Logo

पढाइ पछि नेपाल फर्किएर-२



Spread the love

एकताका म काठमाडौंमा टिक्नका लागि बिहान ल्याङग्वेज इन्स्टिच्युटमा चिनियाँ भाषा पढाउँथे, दिउँसो कन्सल्टिङ अफिसतिर धाउँथे भने चिनियाँ भाषा नै पढाउन बेलुकी एक घण्टाका लागि बस चढेर भक्तपुर पुग्थें । त्यति बेला भक्तपुर जाने सडक सानो थियो । एक घण्टा पढाउन जानका लागि जाँदा एक घण्टा र फर्कंदा एक घण्टाको समय बाटोमा खर्च हुन्थ्यो ।


डा. कमल कोइराला दाइ त्यतिखेर मध्य बानेश्वर, कात्यायनी चोक नजिकै डेरा गरेर बस्नुहुन्थ्यो । वहाँले मलाई पनि सकभर बानेश्वरतिरै बस्नका लागि कर गर्नुभयो । वहाँका बुबा (ह्रदय प्रसाद कोइराला) मेरा लागि डेरा खोजिदिने काममा जुट्नुभयो । कात्यायनी चोक नजिकै डेरा पाइयो । डेरा गरेर बस्नका लगि चाहिने आवश्यक सामानको जोहो गर्ने सिलसिलामा टोपेन्द्रजीले पैसा सापटी दिनुभयो ।


त्यसो त काठमाडौं आएको केही समयपछि नै टोपेन्द्रजीसँग फोनमा कुराकानी भएको थियो । वहाँ त्यतिखेर पोखरामा नेपाल टेलिकमको महेन्द्रपुलस्थित भवनको सुपरिवेक्षण गर्नका लागि एक ठेकेदार कम्पनीको इञ्जिनियरको रुपमा खटिनुभएको थियो । वहाँको बारम्बारको आग्रहपछि म एक हप्ता जति वहाँसँगै पोखरामा बस्ने र घुम्ने योजना बनाएर काठमाडौंबाट प्रस्थान गरें । लामो समयपछिको टोपेन्द्रजीसँगको भेटघाट स्मरणीय त हुने नै भयो । पोखरा बसाईको क्रममा हाम्रै ब्याचका अन्य आत्मीय मित्रहरु कुमार धमला र रामकृष्ण रेग्मीजीसँग पनि भेटघाट भयो । एक एक दिन वहाँहरुकै डेरामा बसें । कुमारजी त्यतिखेर पोखरा ईञ्जिनियरिङ कलेजमा स्नातक सिभिल तहमा अध्ययन गर्दै हुनुहुन्थ्यो भने रामकृष्णजी त्यही कलेजमा अध्यापन गराउँदै हुनुहुन्थ्यो । पोखरा बसाईका क्रममा टोपेन्द्रजी मार्फत अन्य मित्रहरु हेमन्त बराल र राधैश्याम चौधरीजीसँग पनि चिनजान भयो । छिङह्वा विश्वविद्यालयका सिनियर दाइ, मेकानिकल इञ्जिनियर विश्व कर्माचार्यसँग पनि भेटघाट भयो । वहाँ त्यतिखेर पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस, लामाचौरमा अध्यापनरत हुनुहुन्थ्यो । टोपेन्द्रजीले पनि पछि लामाचौरको ईञ्जिनियरिङ क्याम्पसमा केही विषय पढाउनुभयो । त्यस बसाइका क्रममा टोपेन्द्रजीसँग पोखरा र यस वरपरका प्राय: सबै स्थानहरु घुमिए ।


चीनबाट नेपाल फर्केपछि मेरो पहिलो काम भनेको आफ्ना पुराना सम्बन्धहरुलाई पुनर्ताजगी गराउने र नयाँ सम्बन्धहरु विस्तार गर्नु थियो । यस सिलसिलामा सकभर धेरै पुराना साथीहरुको सम्पर्कमा पुग्ने प्रयत्न गरें । हाम्रै डिप्लोमा ब्याचका, तर पछि आर्किटेक्चर पढ्नुभएका साथीहरु केशव बिडारी, अनिर उपाध्याय तथा अन्य आर्किटक्ट साथीहरु नीलकमल चापागाईं, उमेश धिमालहरु बत्तिसपुतली बस्नुहुन्थ्यो, वहाँहरुकहाँ पनि कहिलेकाहीं जान्थें । केशवर नीलकमलजी त्यतिबेला लाजिम्पाटमा भएको जोन स्याण्डी एशोसियटस् नामक कन्स्लटिङ फर्ममा काम गर्नुहुन्थ्यो र वहाँहरुले हिमाली क्षेत्रका वास्तुकलाका बारेमा धेरै काम गर्दै हुनुहुन्थ्यो । केशवजी यसै सिलसिलामा हुम्लाको लिमी उपत्यका पनि पुग्नुभएको रहेछ । म सिमिकोट र हिल्सा जानु अघि वहाँले मलाई हुम्लाका थुप्रै उपयोगी जानकारीहरु दिनुभएको थियो ।


एकताका (सन् २००१ तिरको कुरा) साझा डट कम वेवसाइट विदेशमा बस्ने नेपालीहरुका बिच धेरै लोकप्रिय थियो । अहिलेको जस्तो सामाजिक सञ्जालले व्यापकता नपाइसकेको अवस्थामा कतिपय समसामयिक र राजनीतिक सवालहरुमा छलफल र बहस गर्ने थलो पनि थियो । म पनि त्यहाँ हुने बहस हेर्न र कहिलेकाहीं टिकाटिप्पणी गर्न पनि रुचाउँथे । त्यतिबेला नै साझा डट कम मार्फत स्वर्णिम वाग्ले, विश्व पौडेल, आशुतोष तिवारीहरुसँग पनि कुराकानी भएको थियो । त्यसमध्ये आशुतोष तिवारीजीलाई मैले काठमाडौं फर्केपछि भेटें । वहाँ अमेरिकाको हार्वडमा अध्ययन सकाई नेपाल फर्केर जिटिजेडको सहयोग नेपालमा उद्यमशीलता प्रवर्धन गर्ने काममा संलग्न हुनुभएको थियो । वहाँसँगको चिनजान, भेटघाट र सम्बन्धले मलाई पछिसम्म पनि नेपालमै बसेर केही गर्नका लागि उत्प्रेरित गरिराख्यो । वहाँ त्यतिबेला चीनका बारेमा धेरै जान्न उत्सुक पनि हुनुहुन्थ्यो र साझा डट कममा नै आफ्नो उपस्थिति जनाउने अर्का मित्र त्रैलोक्य अर्याल, आशुतोषजी र म मिलेर ‘चिनियाँ मित्र’ नामक संस्था अगाड बढाउने अनौपचारिक कुराकानी पनि भएको थियो, तर यसले निरन्तरता पाउन सकेन ।


काठमाडौं बसाईका क्रममा म पुल्चोक क्याम्पसमा पनि गइराख्थें । त्यस क्रममा पुल्चोक क्याम्पसका पूर्व सभापति दाइ नारायण काफ्लेसँग पनि मेरो भेटघाट र सम्पर्क बाक्लिंदै गयो । वहाँ जर्मनीबाट नविकरणीय ऊर्जामा स्नातकोत्तर सकाएर भर्खर नेपाल फर्की पुल्चोक क्याम्पसमा अध्यापन गर्न शुरु गर्नुभएको रहेछ, साथमा क्याम्पसकै ऊर्जा अध्ययन केन्द्रमा पनि संलग्न हुनुहुँदो रहेछ । फुर्सद भएका बखत ‘वातावरण पत्रकार समाज’ संस्थामा पनि पुग्नुहुँदो रहेछ। त्यस संस्था नेपाल पर्यटन बोर्डको ‘दिगो पर्यटन सञ्जाल’ मा पनि आबद्ध रहेछ । मैले पर्या-पर्यटन आयोजनाको वातावरणीय अध्ययनमा संलग्न भएको र चीनमा छँदा पर्या पर्यटन सम्बन्धी वातावरणीय अध्ययनको काम गरेको हुनाले त्यस संस्थाका तर्फबाट नेपाल पर्यटन बोर्डको ‘दिगो पर्यटन सञ्जाल’ का लागि प्रतिनिधि बनें । नेपाल पर्यटन बोर्डको दिगो पर्यटन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा संलग्न भएँ, साथमा वातावरण पत्रकार समाजका नियमित कार्यक्रममा संलग्न हुने कुरा त भई नै हाल्यो । म त्यसै सिलसिलामा ईलामको पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रममा सहभागी भएर ईलामका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्ने अवसर पनि पाएको थिएँ ।


त्यतिबेला काठमाडौं ईञ्जिनियरिङ कलेजमा भाइस प्रिन्सिपलका रुपमा कार्यरत हाम्रै डिप्लोमा ब्याचका मित्र विदुर काफ्लेजीसँग इञ्जिनियर विकास श्रेष्ठसँग चिनजान रहेछ र विदुरजी मार्फत मेरो वहाँसँग पनि चिनजान भयो । वहाँले कृषि तथा वातावरणसँग सम्बन्धित विषयमा केही प्रस्तावनाहरु तयार पार्ने जमर्को गरिराख्नुभएको रहेछ।यस सम्बन्धी प्रस्तावना तयार गर्ने बारेमा मेरो वहाँसँग धेरैचोटि छलफल भयो, तर यसले मूर्त रुप लिन सकेन । वहाँ त्यतिखेर डिजायर्ड ईञ्जिनियरिङ कन्सल्टिङ फर्मसँग पनि आबद्ध हुनुहुन्थ्यो । त्यस फर्म मार्फत वहाँले मलाई कैलाली-कञ्चनपुर ग्रामीण विद्युतीकरण आयोजनाको वातावरणीय अनुगमनका काममा पठाउने कुरा गर्नुभएको थियो, तर यसले पनि मूर्त रुप लिन सकेन ।


आफ्ना पुराना सम्बन्धहरु पुनर्ताजगी गराउने सिलसिलामा डिप्लोमा ब्याचका सिनियर दाइ दिपक बाबु कँडेलसँग मेरो भेटघाट भयो । वहाँको ट्याङलाफाँटस्थित घरमा पनि गएँ । मध्यपुर ठिमी नगरपालिकामा कार्यरत इञ्जिनियर दाइ सत्यनारायण शाहले मेरो धेरै सम्झना गर्नुभएको र भेट्न खोज्नुभएको कुरा बताउनुभयो । सत्यनारायण शाह दाइसँग मेरो भेटघाट भयो । वहाँ नगरपालिकाको ईञ्जिनियर हुनुभएको नाताले घरको नक्शा बनाउने कामहरु थुप्रै आउने सक्ने अवस्था रहेछ । वहाँले मलाई मध्यपुर, कौशलटारमै एक कन्सल्टिङ फर्म चलाउने, विपद व्यवस्थापनसँग सम्बन्धित संस्था स्थापना गर्ने कुरामा मेरो अग्रसरताको अपेक्षा राख्नुभयो । मैले पुल्चोकमा डिप्लोमा तह सकाएपछि र सत्यनारायण शाह दाइले स्नातक तह सकाउनु भएपछिको समयमा वहाँ र म मिलेर विकास, वातावरण र प्राविधिक क्षेत्रमा सक्रिय हुने उद्देश्यले एक गैर सरकारी संस्था स्थापना गर्ने कुरा भएको थियो, तर यसले मूर्त रुप लिन सकेन, त्यसैगरी कन्सल्टिङ फर्म चलाउने र विपद व्यवस्थापनसँग सम्बन्धित संस्था स्थापना गर्ने कुरा पनि अगाडि बढ्न सकेन ।


त्यस्तै, नेपाली सेनामा कार्यरत हाम्रै डिप्लोमा ब्याचका मित्र रामचन्द्र तिवारीसँग पनि मेरो सम्पर्क, भेटघाट भयो । वहाँ नेपाली सेनाको मूख्यालयमा कार्यरत हुनुहुँदो रहेछ । शिवपुरीको सैनिक स्टाफ प्रशिक्षण कलेजमा भवनहरु बनाउनु पर्ने काम भएको र त्यसको निर्माण गर्ने काममा प्रतिस्पर्धी भएर काम लिनका लागि प्रेरित गर्नुभयो । मैले एक जना आफन्त दाइको निर्माण कम्पनी मार्फत खरिद प्रक्रियाको प्रतिस्पर्धमा भाग लिएँ । काम हामीले पायौं । हामीलाई दिइएको साइट भिरालो किसिमको थियो । त्यसलाई खारेर सम्याउनुपर्ने र भिरालो जमीनमा थप कामहरु गर्नुपर्ने अवस्था थियो, जुन कुरा लागत इष्टिमेटमा थिएन ।शुरुमा सम्झौताको भेरिएशन गर्नुपर्ने अवस्था आयो । सम्झौता भेरिएशन गर्न समय लाग्ने, काम शुरु नगरौं भने सम्झौता अवधिभित्र काम नसकिने, फेरि भेरिएशन गर्नु काम नगरी अन्य कामै गर्न नसिकने अवस्था ।
सेनाका तर्फबाट पछि यसको भेरिएशन अवश्य हुन्छ, काम चाहिं शुरु गर्नु भन्ने कुरा भयो र शुरुमै सम्झौतामा समावेश नभएको कामबाट शुरुवात गरियो । यसले गर्दा शुरुमा आफैंले थप लगानी गर्नु पर्ने अवस्था आयो । काम गर्दै गइयो । मैले आफ्नो खल्तीको पैसा लगानी गर्नुपर्ने, तर पछि रकम भुक्तानीको चेक आफन्त दाजुको फर्मबाट काम गरिएकोले उनको बैंक खातामा जम्मा हुने स्थिति भयो र ती दाजुले मलाई आफ्नो खाताबाट रकम निकालेर दिन आनाकानी गरे । यी विभिन्न खिचलोका बिच मेरो आफ्नो चार लाख जति रकम डुब्यो । म त्यतिखेर एक चिनियाँ कम्पनीमा भएकोले आफ्नो आयस्रोत भरपर्दो नै भएकोले डुब्ने अवस्था त भएन, तर भर्खर काममा प्रवेश गर्दै गरेको व्यक्तिलाई त्यो नोक्सानीले दह्रै झड्का लाग्यो । यद्यपि मैले त्यो झडकाबाट आफूलाई बाहिर निकाल्न सकें ।


डा. कमल दाइको आग्रह र सहयोगमा म मध्य बानेश्वरमा डेरा गरेर दश महिना जति बसें । मेरो डेराबाट बानेश्वरमा बस चड्न आइपुग्न कम्तीमा पनि पन्ध्र मिनेट जति हिंड्नुपर्थ्यो । मेरा धेरैजसो ईञ्जिनियर साथीहरु भेटघाट हुने क्षेत्र भनेको कुपण्डोल, पुल्चोकतिर थियो । हाम्रा प्रायजसो: साथीहरु त्यतैतिर बस्थे । हाम्रो डिप्लोमा ब्याचका साथीहरु नगेन्द्र अधिकारी र मुनेशजी कुपण्डोलमा बस्नुहुन्थ्यो । एकदिन नगेन्द्रजीले “होइन निरञ्जनजी, तपाईं कहाँ बानेश्वरतिर एक्लै बानेश्वरतिर बसिराख्नुहुन्छ? यता कुपण्डोलतिर बस्न आउनुहोस् ।” भनेर मलाई कुपण्डोलमा डेरा खोजिदिनतिर लाग्नुभयो । नभन्दै कुपण्डोल, हनुमानस्थान चोक नजिकै डेरा पाइयो र २०६० साल फागुनबाट मेरो कुपण्डोल बसाई शुरु भयो ।

यसबिचमा नगेन्द्रजीसँग मेरो सामिप्यता बढ्नुको अर्को कारण चाहिं मलाई वातावरण र विपद व्यवस्थापनका क्षेत्रमा एउटा संस्था खोलेर त्यस सम्बन्धी काम अगाडि बढाउने रुचि थियो र त्यस रुचिका बारेमा नगेन्द्रजीलाई बताएको थिएँ । नगेन्द्रजीको ईञ्जिनियरिङ लगायतका विभिन्न वृत्तमा राम्रो जनसम्पर्क भएकोले संस्थाका लागि एक उपयुक्त व्यक्ति वहाँ हुन सक्नुहुन्छ भन्ने लागेको थियो ।


हामीले वातावरण तथा विपद व्यवस्थापन केन्द्र नामक संस्था, २०६०, पुषमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्‍यौं । यस संस्थाको संस्थापक अध्यक्षका रुपमा म, उपाध्यक्षमा क्याम्ब्रिज विश्वविद्यालयबाट प्लानिङमा स्नातकोत्तर सकाई भर्खरै नेपाल फर्कनुभएका मनिष प्रधान, महासचिवमा पुल्चोक पढ्दाका हाम्रै डिप्लोमा ब्याचका तथा समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका साथी मुनेशभक्त उपाध्याय, कोषाध्यक्षमा पुल्चोक क्याम्पसबाट भर्खरे शहरी योजनामा स्नातकोत्तर सकाउनुभएका आशीष पाण्डे तथा सदस्यहरुमा शहरी योजनाविद उमेश सिलवाल, नगेन्द्र अधिकारी तथा हङकङ विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गर्नुभएका प्रदीपशंकर वाग्लेजी हुनुहुन्थ्यो ।वास्तवमा हाम्रो संस्थाको टीम चाहिं दह्रै बनेको थियो । यसको साथमा मञ्जुश्री एसोशियटस् प्रा.लि. नामक कन्सल्टिङ फर्म पनि दर्ता गरेके थियौं ।

हामी सबैजसोमा आफ्नो अध्ययन भर्खरै सकाएकोले केही गरौं भन्ने भावना थियो । म डेरा गरेर बस्ने फ्लाटको दुई कोठालाई अफिसको रुपमा प्रयोग गरियो । हामीले विभिन्न संस्थाहरुमा प्रस्तावनापत्रहरु लेखेर पेश गर्‍यौं । हामीमध्ये धेरैजसो कुनै न कुनै अरु काममा पनि संलग्न भएका थियौं, किनकि संस्थाको शुरुवाती दिनमा यसको कुनै आयस्रोत हुने कुरा भएन र आर्थिक दृष्टिकोणबाट हामी पूर्णकालीन रुपमा संस्थामा समर्पित भएर काम गर्न सक्ने अवस्था थिएन । शुरुवाती दिनहरुमा हामीबाट पेश भएका केही प्रस्तावनापत्रहरुबाट काम हात नलागेपछि शायद हाम्रो संस्थाप्रतिको लगाव पनि मुर्झाउँदै गयो जस्तो लाग्छ । सँगै दर्ता गरिएको अर्को कन्सल्टिङ फर्म पनि सक्रिय हुन सकेन । २०६४ सालतिर भने हामीले संस्थाका तर्फबाट अध्ययन, अनुसन्धानका केही कामहरु गरेका थियौं ।


त्यस्तै, हाम्रो पुल्चोक डिप्लोमा ब्याचका अन्य साथीहरुसँग मेरो पनि निकटता थियो । त्यसमध्येका केही निकट साथीहरुले पनि कन्सल्टिङ फर्म खोल्ने जमर्को गर्दै हुनुहुन्थ्यो । महेन्द्र उपाध्याय, नारायण मरासिनी, कुमार धमला, टोपेन्द्र खनाल, मोहन आचार्य र म भएर २०६० सालमा नै आहना एशोसियटस् नामको कन्सल्टिङ फर्म दर्ता गर्‍यौं । त्यस समयमा हामी अन्य कुनै न कुनै काममा समेत संलग्न भईराखेका थियौं । संस्था स्थापना गरेपछि घरको केही नक्शा बनाउने कामहरु पनि आएका थिए, तर यो संस्था पनि विविध कारणले गर्दा सक्रिय हुन भने सकेन ।
केही घण्टा चिनियाँ भाषा पढाउने, टुक्राटाक्री कन्सल्टिङ कामहरु गर्ने वा भर्खरै स्थापना गरिएका संस्थाहरुका आधारमा रहेर मात्र काठमाडौं आर्थिक हिसाबले टिक्ने काम त्यति सजिलो थिएन । यसका लागि मैले काठमाडौंमै रहेन गरी अलिक भरपर्दो रोजगारीका अवसरहरु पनि खोजिरहेको थिएँ । यसै क्रममा चीनमा ईञ्जिनियरिङ पढ्न गएका हाम्रै ब्याचका साथी वसन्त अधिकारीले माथिल्लो मोटी जलविद्युत आयोजनाको चिनियाँ लगानीमा प्रवर्धित कम्पनी जिटेक नेपाललाई ईञ्जिनियर चाहिएको कुरा मलाई बताए । वसन्तले चीनबाट नेपाल फर्केपछि केही समय कालीगण्डकी जलविद्युत आयोजनामा काम गरेका थिए र उनले अरु साथीहरुसँग मिलेर दिगो विकास मञ्च नामक संस्था स्थापना गरी त्यस संस्थालाई अगाडि बढाउँदै थिए ।


जिटेक नेपाल कम्पनीको अफिस धुम्बाराहीमा थियो । त्यस अफिसमा गएर कम्पनीका प्रबन्ध निर्देशक ह्वाङ श्र यीसँग कुराकानी गरेपछि मैले त्यस कम्पनीमा सिभिल (इन्भाइरोन्मेन्टल) ईञ्जिनियरको रुपमा नियमित रुपमा २०६० साल, माघबाट काम गर्न थालें । संयोगले कम्पनीका प्रबन्ध निर्देशक क्वाङसी प्रान्तबाट आएका तथा चीनमा म पढेकै छिङह्वा विश्वविद्यालयमा जलस्रोत ईञ्जिनियरिङ पढ्ने सन् १९८९ ब्याचका रहेछन् । यस कम्पनी चीनको क्वाङसी प्रान्तीय सरकारको लगानी भएको कम्पनीले लगानीमा खुलेको रहेछ र संभवत नेपालको जलस्रोत क्षेत्रमा ओपचारिक रुपमा लगानी गर्ने पहिलो चिनियाँ लगानी कम्पनी थियो । नेपाल सरकारसँग यसको आयोजना सम्झौता २०५६ सालतिर भएको थियो, तर विविध कारणले गर्दा आयोजनाको प्रगति खासै हुन सकिराखेको थिएन ।


म कम्पनीमा पुग्दा भने आयोजनाको कामले अलिक गति लिन लागेको रहेछ । म त्यहाँ गएपछि आयोजनाका लागि चाहिने जग्गा अधिग्रहणका काम धमाधम अगाडि बढाउन थालियो । त्यहाँ प्रशासनिक कामहरु हेर्ने अर्का एक जना कर्मचारी निरेश मल्ल हुनुहुन्थ्यो । सुरुङ निर्माणका लागि विष्फोटक पदार्थहरु ल्याउन प्रक्रियाहरु पनि धमाधम अगाडि बढ्दै थियो । पछि यस कम्पनीमा सिजिसिओसी नामक पेचिङमा कार्यालय भएको अर्को एक कम्पनी पनि लगानीकर्ताको रुपमा थपियो । कम्पनीका प्रबन्ध निर्देशकले चीनमा गएर त्यहाँका विभिन्न बैंकका प्रतिनिधिहरुलाई नेपाल ल्याएर आयोजनास्थलको भ्रमण पनि गराए । चिनियाँ बैंकहरुले यसमा ऋण लगानी गर्ने काम पनि पक्का भयो । आयोजनाका कामहरु पनि तीब्रतर रुपमा अगाडि बढ्न थाल्यो ।


मेरो काम भनेको शुरुवाती दिनहरुमा आयोजनाका व्यवस्थापनका कामहरुमा प्रबन्ध निर्देशकलाई सघाउनु थियो । यसका लागि मैले हाम्रो आयोजनासँग सम्बन्धित विभिन्न सरकारी निकायहरु विद्युत विकास विभाग, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, उद्योग विभाग, श्रम विबाग जस्ता कार्यालयहरुमा गइराख्नुपर्थ्यो र मैले आफ्नो जागिर थालेको शुरुवाती दिनमै ती सरकारी कार्यालयका प्रक्रियागत कुराहरुसँग परिचित हुने मौका पाएँ ।


आयोजनास्थलमा पनि हाम्रो काम द्रुत गतिमा अगाडि बढ्न थाल्यो । आयोजनास्थलमा थप नेपाली ईञ्जिनियरहरु चाहिने भएको हुँदा मेरा चिनजान र सम्पर्कमा भएका कतिपय साथीहरुलाई यस आयोजनामा संलग्न गराइयो । शुरुवातमा आयोजनाको पहुँच मार्ग निर्माणको काम अगाडि बढ्यो र छोटो समयमा नै लगभग तीन-चार किलोमिटरको पहुँच सडक पनि खोलियो । निर्माण कार्यमा केही चिनियाँ ईञ्जिनियरहरु पनि संलग्न थिए । पछि सिजिओसी नामक लगानीकर्ता कम्पनीको प्रतिनिधि भएर कम्पनीको नायब प्रबन्ध निर्देशक बन्न आइपुगेका ईञ्जिनियर पनि चीनमा मैले पढेकै विश्वविद्यालयका उत्पादन रहेछन् । आयोजनाले पोखराको लेकसाइटमा एक घर लिएर साइट कार्यालयको रुपमा पनि प्रयोग गर्दै थियो । पोखराबाट नयाँपुलको मोदी खोला साइट टाढा पर्ने भएपनि कम्पनीका मुख्य चिनियाँ ईञ्जिनियरहरु पोखराबाटै साइटसम्म आवतजावत गर्थे । मभने काठमाडौं अफिसमै बसेर गर्नुपर्ने कामहरु गर्थे र बेलाबखत आयोजना साइटतिर जान्थें ।


यता आयोजनाको गतिविधि त तीब्र रुपमा अघि बढ्दैथियो । हाम्रो आयोजना क्षेत्रतिर माओवादी गतिविधिको पनि तीब्र रुपमा विस्तार हुँदै थियो । विशेषगरी आयोजनाको चार किलोमिटर सुरुङका लागि चाहिने विष्फोटक पदार्थको भण्डारण र ढुवानी आयोजनाका लागि चुनौतीपूर्ण काम बनेको थियो । आयोजनास्थल वरिपरि भण्डारण गर्नु ज्यादै जोखिमपूर्ण थियो भने पोखराबाटै प्रत्येक दिन ओसार्ने काम पनि त्यति सहज र जोखिमरहित थिएन । उता आयोजना क्षेत्रतिर माओवादीले बेलाबखत घोषणा गरिराख्ने नेपाल बन्द वा अन्य किसिमका विरोध कार्यक्रमहरुले पनि धेरथोर आयोजनाको प्रगतिमा असर परिराखेको थियो ।


एकदिन माओवादीले गरेको बन्दमा हाम्रा चिनियाँ ईञ्जिनियरहरुले ‘हामी माओका देशबाट आएका चिनियाँलाई नेपालका माओवादीले केही गर्दैनन्’ भन्दै पेलेर बन्दको अवज्ञा गर्दै गाडी चलाइदिएछन् । माओवादीहरुले त्यस गाडीको पिछा गर्दै लुम्लेबाट नयाँ पुलतिर जाने ओरालो बाटोको बिचतिर जंगलको छेउछाउ पुगेपछि रोकेर पेट्रोल छर्किएर आगो लगाइदिएछन् । वास्तवमा त्यो टाटा पिक अप गाडी एक हप्ता अगाडि मात्र थापाथलीको सिप्रदीको सोरुममा म आफैं गएर मूल्य निर्धारण गरी खरिद गरिएको गाडी थियो । नयाँ गाडीमा दन्दन्ती आगो बलेर निमेषभरमै सखाप भयो ।


यस घटनाले कम्पनीका चिनियाँ कर्मचारी र प्रवर्धक कम्पनी स्तब्ध भयो ।आयोजनाका सम्पूर्ण कामहरु रोकिए । अब आयोजनाका कामलाई तीब्रता दिने भन्दा पनि माओवादीसँग वार्ता गरेर टुंगोमा पुग्ने काम प्राथमिकतामा पर्ने भयो । दुई तीन महिनासम्म यस दिशामा कुनै प्रगति भएन । अन्तत: विभिन्न सम्पर्कसूत्रबाट माओवादीसँग सम्पर्क भएपछि उनीहरु हाम्रो कम्पनीसँग वार्तामा बस्न राजी भए ।


माओवादी प्रतिबन्धित भएको त्यस अवस्थामा एक विदेशी लगानी भएको कम्पनीका प्रतिनिधिहरुले वार्ता गर्नु अर्को जोखिमपूर्ण काम थियो, किनकि सरकारको नजरमा यो गैर कानुनी काम हुन्थ्यो भने हामीसँग कुनै माओवादी नेताले वार्ता गर्ने सिलसिलमा उनीहरुलाई थपिन सक्ने सुरक्षा चुनौतीको प्रश्नले पनि उनीहरुका लागि अहं महत्व राख्थ्यो ।


अन्त्तत: कम्पनीका तर्फबाट काठमाडौंबाट प्रबन्ध निर्देशक र म माओवादीका त्यस क्षेत्रका नेतासँग वार्ता गर्न जाने भयौं । त्यो दिन थियो – २०६० साल साउन १६ गते । उनी र म काठमाडौंबाट बिहानैको प्लेन चढेर पोखरा गयौं, ११ बजेतिर मोदीखोलाको नयाँपुल पुग्यौं । त्यहाँबाट एक घण्टा उकालो चढेर अलिक कोल्टे स्थानमा रहेको गाउँमा पुग्यौं । हाम्रो साथमा साइटमा काम गर्ने दुई चिनियाँ इञ्जिनियरहरु पनि थपिए ।


विशेषगरी माओवादीका लागि चाहिं हामीसँग वार्ता गर्ने काम सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण थियो, कतै हाम्रो अघिपछि कुनै सरकारी संयन्त्र त परिचालित भएको छैन भनेर? हामी त्यहाँ पुगेर केही समय बसेपछि त्यस क्षेत्रका माओवादी ईञ्चार्झ कुनै घरभित्र रहेको थाहा भयो र सुरक्षाका कुरामा उनी विश्वस्त भएपछि हामी पनि त्यस घरभित्र पस्यौं । कम्पनीका प्रबन्ध निर्देशकले अर्को चिनियाँ ईञ्जिनियरलाई पनि भित्र लगेनन् । घरभित्र ती माओवादी ईञ्चार्ज, हाम्रो कम्पनीका प्रबन्ध निर्देशक र म मात्र रह्यौं ।


हामीबिच लगभग चार घण्षा जति कुराकानी भयो । हुनत त्यहाँ मेरो भूमिका मुख्यगरी अनुवादको रुपमा मात्र थियो, तर ममा पनि सानैदेखि राजनीतिक चेत भएको हुँदा कम्पनी प्रबन्ध निर्देशक र माओवादी ईञ्चार्जले भनेका कुराहरु एक आपसमा शब्द मात्र नभएर भाव अनुवाद गर्ने कुरामा धेरै सहज भयो जस्तो लाग्छ । माओवादी ईञ्चार्जले गाडी जलाउने काम आवेशमा आएर गर्दा गल्ती भएको, चीनियाँ लगानीमा धेरै बाधाविरोध नगर्ने, तर गोप्य रुपमा ‘माओवादी जनयुद्ध’ ले आर्थिक सहयोग गर्नुपर्ने कुराहरु उठाए । माओवादीसँग भएको यस चारघण्टाको वार्तापछि मेरो सुझबुझबाट हाम्रा कम्पनीका चिनियाँ प्रबन्ध निर्देशक भने राम्रैसँग प्रभावित भएर त्यसपछिका दिनमा उनले मलाई हेर्ने नजरमा धेरै परिवर्तन भएको पाएँ । पछि उनी चीन फर्कनुअघि एक दिन आफैंले गाडी हाँकेर ‘आज म आफैं घर पुर्‍याइदिन्छु’ भनेर मेरो कुपण्डोल डेरासम्म पुर्‍याउन आएका थिए ।


विदेशी लगानीको कुनै कम्पनीले गोप्य रुपमा ‘माओवादी जनयुद्ध’ लाई आर्थिक सहयोग गर्ने भन्ने कुरा कानुनी वा राजनीतिक हिसाबले मिल्ने कुरा थिएन । यस विषयमा चिनियाँहरुले आर्थिक सहयोग गर्ने पक्षमा निर्णय लिन सकेनन् र विस्तारै चिनियाँ कर्मचारीहरु चीन फर्कन थाले । चिनियाँ लगानीमा बन्न लागेको पहिलो जलविद्युत आयोजना त्यत्तिकै तुहिने अवस्था आयो । त्यस कम्पनीसँगको मेरो आबद्धता पनि २०६१, पुषसँगै समाप्त भयो ।


२०६१ सालमा निर्माण कार्य स्थगित भएको यो जलविद्युत आयोजना, मोदी खोलामा अन्य थुप्रै जलविद्युत आयोजनाहरुको निर्माण शुरुवात भएर सम्पन्न भईसक्दा पनि यो आयोजनाको अवस्था भने त्यतिबेला जुन अवस्थामा थियो, अहिले पनि त्यही अवस्थामा छ ।


क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्