यदि तपाईंलाई स्वर्गको यात्रा गर्ने ठुलो रहर छ भने, आउनुहोस् ! रिङरोडमा तपाईंलाई हार्दिक स्वागत छ ।
नआत्तिनुस् ! यसबापत तपाईंले कुनै पनि चार्ज तिर्नु पर्दैन । बस् ! आउनुस् । बाटो पार गर्ने प्रयास गर्नुस् । त्यति भएपछि तपाईंलाई दुईतिरबाट आएका यमदूतका वहानहरुले रगत पच्छे पार्दै टप्प टिपेर लैजानेछन्, सुन्दर स्वर्गतिरको यात्रामा ।
नडराउनुस् ! तपाईं पहिलो यात्री बिलकुलै हुनुहुन्न । तपाईं भन्दा पहिले पनि यसै गरी करिब पाँच सय जनाले फारम भरेकोमा झन्डै बिसौँ जना त स्वर्गको यात्रामा हिँडिसकेका छन् ।
स्वर्गीय अधिकारीहरूका अनुसार यमदूतका वहानहरु मध्ये पनि टिप्पर सबैभन्दा भरपर्दो माध्यम बन्न सफल देखिएको छ । भाग्यले साथ दिएछ भने, तपाईं पनि ती शक्तिशाली वाहनबाट ठक्कर खाँदै स्वर्ग जाने आफ्नो सपनालाई साकार तुल्याउन सक्नुहुनेछ ।
आउनुस् ! समयमै सबै महानुभावहरूले तुरुन्तै नजिकको गाडी चढेर आफूलाई पायक पर्ने चक्रपथको कुनै स्टेसनबाट बाटो क्रस गरीहाल्नु हुन विनम्र अनुरोध छ । अझ विशेष गरी भर्खरै चौडा पारिएको कोटेश्वर-कलङ्की सडक खण्डसम्म आइपुग्न सक्नुभयो भने त, स्वर्ग जान तपाईंलाई कोही माइका लालले पनि रोक्न सक्दैन ।
अवगत होस्, यो स्वर्णीम अवसर चिनिया सरकारको सहयोगमा नेपाल सरकारले उपलब्द्य गराइ दिएको हो ।
रिङरोड टु स्वर्ग – पहिलो कथा
म एकान्तकुनाको भाडावाल बासिन्दा हुँ । एकान्तकुना भनिए पनि, न यहाँ कुनै एकान्त छ न त कुनै कुना-कानी । यसको नाम राख्नेवालासँग नै मेरो ठुलो गुनासो छ खासमा ।
खैर ! छोड्नुस् यी बेकारका कुरा । ल अब विषय प्रवेश गरौँ है त ।
मेरो कोठाको छेउको घरमा एकदिन एकजना बुढी चिच्याउदै दौडिरहेकी देखिइन् । म छक्क परे । थोरै सातोपुत्लो नि उडेजस्तो भयो एकछिन । यसो कोठा बाहिर निस्केर हेरे । खास केही देखिएन । बरु उता पारी चक्रपथ तिर भने केही मान्छे जम्मा भएको देखियो । म उतै लम्किए ।
लौ ! ती अघिकी बुढी आन्टी त खुबै रोइकराई पो गर्दै रैछिन् । आखिर के भएछ यहाँ ?
बिचरा ! उनकी ३-४ महिने नातिनीको एउटा बाइकको ठक्करमा मृत्यु भएछ । कुरा के भने, उनकी छोरी माइतीमा सुत्केरी बस्न आएकी । चक्रपथ भित्र घर भए पनि काम परेर पारीपट्टीबाट वारीतिर फर्किरहेकी । उनीसँगै उनको ३-४ वर्षजतिको छोरा र ३-४ महिनाकी छोरी पनि बाटो काटिरहेका । तर अफसोस ! सातदोबाटोतिरबाट हुत्तिएर आएको एउटा बाइकले ठक्कर दिन पुग्दा आमाको काखबाट खसेर छोरीको मृत्यु हुन पुगेछ ।
हामी पुग्दा फुच्चीको रगतले सडक रङ्गिएको थियो । मलाई भननन रिँगटा लाग्ला जस्तो भयो ।
केही दिन अघिसम्म मात्रै पनि फुच्ची रातरातभर रोइरहेकी हुन्थी । बाजे-बै-आमा मिलेर लोरी सुनाउँदै उसलाई सुताइ रहेका हुन्थे । म आफ्नो कोठाको झ्यालबाट नियालिरहेको हुन्थे, त्यो सुन्दर दृश्य । तर अब त्यो दृश्य दोहोरिनेवाला थिएन । मन एकतमासले रोएर आयो ।
एकान्तकुना यातायात कार्यालय अगाडिको ओरालोमा भैरहेथ्यो यो सब । कैयौँपल्ट हामीहरू पनि बाटो क्रस गर्दा झन्डै मरेर बाँचेका थियौ । एक त त्यति चौडा बाटो । त्यसमाथि ओरालो अनि गाडीहरूको डरलाग्दो स्पिड । न त कुनै जेब्राक्रसिङ । न त कुनै आकाशे पुल । अझ धुलोको मुस्लोले गर्दा सडक कम् कुनै मायावी चक्रव्युह झै लाग्छ ।
रिङरोड टु स्वर्ग – दोस्रो कथा
सुष्मा लामा ग्वार्कोस्थित एक डान्स वारमा काम गर्थिन् ।
रातको करिब ११ बजे बार बन्द भयो । उनी घर फर्किन सडकमा उत्रिइन् । सडक पार गर्नु पथ्र्यो । सडक सुनसान जस्तै थियो । गाडी पनि पातलै थिए । तर, गति तीव्र थियो ।
यसो दायाँ–बायाँ हेर्दै उनी सडक पार गर्न अघि बढिन् । उनी बिलकुल निर्धक्क भएर बाटो काट्दै थिइन, एकाएक कोटेश्वर-बालकुमारी तर्फबाट हुँकिएर आएको टिपरले नियन्त्रण गुमायो । उनलाई ठक्कर लाग्न पुग्यो । निकै पर पुगेर रगताम्मे बजारिन पुगिन उनी । अन्ततः घटनास्थलमै उनको ज्यान गयो ।
अर्को जिन्दगी खलास ।
रिङरोड टु स्वर्ग – तेस्रो कथा
स्थान : एकान्तकुना चोक नजिकै ।
समय : झिसमिसे साँझ ।
सरला मिश्र आफन्तको बा ६७ प ४०८३ नं. को मोटरसाइलको पछाडि बसेर एकान्तकुनास्थित सडक पार गर्दै थिइन् । त्यहिबेला विपरीत दिशाबाट बा ६ ख २७८० को ट्रक हुत्तिदै आयो । अत्तिएका मोटर साइकल चालकले नियन्त्रण गुमाए । मोटरसाइकल पछाडि बसेकी मिश्र उछिट्टिएर ट्रकको चक्कामुनि पुगिन् । ट्रकले किच्दा उनको घटनास्थलमै ज्यान गयो ।
अर्को जिन्दगी पनि खलास ।
रिङरोड टु स्वर्ग – चौथो कथा
मेरो कोठा नजिकैको एउटा चोकमा बस्थ्यो – ज्याक । एकदमै मायालु । एकदमै स्वीट । दिनैभरी सुम्सुम्याइरहुँ जस्तो लागिरहने । गल्लीका कुकुर पनि त्यतिसम्म प्यारा हुन सक्लान् भन्ने मैले कहिल्यै सोच्या थिइन ।
कलेजबाट आउँदा-जादा सधैंजसो भेटिन्थ्यो ऊ । कहिले बिस्कुट त कहिले के दिरहन्थे म । ऊ मलाई देखेपछि लुरुलुरु पुच्छर हल्लाउदै अाइपुग्थ्यो ।
यसै चल्दै थियो, केही दिनदेखी ऊ चोकमा देखिनै छोड्यो । लाग्यो कतै अर्कै ठाउँतिर लाग्यो होला शायद । कसोकसो माया लागेर आयो, मोराको । जबजब चोकमा पुग्थे तबतब खुबै याद आउथ्यो उसको । तर जसोतसो बिस्तारै बानी पर्दै गयो ।
एकदिन यसो एकान्तकुनाबाट रिङरोडको बाटो हुँदै थसिखेलतिर जादै थिए, फुटपाथको छेउमै एउटा कुकुर सुतिरहेको भेटियो । यसो हेरेको त उही ज्याक नै पो रैछ । अचम्म लाग्यो । तर अफसोस ! एकछिन हेरेपछी पो म झल्यास्स भए, ऊ त मरिसकेको रैछ । शायद कुनै वेगमा आएको गाडीले ठक्कर दिएको हुनुपर्छ । म एकाएक भावविह्वल भए । उसलाई कसोकसो अन्तिमपल्ट सहि एकचोटि अंकमाल गर्न मन लाग्यो ।
फेरी अर्को जिन्दगी पनि खलास ।
अरू – अरू खलास जिन्दगीहरू
महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोका अनुसार ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १२ जनाले स्वर्ग तिरको यात्रा तय गरेका छन् भने १०९ घाइते भएका छन् । यो त मान्छेहरुको कुरा भयो । जनावरहरुको त गणना गर्न पनि के आवश्यक ठानियो होला र !
यो तथ्याङ्क हेर्ने हो भने, कुनै गृहयुद्धभन्दा पक्कै कम छैन । हाम्रा गल्तीबाट बनेका सडकहरूले ‘स्लो पोइजन’को रूपमा बिस्तारै मान्छेको ज्यान सखाप पारिरहेका छन् । तर हामी भने बस् ड्राइभरलाई दोष थुपार्दै, उम्कँदै गरिरहेका छौँ । न बाटोबारे केही सोच्न भ्यायौं, न त सुरक्षाबारे नै केही ।
बस् ! केही थान फोटो र केही सय शब्दहरू । यत्तिमै जिन्दगीहरू खलास भइरहेका छन् हिजोआज ।
के कुनै मानव शरीरको मूल्य आखिर यत्ति नै हो त ? के अब बाटो हिँड्नु – क्रस गर्न खोज्नु र विश्वयुद्ध लड्नु, उस्तै-उस्तै भैसकेका हुन् त ? के बाटोहरू त्यसमाथि गुड्ने गाडीहरूको लागि मात्रै हुन् त ?
बाटोप्रतिको नेपाली लोकल धारणा
अक्सर नेपाली डिजाइनरहरूले सडकलाई केवल गाडी हिँड्ने क्षेत्रको रूपमा मात्र हेरे । त्यसैले हाम्रा सडकहरूले पैदालयात्री, साइकलयात्रीहरुको कहिल्यै कुनै पर्वाह गरेनन् । बिलकुल मनमौजी ढङ्गबाट बनेका छन्, हाम्रा सडकहरू ।
भर्खरै बनाइएको कोटेश्वर-कलङ्की रिङरोड पनि यही समस्याबाट ग्रसित छ । बाटो त चौडा बन्यो । जाम पनि हट्न थाल्यो । गाडीहरू मज्जैसँग कुद्ने भए । तर अफसोसको कुरा, पैदलयात्रीहरुको लागि भने केही पनि सोच्न आवश्यक ठानिएन ।
फुटपाथको साइज बिलकुल मनमौजी छ । पुगे टन्नै, नत्र टन्टै साफ । जेब्रा क्रसिङको त कुनै नामोनिशान नै छैन । मानौँ कि हरेक ठाउँ जेब्रा क्रसिङको लागि छोडिएको हो जस्तो । अब यस्तो स्थितिमा ट्राफिक लाइटको व्यवस्था गर्ने कुरा उठाउनु त हास्यास्पद नै हुनसक्छ ।
रिङरोड निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको डिजाइन अनुसार कोटेश्वर-कलंकी खन्डमा जम्मा ३ वटा ओभर हेड ब्रिज बनाउने भनिएको छ । जुन आँफैमा समग्र इन्जिनियरिङ्ग कै मजाक प्रतित हुन्छ । जबकि चक्रपथको लागि बढीमा ५ सय मिटरको फरकमा ओभर हेड ब्रिजको व्यवस्था गरिनु पर्ने हुन्छ । यसबिषयमा धेरै विवाद देखिएपछि सरकारले करिब २२ करोड विनियोजन गर्दै सबै आवश्यक ठाउँमा ओभर हेड ब्रिज बनाउने भनेको सुनिन्छ । तर कामको ढिलासुस्तीले गर्दा लगातार निर्दोष मान्छेहरूको ज्यान गइरहेको छ ।
कहाँ भयो गडबडाइजेसन ?
रिङरोडको कन्सेप्ट तथा प्लानिङको काम चिनिया कम्पनीद्वारा सन २००८ तिरै सुरु भयो । त्यति बेला र त्योभन्दा पनि एक दशक अगाडिसम्मको स्थितिलाई हेर्दा अहिले चक्रपथबाट जोडिएका ठाउँहरु त्यति घना बस्ती भैसकेका थिएनन् । फलस्वरूप उनीहरूले यसलाई ‘एक्सप्रेस वे’को रूपमा डिजाइन गरे । तर बढ्दै गइरहेको आवादी र चहलपहलले गर्दा यहाँ ‘सिटी वे’को आवश्यकता रहेछ भनेर अहिले बल्ल बुझियो । त्यसैले ५० को ‘एक्सप्रेस वे’ डिजाइन स्पिडले त्यति काम नगर्ने, उल्टै असर बढी गर्ने देखिएपछि समस्या आयो ।
अर्को कुरा के समस्या देखियो भने, चिनिया शैलीको डिजाइन नेपालमा गर्न लाग्दा यहाँको परिस्थितिलाई कत्ति पनि ख्याल गरिएन । जस्तो कि, चीनको तुलनामा हाम्रो ट्राफिक नियमको पालना एकदमै फितलो छ । यसलाई ख्याल नगरिदिँदा, उनीहरूले लेन छुट्याउने डिभाइडर या मिडियनको व्यवस्था गरिदिएनन् । जुन चीनको लागि ठिकै हुँदो हो, तर हाम्रो फितलो नियम पालनामा यसले धेरै नै दुर्घटना निम्त्यायो । त्यसैगरी यात्रीहरूले सडक पार गर्दा सहजता ल्याउने ट्राफिक अाइल्यान्डको पनि कुनै व्यवस्था गरिएन ।
सबैभन्दा दु:खको कुरा, सडकमा साइकल यात्री र अशक्त तथा आँखा देख्न नसक्नेहरूका लागि त झन् स्थिति एकदमै दयनीय छ ।
समस्या केवल सडक, यसको डिजाइन र सुरक्षामा मात्रै कहाँ छ र ! हाम्रा गाडीचालक र हामी स्वयम पैदलयात्री पनि उत्तिकै दोषी छौं । हिडिरहेका पैदालयात्रीलाई त मान्छे नै नसोच्ने हाम्रा गाडीचालक । अनि हिंड्न् पाएसी जथाभावी हिंड्न् तम्सिने हामी वेपर्वाह पैदलयात्री । फलत दुर्घटनाहरु दिनहु बढ्दो क्रममा छन् । हाम्रो यो स्वभाव नबद्लिए सम्म जतिसुकै चौडा या व्यवस्थित सडक बनेपनि दुर्घटना कम हुने सम्भावना निकै कम् देखिन्छ ।
रिङरोड त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । हाम्रा अन्य सडकहरू पनि समस्या र दुर्घटनाको जोखिमबाट कदापि मुक्त छैनन् । फ्याक्ट्स नेपालले आर्थिक वर्ष २०७४/०७५ को पहिलो नौ-महिनामा तयार पारेको सडक दुर्घटनाको तथ्याङ्कअनुसार कुल १३ हजार १ सय ८२ सवारी साधन दुर्घटनामा परेको पाइएको छ । त्यसमध्ये सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेका छन् । यसरी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ७५ रहेको छ भने, ३ हजार ३८ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको सङ्ख्या ६ हजार ३८ रहेको छ । जुन कुनै शक्तिशाली युद्धभन्दा कम छैन ।
सडक दुर्घटनाले कुनै समय अमेरिकाजस्तो देशमा वार्षिक ४० हजार मानिसले ज्यान गुमाउने गरेका थिए । उनीहरूले सडक सुरक्षामा लगानी बढाएर केही वर्षमा नै दुर्घटना न्यूनीकरणमा ठुलो सफलता पाए । यसबाट हामीले पनि केही सिक्नै पर्ने हुन्छ । अहिले त भर्खर सडक विकासको काम सुरु भएको छ । बिस्तारै द्रुत गतिका सडकहरू बन्न थाले भने स्थिति अझै भयानक हुन सक्छ ।
त्यसैले समयमै राज्य सहित सबै सरोकारवालाको पनि ध्यान जानु एकदमै जरुरी छ । सडक केवल त्यहाँ हिँड्ने गाडीहरूका लागि मात्रै नभएर, त्यसमा हिँड्ने पैदल यात्री, साइकल यात्री, त्यस वरिपरिको वातावरण र जीवजन्तुका लागि पनि हो भनेर बुझ्दै अगाडि बढ्न सकियो भने मात्रै केही सुधार गर्न सकिएला । होइन भने बिस्तारै युद्धभन्दा पनि भयानक एवम् ज्यानमारा लाग्न थाल्नेछन्, हाम्रा सडकहरू ।
लेखकबाट थप :
१. इनोभेसनको यात्रा : इन्जिनियरिङ्ग आविष्कार मार्फत देश बिकासमा टेवा पुर्याइ रहेको एउटा टिमको कथा ।
२. सम्झनामा काठमाडौंका घरबेटी ।
३. हामी सबै बौद्धिक बलात्कारी ।