढ्नुपर्थ्यो ।

अध्ययनका पछिल्ला सेमेष्टर र वर्षहरुमा क्रमश: वातावरण ईञ्जिनियरिङसँग सम्बद्ध विषयहरुको पढाई हुँदै गयो । हामीलाई छन चि निङ शिक्षकले सामान्य वातावरणीय परिचय, चउ ल्युले फोहर पानी प्रशोधन, मा चिनले ढल निकास ईञ्जिनियरिङ, हाओ चिमिङले वायु प्रदुषण र नियन्त्रण, यु काङले वातावरणीय अनुगमन, ह्वाङ स्याले खानेपानी शुद्धिकरण, चाङ होङ थाओले खानेपानी तथा सरसफाई, च्या हाई फङले वातावरणीय प्रभाव मूल्याकंन, च्याङ च्यान कुओले फोहरमैला व्यवस्थापन, हु होङ यिङले वातावरणीय शुक्ष्म जीवशास्त्र, चो च्यान अले फोहरपानी शुद्धिकरण जस्ता विषयहरु पढाउनुभएको थियो ।

त्यस्तै मलाई अझै याद छ, हाम्रो विश्वविद्यालयका तत्कालीन उपकुलपति वाङ ता चोङले स्कूल रेडियोबाट प्रसारित वहाँको भाषणमा भन्नुभएको थियो – “युवाहरुले गल्ती र असफलताहरुबाट डराउनु हुँदैन । कडा परिश्रम गर्नबाट पर भाग्नु हुँदैन । युवावस्थामा आर्जन गरिएका जुनकुनै अनुभवहरुले पछि जीवनको गोरेटोका सिंढीहरु चढ्दै जाँदा तपाईंका पाइलाहरुलाई थप मजबुत बनाउनेछन्, अझ बढी परिपक्व बनाउनेछन् ।”

क्रमशः…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्