वास्तवमा विदेशको बसाई र पढाई दुवै कुरा देशभित्रको भन्दा धेरै हिसाबले भिन्न हुने नै भयो । चीन पुगेपछि आफू पढ्न गएको विषयमा सकभर राम्रो गर्नका लागि पहिले चिनियाँ भाषा नै राम्रोसँग पढ्नु पर्छ भन्नेमा नै केन्द्रित भइयो । हुनत चीन गएको पहिलो वर्षमा भाषाको मात्र पढाई हुने भएकोले फुर्सद पनि तुलनात्मक रुपमा धेरै हुन्थ्यो भन्न सकिन्छ । हाम्रो विश्वश्विद्यालयमा अन्य सिनियर नेपालीहरु नभएको, चिनियाँ भाषा माथिको पकड त्यति राम्रो नभईसकेको हुँदा स्कूल बाहिरको परिवेशसँग खासै घुलमिल भइएन ।विना काम त्यत्तिकै बाहिर गएर घुमघाम गर्ने बानी पनि सानैदेखि थिएन । वास्तवमा विदेशमा रहँदा फरक भाषा, संस्कृति, सोच, व्यवहार र प्रकृतिका मानिसहरुसँग नयाँ परिवेशमा कत्तिको चाँडै घुलमिल होइन्छ भन्ने कुराले पनि विदेश जीवनको सहजता निर्धारण गर्दो रहेछ ।
पहिलो वर्ष हाम्रो भाषा कक्षामा एक त साह्रै सीमित क्लासमेटहरु (६ जना मात्र), ती पनि प्रायः अफ्रिकनहरु भएको हुँदा धेरै कारणहरुले गर्दा उनीहरुसँगको मित्रता एक हदसम्म क्लासमेटकै सम्बन्धमा सीमित भयो जस्तो लाग्छ । बरु स्कूलमा भएका अन्य बंगलादेशी र श्रीलंकन विद्यार्थीहरुसँग भने अलिक बढी घुलमिल भईयो । भाषा सिकाईको पहिलो वर्षमा चिनियाँ क्लासमेटहरु हुने कुरा भएनन् । दैनिक जीवनमा परिचित हुन आइपुगेका चिनियाँहरुसँग घुलमिल हुने अवसर पनि थियो, तर पहिलो वर्ष हामीसँग राम्ररी घुलमिल भएका चिनियाँ साथीहरु भने भएनन् ।
यसले गर्दा हामी जाडो वा गर्मी विदामा एक डेढ घण्टाको दूरीमा पर्ने पेचिङमा गएर नेपाली साथीहरुसँग सँगै बसेर समय बिताउन नै बढी रुचाउँथ्यौं । पहिलो वर्ष भाषाको पढाई सकिए पछिको गर्मी विदामा हामी पेचिङ नै गयौं । त्यस गर्मी विदाको समयमा हाम्रा ब्याचमेट साथीहरु पढ्ने छात्रावास भवनको मर्मतसंभार चलिराखेको हुँदा केही समयका लागि अलिक पर रहेको होटलमा उनीहरुलाई सारिएको थियो । हामी पनि केही दिन त्यतैतिर गएर बस्यौं ।
हाम्रो ब्याचमा चीन पढ्न जाने साथीहरुको फरक फरक पारिवारिक पृष्ठभूमि, स्वभाव, बानीव्यवहार आदि कुराले गर्दा उनीहरुको साथीसंगति पनि फरक फरक हुने भई नै हाल्यो । केही नेपाली साथीहरु विदेशी मित्रहरु बनाउने कुरामा अगाडि थिए भने कसैलाई त्यसमा रुचि थिएन । केही केटा साथीहरुले भने विदेशी केटी साथी बनाउने कुरामा पनि धेरै नै रुचि राख्थे भन्ने लाग्छ ।
चीनमा पढ्न जाने केटाहरुको तुलनामा केटी विद्यार्थीहरुको संख्या स्वाभाविक रुपमा निकै कम भएकोले, भएका एक दुई जना केटी साथीहरु हाम्रा कतिपय केटा साथीहरुका लागि आकर्षण र गफको केन्द्र बनिराखेका हुन्थे । केही केटा साथीहरु कसरी विपरितलिंगी साथीहरुसँग प्रणय सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने सोच र कल्पनामा डुबिराखेको पनि गफगाफका क्रममा थाहा पाइन्थ्यो । त्यतिखेर यो मानिसहरुको उमेरगत विशेषताको कुरा पनि थियो ।
पेचिङको भाषा पढाई हुने विश्वविद्यालय (युयान स्वेयुयान) नेपाली विद्यार्थीहरु अनौपचारिक रुपमा जमघट हुने थलो पनि थियो । पेचिङका विभिन्न विश्वविद्यालयमा अध्ययनरत सिनियर दाइ, दिदीहरु सप्ताहान्त वा अन्य विदा र फुर्सदका समयमा त्यतातिर आइराख्नुहुन्थ्यो । बियर वा अल्कोहल पिउनमा रुचि राख्ने साथीहरुका लागि युयान स्वेयुयानको सप्ताहान्त धेरै प्रीतिकर हुन्थ्यो । उसो त चीनमा बियर लगायतका अल्कोहोलिक पेय पदार्थहरु साह्रै सस्ता ।
त्यतिबेला पेचिङ चिकित्सा विश्वविद्यालयमा १५ भन्दा बढी नेपालीहरु (उर्मिला शाक्य, पवन प्याकुरेल, पवित्र पन्त, राजीव पन्त, बेनी अमात्य, कमल कोइराला, उदय कोइराला, नविश मानसिंह प्रधान, मनिल रत्न बज्राचार्य, सुमन डंगोल, कपेन्द्र शेखर अमात्य, अमितमणि उपाध्याय, मनोजमान श्रेष्ठ, बद्री पौडेल, इमान सिंह गुरुङ, प्रभा मैनाली, सुजन सायमी) अध्ययनरत थिए भने, पेचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पाँच जना (सजुन श्रेष्ठ, अनिल शर्मा, सविन श्रेष्ठ, प्रेरणा गुरुङ, प्रज्वल गुरुङ), टेलिकम्युनिकेसन विश्वविद्यालयमा चार जना (राकेश ताम्राकार, विद्यानन्द चौधरी, चुडामणि चौंलागाई, विनय लोहनी), छिङहवा विश्वविद्यालयमा चार जना (विष्णु पाण्डे, विश्व कर्माचार्य, ईश्वर लामा, सन्तोष जोशी), रेनमिन विश्वविद्यालयमा एक जना (दीपा प्रधान), पेचिङ विश्वविद्यालयमा एक जना (सिबि मल्ल) तथा चिनियाँ परम्परागत चिकित्सा पढ्ने एक जना (…. महर्जन दिदी) थिए । उहाँहरुले चीन बसाई र अध्ययनसँग सम्बन्धित आफ्ना अनुभवहरु हामी जुनियर विद्यार्थीहरुसँग साँटने गर्नुहुन्थ्यो । कहिलेकाहीं हामी पनि वहाँहरुको विश्वविद्यालयतिर यसो घुम्न जाने गर्दथ्यौं ।
हामी पुग्नु भन्दा अघिल्लो वर्ष चीन आएर भाषा पढ्दै गरेका हरिशदेव गौतम र वसन्त श्रेष्ठ मध्ये वसन्त श्रेष्ठले भने चीनको अध्ययनलाई बिचमै विदा गरेर नाल फर्किए, पछि युके गए । त्यसो त हाम्रै ब्याचका साथी कुमार ब्रजभुषणले पनि एक महिना जति भाषा पढेपछि शायद उनमा चीन बसाई र पढाई प्रति रुचि भंग भएर होला, नेपाल फर्के र पछि भारतमा अध्ययन गर्न गए ।
म र चन्द्र पेचिङ जाँदा प्रायः तीर्थ, प्रदीपको कोठामा बस्ने गर्थ्यौं । तीर्थ र चन्द्र पोखराको गण्डकी बोर्डिङ स्कूलमा कक्षा चारदेखि नै सँगै पढेका साथीहरु भएकोले उनीहरुको बिचमा निकै घनिष्ठता थियो । स्कूलदेखि नै सँगै पढेका उनीहरुका अर्का साथी विनोद भट्टराई पनि हामीसँगै चीन गएका थिए, नानचिङमा चिनियाँ भाषा पढ्दै थिए र एक वर्षपछि संघाईमा चिकित्सा शास्त्र पढ्न जानेवाला थिए । तीर्थ पेचिङको भाषा पढाई सकाएपछि चिकित्साशास्त्र पढ्न ऊहान जाँदैथिए । हामी सँगै रहँदा चीन पुगेपछिका नयाँ अनुभव र अनुभुतिहरुको साटासाट गर्थ्यौं ।त्यस बाहेक मेट्रो चढ्ने, विभिन्न नंबरका बसहरु चढेर पेचिङका प्रमुख पर्यटकीय गन्तव्यहरुमा पुग्ने पनि गरिन्थ्यो । यसरी घुम्न जाँदा प्रायः आफ्ना साथीहरुको मिल्दो समूह बनाई डुल्न जाने गरिन्थ्यो । साथीहरुसँग मिलेर डुल्न गइएका स्थानहरु ग्रेट वाल, थ्यानमेन स्क्वायर, थ्यानथान (टेम्पल अफ हेभन), ग्रीष्म दरबार (समर प्यालेस) आदि थिए ।
हामीले स्वदेश र विदेशमा बसेर अध्ययन गर्दा पढाईका लागि गर्नुपर्ने मिहिनेत उस्तै भए पनि कतिपय कुराहरु भने फरक पनि हुन सक्दा रहेछन् । घरपरिवार र आफ्नो समाजबाट दूर रहेर बस्नुपर्दा आफू मानसिक रुपमा बलियो हुनुपर्ने, नयाँ परिवेशमा घुलमिल हुन सक्नुपर्ने जस्ता कैयन् गुणहरु विकास गर्नु पनि जरुरी हुँदोरहेछ । विदेशको चमकधमक र रमाइलो आफ्नो ठाउँमा छ, तर त्यसमा सबैजना रमाउन सक्छन् नै भन्ने पनि छैन । विशेषगरी चाडपर्वका समयमा वा अन्य दुःख आपत पर्दाका, कठिनाइका क्षणहरुमा एक्लै रहनु पर्दा मानिसहरुलाई आफ्ना घरपरिवार, आफन्त वा पुराना मित्रहरुको सम्झनाले सताउन सक्छ ।
हामीले विदेश बसाईको पहिलो वर्षमा घरपरिवार र नेपालबाट टाढिनु परेको अनुभुत गर्ने भयौं नै । अहिलेको जस्तो इन्टरनेट र सामाजिक सञ्जालको सुलभता पनि थिएन, त्यतिखेर । नेपालतिर आक्कलझुक्कल फोन गर्ने गरिन्थ्यो । हाम्रो गाउँघरमा फोन सुविधा नभएकोले मेरो लागि त घरमा फोन गर्ने कुरा भएन र फोन गर्ने कुरा मेरा लागि खासै महत्वपूर्ण पनि भएन । चन्द्र भने बेलाबखत घरमा फोन गरिराख्थे ।
उनको पुर्ख्यौली घर कास्कीको भलाममा थियो र पछिल्ला दिनमा उनका बुबाले पोखराकै चिप्लेढुङगामा कृषि सामाग्रीहरुको बेचबिखन गर्ने व्यवसाय थाल्नुभएको रहेछ । विभिन्न अनाजका बीउहरुको व्यापार पनि गर्नुहुँदो रहेछ । चन्द्र कहिलेकाहीं भविष्यमा उनको कृषि सामाग्री र उत्पादनको व्यापारलाई चीनसम्म विस्तार गर्ने कुरा गर्थे । नेपाली सेनामा काम गर्ने मेरा एक गाउँले दाइ त्यतिबेला पोखरामा रहेछन् । संयोगले चिप्लेढुङगाको उनको पसलमा चन्द्रको परिवारसँग चिनजान भएछ । मेरो घरको खबर ती दाइ मार्फत चन्द्रको घर हुँदै थियानचीनमा मसम्म आइपुग्थ्यो ।
चन्द्र र मेरो पहिलो चिनजान, भेटघाट भनेको चीन आउनुअघि चीनियाँ राजदूतावास र अरनिको सोसाइटीद्वारा होटल मल्लमा हामीलाई दिइएको रिसेप्सन पार्टीमा भएको थियो । पुल्चोक क्याम्पसमा पढ्दा चिनजान भएका केही सिनियर दाइका साथीहरु चीनमा पढ्दै थिए । उनीहरु मार्फत पाइएको जानकारी अनुसार नेपालबाट चीन जाँदा हामीले लग्न सक्ने केही उपयोगी सामाग्रीको सुची बनाइएको थियो । त्यसमध्येका सामानमा नेपाली मरमसलाहरु पनि एक थियो । शुरुका दिनमा चिनियाँ खानाको स्वाद मन नपर्न पनि सक्थ्यो र त्यस अवस्थामा नहाम्रा मसला राखेर नेपाली स्वादको खाना बनाउन सक्थ्यौं । चन्द्र र म दुवै जनाले नेपाली मरमसलाहरु मिलाएर लग्ने सल्लाह गरेका थियौं ।
हामी त्रिभुवन विमानस्थलबाट चीनतर्फ प्रस्थान गर्दै गर्दा उनका बुबा तथा परिवारका अन्य सदस्यहरुसँग मेरो चिनजान र सामान्य कुराकानी भयो । विशेषगरी संघाईबाट रेल चढेर थियानचीन तर्फ लागेपछि हामी दुई जना नै एक अर्काका मुख्य सहयोगी बनेका थियौं । चिनियाँ भाषा पढ्दा एउटै कक्षा भएकोले पढाईमा होस् वा कोठामा बस्दा होस्, खाना खान क्याफ्टेरियामा जाँदा होस् वा सँगै मिलेर खाना पकाउँदा होस्, सरसामानहरु किनमेल गर्न बजारतिर जाँदा होस् वा बाहिर डुल्न जाँदा, हामीहरु प्रायः सँगै हुने गर्थ्यौं । बजारतिर जाँदा शुरु शुरुमा हेरेका, किनेका सामानहरुको भाउ नेपाली पैसामा रुपान्तरण गरिन्थ्यो र ’यो सामान कति महँगो वा कति सस्तो हगि’ भनेर भाउ दाँज्ने गरिन्थ्यो ।
वास्तवमा हाम्रो थियानचीन बसाई हामी दुई जना नजिकिने अवसर पनि थियो । चन्द्रका अनुसार पोखराको गण्डकी बोर्डिङ स्कूलमा, नजिकका ग्रामीण क्षेत्रमा रहेका स्कूलका तेज विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढ्नका लागि कोटा छुट्टयाइएको हुँदो रहेछ । उनी लगायत तीर्थ, विनोदहरुले यस्तै कोटा अन्तर्गत त्यहाँ पढ्ने अवसर पाएको कुरा चन्द्रले मलाई बताएका थिए । उनले मलाई उनको बाल्यकाल, स्कूलजीवन, घरपरिवार, पोखराका बारेमा धेरै कुराहरु बताए । उनी उमेरमा मभन्दा दुई वर्ष जेठा थिए । उनी सात महिनामा जन्मेका रहेछन् र सानैदेखि उनको स्वास्थ्य अलिक कमजोर भएको, सानो छँदा मुटु धेरै कमजोर रहेको कुरा उनले मलाई बताएका थिए ।
उनले गण्डकी बोर्डिङ स्कूलमा पढ्दाका शुरुका दिनहरुमा घर छाडी छात्रावासमा रहेर पढ्नुपर्दा घरको यादले धेरै सताएर (होम सिकनेस) रुने गरेको र पछाडि विस्तारै बानी पर्दै गएको कुरा बताएका थिए । उनले मलाई स्कूलमा पढ्दा ताकाका थुप्रै साथीहरुका बारेमा, स्कूल नजिकै रहेको जोगी कुटीका बारेमा, पोखरा, लामाचौरमा उनको स्कूल नजिक रहेको पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसको बारेमा, पोखरा शहरको बारेमा र उनको पुरानो गाउँ, भलामका बारेमा थुप्रै कुराहरु बताएका थिए । उनले बताएका ती कुराहरु अझै पनि मेरा मानसपटलमा झल्झल्ती याद आउँछन् ।
उनी सानै देखि पढाइमा तेज भएकोले राम्रै अंकमा एसएलसी उत्तीर्ण गरी पछि अस्कल क्याम्पसमा भर्ना भएर आई.एस्सी. पढेका रहेछन् । उनले आई.एस्सी. सकाएपछि मन्त्रालयको छात्रवृत्ति परीक्षामा सामेल हुँदै केमिकल ईञ्जिनियरिङ विषयमा चीन पढ्न आउने अवसर पाएका रहेछन् । नेपाल जस्तो देशका लागि औद्योगिक विकास हुनु जरुरी रहेको र यसका लागि केमिकल इञ्जिनियर चाहिने हुँदा पढ्नका लागि यो विषय छनौट गरेको कुरा उनले मलाई बताएका थिए ।
उनी पोखरा औद्योगिक क्षेत्र र त्यहाँ स्थापना भएका विभिन्न उद्योगहरुका बारेमा, उद्योगपति हरि पाण्डेले गरेको संघर्ष र तरक्कीका बारेमा पनि बेलाबखत कुरा गरिरहन्थे । कहिलेकाहीं, हामी दुई जनाले पढाई सकाएपछि उनको काम उद्योग खोलेर प्रदूषण बढाउने र मेरो काम त्यो प्रदूषणलाई न्यूनीकरण गर्ने हुनेछ भनेर मसँग हँसिमजाक पनि गर्थे ।
चन्द्र पढाईमा तेज र मिहिनेती थिए भने स्वभावमा अलिक लजालु । उनलाई नयाँ मानिसहरुसँग भने घुलमिल हुन अलिक समय लाग्थ्यो । मैले पुल्चोक क्याम्पसमा छँदा राजनीति र अन्य बाहिरी गतिविधिहरुमा पनि सक्रियताका साथ लागेकोले मलाई यो समस्या थिएन, तर विदेशमा भाषा, संस्कृति लगायतका विविध पक्षहरुमा व्यापक भिन्नता रहेको परिवेशमा पहिलो वर्ष त्यति धेरै घुलमिल भईसकेका थिएनौं ।
हामी थियानचीनमा बंगलादेश र श्रीलंकन विद्यार्थीहरुसँग अलिक बढी नजिक थियौं । कहिलेकाहीं सँगै खाना पकाएर खाने गर्थ्यौं । यस बाहेक हाम्रो छात्रावासमा चिनियाँ भाषा पढ्न आएका थुप्रै कोरियन र जापानिज विद्यार्थीहरु पनि थिए । उनीहरुसँग भने खासै चिनजान, घुलमिल र बोलचाल भएन ।
हामी शुरुको वर्षमा छात्रावास भवनको पाँचौ तल्लाको सबभन्दा छेउको कोठामा बस्थ्यौं । त्यतिबेला हाम्रा छिमेकी भनेका यमन र लाओसका विद्यार्थीहरु थिए । चिनियाँ भाषाको पढाई सकाएपछि तेस्रो तल्लामा स¥यौं । हाम्रो अगाडिपट्टिको कोठामा इलेक्ट्रिकल इञ्जिनियरिङ पढ्ने बंगलादेशका एक ब्याच सिनियर विद्यार्थी, मोहिबुर रहमान बस्थे । हामीसँगै जोडिएको कोठामा श्रीलंकाका वसन्त कुमारा बस्थे र उनी त्यतिखेर कम्प्युटर ईञ्जिनियरिङको स्नातकोत्तर तहमा पढ्दै थिए । उनले केही समय अगाडि मात्र थियानचीनकै एक चिनियाँ युवतीसँग बिहे गरेका थिए । उनको चिनियाँ श्रीमती पनि उनीसँगै बस्थिन् । उनीहरु सबैजना हामीलाई साह्रै मित्रवत व्यवहार गर्थे । त्यसो त तेस्रो तल्लाकै अलिक परको कोठामा बस्ने, इलेक्ट्रोनिक्स इञ्जिनियरिङका हामी भन्दा एक ब्याच सिनियर श्रीलंकाका पेरामपालन उथराकुमारा पनि हामीसँग ज्यादै मित्रवत थिए । हामी कहिलेकाहीं सँगै हिन्दी फिल्म हेर्ने गर्थ्यौं । यसरी हेरिएको फिल्म मध्ये एक हिन्दी फिल्म ’रोजा’ थियो ।
देश विदेशका समाचारहरुका बारेमा सधैं अद्यावधिक रहिरहनुपर्ने मलाई नेपालमा झैं चीनमा पत्रिकाहरु तथा अन्य किताबहरु पढ्ने अवसर उपलब्ध थिएन । दोस्रो वर्षदेखि इञ्जिनियरिङ विषयको पढाई शुरुवात हुने भएकोले स्वतः बढी व्यस्त हुँदै गइहालिन्छ भन्ने पनि भएको थियो । खालि समयमा कहिलेकाहीं पुस्तकालयतिर गएर अंग्रेजी भाषाका म्यागाजिनहरु हेरिन्थ्यो ।
हाम्रो चिनियाँ भाषाको पढाई सकिंदै गर्दा चन्द्रले उनको स्वास्थ्यमा केही समस्या भएजस्तो महसुस गरे । हाम्रो स्कूलभित्रै एउटा अस्पताल रहेको हुन्थ्यो । त्यहाँ गएर उनको स्वास्थ्य चेकजाँच गरियो । अस्पतालमा हामीलाई चिनियाँ भाषा पढाउनुहुने कक्षा गुरुआमा ’चउ’ पनि हामीसँगै जानुभएको थियो । चन्द्र त्यस स्कूल अस्पतालको चेकजाँचबाट त्यति सन्तुष्ट हुन सकेका थिएनन् । उनले आफूलाई हेपाटाइटिस भएको हुन सक्ने शंका गरिराखेका थिए । चन्द्र र म उनै चिनियाँ भाषाको गुरुआमा ’चउ’ को साथ लागेर नजिकैको थियानचीन चिकित्सा विश्वविद्यालयको अस्पतालमा गयौं । त्यहाँ उनको स्वास्थ्यको अझ व्यापक चेकजाँच गरियो । हामी साथ जानुभएको चिनियाँ गुरुआमाले उनलाई हेपाटाइटिस भएको खण्डमा सँगै खानपिन र बसउठ गरेकोले नाताले मलाई पनि हेपाटाइटिस सर्न सक्ने संभावना भएको हुँदा मैले पनि चेकजाँच गराउनु पर्ने हुनसक्ने कुरा मेरो कानमा खुसुक्क बताउनु भयो । भलै, चेकजाँच पछि उनमा हेपाटाइटिस भएको कुनै प्रमाण भेटिएन ।
चिनियाँ भाषाको पढाई सकिए पछिको गर्मी विदामा चन्द्र उनको स्वास्थ्य र यसबाट उनको मनमा उब्जिएको शंका, उपशंकाका कारण मलीन, कमजोर र उदास थिए । गर्मी विदाको समयमा हामी दुवै जना पेचिङ गएका थियौं, तर उनी त्यहाँका नेपालीहरु बिच खासै रमाउन सकेनन् । उनको जिद्दीले गर्दा हामी थियानचीन फर्कियौं । हाम्रो साथमा साथी तीर्थ पनि सँगै थियानचीन आएका थिए । यस बिचमा चन्द्रको उनको परिवारसँग फोनमा बेलाबेलामा कुराकानी भईराखेको थियो ।
उनी आफ्नो स्वास्थ्यको विषयलाई लिएर आत्तिराखेका थिए । तीर्थ भने मसँग बेलाबेलामा “यो चन्द्र त्यत्तिकै आत्तिएर अनेक शंका, उपशंका गरिराखेको छ“ भन्थे । हामी तीनै जना केही दिन थियानचीनमा बस्यौं । यस बिचमा चन्द्रले नेपाल (घर) फर्कने मनस्थिति बनाए । चन्द्रले स्कूल पढ्दा ’होम सिकनेस’ हुने कुरा मलाई बताएका थिए । उनले घर छाडेको एक वर्ष भईसकेको हुँदा चन्द्र अलिक आत्तिएकोले घर गएर केही समय बस्दा राम्रै होला भन्ने कुरा तीर्थले मसँग गरे । उनले घर फर्कने मनस्थिति बनाई सकेपछि, तीर्थ र मैले पनि चन्द्र घर फर्की एक दुई महिना नेपाल बसेर आउँदा, त्यस समयमा उनले आफ्नो स्वास्थ्यको राम्रो चेकजाँच गराएर ढुक्क हुन सक्ने तथा उनलाई कुनै ’होम सिकनेस’ भएको रहेछ भने पनि एक डेढ महिनाको परिवारसँगको सान्निध्यपूर्ण बसाई उनका लागि राम्रै हुनसक्ने विचार गर्याैँ । बाटोखर्चका लागि उनले बचाएको पैसामा तीर्थ र मैले पनि केही पैसा थपथाप गरिदियौं ।
एकदिन बेलुकी तीर्थ र म थियानचीन रेलवे स्टेशनमा पुगेर उनलाई थियानचीनबाट शेन्जेन तर्फ प्रस्थान गर्ने रेलमा चढाएर विदाई ग¥यौं । अलिक सञ्चो महसुस नगरेको एक जना साथीलाई रेलवे स्टेशनमा विदाइ गर्दा तीर्थ र मलाई अलिक खल्लो र दुःख लागिरहेको थियो, साथमा केही डर र चिन्ता पनि । उनी नेपालबाट फर्कंदा राम्रो स्वास्थ्य र खुशीका साथ आउने कुराको कल्पना पनि थियो, हामी दुईको मनमा ।
चन्द्रले सेन्जेनमा पुगेर हामीलाई फोन गरे । त्यहाँबाट उनी हङकङ पुगे र प्लेन चढेर नेपाल टेके । नेपाल पुगेर उनले फोन गरेपछि तीर्थ र म दुवै जना ढुक्क भयौं । उनी घर पुगिसकेपछि मेरो उनीसँग शायद दुई चोटि फोनमा कुरा भए जस्तो लाग्छ ।
केही दिनको थियानचीन बसाईपछि तीर्थ पेचिङ फर्किए । म भने थियानचीनमा एक्लै रहें । चौथौ वर्षमा अध्ययनरत मरिशसका निरञ्जन नै नाम गरेका एक जना सिनियर विद्यार्थी पढाइ सकाएर घर फर्कंदै थिए । उनीसँग मैले पुरानो फ्रिज र टिभी किनें । त्यसैबिच हामीसँग चिनियाँ भाषा पढेका अफ्रिकन मुलुक ’चाड’ बाट आएका हाम्रा सहपाठी ’फिडेल’ पनि देश फर्कनु पर्ने परिस्थिति आइप¥यो । कुरो के प¥यो भने उनको मुलुक चाडले चीनसँगको दौत्यसम्बन्ध अन्त गरेर ताइवानसँग दौत्य सम्बन्ध स्थापना गरेछ र उनको छात्रवृत्तिको कोटा काटिएर आफ्नो देश फर्कनु पर्ने अवस्था आयो । टेलिफोनमा कुराकानी हुँदा मैले चन्द्रलाई पनि यो कुरा सुनाएको थिएँ ।
त्यस समय म थियानचीनमा एक्लै रहँदा पेचिङस्थित नेपाली राजदूतावासबाट थियानचीन घुम्न भनेर दूतावासमा सैनिक सहचारीका रुपमा कार्यरत, नेपाली सेनाका नेत्र बहादुर थापा, वहाँको परिवार सहित मेरो छात्रावाससम्म आउनुभयो, मेरो कोठामा पनि पस्नुभयो । पेचिङमै अध्ययनरत सविन श्रेष्ठ दाइ पनि वहाँको साथमा आउनुभएको थियो । मैले वहाँलाई थियानचीन शहरका मूख्य स्थानहरु घुमाइदिएँ । हामी थियानचीनको समुद्री बन्दरगाह ’थाङकु’ सम्म पनि पुगेर समुद्री तटको अवलोकन ग¥यौं । ती समुद्री तट पुग्नु अघि हामीले समुद्री पानीबाट नुन निकालिंदै गरेको विशाल क्षेत्र पार गरेका थियौं । थियानचीन चीनको प्रमुख औद्योगिक सहर तथा उत्तरी चीनको सबभन्दा ठूलो बन्दरगाह पनि हो ।
सेप्टेम्बर (सन् १९९७) महिनाको आगमनसँगै हामी चीन पुगेको एक वर्ष बित्दै थियो । अब छिटै इञ्जिनियरिङ विषयको पढाई शुरु हुने, चिनियाँ सहपाठीहरुसँग एउटै कक्षामा बसेर पढिने कुराको कल्पनाले रोमाञ्चित हुँदै थियौं । चन्द्र र म दुवै जना हाम्रो कक्षामा विदेशी विद्यार्थीको रुपमा एक एक जना मात्र थियौं ।
सेप्टेम्बर महिनाको पहिलो हप्ता चिनियाँ विद्यार्थीहरु धमाधम विश्वविद्यालयमा आइपुग्न थाले । विश्वविद्यालय आइपुगेको पहिलो हप्तामा चिनियाँ विद्यार्थीहरुले सामान्य सैनिक प्रशिक्षण लिनुपर्दो रहेछ। मेरो विषयगत विभाग हाम्रो छात्रावास भन्दा अलिक पर आठ दश मिनेटको हिंडाई दूरीमा रहेको पुरानो शैलीको एक भवनमा थियो । इञ्जिनियरिङ विषयको पढाईको तर्खर भएसँगै हाम्रो विभागको भवनतिर मेरो आउजाउ बाक्लिन थाल्यो ।
यस बिचमा नेपालमा रहेका चन्द्रसँग मेरो फोनमा कुराकानी भयो । उनले नेपाल गएर स्वास्थ्य चेकजाँच गर्दा कुनै गम्भीर स्वास्थ्य समस्या पत्ता नलागेको कुरा बताउँदा खुशी भएँ । उनले अब छिटै चीन फर्कन लागेको कुरा पनि बताए ।
शुरुका दिनमा नयाँ विद्यार्थीहरुलाई विभिन्न कुरामा सहयोग गर्न सिनियर ब्याचको एक जना विद्यार्थी तोकिंदो रहेछ र उनले पछिल्लो ब्याचका विद्यार्थीलाई पढाई सम्बन्धित विषयमा सहयोग गर्न, स्कूलको नयाँ वातावरणमा घुलमिल हुन, स्कूलको अनुशासन लगायतका कुरामा जानकारी दिन सहयोग गर्दा रहेछन् । म चिनियाँ सहपाठीहरु मात्र सहभागी हुने कतिपय गतिविधिमा समेत सामेल भएर उनीहरुसँग सकभर छिटो घुलमिल हुने प्रयत्न गरें । नयाँ चिनियाँ सहपाठीहरुसँगै थियानचीन शहर डुलें । उनीहरुले मलाई त्यहाँका प्रमुख किताब पसलहरुमा पु¥याए । किताब पसल पुग्दा चाओ फङ नामका यी सिनियर विद्यार्थीले मलाई चिनियाँ भाषामा लेखिएको अब्राहम लिंकनको जीवनी किताब किनेर उपहार दिएका थिए ।
त्यतिखेर पुल्चोक क्याम्पसमा मसँगै डिप्लो तह पढेका साथीहरुले म चीन आउने बेलातिरै दोस्रो वर्षमा जान लागेका थिए । मैले एक वर्ष चिनियाँ भाषा पढेर ईञ्जिनियरिङ विषयको पढाई शुरु गर्दा उनीहरु तेस्रो वर्षमा जाने तर्खर गर्दैथिए । विदेशमा सरकारी छात्रवृत्तिमा पढन पाइएको अवसर र चिनियाँ भाषाको सिकाईलाई मैले उपलब्धिकै रुपमा लिएको थिएँ । इञ्जिनियरिङ विषयको पढाईको शुरुवातसँगै पुलकित र रोमाञ्चित पनि थिएँ । विभागबाट कक्षा तालिका लिएर त्यसै अनुसार कक्षामा पहिलो दिन ईञ्जिनियरिङ विषयको पढाई शुरु गर्दाको दिन (सेप्टेम्बर ७, १९९७) कम्ता खुशीको दिन थिएन मेरा लागि । चिनियाँ भाषाका पाठयपुस्तकहरु ल्याएर धेरै चोटि ओल्टाईपल्टाई गरिराखें । ती किताबहरु नेपाली वा अंग्रेजी भाषामा लेखिएका भए कत्ति उत्साहका साथ पढ्न थाल्दो हुँ । किताब पढ्नका लागि छेउमा शब्दकोष राखेर प्रत्येक अक्षर अक्षर सँगसँगै शब्दकोष पल्टाउनु पर्ने जरुरत थियो । पहिलो सेमेष्टरमा पढ्नु पर्ने विषयहरुमा भौतिक शास्त्र, अजैविक रसायनशास्त्र, गणित, इञ्जिनियरिङ ड्रइङ लगायत थिए ।
हाम्रो पढाई शुरु भएको एक हप्तापछि (सेप्टेम्बर १५, सन् १९९७) चन्द्र नेपालबाट संघाई हुँदै थियानचीन आइपुगे । उनी संघाई आईपुगेर स्कूल जीवनदेखिका उनका सहपाठी विनोद भट्टराईसँग पनि भेटघाट, कुराकानी गरे जस्तो लाग्छ । थियानचीनमा विगत एक डेढ महिनादेखि एक्लै बसिरहेको मलाई विगत एक वर्षदेखि सँगै बस्दै आएका रुममेट मित्र चन्द्र नेपालबाट आउँदा खुशी लाग्नु स्वाभाविक थियो । त्यो भन्दा पनि खुशीको कुरो त स्वास्थ्यको चिन्ताले सताइएर घर फर्केका चन्द्र नयाँ उत्साहका साथ विश्वविद्यालयमा फर्कनु थियो ।
उनी आएपछि हाम्रो कोठा नजिकै बस्ने बंगलादेशी मित्र, मोहिबुर रहमानले उनलाई “नेपालबाट फर्कंदा के कोसेली लिएर आएका छौ त, चन्द्र?“ भनेर सोधे । यसचोटि चन्द्र घरबाट आउँदा खासै केही सामानहरु लिएर आएका थिएनन् । बरु हामीले अघिल्लो चोटि आउँदा मसला लगायत केही सामाग्रीहरु ल्याएका थियौं । घरबाट विदेश फर्कंदा चन्द्रले किन केही चिज पनि नलिई आएका होलान् भन्ने त लागेको थियो, तर यसलाई असामान्य चाहिं ठानिएन ।
उनी थियानचीन फर्कंदा पढाई शुरु भएको एक हप्ता भईसकेको थियो । उनले केमिकल ईञ्जिनियरिङको विभागमा गएर आफ्नो कक्षा तालिका र पाठ्यपुस्तकहरु ल्याए । अंग्रेजी विषयको पढाई चिनियाँ विद्यार्थीले मात्र पढ्नु पर्थ्यो, तर चन्द्रले अंग्रेजी विषयको कक्षा पनि लिन थालेको कुरा मलाई खुशी हुँदै बताए । उनी केमिकल ईञ्जिनियरिङ पढ्ने चिनियाँ सहपाठीहरुसँग विस्तारै घुलमिल हुँदै थिए । उनका चिनियाँ सहपाठी बस्ने छात्रावासमा चन्द्र र म सँगै गएका थियौं । हाम्रो कक्षामा विदेशी विद्यार्थी पनि रहेछन् भनेर उनका चिनियाँ सहपाठीहरु खुशी भएका थिए । उनी नियमित कक्षा जान थालेका थिए ।
चन्द्र र मेरो फरक फरक ईञ्जिनियरिङ विषय भएको हुँदा हाम्रा कक्षा तालिका पनि फरक फरक थिए । पढाईको समय बिहान आठ बजेदेखि शुरु हुन्थ्यो । हामी बिहान केही खाएर कक्षातिर लाग्थ्यौं । बाह्र बजेतिर खानाका लागि छुट्टी हुन्थ्यो । दुई बजेतिर फेरि केही कक्षाहरु हुन्थे ।
सेप्टेम्बर २१, १९९७ ।
हामी दुवै जना बिहानीको कक्षा लिएर छात्रावासको कोठामा फर्कियौं । खाना खायौं । केहीबेर आराम गर्याैँ । दिउँसो दुई बजेपछि फेरि मेरा केही कक्षाहरु थिए । चन्द्रले आफ्नो कक्षा आज अलिक ढिला शुरु हुने भएकोले अलिक ढिला मात्र कक्षामा जाने कुरा मलाई बताए । बरु भित्तामा टाँसिएको मेरो कक्षा तालिका हेर्दै तिम्रो त कक्षा शुरु हुने बेला हुन लागि सकेछ त भने । एकछिन पछि म कक्षामा जान कोठाबाट निस्किएँ । चन्द्र त्यतिबेलासम्म कोठामै थिए ।
चार पाँच बजेतिर म आफ्नो कक्षा सकाई कोठामा फर्किएँ । कोठा बन्द थियो । हाम्रो कोठाको ढोका भित्र वा बाहिर दुवैतिर बाट थिच्दा बन्द गर्न सकिने किसिमको ’लक’ थियो । चन्द्र कोठामा आइपुगेका थिएनन् । साँझ पर्दै गयो । चन्द्र आईपुगेनन् ।ममा चिन्ता र कौतुहलता बढ्दै जान थाल्यो । नजिकैको कोठामा बस्ने बंगलादेशी मित्रलाई चन्द्र कोठामा नआईपुगेको कुरा बताएँ । उनले “रुममेटलाई पनि नबताईकन चन्द्र आज कता गएछन् त?“ भनेर सोधे । उनी र म चन्द्रका चिनियाँ सहपाठीहरु बस्ने छात्रावासतिर लाग्यौं, जुन हामी बस्ने स्थान भन्दा दश–बाह्र मिनेट हिंडाईको दूरीमा थियो । हाम्रो मनमा चन्द्र कतै आफ्ना चिनियाँ सहपाठीहरुसँग घुम्न वा बाहिर जान त निस्किएनन् भन्ने पनि थियो । उनको चिनियाँ सहपाठीहरु बस्ने छात्रावासमा पुगेर सोधखोज गर्दा उनीहरुले चन्द्र आज दिउँसो कक्षामा नआएको कुरा बताए । यसपछि त हामी झन् झसंग भयौं ।
दिउँसो बजारतिर जाँदा कतै कुनै दुर्घटना पो भयो कि भन्ने आशंका पनि मनमा उब्जियो । बंगलादेशी मित्र र मैले नजिकका केही अस्पतालहरु पुगेर र केही फोन गरेर कोही विदेशी बिरामी भएर वा दुर्घटना भएर अस्पतालतिर भर्ना भएको छ कि त भनेर सोधखोज पनि ग¥यौं । त्यस्तो केही फेला परेन ।
हामीले हाम्रै छात्रावास भवनमा रहेको स्कूलको विदेशी विद्यार्थीसँग सम्बन्धित कार्यालयमा खबर गर्याैँ । कार्यालयका सरहरु हाम्रो कोठामा आउनुभयो र चन्द्रका सामानहरु हेर्नुभयो । अनि वहाँहरुले खबर गर्नुभएपछि प्रहरीहरु पनि आएर हाम्रो कोठाको निरीक्षण गरे । स्कूलका शिक्षक, प्रहरीले उनको बेडमाथि बस्दै मसँग आवश्यक कुराकानी, सोधपुछ गरे । प्रहरीले म र स्कूलसँग सोधपुछ गरेर चन्द्रका बारेमा आवश्यक सूचनाहरु लिए । कतैबाट उनको बारेमा केही खबर आयो भने हामीलाई खबर गर्नु र आफ्नो तवरले पनि खोजी गर्दै गर्नु भनेर प्रहरीहरु फर्किए ।
उनको खोजीमा प्रहरी सामेल भएपछि उनको बारेमा केही थाहा पाइने अलिक आश पलायो । तीर्थ त्यतिबेलासम्म चिकित्साशास्त्र अध्ययनका लागि पेचिङबाट ऊहानतिर लागिसकेका थिए । उनलाई र संघाईमा रहेका चन्द्रका घनिष्ठ साथी विनोदलाई पनि मैले फोन गरेर चन्द्र हराएको बारेमा खबर गरें । बेलुकी अबेरसम्म उनको बारेमा केही थाहा नभएपछि चन्द्र अबेरसम्म कोठा नफर्किएको कुरा मैले पेचिङका अध्ययनरत नेपालीहरुलाई पनि खबर गरें । सोधखोज गर्दा उनी पेचिङतिर गएको भन्ने थाहा हुन सकेन । उनका बारेमा पेचिङस्थित नेपाली राजदूतावासलाई पनि त्यसै साँझ फोन गरेर अवगत गराएँ ।
उनी कोठमा नफर्केको कुराको बारेमा हल्लीखल्ली शुरु भएपछि छात्रावासमा भएका अन्य विदेशी विद्यार्थीहरु पनि मेरो कोठामा आएर बसे । हामीले उनको बारेमा कुरा ग¥यौं । केही विदेशी विद्यार्थी भन्दैथिए – “बाहिर कतै जाँदा चन्द्रले कम्तीमा रुममेटलाई त खबर गरेर जानु पर्थ्यो नि?“ राति दश एघार बजेतिरसम्म हामी बिच उनकै बारेमा कुराकानी र सोधखोज भईराख्यो । त्यसदिन म उनका बारेमा मनभरि अनेक चिन्ता, डर र आशंका लिएर राति अबेर मात्र आफ्नै कोठामा सुतें ।
भोलिपल्ट बिहानै बाट अनेक चिन्ता र आशंकाका बिच उनको खोजी कार्य पुनः शुरु भयो । चन्द्रले नेपालबाट चीन फर्केपछि तीर्थलाई फोन गरेर ऊहान आउने कुरा गरेका रहेछन् । उनी कतै ऊहानतिर त लागेनन् भन्ने पनि भयो । प्रहरीले आफ्नो तवरले उनका बारेमा खोजी कार्य गर्दै गएको थियो । प्रहरीको खोजीकार्यको आधारमा चन्द्र थियानचीनबाट बाहिर कतै गएको वा बाहिर कतै दुर्घटनामा परेको हुन सक्ने संभावना न्यून देखियो ।
भोलिपल्ट दिनभरि म लगायत, तीर्थ र उनी हराएको थाहा पाउने अन्य नेपालीहरुको दिमागलाई उनी कता गए होलान्, कसरी हराए होलान् भन्ने प्रश्नले रन्थनाईरह्यो । चीनमा बसोबास गर्ने प्रायजसोः नेपालीहरुसँग म नियमित सम्पर्क र संवादमा बसिराखेको थिएँ, कतैबाट उनका बारेमा केही खबर आई पो हाल्छ कि भनेर ।
भोलिपल्ट हाम्रो कार्यालयका शिक्षक र प्रहरीहरुको रोहबरमा हाम्रो कोठामा चन्द्रको दराज, टेबलको घर्रामा भएमा सबै सामानहरु ओल्टाईपल्टाई हे¥यौं । उनका प्रायः सबै सामानहरु सही सलामत नै थिए । उनीसँग एक जोर मात्र छालाको जुत्ता थियो, जुन कोठामा थिएन । उनको झोला पनि कोठामा थिएन । यसका आधारमा उनी जुत्ता लगाएर, झोला बोकेर कतै बाहिर निस्किए कि भन्ने अनुमान हामीले गर्याैँ ।
टेबलका घर्रामा भएका सामानहरु हेर्ने क्रममा एउटा प्लाष्टिकको फाइलभित्र उनले आफ्ना सबै व्यक्तिगत कागजपत्रहरु राखेका रहेछन् । त्यसमा उनको नागरिकता देखि पासपोर्ट, शैक्षिक प्रमाणपत्र र अन्य कागजातहरु पनि थिए । तिनै कागजपत्रको चेपोमा अर्को एउटा उनको हस्तलिखित चिठी फेला प¥यो, जुन नेपाली भाषामा लेखिएको थियो र सात पेजको थियो । चिठी भेटाउने बित्तिकै मैले एक सासमा पढें, अनि हाम्रो कार्यालयका शिक्षकहरुलाई पनि खबर गरें । वहाँहरुको साथमा प्रहरी पनि आइपुगे ।
चिठीमा स्पष्ट रुपमा आत्महत्या गर्ने कुरा नलेखिएतापनि चिठीको विषयवस्तुमा उनले अब आफूले आफ्नो परिवार र अन्य सबैसँग तथा संसारबाट पनि विदा हुन चाहेको कुरा लेखेका थिए । सात पेज लामो चिठीमा लेखिएको उनका सबै व्यक्तिगत कुराहरुलाई यहाँ उल्लेख गर्न सकिंन । संक्षेपमा भन्नु पर्दा उनलाई कुनै निको नहुने असाध्य रोग लागेको, आफूले आफ्नो परिवारको सपना पूरा गर्न नसक्ने अवस्थामा हुँदा दुःखित र क्षमाप्रार्थी भएको, यस संसारबाट विदा लिनु पर्ने दिन नजिकिएको आशयका कुराहरु उनले चिठीमा लेखेका थिए ।
उनको चिठीमा लेखिएको मोटामोटी कुराहरुलाई जसोतसो अनुवाद गरेर मैले चिनियाँ शिक्षक र प्रहरीहरुलाई बताएँ । चिठीमा लेखिएको विषयवस्तुको बारेमा पेचिङस्थित नेपाली दूतावासलाई पनि जानकारी दिइयो ।
उनको चिठी पढसकेपछि हामी सबैको मनमा उनले कतै आत्महत्या त गरेनन् भन्ने आशंका जाग्न थाल्यो । त्यसका संभावित कारणहरु पनि खोज्न थाल्यौं । चन्द्र केही अगाडिको गर्मी विदाको समयमा स्वास्थ्यको चिन्ता लिंदै घर फर्किएको भएतापनि यो आत्महत्या गर्ने कुनै कारण हुनसक्थ्यो भन्ने चाहिं हामीलाई लागेको थिएन । उनीसँग एक वर्षसम्मको सँगै बसाईमा उनीसँग परिचित भएको आधारमा उनमा त्यस्तो कुनै गंभीर पारिवारिक वा व्यक्तिगत समस्या भएजस्तो लागेको थिएन । हामी सबैले उनले आत्महत्या गर्न सक्ने संभावित तरिकाहरुका बारेमा सोच्न थाल्यौं । हाम्रो विश्वविद्यालयमा थुप्रै ठूला पोखरीहरु भएकोले कतै उनी ती पोखरीमा गएर डुबे कि भन्ने पनि भयो । रेलवे स्टेशन तिर गएर पो आत्महत्या गरे कि भन्ने पनि भयो । चीन विशालभूमि भएकोले उनी जता पनि गएर आफ्नो इहलीला समाप्त पार्न सक्ने संभावना समेत रह्यो ।
प्रहरीले आफ्नै हिसाबले उनको खोजी कार्य तीब्र पार्दै थियो । चिनियाँ प्रहरीले मलाई नेपालमा मानिसहरु प्रायः कस्तो किसिमले आत्महत्या गर्ने गर्छन् भन्ने कुरा सोधे । चन्द्र हराएपछिका मेरा चिन्ता, बेचैनी र छटपटीहरु क्रमशः एक डरलाग्दो र भयमिश्रित आशंकामा परिणत हुँदै गएका थिए । हाम्रो मनमा यस्ता कुराहरु समेत आउन थालेका थिए, जुन कुराहरु हामी सामान्य अवस्थामा सोच्ने गर्दैनौं । चन्द्रको खोजीमा दोस्रो दिनभरि, हाम्रा मनमा यस्तै डर, चिन्ता र अनेकौं आशंकाका काला बादलहरु हाम्रा मनभरि मडारिरहे ।
हाम्रो विश्वविद्यालय र थियानचीन शहरमै म एक मात्र नेपाली भएको हुँदा, मेरा रुममेट यसरी अकस्मात हराउँदा र आत्महत्याको आशय सहितको उनको चिठी फेला पार्दा म कत्ति आत्तिएँ होला, मनमनै कति रोएँ होला, त्यसको कुनै सीमै भएन । उनको खोजीमा बितेका ती कष्टसाध्य पलहरु र त्यसबाट मनमा उत्पन्न भय, बेचैनीले मस्तिष्कमा निम्त्याएको एक खराब दुस्वप्नको पीडामा कति छटपटाएँ हुँला भन्ने कुरा मैले मात्र अनुभूत गर्ने कुरा भयो ।
यस्तै अनेकौं डर र आशंकाका बिच चन्द्रको खोजीको दोस्रो दिन बित्यो । उनका बारेमा कतैबाट केही खबर आईरहेको थिएन । हाम्रो छटपटाहट बढ्दै गएको थियो । समय बित्दै जाँदा उनको बारेमा केही सुखद समाचार पाइने आशाको त्यान्द्रो पातलिंदै गएको थियो । छात्रावासमा बस्ने हामी विदेशी विद्यार्थीहरु उनकै बारेमा कुराकानी गरिराखेका हुन्थ्यौं । त्यसदिन पनि कोठामा म एक्लै सुतें। मेरो भोक र निद्रा भने एक किसिमले हराइसकेको अवस्था थियो ।
भोलिपल्ट बिहान उदाएको मधुरो सूर्यसँगै उनका बारेमा केही सुखद खबर सुन्न पाइन्छ कि भन्ने आशा अझ जीवित थियो । बंगलादेशी मित्र र म सँगै क्याफ्टेरियामा गएर बिहानको खाना खायौं र कोठामा फर्क्यौं । उनी पनि हाम्रो कोठामा केही क्षणका लागि छिरे । हामी दुवै जनालाई कोठामा विस्तारै केही चिज कुहेको गन्ध आए जस्तो महसुस हुन थाल्यो । कोठामा मुसा वा तरकारीहरु केही चिज कुहिएछ कि भनेर कोठा, दराज, फ्रिजका सबै कुनाकानीहरु हेर्याैँ । कुहिएका त्यस्ता केही चिजहरु भेटिएनन् । हामी दुई जनाले सँगैका कोठामा बस्ने श्रीलंकन लगायत अन्य विदेशी विद्यार्थीहरुलाई पनि कोठामा दुर्गन्ध आइराखेको कुरा बतायौं । उनीहरु पनि हाम्रो कोठामा आए । कोठाभित्र दुर्गन्धको मात्रा तीब्रतर गतिमा बढ्दै गईराखेको थियो । सबै जनाले कोठाको बेडभित्र केही कुहिन थालेको अनुमान गर्याैँ र सबै जनाले मिलेर बेड सारी बेडमुनि हेर्ने निर्णय गर्याैँ । म, बंगलादेशी र श्रीलंकन विद्यार्थी भएर बेड उचालेर सार्न खोज्दा देखियो – चन्द्र त बेडमुनि सुतेको अवस्थामा पल्टिएका थिए हामी सबै जना पुरै स्तब्ध बन्यौं । हामीले, स्कूलले, प्रहरीले धुईंपत्ताल लगाएर खोजिराखेका चन्द्र त हाम्रै कोठामा उनको बेडमुनि पल्टिएका रहेछन् । मैले त्यसै कोठामा दुई रात बिताएछु । त्यो बेड बाकस जस्तो भएकोले हामी कसैले पनि उनी बेडमुनि रहेको कुराको कुनै भेउ पाउन सकेनछौं, न त हामीले यसबारे कुनै आशंका नै गर्न सक्यौं ।
उनी जुत्ता लगाएर, झोला सहित बेडमुनि पसेका रहेछन् । बेडभित्र कोकाकोलाका केही शिशीहरु पनि थिए । जुन बेला हामीले उनलाई बेडमुनि फेला पार्याैँ, त्यतिबेला उनको शरीरबाट कुहेको दुर्गन्ध आईराखेको थियो । यसको मतलव बेडमुनि नै उनको प्राणान्त भएछ । बेड सार्ने क्रममा बेडको चुच्चोले मेरो बुढी औंलाको नङमा अकस्मात छोइएछ, नड त पुरै उप्केर आयो र रगत बग्न थाल्यो । त्यतिबेलासम्ममा छात्रावास कार्यालयका कर्मचारी र प्रहरीहरु समेत आइपुगिसकेका थिए । उनीहरुले चन्द्रको शवलाई त्यहाँबाट निकालेर पोष्टमार्टमका लागि अस्पतालतिर लगे । यो समय त्यस्तै मध्यान्हको बाह्र बजेतिरको थियो । बेड सार्ने क्रममा मेरो औंला च्यापिएर भएको घाउको उपचारका लगि म र श्रीलंकन मित्र अस्पतालतिर लाग्यौं । घाउमा पट्टी बाँधेर उपचार गरियो । केही दिनका लागि खुट्टामा जुत्ता लगाउन नसकिने भएको थियो । खुट्टामा लागेको घाउको चोट भन्दा यस दुर्दान्त घटनाबाट परेको मानसिक चोट कैयौं गुना गहिरो बनेको थियो, मेरा लागि ।
यी सबै कुराको मैले पेचिङस्थित दूतावासलाई तत्काल जानकारी गराएँ । जतिसुकै दुःखद परिस्थितिको सामना गर्नु परेपनि ती सम्पूर्ण कुराहरुसँग जुध्दै जानु बाहेक अर्को विकल्प मसँग थिएन । यस्तो अवस्थामा मानिसले आफूलाई साँच्चै ज्यादै कमजोर महसुस गर्दो रहेछ । त्यसै त विश्वविद्यालय र शहरमा म एक्लो नेपाली विद्यार्थी, भर्खर मात्र ईञ्जिनियरिङको पढाई शुरु हुन लागेको, चिनियाँ भाषामा पोख्त नभईसकेको अवस्था, फरक संस्कृति, परिवेश, पद्धति, आफ्नो घरपरिवार, आफन्त र पुराना मित्रहरुबाट टाढा भएको अवस्था, अझ त्यसमाथि रुममेट साथीको अनपेक्षित र अकल्पनीय किसिमले देहान्त भएको घटनालाई एउटा टुंगोमा पु¥याउनु पर्ने परिस्थिति ।
उनी हराएको शुरुका दिनतिर फोन गरेर उनको नेपालस्थित परिवारलाई पनि यसबारे जानकारी दिइएको थियो । उनको शव भेटिएपछि भने मैले उनको परिवारसँग कुरा गर्न सक्ने साहस बटुल्न सकिंन । दूतावास मार्फत नै उनको परिवारलाई थप जानकारीहरु दिईंदै गइयो ।
अस्वाभाविक मृत्यु भएको घटना भएको हुनाले उनको शवको पोष्टमार्टम गर्नुपर्ने तथा प्रहरी अनुसन्धानका अन्य प्रक्रियाहरु पूरा गरिनुपर्थ्यो । यो सबै प्रक्रियामा स्कूल र प्रहरीलाई आवश्यक सहयोग गर्नु मेरो जिम्मेवारी थियो । उनको लाशको मुचुल्का, सरजमिन गर्ने लगायतका कानुनी प्रक्रियाहरुलाई पूर्णता दिने सम्पूर्ण जिम्मेवारी मेरै काँधमा थिए । चन्द्रका बारेमा मैले जानेका, थाहा पाएका जति सबै सूचना, जानकारीहरु स्कूल र प्रहरीलाई उपलब्ध गराएँ । यस घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत करीब पचास वर्ष आसपासकी महिला थिईन् । उनले आफ्नो कामको सिलसिलामा आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाहरु पूरा गर्नुपर्ने कुरा आफ्नो ठाउँमा छदैछ, तर उनलाई मैले त्यो भन्दा पनि बढी साँच्चै एक अनुकरणीय प्रहरी अधिकृतका रुपमा भेटाएँ । प्रहरी अनुसन्धानका सबै प्रक्रियाहरु सकिए पछि मलाई त त्यो बिरानो ठाउँमा एक आत्मीय आफन्त भेटाए जस्तो पो लाग्यो, ऊनीसँग कुराकानी गर्दा ।
चन्द्रको शवको पोष्टमार्टम प्रतिवेदन आयो । जसअनुसार उनले कोकसँग अत्यधिक मात्रामा ’स्लिपिङ ट्याब्लेट’ खाएर चिरनिद्राको बाटो तताएका रहेछन् । उनले खाएको ’स्लिपिङ ट्याब्लेट’ नेपालमा किनिएको थियो कि वा चीनमा किनिएको थियो भन्ने बारेमा भने थाहा हुन सकेन । प्रहरीले मलाई यस बारेमा बताएनन् ।
हाम्रो छात्रावास कार्यालयका शिक्षकहरुले मलाई सोधे – “पेचिङबाट थियानचीन एक–दुई घण्टाको मात्र दूरीमा छ, तर यत्रो घटना घट्दा पनि तिम्रो दूतावासका मानिसहरु यहाँ आउन किन ढिलाई गरिराखेका छन्?“ यसको जवाफ त मेरो तर्फबाट के नै दिन सक्थें र?
उनको शव हाम्रो कोठामा भेट्टाइएको चार दिन (सेप्टेम्बर २७, १९९७) पछि पेचिङस्थित नेपाली दूतावासका कर्मचारीहरु रमेश प्रसाद खनाल र रेवती रमण पौडेल हाम्रो विश्वविद्यालयमा आउनुभयो र यस घटनासँग सम्बन्धित आवश्यक विवरणहरु लिनुभयो । वहाँहरु माथि दूतावास मार्फत् उनको मृत्यु सम्बन्धीका सत्यतथ्य र यथार्थ विवरणहरु चन्द्रको नेपालस्थित परिवारसम्म पु¥याउने जिम्मेवारी थियो । हाम्रो छात्रावास कार्यालयमा रहेर आवश्यक सोधपुछ गर्ने, घटनाको जानकारी लिने काम सकाएपछि म पनि वहाँहरुसँगै पेचिङस्थित नेपाली दूतावास पुगें । घटनाका बारमा थप जानकारी र विस्तृत विवरणहरु दिने काम गरें । नेपाली भाषामा लेखिएको चन्द्रको अन्तिम चिठी पनि हाम्रो छात्रावास कार्यालय हुँदै नेपाली दूतावासलाई हस्तान्तरण गरिसकिएको थियो । रेवती रमण पौडेल सर कास्कीकै हुनुहुन्थ्यो र टाढाबाट शायद वहाँको चन्द्रको परिवारसँग चिनजान भएको जस्तो पनि लाग्यो ।म पेचिङ, दूतावास जाँदा केही दिन वहाँकै घरमा बसेको थिएँ ।
शुरुका दिनतिर चन्द्रको शवलाई नेपाल पठाउने कुरा भएको थियो । पछि शायद के के कारणहरुले हो कुन्नि, उनको शवलाई चीनमै जलाएर शवको खरानीलाई सानो बक्सामा राखेर नेपालस्थित उनको परिवारसम्म पठाउने कुरा तय भएछ ।
चन्द्रको शव एक डेढ महिनासम्म थियानचीनकै एक अस्पतालमा रह्यो । थियानचीनकै एक शवदाहन गृहमा उनको शवको अन्तिम संस्कार गरिने कुरा भयो । शवदाहन गृह शहरबाट अलिक परको करीब निर्जन जस्तो लाग्ने स्थानमा रहेको थियो । यसका लागि दूतावासबाट रेवतीरमण पौडेल सर, अर्का एक जना लेखा अधिकृत सर र नेपालबाट केही समयका लागि चीन आउनुभएको वहाँको बुबा आउनुभएको थियो । स्कूलबाट दुई जना सरहरु र म गएका थियौं । मैले त्यहाँ पहिलो चोटि विद्युतीय शवदाहन गृह देखें । त्यहाँ जलाउन बाँकी रहेका अन्य केही शवहरु पनि थिए । एक डेढ घण्टामा उनको शव खरानी भयो । त्यहाँबाट केही खरानी निकाली सानो बक्सामा राखेर नेपाली दूतावासका प्रतिनिधिलाई हस्तान्तरण गरियो । चन्द्रको असामयिक देहावसानसँगै नेपालबाट विदेश पढ्न गएका एक होनहार नेपाली विद्यार्थीको दुःखद अन्त भयो । उनीसँगै, उनको परिवार र हाम्रो देशसँग गाँसिएको एक नेपाली विद्यार्थीको सफल केमिकल ईञ्जिनियर बन्ने सपनाको पनि अन्त भयो ।
यसै घटनाका बिच हामीलाई चिनियाँ भाषा पढाउनुहुने गुरुआमाले बाटोमा भेटिंदा मलाई सोध्नुभयो –“अन्य नेपालीहरु पेचिङमा थुप्रै छन् क्यारे, यहाँ एक नेपाली विद्यार्थीको यस्तो अनपेक्षित मृत्यु भयो, तिमी एक्लैले यी सारा घटनाहरु सम्बन्धित काममा खटिनु परिराखेको छ, तिम्रा अन्य देशवासी मित्रहरु किन कोही पनि नआएका होलान्?“
यस प्रश्नको उत्तर म कै नै पो दिन सक्थें र?
वहाँले सोध्नुभयो – “यस घटनाका कारणले तिमीले यहाँबाट धेरैचोटि पेचिङ ओहरदोहर गर्नुप¥यो । दूतावासले केही आर्थिक सहयोग गरेन?“ यस प्रश्नको जवाफमा पनि मैले दिन सक्ने एउटै उत्तर थियो – “अहँ“ ।
त्यतिबेला मेरो मनमा जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि हरेश खानुहुँदैन र संसारमा आफूलाई सहयोग गर्ने कोही छैनन् भने त्यस्तो अवस्थामा कम्तीमा ईश्वरले त सहयोग गर्नेछन् नि भन्ने एक जबर्जस्त भावना मनमा आइरह्यो । जतिसुकै पीडाका क्षणहरुबाट गुज्रनु परे पनि आफ्नो कक्षाहरु लिने कामलाई निरन्तरता दिईराखें । हाम्रो छात्रावासमा बस्ने, स्नात्तकोत्तर तहमा अध्ययनरत एक सानो अफ्रिकन देश, बुरुण्डीका सिनियर विद्यार्थीले मलाई सल्लाह दिए – “यस्तो अवस्थामा केही समयका लागि विदा लिएर पेचिङमा भएका आफ्नो देशका साथीहरुसँग गएर सँगै बस्दा हुन्छ नि?“ मलाई त्यतिखेर लाग्यो, यस्ता अनपेक्षित परिस्थितिहरु त जीवनमा आउँदै गर्छन्, मैले कक्षाहरु छाड्ने र पढाई बिथोलिने काम भने गर्नुहुँदैन ।
अहिले यसो सोच्छु – उनले त्यतिबेला मलाई बिलकुल सही सल्लाह दिएका रहेछन् ।
यस घटना पश्चात् म पेचिङ जाँदा हाम्रा केही नेपाली मित्रहरुबाट सामना गर्नुपरेको प्रश्न थियो – “तिमीले रुममेट भएको नाताले उनको राम्रो हेरविचार गर्नुपर्ने थियो, गर्न सकेनौ, अनि उनले आत्महत्या गरे।“
मसँग यस प्रश्नको कुनै उत्तर थिएन।
भर्खर मात्र ईञ्जिनियरिङ विषयहरुको पढाई हुन थालेको पृष्ठभूमिमा चन्द्रको यस दुर्दान्त घटनाले मलाई मानसिक रुपमा नराम्ररी हल्लाएको थियो । जतिसुकै असहनीय पीडाका दुःखदायी क्षणहरुबाट गुज्रनु परे तापनि आफ्नो लक्ष्यबाट विचलित हुने कुरो थिएन । यस्ता दुःखद क्षणमा एक्लो हुनुपर्दा मानिसले आफूलाई साँच्चै निकै कमजोर र निरीह ठान्दो रहेछ । मेरो दिमाग पूरा शून्यमा कता कता बिलाईरहेको थियो ।
केही समयपछि यस घटनाको बेलिविस्तार लगाएर आफ्नो घरमा र काठमाडौंमा रहेका केही मित्रहरुलाई चिठी लेखें । घरको जवाफी चिठी एक डेढ महिना पछि आइपुग्यो । काठमाडौंका केही साथीहरुले पनि चिठी लेखेर मलाई सान्त्वना र सहानुभूतिका शब्दहरु पठाए । मेरा गाउँमा रहनुभएका बुबाआमाहरुले घटनाका बारेमा थाहा पाउनुभएपछि ज्यादै आत्तिनुभयो । बुबाले चिठीमा लेख्नुभयो – “चीनमा पढ्नु पर्दैन, नेपाल फर्किए हुन्छ ।“
अध्ययनलाई त्यत्तिकै अपूरो राखेर म त्यत्ति सजिलै बिचैमा कसरी नेपाल फर्कन सक्थें र?
क्रमश…