Logo

सम्झनामा काठमाडौंका घरबेटी !



Spread the love

 

 

मलाई अचम्म लाग्छ। यो ‘घरबेटी’ शब्द, साच्चै कसले फुरायो होला, कसले जुरायो होला ! ‘घरको मालिक’ होइन कि बरु ‘घरमा बेटी भएकाहरू’लाई चै खासमा घरबेटी भन्नू पर्ने होइन र !

खैर ! जेसुकै होस्। तर, साच्चै ‘घरबेटी’ शब्द निकै महान छ। इज्जतदार, शानदार, धमाकेदार, दमदार।

कैलेकसो यो फुच्चे दिमाग सोच्न थाल्छ कि, यी घरबेटीहरू खासमा सामान्य मान्छेहरू भन्दा केही अलगै चिजले बनेका हुन्छन्। केही अलगै रसायन, केही अलगै संवेदना, अनि अलि केही भिन्दै संरचना।

जेहोस् ! घरबेटीहरू अपरम्पार छन्, महान छन्। उनीहरूको महानता बारे म त के, सिंगो इन्द्रेको बाउ चन्द्रेले पनि के बताउन सक्ला र खोइ !

तैपनी, आउनुहोस् ! आज भन्दा करिब ६ वर्ष अघि गाउँबाट शहर छिरेको फुच्चे प्रमोदका केही “घरबेटी अनुभव” बारे चर्चा गर्दै, संसारका सम्पुर्ण घरबेटीको होलसेलमा याद गरौँ, स-सम्मान सम्झना गरौं।

घरबेटी नं १

सत्तरी सालको गर्मीयाम। म बबुरो, गाउँबाट एसएलसी दिएर भर्खरै शहर आएको थिएँ। शहरबारे बिल्कुल अन्जान। घरमा खुबै माया पाएर मात्तिएको म, शहरको बिरानोपनमा निकै अत्तालिदै थिए। उराठलाग्दो कोलाहल, गर्मीको मादकता र अपरिचितहरुको भिड। अझ विशेष त घरबेटीको कचकच। अहो !

५ तले घर। ३ तला घरबेटी, २ तला भाडामा। हामी बस्ने ग्राउन्ड फ्लोरमा।

घरमा छोरा घरबेटी र बाउ घरबेटीको सधैं झगडा पर्ने। एक्लो छोरो, एक्लो बाउ, झगडा किन गरेका मैले कहिल्यै बुझिन। अनि, जबजब घरमा घरबेटी बाउ-छोराको झगडा पर्थ्यो, हामी सब थर्कमान हुन थाल्थ्यौं। किन्तु बाउ सँग झगडा परेसँगै छोरो चाइने सबै भाडावालहरू सँग कस्सिदै झम्टिहाल्ने। मान्छे हेर्दै पनि ज्याङ्गो, झन रिसाउदा त राक्षसै जस्तो देखिन्थ्यो मोरो। मलाई असाध्यै डर लाग्थ्यो।

समस्या यति सम्म थियो कि, छोरालाई कोठाभाडा बुझायो, बाउ रिसाउने। बाउ चाहि लाई दियो, छोरो भुत्भुताउने। लौ आपत !

अन्ततः हुक्क दिक्क आजितै भएपछी त्यहाँबाट कोठा सार्ने निधो गरियो।

धमाधम कोठा खोज्न थालियो। पसल-पसलमा छापा मार्दै, घरघरका झ्यालका पर्दा हेर्दै-नियाल्दै, भेटे जतिकालाई सोध्दै-पुछ्दै बल्ल तल्ल एउटा ठिकठाकको कोठा भेटियो, ललितपुर च्यासलमा।

घरबेटी नं २

साढे ६ तले घर। आसपासमै सबैभन्दा अग्लो। घरमा घरबेटी आन्टी मात्रै, अंकल बिदेशी लाउरे। घर बिल्कुल व्यवसायिक।

घरभरी लगभग १० देखि १२ परिवार बसिरहेका हुदा हुन्। हामी पनि त्यही भिडमा कोचकाच मिसिन आइपुग्यौं। पहिलो तल्ला, पुर्व फर्किएको कोठा।

घरबेटी आन्टी बहुतै अजिबकी मान्छे। मंगोलियन सुन्दरताले टलक्कै टल्किएकी। बुढेसकाल लागेको त लगभग पत्तै नहुने। दुई बडेमानका जर्मन सेफर्ड कुकुर पालेकी थिइन्। साह्रै भुकिरहन्थे मोराहरु। निकै डरलाग्दा। कहिलेकसो यसो कौसीमा कपडा सुकाउन जाँदा पुरै सातो खाइदिन्थे। कुकुर देखि सानैदेखिको मेरो दुश्मनी त्यहाँको बसाइँ पछि अझै प्रगाढ हुँदै गैरहेथ्यो।

आन्टी निकै रोमान्टिक। सधै मिठा सुमधुर प्रेमिल कुरा गरिरहन्थिन्। तर कैले कसो भने बुढी यति सम्म रोमान्टिक भैदिने कि, छेउछाउ बस्नै गाह्रो पर्ने।

एकदिनको कुरा पानी भर्न म कौसीमा गएको थिए। सँगै रैछिन्, ग्राउन्ड फ्लोरमा बस्ने आन्टीकी छोरी मिस अनिता पनि। घरबेटी आन्टी र ऊ गफ्फिदै रैछन्। म सुरुसुरु पानी भर्दै थिए, आन्टीले बोलाइ हालिन्।

“ए बाबू ! कतिमा पढ्छौ हो तिमी ?”

“आन्टी ! अहिले एघार क्लासमा।”

“हेर्दा यित्रो फुच्चे छौ, पढ्नमा चै कति टाठो हो गाँठे !”

म ङिच्च परे।

“यी गाउँबाट आकाहरू कति पढ्न सकेका हुन् हो !”

आन्टी छेउकी अनिता तिर औल्याउदै भन्न थाल्छिन्;

“हाम्रा त यी खोइ उमेर बढ्यो कि खाली … मै पुरै ध्यान लगाएर मर्छन् त ए गाँठे ! गर्लफर्यान्ड-ब्वाइफ्र्यान्ड बनायो, डुल्यो, डुब्यो। ऊ ! आफू नि त्यै गरियो क्यारे।”

उनी खितखित गर्दै बडो जोडले हास्न थालिन्। उनको हाँसो साच्चै डरलाग्दो थियो। कम्तिमा म बबुरोको सास उडाउन काफी। र त, म बिल्कुल लजालु अन्दाजमा बस् ट्वाल्ल परेर हेरिरहे मात्र।

कैलेकसो आन्टी झनक्कै रिसाएको पनि देखिन्थ्यो। उनको शर्त अनुरुप हामी एउटा कोठामा बसेको नाताले केवल तिनजना मात्रै बस्ने अनुमती थियो। तर जब जब घरबाट पाहुना आउन पुग्थे, तब तब आन्टीको मुड खराब हुन थाल्थ्यो। रोमान्टिक उनको अनुहार, एकाएक डरलाग्दो हुन पुग्थ्यो। अनि, एकोहोरो बकबक र कचकचले घर पुर्ण त गुञ्जायमान हुन थाल्थ्यो। हामी बस् रंग उडेका फुङ्ग अनुहार बनाएर चुपो लाग्न पुग्थ्यौं। के बोल्नु ! मेरो त लगभग होश हवास नै उड्थ्यो,  उनको तान्डबी नृत्य देख्दा।

जेहोस् ! जसोतसो सहिरहेकै थियौं, चलिरहेकै थियो। तर अचानक दुइटा कोठाको आवश्यकता देखिए पछि, केही महिना लगत्तै हामी फेरि झोली-झ्याम्टा बोकेर कोठा सार्ने तरखरमा लाग्यौं।

यसपालि कोठा अलि सजिलै भेटियो। सानो चिटिक्कको।

घरबेटी नं ३

नयाँ कोठाको मुख्य विशेषता थियो, घरबेटीको परिवार छुट्टै घरमा बस्थे। अर्थात् अबको बसाई बिल्कुल मनमौजी। नो किचकिच, नो डरधम्की। बस् ! एक शानदार बसाइँ। हामी सबै सुरु मै खुसी भयौं।

बस्न थालेसी खुसीको मात्रा झनै बढ्दै गयो। कौसीमा मनलाग्दो जान आउन पाइने, राती जति बेला आए पनि हुने, घरबेटीको डरैडरमा मरीमरी बाँच्नु नपर्ने, हल्का फुल्का फोहोर भैहाले पनि त्यति किचकिच सुनिरहनु नपर्ने। पानी पनि ठिकैको कामचलाउ। बस् ! कोठाभाडा समय मै बुझाए पुग्यो। मतलब शानदार जबर्जस्त मस्तमौला जिन्दगी।

घरबेटी आन्टी, जसलाई हामी सबैले माँ भन्ने गर्थ्यौं, त्यो घरमा केवल दुइटा कामले आउने गर्थिन्। एउटा कौसीको स्टोर रुममा लोकल रक्सी या छ्याङ बनाउन अनि अर्को चै महिना पुगेपछी भाडा उठाउन।

बुढीलाई बस् ! टाइममा कोठाभाडा दिए पुग्थ्यो। तर, कदमकदाचित यसमा आनाकानी या ढिलासुस्ती भएको खन्डमा भने बुढी पुरै फायर हुन पुग्थिन्। भएभरका हाम्रा गल्ती कमजोरीहरू उनी एकैचोटि त्यतिबेलै निकाल्थिन्।

“ह्या ! यो ट भएन। हुडै भएन। यो भाइहरू नि बिग्र्यो हो। कैल्यै ट्याममा भाडा डिनु छैन। रुम पनि कति फोहोरी बनाको। छ्या ! हुडैन है, यसरी त। भन्डेको छ मैले।”

किनकिन म बबुरोलाई यी बुढी असाध्यै डरलाग्दो लाग्थ्यो। उनको बोली सुन्यो कि धड्कन एकाएक बेतोडले हल्लिन थाल्थ्यो, मुख एकाएक सुक्न पुग्थ्यो र म बिल्कुल मौन।

घरको सबै जिम्मा ‘माँ’ को थियो। भाडा उठाउने अनि मासु पसलबाट मासु ल्याउने, रक्सी पार्ने, खाने-ख्वाउने। बस् ! उनको जिन्दगी यी-यस्तै भुमरीमा बितिरहेको देखिन्थ्यो। घरबेटी बा, नामुद ठेकेदार, बुढ्यौलीमा पनि शानदार बाइकमा हुइकिन्थे। छोराहरू तिनजना, एउटा बिदेशमा बाकी दुइजना चै बाउलाई ठेक्का पट्टामा सघाउने। मान्छे हेर्दै डरलाग्दा। राँगाको मासुले उनीहरुको शरीर नै सिङ्गो राँगा जस्तै बनेको थियो। घरी बुलेट, घरी ड्युक त घरी कारमा रवाना भैरहन्थे उनीहरू।

एक रातको कुरा। हामी बसेको टोलमा ठुलै ग्याङ फाइट पर्यो। सुतिसकेको म बबुरो, चर्को हल्लाले झसङ्गै ब्युझिए। घरका सबैजना बार्दलीबाट चियाएर हेर्न थाल्यौं। हाम्रो टोलकाहरूले अर्को टोलका केही केटाहरूलाई भक्कु कुट्दै रैछन्। घरी हेल्मेटले, घरी इट्टै-इट्टाले। यसो हेरेको त, लामो तरबार टलक-टल्स्क नचाउदै, कुट्दै गरेका मुख्य नायक त हाम्रै घरबेटीका छोरा पो रैछन्। हामी दंग पर्दै, फुङ्ग डरायौं। मेरो मुख धेरै पछि सम्म पनि बस् खुल्लै भैरह्यो।

त्यस दिन पछि त हामी बिल्कुल होशमा आइसकेका थियौं। सुरुसुरु रुमको भाडा तिर्ने, बेलाबेलामा सरसफाइ पनि गरिरहने, माँलाई यसो भेटेको बेला नमस्ते टक्राउने अनि छोराहरू देखे सकभर टाढै बस्ने।

यिनै यस्तै केही मस्तमौला त केही भयानक ३ वर्ष बिताए पछि हामी फेरि कुम्ला बोकेर लाग्यौं, अर्को कोठा खोज्दै अर्कै स्थानतिर। चराले आफ्ना बचेरा र गुड सारे जस्तै।

घरबेटी नं ४

४ नंबरी घरबेटी परिवार एकदमै सानो थियो। अंकल, आन्टी र एक सुपुत्र। अनि, जर्मन सेफर्ड र लोकल कुकुरको संयोजनबाट जन्मिएको एउटा हाइबृड कुकुर, ‘ज्याक’।

अंकल-आन्टीको जोडी लभ म्यारिजवाला। आन्टी बस्ने बानेश्वर, अंकल पाटनमा। दुइजनाको भेट्ने ठाउँ, उहीँ शंखमुलको पुल। अंकल मान्छे निकै फिल्मी-म्युजिकल, आन्टीलाई नि लगे फिल्म हल तिर। पहिलो डेटिङ स्पट, सिनेमा हल। अंकल पतरपतर बोलिरहने, गुनगुन गाइरहने, आन्टी भने बस् आफ्नो सिग्नेचर अन्दाजमा मुसुमुसु मुस्कुराइरहने रे।

आन्टीबाट यो रोमान्टिक स्टोरी सुन्न पाउँदा म निकै दंग परेको थिए त्यो दिन। हुन त सधैं जसो उनीसँग केही न केही मिठा गफगाफ भइ नै रहन्थे। अझ त्यसमा पनि त्यो दिन अझ खास थियो।

आन्टी निकै सोझी, मिजासिली, कहिल्यै कसैको मन हत्तपत्त नदुखाउने। हरेक भेटको सुरुवात आफ्नो ब्रान्डेड मुस्कानबाट गर्ने। सोलडोलमा बहुतै गज्जबकी मान्छे। घरबेटी भएर पनि लाग्थ्यो, बरु उनी चै बहालमा बस्दै छिन्, हामी हौं घरबेटी।

परिक्षाको बेला म अक्सर बिहान सबेरै कौसीमा पढ्न जान्थे। लुगलुग कठ्याङ्गृदै जसोतसो पढ्दै हुन्थे म, आन्टी एकाएक मुस्कुराउदै एक कप मीठो चिया ल्याएर म भए ठाउँ आइपुग्थिन्। म निकै अप्ठ्यारो महसुस गर्न थाल्थे। घरीघरी त लाग्थ्यो, उनी घरबेटी हैन अपितु मेरी आफ्नै आमा हुन्। जसले मेरो सबै मन बुझ्न सक्छिन्। निसन्देह माया दिन सक्छिन्।

उनी भन्न थाल्थिन्;

“यो बाबूहरू त कति मेहेनत गर्न सकेको बाइ ! त्याँ पहाडबाट आएर, यसरी आफै खाना पकाएर, सबै सहेर-खपेर बसेको छन्, पढेको छन्। खै ! हाम्रो बच्चा त केही नि गर्न मन गर्दैन। मान्छेलाई चै दुख नै चाइने रैच बाइ।”

उनको प्रशंसाले मेरो भताउरे नाक अझै फुलेर आउथ्यो। म नजानिदो पारामा गमक्क पर्न पुग्थे।

उनी बोलिरहदा मलाई निकै माया पनि लागेर आउथ्यो। आफू अनपढ भएकोमा उनी सधैं गुनासो पोख्ने गर्थिन्। हाम्ले अलिअली कैलेकाही किताब हेरेको देखेपनी खुबै मेहेनत गरेको देख्थिन्।

कौसीका गमलाभरी फुल रोप्ने उनको ठूलो सोख। आफ्ना आँखाले रंगीचंगी फुल हेर्न नसक्ने भए तापनी उनी जहिल्यै केही न केही फुल रोपिरहेकै हुन्थिन्, पानी-मल राख्दै हुर्काइ रहेकै हुन्थिन्।

घरीघरी उनी केही मिठा सपना बुन्थिन्, सुन्दर-शान्त ठाउँमा ठूलो कम्पाउन्ड भएको एउटा सानो चिटिक्कको घर किन्ने। आँगनैभरी फुल, तरकारी रोप्ने अनि बिहान-साँझ त्यसमा गोडमेल गर्दै बस्ने। अहो ! उनको सपना साच्चै मीठो लाग्थ्यो मलाई। साच्चै ! उनी मान्छे बहुतै गज्जबकी थिइन्।

न त कैल्यै भाडाको लागि किचकिच भो, न त अरु नै केही। साच्चै उनी निकै सुन्दर थिइन्। उनलाई देखेसँगै मेरो घरबेटी प्रतिको सम्पुर्ण नजरीया नै बद्लिन पुग्यो। उनी सँगको मिठो सम्बन्धले, सम्पुर्ण नेवारी समुदायलाई हेर्ने मेरो दृष्टिकोण मै उथलपुथल ल्याइदियो।

तर दुर्भाग्य ! यति सुन्दर मन भएकी उनी आफै भने बिल्कुल पिडामा बाचिरहिथिन्। आफै पनि आखाको बिरामी, झनै त्यसमा अंकल पनि सधैं बिरामी भैरहने। आन्टी आफैले केही कमाउन नसक्ने, सबै भर अंकल कै। उनी नै अशक्त भएपछि, ऋणको ठूलो चङ्गुलमा फसेर उनीहरू त्यो घर नै बेच्न बाध्य भए। त्यसरी आफ्नो रगत र पसिनाले बनाएको घर बेच्नु पर्दा बिचरा उनीहरूको मन कति विधि दुखेको हुदो हो। मलाई दया लाग्थ्यो उनीहरूको त्यो दयनीय हालत देख्दा।

अन्ततः उनीहरूले घर बेचेरै छोडे। घर बेचेपछी हामीलाई पनि त्यहाँ बस्नै मन लाएन। घरबेटी सँगै हामी पनि लाग्यौ, अर्कै ठाउँ, अर्कै बसाइँ।

घरबेटी नं ५

पाँचौ घरबेटी अर्थात अहिलेका घरबेटी। दुई महिना भैसक्यो बस्न थालेको तर खोइ अझै पनि रामरी चिनापर्ची छैन। मुस्किलले २-३ पल्ट भेटें होला, त्यो पनि आक्कल झुक्कलमा। भाडा दिन पनि आफै जानू पर्छ उनकोमा। कहिल्यै केही भन्न आउदैनन्। न केही कचकच, न त आत्मीयता। बस् ! एक अनौठो शुन्यता। घरीघरी त झोक चल्छ, अरे यार ! कैलेकाही त आऊन न घरबेटी नि यसो थोरबहुत कचकच गर्दै। केही मज्जै भएन नि हो।

धन्न ! फुच्चा-फुच्ची भने बेला बेलामा आइरहन्छन्। निकै प्यारा छन्। हुन्छन् नि कोइकोइ एकदमै स्वीट खाले। हो त्यस्तै। यस्ता प्यारा बच्चाहरू जन्माउने आमा-बा त्यति स्वीट नहुन् पनि त कसरी !!

अन्त्यमा…

खैर ! जे-जस्ता तिता मिठा यादहरू भए तापनि थरीथरीका घरबेटीले थरीथरीका मिठास दिदै जिन्दगीलाई निकै जबर्जस्त बनाइ दिएका छन्।

काठमाडौ बसाईका ६ वर्षमा भेटिएका यी ५ घरबेटीहरू, जिन्दगीभर स्मृतिको कोलाजमा सदा जिवितै रहि रहनेछन्।

जय घरबेटी !

जय भाडावाल जिन्दगी !!

लेट्स ह्याब सम,

‘टेस्ट अफ एड्भेन्चर’,

चियर्स जिन्दगी !!!

सल्लेरी विशेषबाट थपः

मैले देखेको पुरुष हिंसा

कथा : स्पर्श

कविता : गणतन्त्रका भगवानहरु

गाउँमा आमुल परिवर्तन भइसक्यो

एक्लै हिँड्दाको आनन्द

कलंकी एक्सप्रेस

साथी सेटल भएछ

रिङरोड अर्थात् स्वर्ग जाने बाटो

 

 

 

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्