Logo

पढाइ पछि नेपाल फर्किएर-५



Spread the love

२०६८, साल श्रावणसम्म अठार महिना स्थानीय विकास मन्त्रालयमा कार्यरत वातावरणविज्ञ (परामर्शदाता) को समयावधि सकिएपछि मेरा अगाडि अन्य केही विकल्पहरु समेत देखा परे । एक विकल्प भनेको मन्त्रालयको एलजिसिडिपि कार्यक्रम अवधिभरका लागि आवश्यक पर्ने वातावरणविज्ञ पदमा पुन: आवदेन गरेर त्यहाँको कामलाई निरन्तरता दिने प्रयास गर्ने, अन्य कुनै आकर्षक जागिरको खोजीमा लाग्ने, विभिन्न संस्था वा आयोजनाका लागि स्वतन्त्र परामर्शदाताको रुपमा काम गर्दै जाने वा आफ्नो छुट्टै परामर्शदाता संस्था खोलेर काम गर्ने ।

छुट्टै नयाँ कम्पनीको शुरुवात गर्दा विचार गर्नुपर्ने अर्को पक्ष थियो, कम्पनी खोल्ने बित्तिकै यसबाट नियमित आम्दानी हुन सक्ने कुराको कुनै सुनिश्चितता हुँदैन । कम्पनीलाई एउटा स्थानसम्म नपुर्‍याउँदा वित्तिय हिसाबले पनि अनेक उतारचढाव व्यहोर्नुपर्ने हुनसक्छ । कम्पनीको वित्तिय अवस्थाले कहिलेकाहीं आफ्नै व्यक्तिगत जीवनलाई तनाव दिने अवस्था पनि आउन सक्छ । मैले त झन् गत वर्ष (२०६७ साल असार २४ गते) मात्र बिहे गरेको थिएँ । वैवाहिक जीवनपछि त झन् नियमित आम्दानीका साथ आर्थिक रुपमा सबल भईरहनुपर्ने पाटो पनि महत्वपूर्ण हुन्छ । २०६८ साल, साउनमा मेरा दाइ गाउँबेसी गर्ने क्रममा बाटो नजिकको आँपको रुखमा आँप टिप्न चढ्दा, लड्नुभई पूर्ण रुपमा स्पाइनल इञ्जुरी (ढाडको मेरुदण्ड भाँचिएर) भएर धादिङ, सल्यानटारबाट काठमाडौं ल्याई अपरेशन गर्नुपरेको थियो । उपचारका क्रममा लामो समयसम्म बनेपा नजिकको स्पाइनल ईञ्जुरी पुनर्स्थापना केन्द्रमा समेत राखिएको थियो । स्पाइनल इञ्जुरीको उपचार पछि दाइ व्हील चेयरको सहायताले मात्र हिंडडुल गर्न सक्ने हुनुभयो ।

सगरमाथा ईञ्जिनियरिङ कलेजमा समेत आबद्ध भएको हुँदा कलेजमै परामर्श र अनुसन्धान सम्बन्धी काम गर्ने एउटा छुट्टै अंग स्थापना गरेर ती कामहरु अगाडि बढाउन सकिन्छ कि भन्ने मलाई लाग्यो । यसो गरिएमा कलेजको संस्थागत संरचनामा एक नयाँ आयाम थपिएर कलेजबाट प्रदान गर्न सकिने सेवाहरुको विस्तार हुने, कलेजमा अध्यापनरत शिक्षकहरुको बचेको समयलाई यी काममा उपयोग गर्दा उनीहरुको ज्ञानको अधिकतम उपयोग हुने र शिक्षकहरुको आयआर्जनमा समेत वृद्धि हुन सक्ने तथा अन्तत्वगत्वा कलेज समेत लाभान्वित हुनसक्ने, कतिपय कामहरुमा अन्तिम वर्षतिर अध्ययन गरिराखेका विद्यार्थीहरुलाई समेत संलग्न गराउँदा उनीहरुको प्रयोगात्मक र व्यावहारिक ज्ञान, अनुभव बढ्न सक्ने, यी कामबाट हुने आर्थिक लाभलाई कलेजकै प्रगतिको लागि पुन: लगानी गर्दै जान सकिने जस्ता लाभहरु देखेको थिएँ ।त्यसैगरी कलेजमा भएका ईञ्जिनियरिङ प्रयोगशालाहरुको अन्य प्रयोजनका लागि पनि अधिकतम उपयोग गर्न सकिन्थ्यो । यसका लागि कलेज व्यवस्थापनसँग कुरा गरें । वहाँहरु सबैजसो यसमा अगाडि बढ्न लागि सकारात्मक हुनुहुन्थ्यो ।

मेरै संयोजकत्वमा कलेजको परामर्श सेवा संचालन सम्बन्धी नीतिको मस्यौदा तयार पार्नका लगि एक उपसमिति गठन भएर मस्यौदा बनाई (२०६८, साउन) कलेज व्यवस्थापन समक्ष पेश गरियो । वास्तवमा, त्यतिबेला कलेजका लागि मूलत: दिनानुदिन अध्ययन अध्यापनकै कुरालाई कसरी व्वयस्थित पार्ने भन्ने कुरा नै प्राथमिकतामा थियो । परामर्श सेवाका विषयलाई अगाडि बढाउने कुराले त्यति प्राथमिकता पाउन नसकेको महसुस गरें, मैले ।

हाम्रो कलेज संचालनमा आएको दोस्रो वर्ष बिएस्सी सिएसआईटीका कक्षाहरु थप्ने सम्बन्धमा कुरा चलिराखेको थियो । यी विषयको पढाई त्रिभुवन विश्वविद्यालयको ईञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत नभई त्रिविविकै विज्ञान तथा प्रविधि अध्ययन संस्थान मार्फत हुने र एउटै कलेजले दुई फरक अध्ययन संस्थानका अध्ययन कार्यक्रमहरु चलाउन नपाइने भन्ने कुरा आएकोले त्यसका लागि सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी भन्ने छुट्टै कम्पनी दर्ता गर्ने निर्णयमा हाम्रो कलेज टीम पुग्यो । कम्पनी रजिष्ट्रार कार्यालयमा कलेज दर्ता सम्बन्धी काम अगाडि बढाउने जिम्मेवारी मलाई दिइएको थियो ।

कलेज दर्ताका लागि कम्पनी रजिष्ट्रार कार्यालयमा दौडधुप गर्दै गर्दा मेरो दिमाग आयो – “कम्तीमा वातावरणीय परामर्शका क्षेत्रमा काम गर्नका लागि मेरो आफ्नै कम्पनी किन दर्ता नगर्ने?” हुनत यसअघि पनि थुप्रै कम्पनी तथा गैर सरकारी संस्थाहरु अन्य साथीहरुसँगको साझेदारी र सहकार्यमा स्थापना गरिएको थियो, ती मध्ये अधिकांश संस्थाका साझेदार साथीहरु विदेश जानुभएकोले वा अन्य रोजगारीका अवसरहरुमा केन्द्रित हुनुभएकोले संस्थाहरु खासै अगाडि बढ्न सकेनन् । कम्पनी दर्ता मात्र गर्ने काम कुनै कठिनाईपूर्ण काम होइन, तर त्यसको संचालनलाई निरन्तरता दिन र कम्पनीको संस्थागत विकास गर्दै कार्यक्षेत्र विस्तार गर्नका लागि दह्रै मिहिनेत, लगन, धैर्यता र निरन्तरताको खाँचो पर्छ भन्ने कुरा राम्रोसँग बुझेको थिएँ ।वातावरणीय परामर्श सेवाका क्षेत्रमा मात्र प्रतिबद्ध भएर काम गर्ने उत्कट अभिलाषा भएका व्यक्तिहरु भेटाउन, सहकार्य गर्नका लागि राम्रै मिहिनेतका साथ खोजी गर्नुपर्ने र संभावित साझेदारीका लागि पनि उत्तिकै सोचविचार पुर्‍याउनुपर्ने देखियो । कम्पनीले एउटा गति नलिंदासम्म यसका लागि चाहिने प्रतिबद्धता, मिहिनेत र निरन्तरता जस्ता कुराहरुलाई पैसाले मापन गर्न सकिन्न । त्यसैले, एकल शेयरधनी कम्पनीका रुपमा नै यसको शुरुवात गर्ने विचार गरें । मैले यसअघि स्वतन्त्र परामर्शदाताको रुपमा काम गर्दा, स्थानीय विकास मन्त्रालयमा काम गर्दा र ईञ्जिनियरिङ वृत्तमा पनि राम्रै सम्पर्क स्थापित भईसकेको वा सम्बन्ध विस्तार गरिसकेको हुनाले अगाडि देखा पर्न सक्ने यावत् चुनौती र बाधाविध्नहरुलाई समेत ख्याल गर्दै परामर्श सेवा कम्पनी दर्ता गर्ने निधोमा पुगें ।

बहुविषयगत क्षेत्रमा परामर्श सेवा दिने उद्देश्य राखेर पनि कम्पनी स्थापना गर्न सकिन्थ्यो, तर मलाई भने वातावरणीय क्षेत्रमा मात्र केन्द्रित हुने गरी परामर्श सेवा कम्पनी खोल्ने विचार आयो । कम्पनीले वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयहरुमा विभिन्न सरकारी, गैरसरकारी संघसंस्था र व्यक्तिहरुलाई परामर्श सेवा तथा प्रयोगशाला सेवा प्रदान गर्ने, वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयहरुमा तालिम, प्रशिक्षण, अभिमुखिकरण सम्बन्धी तालिम दिने कार्य गर्ने गराउने, वातावरणीय क्षेत्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान, परामर्श तथा शोध कार्यहरु गर्ने र सो सम्बन्ध जानकारीहरु पत्रपत्रिका, जर्नल, प्रतिवेदन आदिमा प्रकाशन गर्ने गराउने, उस्तै उद्देश्य भएका व्यावसायिक संघसंस्थाहरु वा शिक्षण, प्राज्ञिक संस्थाहरुसँग संयुक्त रुपमा परामर्श सेवा, तालिम, प्रशिक्षण दिने तथा अध्ययन, अनुसन्धान, शोध कार्यहरु गर्ने गराउने, वातावरणमैत्री प्रविधि र वस्तुहरुको उत्पादन, विकास, प्रवर्धन, बिक्री वितरण र हस्तान्तरण गर्ने जस्ता कम्पनीका उद्देश्यहरु राखिए । दीर्घकालीन रुपमा वातावरण क्षेत्रमा नै स्तरीय विशेषज्ञ सेवा दिन सक्ने किसिमको कम्पनीको परिकल्पना गरें, मैले ।

थुप्रै परामर्श सेवा कम्पनी मार्फत काम गर्दा मैले महसुस गरेको कुरा के थियो भने बहुविषयगत क्षेत्रमा परामर्श सेवा दिन सक्रिय कम्पनीहरुका लागि वातावरणीय क्षेत्रमा स्तरीय परामर्श सेवा दिने काम प्राथमिकतामा पर्न सकेको थिएन । यसकारणले गर्दा पनि मैले वातावरणीय क्षेत्रमा मात्र केन्द्रित रहेर यसमै स्तरीय सेवा दिन सक्ने परामर्श सेवा कम्पनीको कल्पना गरेको थिएँ ।

विधिवत रुपमा मेरो यस कम्पनी दर्ता भएको दिन थियो – २०६८ साल भाद्र र कम्पनीको नाम राखियो – इन्भाइरोन्मेन्टल सर्भिसेज नेपाल प्रा.लि., छोटकरीमा यसलाई ‘ईएसएन’ भनियो ।

कम्पनी दर्ता गरेपछि यसका लागि कार्यालय चाहिने भईहाल्यो । कम्पनी खोल्दा ठूलो पुँजी नभएकोले एकैचोटि ठूलो क्षेत्रफलमा कार्यालय राख्ने र धेरै कर्मचारी राख्न सक्ने कुरा भएन । त्यतिबेला मेरो डेराको बसाई कुपण्डोलमा थियो । आफ्नै डेराको कोठालाई कार्यालय बनाउने काम कतिपय हिसाबले त्यति व्यावहारिक हुन्थेन । कार्यालय प्रयोजनका लागि कुपण्डोल क्षेत्रमा मैले कोठा/फ्लाट खोज्न थालें । ईञ्जिनियर सुनिलबाबु श्रेष्ठ दाइ मार्फत आर्किटेक्ट चन्द्रलक्ष्मी हाडाजीले वहाँले कुपण्डोलमा आफ्नै परामर्श सेवा संचालन गर्न कार्यालय प्रयोजनका लागि लिनु भएको दुई कोठा मध्ये एक कोठा छाड्न खोज्नुभएको छ रे भन्ने सुनें । चन्द्रलक्ष्मीजीसँग शुरुमै भेटघाट हुन नसके पनि चन्द्रलक्ष्मीजीकै अर्का मित्र तथा अर्का ईञ्जिनियर रञ्जित लालचनजीले त्यही घरको तेस्रो तल्लामा कन्सल्टिङ फर्मको कार्यालय राख्नुभएको रहेछ । वहाँ मार्फत चन्द्रलक्ष्मीजीसँग कुराकानी भयो । खासमा चन्द्रलक्ष्मीजीको त्यस फर्ममा अर्का ईञ्जिनियर भीमसेन श्रेष्ठ (भक्तपुर) पनि साझेदार हुनुहुँदो रहेछ । पाँचो तल्लामा वहाँका कार्यालयका दुई कोठा मध्ये अगाडि पट्टिको ठूलो कोठा चाहिं हामीलाई दिने हुनुभयो । एउटै कोठा भएपनि यसको क्षेत्रफल २५० वर्ग फीट जति थियो । कोठाको अगाडि छत पनि थियो । त्यही कोठालाई प्रति महिना रु. आठ हजार भाडा तिर्ने भईयो । एकवर्ष पछि चन्द्रलक्ष्मीजीले वहाँको कार्यालयको अर्को कोठा पनि हामीलाई छाड्नुभयो । त्यसपछि दुई कोठामा कार्यालय संचालन गर्न थालियो, जसको भाडा रु. १२,००० थियो । कार्यालयका लागि चाहिने टेबल, कुर्सी, र्‍याक, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोन, इन्टरनेट आदिको व्यवस्था गरियो । आफ्नो डेरामा भएका केही अतिरिक्त फर्निचरहरु पनि कार्यालयमा लगें । यसरी २०६८ साल, कात्तिकबाट मैले कुपण्डोलमा ईएसएन कार्यालयको शुरुवात भयो ।

एकदिन कुनै कामको सिलसिलामा सिंहदरबार, ऊर्जा मन्त्रालयमा जाँदैथिएँ । जलविद्युत क्षेत्रमा संलग्न मेरा चिरपरिचित मित्र विकास श्रेष्ठजी त्यही परिसरमा भेटिनुभयो । माथिल्लो दरम खोला जलविद्युत आयोजना वहाँहरुको आफ्नै समूहले प्रवर्धन गर्ने गरी अध्ययनको काम अगाडि बढाउनुभएको रहेछ । यस आयोजनाको प्रारम्भक वातावरणीय परीक्षण अध्ययनको काम पनि गर्न बाँकी नै रहेछ । वहाँले यो काम मेरो नयाँ फर्मलाई दिने मनसाय व्यक्त गर्नुभयो । वहाँको भतिजी स्वेच्छा श्रेष्ठले भर्खरै वातावरण विज्ञानमा स्नातकोत्तर तह पूरा गर्नुभएको रहेछ । मेरो फर्मलाई उक्त काम दिने सिलसिलामा वहाँकै भतिजी स्वेच्छा श्रेष्ठलाई नियुक्त गरेर त्यस काममा संलग्न गराउन सकिने मनसाय राख्नुभयो, मसँग । यसरी ‘ईएसएन’ मा २०६८, मंसिरदेखि पहिलो कर्मचारीको रुपमा प्रवेश गर्ने व्यक्ति स्वेच्छा श्रेष्ठ हुनुभयो ।

हाम्रो कार्यालयबाट भएको वातावरणीय अध्ययनको पहिलो काम यही माथिल्लो दरम खोला जलविद्युत आयोजनाको भयो । यसको अध्ययनमा स्वेच्छा श्रेष्ठजीको अलावा समाजशास्त्री मुनेशभक्त उपाध्याय र वातावरणविद कौशल अधिकारी पनि संलग्न हुनुभयो । म आफैंले यस आयोजनाको स्थलगत भ्रमण चाहिं गर्न सकिन । त्यसैताका हामीले पाएको काम भनेको बिम कन्सल्ट्यान्टबाट हामीलाई दिइएका बागमती नदीका दुई वटा पुलको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन, सिडेफ/बिम जेभीबाट प्राप्त फुलबारी – सिर्सेनी सडक आयोजना (अर्घाखाँची/गुल्मी) को प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन र सेती लोकमार्गको वातावरणीय प्रभाव मूल्याकंन अध्ययनका कामहरु थिए । यसपछि ईएसएन संलग्न भएका अन्य अध्ययन कार्यहरुमा स्थानीय पुल सडक आयोजना अन्तर्गतका चौंरीखोला (काभ्रे/रामेछाप), विमला नदी (धनुषा) र सुरही नाला (कपिलवस्तु) सडकपुल आयोजना, बाँके जिल्लाका खोला, नदीबाट ढुंगा, गिटी, बालुवा संकलन तथा उत्खननको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन लगायत थिए ।

यी अध्ययनको सिलसिलामा गरिएका स्थलगत भ्रमणहरुको अनुभवका बारेमा लेख्न थाल्ने हो भने एउटा लामै कथा बन्न सक्छ । यी अध्ययनलाई अगाडि बढाउँदै गर्दा ईएसएनमा वातावरण इञ्जिनियरिङमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गर्नुभएका संजीव राजभण्डारीले पनि प्रवेश गर्नुभयो । माथि उल्लेखित आयोजनाहरुको स्थलगत भ्रमणमा म लगायत समाजशास्त्री मुनेशभक्त उपाध्याय, भुगर्भविद नवराज न्यौपाने, संजीव राजभण्डारी, जैविकविज्ञको रुपमा हेमराज आचार्य संलग्न भएका थियौं । सेती लोकमार्गको स्थलगत अध्ययनमा जानेमा चाहिं मुनेशभक्त उपाध्याय, हेमराज आचार्य र संजीव राजभण्डारी मात्र हुनुहुन्थ्यो । अछाम, साँफेबगरबाट पैदलयात्रा शुरु गरेर बझाङको उरैभञ्ज्याङसम्म वहाँहरुले गर्नुभएको स्थलगत भ्रमण वास्तवमै रोमाञ्चक रहेको छ ।

स्वेच्छा श्रेष्ठले ईएसएनमा काम शुरु गर्नुभएको चार महिना जतिमा छाड्नुभयो भने संजीवजीले पनि त्यस्तै तीन चार महिना काम गरेर छाड्नुभयो । अनि २०६९, वैशाखबाट पदम बहादुर चन्द सरको सिफारिशमा रुपा चन्दजीलाई हाम्रो कार्यालयमा नियुक्त गरियो । वहाँले पनि लगभग एक वर्ष काम गरेपछि कार्यालयबाट विदा हुनुभयो । त्यसपछि मलाई लाग्यो, कार्यालयमा दुई, तीन वर्ष कामको अनुभव लिईसकेको व्यक्तिलाई नियुक्त गरेमा अलिक सहज हुन्छ कि भनेर । त्यस अनुसार केही वर्षको अनुभव बटुलि सक्नुभएका रञ्जन अर्यालजीलाई ईएसएनमा भित्र्याइयो । वहाँ पनि हाम्रो कार्यालयमा एक वर्ष भन्दा बढी रहनुभएन । त्यसपछि कार्यालयमा प्रवेश गर्नुभएका विशालजीवी घिमिरे, कृष्ण केसी, भरतमणि पौडेल, राजेश गौतम, पविता गिरी, कल्पना डंगोल, लक्ष्मी खनियाँ लगायतहरुको ईएसएनसँगको औपचारिक नाता एक वर्ष आसपास समयको मात्र रह्यो ।

वहाँहरु बाहेक अल्पकालीन समयका लागि ईएसएनसँग जोडिन आउने कर्मचारी, प्रशिक्षार्थी र विज्ञहरु पनि थुप्रै हुनुहुन्छ । सबैको नाम यहाँ उल्लेख गर्न सकिएन । हाल ईएसएनमा संलग्न राजु महर्जनजी भने लगभग पाँच वर्षदेखि निरन्तर हामीसँग आबद्ध भईराख्नुभएको छ भने चेतमणि चौधरी, शोभा रावत, ऋतु तुलाधार, वासुदेव पौडेलजीहरुको ईएसएन सेवाअवधि पनि एक वर्ष भन्दा लामो भईसकेको छ ।हाम्रो स्थलगत अध्ययनका काममा सघाउनु हुने क्षितिज ढकालजीको ईएसएनसँगको आबद्धता पनि पाँच वर्ष जति लामो भईसकेको छ ।

वास्तवमा कर्मचारीहरुको निरन्तर फेरबदल भईराखेमा हाम्रो जस्तो नयाँ कम्पनीको प्रगतिमा धेरै असर पर्ने रहेछ । विकसित देशमा भएका कम्पनीहरुमा कर्मचारीहरुको आउजाउ भईरहनु सामान्य कुरा हो । त्यहाँका कम्पनी र कर्मचारीहरु दुवै पक्षमा एक तहको व्यावसायिकताको विकास भईसकेको हुन्छ । हुनत नेपालमा पनि निजी क्षेत्र र अझ भनौं परामर्श सेवा क्षेत्रको विकास हुन थालेको पाँच दशक भन्दा लामो समय भईसकेको छ । नेपाली परामर्श सेवाको इतिहास लामै भएतापनि यस क्षेत्र अझैपनि आशातीत रुपमा व्यावसायिक बन्न नसकेको प्रतीत हुन्छ । विभिन्न क्षेत्रमा दिइने परामर्श सेवा मध्ये वातावरणीय परामर्श सेवा तअझ नयाँ भएकोले यसको अझ कुरै नगरौं । यस क्षेत्रले आफूलाई परिपक्व र व्यावसायिक बनाउन धेरै मिहिनेत गर्नुपर्ने देखेको छु, मैले ।

ईएसएन जस्तो दु:खसुखका साथ जसैतसै स्थापना गरिएको संस्थाले कलेज/विश्वविद्यालयबाट भर्खर भर्खर अध्ययन पूरा गरी उच्च महत्वाकांक्षाका साथ बाहिर निस्केका विद्यार्थीहरुको अपेक्षालाई पूरा गर्न सक्ने अवस्था थिएन । हुनत मेरो आफ्नो कुरा गर्दा, सन् २००३ तिर मैले आफ्नो पेशागत जीवन शुरु गर्दा मेरा समकालीन साथीहरुले औसत रु.१५,००० प्रति महिना तलवको जागीर खाँदा मैले विदेशबाट छात्रवृत्तिमा पढेर आएको विद्यार्थी भएर पनि ६,००० प्रति महिनाको तलवबाट आफ्नो जागिरे जीवनको शुरुवात गरेको थिएँ । मलाई आफ्नो क्षमता र मिहिनेतप्रति पूर्ण विश्वास थियो । काम सिक्दै गएपछि पक्कै राम्रो अवसरहरुले पछ्याउँदै आउनेछन् भन्ने कुरामा म ढुक्क थिएँ ।

संस्थाको स्थापनाकाल देखि नै मेरो सपना विषयगत क्षेत्रमा आफ्नो परामर्श सेवा कम्पनीलाई बजारमा कर्मचारीको पहिलो रोजाइ बनाउने, उत्कृष्ट परामर्श सेवा दिन सक्ने कम्पनीको पहिचान बनाउने, कर्मचारीलाई त्यही अनुसारको सेवासुविधा दिन सक्ने, उत्कृष्ट कार्यालय सहितको कम्पनी बनाउने भन्ने थियो । अझ विस्तार गरेर यसको सेवालाई नेपाल बाहिर समेत पुर्‍याउन सकिन्छ, तर त्यो सपनालाई एकैदिन वा छोटो समयमा, एक, दुई जनाको मात्र मिहिनेतले विना निरन्तरता, विना धैर्यता नै त कहाँ साकार पार्न सकिएला र?

अर्को कुरा, हाम्रो वा हामी पछिको पुस्ताका व्यक्तिहरु देशभित्रको सधैंको राजनीतिक अन्यौलता, अस्थिरता र अनिश्चिततादेखि वाक्क भएर नेपालमै रहेर आफ्नो सुन्दर भविष्य कोर्न सकिने संभावना प्रति अलि बढी नै निराश त भएका होइनन् भन्ने पनि लाग्छ ।अहिलेको संसार अब बीस, तीस वर्ष अघिको संसार जस्तो रहेन । संसार नै एउटा सानो गाउँ जस्तो भएको छ । नौबिसेबाट काठमाडौं आउनु भन्दा काठमाडौंबाट बैंकक पुग्नु छिटो भएमा अचम्म मान्नु पर्ने अवस्था छैन । आजको प्रतिस्पर्धी विश्वमा देशविदेश हेर्ने चाहना राख्नु, अन्तरराष्ट्रिय शैक्षिक डिग्रीको पाउने सपना देख्नु, देशबाहिरको कामको अनुभव लिन चाहनुलाई कुनै किसिमले पनि अन्यथा सोच्न सकिन्न । धेरै सिक्ने, जान्ने, बुझ्ने र अनुभव बटुल्ने समय भनेको युवावयको समय नै हो । शिक्षित वा सक्षम व्यक्ति अहिलेको समयमा संसारका जुनकुनै स्थानमा पुगेर आफूले रोजेको, आफ्नो क्षमताले भ्याएको रोजगारीमा संलग्न हुनसक्ने कुरालाई कुनै अनौठो मान्नु पर्ने वा उदेक मान्नुपर्ने विषय रहेन । तर हामी युवापुस्ताले नै आफ्नो देशको भविष्यप्रति निराश बन्ने हो, यहाँबाट पलायन मात्र भईराख्ने हो भने भने कसले चाहिं यो देशको भविष्य उज्ज्वल बनाईदेलान् त भन्ने प्रश्न पनि उत्तिकै टड्कारो देखिन्छ । ईएसएनमा कुनैबेला कार्यरत कर्मचारीहरु मध्ये बीस जना भन्दा बढी व्यक्तिहरु हाल नेपाल बाहिर रहेको परिस्थितिमा, मेरा मनमा आएका सोचहरु हुन् यी ।

कलेज/विश्वविद्यालय भनेका मूलत: सैद्धान्तिक विषयको पढाई हुने स्थानहरु नै हुन् । विद्यार्थी कालमा आर्जन गरेको बलियो सैद्धान्तिक ज्ञानले पछि कार्यक्षेत्रमा संलग्न रहँदा जीवनभरका लागि दह्रो आधार खडा गर्न सक्छ, तर यसको साथसाथै, हाम्रो समाज, समसामयिक विषयवस्तु, परिवेश लगायत अन्य कतिपय व्यावहारिक पक्षको बारेमा जान्न, बुझ्नमा पनि विद्यार्थीहरु उत्तिकै चनाखो र उत्सुक रहनुपर्दछ कि जस्तो लाग्छ । यी कुराहरुमा आजका पुस्ताले अझ बढी जागरुक बन्नु पर्ने हो कि? हामीले विश्वविद्यालयमा पढाई हुने कुरालाई बुझ्न र ग्रहण गर्न जति मिहिनेत गर्छौं, त्यो भन्दा अझ बढी मिहिनेत हामीले हाम्रो वरपरको समाज र समाजसँग सम्बन्धित विषयलाई बुझ्न गर्नुपर्छ जस्तो लाग्छ । समाज र वातावरणका बिचमा रहेको अन्योन्याश्रित सम्बन्धलाई राम्रोसँग बुझ्न सकिएमा मात्र हामीले दिने वातावरणीय क्षेत्रको परामर्श सेवाले पनि उत्कृष्टता पाउँदै जान सक्ला कि त?

अब म पुन: ईएसएन कार्यालयका विषयमा नै फर्कन्छु । एक कोठाबाट २०६८ सालमा शुरु गरेको कार्यालयलाई २०६९ सालमा दुई कोठामा विस्तार गरिएको थियो । कार्यालय राख्ने स्थान खोज्ने सिलसिलामा ट्रेड टावर, थापाथलीमा सोधपुछ गर्न पुगेको थिएँ, त्यहाँ प्रति वर्ग फीट रु.६०रुपैंया दरमा भाडामा दिन सकिने कुरा बताइएको थियो । कम्तीमा २५० वर्ग फीट क्षेत्रफलको स्थानसम्म दिन सकिने भन्ने कुरा बुझिन आयो । शायद महँगो भएकोले हो कि वा, तत्कालका लागि त्यति क्षेत्रफल नचाहिने भएर हो कि वा महँगो भाडामा कार्यालय राख्न आँटन नसकेर हो कि, मैले ट्रेड टावरमा भाडामा कार्यालय स्थापना गर्ने निर्णय गरिंन ।

संस्था स्थापना गर्दा देखि नै मेरो सपना थियो, कुनै दिन ईएसएनको आफ्नै कार्यालय हुनेछ, तर कहिले, कहाँ, कसरी भनेर चाहिं सोच्न सकिराखेको थिंइन । कुपण्डोलमा कार्यालय राखेको तीन चार वर्ष पछिको कुरा हो, थापाथली चोक नजिकै एक ठूलो भवन कार्यालय प्रयोजनका लागि भनेर ठडिंदै थियो । जुन निर्माणाधीन भवनलाई हाम्रो कुपण्डोल कार्यालयबाटै देख्न सकिन्थ्यो । म हाम्रा सहकर्मी साथीहरुसँग कुरा गर्थें – “अहो ! कुनै दिन त्यस भवनमा कार्यालय राख्न पाए?”

त्यस भवनको निर्माण तीब्र गतिमा भईरहेको थियो । मैले त्यस भवनको प्रवर्धक कम्पनीको वेवसाइटमा गएँ, कार्यालय प्रयोजनका लागि यस भवनको निश्चित क्षेत्रफल (स्पेस) किन्न सकिने रहेछ । खरीदकर्ताले कम्तीमा १,५०० वर्ग फुट क्षेत्रफल किन्नुपर्दो रहेछ । भवनका नक्शा र डिजाइन तस्वीरहरु वेवसाइटमा राखिएका थिए । ती आकर्षक थिए । भवन रहेको स्थान, भवनको डिजाइन सबै मलाई मन पर्‍यो । १,५०० वर्ग फुट क्षेत्रफल किन्नका लागि कम्तीमा डेढ करोड जति लाग्ने देखियो । २५० वर्ग फुट क्षेत्रफलमा एक, दुई जना कर्मचारी राखेर वर्षमा २०-२५ लाखको व्यवसाय गरिराखेको कम्पनीका लागि त्यति खर्च गरेर कार्यालय राख्ने कुरा तत्कालका अलिक असंभव जस्तै देखियो ।

तैपनि कुनै दिन त्यहाँ आफ्नो संस्थाको कार्यालय राख्ने मनको इच्छा मरिसकेको थिएन । २०७१ साल, असोज, दशैं आउनु केही दिन अघिको एक बिहान, केही दिनका लागि विदेश भ्रमणमा जान लागेकी मेरी श्रीमतीलाई एयरपोर्टमा पुर्‍याएर बानेश्वर, थापाथली भएर घर फर्कंदै थिएँ, थापाथलीमा सडकबाट सेन्ट्रल बिजेनस पार्कको भवनमा केही चहलपहल देखें । गेटबाट भित्र गएर केही बुझ्न मन लाग्यो । यस भवनको प्रवर्धक कम्पनी, क्लिन डेभलपर्स प्रा.लि. का प्रबन्ध निर्देशक आशिष गर्गसँग मेरो चिनजान, कुराकानी भयो । भवनको सबै काम पूरा नभइसकेको भएतापनि त्यस दिन शुभसाइत हेरेर ‘सफ्ट ओपनिङ” गरिएको रहेछ ।

मैले गर्गजीसँग आफूलाई यस भवनमा आफ्नो संस्थाको कार्यालय राख्ने साह्रै इच्छा भएको, तर हाल यो कुरा आफ्नो बुँता बाहिरको कुरा भएको उनलाई सुनाएँ । मेरो चाहनासँह परिचित भएपछि उनले मेरा लागि ‘ अफिस स्पेस’ उपलब्ध गराउन सकभर सहयोग गर्ने कुरा बताए । न्यूनतम १,५०० वर्ग फुट ‘स्पेस’ मात्र दिन सकिने भएतापनि मेरा लागि १,००० वर्ग फुट ‘स्पेस’ सम्म दिन सकिने कुरा उनले गरे । उनले अर्को उपाय पनि देखाए, यदि यसलाई खरिद गर्नका लागि मेरा तर्फबाट ३० प्रतिशत रकमको जोगाड गर्न सकिने हो भने यस भवन निर्माणको ऋण लगानीकर्ता बैंकसँग ऋणका लागि कुरा गरिदिन सक्ने र यही ‘स्पेस’ लाई भाडामा लगाएर भाडाको रकमबाट ऋणको किस्ता तिर्दै जान सकिने तथा सहज भएको अवस्थमा आफ्नै कार्यालयलाई स्थानान्तरण गर्न सकिनेछ ।

उनको सुझाव मलाई सही लाग्यो । गर्गजीको यो कुराले मेरो हौसला बढायो र अँध्यारो सुरुङको अर्को छेउतिर देखिएको आशाको किरण जस्तै लाग्यो । अब बैंकबाट ऋण लिने बाहेक आफूले जुटाउनुपर्ने तीस प्रतिशत रकमको जोहो कसरी गर्ने भन्ने बारेमा सोच्न थालें । २०६४ सालतिर एयरलाइन्सको जागीरपछि त्यस समय बचाइएको आम्दानीले मनमैजुमा किनिएको एक टुक्रो घडेरी थियो, मसँग । त्यही घडेरी बेचेर आफ्नो तर्फबाट जोहो गर्नुपर्ने रकमको बन्दोबस्त गर्ने योजना बनाएँ । २०७१ को तिहार (धनतेरस) को दिन मैले कार्यालय खरिदका लागि बैना गरें ।

कार्यालय खरिद गर्नका लागि बैना त गरियो । अब, खरिद गर्ने रकम जुटाउनका लागि चाहिं अब साँच्चै लागिपर्नु पर्ने भयो । मनमैजुको घडेरी बेच्नका लागि प्रयास थालें । यता डेभलेपर्सले सकभर छिटो नामसारी (स्वामित्व हस्तान्तरण) गर्नलाई दबाब दिइराखेका थिए । २०७१ साल, चैतमा उक्त घडेरी बेच्न सकें र यता आफुले किन्न चाहेको ‘स्पेस’ लाई नै बैंकमा जमानी राखेर ऋण लिनका लागि प्रक्रिया अगाडि बढाउदैं थिएँ । लगत्तै २०७२, वैशाख १२ को भूकम्प आयो ।

भूकम्पको केही महिनासम्म ऋण लिने प्रक्रिया त्यत्तिकै थाती रह्यो । भदौ लागेपछि यो प्रक्रियालाई पुन: अगाडि बढाउन सकियो, बैंकद्वारा ऋण स्वीकृत भयो । मालपोत कार्यालय डिल्लीबजारमा गएर, मिति २०७३/०१/२१ का दिन ईएसएनकै नाममा कार्यालय ‘स्पेस’ खरिद गरियो र संस्थाको नाममा अचल सम्पत्ति जोडियो । अनेक उतारचढावका बिच पनि संस्था स्थापनाको पाँच वर्षमा आफ्नै स्वामित्वको ‘स्पेस’ मा कार्यालय राख्न सकियो । संस्था थप मजबुत बन्यो । यसलाई भाडामा लगाइएमा वित्तिय हिसाबले केही सहज हुन सक्थ्यो होला, तर म त्यतातिर लागिंन ।

कम्पनीका लागि यो एक सानो उपलब्धि हासिल गर्न सकिए तापनि कम्पनी स्थापना पछिको वित्तिय यात्रा भने बिलकुल सहज थिएन । कम्पनीका लागि पर्याप्त संचालन पूँजीको जोहो नगरिएकोले एकैचोटि धेरै कर्मचारीहरु नियुक्त गर्ने आँट गर्न सकिएन । कम्पनी स्थापना भएको पाँच छ वर्षसम्म पनि मैले आफ्नै कम्पनीबाट तलव लिएर घरपरिवार चलाउन सकिने अवस्था बनेको थिएन । यसका लागि कम्पनी स्थापना भएपछि पनि लामो समयसम्म अन्य विभिन्न आयोजना र कन्सल्टिङ फर्महरुका लागि स्वतन्त्र परामर्शदाताका रुपमा गर्ने कामलाई जारी राखें । कतिपय अवस्थामा त यसरी स्वतन्त्र परामर्शदाताका रुपमा बाहिर काम गरेर आर्जन गरिएको कमाईले कार्यालयको नियमित खर्च धान्ने, कर्मचारीहरुलाई तलव दिने अवस्था समेत आयो ।

त्यसमध्ये सन् २०११ देखि २०१३ सम्म आंशिक समय दिएर व्यावसायिक कृषि तथा व्यापार आयोजनामा वातावरणविज्ञका रुपमा काम गरेको थिएँ । यस आयोजना विश्व बैंकको सहयोगमा संचालित आयोजना थियो, जसले व्यावसायिक कृषि योजनाहरु संचालन गर्न प्रस्तावना पेश गर्ने संस्थालाई प्रतिस्पर्धी हिसाबले व्यवसाय विस्तारका लागि अनुदान दिने गर्थ्यो । मैले ती अनुदानप्राप्त आयोजनाहरुले पूरा गर्नुपर्ने सामाजिक तथा वातावरणीय सुरक्षा विषयको कार्यान्वयन पक्ष हेर्थें । काठमाडौं, पोखरा र नेपालगञ्जमा अनुदानग्राहीहरुलाई आयोजनामा कार्यान्वयन गरिनुपर्ने सामाजिक तथा वातावरणीय सुरक्षाका उपायहरुका बारेमा तालिम, प्रशिक्षणहरु दिइयो । अनुदानप्राप्त विभिन्न आयोजनाहरुको वातावरणीय अनुगमनमा गइयो । आगलागी पछि कालीमाटीको तरकारी बजारको पुनर्निर्माण, चोभारमा स्थापना गर्न प्रस्ताव गरिएको थोक तरकारी बजार र चोभारमै स्थापना गरिने फ्युमिगेसन च्याम्बरको वातावरण व्यवस्थापन योजनाहरु तयार पारियो । यस आयोजनामा रहेर मैले नेपालमा कृषि व्यावसायिकरणको विद्यमान अवस्था, चुनौती र अवसरहरुको बारेमा धेरथोर जान्ने, परिचित हुने मौका पाएँ जस्तो लाग्छ ।

त्यसो त कृषि क्षेत्र समेत मेरो रुचिको विषय भएको हुनाले म आफैं २०७३ सालतिर काभ्रेको नालामा स्थापना भएको नेपाल एकीकृत मोडल एग्रो फार्ममा आबद्ध भएको थिएँ । फार्ममा कुखुरा पालन र बंगुर पालन गरिएको थियो । यस फार्मको अर्को मुख्य उद्देश्य भनेको जैविक फोहरबाट प्रागांरिक मल उत्पादन गर्नु रहेको थियो । कालीमाटी तरकारी बजार र बल्खु फलफूल बजारबाट उत्पन्न जैविक फोहरलाई प्रागांरिक मल उत्पादन गर्ने कच्चा पदार्थको रुपमा त्यहाँ लग्ने गरिएको थियो । त्यसलाई नालास्थि कम्पोष्ट मल कारखानाको परिसरमा लगी कुहाएर कम्पोष्ट प्लाण्ट मार्फत ‘शक्ति’ प्रागांरिक मलको उत्पादन गर्न थालियो । यसको व्यवस्थापकीय पक्षमा केही समस्याहरु रहेकोले अपेक्षा गरे अनुसार कम्पोष्ट मल उत्पादनको काम अगाडि बढ्न सकेन । म लगायत म मार्फत फार्ममा आबद्ध हुन पुगेका व्यक्तिहरु त्यस फार्मबाट छुट्टियौं, लगभग तीन वर्षपछि ।

२०६८ सालतिर शहरी वातावरणीय सुधारमा काम गर्ने गरी वातावरणीय क्षेत्रसँग सम्बद्ध वा यसमा रुचि राख्नुहुने व्यक्तिहरुलाई समावेश गरेर हामीले शहरी दिगोपनाका लागि प्रयास – नेपाल (युजिन नेपाल) नामको गैर सरकारी संस्था दर्ता गरेका थियौं । संस्थामा आबद्ध सबैजना शायद अरु नै कुनै पेशा वा क्षेत्रमा धेरै नै व्यस्त भएर पो हो कि, यो संस्था सक्रियताका साथ अगाडि बढ्न सकेन ।त्यस्तै, १०० जना भन्दा बढी ईञ्जिनियरको संलग्नतामा विभिन्न पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्न भनेर ‘गेट इन्टरनेशनल’ नामक कम्पनी खोल्ने तयारी गरिएको थियो । त्यो कुरा पनि बिचमा त्यत्तिकै सेलाएर गयो । २०७५ सालतिर फ्रेस वाटर ईनर्जी लिमिटेड नामक जलविद्युत प्रवर्धन कम्पनीमा संलग्न भएको छु, त्यस कम्पनीद्वारा प्रवर्धित जलविद्युत आयोजनाको काम अपेक्षित रुपमा अघि बढेको महसुस गर्न सकिएको छैन । मेरो आफ्नो गाउँ सल्यानटार, धादिङमा भूकम्पबाट घर भत्किएपछि २०७६ सालतिर बनाइ सकिएको नयाँ घरसँगै त्यस भेगमा अलिकति ग्रामीण पर्यटनको प्रवर्धनमा पनि लाग्ने सोच बनाइराखेको बेला अहिलेको यो कोभिड-१९ महामारीले अल्झाएर राखिदिएको छ ।

ईएसएन स्थापना भईसकेपछि पनि मैले स्वत्नन्त परामर्शदाताको रुपमा आफ्नो संस्था बाहिरका विभिन्न काममा संलग्न भईराखें । यसमध्ये, सडक विभागको सडक सुधार आयोजना (द्रोस्रो चरण) अन्तर्गत बालाजु-त्रिशुली सडक, खहरे-त्रिशुली सडक, भक्तपुर-नगरकोट-सिपाघाट सडक, बल्खु-दक्षिणकाली सडक, जनकपुर (मिथिला) परिक्रमा सडक भरतपुर-मेघौली सडक, बर्दघाट-त्रिवेणी सडक, लुम्बिनी परिक्रमा (देवदह-लुम्बिनी-तौलिहवा) सडक, घोराही-होलेरी-घर्तीगाउँ सडक तथा बार्जुगाड-मार्तडी सडकहरुको वातावरणीय अध्ययनको काममा संलग्न भएँ । यी मध्ये केही सडकहरुको स्थलगत अध्ययनका क्रममा आयोजनाका टीम लिडर मोहन बहादुर कार्की (निवृत्त सचिव तथा पूर्व महानिर्देशक, सडक विभाग) र डिल्लीरमण निरौला (निवृत्त सुपरिटेण्डिङ ईञ्जिनियर) सरहरुसँग यात्रामा बिताइएका क्षणहरु विशेष स्मरणीय छन् ।

यस बाहेक स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका लागि ‘वनक्षेत्रमा निर्माण गरिने स्थानीय पूर्वाधारका लागि कार्यान्वयन कार्यविधि’ को मस्यौदा बनाएँ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र द्वारा कार्यान्वयन गरिने फावा खोला साना जलविद्युत आयोजना (ताप्लेजुङ) र गिरी खोला साना जलविद्युत आयोजना (जुम्ला) को वातावरणीय अध्ययन प्रतिवेदनहरु तयार पारें । विश्वबैंकको सहयोगमा सडक विभागद्वारा कार्यान्वयन गरिने काँकडभित्ता – पथलैया सडक विस्तार आयोजनाको सामाजिक तथा वातावरणीय अध्ययनमा टोली उपप्रमुख भएर काम गरें, जुन अध्ययनको टोली प्रमुखका रुपमा शुरुमा सुनिल नाम गरेका श्रीलंकन थिए भने पछि एलिना क्रुजवर्ग नामकी क्यानेडियन महिलाले टोली प्रमुख भएर काम गरिन् । उनीहरुसँगै गरिएको त्यस सडकको स्थलगत भ्रमण पनि स्मरणीय नै छ । त्यसैगरी, एशियाली विकास बैंकको सहयोगमा संचालित सडक निर्माण आयोजनाहरु बिर्तामोड-भद्रपुर सडक (जुन आजसम्म पनि विविध कारणले गर्दा बन्न सकेको छैन), नदाहा (सुनसरी) – कोशीपुल (चतरा) – कञ्चनपुर (सप्तरी) सडक, हलेसी – दिक्तेल सडक, मन्थली – रामेछाप सडक, लेगुवाघाट – भोजपुर सडक स्तरोन्नति आयोजनाहरुको वातावरणीय अनुगमनमा छोटो समय काम गरें । नेपालका निर्माण व्यवसायीहरुलाई वातावरणीय पक्षको अनुपालना गराउने काम निकै कठिन रहेछ ।

पछिल्लो समयमा विश्वबैंकको सहयोगमा सडक विभागको सडक क्षेत्र विकास आयोजना अनतर्गत निर्माण हुने विभिन्न सडकपुल आयोजनाहरु तथा नेपाल आयल निगमद्वारा कार्यान्वयन हुने रक्सौल – अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन अध्ययनमा टोली प्रमुख (वातावरणविज्ञ) भएर काम गरें । अमेरिकी सरकारको मिलेनियम सहयोग कर्पोरेशनको अनुदान सहयोगमा बनाउन प्रस्ताव गरिएको विद्युत प्रसारण लाइनहरु छनौट गर्ने सिलसिलामा तिनीहरुको संभाव्यता अध्ययन गर्न वातावरणविज्ञको रुपमा देशका विभिन्न भागमा पर्ने प्रसारण लाइन करिडरहरुको स्थलगत अध्ययनमा गएँ र त्यस सम्बन्धी वातावरणीय अध्ययन प्रतिवेदनहरु बनाउने काममा सहयोग गरें ।

मलाई आर्थिक रुपमा समेत निकै भरथेग गरेका परामर्श सेवाका कामहरु भनेका एशियाली विकास बैंकद्वारा दिइएका परामर्श सेवाका कामहरु थिए । ती आयोजनाहरुलाई दिइने प्राविधिक सहयोग अन्तर्गत रहेर मैले परामर्शदाता (वातावरणविज्ञ) को रुपमा काम गरेको थिएँ । यी आयोजनाहरुको नाम लिनुपर्दा दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) ऊर्जा प्रणाली विस्तार आयोजना अन्तर्गतको उदीपुर-भरतपुर विद्युत प्रसारण आयोजना, सुदूर पश्चिम क्षेत्रीय शहरी विकास आयोजना, नेपाल भूकम्प पुनर्स्थापना आयोजना कार्यान्वयन सहयोग, दक्षिण एशियामा वातावरणीय सुरक्षा नीतिको उपयोगका लागि प्राविधिक सहयोगहरु थिए । यसका अलावा युसएडको सहयोगमा संचालित साझेदारी विकास कार्यक्रम र विनरक इन्टरनेशनल मार्फत इलाम नगरपालिकाको फोहरमैला व्यवस्थापनसँग सम्बन्धित अध्ययनमा पनि आफ्नो ज्ञान र अनुभवको उपयोग गरें ।

म पुन: एकचोटि ईएसएनका कामहरु तर्फ नै फर्कन्छु । यसको स्थापना कालका शुरुवाती वर्षहरुमा प्रायजसो: सरकारी आयोजनाहरु र त्यसमा पनि सडक र पुल सम्बन्धित आयोजनासँग सम्बन्धित वातावरणीय अध्ययनहरु धेरै गरिए । शुरुका वर्षहरुमा अन्य कन्सल्टिङ फर्महरुले लिएका वातावरणीय अध्ययनका कामहरु समेत गर्‍यौं ।संस्थाको क्षमता र अनुभवको कमीले शुरुवाती दिनमा नै प्रतिस्पर्धात्मक रुपमा ठूला आयोजनाहरुको काम लिन सकिने अवस्था थिएन । प्रायजसो: स-साना कामहरुमा नै हामी सीमित भएका थियौं । फाट्टफुट्ट रुपमा जलविद्युत, भवन, होटल, वन व्यवस्थापन, कृषि, उद्योग, ढुंगा, गिटी, बालुवा संकलन तथा उत्खनन, अस्पताल, शहरी विकास र फोहरमैला व्यवस्थापन, कृषिसँग सम्बन्धित आयोजना वा प्रस्तावनाका वातावरणीय अध्ययनका कामहरु आइराख्थे । वैकल्पिन ऊर्जा प्रवर्धन केन्द्र मार्फत गराइएको ‘प्रयोगमा आइसकेका लिड एसिड ब्याट्रीको व्यवस्थापन’ सँग सम्बन्धित अध्ययनको काममा अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी, ईआरएम, जर्मनीसँग मिलेर काम गर्ने अवसर पाइएको थियो । पछिल्ला दिनहरुमा अहिले आएर हामीले गर्ने वातावरणीय अध्ययनका कामहरु धेरैजसो जलविद्युत आयोजनाहरुसँग सम्बन्धित हुन थालेका छन् ।

सरकारी क्षेत्रको काम गर्दा र निजी क्षेत्रको काम गर्दाका आफ्नै तितामिठा अनुभवहरु रहेका छन् । सरकारी क्षेत्रका कामहरु प्रतिस्पर्धात्मक रुपमा पाउनका लागि संस्थासँग सम्बन्धित कामको समृद्ध अनुभव हुनुपर्‍यो । ईएसएन क्रमश: त्यो दिशातर्फ अगाडि बढ्दैछ । निजी क्षेत्रको कुरा गर्दा चाहिं नेपालको निजी क्षेत्र आशातीत रुपमा व्यावसायिक बन्न अझै धेरै कुरामा सुधार हुनु जरुरी छ जस्तो लाग्छ । त्यसो त हामी आफैंले पनि आफ्नो सेवाप्रवाहमा धेरै कुरामा सिक्दै र सुधार गर्दै लग्नु पर्ने देखिएको छ । हामी जस्ता परामर्श सेवा प्रदायक कम्पनीले हामीले समयसीमाभित्र नै गुणस्तरीय र विश्वसनीय सेवा दिन सकेमा मात्र हामी बजारमा टिक्न सक्छौं र आफ्नो सेचाप्रवाहलाई विस्तार गर्दै लग्न सक्छौं । यसका लागि हामीसँग उपलब्ध जनशक्ति उत्कृष्ट, मिहिनेती र प्रशिक्षित हुनु जरुरी छ । ईएसएनले यस पक्षमा आगामी दिनमा धेरै ध्यान दिनु पर्ने देखेको छु, मैले । गुणस्तरीय सेवा प्रवाहले कम्पनीलाई आफ्नो बजार विस्तारमा स्वत: सघाउँछ, तथापि व्यवसाय विस्तारका क्षेत्रमा पनि हामीले अलिक मिहिनेत गर्न थाल्नुपर्ने देखिएको छ ।

नेपालको वातावरणीय परामर्श सेवाको क्षेत्रमा देखिएको मुख्य समस्याहरु भनेका न्यून मात्रामा उपलब्ध प्रशिक्षित जनशक्ति, परामर्श सेवा प्रदायक कम्पनीहरुका बिचमा अस्वस्थ प्रतिस्पर्धा र वातावरणीय अध्ययन प्रतिवेदनहरु स्विकृत हुन प्रक्रियागत कुराहरुमा तुलनात्मक रुपले लाग्ने लामो समय आदि देखिएका छन् । यसका लागि बजारमा उपलब्ध उत्कृष्ट जनशक्तिलाई यस क्षेत्रमा आकर्षित गराउने र वातावरणीय अध्ययनसँग सम्बन्धित विविध पक्षहरुमा उनीहरुलाई प्रशिक्षित गराउँदै लग्नुपर्ने पाटो धेरै महत्वपूर्ण छ । यसको साथै कम्पनीको व्यवस्थापकीय पक्षलाई पनि चुस्त दुरुस्त पारेर एक सबल र मजबुत संस्था बनाउन अझ धेरै लगन र मिहिनेतको आवश्यकता देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयको वातावरण प्रभाव मूल्याकंन शाखाबाट हुने गरेको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनहरुको पुनरावलोकन गर्ने काममा समेत लामो समयदेखि संलग्न भईराखेको हिसाबले यस क्षेत्रलाई गुणस्तरीय र व्यावसायिक बनाउने क्रममा अगाडि देखिएका समस्याहरुलाई नजिकबाट नियाल्ने मौका पाएको छु ।

वास्तवमा, ईएसएनको स्थापनाकाल देखि नै देशको अवस्था परिस्थिति चाहिं काम गर्नका लागि त्यति उत्साहजनक र अनुकुल रहन सकेन । संस्थाको शुरुवाती दिनतिर पहिलो संविधान सभाको विघटन र त्यससँगै निम्तिएका थप अनिश्चितता र अन्यौलता र आशंकाहरुको संविधान सभाको दोस्रो चुनाव भएपछि मात्र अन्त्य भएको थियो । २०७२, वैशाख १२ को भूकम्प र त्यस पछिका पराकम्पहरुले कैयौं महिनासम्म राम्रोसँग काम गर्ने हाम्रो मनस्थितिलाई समेत हल्लाईदिएको थियो ।

हाम्रो कार्यालय कुपण्डोलमा रहेको घरको पाँचौ तलामा थियो । वैशाख १२ को कैयौं दिन पछिसम्म हामीलाई कार्यालय जाने आँट पनि आएन । एकैचोटि वैशाख २९ गते कार्यालय गइएको थियो । कार्यालयमा म, मुनेशजी, अलका लम्साल, भरतमणि पौडेल र कृष्ण केसी थियौं । लगभग मध्यान्हतिर आएको भूकम्पको ठूलै झटकाले हामी सबैको सातो लियो । यो भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक (तातोपानी) र ६.९ रेक्टर स्केलको थियो । हामी त पाँचौ तलाबाट भुईंतलासम्म पुग्न र सडकमा निस्कन लामै समय लाग्थ्यो ।भूकम्प थामिएको अलिक बेरपछि मात्र बाहिर निस्कियौं ।

२०७२ को भूकम्पले देशमा संविधान बन्ने परिस्थिति त बनायो, तर संविधान बनेपछि (२०७२ साल असोज ३) भारतद्वारा लगाइएको लामो नाकाबन्दीले यातायात लगायत सबै क्षेत्र ठप्प भएर संस्थाको काम र व्यवसायमा ठूलै असर पार्‍यो । २०७२ सालको भूकम्प र नाकाबन्दीको एक वर्षले कम्पनीलाई पनि नराम्रोसँग हल्लाइदियो । यस अवस्थामा कम्पनी बचाउने बुटीका रुपमा दुई सुखद कुराहरु झुल्किए । भूकम्प पछि मेरा चिनियाँ क्लासमेट साथीहरुले मेरो गाउँको घर समेत भत्किएको थाहा पाएपछि आर्थिक रुपमा केही सहयोग पठाए । त्यस सहयोगले संकटको समयमा कार्यालयका कर्मचारीको तलव लगायत नियमित कार्यालय संचालनको खर्च थेग्न ठूलो भरथेग गर्‍यो ।

पुल्चोक क्याम्पसमा डिप्लोमा पढ्दाका मेरा ब्याचमेट मित्र रामकृष्ण रेग्मीले जापानको संयुक्त राष्ट्रसंघीय विश्वविद्यालयमा पोष्ट डक्टरेट अध्ययन गर्दै हुनुहुन्थ्यो । वहाँ संलग्न ‘लो कार्बन अर्बान वाटर इन्भाइरोन्मेन्ट प्रोजेक्ट, वाटर एण्ड अरबान इनिशियटिभ’ अन्तर्गत पानीको गुणस्तरको बारे अनुसन्धान गर्न एशियाको विभिन्न शहरको छनौट गरिएको रहेछ र त्यसमध्ये एक शहरको रुपमा काठमाडौंलाई पनि छनौट गरिएको रहेछ । काठमाडौं उपत्यकाका विभिन्न खोला/नदीहरुको पानीको गुणस्तरको बारेमा तथ्यांक संकलन गर्न यसको नमूना संकलन र प्रयोगशाला परीक्षणका लागि कुनै स्थानीय साझेदार संस्थाको आवश्यकता परिराखेको रहेछ । त्यसका लागि हाम्रो संस्था छनौट भयो । संयुक्त राष्ट्रसंघीय विश्वविद्यालयसँग सहकार्य गर्न पाउनु हाम्रा लागि खुशीको कुरा त छँदैथियो, यसले हामीलाई संकटको समयमा अलिकति आर्थिक हिसाबले पनि बलियो बनायो, विशेषगरी भूकम्प र नाकाबन्दीको समयमा संस्थासँग अन्य कामको सुख्खा लागेको बेलामा । हुनत यस कामलाई भूकम्प अघि नै शुरु गरिएको थियो, अन्तिम प्रतिवेदन भने हामीले २०७२, भाद्रतिर मात्र बुझाएका थियौं । यसै अध्ययनको सिलसिलामा २०७२ साल, वैशाखको पहिलो हप्ता, विश्व पानी सम्मेलनमा आफ्नो प्रस्तुतीकरण दिनका लागि दक्षिण कोरियाको देबु शहरमा पुग्ने अवसर पनि मलाई जुरेको थियो ।

ईएसएन आफ्नो यात्रामा अगाडि बढ्दै गर्दा विगत एक वर्षदेखि हामीले सामना गर्नुपरेको कोभिड-१९ महामारीका कारण यसले हामीहरुको व्यक्तिगत, पारिवारिक, सामाजिक जीवनलाई मात्र असर पारेको छैन, मानिसको मनोवैज्ञानिक र आर्थिक पक्षलाई समेत नराम्ररी हल्लाइदिएको छ । मानिस र मानव समाजलाई थला पार्न सुरसाको मुख बाइराखेको यस महामारीले कैयौं व्यवसायहरुलाई समेत थला पारिदिएको छ । यस क्रममा हाम्रो कम्पनी, ईएसएन पनि अछुतो रहन सक्ने कुरै भएन । हाम्रो कैयौं वातावरणीय अध्ययनका स्थलगत अध्ययन तालिका तथा निश्चित समयसीमाभित्र सकाउनुपर्ने वातावरणीय अध्ययन प्रक्रियाहरु अपेक्षा अनुसार पूरा गर्न सकिएका छैनन् । तर जहाँ समस्या हुन्छन्, त्यहाँ केही न केही समाधानका उपायहरु पनि फेला पर्छन् वा पर्ने छन् ।

आशा गरौं, निकट भविष्यमा नै कोभिड-१९ महामारीले ल्याएको यो कालो बादल हटेर आशा, उत्साह र उमंगका उज्यालो किरणहरु समाजभरि, संसारभरि पुन: छरिनेछन् ।

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्