२०४८ साल चैतमा गाउँबाट उच्चशिक्षा लिने अभिलाषा सहित काठमाडौं उपत्यका छिरेर पुल्चोक क्याम्पसमा पढ्न थालेपछि २०५२ वैशाखसम्ममा आइपुग्दा तीन वर्ष भईसकेको थियो । पुल्चोकको डिप्लोमा तहको पढाईको अन्त्य हुँदै थियो । यस तीन वर्षको बिचमा लहडै लहडमा नै भनौं, आई.एस्सीको पढाई पनि सकाएँ । पढाईमा सकभर उत्कृष्ट नतीजा ल्याउन प्रयासरत रहें । कलेजका थुप्रै अतिरिक्त क्रियाकलापहरुमा भाग लिएँ । साथीसंगी तथा परिचितहरुको दायरालाई फराकिलो बनाएँ । राजनीतिमा सक्रिय भएर तत्कालीन राजनीतिलाई बुझ्ने प्रयत्न गरें । भ्याएसम्मका पुस्तक, पत्रिकाहरु पढेर आफ्नो ज्ञानको दायरालाई फैलाउने, चेतनाको ज्योतिलाई चहकिलो बनाउँदै लग्ने, समाज र देशप्रतिको बुझाइलाई गहिर्याउँदै लग्नका लागि यथासम्भव प्रयास गरें ।
डिप्लोमा तहको पढाइ सकिएपछि हाम्रा लागि अगाडि बढ्न सक्ने दुई बाटाहरु थिए । एक बाटो पढाइ सकाएपछि योग्यता अनुकुलका कामहरु खोज्ने, अर्को थप अध्ययनका लागि बिई (स्नातक) तहमा भर्ना हुने । पढाईमा औसत रहेका र थप अध्ययनका लागि घरपरिवारको तत्कालीन परिस्थिति अनुकुल नभएका धेरैजसो साथीहरु जागीरको खोजीतिर लागे । त्यतिबेला ओभरसियरको जागीरलाई समाजमा राम्रै जागीरको रुपमा लिइन्थ्यो । विशेष गरी ग्रामीण क्षेत्रमा ईज्जतिलो नै थियो । ग्रामीण क्षेत्रमा प्राविधिक पेशा अँगाल्ने व्यक्तिहरु छ्यापछ्याप्ती भईसकेका थिएनन् ।
पुल्चोकमा डिप्लोमाको तीन वर्षे पढाईले मात्र मेरो पढाईको धित मर्ने कुरै भएन । थप अध्ययन गर्ने भोक अझै थियो । नेपालमा त्यतिबेला बिईको पढाई हुने सरकारी कलेज पुल्चोक क्याम्पस मात्र थियो भने निजी स्तरमा अघिल्लो वर्षबाट मात्र नेपाल इञ्जिनियरिङ कलेज खुलेको थियो । यी दुवै कलेजमा स्नातक तहमा पढाइ हुने विषय भनेको सिभिल इञ्जिनियरिङ थियो । पुल्चोक क्याम्पसमा भने अघिल्लो वर्षबाट इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषय पनि थपिएको थियो । पुल्चोकमा पछिल्ला वर्षहरुमा मेकानिकल, आर्किटक्चर र कम्प्युटर लगायतका विषयहरु थपिंदै गए ।
हाम्रो डिप्लोमा तहको नतीजा भर्खर प्रकाशित हुँदै गर्दा जापान पढ्न जाने छात्रवृत्तिका केही सिटका लागि शिक्षा मन्त्रालयको सूचना प्रकाशित भएको थियो । त्यसका लागि म लगायत काली प्रसाद नेपाल र अन्य केही साथीहरु परीक्षामा सामेल भएका थियौं । वास्तवमा छात्रवृत्ति मार्फत् विदेश पढ्न जाने त मेरो सानैदेखिको सपना थियो, तर हामी चिनेजानेका साथीहरु कोही पनि त्यस परीक्षामा छनौट हुन सकेनौं ।
पुल्चोक क्याम्पसमा त्यतिखेर सिभिल डिप्लोमा तह पढेका र प्रवीणता तहमा विज्ञान विषय पढेकाहरुका लागि छूट्टाछुट्टै विषयका प्रवेश परीक्षाहरु हुन्थे । सिभिल डिप्लोमा तहबाट गरिने प्रवेश परीक्षाको परीक्षा तयारी तुलनात्मक रुपमा बढी सहज र कम प्रतिस्पर्धात्मक थियो । पुल्चोकमा डिप्लोमा तहको पढाइ सकिएपछि बिई प्रवेश परीक्षा हुने समयसम्ममा दुई तीन महिनाको समय रहेको हुन्थ्यो । त्यतिबेला स्ववियु र नेस (स्नातक तहमा अध्ययनरत पुल्चोक क्याम्पसका विद्यार्थीहरुको संगठन) ले प्रवेश परीक्षा तयारीका कक्षाहरु चलाउँथे । बिई प्रवेश परीक्षा तयारीका लागि अहिलेको चर्चित संस्था ‘पिईए’ को भर्खर मात्र शुरुवात भएको थियो । त्यस वर्ष शायद पहिलो सत्र चलाइएको थियो जस्तो लाग्छ । अर्को एक ‘विज्डम कोचिङ सेन्टर’ पनि खुलेको थियो, प्रवेश परीक्षा तयारीका लागि र यो चाकुपाटमा संचालित थियो ।
कतिपय साथीहरुले कलेजमा चलाइएको प्रवेश परीक्षा तयारीका कक्षाहरु लिन थाले भने कतिले बाहिर संचालित परीक्षा तयारीका कक्षामा सामेल भए । केही साथीहरुले आफैं प्रवेश परीक्षाको तयारी गर्न थाले । छात्रावासमा सँगै बसेका तीन रुममेट मध्ये फलेन्द्रजी तत्काल भिई नपढिकन रोजगारीका अवसर खोज्नतिर लाग्नुभयो भने टोपेन्द्रजी र मैले प्रवेश परीक्षा तयारीका लागि स्वध्ययनमा भर पर्यौं ।
हामीले बिईको प्रवेश परीक्षा दियौं । नतीजा प्रकाशन भयो । विशेष गरी पुल्चोक क्याम्पसमा हामीसँगै पढेका प्रायजसो: साथीहरुले अनुमान गरिए अनुसार नै आफ्नो नाम निकाल्न सफल भए । टोपेन्द्रजीको पनि नाम निक्ल्यो । मेरो नाम भने अनपेक्षित रुपमा प्रवेश परीक्षा उत्तीर्णको सुचीमा समेत निस्कन सकेन । हुनत तीन घण्टाको परीक्षमा केही तलमाथि हुनु त स्वाभाविकै हो । इञ्जिनियरिङ विषय पढेको नाताले कहिलेकाहीं कुनै परीक्षा राम्रो नहुन सक्ने कुरा बिलकुल स्वाभाविक हो भन्ने कुराबाट म परिचित थिएँ । पुल्चोक क्याम्पसमा पढदा, कैयन् मेधावी साथीहरुले पनि कुनै विषयको परीक्षामा अनुत्तीर्ण हुन पुगेको मैले देखेको थिएँ । परीक्षा निकै नै राम्रो भएको भन्ने अवस्था चाहिं थिएन, तर उत्तीर्ण नै हुन नसकिने किसिमले परीक्षा बिग्रिएको भन्ने जस्तो पनि लागेको थिएन । परीक्षाको नतीजामा मेरो नाम नभएबाट म भन्दा पनि मेरा अन्य साथी र परिचितहरु अझ बढी विष्मित बनेका थिए । शायद परीक्षाका तयारीका लागि अपेक्षित मात्रामा गंभीर भईएन कि अथवा विशिष्ट नतीजा ल्याउने अपेक्षाका साथ दह्रो तयारी गरेको भए पास फेलको दोसाँधबाट गुज्रनु पर्थेन कि? हुनत कहिलेकाहीं तीन घण्टाको परीक्षामा राम्रो तयारीका बाबजुद पनि अनपेक्षित नतीजा आउन सक्छ ।
जे होस्, मेरा लागि बिईको प्रवेश परीक्षामा असफल हुनुको चोटको पीडा, क्याम्पस पढ्दा ‘सार्क क्वीज कन्टेष्ट’ मा छनौट हुन नसक्नु वा क्याम्पसमा विद्यार्थी संगठनको ईकाई अध्यक्ष हुनबाट वञ्चित हुनुभन्दा ठूलो थियो । एक हिउँदले जाडो जाँदैन भने झैं एक चोटिको प्रवेश परीक्षाको असफलताले सबै कुरो सिद्धिहाल्ने अवस्था पनि थिएन, बरु यसबाट प्राप्त समयलाई विभिन्न प्रकारले उपयोगी र उत्पादनमूलक बनाउन सकिन्थ्यो ।
टोपेन्द्रजी र म दुवै जनाको विज्ञान विषयमा धेरै रुचि भएको हुँदा इञ्जिनियरिङ विषयको साथसाथै विज्ञान विषय पनि अध्ययन गर्ने भन्ने सोच रहेको थियो । वहाँले त अझ डेराका लागि चाकुपाटमा एउटा कोठा पनि लिइराख्नुभएको थियो । पुल्चोकमा पढ्ने निरन्तरताको क्रम प्रवेश परीक्षाको असफलतासँगै भंग भएपछिको समयलाई कुनै काममा अल्झेर वा कुनै अर्को विषयको अध्ययनलाई निरन्तरता दिएर उपयोग गर्न सकिन्थ्यो । यसका लागि विज्ञान विषयको स्नातक तहमा भर्ना हुनु मेरा लागि एक विकल्प बनेर आएको थियो ।
विज्ञान विषयको स्नातक तहको पढाई पनि त्यतिबेलासम्म दुई वर्षमा सीमित थियो । मैले त्रिचन्द्र क्याम्पसमा भौतिक शास्त्र, गणित र रसायनशास्त्र विषय लिएर स्नातक तहमा भर्ना भएँ । त्यतिबेला विज्ञान विषयको स्नातक तहको भर्नाका लागि पनि पहिलो चोटि प्रवेश परीक्षा दिनुपर्ने पद्धतिको शुरुवात गरिएको थियो । म राम्रै अंकका साथ उत्तीर्ण भएको थिएँ र उत्कृष्ट नतीजा ल्याउनेहरु प्राय: भौतिक शास्त्र, गणित र रसायनशास्त्र विषयको समूहमा परेका थिए ।
त्रिचन्द्र क्याम्पसमा भर्ना भइएता पनि विज्ञान विषयको पढाई नै मेरो आखिरी लक्ष्य हुनेछ भन्ने सोच भने बनिसकेको थिएन । मेरो कक्षा बिहानीको समयमा थियो । भ्याइएसम्म कक्षाहरु लिन गइन्थ्यो । डेराका रुपमा भने टोपेन्द्रजीले चाकुपाटमा लिइराख्नु भएको कोठालाई नै उपयोग गरियो । त्यता नुहाउन, लुगा धुनका लागि घरमै भएको कलबाट पानी तानेर उपयोग गरिन्थ्यो । खानेपानीका लागि अलिक पर रहेको ढुङगे धारामा बिहान बेलुकी बाल्टिन बोकेर पानी लिन जाने गर्थ्यौं ।
हामी बसेको क्षेत्र वरिपरि पुल्चोक क्याम्पस, पाटन क्याम्पस र अन्य क्याम्पसतिर अध्ययन गर्ने थुप्रै विद्यार्थीहरु बस्ने गर्दथे । हामी बसेको घरको छिमेकी घरमा दाङतिरका अरुण गौतम, दिपक गौतम लगायतका दाइहरु बस्नुहुन्थ्यो र वहाँहरुसँग छोटै समयमा घनिष्ठ बनेका थियौं ।अलिक परको घरमा हाम्रै ब्याचका साथीहरु जीवन कुमार श्रेष्ठ, रामकृष्ण रेग्मी, ऋषिराज दाहालहरु डेरा गरेर बस्नुहुन्थ्यो ।
टोपेन्द्रजीको पुल्चोक क्याम्पसमा सिभिल ईञ्जिनियरिङ विषयमा नाम निस्केकोले वहाँ पुल्चोकमा पढ्न थाल्नुभयो भने पछि पाटन क्याम्पसमा विज्ञान, स्नातक तहको बिहानी कक्षामा पनि भर्ना हुनुभयो । केहीपछि वहाँ पुल्चोक क्याम्पसको छात्रावासमा सर्नुभयो ।
डिप्लोमा, तेस्रो वर्ष पढ्दा देखि नै सकभर घरलाई आर्थिक बोझ कम होस् भन्ने हिसाबले मैले ‘होम ट्युसन’ पढाउन थालेको थिएँ । मैले ‘होम ट्युसन’ पढाउने स्थानहरु पाटनको तपाहिटी र सानेपातिर थिए । पाटनको तपाहिटी डेराबाट नजिक पर्ने हुनाले बेलुकीको समयमा पढाउँथे भने सानेपामा बि.एस्सीको कक्षा शुरु हुन अगाडि मात्र र त्यसपछि विदाका दिनमा बिहानको समयमा पढाएँ ।
प्रसंगवश, यहाँ अलिकति आफ्नो घरको आर्थिक अवस्थाको बारेमा पनि कुरा गरिहालौं । म पुल्चोकमा पढ्दै ताका बुबा गाउँकै प्राथमिक स्कूलको प्रधानाध्यापक हुनुहुन्थ्यो । बुबाको तलबले मलाई काठमाडौंमा बसेर पढ्न र घरव्यवहार चलाउन जेनतेन धान्थ्यो । खेतबारीमा उब्जने अन्नपात, तरकारी, सागसब्जीले गर्दा किनेर खानुपर्दैनथ्यो ।
हाम्रा बाजे त्यस क्षेत्रको धनीमानी र प्रशस्त मात्रामा खेत भएका व्यक्ति मध्येमा पर्नुहुन्थ्यो । हाम्रा जिजुबाजेहरुले त्यस भेगको जिम्मावालको रुपमा लामो समयदेखि काम गर्नु भएको थियो र जग्गाको तिरो उठाएर सरकारलाई बुझाउने काम गर्नुहुन्थ्यो । जिजुबाजे (लाल बहादुर श्रेष्ठ) को देहान्त पछि वहाँका ठूलो छोरा (जुजुमान श्रेष्ठ) ले त्यस कामलाई निरन्तरता दिनुभयो । त्यतिबेलाको राणाशासनमा जग्गाको तिरो तुलनात्मक रुपमा बढी भएकैले हुनुपर्छ, कतिपय मानिसले तिरो तिर्नु कठिन भएर तिरो तिर्नुको साटो खेतबारी नै बाँझो राखिदिन्थे रे । जग्गाधनीले तिरो तिरे पनि नतिरे पनि ती जग्गाको तोकिएको कुल तिरो बुझाउनुपर्ने जिम्मेवारी जिम्मावालको हुन्थ्यो रे । यसरी हाम्रा ठूला बाजेले सबै जग्गाधनीसँग तिरो संकलन गर्न नसक्दा वहाँ आफैं ठूलो सरकारी बक्यौतामा पर्नुभएछ र तिरो तिर्न नसकेको रकम बापतको जायजेथा सरकारीकरण गरिएछ । ठुलो बाजे त्यसपछि गाउँबाट पलायन भएर वहाँको ससुराली गाउँ हुसलाङ (हाल तनहुँ, बन्दीपुर नजिकै पर्ने) मा गएर बस्नुभएछ र त्यतै बित्नुभएछ ।
हाम्रा केही जग्गाहरु भने छुट्टीभिन्न भएको देखाएर कान्छो भाइ (मेरा बाजे सन्तमान श्रेष्ठ) को नाममा सारेर जोगाइएको रहेछ । बाजेको नाममा अझै पनि करीब डेढ सय मुरी धान फल्ने खेतहरु थिए । मेरा बाजेको वि.स. १९९९ सालमा बिहे भएको थियो र मेरो बुबाको जन्म वि.स. २००१ सालमा भयो । बुबा जन्मनुभएको एक वर्षमै बज्यैको असामयिक निधन भयो र केही वर्षपछि बाजेले कान्छी बज्यै (निधन भएकी बज्यैकी बहिनी) बिहे गर्नुभयो । कान्छी बज्यैबाट दुई जना काका र छ जना फूपूहरुको जन्म भयो । यसरी बाजेको परिवार ठूलो थियो ।
बुबाको वि.स. २०२२ सालमा बिहे भएपछि २०२४ साल, पुषबाट धादिङको चैनपुर, सालवास स्कूलमा अध्यापन कार्यको शुरुवात गर्नुभयो । त्यतिबेला बुबाको मासिक तलव ९० रुपैंया थियो रे । २०२८ सालमा बुबाआमाहरु बाजेको ठूलो परिवारबाट छुट्टीभिन्न हुनुभयो । बाजेको परिवार ठूलीबेसीमा बस्ने भयो भने हाम्रो परिवार सिखटारको पुरानो घरमा बस्ने भएछ । म त्यही पुरानो घरमा जन्मिएको थिएँ । छुट्टीभिन्न हुँदा बुबाको भागमा १५ मुरी धान फल्ने गैरी खेत, १ मुरी धान फल्ने भित्रीबारी खेत र ४-५,००० ऋण तिर्ने शर्तमा १०-१२ मुरी धान फल्ने घाटखेत परेको रहेछ ।
घाटखेत लिए बापतको ऋण बुबाआमाले केही वर्षमा तिर्नुभएछ । गैरी खेत र घाटखेतमा फलेको अन्नपातले हामीलाई जेनतेन खान पुग्थ्यो । बुबाले सालवासको स्कूलपछि सल्यानटार माझगाउँको स्कूलमा दश वर्ष र आगिञ्चोकको स्कूलमा पाँच वर्ष जति पढाउनुभएपछि २०४० सालबाट भने गाउँकै स्कूलमा सरुवा हुनुभएको थियो । म चार, पाँच वर्षको हुँदा बुबाले कागजमा तलब स्केलका तालिकाहरु बनाएको देख्थें । तालिकामा न्यूनतम तलब स्केल, ग्रेड, भत्ता आदिका कोठाहरु रहेका हुन्थे । बुबा प्रधानाध्यापक हुनुभएकोले जिल्ला शिक्षा कार्यालयमा बुझाउनुपर्ने कागजातहरु सबै आफैं बनाउनुहुन्थ्यो । मैले बुझ्न सक्नेभएपछि ती तालिकामा बुबाको तलब ४०० रुपैंया आसपासमा लेखिएको मलाई याद छ । पछाडिका दिनमा त्यस तलवमान विस्तारै बढ्दै गएको थियो । तलव बढाउनका लागि कैयन चोटि शिक्षक आन्दोलनहरु पनि भएका थिए । हाम्रो घरमा धादिङको शिक्षक आन्दोलनका उत्तरी क्षेत्रका तत्कालीन हस्तीहरु श्रीकृष्ण दाहाल, रामहरि अधिकारी लगायतको पनि आगमन भईराखेको हुन्थ्यो ।
बुबाको तलबले घरव्यवहार चलाउन र म तथा दाई, दिदीहरुलाई पढाउन बल्लतल्ल पुग्थ्यो । हामी कक्षा सातमा पुगेपछि बुबाआमाले हाम्रो घाटखेतसँगै जोडिएको अर्को १०-१२ मुरी धान फल्ने खेत किन्ने निर्णय गर्नुभयो । पाँच रोपनी जतिको त्यो खेत रु. २४,००० मा (२०४३ सालतिर) किनिएको थियो । यस पैसाको अधिकांश भाग जुटाउन बुबाले ऋण लिनुभएको थियो र त्यस ऋण तिर्न घरका खर्चहरु घटाउनु पर्ने र हामी सबैजना मितव्ययी बन्नुपर्ने बाध्यतामा थियौं । सानैभए पनि घरको आर्थिक अवस्थाबाट म परिचित थिएँ र घरका समस्याहरु बुझ्थें । यसले गर्दा स्कूल पढ्दाको सानो उमेरदेखि नै मितव्ययी बन्ने, फजूल खर्च नगर्ने बानीको विकास भयो । मेरो यो बानी आजपर्यन्त छँदैछ ।
केही वर्षमा खेत किनिएको ऋणको बोझबाट हाम्रो परिवार मुक्त भयो । परिवारका हामी सबैले हलुका महसुस गर्यौं । यस खेत थपिएपछि हामीलाई मनग्ये खान पुगेर केही धानचामल बेच्न समेत सकिन्थ्यो । यसरी बेचिने धानचामलले घरखर्च चलाउन बुबाआमालाई निकै सहज भएको थियो ।
यति हुँदाहुँदै पनि कुनै ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा भने अलिक गाह्रै पर्थ्यो । म पहिलो चोटि २०४८ साल चैतमा काठमाडौं पढ्न आउँदा रु. ४,७०० मा घरको दुहुनो लैनो भैंसी बेचेको पैसा लिएर आएको थिएँ । घरको गुनिलो दुहुनो भैंसी बेच्नुपर्दा आमा चुकचुकाउनुभएको थियो ।
म डिप्लोमा, तेस्रो वर्षमा पुगेपछि दिदीले पनि गोरखा क्याम्पसमा आई.एड. पढ्न थाल्नुभएको थियो । यसले घरको आर्थिक भारलाई केही बढाएको थियो । यद्यपि दिदी पछि गोरखामा मामाघरमै बसेर पढ्न थाल्नुभयो । २०५२ साल, वैशाखमा दिदीको बिहे भयो, जसको खर्च जुटाउन बुबाको सञ्चयकोषको पैसालाई उपयोग गरिएको थियो । पुल्चोक क्याम्पसमा पूर्ण छात्रवृत्तिमा, छात्रावासमा बसेर पढेका कारण मेरो मासिक खर्च निकै न्यून थियो, तथापि उता आई.एस्सी पनि पढिएको, सकभर धेरै पुस्तक, पत्रिकाहरु किन्नुपर्ने मेरो बानीले गर्दा त्यस खर्चको आफैंले जोहो गर्नु उचित ठानें । बिहान, बेलुकी ‘होम ट्युसन पढाएर महिनाको रु.३,००० जति जुटाउँथे । ट्युसन पढाउनका लागि एक महिना म्हेपीसम्म पनि पुगेको थिएँ ।
पुल्चोकको डिप्लोमाको पढाइ सकिएपछि बाहिर डेरा गरेर बस्दै बि.एस्सी पढ्न घरबाट खर्च माग्ने कुरा भएन । मैले ट्युसन पढाएर खर्च जुटाउने कामलाई निरन्तरता दिएँ । बिहान त्रिचन्द्रको कक्षा लिएर, डेरामा आई खाना पकाई खाने, दिउँसो पढ्ने, बेलुकीतिर ट्युसन पढाउने मेरो केही समयको दिनचर्या भएको थियो । पुल्चोक पढ्ने साथीहरु टोपेन्द्रजी लगायतका साथीहरुसँग कहिलेकाहीं भेटघाट भईराख्थ्यो । केही साथीहरु जागिरको खोजीमा पनि हुनुहुन्थ्यो । मेरो कोठामा हाम्रा ब्याचका साथी चेत कुमार खत्रीजी पनि कहिलेकाहीं आउने गर्नुहुन्थ्यो ।
पुल्चोकमा पढ्दा धेरै साथीहरुसँग घुलमिल भए पनि पाटनमा आई.एस्सी पढ्दा र त्रिचन्द्रमा बि.एस्सी पढ्दा ताका भने त्यति धेरै साथीहरुसँग घुलमिल भईएन । शायद घुलमिल हुन पर्याप्त समय र चासो नदिएर पो हो कि? पाटन पढ्दा सामान्य चिनजान भएका मित्र अनिल कार्की (जाजरकोट) लाई लगभग पच्चीस वर्षपछि २०७६ सालमा सुर्खेतमा एक सडक आयोजनामा परामर्शदाता टोली प्रमुखको रुपमा भेट्दा निकै खुशी लाग्यो । त्रिचन्द्र पढ्दा चिनजान भएका मित्र कुल प्रसाद काप्री (गोरखा) ले पछि सरकारी सेवामा प्रवेश गर्नुभएपनि थप अध्ययनका लागि अमेरिका जानुभयो । अर्थशास्त्रमा विद्यावारिधि गर्नुभयो र अहिले त्यतै कुनै विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । वहाँसँग त्यतिबेला गाँसिएको घनिष्ठ मित्रता आजपर्यन्त पनि जीवितै छ । त्रिचन्द्रमा नै चिनजान भएका अर्का मित्र रमेश अवस्थीसँग केही वर्ष अघिबाट फेसबुक मार्फत् मित्रताको नवीकरण भएको छ । वहाँ काठमाडौंकै कुनै कलेजमा गणित पढाउनुहुन्छ । कुल प्रसादजी, रमेशजी र मैले त्रिचन्द्रबाट प्रतिनिधित्व गरेर कुनै अन्तर क्याम्पस ‘क्वीज कन्टेष्ट’ मा सहभागी भई तेस्रो भएका थियौं ।
मैले डेरा गरेर बसेकै घरमा हाम्रै ब्याचमा डिप्लोमा आर्किटेक्चर पढेका साथी शेर बहादुर केसीजी पनि बस्ने गर्नुहुन्थ्यो । वहाँको चाहिं पुल्चोकको प्रवेश परीक्षामा नाम निस्केर पनि आर्किटेक्चर विषयमा वरीयताक्रम सुचीको अलिक तलतिर नाम रहेकोले भर्ना हुन पाउनु भएको थिएन ।त्यसपछि वहाँले केही निजी ईञ्जिनियरिङ कन्सल्टेन्सी फर्महरुतिर काम गर्न थाल्नुभएको थियो । वहाँले छोटो समयमै नगरपालिकामा काम गर्ने ईञ्जिनियर, ओभरसियरहरुसँग राम्रो सम्बन्ध बनाउन सफल हुनुभएको थियो ।
वहाँले हामी दुई जना सँगै बस्ने, अर्को वर्षका लागि प्रवेश परीक्षाका लागि तयारी गर्ने र खाली समयमा मिलेर पेशागत कामहरु पनि गर्ने प्रस्ताव गर्नुभयो । मैले स्वीकारें । त्रिचन्द्रमा पढ्दा धादिङमा हाम्रो छिमेकी गाउँ आगिञ्चोक, काष्टेका रामहरि खड्का भाइ पनि त्यहाँ आई.एस्सी पढ्दैथिए । उनीसँग चिनजान भयो । उनका आफन्तहरु बखुण्डोलतिर डेरा गरेर बस्थे । उनका आफन्त समेतको सहयोगमा हामीले बखुण्डोलमा एक गल्लीभित्रको घरमा दुई वटा कोठा भेटायौं । एक कोठामा रामहरि भाइ बस्ने भए भने अर्को कोठामा शेर बहादुरजी र म बस्ने भयौं ।
शेर बहादुरजी बिहानको समयमा डिल्ली बजारतिरको कुनै कन्सल्टिङ फर्ममा काम गर्नुहुन्थ्यो । दिउँसोको समयमा काठमाडौं नगरपालिकामा काम गर्ने सिनियर दाइहरु ओभरसियर वीर बहादुर खड्का, ललितपुर नगरपालिकामा काम गर्ने गोविन्द पौडेल, रुद्र अधिकारी दाइहरुसँग व्यक्तिगत सम्पर्क बढाउँदै घरको नक्शा बनाउने कामहरु ल्याएर कोठैमा बसी नक्शा बनाउने काम पनि गर्नुहुन्थ्यो ।
२०५२ साल पुषतिर शेर बहादुरजी र मैले ‘पिईए’ द्वारा कुपण्डोलको प्रगति शिक्षा सदनमा सञ्चालित बिई प्रवेश परीक्षा तयारीको कक्षामा भर्ना भयौं । त्यहाँ पढ्दै गर्दा काठमाडौं विश्वविद्यालयबाट आई.एस्सी सकाएका कुपण्डोल नै घर भएका मनिष प्रधानसँग पनि चिनजान भयो । हामी त्यहाँ कक्षा लिन थालेको एक महिना पुग्दा नपुग्दै शिक्षा मन्त्रालयले गोरखापत्रमा प्रकाशित गरेको विदेश पढ्न जाने छात्रवृत्तिका लागि विद्यार्थी छनौटको परीक्षा सम्बन्धी सूचनामा आँखा पर्यो । त्यस परीक्षामा हामी सहभागी हुने भयौं । परीक्षाको पाठ्यक्रम आई.एस्सी. को पाठ्यक्रममा आधारित भएकोले मेरा लागि थप सहज हुने भयो भने पुल्चोक क्याम्पसमा हासिल गरिएको उत्कृष्ट प्राप्तांक त आफ्नो ठाउँमा छँदैथियो ।
परीक्षाको केन्द्र भानुभक्त मेमोरियल स्कूल, पानीपोखरीमा परेको थियो । परीक्षा दिनेहरुको संख्या करीब बाह्रसय थियो । हामी यथासमयमा परीक्षाकेन्द्र पुग्यौं । मैले आफ्नो खल्ती छामेको त, लौ प्रवेश पत्र नै डेरामा छुटाएछु । शेर बहादुरजी र म हत्त न पत्त ट्याक्सी चढेर बखुण्डोल पुगेर प्रवेशपत्र लिई पानीपोखरी फर्क्यौं । तै परीक्षा शुरु भईसकेको रहेनछ । शान्त दिमागले परीक्षा दिइयो ।
परीक्षाको नतीजा प्रकाशित भयो । वरीयता क्रम सुचीमा करीब डेढ दुई जनाको नाम प्रकाशित भएका थिए । मेरो नाम वरीयताक्रमको सुचीमा सातौं नंबरमा निस्किएको थियो । वरीयताक्रम निर्धारणका लागि चालीस प्रतिशत प्रवेश परीक्षा, चालीस प्रतिशत प्रवीणता तहको नंबर, दश प्रतिशत एसएलसीको नंबर र दश प्रतिशत अन्तरवार्ताका लागि छुट्ट्याइएको थियो । परीक्षा र अन्तरवार्ता दुवै राम्रै भएको थियो । अन्तरवार्तामा सोधिएका प्रश्नहरु निकै सजिला थिए । यस सुचीमा कुपण्डोलको ‘पिईए” मा सँगै बिई पर्वेश परीक्षाका तयारी गरिराखेका साथीहरु मनिष प्रधान र उमेश अधिकारीको नाम पनि निस्कियो । उमेशले त आफ्नो नाम निस्कन सक्ने अनुमान गरेका रहेनछन् र परीक्षा नतीजाको पनि वास्ता गरेका रहेनछन् । मनिष र मैले बताएपछि मात्र उनले थाहा पाएका रहेछन् । हामीलाई पछि भन्दैथिए – “तिमीहरुले नभनेका भए त मेरो त्यो अवसर त्यत्तिकै छुटेर जाने रहेछ ।”
शिक्षा मन्त्रालयले त्यस वर्षदेखि छात्रवृत्तिका लागि फाल्गुण र भाद्र महिनामा वर्षको दुई चोटि परीक्षा लिने, त्यसका आधारमा वरीयताक्रमको सुची प्रकाशन गर्ने, त्यस सूचीका आधारमा विदेशबाट प्राप्त छात्रवृत्तिका कोटाहरुमा सिफारिश गर्ने पद्धति बसाएको थियो । छात्रवृत्ति शाखामा त्यतिखेर शाखा अधिकृत बलराम तिमिल्सिना हुनुहुन्थ्यो ।
मन्त्रालयको सुचीको सातौं नंबरमा आफ्नो नाम निस्किएपछि कुनै न कुनै देशको छात्रवृत्ति भेटाएर विदेस पढ्न जान सकिन्छ भन्ने आशा ममा पलायो । यस वरीयताक्रम सुची प्रकाशित भएको एक महिना नबित्दै चीन सरकारका अठार वटा छात्रवृत्तिका कोटाहरु शिक्षा मन्त्रालयलाई प्राप्त भएछ । वरीयताक्रम सुचीबाट एक कोटाका लागि तीन वटाका दरले विद्यार्थीहरु छनौट गरेर सिफारिश गरी त्यो सुची चिनियाँ राजदुतावासमा पठाइयो ।
अठार वटा कोटामध्ये बाह्र वटा कोटा ईञ्जिनियरिङका थिए भने पाँच वटा कोटा चिकित्साशास्त्र र एक कोटा रबर टेक्नलोजीका थिए । ती अठार कोटाका लागि शिक्षा मन्त्रालयले चौवन्न विद्यार्थीको नाम सिफारिश गरेर चिनियाँ राजदुतावासमा पठायो । मेरो विषयका लागि चिनियाँ राजदूतावासको परीक्षाका लागि लागि छनौट भएका अन्य दुई जनामा महिलाहरु थिए ।
चिनियाँ राजदुतावासले लिने परीक्षाका लागि मनिष र मैले सँगसँगै तयारी गर्यौं । मनिषले चिकित्साशास्त्रका लागि फर्म भरेका थिए भने मैले वातावरणीय ईञ्जिनियरिङका लागि फर्म भरेको थिएँ । ईञ्जिनियरिङका लागि आएका छात्रवृत्तिका कोटाहरुमा वातावरणीय ईञ्जिनियरिङ लगायत केमिकल, कृषि, मेकानिकल, टेक्सटायल, इलेक्ट्रिकल, जलस्रोत, कम्प्युटर ईञ्जिनियरिङ विषयहरु थिए । त्यतिबेला वातावरणीय ईञ्जिनियरिङ विषय नेपालका लागि तुलनात्मक रुपमा नौलो रहेको, ब्राजिलमा सन् १९९२ मा भएको रिओ दे जिनेरियोमा सम्पन्न विश्व वातावरणीय सम्मेलन पश्चात् विश्वव्यापी रुपमा वातावरणीय सवालप्रति बढेको चासो, नेपालमा पनि वातावरणीय विषयमा बढ्दै जान थालेको जागरुकता तथा आफ्नै अभिरुचिका कारण समेत मैले यस विषय छनौट गरें ।
त्यतिबेलासम्ममा चीन सरकारले प्रदान गर्ने छात्रवृत्ति नेपाल सरकारको शिक्षा मन्त्रालय मार्फत नै उपलब्ध गराइन्थ्यो । भारत र पाकिस्तानी राजदूतावासले भने विद्यार्थी छनौटका लागि आफैंले परीक्षा लिन थालिसकेका थिए । यसबाहेक साँस्कृतिक कोटा अन्तर्गत पनि राजदूतावासहरुले छात्रवृत्ति उपलब्ध गराउँथे ।
विश्वभाषा क्याम्पसमा चिनियाँ राजदूतावासले लिएको परीक्षा सम्पन्न भयो । वातावरणीय ईञ्जिनियरिङ विषयका लागि म छनौट भएछु । छात्रवृत्ति छनौटको सूचना केही दिनपछि रेडियो नेपालले प्रसारण गरेको रहेछ । हाम्रो गाउँका केही मानिसले रेडियो नेपालबाट चीन पढ्न जान छनौट हुने विद्यार्थी मध्ये एक जना म पनि रहेको कुरा थाहा पाएछन् र मेरो बुबालाई बताएछन् । खबर थाहा पाए पछि बुबाआमाको खुशीको सीमा नै रहेन ।
क्रमश…