श्रद्दा के.सी.
हजारौं लेख देखें, जो महिलाका हकहितका लागि लेखिए । हजारौं सभा समारोहमा केवल महिला कै कुरा निस्किए । तर मौन भएर हजारौंको भिडमा उभिएको पुरुषलाई कसैले सोध्न सम्म भ्याएन ।
के छ उसको पीडा ?
हो म पनि एक महिला हो । मैले पनि लेख्नु पर्थ्यो, महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा । तर मैले लेखिनँ किनकी यहाँ महिला मात्र कहाँ हो र ! कुनै न कुनै ठाउँमा पुरुष पनि हिंसामा छन् ।
सबैको मुखबाट सुनिन्छ, पुरुषको मन कठोर हुन्छ । उनीहरु अक्सर सानो कुराले रुदैनन् । अनि भन्छन्, कति धेरै निर्दयी हुन्छन् यी पुरुष जाती ! तर कसैले यो देख्दैन उनीहरुका आँशु त सबै सकिन्छन्, पसिना बनेर । जो हरेक दिन रात आफ्नो परिवारको लागी मिहिनेत गर्दा बग्छ । हरेक रात रोएर काट्दा पनि सधै मन्द मुस्कानका साथ उभिने पुरुष निर्दयी कसरी हुन सक्छ ?
एउटा भनाई छ नि,”पुरुषको तलब अनि महिलाको उमेर कहिल्यै सोध्नु हुदैँन ।” किनकी महिलाहरु कहिल्यै आफ्नो लागी बाच्दैनन् र पुरुषहरु कहिले आफ्ना लागी कमाउँदैनन् ।
भन्छन्, छोरी-मानिस दुई घरको भाग्य लिएर जन्मिन्छन् । फेरी सबैले यो किन सोच्दैनन् कि छोरा पनि दुई घरको जिम्मेवारी बोकेर जन्मिछन् ? एउटी नारी सँगसँगै उसले आफ्ना जिम्मेवारी पनि अङ्गालेको हुन्छ, उसका जिम्मेवारीहरू पनि बढेका हुन्छन् ।
हर कोही भन्छन्, आफु जन्मेको घर छुट्छ । तर यो किन सोच्दैनौ तिम्रो जिन्दगीमा अर्को घर पनि त जोडिन्छ, तिम्रो जिन्दगीको नयाँ सुरुवातमा तिमी सँगसँगै उसको नाम जोडिन्छ । जो तिम्रो जिन्दगीको महत्त्वपूर्ण पाटो बन्न पुग्छ ।
एकदिन कतै लेखेको पढेकी थिएः
शीर मेरो, चुनरी तिम्रो नामको
सिउँदो मेरो, सिन्दुर तिम्रो नामको !!
देह मेरो, हल्दी तिम्रो नामको
हत्केला मेरो, मेहन्दी तिम्रो नामको !!
औँलाहरु मेरा, औँठी तिम्रो नामको
नाडी मेरो, चुरा तिम्रो नामको
गला मेरो, मङ्गलसुत्र तिम्रो नामको !!
तर यो किन सोचेनौं, हामीले लगाउने सिन्दुर, चुनरी, हल्दी, मङ्गलसुत्र, चुरा, औँठी, त्यही पुरुषले लगाइदिन्छ जो हाम्रो लागी जिन्दगीभरी हामी सँगसँगै हाम्रो आमा बुवाको जिम्मेवारी उठाउन हामीलाई अटुट बाचा कसम दिइरहेको हुन्छ ।
जब तिमी कुनै पुरुषको नामको सिन्दुर लगाउँछौ भने दु:खी किन हुने ? उसको नामको भनेर उसले त झन् तिम्रो रंगिएको जिन्दगीलाई जिन्दगीभरी रंगाउने एउटा अटुट बन्धन दिएको हो । गलामा मंगलसुत्र बाधिदिन्छ्न् र हामी भन्छौं उसको नामको । यो त तिम्रो जिन्दगीभरी तिम्रो रक्षाका लागि उसले दिएको अर्को बाचा हो ।
हरेक बुवा-आमा आफ्नी छोरी पराइ घर पठाउँदा आफ्नी छोरीको सुख-शयल अर्को परिवार अनि केटासँग माग्ने गर्दछन् । हो त्यसैगरी अर्की आमाले पनि आफ्नी बुहारीबाट छोराको लागि सुख र खुसीको आशा बोकेकी हुन्छिन् । आफ्नी छोरी पराइ घर पठाउँदा निःशब्द हुने, दाइजोको बिरोध गर्ने बुवा-आमाले आफ्नो छोरीले सुख पाओस् भनी ज्वाईलाई विदेश जान अनुरोध गर्दै लाखौ रकम लगानी गर्न राजी हुन्छन् । आखिर किन ?
आफ्नी छोरी आफूबाट टाढा हुँदा शोकमा रुने बुवा-आमाले किन त्यो घरको छोरोलाई पनि किन पराइ बनाउछन् होला ।
कैयौं ठाउँमा हामीले देखेकै कुरा हो । आफ्नो जिम्मेवारी पूरा गर्न कतिपय दाजुभाइ विदेशिनु परेको आफ्ना खुशी भन्दा अरुको खुसीको लागि जिन्दगी त्याग्नु परेको यहाँ पुरुष विदेश बसेर दुःख गरेर पसिना बगाएर सम्पति कमाउँछन् । केवल आफ्नो परिवारको खुसी र जिम्मेवारी पूरा गर्छन् । त्यही दुःख गरेर कमाएको त्यो रकम कुम्ल्यार कैयौं नारी बेपत्ता भएका छन् ।
सँधै महिलाको हकहितका लागि आवाज उठे, महिला हिंसा विरुद्ध कैयौं कार्यक्रम, कैयौं गोष्ठी सेमिनार गरियो । तर त्यहीं ठाउँमा पुरुषका लागि न कुनै आवाज उठ्यो न त कुनै गोष्ठी सेमिनार नै भयो ।
हर कोही भन्छ्न्, महिला हिंसा दिनानुदिन बढ्दै छ । महिलाहरु पीडित छन् । महिला हिंसा देख्ने हाम्रा यी आँखाले किन कहिल्यै पुरुष हिंसा देखेनन् ?
आखिर कही न कही, कतै न कतै पुरुष पनि हिंसामा नै त छन् ।
खाना खाएको चिसो हात ओभाउन नपाउँदै आफ्नो कामको लागी दौडिन्छन् । भ्याइ-नभ्याइ आफ्नो काम सकेर घर फर्किन जब सार्वजनिक बस चढ्छन्, बस्ने सिट भेटिदैन र पनि मौन हुन्छन् । चुपचाप उभिरहन्छन् । न कसैले सोध्छ थकाइ लाग्यो होला, गाह्रो भयो होला यता सिटमा बस भनेर । सधै अरुको लागी जिउँछन्, अरुकै लागी कमाउँछन् र अरुकै लागी रमाउँछन् ।
मलाई अझै पनि याद छ, त्यो दिन केही महिना अगाडी साथीहरु सबै घुम्न गएको बेला सबै जना सामान किन्ने भनेर गयौं । सबैले यो लग्छु आमालाई, त्यो लग्छु आमालाई । अपशोच त्यहाँ म सँगसँगै कोही पनि थिएनौं जो बुवाको लागि केही किनिदिउँ, केहि लगिदिउँ भन्ने । यहाँसम्म कि केटाहरु पनि पोतेको लहरो झुन्ड्याएको पसल मै झुम्मिएका थिए, त्यति ठुलो भीडमा कोही कसैको मुखबाट सुनिएन ‘बुवा’ शब्द । न त मैले नै सम्झिए ।
हो, आमा महान छिन् । आमाको मूल्य अमुल्य छ । हामी जन्मिदाँ आमाको शरीरबाट कैयौँ लिटर खुन बग्यो होला । हामीलाई पिलाएको दश धारा दुधको मूल्य कसैगरी चुकाउँन सकिँदैन ।
म मान्छु, आमाले संसार देखाउँछिन् । नौ महिना कोखमा राख्छिन् । उनको पीडा उनको दुख वर्णन गरी साध्य नै छैन ।
यही ठाउँमा बुवालाई राखेर हेरौँ त । जिन्दगीभरी आफ्ना सन्तान आफ्नो परिवारको लागि दुख गर्दा उनको शरीरबाट बगेको पसिना के आमाको शरीरबाट हामी जन्मिँदा बगेको रगत भन्दा कम छ होला र ? उनीले सन्तानका लागि गरेको त्यो दुःख त्याग कुनै आमाको भन्दा कम छैन जस्तो लाग्छ । एउटा बच्चा जन्माउँदैमा आमा भइदैन जस्तो लाग्छ । यदि त्यसो हुँदो हो त दिनानुदिन जन्मँदै फालिएका कति अबोध बच्चा छन् । कति कोख मै मर्छन् । कति सडक मै सड्छन् । जसलाई तिनै आमाले जन्माएकी हुन ।
हो ! म मान्छु, जन्म दिने आमा महान् हुन्छिन् । तर जिम्मेवारी बोक्ने मेरो बुवा पनि मेरो लागि उत्तिकै महान छन् ।
लेखकबाट थपः
बुवाको आत्मकथा