विराज चालिसे
हामीलाई राणा शासन अत्यन्त क्रूर थियो, खराब थियो भनेर पढाइयो तर राणा शासनमा भयका अग्रगामी कदमहरूको बारेमा कहिल्यै पनि उल्लेख गरिएको थिएन। बाल मस्तिष्कमा सधैँ राणा शासन गलत नै थियो विकास विरोधी थियो भनेर भरियो, के राणाहरू र २००७ साल पछिका शासकहरूको तुलना गर्दा को अब्बल रहेछ त?हामीले राणा शासनमा भयका राम्रा कामहरूको बारेको पनि बुझ्न जरुरी छ। आउनुहोस् राणा शासन र २००७ साल पछाडिको अध्ययन गरौँ र बुझौँ यी शासकहरूले नेपाली जनतालाई कसरी झुक्काईरहेका छन्।
बि. सं. १९०३ सालमा भयको कोतपर्व र भण्डारखाल पर्व पछि राणा शासन सुरु भयो जसको प्रथम प्रधानमन्त्री जङ्गबहादुर राणा थिए भने अन्तिम प्रधानमन्त्री मोहन शमशेर थिए। राणाहरूको अन्य प्रधानमन्त्री भन्दा जङ्गबहादुर राणा र चन्द्र शमशेर ले उल्लेख्य काम गरेका थिए।
जङ्गबहादुर राणाले नेपाल अंग्रेज युद्धमा गुमाएको जमिन बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भयका थिए। उनले मुलुकी एेन जारी गरे (तर एउटै अपराधमा जातको आधारमा फरक फरक दण्ड दिन्थे) , अङ्गभङ्ग गरेर छोड्ने कानुनको अन्त्य गरे, बोक्सीको आरोप लगाउने हरूलाई दण्ड सजायको व्यवस्था गरे, गिद्धे प्रेसको स्थापना गरी सोहि प्रेसबाट मुलुकी एेन प्रकाशन गरे, अविवाहित महिलाले अंश पाउने व्यवस्था गरे, हुलाकको बन्दोबस्त गरे, बैद्यखाना (प्राकृतिक चिकित्सालय) को बिस्तार गरे। बिफर रोग विरुद्ध खोप लगाउन स्वास्थ्य कर्मी परिचालन गरे, त्यति वेला रोग देवीदेवता रिसाएर लागेको भनिन्थ्यो। त्यही रूढिवादी विश्वासका कारण पहाडतिरका जनताले खोप कार्यक्रमको घोर विरोध गरे तर पनि उनले सफल गराएर छोडे। खाद्यान्न जम्मा गर्ने उद्देश्यले ठाउँ ठाउँमा धर्म भकारी खडा गरे साथै रसद गोदाम अड्डाको स्थापना गरे जसलाई आज राष्ट्रिय खाद्य संस्थान भनिन्छ। बन संरक्षणको लागि काठ माल अड्डा खोली रुख काट्नेलाई सजाय दिने व्यवस्था गरे त्यस्तै इलाम चिया खेतिको सुरुवात गरे।
रक्षा क्षेत्रमा पनि उत्तिकै सचेत थिए दक्षिण तर्फ त अंग्रेज सँग युद्ध चलिरहेको थियो भने उता उत्तर चिन तिब्बत सँग पनि युद्ध हुने सम्भावना देखेर रक्षार्थ रसुवागढी र कोदारिगढिको निर्माण गरे , नेपालको अन्तर्राष्ट्रिय सीमा छुटाउनको लागि सन १८६० को अक्टोबर देखि १ , १ माइलको दुरीमा सीमा स्तम्भ राख्ने काम गरे जसलाई अहिले जङ्गे पिल्लरको रूपले चिनिन्छ। नेपाल राज्यको नापी बनाई नक्सा सम्पन्न गरे, नेपालको आफ्नै तोप कारखाना स्थापना गरे। जंङ्गि अड्डा स्थापना गरे ( हाल प्रधानसेनापति बस्ने ठाउँ) कुल जनसङ्ख्या करिब ५२ लाख मात्र हुँदा नेपालले प्रथम विश्व युद्धमा १,५०,००० सैनिक अन्य देशलाई सहयोगको लागि पठायो थियो तर आज ३ करोड जनसङ्ख्या हुँदा ९५ हजार सेना छन्, यसबाट पनि सजिलै आँकलन गर्न सकिन्छ कि रक्षा नीति कति बलियो थियो भनेर जुन कुरा आजको रक्षा नीति सँग तुलना गर्न सकिँदैन।
जङ्गबहादुरले “अङ्ग्रेजसँग जुध्ने पनि होइन, निहुरिने पनि होइन” भन्ने द्वैध नीति लिए । काठमाडौँ उपत्यकाभित्र रहेका अंग्रेज राजदूत र निजका सबै मानिसको निको चाल नदेख्दा स्वेच्छाले आफ्नो आज्ञा विना घुम्न प्रतिबन्ध लगाए। राणा शासन भरी यो नीति कायम रहिरह्यो।
जङ्गबहादुरले नेपालको धन विदेशमा लान वा विदेशी बैङ्कमा राख्न सक्त मनाही गरेका थिए । जहिले पनि धनबल, जनबल विदेशिनबाट रोकिराख्नु पर्छ । वास्तवमा आफ्नो जनशक्ति, आर्थिक शक्ति बिदेसियो भने देश कमजोर हुने उनको बुझाइ थियो । आफूलाई केही पर्दा असहाय भइन्छ भन्ने अर्को दृढ विश्वास थियो । सरकारले धन सम्पत्ति विदेशी बैङ्कमा राख्नु हुँदैन, धनीमानीहरुले पनि विदेशमा पैसा लानु, राख्नु हुँदैन भन्थे । आफ्नै देशमा धर्म कर्म गर्नू, गुठी राख्नू,चलाउनू, देशमा गरेको धर्म कीर्ति दिगो हुन्छ, सन्तान–दर सन्तानसम्म चल्छ भनेर ऐन बनाए ।त्यसै गरी चन्द्र शमशेरले त्रिचन्द्र कलेज, त्रिचन्द्र सैनिक अस्पताल, फर्पिङ जलविद्युत आयोजना (नेपालको पहिलो जलविद्युत) , गोरखा भाषा प्रकानि समिति(हालको साझा प्रकाशन) चन्द्र नहर, चुरिया सुरुङको सुरुवात गरे। त्यसै गरी नेपालको पहिलो रोपवे सुरु गरे, नेपाल गभर्मेण्ट रेलवे स्थापना गरे।
बि. सं. १८१० को मुलुकी एेनको सुधार गरे, इतिहास देखि महिला माथि लादिएको सती प्रथा ( श्रीमान् मरेपछि श्रीमती पनि सँगै चितामा बसेर जिउँदै जल्नुपर्ने) को कानुनी रूपमै अन्त गरे र महिलाहरूको उद्धार गरे। १५,७१९ मालिकहरूले ५९‚५७३ दास दासी राखेका थिए जसलाई जनावर सरह बेचबिखन गर्ने गर्दथे। दास प्रथाको उन्मुलन गरेर मालिकहरूलाई सरकारले क्षतिपूर्ति तिरेर ५१‚७८३ दास दासीलाई दासत्व बाट मुक्त गरे, जसको लागि ३६ लाख ७० हजार खर्च गरे। त्यो समयमा नेपालको जनसङ्ख्या मात्र ५५,७३,७८८ थियो। दास दासी लाई दासत्वबाट मुक्त गरी दास प्रथा अन्त्य गर्न त्यो समयमा ३६ लाख ७० हजार खर्च गर्नु सानो रकम होइन।
जब राणा शासन अन्त्य गर्नको लागि २००७ सालमा राजा त्रिभुवन र बिपी कोइराला भारत गएर हार गुहार गरी दिल्ली सम्झौता गरे अनि नेपाल आएर भारतलाई उपहार स्वरूप राजा त्रिभुवनले भारतसँग कोसी सम्झौता गरे अनि सुरु भयो नेपालमा राष्ट्र घातको शृङ्खला सप्तकोसी जहाँ अहिले बाढीले हजारौँ जनधनको क्षति पुर्याउने गर्छ। त्यसै गरी कालापानीमा औपचारिक रूपमै भारतीय सैनिक राख्न दिने निर्णय राजा महेन्द्रले गरे। त्यस्तै नेपालले हातहतियार र सेनाको लागि चाहिने कपडा भारतसँग मात्र लिने भनेर अर्को राष्टघात गरे यो त सुरुवात थियो।
यो राष्ट्रघाती सम्झौताको शृङ्खला यत्तिमा रोकिएन, गण्डक सम्झौता, टनकपुर, महाकाली सन्धि, माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण ३। पूर्वको मेची देखि पश्चिम महाकाली सम्म २० बटा भन्दा बढी बाँध अन्तर्राष्ट्रिय नियम विपरीत बनाइरहेको छ जसले नेपाली भूमि डुबानमा पर्ने निश्चित छ। आज अधिकांश नदीनाला हरू मा नेपालले अधिकार गुमाई सकेको छ। टनकपुर सन्धि राष्ट्रघाती सन्धि बताउँदै अन्तर्राष्ट्रिय रूप मा मुद्दा हाल्ने तरखरमा रहेको बेला मदन भण्डारी को २०५० जेठ ३ मा हत्या भयो जुन आजसम्म रहस्यमय रहेको छ।
देशको दुर्गतिको सुरुवात नै २००७ साल बाट सुरु भयो तर नेपाली शासकहरूले पाठ्यक्रम बाट नै आफूले ठुलो परिवर्तन गरेको भनेर राणा विरोधी पाठहरू पढाउने र आफूलाई जनताको मसिया भन्दै देशलाई खोक्रो बनाई रहेका छन्।