Logo

पुल्चोकदेखि पेचिङसम्म-३



हामीले चिनियाँ भाषा पढ्न शुरुवात गरेको थियानचिन विश्वविद्यालयसँग नेपालमै हुँदा त्यति परिचित थिएनौं । अहिलेको जस्तो ईन्टरनेटमा थप खोजी गर्न सकिने अवस्था त्यतिखेर थिएन । विश्वविद्यालयमै पुगेपछि थाहा भयो, यो चीनका आधुनिक विश्वविद्यालय मध्ये सबभन्दा पुरानो रहेछ । सन् १८९५ मा पेइयाङ विश्वविद्यालयको नामबाट स्थापना भएको यस विश्वविद्यालयको नाम पछि सन् १९५१ मा परिवर्तन भई थियानचीन विश्वविद्यालय भएको रहेछ ।

यसलाई चीनमा ईञ्जिनियरिङ विषयहरु पढाई हुने प्रमुख विश्वविद्यालयका रुपमा चिनिंदो रहेछ । यहाँका आर्किटेक्चर, केमिकल, मेकानिकल इञ्जिनियरिङ, मेटेरियल साइन्स लगायतका विभागहरु चीनकै उत्कृष्ट मध्येमा पर्दारहेछन् । विज्ञान र प्रविधिका विकासका क्षेत्रमा पनि यसले थुप्रै राम्रा उपलब्धिहरु हासिल गर्न सफल भएको रहेछ । विश्वविद्यालयले आर्जन गरेको ज्ञान, प्रविधि विकास र अनुसन्धान क्षेत्रका उपलब्धिलाई समाज र देशको विकास र अग्रगति दिन अधिकतम उपयोग गर्ने कुरा पनि प्राथमिकतामा पर्दो रहेछ । थियानचीनले अत्याधुनिक प्रविधिको क्षेत्रमा मार्दै गरेको फड्को र तीब्र गतिमा हुँदै गरेको औद्योगिक विकासमा यस विश्वविद्यालयले उल्लेख्य योगदान पु¥याउँदै आएको रहेछ ।

उसो त यस विश्वविद्यालयबाट दीक्षित हुने नेपालीहरु पनि थुप्रै भईसकेका रहेछन् । चीन जानु अघि हामीलाई चिनियाँ राजदूतावास र अरनिको सोसाइटी (चीनबाट अध्ययन पूरा गरी आएका नेपाली विद्यार्थीहरुको संगठन) ले होटल मल्लमा एक रिसेप्सन पार्टी दिएको थियो । त्यहाँ अरनिको सोसाइटीका पदाधिकारीहरुसँग चिनजान र कुराकानी भयो । सोसाइटीका तत्कालीन अध्यक्ष हुनुहुँदो रहेछ – चक्रदास राजभण्डारी । वहाँ यस सोसाइटीको संस्थापक अध्यक्ष समेत हुनुहुँदो रहेछ । वहाँले हामीलाई रिसेप्सन पार्टीमा त्यही थियानचीन विश्वविद्यालयमा सन् १९५० को दशकमा केमिकल इञ्जिनियरिङ विषय अन्तर्गत सिलिकेट टेक्नोलोजी पढेको र अध्ययन सकेर नेपाल फर्केपछि चोभारको हिमाल सिमेन्ट कारखानामा केमिकल इञ्जिनियरका रुपमा काम गरी सेवानिवृत्त हुनुभएको कुरा बताउनु भएको थियो । वहाँ पुल्चोक पढ्दाका मेरा सहपाठी निरा राजभण्डारीको पिताजी हुनुहुँदो रहेछ भन्ने कुरा पछि थाहा पाएँ, ऊनी पनि हामी भन्दा एक ब्याच पछि सिभिल इञ्जिनियरिङ पढ्नका लागि चीनको थोङची विश्वविद्यालय (संघाई) पुगेकी थिइन् ।
हामी पुग्नु केही वर्ष अघि मात्र नेपाली विद्यार्थी (चन्द्र घिमिरे, कालु भट्टराई, शेलेन्द्र भट्टराई, विजय …) लगायतले यही विश्वविद्यालयबाट ईञ्जिनियरिङको पढाई सकाएका रहेछन् । त्यहाँ स्नात्तकोत्तर तहमा अध्ययनरत केही विदेशी विद्यार्थी तथा चिनियाँ शिक्षकहरुले नेपाली विद्यार्थीहरुको पढाई प्रतिको लगन, मिहिनेत र तीक्ष्णताको प्रशंसा गर्दथे । यसले पढाईमा उत्कृष्टता देखाउनु पर्छ भन्ने हाम्रो भावनालाई समेत मलजल गर्ने काम गरेको थियो । छात्रावासको क्याफ्टेरियामा काम गर्ने कामदारहरुलाई सिनियर नेपाली विद्यार्थीहरुले केही नेपाली शब्दहरु सिकाउनु भएको रहेछ । क्याफ्टेरियामा पुग्दा ऊनीहरुले हामी नेपाली भएको चाल पाएपछि हामीसँग ’नमस्कार’, ’धन्यवाद’ जस्ता शब्द प्रयोग गर्थे ।

चीन पुग्दाका शुरुवाती दिनहरुमा नयाँ ठाउँ र नयाँ परिवेशमा पुग्दाको रोमाञ्च र खुशीहरु थियो नै । विश्वविद्यालय (स्कूल) मा पुगेको केही दिनपछि घरमा तथा नेपालका मित्रहरुलाई चिठी लेखियो र स्कूलभित्रै रहेको हुलाकबाट पठाइयो । अहिलेको जस्तो इन्टरनेट, इमेल, फेसबुक वा विच्याटको जमाना आइसकेको थिएन । हामी भन्दा अघिल्लो ब्याचमा कम्प्युटर ईञ्जिनियरिङमा अध्ययनरत प्रेरणा गुरुङ दिदी तथा वहाँको भाइ प्रज्वल गुरुङले पेचिङको पेचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सार्ने चाँजोपाँजो मिलाइसक्नु भएको भएपनि पूर्ण रुपमा सरिसक्नुभएको थिएन । प्रेरणा दिदीले केही दिन हामीलाई स्कूलभित्र र वरिपरि बजार घुमाएर आवश्यक सेवा लिन पुग्नुपर्ने स्थानहरुसँग परिचित तुल्याउनुभयो । चीनमा त यताउता जान साइकल नभई नहुने रहेछ । मैले नेपालमा हुँदा पुल्चोकका आखिरी दिनतिर साइकल चलाउन अलिअलि मात्र सिकेको थिएँ । चीन गएपछि राम्रोसँग साइकल चलाउन अभ्यास गर्ने अवसर प्राप्त भयो । हामी किनमेलका लागि वा बाहिरफेर जाँदा प्रायः साइकल चढेर जाने गर्न थाल्यौं ।

शुरुवाती दिनहरुमा क्याफ्टेरियाको चिनियाँ खानामा त्यति बानी पर्न सकेको थिएन । छात्रावासमा एक भान्सा (किचेन) कोठा पनि हुँदो रहेछ । हामीले आफूलाई खाना पकाउन चाहिने अत्यावश्यक सामानहरु किन्यौं र आफैंले नेपाली खाना पकाएर खान थाल्यौं ।

हामी बसेको छात्रावासमा विदेशी विद्यार्थीहरु मात्र बस्थे । हामी बसेको भवन जम्मा पाँच तलाको थियो र हाम्रो कोठा पाँचौ तल्लाको सबभन्दा पल्लो छेउमा थियो । भवनको बिचमा हिंड्ने करिडर थियो ।भवनको भुईंतलाका केही कोठामा विदेशी विद्यार्थीसँग सम्बन्धित कामहरु गरिने कार्यालय रहेको थियो । हाम्रो कोठाको अगाडिपट्टि सिभिल इञ्जिनियरिङ पढ्न आएका एक जना यमनी विद्यार्थी बस्थे । यस विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्न आउने विदेशी विद्यार्थीहरुमा एशियाली र अफ्रिकी मुलुका विद्यार्थीहरु धेरै थिए । उत्तर कोरियाबाट पढ्न आएका विद्यार्थीहरुको संख्या उल्लेख्य थियो । यस बाहेक हामी त्यहाँ पुग्दा लाओस, मरिशस, श्रीलंका, बंगलादेश, इराक, सिरिया, प्यालेष्टाइन, यमन जस्ता एशियाली मुलुकहरु, तान्जानिया, रुवाण्डा, बुरुण्डी, गिनी, चाड, केमरुन, बेनिन, नामिबिया, मोरक्को लगायतका अफ्रिकी मुलुकहरु र युरोपको अल्बानियाबाट छात्रवृत्तिमा पढ्न आएका विद्यार्थीहरु भेट्यौं । उनीहरुले शुरुमा चिनियाँ भाषा पढ्थे र पछि आफ्नो विषयगत क्षेत्रको अध्ययनमा प्रवेश गर्थे ।

पहिले पहिले चीनमा पेचिङको ’पेचिङ भाषा तथा संस्कृति अध्ययन संस्थान’ मा मात्र चिनियाँ भाषाको अध्यापन गराइन्थ्यो र अनि मात्र अन्य विषयगत पढाइका लागि सम्बन्धित विश्वविद्यालयमा पठाइने गरिन्थ्यो । यस विश्वविद्यालयमा भने हामी आउनु भन्दा अघिल्लो वर्षबाट मात्र छात्रवृत्तिमा पढ्न आएका विद्यार्थीलाई चिनियाँ भाषा पढाउन थालिएको रहेछ । हामी भन्दा अघिल्लो ब्याचमा यसरी चिनियाँ भाषा पढ्नेहरुमा बंगलादेशका एक जना, श्रीलंकाका एक जना, बेनिनका तीन जना र यमनका एक जना रहेछन् ।

हाम्रो छात्रावासमा निजी खर्चमा चिनियाँ भाषा पढ्न आउने दक्षिण कोरियाली र जापानिज विद्यार्थीहरु प्रशस्त थिए । युरोपेली र अमेरिकी मुलुकबाट चिनियाँ भाषा पढ्न आउनेहरु पनि फाट्टफुट्ट थिए । निजी खर्चमा चिनियाँ भाषा पढिराखेका यी विदेशी विद्यार्थीहरु मध्ये कतिपय हाम्रै छात्रावास भवनमा बस्थे भने केही नजिकै जोडिएको हाम्रो भन्दा अझ सुविधायुक्त भवनमा बस्थे । सुविधायुक्त भवनमा बस्नेको आवास शुल्क पनि स्वतः महँगो हुन्थ्यो । हामी छात्रवृत्तिमा पढ्न गएकाका लागि भने सबै कुरा निःशुल्क हुने नै भए । हामीलाई त्यतिबेला एक महिनाको खर्च बापत ५५० युयानको छात्रवृत्ति दिइने गरिएको थियो, जसभित्र रहेर हामीले आफ्नो दैनिक खाना, लत्ता कपडा किन्ने तथा अन्य दैनिक खर्चहरु जुटाउने गर्थ्यौं । त्यस रकमले हाम्रो मासिक खर्च जेनतेन धान्थ्यो ।

हाम्रो कक्षा हाम्रै छात्रावास भवनको तेस्रो तल्लाको एउटा कोठामा हुन्थ्यो । बिहान आठ बजेदेखि कक्षा शुरु हुन्थ्यो । चिनियाँ भाषा सिक्ने हाम्रा पाठयपुस्तकहरु चिनियाँ र अंग्रेजी भाषामा थिए । भाषा अध्योन गराउनुहुने शिक्षक÷शिक्षिकाहरु तीन जना हुनुहुन्थ्यो । वहाँहरुमा हामीलाई चिनियाँ भाषाको सुनाई, बोलाई, पढाई र लेखाईको दक्षतामा तिखारेर एक वर्ष भित्रमा चिनियाँ भाषामा प्राविधिक विषयहरु पढ्न सक्षम बनाउन सक्नु पर्ने गुरुत्तर जिम्मेवारी थियो भने हामीमा पनि त्यही किसिमको प्रतिबद्धता, लगन र मिहिनेतको जरुरत थियो । यसका लागि एक वर्षको अवधिमा चिनियाँ भाषामा आफूलाई सकभर दक्ष बनाउने बाहेक अर्को विकल्प हामीसँग थिएन । चन्द्र र म दुवै जनाको शैक्षिक पृष्ठभूमि मजबुत जगमा खडा भएकोले यसमा धेरै आत्तिनु पर्ने अवस्था थिएन । तथापि चिनियाँ भाषामा आफूलाई जति दक्ष बनाउन सकियो, त्यति नै पछिका प्राविधिक विषयहरु राम्रोसँग पढ्न सकिने भएकोले हामी दुवै जनाले चिनियाँ भाषाको पढाईलाई गम्भीरतापूर्वक लिएका थियौं ।
हाम्रो मुख्य कक्षा शिक्षिकाको थर ’चउ’ थियो, जसको उमेर साठी वर्ष कटिसकेको थियो, तथापि वहाँ स्कूलको एक उत्कृष्ट चिनियाँ भाषा शिक्षिका हुनुभएकोले सेवा निवृत्त भईसकेपछि पनि स्कूलको अनुरोधमा अझै अध्यापनरत हुनुहुँदो रहेछ । वहाँलाई कत्ति पनि अंग्रेजी आउँदैनथियो, तर पनि विदेशी विद्यार्थीलाई चिनियाँ भाषा पढाउन सक्ने, बुझाउन सक्ने अदभूत कला वहाँसँग थियो । सबभन्दा ठूलो चिनियाँ चाड वसन्त उत्सव (छुन चे) का अवसरमा हाम्रो कक्षाका सबै विद्यार्थीहरुलाई वहाँको घरमा खाना खान निम्त्याउनु भएको थियो र हामीलाई चिनियाँ संस्कृतिसँग धेरथोर परिचित हुने अवसर जुराइदिनुभएको थियो । त्यसो त म एकचोटि रुघाखोकी, ज्वरोले ग्रस्त भएर बिरामी हुँदा घरबाट सुप लगायत खानेकुरा पकाएर ल्याइदिनुभई आफ्नै आमाले जस्तै वहाँले दिनुभएको स्नेह र ममतालाई कहिल्यै बिर्सन सकिन्न । आफ्नो अध्ययन जिन्दगीमा मलाई प्रभावित पार्ने अत्यन्त श्रद्धावान गुरु÷गुरुआमाहरु मध्येमा वहाँले पनि शीर्ष स्थान ओगट्नु हुन्छ ।

चिनियाँ भाषाको ’पढाई’ र ’सुनाई’ विषय पढाउनु हुने क्रमशः ’चाओ’ थर भएकी शिक्षिका र ’ली’ थर भएका शिक्षकमा पनि हामीलाई बुझाएर पढाउन सक्ने उत्कृष्ट क्षमता थियो ।

चिनियाँ भाषाको लेखाई, पढाई, सुनाई, बोलाई सबैमा दक्ष हुनु त्यति सरल र सहज चाहिं थिएन । चिनियाँ अक्षरहरुलाई एक एक गरेर सम्झनु पर्थ्यो । यी अक्षरलाई चिन्न, सम्झन र लेख्न धेरै अभ्यास गरिराख्नुपर्थ्यो । प्रायः एउटा अक्षरले एउटा शब्दलाई जनाउने हुँदा थुप्रै चिनियाँ अक्षरहरु याद गर्दै जानुपर्थ्यो । चिनियाँ भाषाको पढिएको एक वर्षको दौरानमा करीब तीन हजार वटा चिनियाँ अक्षरहरु चिनिए जस्तो लाग्छ । यति अक्षर चिनेपछि प्राविधिक विषयका चिनियाँ पाठ्यपुस्तकहरु पढ्न करीब सकिन्थ्यो । विषय अनुसार प्रयुक्त हुने चिनियाँ अक्षर र शब्दहरु पनि फरक फरक हुन्थे । विशेष गरी साहित्य, ईतिहास जस्ता विषयहरु पढ्न बढी चिनियाँ अक्षरहरु चिन्न सक्नुपर्थ्यो र यी विषयहरु चिनियाँ भाषामा राम्रोसँग पढ्नका लागि कम्तीमा छ–सात हजार जति चिनियाँ अक्षरहरु चिन्नुपर्छ जस्तो लाग्छ ।

चिनियाँ अक्षरहरु लेख्न शुरुका दिनहरुमा निकै कठिन लाग्थ्यो । अभ्यास गर्दै गएपछि सहज बन्दै जान थाल्यो । एक दुई वर्ष जतिको अभ्यास पछि त म चिनियाँ भाषा पनि अंग्रेजी भाषाकै गतिमा लेख्न सक्ने भएको थिएँ । शुरुका दिनमा चिनियाँ भाषामा आफ्नो नाम लेख्न समेत गाह्रो लाग्थ्यो । पछि बानी पर्दै गयो । मेरो थर ’श्रेष्ठ’ बाट चिनियाँ नाम, “साई स था’ मा परिणत भएको थियो भने अर्का साथी चन्द्र कान्त पौडेलको नाम ’पौडेल’ बाट ’पाओ द ल’ भएको थियो ।

हाम्रो भाषा कक्षामा जम्मा छ जना विद्यार्थीहरु मात्र भएको हुनाले हाम्रो पढाई सघन रुपमा हुन पाएको थियो । चिनियाँ भाषाको कक्षामा नियमित रुपमा परीक्षाहरु लिईराखिन्थ्यो ।कक्षामा चन्द्र र म दुवै जना अफ्रिकन र अल्बानियन विद्यार्थीहरु भन्दा धेरै अघि थियौं । एकचोटि एक अफ्रिकन क्लासमेटले गृहकार्य गर्दा चिनियाँ भाषाका केही अक्षरहरु लेख्न सकेनन् । उनले मेरो सहयोग मागे र मैले लेखिंदिएँ । हाम्री शिक्षिकाले ती अक्षरहरु उनैले लेखेको हो कि होइन भन्ने बारेमा शंका गर्नुभयो । मैले लेख्ने अक्षरसँग उनको गृहकार्य कापीमा लेखिएको अक्षरलाई दाँज्नुभयो र पत्ता लगाउनु भयो कि उनको कापीमा लेखिएका ती अक्षरहरु मेरा हुन् । हामी दुवै जना चोर पक्रा प¥यौं ।
सामान्यतया चिनियाँ अक्षरहरु देखेर हामीलाई ति अक्षर लेख्ने काम कठिन हुने जस्तो लाग्छ । वास्तवमा यो सही पनि हो, तर मलाई भने चिनियाँ अक्षर लेख्नु भन्दा चिनियाँ शब्दहरुको शुद्ध उच्चारण गर्ने काम अझ कठिन लाग्थ्यो । चिनियाँ भाषामा एउटै शब्दलाई फरक फरक चार ’टोन’ मा उच्चारण गर्न सकिन्छ र टोनको उच्चारण अनुसार तिनीहरुको अर्थ पनि फरक फरक लाग्न सक्छ । एउटै शब्दलाई चार फरक फरक ’टोन’मा उच्चारण गरेर शुद्ध चिनियाँ भाषा बोल्ने सिलसिलामा गल्ती भईराख्थ्यो । त्यस्तै सुन्दाखेरि पनि फरक फरक ’टोन’ मा बोलिएका ती शब्दहरुको उच्चारण विभेद छुट्टयाउन सक्नु पर्थ्यो ।

चिनियाँ अक्षरको लेखन र शब्द उच्चारणको तुलनामा मलाई चिनियाँ भाषाको व्याकरण भने निकै सहज लाग्यो, नेपाली र अंग्रेजी भाषाको व्याकरणसँग तुलना गर्दा ।

नेपालमा छँदा विज्ञान तथा प्राविधिक विषय पढ्न थालिसकेकोले, हामीलाई पहिलो एक वर्ष चिनियाँ भाषा मात्र पढेर बस्नुपर्दा अलिक उच्चाट र निरस लाग्ने भईहाल्यो । भाषाको कक्षामा बिताउने र गृहकार्य गर्ने बाहेकको अरु समय पनि हामीले प्रायजसोः भाषिक दक्षता अभिवृद्धिका लागि नै खन्यायौं । हुनत रुचि हुनेहरुले चिनिया ’थाईची’ खेल, चिनियाँ अक्षर लेख्ने कला ’क्यालिग्राफी’ हरु पनि सिक्न सक्थे, तर यी कुरामा खासै रुचि जाग्न सकेन ।

किनमेल बाहेक अन्य प्रयोजनका लागि स्कूल बाहिर बजारतिर डुल्न जाने काम खासै हुन्थेन । हाम्रो स्कूल ठूलो क्षेत्रफलमा फैलिएको थियो । स्कूलमा आधुनिक र पुराना वास्तुकलाका थुप्रै भवनहरु थिए । स्कूलको उत्तरी भेगतिर पुराना चिनियाँ वास्तुशैलीमा बनाइएका भवनहरु थए भने दक्षिणी भेगमा आधुनिक शैलीमा बनाइएका भवनहरु थिए । हाम्रो स्कूलको मूख्य प्रशासनिक भवन तथा धेरैजसो प्राविधिक विषयका विभागहरु पुरानो चिनियाँ वास्तुशैलीमा बनेका थिए । मेरो ईन्भाईरोन्मेन्टल ईञ्जिनियरिङ विषयको विभाग पनि यस्तै पुरानो चिनियाँ वास्तुकला शैलीमा बनेको सिभिल ईञ्जिनियरिङ विभाग रहेकै भवनभित्र थियो ।

मुख्य प्रशासनिक भवन तथा पुस्तकालयका अगाडि ठूल्ठूला पोखरीहरु थिए ।हाम्रो छात्रावास अगाडि पनि ठूलो पोखरी थियो । ती पोखरीको बिचमा र छेउछेउमा फराकिला बाटाहरु थिए । बाटोको छेउछाउमा लहरै रोपिएका रुखहरुले स्कूलको सौन्दर्यलाई बढाएको देखिन्थ्यो । सडक पेटीमा पोखरीको छेउतिर ठाउँ ठाउँमा बस्ने मेचहरु राखिएका हुन्थे । ती मेचमा बसेर मानिसहरु पोखरीको आकर्षक दृश्यमा आफूलाई भुलाउन सक्थे । सडक छेउका पेटीहरुमा मानिसहरु बिहान बेलुकी हिंडडुल गरिराखेका देखिन्थे । बाटोको बिचबिचतिर बनाइएका डबली जस्ता कतिपय फराकिला ठाउँहरुमा चिनियाँहरु बिहान बेलुकी शारीरिक व्यायामहरु गरिराखेका भेटिन्थे । स्कूलभित्र बिहान बिहान शारीरिक व्यायाम गर्नका लागि रेडियोमा चिनियाँ भाषाका ध्वनिहरु गुञ्जिरहेको हुन्थ्यो । हाम्रो रेडियो नेपालमा बज्ने धार्मिक कार्यक्रमका सुमधुर ध्वनि जस्तै शारीरिक व्यायामका लागि बजाइएका बिहान उठेर कहिलेकाहीं बाहिर दौड्न जाने क्रममा ती ध्वनिहरु सुन्दा आनन्द लाग्थ्यो ।

स्कूलभित्र दुई तीन वटा ठूला ठूला खेलकुद मैदानहरु थिए । ठाउँ ठाउँमा टेबिल टेनिस, ब्याडमिन्टन खेल्ने कोर्टहरु पनि थिए । मानिसहरुले आफ्नो रुचि अनुसार विभिन्न खेलकुद गतिविधिहरुमा आफूलाई सरिक गराउन सक्थे । हाम्रा धेरैजसो अफ्रिकन सहपाठीहरु फुटबल खेल्न रुचाउँथे ।टेबिलटेनिस खेल्ने सुविधा हाम्रै छात्रावासको भुईंतला मुनि पनि थियो, हामी कहिलेकाहीं टेबिलटेनिस खेल्न त्यहाँ जाने गर्थ्यौं । स्कूलमै केमिकल ईञ्जिनियरिङ पढ्ने एक जना सिनियर चिनियाँ विद्यार्थीसँग मेरो चिनाजानी भएर मित्रता गाँसिएको थियो । उनले मलाई राम्रोसँग टेबलटेनिस खेल्नका लागि धेरै सिकाए ।

कहिलेकाहीं चिनियाँ विद्यार्थी र विदेशी विद्यार्थीका बिचमा मैत्रीपूर्ण खेलकुद प्रतिस्पर्धाहरु पनि हुन्थे । एकचोटि यस्तै एक फुटबल प्रतियोगिता भएको थियो । विदेशी विद्यार्थीका तर्फबाट फुटबल टोलीमा गोलकिपरको भूमिका निभाउनेमा प्रायः हामीभन्दा एक ब्याच सिनियर यमनका ’अब्दुल्ला’ नामका विद्यार्थी हुन्थे । एक प्रतियोगितामा कुन्नि के कारणले हो, उनी उपस्थित हुन सकेनन् । म त्यस प्रतियोगितामा दर्शको रुपमा उपस्थित थिएँ । साथीहरुले मलाई नै गोलकिपरको भूमिका निभाउन अह्राए र म गोलकिपरको रुपमा बसें । मैले चिनियाँ विद्यार्थीहरुका थुप्रै गोल प्रयासलाई विफल बनाईदिएँ । विदेशी विद्यार्थीको टिमले त्यो प्रतियोगिता जित्यो । विदेशी विद्यार्थी साथीहरुले मेरो प्रशंसा गरे । मैले जिन्दगीमा फुटबल गोलकिपरको भूमिका निभाएको क्षण संभवत त्यही मात्र हुनुपर्छ, त्यो पनि संयोगले आइपरेको भूमिका थियो ।

थियानचीनमा दुई जना मात्र नेपाली विद्यार्थी भएको र त्यहाँ पुगेको केही समयपछि अन्य दुई जना सिनियर नेपाली विद्यार्थी पेचिङ सर्नुभए पछि हामी पनि कहिले विदा होला र पेचिङ जान पाइएला, अनि ग्रेटवालसम्म लगायतका स्थानहरु घुम्न जान पाइएला भन्ने उत्कट प्रतीक्षामा रहन्थ्यौं । शुरुमा त्यहाँको नौलौ वातावरणमा रमाएता पनि हामीलाई विस्तारै नेपालको आफ्नो घरपरिवार, साथीभाइहरुको सम्झनाले सताउन थालेको थियो ।नेपालमा रहँदा जस्तो धेरै पत्रपत्रिका, किताब पढ्ने मेरो बानीले चीनमा निरन्तरता पाउन सक्ने कुरो भएन । पेचिङ तथा अन्य शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुसँग कहिलेकाहीं फोनमा कुरा गर्थ्यौं । विशेषगरी चन्द्रका स्कूलमा (गण्डकी बोर्डिङ स्कूल, पोखरा) तीन–चार कक्षा पढ्दा देखिकै साथीहरु विनोद भट्टराई र तीर्थ उपाध्याय पनि हामीसँगै चीन पढ्न गएको हुँदा चन्द्र उनीहरुलाई बेलाबखत फोन गरिराख्थे । उनको घर पोखरामा भएको हुँदा घरपरिवारसँग पनि कहिलेकाहीं फोनमा बातचित गर्थे । मेरो गाउँ सल्यानटार, धादिङमा भने फोन सुविधा नपुगेको हुँदा घरपरिवारसँग फोनमा कुरा गर्न सकिने अवस्था थिएन । घरपरिवारसँग संवादका लागि चिठी लेख्ने विकल्प मात्र थियो, मसँग ।

हामीले जिन्दगीमा त्यो वर्ष पहिलो चोटि घरपरिवारसँगै बसेर दशैंतिहार मनाउने अवसर छुटाउँदै थियौं । हाम्रा घरपरिवारका लागि पनि हामी विनाको दशैंतिहार केही खल्लो हुँदैथियो । पेचिङमा भएका साथीहरु भने दशैंका बेलामा पेचिङस्थित चिनियाँ राजदूतावासमा भेला भएर संयुक्त रुपमा मनाउन सक्थे । त्यस पहिलो वर्ष दशैंको बेलामा हाम्रा केही आन्तरिक परीक्षाहरु चलिराखेकोले एक–डेढ घण्टाको रेलयात्राबाट पेचिङ पुग्न सकिने भए पनि त्यता जान सकेनौं ।

चीन आएदेखि नै पेचिङ जान प्रतीक्षारत हामीलाई, पहिलो सेमेष्टरको परीक्षा सकाएर पेचिङ जान पाउँदा, औधी खुशी लागेको थियो । एक डेढ घण्टाको बस वा रेल यात्राबाट पेचिङ पुग्न सकिहालिन्थ्यो । यात्रामा भेट हुने कतिपय चिनियाँहरुले हाम्रा बारेमा सोधपुछ पनि गर्थे । ती मध्ये कतिपयले नेपालका बारेमा सामान्य जानकारी राखेका हुन्थे ।कसैले नेपाल चीनको पुरानो र असल छिमेकी मित्र देश भएको कुरा बताउँथे । कतिपय चिनियाँको नजरमा भने नेपालको चिनारी एक गरीब र पिछडिएको देशको रुपमा मात्र थियो । चिनियाँहरु कहिलेकाहीं कुरैकुरामा अर्को वर्ष (सन् १९९७) हङकङ चीनमा विलय हुँदै गरेको ऐतिहासिक घटनाले नित्याउँदै गरेको खुशीलाई समेत हामीसामु पोख्थे । जे होस्, हाम्रा लागि भने रेलवे स्टेशनमा गएर टिकट काट्नु, रेल चढ्नु, रेलमा चिनियाँहरुसँग चिनियाँ भाषामा कनिकुथी कुरा गर्नु यी यावत विषयहरु जिन्दगीमा नयाँ सिकाईका अवसरहरु बनिराखेका थिए ।

पेचिङमा हामीसँगै चीन गएका थुप्रै नेपाली साथीहरु थिए भने विभिन्न विश्वविद्यालयमा अध्ययनरत अन्य थुप्रै सिनियर नेपाली विद्यार्थीहरु पनि । त्यतिबेला चीनमा नेपाली विद्यार्थीहरु सबभन्दा धेरै भएको शहर पेचिङ नै थियो भने त्यसपछि संघाई । नेपाली विद्यार्थीहरु भएका अन्य शहरहरुमा नानचिङ, हांगचउ, नानिङ, उहान, उसी, सिआन, तालियान, शेनयाङ र छाङछुन थिए । हामी पेचिङ जाँदा भाषा तथा संस्कृति अध्ययन संस्थान (युयान स्वेयुयान) मा हाम्रो वास हुने गर्थ्यो, जहाँ हाम्रा ब्याचका थुप्रै साथीहरु चिनियाँ भाषा अध्ययनरत थिए । हामी भन्दा सिनियर ब्याचका वसन्त श्रेष्ठ र हरिशदेव गौतम पनि दोस्रो वर्षमा चिनियाँ भाषा पढ्दै थिए । हाम्रा ब्याचका साथी तथा उनीहरुको साथ लागेर पेचिङका थियानमेन स्क्वायर, समर प्यालेस (ग्रिष्म दरबार) तथा अलिक पर पर्ने ग्रेटवाल लगायतका स्थानहरुमा पुगेका थियौं । युयान स्वेयुयान नजिकैको ’उताओ खउ’ बजार पनि डुल्न जान्थ्यौं । कुनै माछा पसलमा सर्प जस्तै लामा लामा माछाहरु बेच्न राखिएका हुन्थे । बेच्न राखिएका गंगटा लगायतका समुद्री जीवहरु देख्दा हामीलाई नौलो लाग्थ्यो ।

हाम्रो तुलनामा पेचिङ, नानचिङ लगायतका स्थानहरुमा भाषा पढ्ने हाम्रा ब्याचका साथीहरुले अन्य सिनियर नेपाली विद्यार्थीहरुको प्रत्यक्ष साथ र सहयोग समेत पाउने हुनाले नयाँ वातावरणमा घुलमिल हुनका लागि उनीहरुलाई अझ बढी सहज भएको थियो जस्तो लाग्छ ।

हामी पनि केही दिनका लागि अन्य साथीहरुसँग पेचिङमा बस्न पाउँदा खुशीले फुरुङ्ग हुन्थ्यौं । चिनियाँ भाषा पढ्नका लागि थियानचीनमा भन्दा पेचिङको युयान स्वेयुयानमा बढी रमाइलो वातावरण थियो जस्तो लाग्छ, किनकि त्यहाँ पचासौं देशबाट आएका विदेशी विद्यार्थीहरु चिनियाँ भाषा अध्ययनरत थिए ।पछि हाम्रै ब्याचमा चिनियाँ भाषा पढ्न आएका अनमोल रत्न तुलाधार पनि त्यहाँ थपिएका थिए ।

पेचिङमा ’नेपाली विद्यार्थी समिति’ भन्ने पनि गठन भएको रहेछ । त्यस समितिले चीनमा पढ्न गएका नेपाली विद्यार्थीहरुलाई विभिन्न सहयोगहरु पु¥याउने, खेलकुद प्रतियोगिता र नयाँ वर्ष लगायत अन्य अवसरहरुमा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने, वार्षिक म्यागेजिनहरु निकाल्ने लगायतका कामहरु गर्दो रहेछ । विस्तारै त्यस समितिमा नेपाली राजनीतिको प्रभाव पर्न थालेछ र अन्ततः त्यस समितिको सक्रियता बन्द हुँदै गएर नयाँ समिति गठन नै हुन नसक्ने अवस्थामा पुगेछ । हामी जाँदा नयाँ समिति बन्न सकिराखेको अवस्था थिएन । शिक्षा मन्त्रालय मार्फत छात्रवृत्तिमा चीन पढ्न गएकाहरुका लागि नेपाली राजदूतावास मार्फत प्रति महिना २० डलर पनि उपलब्ध गराईंदो रहेछ, तर छात्रवृत्तिमा पढिराखेका नेपाली विद्यार्थीका बिच नै यसले विभेद उत्पन्न ग¥यो भनेर यो सुविधा पछिल्ला दिनमा काटिएछ ।

कहिलेकाहीं छोटो समयका लागि पेचिङ जाँदा अधिकांश साथी तथा सिनियरहरु व्यक्तिगत रुपमा मिलनसार र सहयोगी पाइएतापनि मैले त्यहाँको समग्र नेपाली समाज भने त्यति स्वस्थ महसुस गर्न सकिंन । एक आपसमा डाहा, ईर्ष्या गर्ने, खुट्टा तान्ने, कुरा काट्ने, फरक पृष्ठभूमिबाट गएकाका विद्यार्थीहरु बिच एक आपसमा सम्मान गर्ने संस्कारको अभाव जस्ता आम नेपालीको नकारात्मक प्रवृत्तिको छनक त्यहाँ धेरै नै अनुभुत गर्न पाएँ ।

जे होस्, थियानचीनको भाषा पढाईको एकांगी जीवनबाट उम्केर छुट्टीका दिनहरुमा केही दिनका लागि पेचिङ जाँदा धेरै नै खुशी लाग्थ्यो । हामी एक आपसमा चीन बसाईका अनुभवहरु साटासाट गर्ने गर्थ्यौं । विशेषगरी सिनियर दाइ, दिदीहरुबाट उनीहरुका चीन बसाईंका क्रममा बटुलिएका अनेकौं तीतामिठा अनुभवहरु सुन्न पाउँदा हामी दंग पर्थ्यौं । तीमध्ये कतिपय अनुभवहरु हाम्रा लागि शिक्षाप्रद समेत हुन्थे ।

पेचिङमा भाषा पढिराखेका हाम्रा कतिपय साथीहरुले हिउँदे विदाको समयमा स्कूलबाट हारबिन (चीनको सबभन्दा उत्तरी प्रान्त हेलियोङच्याङको राजधानी) शहर घुम्न जाने अवसर पाएका रहेछन् । अत्यन्त जाडो हुने त्यस शहर (त्यहाँ जाडोमा माइनस बीस, तीस डिग्री सेन्टिग्रेड तापक्रम पुग्नु सामान्य कुरा हुन्थ्यो) र त्यहाँ आयोजना गरिने हिउँ उत्सवको बारेमा उनीहरुबाट गरिएको वर्णन सुन्दा हामी रोमाञ्चित भएका थियौं । त्यसो त हामी पनि विदाका समयमा पेचिङमा अध्ययनरत साथीहरुसँग उनीहरुको स्कूल भ्रमण टोलीमा मिसिएर पेचिङको छेउछाउतिर पर्ने पर्यटकीय स्थान लोङछिङस्या र पेचिङ उड्डयन संग्रहालय भ्रमण गर्न जाने अवसर पाएका थियौं । हाम्रा ब्याचका प्रदीप, तीर्थहरु पनि विदाको समय पारेर थियानचिन घुम्न आएका थिए र एक दुई दिन हामीसँगै थियानचिनमा बसेका थिए ।

वास्तवमा जिन्दगीमा पहिलो चोटि प्लेन र रेल चढ्ने अवसर मात्र होइन, हिउँलाई पहिलो चोटि स्पर्श गर्ने अवसर पनि चीनमा नै पाइयो । नोभेम्बर लाग्दा नलाग्दै थियानचीनमा हिउँ पर्न थाल्यो । पहिलो चोटि हिउँ परेको देख्दा र हिउँ स्पर्श गर्न पाउँदा खुशीको सीमै रहेन । हिउँ परिराखेको बखत टन्न न्याना लुगा लगाई बाहिर निस्केर डुल्यौं, हिउँ खेल्यौं, हिउँका मूर्तिहरु बनायौं, फोटो खिच्यौं र ती फोटाहरु चिठी मार्फत नेपालमा पठायौं । हिउँ पर्दा र हिउँमा खेल्न पाउँदा हामी भन्दा पनि हाम्रा अफ्रिकन साथीहरु अझ बढी रोमाञ्चित भएका थिए ।

हाम्रो विश्वविद्यालयसँगै नानखाइ विश्वविद्यालय नामक चीनको अर्को एक प्रसिद्ध विश्वविद्यालय पनि जोडिएको छ । यो विश्वविद्यालयमा चीनका भूतपूर्व प्रधानमन्त्री चउ एन लाइले अध्ययन गरेको हुनाले अझ बढी प्रख्यात छ । यस विश्वविद्यालयमा पनि थुप्रै विदेशी विद्यार्थीहरुले अध्ययन गर्दथे । त्यहाँका विदेशी विद्यार्थीहरु हाम्रो विश्वविद्यालय र छात्रावासतिर घुम्न आउँथे भने हामी पनि कहिलेकाहीं त्यतातिर घुम्न जाने गर्थ्यौं । त्यस विश्वविद्यालयमा ’अलिबाबा’ नामको एक रेष्टुरेण्ट थियो, जुन विदेशी विद्यार्थीका लागि जमघट हुने स्थान बनेको थियो ।

चन्द्र र म दुवै जना मदिरापान नगर्ने र चीन पुगेपछि पनि कुनै किसिमको मदिरापानमा रुचि नजागेकोले मदिरापान गर्ने कुनै रेष्टुरेण्ट वा डिस्कोहरु हाम्रा आकर्षणका गन्तव्य बनेनन् । विदेशी विद्यार्थीहरुले आफ्नो स्वभाव, रुचि र प्रकृति अनुसार विदेशी वा चिनियाँ मित्रहरु बनाउने गर्थे । कतिपय विदेशी विद्यार्थीहरुले विपरितलिंगी साथीहरुसँग गाँसेको मित्रता प्रणयसम्बन्धको रुपमा विकसित भएर पनि जान्थ्यो । चन्द्र र म दुवै जना बाहिरी घुमघाममा रुचि नराख्ने र सम्बन्ध विस्तारका लागि धेरै जनासँग घुलमिल नहुने स्वभावका भएको हुँदा हाम्रो धेरैजसो समय पढाई र खालि समयमा स्कूल परिसरको घुमघाममा नै बित्यो । कहिलेकाहीं पुस्तकालयतिर गएर केही अंग्रेजी पुस्तक, पत्रिकाहरु पढ्ने पनि गर्थ्यौं । चीनको नयाँ वातावरणमा मेरो पुल्चोकको जस्तो सक्रिय जीवन कतिपय हिसाबले संभव थिएन । कतिपय चिनियाँ विद्यार्थीहरुमा भने अंग्रेजी भाषा सुधार गर्नका लागि भएपनि विदेशी विद्यार्थीहरुसँग सम्पर्क र सम्बन्ध विस्तार गर्ने चाह पनि भेटिन्थ्यो ।

थियानचीन शहरमा बेलाबखत विभिन्न टेलिसिरियल, फिल्महरुको छायांकन गरिंदो रहेछ । त्यस सिलसिलामा कुनै कुनै दृश्यहरुको छायांकनको क्रममा विदेशीहरुको जरुरत पर्दो रहेछ । यसका लागि सम्बन्धित चिनियाँ व्यक्ति विदेशीहरु खोज्नका लागि विश्वविद्यालयका विदेशी विद्यार्थीहरुको छात्रावासमा आउँदा रहेछन् । यस क्रममा हामीले त्यस्ता थुप्रै छायांकनका अवसरहरुमा सहभागी हुने मौका पायौं । त्यसमा सहभागी भए बापत हामीलाई घण्टाको हिसाबले पारिश्रमिक पनि दिइन्थ्यो । पक्कै पनि हाम्रा यस्ता सहभागिताहरु कक्षा नभएका वा विदाका समयमा हुन्थे ।एकचोटि यस्तै छायाकंनको क्रममा श्रीलकंन विद्यार्थी र हामीले ड्रेस लगाएर भारतीय प्रहरीको भूमिका निबाउँदै उभिएका थियौं, अन्य कुनै अभिनय गर्न वा बोल्नु चाहिं पर्दैनथ्यो । ती टेलिसिरियल वा फिल्मका कथाका बारेमा हामीलाई केही थाहा हुने कुरा भएन, हामीले जान्ने चासो पनि राखेनौं । यस्ता अवसरहरु जुट्दा हामी विदेशी विद्यार्थीहरु रमाई रमाई हुल बाँधेर जाने गर्थ्यौं ।

हामी गएको एक हप्ता जतिमा नै चेक गणतन्त्रबाट चीनमा भाषा पढ्न आएका एक विद्यार्थी हामीकहाँ पाहुना हुन आइपुगेका थिए । उनले पेचिङमा नेपाली विद्यार्थीहरुसँगै चिनियाँ भाषा पढेका रहेछन् र पेचिङका नेपाली विद्यार्थीबाट हाम्रो सम्पर्क नं प्राप्त गरेर थियानचीन घुम्ने क्रममा, हाम्रो पाहुना हुन आइपुगेका रहेछन् । वास्तवमा घुमफिरको आनन्द लिने मामलामा हामी भन्दा युरोपियनहरु धेरै अगाडि रहेछन् भन्ने लाग्यो । उनी थियानचीनमा घुम्नुपर्ने प्रमुख गन्तव्यहरुको सुची बनाएर आएका रहेछन् । उनको साथ लागेर हामीले पनि थियानचिन शहरका प्रमुख गन्तव्यहरुमा पुग्ने अवसर पायौं । हामी उनीसँगै थियानचीनको टेलिभिजन टावर, सुईसाङ पार्क, प्राचीन संस्कृति मार्ग (कु वेन ह्वा चे), प्रसिद्ध खाद्यवस्तु बजार (स्रफिन चे) लगायतका स्थानहरु घुम्यौं । ’स्रफिन चे’ मा पाइने प्रसिद्ध चिनियाँ मोमो (कउ बु लि पाओ च) पनि चाख्यौं, जसका लागि टोकन काटेर लामो लाइन लाग्नुपर्थ्यो, एकताका नेपालको एभरेष्ट मोमो वा महाबौद्ध र जमल नजिकैको मोमो पसलमा जस्तै । त्यसो त, पछि स्कूलले पनि हामीलाई थियानचीनका प्रमुख पर्यटकीय वा अन्य महत्वपूर्ण स्थानहरुमा लगेर घुमाएको थियो ।

स्कूलले हामी विदेशी विद्यार्थीहरुलाई पछि विदाको समयमा (’मे एक’ को श्रम दिवसको अवसरमा) संघाई र हांगचउ शहरको भ्रमणमा लगेको थियो र ती शहरका प्रमुख पर्यटकीय गन्तव्यहरु घुम्ने अवसर पाएका थियौं । अन्य थुप्रै विदेशी विद्यार्थीहरुसँगै गरिएका त्यस भ्रमणका थुप्रै स्मरणयोग्य क्षणहरु अझै पनि मेरा मानसपटलमा ताजा छन् । यी दुवै शहरहरु विदेशीका लागि चीनका प्रमुख पर्यटकीय गन्तव्यहरु हुन् । हांगचउको पश्चिमी तलाउ (सिहु) को प्राकृतिक सौन्दर्य चिनियाँ वा विदेशी पर्यटक सबैका लागि चिरकालदेखि आकर्षणको केन्द्र बनेर उभिरहेको छ । त्यस बाहेक हामीले ’सिहु’ आसपासमा रहेका अन्य थुप्रै साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थानहरुमा पनि पुगेका थियौं । त्यहाँको एक मन्दिरमा पुग्दा हामीसँगै गएका चिनियाँ शिक्षकले धुप बालेर मन्दिर तिर फर्कदैं नमस्कार गरेको दृश्य देख्दा चीनमा कम्युनिज्म स्थापना भएपनि जनजनको ह्रदयमा रहेको धार्मिक आस्था पूरा निमिट्यान्न हुन सकेको रहेनछ भन्ने लाग्यो । चिनियाँ साँस्कृतिक क्रान्तिका ताका ध्वस्त पारिएका हांगचउका कतिपय साँस्कृतिक सम्पदाहरुको पछि पुनरोद्धार गरिएको थियो । संघाई शहरको भ्रमण गर्दै गर्दा भने विश्वकै एक प्रमुख व्यापारिक र व्यस्त शहरको रुपमा आफूलाई चिनाउन अघि बढ्दै गरेको संघाईलाई नजिकबाट नियाल्ने मौका पायौं ।

स्कूलको गर्मी विदामा तालियन शहरको भ्रमण ग¥यौं । यस भ्रमणको व्यवस्था पनि स्कूलले नै मिलाएको थियो ।यो भ्रमण हुँदा हाम्रो पहिलो वर्षको चिनियाँ भाषाको पढाई सकिसकेको थियो । थियानचिन नजिकै पर्ने यसै शहरको बन्दरगाह ’थाङकु’ बाट पानीजहाज चढेर हामी तालियान पुगेका थियौं । फर्कंदा भने रेल चढेर थियानचीन आइपुगेका थियौं । करीब बीस–बाइस घण्टाको पानी जहाज यात्रापछि हामी थियानचीनबाट तालियान पुगेका थियौं र यो हाम्रो पहिलो पानीजहाज यात्रा थियो । यो मेरो अहिलेसम्मको अन्तिम पानीजहाज यात्रा पनि हो । समुद्र (पोहाई सागर) मा पानीजहाजमा यात्रा गर्दाको अनुभुति नै अर्को हुने । जहाजको चारैतिर जताततै समुद्रको नीलो पानी । खाने, सुत्ने र अन्य मनोरञ्जनको व्यवस्था पानीजहाजभित्रै । विशेषगरी साँझको समयमा सूर्यास्त हुँदै गर्दा जहाज बाहिरको छेउमा उभिएर गर्दाको बाहिरको दृश्यावलोकन र चिसो बतासको अनुभुति आजपर्यन्त पनि अविस्मरणीय रहेको छ ।

तालियन चीनको लियाओनिङ प्रान्तको दक्षिण पुर्वी भागको समुद्री तहमा रहेको एक प्रमुख शहर हो । मलाई तालियान शहर निकै सुन्दर, आकर्षक र स्वच्छ लाग्यो । हामीले त्यहाँको समुद्री किनारहरु, सिङहाई पार्क, औद्योगिक क्षेत्र, चिडियाखाना, समुद्री तटको वरपर रहेका दृश्यावलोकन मार्गहरुको भ्रमण ग¥यौं । चिडियाखानामा प्रशिक्षित बाघहरुको चटक पनि हे¥यौं । मलाई चीन बसाई र घुमघामका क्रममा सबभन्दा मन परेको शहर तालियान नै हो ।

हाम्रो एक वर्षको चिनियाँ भाषाको पढाई सकिएर प्राविधिक विषयको अध्ययन शुरु गर्नु अघि राष्ट्रिय स्तरको चिनियाँ भाषाको दक्षता परीक्षा (एच.एस.के.) मा सामेल हुनुपर्थ्यो । प्राविधिक विषय पढ्ने विद्यार्थीले कम्तीमा तीन तह उत्तीर्ण हुनुपर्थ्यो । तह एक देखि तीन सम्मलाई तल्लो तह, तह तीन देखि छसम्मलाई मध्यम र त्यसभन्दा माथिलाई उच्च तहको रुपमा वर्गिकरण गरिएको थियो । हाम्रा शिक्षकहरुले कम्तीमा चन्द्र र मैले सकभर माथिल्लो तहमा उत्कृष्ट नतीजाका साथ चिनियाँ भाषा दक्षता परीक्षा उत्तीर्ण गरोस् भन्ने चाहना राख्नु भएको थियो । त्यस परीक्षाका लागि हामी दुवैले राम्रोसँग तयारी पनि गरेका थियौं । हाम्रो मिहिनेत खेर गएन । हामी दुवै जनाले राम्रो तहमा चिनियाँ भाषाको परीक्षा उत्तीर्ण गर्याैँ ।

क्रमश…

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्