Logo

पढाइ पछि नेपाल फर्किएर-४



Spread the love

माथिल्लो मोदी जलविद्युत आयोजना बन्द हुन पुगेपछि जसरी मेरो पेशागत जीवनमा एक अप्रत्याशित मोड आएको थियो, फ्लाइङ ड्रागन एयरलाइन्सबाट राजीनामा दिएपछि पनि अब अगाडि कसरी बढ्ने हो भन्ने अनिश्चितताको प्रश्न मेरो मथिगंलमा फेरि घुम्न थाल्यो । जलविद्युत कम्पनी र एयरलाइन्स कम्पनीमा आबद्ध हुनु अघि साथीहरुसँग खोलिएका कम्पनीहरु मध्ये आहना एशोसियटस् नामक कन्सल्टिङ फर्मसँग आबद्ध सबै जसो साथीहरु आ-आफ्ने रुचिका काम वा अध्ययनतिर केन्द्रित भईसकेका थिए । दर्ता गरिएको अर्को एक कन्सल्टिङ फर्म, मञ्जुश्री एशोसियटस् शुरुदेखि नै सक्रिय हुन सकेन ।

हामीले सन् २००४ मा स्थापना गरेको एक गैरसरकारी संस्था वातावरण तथा प्रकोप व्वयस्थापन केन्द्र (सेडिम) का अधिकांश साथीहरु अरु कुनै न कुनै संस्थामा आबद्ध भएर काम गर्न थाल्नुभएको थियो भने केही साथीहरु अध्ययन वा कामको सिलसिलामा विदेशतिर लागिसक्नुभएको थियो । फ्लाइङ ड्रागन एयरलाइन्समा आबद्ध हुनुभएका, सेडिमका अर्का एक संस्थापक साथी मुनेशभक्त उपाध्यायजी पनि मैले राजीनामा दिएको केही महिनापछि एयरलाइन्स कम्पनीसँग छुट्टिनुभयो । हामी दुई जना मिलेर सेडिमलाई केही चलायमान बनाउने प्रयत्न गर्‍यौं ।

एक्सन एड, नेपालको सहयोगमा काठमाडौंको भित्री शहरी क्षेत्रमा भाडामा बस्ने गरीबहरुका बारेमा केन्द्रित भएर एक अध्ययन गर्‍यौं (पुष, २०६३) । हाम्रो संस्था, सेडिम, विपद पूर्वतयारीसँग सम्बन्धित संस्थाहरुको सञ्जाल (डिपिनेट) मा पनि आबद्ध थियो । यस संस्थाले प्रदान गरेका विपद व्यवस्थापनसँग सम्बन्धित विभिन्न तालिम, प्रशिक्षणहरुमा सहभागी भएँ । यस संस्थाका लागि विपद प्रतिकार्यसँग सम्बन्धित विभिन्न अन्तरराष्ट्रिय स्फेयर मापदण्डलाई नेपाली परिवेशमा तयार पार्ने काम हामीले गर्‍यौं । हामीले संस्थाका तर्फबाट केही प्रस्तावनाहरु तयार पारेर विभिन्न संस्थाहरुमा बुझाएका थियौं, तर ती कामहरु आशातीत रुपमा अगाडि बढ्न सकेनन् ।

सन् २००५ देखि सन् २००७ सम्मको दुई वर्ष समय मैले आफ्नो विषयगत अध्ययनसँग असम्बन्धित, एयरलाइन्स क्षेत्रमा बिताएको हुनाले ती दुई वर्षको समयावधिलाई कतै मैले खेर फाल्ने काम त गरिन भन्ने सोच पनि मेरो मनमा उब्जन्थ्यो, बेलाबखत । भलै, मैले त्यस दुई वर्षको अवधिमा थुप्रै नयाँ कुराहरु सिक्न पाएको थिएँ, नयाँ अनुभवहरु बटुल्न पाएको थिएँ । अब मैले अर्कै विषयगत क्षेत्रमा बिताएका ती दुई वर्ष समयको क्षतिलाई आफ्नो विषयगत क्षेत्रमा पुर्ताल गर्नका लागि धैरै मिहिनेत गर्नुपर्छ भन्ने लागिराख्यो । यसै बिच पुल्चोकका हाम्रै ब्याचमेट मित्र कुमार धमलाजी लगायतले हालसालै स्थापना गर्नुभएको आर.आई.डि.सी. नामक परामर्शदाता संस्था मार्फत एक सडकको वातावरणीय अध्ययन गर्न रसुवा गएँ । त्यो मेरो पहिलो रसुवा भ्रमण थियो र काठमाडौं नजिकको जिल्लाको विकटता र पछौटेपनलाई पहिलो पटक अनुभव गर्न पाएँ ।

यस बिचमा स्वतन्त्र परामर्शदाताको रुपमा विभिन्न परामर्शदाता संस्थाको वातावरणीय अध्ययनको काम लिएर गर्न थालें । कामकै सिलसिलामा विलिंक नामक परामर्शदाता संस्थाका तर्फबाट सुनसरी जिल्लाको इटहरी नगरपालिकाको आवधिक योजना बनाउने काममा वातावरणीय व्यवस्थापनसँग सम्बन्धित पक्षमा परामर्श सेवा दिएँ । वास्तवमा इटहरी नगरपालिका त्यतिखेर र अहिले पनि नेपालमै तीब्र रुपमा शहरीकरण भएका नगरहरु मध्ये एक हो । त्यहाँको भूउपयोग, प्राकृतिक स्रोत व्यवस्थापन, विद्यमान वा भविष्यमा आइपर्न सक्ने वातावरणीय सवाल, तिनले निम्त्याउन सक्ने जोखिमहरुको पहिचान गर्ने, विश्लेषण गर्ने तथा ती जोखिमहरुको न्यूनीकरण तथा वातावरणीय व्यवस्थापनसँग सम्बन्धित कामहरुमा मेरो अध्ययन केन्द्रित भएको थियो ।

त्यस्तै, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले एशियाली विकास बैंकको सहयोगमा संचालित विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सहयोग आयोजना कार्यान्वयन गरिराखेको थियो । त्यस अन्तर्गत विभिन्न जिल्लाहरुमा सडक निर्माण आयोजनाहरु अगाडि बढाईएको थियो । ती सडकहरुको वातावरणीय अध्ययन गर्नका लागि विभिन्न परामर्शदाताहरुलाई वातावरणविदको आवश्यकता परेको रहेछ । संयोगले म ती परामर्शदाता संस्थाहरुको सम्पर्कमा पुगें । त्यस आयोजना अन्तर्गतका ताप्लेजुङ जिल्लाको दोभान-साँघु-गुफापोखरी सडक, जाजरकोट जिल्लाको जाजरकोट खलंगा-रिम्ना सडक, कालिकोट जिल्लाको खुलालु-भातडी-लैफु सडक, हुम्ला जिल्लाको सल्लीखोला-तुमकोट सडक तथा गोरखा जिल्लाको गोरखा-आरुघाट सडकको वातावरणीय अध्ययनको कामको जिम्मेवारी लिएँ । यी कामहरुले मेरो व्यावसायिक क्षमता र दक्षताको त अभिवृद्धि गरायो नै, नेपालका विभिन्न भागको भूगोल, वातावरणीय पक्ष र त्यहाँका बस्तीमा बसोबास गर्ने मानिसका जनजीवनसँग पनि निकट हुने, तिनलाई नियाल्ने मौका प्रदान गर्‍यो । ती अध्ययनका क्रममा गरिएका सबै स्थानहरुको भ्रमण कुनै न कुनै किसिमले स्मरणीय बनेका छन् ।

यी सडकहरुको वातावरणीय अध्ययन गर्ने क्रममा मैले ती आयोजना क्षेत्रको आर्थिक, सामाजिक पक्षको पनि अध्ययन गर्नु पर्थ्यो । यस क्रममा मलाई आफ्नो समाजशास्त्रप्रतिको ज्ञान पनि बढाउनु पर्दो रहेछ भन्ने महसुस भयो । सोसल साइन्स बहा: नामक पाटनढोकामा रहेको संस्थाको तीन महिने ‘इमर्सन कोर्स’ सहभागी भएँ । फाल्गुण, २०६४ तिर सोसल साइन्स बहा: संस्थाकै नेपाल सरकारको सुशासन सुधार सम्बन्धी एक अध्ययनको सिलसिलामा ‘केस स्टडी’ गर्न मालपोत कार्यालय, पोखरालाई रोजिएको थियो । म र साथी मुनेशजी एक महिना जति पोखरामा गएर अध्ययन गरेका थियौं ।

पुल्चोक क्याम्पसमा ईञ्जिनियरिङ अध्ययन गर्नुभएका सिनियर दाइ तुला नारायण साह कुपण्डोल, गुसिंगलतिर कतै बस्नुहुनेहुँदा हनुमानस्थान चोकतिर बेलाबखत वहाँसँग मेरो भेटघाट भईराख्थ्यो । वहाँ जलस्रोत, विपद व्यवस्थापन, जलवायु परिवर्तन लगायतका क्षेत्रमा अध्ययन गर्न रुचि राख्नुहुन्थ्यो, साथै राजनीतिमा पनि । हामी बिच भईराख्ने नियमित सम्पर्क र कुराकानीकै बिच एकदिन कान्तिपुर पत्रिकामा ‘नयाँ नेपालमा ईञ्जिनयर समुदाय’ नामक लेख संयुक्त लेखनमा प्रकाशित (२०६३, चैत्र २९) गर्‍यौं । कुरैकुरामा वहाँले एकदिन आफ्नो मधेशको घर (पूर्व गोइठी गाविस, सप्तरी) आगलागीले खरानी भएको हुँदा यो घटना वहाँको स्मरणमा सदा आइराख्ने हुनाले आगलागी विपदका बारेमा अध्ययन गर्न उत्सुक भएको कुरा बताउनु भयो । हामीले एक्सन एड, नेपालको सहयोगमा सेडिमका तर्फबाट नै नेपालका विभिन्न नगरपलिकाहरुमा आगलागी समस्या र यसका निराकरणका लागि संस्थागत क्षमताको बारेमा एक अध्ययन संयुक्त रुपमा गरेका थियौं ।

मैले स्वतन्त्र परामर्शदाताको रुपमा काम गर्ने सिलसिलामा म कहाँ आइपुग्ने कामका पहिलो स्रोतहरु भनेको मेरै साथीसंगतिहरुको वृत्त हुन्थ्यो । यसै सिलसिलामा २०६४ सालतिर लुम्बिनी मेडिकल कलेज (पाल्पा) को वातावरणीय प्रभाव मूल्याकंन अध्ययन परामर्शको काम, साथी सागर ज्ञवाली मार्फत मकहाँ आइपुगेको थियो । यसै वर्ष मैले बाँकेको नेपालगञ्ज-बघौडा सडक तथा बर्दियाको भुरिगाउँ-गुलरिया-मूर्तिया सडकको वातावरणीय अध्ययनको काम गरें । यसका अलावा मैले त्यस वर्ष इम्पेरियल एपार्टमेन्ट, ग्राण्डी एपार्टमेन्ट, सिभिल एपार्टमेन्ट लगायतका आवास आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याकंन अध्ययन प्रतिवेदन बनाएँ भने वीरगञ्ज, अलौमा रहेको सुख्खा बन्दरगाहको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम पनि गरें । कमलामाई नगरपालिका र बनेपा नगरपालिकामा संचालित वातावरण सुधार आयोजनासँग सम्बन्धित वातावरणीय अध्ययनका कामहरु समेत गरियो ।

पुष, २०६५ मा फ्रिसा-इटेको नामक नेपालस्थित स्वीस कन्सल्टिङ फर्मसँग तीन महिना अनुबन्धित भएर भोटेचौर-काउलेदोभान सडक (सिन्धुपाल्चोक), सुनखानी – साँवा सडक (दोलखा), खनियाँखर्क – कमेरे भञ्ज्याङ सडक (सिन्धुली) हरुको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन बनाउने तथा कामीडाँडा-तालढुंगा सडक (काभ्रे) को वातावरणीय व्यवस्थापन योजना बनाउने काम गरें । २०६५ सालमा तल्लो इन्द्रावती जलविद्युत आयोजना, सुनकोशी जलविद्युत आयोजना (सिन्धुपाल्चोक), घलेम्दी खोला जलविद्युत आयोजना (म्याग्दी), न्याम न्याम खोला जलविद्युत आयोजना, त्रिशुली खोला जलविद्युत आयोजना (रसुवा), रानी, जमरा, कुलरिया सिंचाई आयोजना (कैलाली) का वातावरणीय अध्ययनहरुमा संलग्न भएँ । काभ्रे र रामेछाप जिल्लाका आठ वटा सडकपुलहरुको वातावरणीय अध्ययनको प्रतिवेदन बनाउने काम मैले २०६५ सालमै सम्पन्न गरेको थिएँ ।

काम गराइका दृष्टिकोणले २०६५ साल मेरा लागि अत्यन्त उर्वर रह्यो । म आयोजनाको स्थलगत भ्रमणका लागि साइट जाने र अनि आफ्नो घरमै बसेर विभिन्न परामर्शदाता संस्था वा आयोजनाहरुका प्रतिवेदन बनाउने काम गर्थें । यस क्रममा मैले कुनै कुनै दिनमा त १६ घण्टा भन्दा पनि बढी प्रतिवेदन लेख्ने कामहरु गरें हुँला जस्तो लाग्छ । बिहान छ, सात बजेदेखि राति बाह्र-एक बजेसम्म खाना पकाउने, खाने समयहरु बाहेक लगातार प्रतिवेदन लेखिराख्ने काम गर्थें । दुई पुलका वातावरणीय अध्ययन प्रतिवेदन बनाउने काम एक दिनमा पनि सकाएँ (यी प्रतिवेदन जाइकालाई समेत बुझाउनुपर्थ्यो, कपि पेष्ट गरेर होइन है) । एकताका त म आफैंलाई यस्तो लाग्थ्यो कि म कुनै मानिस होइन, निरन्तर संचालित भईराख्न सक्ने एक मेशीन हुँ । २०६५ साल, चैत्रमा स्थानीय शासन तथा सामुदायिक विकास पूर्वाधार कार्यक्रम अन्तर्गत एक परामर्शदाता संस्थाका तर्फबाट प्रशिक्षक भएर सरकारी अधिकृतहरुलाई वातावरणीय अध्ययनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिने काम समेत गरियो।

यी त भए, व्यक्तिगत रुपमा गरिएका कामहरु । एकचोटि म पुन: आफू आबद्ध भएका वा स्थापनामा संलग्न भएका विभिन्न संस्थाहरुको फेहरिस्त प्रस्तुत गर्ने प्रयत्न गर्छु । यी संस्थाहरु मध्ये म आबद्ध भएको एक संस्था नवजनजागृति युवा क्लब (२०६०) नामक संस्था मेरो गाउँ सल्यानटार (सिकटार) मा स्थापना गरिएको थियो । यो संस्थाको प्रमुख उद्देश्य गाउँको सामुदायिक विकासका तथा सचेतनामूलक कामहरु गर्नु, युवाहरुलाई रचनात्मक काममा लगाउनु आदि थिए । क्लब शुरुका दिनमा सिखटार आसपासका क्षेत्रमा मात्र केन्द्रित भएतापनि पछिल्ला दिनमा यसको कार्यक्षेत्र पूरा सल्यानटार भरि विस्तार गर्ने गरि संस्थाको कार्यसमिति बनाइएको थियो । गाउँका लागि केही गर्न तम्सेका युवाहरुलाई प्रोत्साहन हुन्छ कि भनेर म पनि एक कार्यकाल क्लबको समितिमा सदस्यको रुपमा बसेको थिएँ । यस संस्थाको मुख्य नेतृत्वमा हाम्रो गाउँ (सिखटार, सल्यानटार) का देवेन्द्रध्वज घिमिरे र भवराज पाण्डेहरु लगायत थए । यस संस्थाले शुरुवाती दिनमा गाउँमा सरसफाई, वृक्षारोपण, खेलकुद सामाग्री वितरण, मुखपत्र निकाल्ने, वनभोज आयोजना गर्ने जस्ता कार्यक्रमहरु गरेको थियो । शुरुका दिनमा संस्था सक्रिय भएतापनि पछिल्ला दिनमा भने यो संस्था विस्तारै निष्क्रिय हुँदै गयो ।

२०६४ सालतिर म आबद्ध भएको अर्को संस्था थियो – गण्डकी बचत तथा ऋण सहकारी संस्था । यस संस्थाको कार्यालय थियो, काठमाडौं, नयाँ बजारमा । वास्तवमा यस सहकारी संस्था नयाँ बजार क्षेत्रमा स्थापना भएर आठ, दश वर्ष पुरानो भईसकेको रहेछ । विभिन्न कारणले राम्रोसँग चल्न सकिराखेको रहेनछ । काठमाडौं ईञ्जिनियरिङ कलेजमा हुनुभएका ईञ्जिनियरहरुको समूह यस संस्थाका प्रवर्धकहरुसँगको सम्पर्कमा पुग्नुभएको रहेछ र यस समूहले त्यस सहकारीमा प्रवेश गर्ने निधो गरेछ । मेरा थुप्रै मित्रहरु काठमाडौं ईञ्जिनियरिङ कलेजमा हुनुभएकोले मैले पनि यसका बारेमा जानकारी पाएँ । म पनि यस गण्डकी सहकारी संस्था प्रवेश गर्न लागेको समूहमा मिसिन पुगें । काठमाडौं ईञ्जिनियरिङ कलेज भन्दा बाहिर रहेका अन्य थुप्रै ईञ्जिनियरहरु पनि यस सहकारीमा मिसिन आइपुग्नुभयो । हाम्रो समूह त्यस सहकारी संस्थामा प्रवेश गरेपछि सहकारीको अध्यक्षमा काठमाडौं ईञ्जिनियरिङ कलेजको अध्यक्ष समेत रहनुभएका प्रा.ई. हिरेन्द्रमान प्रधान सर हुनुभयो भने सहकारीको संचालक समितिमा एक संञ्चालकको रुपमा म पनि समावेश भएँ । शायद मैले त्यस सहकारीको संचालक समितिमा संचालकको रुपमा दुई कार्यकाल कार्यरत रहें जस्तो लाग्छ । बचत तथा ऋण सहकारी संस्थाले गर्ने कार्य र यसको संचालन तौरतरिकाको बारेमा मैले त्यस समयमा धेरथोर बुझ्न पाएँ जस्तो लाग्छ । हिरेन्द्र सरको कार्यकाल पछि स्व. प्रा. डा. दिपक भट्टराई सर यस संस्थाको अध्यक्ष हुनुभएको थियो । यस संस्थाले गरेको प्रगतिलाई सामान्य रुपमा लिन सकिन्छ । मैले व्यक्तिगत रुपमा संचालकको रुपमा खासै प्रभावकारी भूमिका निभाउन सकेको थिंइन ।

काठमाडौं ईञ्जिनियरिङ कलेजको समूहसँग म निकट भएकै बेला (२०६५) सर्भ नेपाल नामको एक गैरसरकारी संस्था स्थापना भएको थियो । यस संस्थाको अध्यक्षमा हिरेन्द्रमान प्रधान सर हुनुहुन्थ्यो भने, उपाध्यक्षमा म, सचिवमा विप्लव घिमिरे र कोषाध्यक्षमा अनुराधा शर्मा हुनुहुन्थ्यो । शुरुका दिनतिर यस संस्थाका तर्फबाट हामीले केही कामहरु गर्न खोजेको भएतापनि यो संस्था खासै सक्रिय हुन सकेन । संस्थाका कतिपय सदस्यहरु विदेश पलायन हुनुभएपछि कहिलेकाहीं हुने गरेका संस्थाका बैठकहरु समेत हुन छाडे।

२०६३ सालतिर म आबद्ध भएको अर्को एक संस्था प्रोफेसनल नेटवर्क फर इञ्जिनियरिङ सर्भिसेज (पिनेट) थियो । ईञ्जिनियरिङ परामर्श सेव दिने यस संस्था २०६१ सालतिर खुलेको थियो । यस संस्थाको संस्थापकहरुमा पुल्चोकमा पढ्दाका हाम्रै डिप्लोमा ब्याचका साथीहरु समेत हुनुहुन्थ्यो र कम्पनीको प्रबन्ध निर्देशकको रुपमा अर्जुन मरासिनी कार्यरत हुनुहुन्थ्यो । म र हाम्रै डिप्लोमा ब्याचका साथी सागर ज्ञवालीजी यस परामर्श सेवा संस्थामा सँगै प्रवेश गर्‍यौं, संस्थालाई अझ विस्तार गर्दै लग्ने सोच सहित ।त्यस समयमा यस संस्थाबाट प्रायजसो: दिइने परामर्श सेवाहरु भनेको भवनको डिजाइन, ड्रइङ, सडक, पुलहरुको सर्भे, डिजाइन, विभिन्न किसिमका ईञ्जिनियरिङ प्रशिक्षण लगायत थिए । कार्यालय पुल्चोक, हरिहरभवन नजिकै थियो ।

भवन सम्बन्धी काम मात्र गर्दा संस्था फैलिने काम सुस्त हुने देखिएकोले संस्थाले विस्तारै जलविद्युत क्षेत्रमा पनि आफ्नो परामर्श सेवा विस्तार गर्ने सोच बनायो । यस सिलसिलामा अर्जुनजी आफैं केही जलविद्युत आयोजनामा गएर काम गर्न थाल्नुभयो । वहाँको पूर्ण उपस्थिति ‘पिनेट’ को कार्यालयमा नभएपछि ‘पिनेट’ संस्थाका कामहरु भने केही सुस्ताउन थाल्यो । पछि अर्जुनजी केही वर्ष जलविद्युत आयोजनामा काम गरेर पुन: पूर्णकालीन रुपमा ‘पिनेट’ मै व्यस्त हुन थाल्नु भएपछि जलविद्युत क्षेत्रसँग सम्बन्धित परामर्श सेवाका कामहरु बढ्दै जान थाल्यो । वास्तवमा म चाहिं त्यस संस्थामा वातावरणीय परामर्श सेवाका कामहरु विस्तार गर्ने उद्देश्यले गएको थिएँ, तर त्यस समयतिर म पनि स्वतन्त्र परामर्शदाताको हैसियतले विभिन्न परामर्शदाता संस्थाहरुका वातावरणीय अध्ययनको काममा बढी व्यस्त थिएँ । ‘पिनेट’ मा रहेर मैले संस्थाको उत्तरोत्तर प्रगतिका लागि खासै योगदान गर्न नसक्ने जस्तो लागेपछि लगभग चार वर्षपछि यस संस्थाबाट छुट्टिएँ ।

२०६४ सालको आसपास मेरा एक घनिष्ठ मित्र महेन्द्र उपाध्यायजी जलविद्युत ईञ्जिनियरिङमा स्नातकोत्तर गर्नका लागि नर्वे जानुभएको थियो । पहिलो वर्षको पढाई सकाएपछिको विदामा वहाँ नेपाल फर्कनुभएको थियो । हुनत म र वहाँ सन् २००४ तिर नै आहना एशोसियट्स नामक कन्सल्टिङ फर्म खोल्ने काममा पनि सँगै संलग्न भएका थियौं । वहाँले स्नातकोत्तर तह पूरा गरेपछि संभवत पूर्ण रुपमा जलविद्युत क्षेत्रमै कार्यरत रहने संभावना भएकोले हामी दुई जनाले जलविद्युत क्षेत्रमा परामर्श सेवादेखि लिएर जलविद्युत आयोजना प्रवर्धनसम्मका काममा संलग्न हुने उद्देश्य लिई आहना हाइड्रोपावर प्रा.लि. (२०६४) को स्थापना गर्‍यौं । आफ्नो कम्पनीका लागि उपयुक्त हुन सक्ने जलविद्युत आयोजनाको खोजीमा समेत लाग्यौं । यस क्रममा मैले धादिङ र गोरखा जिल्लाका केही खोलाहरुको स्थलगत भ्रमण र अवलोकनमा गएँ । महेन्द्रजीले जलविद्युत ईञ्जिनियरिङमा स्नातकोत्तर तह पूरा गरेर नेपाल फर्केपछि ‘हाइड्रो सोलुसन्स’ नामक संस्थामा काम गर्न थाल्नुभयो । पछि राँदी जलविद्युत आयोजनाको आयोजना प्रबन्धक भएर जानुभयो भने रसुवागढी जलविद्युत आयोजनाहरुमा पनि आफ्नो विज्ञता उपलब्ध गराउनुभयो । आहना हाइड्रोपावरलाई अगाडि बढाउने हाम्रो संयुक्त चाहनाले मलजल पाउन सकेन । बरु हामीले धेरै अगाडि स्थापना गरेर चिरनिद्रामा रहिरहेको आहना एशोसिट्सलाई ब्युँताएर अगाडि बढाउने काममा महेन्द्रजी लाग्नुभयो । त्यसको केही वर्षपछि सपरिवार अष्ट्रेलिया प्रस्थान गर्नुभयो ।

यस्तै, मलाई कृषि क्षेत्रमा काम गर्नमा पनि धेरथोर रुचि थियो । एकचोटि चीनमा मेरै विश्वविद्यालयमा पढ्नुभएका सिनियर दाइ विश्व कर्माचार्य मार्फत अर्गानिक नेपाल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठज्यूसँग चिनजान, भेटघाट भयो । यस संस्थाले जैविक कृषि खेतीलाई समेत प्रवर्धन गर्दै लग्ने उद्देश्य राखेको रहेछ । वास्तवमा नेपालको विकासको लागि कृषि क्षेत्रको विकास अपरिहार्य रहेको छ । कृषि क्षेत्रको व्यावसायिकरणको कुरा गर्दा कृषि उत्पादनलाई वृद्धि गर्दै यसको बजारीकरण, प्रशोधन लगायतका मूल्य श्रृंखला अभिवृद्धिका विविध पक्षहरुमा ध्यान दिनु उत्तिकै जरुरी देखिन्छ । यस संस्थाको उद्देश्यप्रति रुचि जागेर म यस अर्गानिक सहकारी संस्थामा आबद्ध भएँ । केही वर्ष सहकारीको लेखा समितिमा बसेर काम गरें । यस सहकारी संस्थाले व्यावसायिक कृषिका विभिन्न क्षेत्रमा लगानी गर्ने र योजनाहरु कार्यान्वयन गर्ने सोच भएपनि अपेक्षित रुपमा उत्साहजनक उपलब्धि चाहिं हासिल गर्न सकेको छैन ।

२०६५ सालतिर सिनियर इञ्जिनियर दाइ तुला नारायण साहसँग मेरो भेटघाट, गफगाफ बाक्लिंदै जाँदा हामी दुई मिलेर गैर सरकारी संस्था खोल्ने निर्णय गर्‍यौं । हुनत तुला दाइ इञ्जिनियर हुनुभएपनि वहाँले पत्रकारको रुपमा समेत काम गर्नुभएको थियो । जलस्रोत क्षेत्रमा अध्ययन गर्न र कलम चलाउन बढी रुचाउनु हुन्थ्यो । २०६२/६३ सालको जनआन्दोलन पछि संविधान सभाको चुनावलाई अघि बढाउने सिलसिलामा संघीयताको एजेण्डा सहित मधेश आन्दोलनको बिजारोपण भयो । यो आन्दोलनको रापतापले तराई/मधेशलाई धेरै प्रभावित पारेको थियो । वहाँ मधेश (गोइठी, सप्तरी) को हुनुभएकोले मधेशसँग वहाँको भावनात्मक सम्बन्ध त प्रगाढ हुने नै भईहाल्यो । त्यतिबेलासम्म मूलधारका पत्रिका लगायत आम संचार माध्यममा मधेश सम्बन्धी सवलाहरु त्यति प्राथमिकतामा पर्ने गरेका थिएनन् । मधेश आन्दोलन पछि मूल धारका संचार माध्यमले मधेशका सवालहरुलाई समेत प्राथमिकतामा राख्न थाले । यो शून्यतालाई स्तम्भ लेखनहरु मार्फत पूरा गर्न अग्रपंक्तिमा आउनुभयो – तुला नारायण साह ।

मधेश आन्दोलनको रापतापसँगै मधेशका कतिपय स्थानहरुमा मधेशी र पहाडी समुदायका बिचमा केही भावनात्मक दूरी बढ्दै गएको अनुभूत गर्न थालिएको थियो । देशका विभिन्न समुदाय प्रतिको सद्भाव र सामञ्जस्यता कायम गर्नका लागि यसरी बढ्न थालेको दूरीलाई मेट्दै जानु आवश्यक र महत्वपूर्ण थियो । त्यसैले, हामी दुई जनाले गैर राजनीतिक ढंगबाट नेपालको मधेश तथा अन्य सम्पूर्ण क्षेत्रको राजनैतिक, आर्थिक, सामाजिक प्राविधिक क्षेत्रसँग सम्वन्धित विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा समयानुकुल समुचित विकासका लागि चेतनामुलक कार्यहरु गर्ने तथा गराउने, सामाजिक तथा सामुदायिक विकास तथा हकहितका लागि आवश्यक ज्ञानवर्धक तथा चेतनामुलक कार्यक्रमको संचालन गर्ने र त्यसको कार्यान्वयनमा जोड दिने, देशका विभिन्न समुदाय तथा जातजातिसँग सम्वन्धित नीतिगत विषयहरुमा अध्ययन तथा अनुसन्धान गरी आवश्यक कदमको लागि प्रचार प्रसार गरी कार्यावन्यनको लागी सम्बन्धित निकायमा पहल गर्ने तथा नेपालमा विभिन्न समुदाय बिचको साम्प्रदायिक सद्भाव र एकतालाई कायम राख्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यका साथ, तुला नारायण साह संस्थाको अध्यक्ष तथा म महासचिव हुने गरी ‘नेपाल मधेश फाउण्डेशन’ नामक संस्था स्थापना (२०६५) गरियो ।

यसको अलावा नेपालको सामाजिक, राजनैतिक, आर्थिक, प्राविधिक क्षेत्रसँग सम्वन्धित विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा समुचित विकासका लागि समयानुकुल चेतनामुलक कार्यहरु गर्ने तथा गराउने, देशमा प्रस्तावित तथा सञ्चालनमा रहेका विविध विकास परियोजनाहरुको वारेमा अध्ययन अनुसन्धान गरी आएका निष्कर्षलाई सम्बन्धित निकायमा प्रस्तुत गर्ने तथा स्थानीय तवरमा समेत सुसूचित गराउने समेतका उद्देश्यहरु राखी ‘विकासका लागि बहस’ नामक संस्था म अध्यक्ष र तुला नारायण साह महासचिव हुने गरी सँगसँगै स्थापना (२०६५ साल) गरियो । मेरो कुपण्डोल, हनुमानस्थानस्थित डेराको एक कोठालाई लामो समयदेखि ‘सेडिम’ संस्थाको कार्यालयको रुपमा प्रयोग गरिराखिएको थियो । शुरुका दिनमा यी नयाँ संस्थाका लागि पनि त्यस कार्यालयलाई नै अस्थायी रुपमा प्रयोग गरिए तापनि पछि यसको कार्यालय पाटनढोका नजिकको कृष्णगल्लीमा राखियो ।

यी दुवै संस्थाहरु साँच्चिकै विशुद्ध गैर राजनीतिक उद्देश्यले खोलिएका थिए । हुनत तुला दाइ र म दुवै जना राजनितिक पृष्ठभूमि भएका व्यक्ति थियौं । हामी केही समय पुल्चोक क्याम्पसको विद्यार्थी राजनीतिमा सँगसगै सक्रिय रहेका थियौं । पछि म अध्ययनका लागि चीन गएँ । तुला दाइले नेपालमा विद्यार्थी राजनीतिको सक्रियतालाई निरन्तरता दिनुभएको रहेछ । वहाँको राजनीतिक यात्राको दौरानमा वहाँले थुप्रै तीतामिठा अनुभवहरु सँगाल्नुभएको रहेछ, जुन मलाई बताउनुभएको थियो । मसँग निकट रहनुभएका ती दिनहरुमा वहाँ राजनीतिबाट निराश हुनुभएको मैले पाएको थिएँ । तुला दाइले अब राजनीतिबाट टाढा रहने, समाजका विविध समस्याहरुका बारेमा प्राज्ञिक हिसाबले गरिने अध्ययन अनुसन्धानमा निरन्तरता दिने, लेख्ने र बहस गर्ने कुरामा बढी रुचि बढ्दै गएको कुरा मलाई बताउनु भयो ।

मेरो आफ्नो राजनीतिक आबद्धता भएपनि राजनतिक संगठनका गतिविधिहरुमा सक्रिय रुपले सहभागी भईराखेको थिंइन । हामी दुई, तीन महिना सँगै रहेर काम गरेपछि मलाई के लाग्यो भने वहाँले तत्कालको अवस्थामा कुनै राजनीतिक संगठनमा सक्रिय हुनु नभएतापनि वहाँमा राजनीतिक मोह भने यथावत रहेछ । वहाँको त्यो राजनीतिक मोहको म सम्मान मात्र गर्न सक्थें, सँगै यात्रा गर्ने कुरा भने नहुन सक्थ्यो । यस कारणले हामीले स्थापना गरेका ती संस्थाहरुमा पनि म सक्रिय भईराख्न सकिंन । वहाँले पछि अन्य साथीहरुलाई संस्थामा प्रवेश गराएर संस्था संचालनलाई निरन्तरता दिनुभयो । यस संस्थाका तर्फबाट मधेसका बारेमा थुप्रै अध्ययनहरु गरिएका छन्, जुन खुशीको कुरा हो । म अध्यक्ष र तुला दाइ महासचिव रहेको ‘विकासका लागि बहस’ नामक संस्थाबाट हामीले नेपाल विकास सम्बन्धी अध्ययन गर्नुपर्ने, गर्न सकिने थुप्रै विषयवस्तुहरुको सुची बनाएका थियौं, तर यो संस्था शुरुवाती दिनदेखि नै सक्रिय हुन सकेन ।

२०६६ सालतिर मैले तत्कालीन सल्यानटार गाविसबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र, छात्रा र दलित, सीमान्तकृत समुदायका तर्फबाट गरी प्रत्येक वर्ष तीन जना विद्यार्थीलाई पुरस्कृत गर्ने कामको शुरुवात गरेको थिएँ, ताकि यसले उनीहरुलाई सानै भएपनि हौसला बढाउने काम गरोस् । मैले मेरो बुबा, आमाको नाममा अनौपचारिक रुपमा स्थापित गरिएको ‘प्रेम-मित्र शैक्षिक संस्था’ मार्फत यी कार्यलाई अगाडि बढाएको थिएँ । छ, सात वर्षसम्म यसलाई निरन्तरता दिईराखेको भएतापनि २०७२ को भूकम्प पछि टुट्न गएको यो क्रमलाई मैले अहिलेसम्म फेरि पुनर्जीवित गर्न सकिराखेको छैन । यसलाई पक्कै पनि पुनर्जीवित गराएर निरन्तरता दिनेछु ।

यस्तै, सन् २००१तिर साझा डट कमबाट परिचित बनेका म चीनबाट नेपाल फर्केपछि, आशुतोष तिवारी र त्रैलोक्य अर्यालसँग मिलेर चीनका बारेमा चासो राख्नेहरुका लागि भनेर चाइना फङग्योज (मित्रहरु) नामक एक संस्थाको अनौपचारिक खाका बनाएर ‘याहुग्रुप’ बनाएका थियौं । हाम्रो यो प्रयासले लामो समयसम्म निरन्तरता पाउन सकेन ।

मैले अगाडि भनिसकेको छु, मेरा थुप्रै मित्रहरु काठमाडौं ईञ्जिनियरिङ कलेजमा हुनुभएकोले त्यस कलेजसँग मेरो एक किसिमको सान्निध्यता रहिराख्यो । त्यसैको सान्निध्यताका आधारमा भन्नुपर्छ, मैले गण्डकी बचत तथा ऋण सहकारी संस्था र ‘सर्भ नेपाल’ नामक गैर सरकारी संस्थामा आबद्ध हुन पुगेको थिएँ । यस निकटताको प्रमुख कारण भनेको कलेजमा अध्यापन गर्नुहुने तथा पुल्चोक क्याम्पसमा डिप्लोमा पढ्टा ताकाका मेरा मित्र रमेश कुमार श्रेष्ठ त्यहाँ हुनु रहेको थियो । वहाँले त्यही कलेजमा भएका अन्य अध्यापक मित्रहरुसँग छुट्टै ईञ्जिनियरिङ कलेज खोल्ने बारेमा आफ्नो रुचिका बारेमा कुरा गर्नु भएको रहेछ । यो कुराले विस्तारै मूर्त रुप लिंदै गयो । कलेज खोल्न सहभागी हुने कुरामा इच्छुक व्यक्तिहरुको समूह बन्दै गयो । यस समूहमा धेरै जसो मित्रहरु काठमाडौं ईञ्जिनियरिङ कलेजमा अध्यापन गरिराख्नु भएका वा पहिले कुनै समयमा त्यहीं अध्यापन गरिसक्नुभएका मित्रहरुको बाहुल्यता थियो । एडभान्स ईञ्जिनियरिङ कलेज, कुपण्डोलमा अध्यापन गर्नुहुने केही मित्रहरु समेत हाम्रो समूहमा थपिनुभयो ।

रमेशजीसँगको मेरो निकटताले गर्दा म त्यस समूहमा थपिन पुगें । पुल्चोकमा डिप्लोमा तह पढ्दा, रमेशजीकै क्लासमेट तथा मेरा पनि ब्याचमेट साथी सागर ज्ञवालीजी पनि थपिनुभयो । यस कलेजको अध्यक्षको रुपमा सागर ज्ञवालीजी रहनुभयो भने प्रिन्सिपलको रुपमा रमेश कुमार श्रेष्ठ । कलेज दर्ता गर्ने, शिक्षा मन्त्रालय, ईञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक तथा त्रिभुवन विश्वविद्यालयबाट आवश्यक सहमति/स्वीकृति लिने प्रक्रियाहरु पूरा गरेर २०६६ भाद्र/असोजबाट सिभिल तथा इलेक्ट्रोनिक्स ईञ्जिनियरिङ कार्यक्रमको स्नातक तहमा भर्ना लिने काम शुरु भयो । त्यो क्षण समूहमा आबद्ध हामी सबैका लागि निकै खुशीको क्षण थियो । केही वर्षपछि हाम्रो कलेजमा कम्प्युटर ईञ्जिनियरिङ, स्नातक तहको पढाई समेत शुरुवात गरियो । पछि सगरमाथा कलेज अफ साइन्स एण्ड टेकनोलोजी समेत दर्ता गरी बि.एस.सी. सि.एस.आई.टी. तथा बि.सि.ए., स्नातक तहको पढाई शुरु गरियो ।

यी त भए, विभिन्न संघसंस्थाहरुमा भएका मेरा आबद्धता वा संलग्नताहरु ।

एकचोटि म पुन: मेरो पेशागत जीवनतर्फ फर्कन्छु । २०६६ मंसिर तिरको महिना हो, म सिम्याट पावर डेभलेपमेन्ट कम्पनीले प्रवर्धन गर्न लागेको घलेम्दी खोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन अध्ययनमा संलग्न थिएँ । यसको कार्यालय कुपण्डोल, हनुमानस्थानबाट गुसिंगलतिर लाग्ने बाटोमा पर्थ्यो । एकदिन बिहान यस अध्ययनमा संलग्न हुने अर्का एक जनालाई भेट्न कार्यालयमा उनलाई कुरेर बस्दै थिएँ, मेरो आँखा रिसेप्सन डेस्कमा राखिएको काठमाडौं पोष्ट पत्रिकामा पर्‍यो । कसैलाई प्रतीक्षारत रहेको त्यस खालि समयमा मैले त्यसै काठमाडौं पोष्टको पानाहरुमा आँखा दौडाउन थालें । भित्रको एक पृष्ठमा एशियाली विकास बैंकका तर्फबाट स्थानीय विकास मन्त्रालय अन्तर्गत संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका लागि वातावरणविज्ञ पदका लागि विज्ञापन गरिएको रहेछ ।

सामान्यत म काठमाडौं पोष्ट पत्रिका पढ्ने गर्दिन, नियमित रुपमा पढ्ने भन्ने कुरा त अझ परको भयो । त्यो दिन खोइ के संयोगले हो, मैले पढें र त्यसमा छापिएको उक्त विज्ञापनमा मेरो आँखा पुग्यो । त्यस पदका लागि आफूलाई उपयुक्त ठानी इमेल मार्फत व्यक्तिगत विवरण (सिभी) पठाएर आवदेन दिएँ । पछि अन्तरवार्ताका लगि छनौट गरिएका सीमित व्यक्तिमा म पनि परेछु । एशियाली विकास बैंकको कमलादीस्थित नेपाल कार्यालयमा गएर अन्तरवार्ता दिइयो । अन्तरवार्ताकारले मलाई तपाईंले छोटो समयमा धेरै विषयगत क्षेत्रसँग सम्बन्धित वातावरणीय अध्ययनको अनुभव संगालिसक्नु भएको रहेछ भन्नु भएको थियो । अन्तरवार्ताका लागि छनौट गरिएका अन्य व्यक्तिहरु म भन्दा धेरे अनुभवी र वरिष्ठ हुनुहुन्छ रे भन्ने सुनेको थिएँ । तथापि यस पदका लागि म छनौट भएछु । यो मेरो परामर्शदाताको वृत्ति विकासको यात्रामा कोशेढुंगो नै बन्यो ।

२०६६ साल, पुषबाट म एशियाली विकास बैंकका तर्फबाट ‘वातावरणविज्ञ’ (परामर्शदाता) का रुपमा स्थानीय विकास मन्त्रालय अन्तर्गत संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपि) का लागि काम गर्ने भएँ । कार्यावधि डेढ वर्षको थियो । यस कार्यक्रमका लागि एशियाली विकास बैंकका तर्फबाट नै खरिदविज्ञका ईञ्जिनियर नारायण बराल तथा सुशासनविज्ञका रुपमा संग्रामसिंह लामा पनि परामर्शदाताका रुपमा मसँगै नियुक्त हुनुभएको थियो । नारायण बराल सर त्यसबेला स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार तथा कृषि सडक विभागमा स्थायी ईञ्जिनियरका रुपमा हुनुहुन्थ्यो । त्यहाँबाट केही समयका लागि विदा लिएर यता काम गर्न आउनुभएको थियो । हामीले यस कार्यक्रममा काम शुरु गर्दा कार्यक्रमको निर्देशकका रुपमा सहसचिव सोमलाल सुवेदी र कार्यक्रम प्रबन्धकका रुपमा उपसचिव गोपीकृष्ण खनाल सर हुनुहुन्थ्यो । काम गर्न शुरु गरेपछि थाहा भयो, मन्त्रालयस्थित कार्यक्रम समन्वय ईकाईमा राष्ट्रसंघीय विकास कार्यक्रमका तर्फबाट अन्य थुप्रै विज्ञहरु कार्यरत हुनुहुँदो रहेछ । अन्तरराष्ट्रिय परामर्शदाताका रुपमा ब्रुस पल्लोक भन्ने एक जना ब्रिटिश कार्यरत थिए । विज्ञका रुपमा कार्यरत अन्य नेपालीहरुमा रघुनाथ श्रेष्ठ (अनुगमन तथा मूल्याकंनविज्ञ), एसपी श्रेष्ठ (सामाजिक परिचालनविज्ञ), इन्द्र कार्की (विकेन्द्रिकरणविज्ञ), खिमलाल देवकोटा (वित्तिय विकेन्द्रिकरणविज्ञ), शंकरराज पाठक (जि.आई.एस. तथा सूचनाविज्ञ), विश्वराज बसौला (वित्त प्रबन्धक), निर्मला थापा (लैंगिक तथा समावेशिकरण), जीवन धिताल (क्षमता विकासविज्ञ) हुनुहुन्थ्यो । पछि संचारविज्ञको रुपमा लक्ष्मणदत्त पन्त र सामाजिक सुरक्षाविज्ञको रुपमा प्रताप छत्कुली पनि यस कार्यक्रममा जोडिन आइपुग्नु भएको थियो (आई.टी.विज्ञको नाम बिर्सें) ।

एलजिसिडिपी कार्यक्रमका मुख्य उद्देश्यहरुमा स्थानीय निकायहरुलाई सामाजिक परिचालन र योजना तर्जुमा प्रक्रियामा सघाउने, सूचना, शिक्षा, संचार माध्यम स्थानीय सुशासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने, निश्चित न्यूनतम शर्त कार्य सम्पादनका आधारमा मूल्याकंन गरेर स्थानीय निकायहरुलाई कार्य सम्पादनमा आधारित भई अनुदान उपलब्ध गराउने, सम्बन्धित अध्ययनहरु गराई स्थानीय सुशासनसँग सम्बन्धित नीतिगत कुराहरुको सुधार गर्ने लगायत थिए । यस कार्यक्रम मार्फत स्थानीय निकायहरुलाई सामुदायिक विकासका कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि अनुदानहरु उपलब्ध गराइन्थ्यो । यसको कार्यान्वयनका लागि आवश्यक रकम नेपाल सरकार र अन्य १४ वटा विभिन्न विकासे साझेदारहरुले संयुक्त रुपमा जुटाएका थिए । ती विकास साझेदार मध्ये एक प्रमुख साझेदार एशियाली विकास बैंक थियो ।

पूर्वाधार विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दा नेपाल सरकार तथा एशियाली विकास बैंक समेतको सामाजिक र वातावरणीञ सुरक्षासँग सम्बन्धित विभिन्न नियम, कानुन, नीति, निर्देशिका र मापदण्डहरु पूरा गर्न आवश्यक हुन्थ्यो । यसका लागि कार्यक्रमको आफ्नै सामाजिक तथा वातावरणीय सुरक्षा खाका (फ्रेमवर्क) समेत थियो । यसको कार्यान्वयनका लागि स्थानीय शासनसँग सम्बद्ध तह/निकाय (मन्त्रालय समेत) हरुको वातावरणीय सुशासनको क्षमता अभिवृद्धिमा सघाउनु मेरो जिम्मेवारी थियो । यसका सातै कार्यक्रम मातहत संचालित पूर्वाधार निर्माणका कार्यक्रममा ती आयोजनाको प्रकृति अनुसार वातावरणीय मूल्याकंन अध्ययन र वातावरणीय व्यवस्थापन योजना बनाउँदै कार्यान्वयन चरणमा वातावरणीय सुरक्षा वा सुधारका उपायहरुको कार्यान्वयन गराउनु मेरो एक मुख्य जिम्मेवारी थियो, जसका लागि वातावरणीय अनुगमनको पाटो पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

तत्कालीन स्थानीय विकास मन्त्रालयद्वारा संचालित आयोजना वा कार्यक्रमहरुमा वातावरणीय पक्षलाई ध्यान दिन, स्थानीय स्तरमा वातावरणीय सुधारका कार्यक्रमहरु संचालन गर्न, मन्त्रालयमा वातावरण व्यवस्थापन शाखाको व्यवस्था गरिएको थियो । त्यस शाखामा एक शाखा अधिकृत र एक उपसचिव (शाखा प्रमुख) को दरबन्दी थियो । पछि यस शाखामा वातावरण र विपद व्यवस्थापन छुट्टाछुट्टै अधिकृतले हेर्ने गरी दुई शाखा अधिकृतको व्यवस्था गरियो । यस शाखाको क्षमता अभिवृद्धि समेत मेरो जिम्मेवारीको कार्यसुची भित्र परेकोले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको कार्यक्रम समन्वय ईकाईको कार्यालयमा नबसिकन शुरुवाती दिनदेखि नै वातावरण व्यवस्थापन शाखामै बसेर काम गर्न थालें, ताकि यसले गर्दा मैले शाखाको कामसँग यथाशिघ्र परिचित हुनसकुँ र यसको क्षमता अभिवृद्धिका लागि पनि उपयुक्त हिसाबले सोच्न, काम गर्न सकुँ।

म यस शाखामा पुग्दा शाखा प्रमुख (उपसचिव) का रुपमा डण्डुराज घिमिरे हुनुहुन्थ्यो भने शाखा अधिकृतका रुपमा विजयराज सुवेदी । वहाँहरु दुवैले मेरो न्यानो स्वागत गर्नुभयो । विजय सरकै छेउमा टेबल, कुर्सी राखेर मैले काम गर्न शुरु गरें । शाखामा राजपत्र अनंकित कर्मचारीका रुपमा दुर्गा दाहाल पनि हुनुहुन्थ्यो । म त्यहाँ पुगेको केही हप्तापछि नै डण्डु सरको सरुवा भयो । वहाँको स्थानमा विनोद प्रकाश सिंह सर शाखा प्रमुख भएर आउनुभयो । मैले काम गर्न थालेको लगभग एक वर्षपछि एक नारायण शर्मा सर पनि शाखामा विपद व्यवस्थापनको क्षेत्र हेर्ने गरी थपिनुभएको थियो ।

यस कार्यक्रमबाट दिइने अनुदानबाट संचालित पूर्वाधार निर्माणका कामहरुमा सामाजिक तथा वातावरणीय सुरक्षाका उपायहरुको कार्यान्वयनको सुनिश्चितता गर्नका लागि एक अपरेशन म्यानुयल बनाइयो र सबै स्थानीय निकायहरुमा पठाउने काम गरियो । मन्त्रालयले सबै स्थानीय निकाय (जिल्ला र नगरपालिकाहरु) लाई वातावरण डेस्क स्थापना गर्न र वातावरणीय सम्पर्क व्यक्ति तोक्नका लागि परिपत्र गर्‍यो । त्यतिबेला वातावरणीय डेस्क वा शाखाका रुपमा मात्र स्थापना भएपनि देश संघीयतामा गइसकेपछि प्रत्येक नगरपालिका/गाउँपालिकाले आफ्नै वातावरण संरक्षण ऐन र सम्बन्धित कार्यविधिहरु बनाउन थाले । वातावरण शाखाको स्थापना गर्न थाले । यस्तो देख्न पाउँदा हामीले त्यतिबेला स्थानीय तहमा वातावरणीय डेस्कको स्थापना र वातावरणीय सम्पर्क व्यक्ति तोक्नबाट गरेको शुरुवाती प्रयासले सार्थकता पाउँदै गएको महसुस हुन्छ । यसरी स्थापना भएका वातावरणीय डेस्क तथा त्यहाँ भएका वातावरणीय सम्पर्क व्यक्ति (प्रायजसो: वातावरण तथा ऊर्जा शाखाका इञ्जिनियर हुन्थे) र एलजिसिडिपिले जिल्ला तथा नगरपालिकामा नियुक्त गरेका सहजकर्ताहरुलाई सामाजिक तथा वातावरणीय सुरक्षाका विषयमा तालिमहरु दिने काम गरिएको थियो । यस्ता तालिमहरु विराटनगर, काठमाडौं, पोखरा र नेपालगञ्जमा आयोजना गरिएको थियो । एलजिसिडिपिका क्षेत्रीय समन्वय ईकाईहरु विराटनगर, हेटौंडा, पोखरा, नेपालगञ्ज र धनगढीमा भएकोले तिनै ईकाई कार्यालयहरुले यी तालिमहरुको संयोजन गर्ने काम गरेका थिए ।

यस कार्यक्रमको अनुदान मार्फत् कार्यान्वयन हुने पूर्वाधारहरु प्रायजसो: सामुदायिक स्तरका तथा कानुनत: वातावरणीय प्रभाव मूल्याकंन वा प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्नु नपर्ने प्रकृतिका थिए । स्थानीय निकायले कार्यान्वयन गर्ने साना प्रकृतिका विभिन्न भौतिक पूर्वाधार आयोजना कार्यान्वयनका क्रममा तत्कालीन वातावरण संरक्षण ऐन र नियमावली अनुसार वातावरणीय अध्ययन गर्नु पर्ने नभएतापनि ती आयोजनाले केही न केही वातावरणीय प्रभावहरु पार्न सक्थे, तर यस्ता आयोजनाका लागि वातावरणीय अध्ययन गरी व्यवस्थापन गर्ने कुराहरुको बारेमा विद्यमान कानुनमा कुनै व्यवस्था थिएन । यस्ता स-साना आयोजनाहरुलाई पनि दिगो, र वातावरणमैत्री बनाउन तथा आयोजनाका नकरात्मक वातावरणीय प्रभावहरु न्यून गर्नका लागि मैले सडक, पुल, झोलुंगे पुल, कजवे, खानेपानी आयोजना, नाली तथा ढलनिकास, तटबन्धन, पोखरी निर्माण, लघुजलविद्युत आयोजना, ल्याण्डफिल साइट, ग्रामीण विद्युतीकरण, सामुदायिक भवन, साना सिंचाई आयोजनाहरुको नमूना वातावरणीय व्यवस्थापन योजनाहरु बनाई त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने/अनुगमन गर्नुपर्ने वातावरणीय सवालहरुको सुची समेत तयार बनाएर सबै स्थानीय निकाय (जिल्ला, नगरपालिका) हरुमा पठाएको थिएँ । यी कुराहरुलाई वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ जारी हुँदा व्यवस्था गरिएको संक्षिप्त वातावरणीय अध्ययनले धेरै हदसम्म सम्बोधन गरेको छ जस्तो लाग्छ ।

म मन्त्रालयको वातावरण व्यवस्तापन शाखामा रहेर काम गर्न थालेपछि शाखामा पुनरावलोकन तथा स्वीकृतिका लागि आएका वातावरणीय अध्ययन प्रतिवेदनहरुलाई एक पुनरावलोकन समिति बनाई व्यवस्थित किसिमले तिनीहरुको पुनरावलोकन गर्ने र परिमार्जित प्रतिवेदन तयार गर्नका लागि रायसुझावहरु दिन थालियो । ती प्रतिवेदनहरुको म आफैंले पनि पुनरावलोकन गरेर परिमार्जनका लागि रायसुझावहरु दिन्थें । म शाखामा कार्यरत रहँदाका बखत नै जिल्ला जिल्लाबाट ढुंगा, गिटी, बालुवा संकलन तथा उत्खननको वातावरणीय अध्ययनको प्रतिवेदनहरु स्वीकृतिका लागि मन्त्रालयमा आउन थालेका थिए । यसरी आएका प्रतिवेदनहरुमा कास्की जिल्लाबाट आएको प्रतिवेदन पहिलो थियो । विस्तारै नेपालभरिका धेरै जिल्लाहरुबाट ढुंगा, गिटी, बालुवा संकलन तथा उत्खननको वातावरणीय अध्ययनको प्रतिवेदनहरु पुनरावलोकन र स्वीकृतिका लागि आउन थाले । म त्यहाँ कार्यरत रहँदा कम्तीमा पनि दुई सय वटा यस्ता प्रतिवेदनहरुको पुनरावलोकन गरें हुँला जस्तो लाग्छ । यस बाहेक स्थानीय स्तरमा कार्यान्वयन भईराखेका सडक, पुल लगायतका आयोजनाका वातावरणीय प्रतिवेदनहरु पनि हुने भईहाले ।

यस बाहेक एलजिसिडिपिका वार्षिक कार्यक्रम योजनामा वातावरणीय सुधारसँग सम्बन्धित योजना तथा कार्यक्रमहरु समावेश गर्नु र तिनको सफल कार्यान्वयनको सुनिश्चितता गर्नु पनि मेरो काम थियो । यसका लागि कार्यक्रमले स्थानीय निकाय (जिल्ला, नगरपालिका) हरुलाई प्रत्येक वर्ष निश्चित रकम वातावरणीय सुधारका लागि खर्च गर्न भनेर पठाइने गरिएको थियो । तिनको सफल कार्यान्वयनका लागि जिल्ला, नगरपालिकाका सम्बन्धित कर्मचारीहरुलाई मार्गनिर्देश गर्नु, सुझाव दिनु, प्रशिक्षित गर्नु, कार्यान्वयन भएका योजनाको अनुगमन गर्नु पनि मेरो जिम्मेवारीभित्र पर्थ्यो । यस सिलसिलामा म नेपालका थुप्रै जिल्लाहरु घुमे । यस्ता भ्रमणका क्रममा क्षेत्रीय अनुगमन संयोजकहरु पनि मेरो साथमा हुनुहुन्थ्यो । पूर्वी क्षेत्रमा विनेश रोय, मध्यमाञ्चलमा मनोज कुमार झा र मध्य पश्चिममा मदनमणि आचार्यले मेरी ती अनुगमन भ्रमणहरुमा साथ दिनुभएको थियो । वहाँहरु मध्ये मदनमणि आचार्यजी म पुल्चोकमा डिप्लोमा तह पढ्दाका क्लासमेट साथी समेत हुनुहुन्थ्यो । ती अनुगमन भ्रमणका बेला बटुलिएका अनुभवहरुलाई समेटेर लेख्ने हो भने त्यसकै एउटा छुट्टै लेख बन्छ होला जस्तो लाग्छ । सुदूर पश्चिममा भने त्यहाँका अनुगमन संयोजक सुजितमान राजभण्डारीसँग वातावरणीय विषय सम्बन्धित अन्य तालिमहरुको सिलसिलामा भेटघाट भएको थियो ।

वातावरणीय अनुगमनका कुरा गर्दा स्थानीय विकास मन्त्रालयसँग देशव्यापी रुपमा स्थानीय स्तरमा संचालित विभिन्न आयोजनाहरुको वातावरणीय अनुगमन गर्नका लागि आवश्यक संयन्त्र र जनशक्ति थिएन । मन्त्रालयले स्वीकृत गरेका वातावरणीय अध्ययन प्रतिवेदनहरुमा तेस्रो पक्ष अनुगमनको व्यवस्था गरिएको हुन्थ्यो, तर त्यस्ता अनुगमनहरु हुन सकेका थिएनन् । यस विषयमा वातावरण व्यवस्थापन शाखामा हाम्रो छलफल हुँदा वातावरण विज्ञान तथा वातावरण ईञ्जिनियरिङ पढिराखेका विद्यार्थीहरुलाई यस प्रयोजनका लागि किन उपयोग नगर्ने भन्ने कुरा निस्कियो । हामीले त्रिभुवन विश्वविद्यालयका तत्कालीन केन्द्रीय वातावरण विज्ञान विभाग प्रमुख केदार रिजाल र काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा ईञ्जिनियरिङ विभाग प्रमुख रोशन मान बज्राचार्यलाई सम्पर्क गर्‍यौं । त्रिविविका केदार रिजाल सर हाम्रो सम्पर्कमा आउनुभयो । मन्त्रालय तथा त्रिविवि, वातावरण विज्ञान विभागका बिचमा वातावरणीय अनुगमन तथा अध्ययनका विषयमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर बयो । उक्त समझदारीपत्रको मस्यौदा तयार पार्ने अवसर मलाई जुटको थियो । विश्वविद्यालयमा वातावरण विज्ञान पढिराखेका विद्यार्थीहरुलाई हामीले अभिमुखिकरण गराएर ढुंगा, गिटी, बालुवा संकलन तथा उत्खनन सम्बन्धी प्रस्तावहरुको वातावरणीय अनुगमन गर्नका लागि विभिन्न जिल्लामा पठाउने कामको शुरुवात गर्‍यौं । यस काममा त्रिविवि, केन्द्रीय वातावरण विज्ञान विभागका अध्यापक ज्ञान कुमार श्रेष्ठ पनि संलग्न हुनुभएको थियो । मन्त्रालयका तर्फबाट वीरगञ्ज-हेटौंडा औद्योगिक करिडरको वातावरणीय अध्ययन गर्ने कामको जिम्मेवारी पनि वहाँहरुलाई दिएका थियौं ।

यसका अलावा हामीले परामर्शदाता संस्था मार्फत स्थानीय विकास मन्त्रालयको स्थानीय वातावरण नीति र वातावरणमैत्री स्थानीय पूर्वाधार निर्माणका लागि विस्तृत निर्देशिकाको मस्यौदा तयार पार्ने काम समेत गर्‍यौं । मन्त्रालयको वातावरण व्यवस्थापन शाखाको क्षमता अभिवृद्धिका लागि यसको विद्यमान अवस्थाको विश्लेषण गर्दै संस्थागत विकासका लागि आवश्यक सुझावहरु दिने काम गरें । राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत मन्त्रालयमै संचालित गरिबी तथा वातावरण प्रयास (पिईआई) कार्यक्रमसँग पनि म धेरथोर सम्बन्धित भएँ । यस कार्यक्रम हेर्नका लागि राष्ट्रिय सल्लाहकारका रुपमा डा. मोहन प्रसाद वाग्ले नियुक्त भएर आउनुभएको थियो । मेरो कार्यकालको अन्ततिर स्थानीय विपद व्यवस्थापन नीतिको मस्यौदा तयार पार्ने कामको शुरुवात भएको थियो भने हाम्रो शाखामा खेमराज विष्ट नयाँ शाखा अधिकृतका रुपमा बाहिरी जिल्लाबाट सरुवा भएर आउनुभएको थियो ।

२०६६ साल, पुष देखि २०६८ साल, श्रावणसम्म स्थानीय विकास मन्त्रालयमा वातावरणविज्ञ (परामर्शदाता) का रुपमा कार्यरत रहँदा मेरा सम्पूर्ण प्रयासहरु स्थानीय विकासको समग्र प्रक्रियाम वातावरणीय पक्षलाई समेत एकीकृत गरेर बनाएर लग्ने र यथासंभव वातावरणमैत्री स्थानीय विकासलाई प्रवर्धन गर्ने कुरामा केन्द्रित भएका थिए । निर्वाचित स्थानीय जनप्रतिनिधिहरु नभएको त्यस कालखण्डमा स्थानीय विकासका प्रयासहरुले अपेक्षित सफलता पाउने कुरा चुनौतीपूर्ण थिए । मन्त्रालयमा कार्यरत रहेको ती अठार महिनाको समयलाई अझ प्रभावकारी र व्यवस्थित ढंगले उपयोग गर्न सकिन्थ्यो होला, अझ धेरै कामहरु गर्न सकिन्थ्यो होला, तर त्यतिबेला उपलब्ध सीमित स्रोतसाधन र समयका बिच मैले निभाएको जिम्मेवारीसँग म आफू सन्तुष्ट नै छु ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्