पूजन गोर्खालि
उतिखेर हजुरले
“अब गाउँसम्मै सडकमार्ग जोडिनेछ”
भनेर टाँगिदिएको त्यो आयोजनाको बोर्डमा
खियाले रेलमार्ग, जलमार्ग, हवाइमार्ग…
अनेक सुविधा सहितको
स्मार्ट सिटिको गुरुयोजना बनाइसक्यो ।
“गाउँगाउँमा रंगशाला, घरघरमा खेलाडी”
भन्दै हडपेको त्यो टारी खेतको पाटा
जहाँ ठुल्ठुला कुन्याहरुमा
केटाकेटीहरु लुकामारी खेलेर रमाउँथे,
अचेल अग्ला झाडीहरुमा
भोक विस्मरण कप
‘हाइड एन्ड सिक’ च्याम्पियनसिप
आयोजना हुने गरेका छन् ।
गरिब, अविकसित गाउँको परिचय टाँसेर
बेसरम उभिइरहेका
ती चुच्चे बगरका झुप्राहरु
अब कुनै बाँकी छैनन् ।
गएको बर्खामा
बुल्बुले खोलामा विकासका मुल
यति धेरै फुटे कि,
ती सब झुप्राहरु बगाएर लगे ।
कुनै जोखिम युक्त तुइनहरु
देखिँदैनन् अब नदिमाथी
त्यो खिर्रेघाटको तुइन पनि
डाँडाघरे भाउजुले छोरीलाई
काखी च्यापेर पारी तर्दै गर्दा
परार साल चुँडिसक्यो ।
जैल्यै हजुर आउने खबर सुन्नासाथ
आदि मेलो त्यस्सै छोडेर
हतार हतार हात जोड्दै आइपुग्ने
ती बुढा बा
र,
उनको पछिपछि औँला चुस्दै आउने
ती सानी नानी
अब कोही आउने छैनन् ।
गएको हिउँदमा फैलिएको निमोनियाले
दुबैलाइ लिएर गइसक्यो ।
डाक्टरको’मा गए निको हुन्छ रे भनेर
दुइ दुइ दिन लगाएर गएकै हुन् नि
स्वास्थ्यचौकी पनि जान त,
तर डाक्टर साप पनि
उता सहरको क्लिनिकमा उधुम विकास गर्दै रै’छन् ।
यो समृद्ध गाउँमा
अब कोही कसैमाथी अन्याय अत्याचार सह्य छैन ।
ती गैराबारीका सुर्काहरुले पनि
हलो र कोदालीको अत्याचारबाट मुक्ति पाइसके ।
जोती हिँड्ने ती सुके माइलालाई
सुकराम साउको तमसुकमा थपिँदै गएका अङ्कले
देश निकाला गर्दिसक्यो ।
अग्रगामी भाषणहरु यति गर्नुभो, यति गर्नुभो…
मेरो घर पनि अघि बढ्दै बढ्दै
यी हेर्नुस् त,
ठ्याक्कै आँगनको डिलमै पुगिसक्यो ।
हो हजुर !
गाउँमा आमुल परिवर्तन आइसक्यो,
कसैको मृत्यु हुँदा काँधमा बाँस थाम्नेहरुको सङ्ख्या
गाउँमा निर्माणकार्य हुँदा श्रमदानमा जुट्नेहरुको सङ्ख्या
छिमेकीको घर जल्दा उद्धारमा खट्नेहरुको सङ्ख्या
यी सबैमा ब्यापक परिवर्तन आइसक्यो ।
तर,
मलाई अचम्म लाग्छ हजुर,
यति बिघ्न परिवर्तन भैसक्दा पनि
किन होला,
हजुर सवार हेलिकप्टर वरिपरी
फूलमाला लिएर झुम्मनेहरुको सङ्ख्यामा
कत्ति परिवर्तन नआएको ?
०००
०००