विज्ञानले कयौँ वर्ष अघि नै एउटा तथ्य प्रमाणित गरिसकेको थियो कि हामीले जति सुकै बल लगाएर ढुङ्गो आकाशतिर फ्याले पनि त्यसको दुई गुणा स्पिडमा त्यो ढुङ्गा हामी तिर अर्थात् तलतिर नै झर्छ भनेर । हो, आजको दिनमा नेपालको राजनीतिको अवस्था पनि यस्तै देखिन्छ । २००७, ०४६/०४७, ०६२/०६३ र २०७२ हुँदै आजको दिन सम्म लगभग ७ दशकभन्दा बढी समय विभिन्न “वाद” र “व्यवस्था परिवर्तन” नै साध्य हुन भनी गरिएको राजनीतिक होडबाजी अन्ततः गएर आकाशबाट दुई गुणा स्पिडमा तलतिर झरेको ढुङ्गा जस्तै ओरालो अर्थात् पतनको दिशा तर्फ उन्मुख भएको देखिन्छ ।
नेपालको वर्तमान राजनीतिक घटनाक्रमबाट “आकाशबाट तारा नै झरेको” झैँ गरी आश्चर्यमा भने पर्नुहुँदैन । इतिहास पल्टाएर हेरौँ यस्तै यस्तै रङले पोतिएका कयौँ पन्नाहरूले आज पनि त्यी कुलङ्कारहरुलाई सरापिरहेको छ ।
एउटा तीतो यथार्थलाई भने स्विकार्नै पर्छ कि :
१. नेपाल यस्तो मुलुक हो जहाँका ९०% नागरिकलाई आफ्नो लागि गाँस-बास-कपासको जोहो गर्नु भन्दा अर्को कुनै मतलब नै छैन । यिनीहरूलाई न त देश बनाउने फुर्सद छ, न त देश बिगार्ने नै ।
२. गन्ने नै हो भने सयौको सङ्ख्यामा आफूलाई गैर राजनैतिक अर्थात् स्वतन्त्र हौ भनी हिडने झुन्ड “नागरिक समाज” भनाउँदा छन्, त्यी मध्ये अधिकांशको “हात्तीको देखाउने दाँत” जस्तै नाम एउटा र कर्म अर्कै देखिन्छ । यिनीहरूको सिद्धान्त पनि स्पष्ट छ, “जता मल्खु उतै ढल्कु”।
३. जनसंख्याको लगभग ०.१% भन्दा पनि कम मानिसहरूले यो देशलाई आफ्नै बाउको बिर्ता जस्तै ठानेका छन् । जसलाई आजको दिनमा हामीले नेताको संज्ञा दिएका छौँ; जसमध्ये अधिकांश मनि र मसलको सिद्धान्तलाई नै आफू चढने राजनीतिक खुड्किलोको रूपमा बुझ्छन् । यिनीहरूका लागि यो देशका जनता चुनावमा भोट हाल्ने सङ्ख्या बाहेक अरू केही होइनन् । यस्तो लोकतन्त्र भएको मूलकमा बिचरा नेताहरुले आफ्नो भुँडी नभरेर अरूलाई दिन्छन् त ? मेरो विचारमा यिनीहरू त पर्दा अगाडी देखिएका दोषी पात्रहरू मात्र हुन पर्दा पछाडि रहेका वा मूल मतियार भने अरू नै छन् यो देशलाई आजको अवस्थामा पुर्याउने ।
त्यी हुन,
४. जनसंख्याको लगभग ९-१०% जति मानिसहरू यस्ता छन् जो आफू आबद्ध रहेको राजनैतिक दललाई धार्मिक स्थल अर्थात् “मन्दिर” को संज्ञा दिन्छन र आफ्ना नेतालाई मन्दिरको देवता झैँ गरी सिंहासनमा राखी उनीहरूको पिसाबलाई “पञ्चामृत” र आचीलाई “अपुङ्गो” ठानी नेताहरूको “मुत्ने” र “हग्ने” ठाउँलाई दिनरात सरसफाइ गरेपछि मात्र स्वर्गको द्वार खुल्छ भन्ने मनोविज्ञानले ओतप्रोत भई भक्ति भावले स्वर्गको यात्रामा लागेका दुःखी आत्मा अर्थात् बुझ्ने भाषामा भन्नु पर्दा “अन्धभक्त कार्यकर्ता” नै वर्तमान नेपालका असली नायक हुन । यस्ता कुलाङ्कारहरुको मनोविज्ञानमा जबसम्म बदलाव आउँदैन तबसम्म जुनसुकै “वाद” वा “व्यवस्था” ल्याए पनि नेपाली जनताको अवस्थामा भने तात्त्विक फरक भने आउँदैन । उदाहरणको लागि ज्यान मार्ने भन्दा पनि ज्यान मार्न उद्धत गर्ने व्यक्ति मूल दोषी हुन आउँछ, हो त्यसै गरी हाम्रा आँखाका अगाडी देखिएका दलाल, भ्रष्टाचारी तथा शोसकी नेताहरूलाई शिरमा पुर्याउने को हुन त? यिनै कार्यकर्ता होइनन् त ? जनता त नामका लागि मात्र छन् यो देशमा ! गाउँ गाउँ – टोल टोलमा यत्र तत्र समाजका ठेकेदारहरू भनाउदाहरु छन् । जो दिनहौ जसो जनताको जीवनस्तर उकास्ने झूटा सपनाहरू बाँडिरहन्छन् ; जसलाई झूटा सपना बाँडेर पुग्दैन उनीहरूलाई चुनावको बेलामा मासु, जाँड, रक्सी, चामल, चिउरा इत्यादि बाँडिने गरिन्छ । फलस्वरूप जनताहरू पनि आफ्नो स्वविवेकको प्रयोग गरेर भन्दानी अरूको लहै लहैमा लागेर आफ्नो मतको दुरुपयोग गरिरहेका हुन्छन् । अन्तिममा चुनाव त नेताले जित्छन् तर जनता सधैँ हारेको हारै ! कठै वरि लै लै !
यसरी नै धेरै समयदेखि नेपालको राजनीति चलिआएको छ ।
अब कुरा आउँछ के यो कहाली लाग्दो स्थितिबाट निस्कने कुनै विकल्प छैन र ? अवश्य पनि छ । तर, आजको समाजको बुझाई र माथि चित्रण गरिए अनुसारको मनोविज्ञानको दबदबा विद्यमान परिप्रेक्षमा भने विकल्प त्यति सहज र अनुकूल नहुन सक्दछ । तर, सुरुवात नगरी पनि भएको छैन । हालको परिस्थितिमा यसको कार्यान्वयनको सम्भवना पनि कमै देखिन्छ तर असम्भव भने पटक्कै छैन । वर्तमान समयमा यस्ता कुरा गर्दा खिल्लीको पात्र बनिनु अथवा समाजमा आलोचित हुनुलाई स्वाभाविक रूपमै लिनुपर्छ र त्यो जोखिम लिन पनि तयार हुनुपर्छ ।
हामीसँग अब ३ वटा विकल्प अथवा बाटोहरू छन्:-
१. नयाँ राजनीतिक संस्कारको बाटो
२. विद्रोह तथा आधुनिक क्रान्तिको बाटो
३. आफ्नै घरको बाटो
म यो अध्यायमा माथिका यी विकल्पहरूलाई एकदम संक्षिप्तमा राख्छु । पूरा व्याख्या भने आवश्यक परेमा अर्को अध्यायमा गर्नेछु ।
१. नयाँ राजनीतिक संस्कारको बाटो :-
क. “नो भोट सिस्टम” को अनिवार्य व्यवस्था गर्ने ।
ख. यिनै कुलङ्कारहरुकै कारण आफ्नो मातृभूमि छोडी विदेशको भूमिमा आफ्नो श्रम र पसिना बेच्न बाध्य पारिएका नागरिकहरूलाई अनिवार्य रूपमा मतदान गर्ने मिल्ने व्यवस्था गर्ने ।
ग. र, मुख्य कुरा सही उम्मेदवारको छनौट हुन आउँछ, जसका लागि राजनीतिक दलभित्रका हुन अथवा नागरिक समाजबाट आएका हुन् असल, इमानदार तथा जनताप्रति जबाफदेही हुने व्यक्तिहरूले हिम्मत गरी वडा – पालिका – जिल्ला – प्रदेश तथा संघमा स्वतन्त्र उम्मेदवारी दिन थाल्नुपर्छ । यो उम्मेदवारी चुनाव जित्नै पर्छ भनेर होइन, यो त दलीय राजनैतिक व्यवस्था मात्रै अन्तिम विकल्प होइन भन्ने संकेत दिनु हो । चुनाव जितियो भने राम्रो टिम तयार गरी जनताको खातिर काम गर्ने र विकासको एउटै मूल मन्त्र हुनुपर्छ:- शिक्षा ! शिक्षा !! शिक्षा !!! किनकि शिक्षासँग प्रत्यक्ष वा अप्रत्यक्ष स्वास्थ्य र रोजगारी जोडिएकै हुन्छ अन्य विकास त ठेकेदार र कमिसन खोरहरूलाई मात्र चाहिने हो । अन्य विकासको बारेमा छुट्टै बहस जरुरी हुन आउँछ र यदि चुनाव हारियो भने अझै सशक्त ढङ्गले अगाडि बढ्ने ।
२. विद्रोह तथा आधुनिक क्रान्तिको बाटो :-
क. परम्परागत रूपमा गरिँदै आएको विद्रोह तथा क्रान्तिलाई पूर्ण रूपमा परिमार्जन तथा वैज्ञानिक रूप दिनुपर्दछ । हिजो टाठा बाठा भनाउँदाहरूले गरिब, उत्पीडित तथा शोषणमा परेका वर्गहरूको उत्थानका खातिर भन्दै उनीहरूलाई नै बन्दुक भिराई फ्रन्ट लाइनमा युद्ध गर्न पठाए र हजारौँ निर्दोषले ज्यान गुमाउनु पर्यो । तर, आज त्यी टाठा बाठा भनाउदाहरु नै देशको उच्च ओहोदामा रही तिनै जनतालाई शोषण गरिरहेका छन् । त्यस कारण समाजमा विद्यमान शिक्षित, बौद्धिक तथा इमानदार व्यक्तिहरू एकजुट भई जनताको आवाजलाई बुलन्द पर्ने उद्देश्यले अगाडि बढ्नु पर्ने देखिन्छ र परेको अवस्थामा सर्वप्रथम आफ्नै ज्यान समर्पण गर्ने अठोट राख्न सक्नुपर्दछ । हतियार नै उठाउनु पर्छ भन्ने होइन तर आवश्यक परे त्यो उठाउन पनि पछि पर्नु हुन्न भन्ने दृढता भने चाहिन्छ । हुन त आजको २१ औँ शताब्दीमा हिंसाको राजनीति त्यति उपयुक्त तथा सान्दर्भिक होइन । तर, जहाँ अनपढ, भ्रष्ट, तस्कर, दलाल तथा आफ्नो स्वार्थका खातिर जुन सुकै हदलाई पनि पार गर्न सक्ने समाजका ठेकेदारहरू हुन्छन् तबसम्म उनीहरूलाई विचार, विद्वता तथा परामर्श ले मात्र सही बाटोमा ल्याउन सकिन्छ जस्तो लाग्दैन । एउटा कुरामा भने निश्चित हुन जरुरी छ कि सोझा साझा आम नेपाली नागरिकलाई विद्रोहको नाममा कुनै पनि दुःख – कष्ट भने दिनुभएन ।
र अन्तिम विकल्प
३. आफ्नै घरको बाटो
यो भने निकै सजिलो विकल्प हो, जसअनुसार समाज अथवा देशमा जे जे हुन्छ ढुक्कका साथ हेर्ने- सुन्ने र यसो भएन उसो भएन भनेर गुनासो गरिरहने तर चुनावको बेला कसले मासु, जाँड, रक्सी खुवाउँछ वा कसले जागिर दिन्छु भन्छ, उसैको अघि पछि हिडने । फलानो पार्टी जिन्दाबाद ! फलानो पार्टी मुर्दावाद ! भन्ने । यति मात्र गरे पुग्छ ।
“ह्वाट यु सो, द्याट यु रिप”, हामीहरू तीते करेला रोपेर सुठुनी खोज्छौँ, कसलाई दोष दिनु र खै ?
हतार गरौँ है, चुनाव आइसक्यो । फेरि उफ्रने-बाफ्रिने दिन आइसके । आफ्नो पार्टी अथवा नेताहरुले हारे भने देश नै बर्बाद हुन्छ, होइन र ?