Logo

पढाइ पछि नेपाल फर्किएर-१



Spread the love

२०५९ साल कार्तिक १४ गते, चीनबाट नेपाल फर्किएको दिन ।

प्लेनबाट पेचिङबाट हङकड हुँदै काठमाडौं आइपुग्दा साँझ परिसकेको थियो । लामो समयको अनवरत चीन बसाइपछि म पहिलोपल्ट नेपाल फर्कंदैथिए । प्लेनबाट ओर्लने बित्तिकै काठमाडौंको कात्तिक महिनाको चिसो बतासले स्वागत गर्‍यो । बेलुकीपख अलिकति जाडो बढिसकेको अनुभव भयो ।

मेरो साथमा पेचिङको नेपाली दूतावासमा कार्यरत खडग प्रसाद दाहाल सरको आमा पनि पेचिङबाट मेरो साथमा आउनुभएको थियो । काठमाडौं विमानस्थलमा वहाँका आफन्तहरुले हामीलाई पर्खिराख्नुभएको थियो । त्यो दिन म वहाँकै साथमा सातदोबाटोस्थित वहाँका आफन्तहरुको डेरामा गएर बास बसें । त्यसको भोलिपल्टबाट चीन फर्केर नेपाल आएका मित्रहरुलाई सम्पर्क गर्ने प्रयत्न थालें । यस क्रममा चीनमा पढेका हाम्रै ब्याचका साथी अनमोल रत्न तुलाधारसँग सम्पर्क भयो । उनले मेरो न्यानो स्वागत गरे । उनको घरमा दुई दिन बसें । हामी भन्दा एक ब्याच सिनियर दाइ सविन श्रेष्ठको घरमा एक रात बसें ।


पुल्चोकमा पहिले सँगै पढेका साथीहरुसँग सम्पर्क स्थापित गर्नका लागि पुल्चोक क्याम्पसको छात्रावासमा गएँ । डिप्लोमा तहका हाम्रै ब्याचमेट साथी सागर ज्ञवालीजीसँग भेटघाट भयो । वहाँले पुल्चोकबाट सिभिलको स्नातक तह सकाएर केही वर्ष काम गरी, केही वर्ष अघि पुल्चोकमै खुलेको इन्भाइरोन्मेन्टल ईञ्जिनयरिङको स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुँदोरहेछ । वहाँको बसाई चाहिं पुल्चोक क्याम्पसको पुरानो छात्रावासमा । त्यहाँ गएपछि अरु थुप्रै पुराना साथीहरुसँग समेत भेटघाट, सम्पर्क भयो । सकभर धेरै साथीहरुको सम्पर्क नं लिएर लामो समयदेखि सम्पर्क टुटेका साथीहरुसँग सम्पर्क बढाउने प्रयत्नमा लागियो । चीन जानुअघि सँगै बसेका रुममेट साथी शेर बहादुर केसीसँग बबरमहलस्थित वहाँकै अफिसमा गएर भेटघाट गरें ।

हामी जस्ता भर्खरै चीनबाट पढेर आउनेका लागि रोजगारीका पहिलो प्राथमिकतामा पर्ने भनेको नेपालमा कार्यरत चिनियाँ कम्पनीहरु हुने रहेछन् । त्यतिबेला मध्य मर्स्याङगदी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ निर्माण कम्पनी ‘सिडब्लुई’ लाई ईञ्जिनियर चाहिराखेको रहेछ । सिनियरहरुसँग त्यहाँको सम्पर्क नं लिएको थिएँ र त्यतै काम गर्न जाने मनस्थिति बनाउँदै काठमाडौं आएको एक हप्ता जति पछि मात्र आफ्नो घर, धादिङतिर लागें ।


त्यतिबेला सिंगो देश माओवादी द्वन्द्वको दावाग्निमा जलिराखेको थियो । धादिङ, गोरखाका हाम्रो क्षेत्र पनि यस द्वन्द्वबाट अत्यधिक मात्रामा प्रभावित थियो । देशमा संकटकाल लागेको अवस्था थियो । संचार माध्यममा सेना-माओवादी भिडन्तका समाचारहरु, एम्बुसमा परेर मानिसहरु मरेका, अपहरणमा परेर क्रुर यातना सहित मारिएका वा सेनाद्वारा निर्घात पिटाईमा परेर बेपत्ता पारिएका जस्ता समाचारहरु मात्र आइराख्थे । काठमाडौंमै पनि बाटोमा हिंड्दा बाटोमा देखिएका मानिसहरुको अनुहारमा डर, त्रास, आशंका र भयका धर्साहरु प्रष्ट देख्न सकिन्थे । घर जानुअघि काठमाडौंमा भएका मेरा गाउँका केही मानिसहरुलाई भेटें । उनीहरुले गाउँ गएर केही दिन बस्नका लागि असुरक्षाको समस्या खासै नरहेको कुरा बताए ।


त्यतिबेला काठमाडौंबाट हाम्रो गाउँसम्म सिधा बससेवाको शुरुवात भईसकेको रहेछ, जुन सेवा म चीन जानुअघिसम्म उपलब्ध भईसकेको थिएन । बालाजुबाट बस चढेर घरतर्फ लाग्दा सडकका ठाउँ ठाउँमा बारम्बार भेटिने प्रहरीका गस्ती र चेकिङहरु मेरा लागि नौला थिए । बसमा सँगैको सिटमा भएका एक जना गाउँले दाइले माओवादी द्वन्द्व शुरु भएपछि गाउँमा बढ्दै गएको अशान्ति, भय र असुरक्षाका कथाहरु बाटाभरि सुनाउँदै गए । विशेषगरी सैनिक र उनीहरुका परिवारहरु माओवादीको निशानामा पर्ने गरेका रहेछन् । मसँगैको सिटमा भएका दाइ पनि एक सैनिकका पिता थिए । कहिलेकाहीं रोल्पा, रुकुम जस्ता अति प्रभावित द्वन्द्व क्षेत्रमा उनको छोरालाई खटाईंदा उनको ह्रदयमा रोपिएका पीडा र छटपटीका तीखा बाणहरुलाई म उनको आँखा र बोलीमा अनुभूत गर्न सक्थें ।


लामो समयसम्म कच्ची सडकको रुपमा रहेको मलेखु-धादिङ सडक कालोपत्रे भएछ । बाटो छेउमा घर र बस्तीहरु बढ्दै गएछन् । कालीदह, ज्यामिरे, टारीबेसी जस्ता स्थानमा घरहरु बढ्दै गएका रहेछन् । आँखु खोलामा हिउँदमा गाडी तार्नका लागि कच्ची पुल बनाइएको रहेछ । पहिलो पटक बस चढेर घरसम्म पुग्न पाउनु मेरा लागि खुशीको कुरा थियो ।

धेर वर्षपछि विना खबर छोरा घरमा टुप्लुक्क आइपुग्दा बुबाआमा चकित हुनुभयो । मेरो आकस्मिक आगमनसँगै घरभरि खुशी पनि भित्रियो । भर्खर सकिएको दशैंमा घर आइपुग्न नसकिए तापनि तिहार भने सपरिवार मनाउन पाइयो । लामो समयपछि दिदीको हातको टिका लगाउन पाइयो ।भानिज एलिशलाई एकैचोटि पाँच, छ वर्षको उमेरमा पहिलो चोटि देख्न पाएँ । कात्तिको अन्तिमतिर, तिहारपछि ठुलीबेसीं फाँटमा धान काट्ने बेला भएको थियो । एकदिन खेतमा गएर धान पनि काटें । खेतमा गएर धान नकाटेको त शायद दश वर्ष जति नै भईसकेको थियो होला, तर मेरो धान कटाईको दक्षता देखेर अन्य सबै चकित भए ।


गाउँघरमा त्यतिबेला फैलिएको अशान्ति, असुरक्षा र भयको वातावरण बिच लामो समयपछिको घर फिर्तीमा अलिक दिन घरतिरै बस्छु भन्दा पनि ढुक्क भएर बस्न सकिने परिस्थिति थिएन । घरमै रहँदा एकदिन राति हाम्रो नजिक पर्ने गोरखा, ताकुकोटको प्रहरी चौकीमा माओवादी आक्रमण भएछ । हाम्रै घरतिरको बाटो भएर सेनाका थुप्रै हेलिकप्टरहरु रातभर ओहोरदोहोर गरिराख्दा निस्केको आवाजले मध्यरातको सन्नाटालाई त चिरेको थियो नै, रातको अन्धकारभित्र छोपिएका बस्तीहरुमा पनि शायद अनौठो भयको संचार भएको थियो । ती बस्तीहरु भने शायद कृत्रिम शान्तिको न्यानो सिरकभित्र गुटमुटिएर निदाएको अभिनय गरिराखेका थिए । माथि आकाशबाटै गोलाबारुद खसाउँदा फैलिएको उज्यालो चकमन्न मध्यरातमा पनि प्रष्टसँग देख्न सकिन्थ्यो । राति हामीले सोचेका थियौं, यो भिडन्त त्यही पारिपट्टिको आरुपोखरी डाँडाको कुनै गाउँतिर भएको होला । भोलि बिहान उज्यालिईसकेपछि थाहा भयो – यो आक्रमण अलिक पर पर्ने ताकुकोट प्रहरी चौकीमा भएको रहेछ ।


भय र असुरक्षाको वातावरणमा आफ्नै घरमा पनि ढुक्क भएर बस्ने स्थिति रहेन । हाम्रो गाउँका थुप्रै शिक्षकहरुलाई पनि ‘अपहरण’ गरेर लगिएको रहेछ । ऊनीहरुलाई जनवाद र जनवादी शिक्षाको बारेमा प्रशिक्षित गर्ने काम भएको रहेछ । माओवादी र सेनाको दोहोरो निशानामा पर्ने भयले युवाहरु कोही पनि गाउँमा बस्न रुचाउँदा रहेनछन् । गाउँघरका कतिपय मानिसहरुले अनिच्छापूर्वक माओवादी लडाकुहरुका लागि खाना, बासको बन्दोबस्त गर्नुपर्ने हुँदो रहेछ भने उता माओवादीलाई आश्रय दिइएको आरोपमा गस्तीमा आएका सेनाबाट फेरि उनीहरु नै प्रताडित हुनुपर्दो रहेछ । धन्न, हाम्रो गाउँमा गाउँलेहरु एकआपसमै सुराकी लाएर सताउने दुष्प्रवृत्ति भने मौलाउन पाएको रहेनछ ।


घरमा तिहार मनाइवरि केही दिन बसेर म सिधै लागें लमजुङमा निर्माणाधीन मध्य मर्स्याङदी जलविद्युत आयोजनातिर । घरबाट मलेखु, डुम्रे हुँदै भोटेओडार पुगें । डुम्रेबाट लमजुङ जाँदाको यात्रा पनि रोचक रहेको छ । त्यसदिन डुम्रे बजार आसपासमा कुनै ठूलै मेला (शायद एकादशीको) लाग्ने रहेछ । सारा बसहरु मानिसले भरिएका थिए । छतमा समेत पाइलो टेक्ने ठाउँ थिएन । मानिसहरु डुम्रे बजार नजिकै रहेको पुलको पारिपट्टि गएर बस चढ्दै थिए । म पनि बस चढ्न पुल पारिपट्टि गएँ । छतमा बसेर यात्रा गर्न समेत ठूलै संघर्ष गर्नुपर्ने अवस्था थियो । बसका एक जना खलाँसीले मेरो सुटकेश तानेर बसको छतमा राखिहाले, तर म मानिसको भिडभाडबिच बस चढ्न सकिंन । बस मन्द गतिमा विस्तारै उकालोतिर लाग्दैथियो । बसका खँलासीले ‘हामी अलिक माथि पुगेर पर्खन्छौ, बिस्तारै हिंडेर आउँदै गर्नु है” भने मलाई । हुनत बस साँच्चै नै विस्तारै गुड्दै थियो । धेरै चोटि हिंडेर, सुस्त सुस्त कुदेर भए पनि बसलाई पछ्याई राखिएको थियो । तर पछि भन्सारनिर बस पुगेपछि भने बसले गति लिन थाल्यो, बसलाई हिंडेर, कुदेर भेटाउन सकिने अवस्था रहेन । मोर सुटकेश त्यही बसको छतमा थियो । आफ्ना महत्वपूर्ण कागजातहरु समेत त्यसमै थियो । सुटकेश भन्दा पनि बढी चिन्ता त ती महत्वपूर्ण कागजातहरु हराउलान् कि भन्ने चिन्ताले सतायो ।


अब त्यस बसलाई जसरी पनि पिछा गर्नुपर्ने अवस्था आयो । बाटामा अन्य बस वा गाडीहरु केही भेटिएनन् । बल्लतल्ल एउटा ट्र्याक्टर पाइयो, त्यही ट्र्याक्टरमा भए पनि चढेर लागियो, लमजुङतिर । पाउँदी खोला तर्दा नतर्दै झमक्क साँझ पर्‍यो । त्यो ट्र्याक्टर त्यसदिन पाउँदीढिक भन्दा अगाडि नजाने भयो । पाउँदीढिकको एक साधारण होटलमा बास बस्नु बाहेक मसँग अर्को उपाय भएन । अघिल्लो बसमा छुटेको सुटकेशलाई सम्झँदै राति कतिखेर निदाइएछ, थाहा पाइएन । अर्को समस्याको कुरा के भने मैले बाहिर खल्तीमा दुई, तीनसय रुपैंया भन्दा बढी पैसा राखेको रहेनछु । बेसीशहर कसरी पुग्ने भन्ने समस्या भयो । पाउँदीढिकबाट जसोतसो उदीपुरसमम्म पुगियो । त्यहाँ हाम्रा थुप्रै ईञ्जिनियर साथीहरु कार्यरत रहेको मलाई थाहा थियो । म त्यहाँको ईञ्जिनियर क्याम्पमा गएँ र हाम्रा ब्याचका साथी शरद विष्टसँग भेटघाट भयो । मैले उनलाई आफूले भोग्नुपरेको समस्याको बारेमा अवगत गराएँ । उनले मलाई बेसीशहरसम्म पुग्न तीनसय रुपैंया दिए ।


बेसीशहर पुगियो । मेरो सुटकेश रहेको बस पत्ता लगाइयो । डुम्रेमा भेटिएका ती बस खलाँसीलाई बजारमा खोजियो । उनलाई भेटियो । जे होस्, ती खलाँसी सज्जन नै रहेछन् । मसँग माफी माँगे । मेरो सुटकेश बसको छतमा नै रहेछ, झिकेर दिए । म त्यहाँबाट भोटेओडारतिर लागें, चिनियाँ ठेकेदार ‘सिडब्लुई’ को आयोजना कार्यालयतिर । त्यहाँ पुल्चोकमा डिप्लोमा पढ्दा पुरानो छात्रावास बसाईमा चिनिएका सिनियर दाइ यादव जोशी (डिप्लोमा आर्किटेक्चर, २०४७ ब्याच, लमजुङ) सँग भेट भयो । खुशी लाग्यो । उनी चिनियाँ ठेकेदारको त्यही अफिसमा कार्यरत रहेछन् । चीनबाट केही अघि ईञ्जिनियरिङको पढाई सकाएर फर्केका सिनियर दाइ नवराज सिग्देलसँग पनि त्यहाँ भेट भयो । उनीहरुसँग कुराकानी हुँदा कोही पनि चिनियाँ ठेकेदारको व्यवस्थापनसँग खासै खुशी भएको जस्तो लागेन । जतिखेर पनि चिनियाँ ठेकेदारका बारेमा नराम्रो कुरा काटिरहेको सुन्न सकिन्थ्यो । त्यहाँका चिनियाँ ईञ्जिनियरले मलाई ‘अटोक्याड’ मा ड्रइङ गर्नुपर्ने, अनुवादकको काम गर्नुपर्ने, आयोजना साइटको सुपरिवेक्षण गर्नुपर्ने जस्ता कामहरु भएको कुरा बताए । यी काम गर्न नसकिने भन्ने त थिएन, तर ईन्भाइरोन्मेन्टल इञ्जिनियरिङ पढेर आएको नाताले आफ्नै विषय सम्बद्ध काम गर्न पाए हुन्थ्यो भन्ने लागिराख्यो । चिनियाँ कम्पनीले त्यहाँ छुट्टै ईन्भाइरोन्मेन्टल ईञ्जिनियरको रुपमा राख्लान् जस्तो लागेन । जर्मन/टर्किश ठेकेदार र परामर्शदाता कम्पनीका लागि भने ‘वातावरणविद’ कार्यरत रहेछन् ।


त्यहाँको माहौलमा चिनियाँसँग काम गर्ने रुचि कम हुँदै गएपछि अर्को संभावना भनेको जर्मन/टर्किश ठेकेदार कम्पनीमा काम गर्नु थियो । मेरा थुप्रै चिरपरिचित साथीहरु त्यहाँ कार्यरत थिए । त्यसमध्ये पुल्चोकमा डिप्लोमा तह पढ्दाका आत्मीय मित्र दिनेश पराजुली भेटिए । उनीसँगै केही दिन म बेसीशहरमा बसें । त्यहाँको वातावरण ईकाईमा काम गर्ने वातावरणविद भुपाल पाण्डेसँग चिनजान भयो । उनले “हामीसँग सम्पर्कमा बस्दै गर्नुहोस, पछि यहाँ आवश्यक परेको अवस्थामा तपाईलाई सम्झनेछौं” भने । त्यसबाहेक हाम्रो डिप्लोमा ब्याचका अन्य साथीहरु नवराज अधिकारी, विपिन शाक्य लगायतसँग पनि भेटघाट भयो ।


केही साथीहरु त्यस आयोजनामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यरत थिए । त्यसमध्ये एक थिए – कृष्ण प्रसाद राजवंशी (केपी) । उनीहरु ने.वि.प्रा.को फेदीकुनास्थित आवासगृहमा बस्थे । शायद दुई रात म केपीजीकै आवासगृहमा बसें । नजिकको सुन्दरबजार घम्न पनि गएँ ।
त्यतिबेला द्वन्द्वको समय भएकोले आयोजनाको काममा बेलाबेलामा माओवादी आन्दोलनका गतिविधिहरुले बाधाअवरोध पुर्‍याईरहेको हुन्थ्यो । भोटेओडारमा सीमित फोनहरु मात्र उपलब्ध भएको र त्यसको सेवा पनि भरपर्दो नभएकोले काठमाडौं वा घरतिर फोन गर्ने कुरा त्यति सहज थिएन । बिहान छ बजे उठेर आयोजना साइटतिर लागेपछि बेलुकी आठबजेतिर मात्र साइटको काम सकाएर आफ्नो आवासमा फर्कने किसिमको दिनचर्यामा आफूलाई खासै घुलमिल गराउन सक्छु जस्तो मलाई लागेन । द्वन्द्वका कारणले देशमा संचालित अन्य ठूला आयोजनाहरु नगण्य थिए । हुनत काठमाडौंमै पनि त्यतिखेर रोजगारीका अवसरहरु अत्यन्त सीमित मात्रामा उपलब्ध थिए । सरकारी रोजगारीका अवसरलाई लोक सेवा आयोगको विज्ञापन कुर्नुपर्थ्यो । त्यस समयमा सरकारी ईञ्जिनियरका लागि खासै विज्ञापन ननिस्केकोले होला, हाम्रा धेरैजसो साथीहरुले निजी क्षेत्रमा उपलब्ध रोजगारीका अवसरलाई समातेका थिए । काठमाडौं जान्छु, जे जस्तो परिस्थिति आइपर्छ, त्यसको सामना गर्दै, काठमाडौंमै टिकेर वृत्तिविकासको आफ्नो अगाडिको यात्रा तय गर्छु भन्ने निश्चय गरें ।


लमजुङबाट काठमाडौं आएपछि मैले पहिलोचोटि सम्पर्क गरेको साथी हुनुहुन्थ्यो – नारायण प्रसाद मरासिनी । वहाँ त्यतिखेर ज्ञानेश्वरमा आफ्ना दाइ शम्भु प्रसाद मरासिनीको साथमा संयुक्त परिवारमा बस्नुहुन्थ्यो । काठमाडौं आएपछिको शुरुको एक हप्ता मैले नारायणजीकै डेरामा आश्रय लिएँ । ज्ञानेश्वर बसाईका क्रममा युवराज बुढाथोकी, जय राई लगायतका साथीसँग पनि भेटघाट भयो ।कतिपय साथीहरु विदेश यात्राको तयारीमा लागेको थाहा भयो । एक हप्ता जति नारायणजीसँग बसेपछि वहाँ पनि संयुक्त परिवारसँगै डेरा गरेर बस्नुभएको हुँदा, म त्यहाँबाट हाम्रै ब्याचका साथी रमेश श्रेष्ठको कालीमाटीस्थित डेरामा सरें । रमेशजी हाम्रै डिप्लोमा ब्याचको हुनुहुन्थ्यो र पछि वहाँ छात्रवृत्तिमा ईलेक्ट्रिकल ईञ्जिनियरिङ पढनका लागि भारत जानुभएको थियो । पढाई सकाएर फर्केपछि कालिमाटीस्थित काठमाडौं ईञ्जिनियरिङ कलेजमा अध्यापनरत हुनुहुन्थ्यो । वहाँका साथमा भाइ दिनेश लगायत अरु पनि साथै बस्थे । तीन महिना जति समय म वहाँसगै बसें ।


त्यो तीन महिनाको समयमा मैले जागिरको खोजी गरेर काठमाडौं टिक्ने उपायको खोजीमा भरपुर प्रयत्न गरें । काठमाडौंमा त्यतिखेर उपलब्ध रोजगारीका मूख्य अवसरहरु भनेको कलेजमा पढाउने र कन्सल्टिङ फर्महरुमा काम गर्ने थिए । वातावरण क्षेत्रमा कार्यरत थुप्रै अन्तरराष्ट्रिय/राष्ट्रिय गैर सरकारी संस्थाहरु भएको हुँदा ती संस्थाहरुमा संलग्न भएर काम गर्ने अर्को संभावित अवसर हुनसक्थ्यो । यसका लागि वातावरण क्षेत्रमा कार्यरत संस्थाहरुको खोजी गर्ने र तिनमा आफ्नो ‘सिभी’ छाड्दै हिंडन थालियो । यसरी रोजगारीको संभावित अवसर भएका दशौं, बिसौं ठाउँमा ‘सिभी’ छाड्ने काम गरियो । वातावरण ईञ्जिनियर भुषण तुलाधर अनामनगरस्थित ‘क्लिन ईनर्जी नेपाल’ भन्ने संस्थामा कार्यकारी निर्देशक हुनुहुन्थ्यो । वहाँले काठमाडौं महानगरपालिकाका लागि कम्पोष्ट प्लाण्ट डिजाइन गर्ने एक सानो काममा मलाई संलग्न गराउनुभयो ।


बानेश्वरमा अवस्थित ‘इन्फो’ भन्ने संस्थाको कार्यालयमा गएर त्यसका कार्यकारी निर्देशक रोशनराज तुलाधर सरलाई भेटें । वहाँले मलाई कुनै खानेपानी शुद्धिकरण सम्बन्धी आयोजनामा संलग्न गराउने कुरा गर्दै हुनुहुन्थ्यो, तर त्यो अवसर भने जुटेन । त्यसो त डा. कमल रिजाल सरले इसिमोडमा इन्टर्नका रुपमा राख्न सकिने कुरा गर्दै हुनुहुन्थ्यो, त्यसले साकार रुप भने लिएन ।


चीनमा छात्रवृत्तिमा पढ्दा हामीलाई दिइने गरिएको छात्रवृत्ति रकम त्यहाँ गुजारा गर्नका लागि ठिक्क हुन्थ्यो । बचत गर्न सकिने अवस्था थिएन । विदेशमा गई छात्रवृत्तिमा पढेर फर्केको व्यक्तिले घरबाट पैसा पठाइदिनु भनेर गाउँमा बुबाआमालाई अनुरोध गर्ने कुरा भएन । सधैंभरि साथीहरुको आश्रयमा बस्ने कुरा पनि भएन । यसका लागि मलाई जीवन गुजारा गर्ने कुनै काममा सकभर छिटो अल्झनु पर्ने दबाब थियो । कलेजमा पढाउन शुरुवात गर्ने काम सेमेष्टरका बिचमा संभव हुन्थेन । मेरा लागि अर्को एक संभावना भनेको चिनियाँ भाषासँग सम्बन्धित काम पनि हुनसक्थ्यो । यसका लागि म चीनबाट फर्केर आउने सिनियरहरुसँगको निकट सम्पर्कमा रहें । केही सिनियरहरु आंशिक वा पूर्णकालीन रुपमा पर्यटकका लागि पथप्रदर्शकका रुपमा समेत काम गर्नुहुँदो रहेछ । सिनियर चिकित्सक दाइ कमल कोइरालाले केही समय डिल्लीबजारमा रहेको सगरमाथा बहुमुखी कलेजले शुरुवात गरेको चिनियाँ भाषाको कक्षामा अध्यापन गराउनु भएको रहेछ । त्यस समयमा वहाँ खासमा ओम अस्पतालमा सर्जनका रुपमा काम गर्नुहुन्थ्यो । वहाँले चिनियाँ भाषाको कक्षा लिन नभ्याउनुहुँदा केही कक्षा मैले लिइदिएँ । त्यहाँ चिनियाँ भाषा पढ्नेहरु प्राय: नेपाल चीन व्यापार गर्ने वा विभिन्न सिलसिलामा चीन नेपाल ओहोरदोहोर गरिराख्ने व्यक्तिहरु थिए । तीमध्ये केहीलाई मैले पछि व्यक्तिगत रुपमा चिनियाँ भाषा पढाएँ । पछि बागबजारका केही ल्याङग्वेज इन्स्टिच्युटबाट मलाई चिनियाँ भाषाको कक्षाहरु लिइदिने अनुरोध आयो । मैले ती इन्स्टिच्युटमा केही महिना चिनियाँ भाषा पढाउने काम गरें । साथमा चिनियाँ भाषाका कागजातहरु अनुवाद गर्ने कामहरु पनि फाट्टफुट्ट आइराख्थे ।


यसै क्रममा पेचिङमा पढ्दाका सिनियर दाइ सविन श्रेष्ठले भक्तपुरमा चिनियाँ भाषा पढाउने अवसर भएको कुरा मलाई बताउनुभयो र नेमकिपाका नेता चैत्यराज शाक्यसँग मेरो सम्पर्क गराइदिनुभयो । भक्तपुरमा गएर मैले नारायण मान बिजुक्छे लगायतका नेताहरुलाई भेटेपछि थाहा भयो, वहाँहरुले वहाँका पार्टीका सदस्यहरु, नगरपालिका (पर्यटन सम्बन्धित) मा काम गर्ने कर्मचारीहरु, शिक्षक तथा चिनियाँ भाषा पढ्न अन्य इच्छुकहरुलाई सम्मिलित गराएर चिनियाँ भाषाको कक्षा संचालन गर्ने जमर्को गर्नुभएको रहेछ ।


वहाँहरुले मलाई ख्वप इञ्जिनियरिङ कलेजमा अध्यापन गराउने अवसर मिलाइदिने, भक्तपुरमै चिनियाँ भाषा पढाउने र भक्तपुरमै बस्ने प्रस्ताव गर्नुभयो । चिनियाँ भाषाको कक्षाका लागि व्याँसीको प्रभात स्कूलमा बेलुकी बेलुकी पाँच देखि छ बजेसम्म पढाउने कुरा तय भयो । म भक्तपुरमा गएर त्यतै गएर बस्ने र पूर्ण रुपमा भक्तपुरतिरै आफूलाई व्यस्त बनाइराख्ने कुरामा भने लागिंन । एक वर्षसमम्म हरेक साँझ काठमाडौंबाट बस चढेर भक्तपुर, व्याँसी गई चिनियाँ भाषा पढाउने काम गरें । नेमकिपा पार्टीको चिनियाँ दूतावाससँग राम्रो सम्बन्ध रहेको थियो । एकदिन त मेरो चिनियाँ भाषाको कक्षामा दूतावासका काउन्सिलर आएर मेरो कक्षा अवधि भरि नै बसेर मैले चिनियाँ भाषा पढाएको अवलोकन गरे । चिनियाँ दूतावासका एक जना उच्चपदस्थ कर्मचारीको उपस्थितिमा चिनियाँ भाषा पढाउनु पर्दा मलाई निकै अप्ठयारो लागिरहेको थियो ।


पछि नेकपाका प्रेम सुवाल, सुनिल प्रजापति लगायतका नेताहरुले चिनियाँ काउन्सिलरसँग मेरो चिनियाँ भाषा अध्यापन दक्षताका बारेमा सोध्नु भएको रहेछ । चिनियाँ काउन्सिलरले मेरो भाषिक शुद्धता र अध्यापन शैलीको निकै प्रशंसा गरेछन्, यो कुरा मलाई वहाँहरुले पछि सुनाउनुभयो । नेता नारायणमान बिजुक्छेकी पत्नी शोभा प्रधान पनि मेरो विद्यार्थी हुनुहुन्थ्यो । केही पटक वहाँहरुले सुकुलढोकास्थित घरमा बोलाएर खाना पनि खुवाउनुभयो । राजनीतिक दर्शनको कुरा त आफ्नो ठाउँमा छ, बिजुक्छे परिवारको सरल जीवनशैलीबाट भने म प्रभावित भएको थिएँ ।
यता आफ्नो अध्ययन अनुकूलका कामहरु खोज्ने काममा पनि म लागिरहेको थिएँ । यसैबिच गोरखा, आरुघाट घर भएका सडक विभागका सिनियर ईञ्जिनियर दाइ कृष्णकिशोर श्रेष्ठसँग सम्पर्क भयो । वहाँको सम्पर्कमा रहनुभएका इन्भाइरोन्मेन्टल ईञ्जिनियरहरु (रसियामा अध्ययन गरी फर्कुनुभएको) विजय श्रेष्ठ र शैलेश श्रेष्ठसँग मेरो चिनजान, भेटघाट भयो । वहाँहरुले पर्यटन तथा नागरीक मन्त्रालय अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा संचालित पर्या-पर्यटन आयोजनासँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याकंन अध्ययनको कामको जिम्मेवारी लिनुभएको रहेछ । नेपिकन नामक सरकारी कन्सल्टिङ फर्मलाई औपचारिक रुपमा दिइएको यो काम वहाँहरु द्वारा भर्खरै स्थापित इको-ट्रान्स कन्सल्ट मार्फत् गर्दै हुनुहुँदो रहेछ । बिचमा ‘सिआर कन्सल्ट’ भन्ने अर्को संस्थाको पत्र समेत थियो । मैले सुर्खेत र हुम्लाको विमानस्थल तथा सिमिकोट-हिल्सा पदमार्गको स्थलगत अध्ययन र प्रतिवेदनमा दुई महिना अवधिका लागि संलग्न हुने गरी त्यस काममा अनुबन्ध भएँ । त्यसबेला हुम्ला अध्ययनमा गएका विवरणलाई समेत समेटेर हुम्ला यात्रा संस्मरण यसअघि नै लेखिसकेको छु ।


हुनत इष्ट कन्सल्ट र शाह कन्सल्ट मार्फत नेपाल विद्युत प्राधकिरणको चमेलिया जलविद्युत आयोजनाको वातावरणीय अध्ययनको काममा संलग्न हुने भन्ने कुरा चलिराखेको थियो, यसले साकार रुप भने लिएन ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्