सामुदायिक आवश्यकता पुरा गर्न मानिसहरूबाट स्वयमसेवी रूपमा सिर्जना हुने अवस्था नै समाज हो । परिवार पछि सबैभन्दा सशक्त इकाई समाज हो । समाज एउटा व्यवहार, भूमिका, सम्बन्ध, अनुभूति र सद्भाव आदान प्रदान गर्ने मानवीय संरचना हो । समुदायका साझा भावना, इच्छा, मूल्य मान्यता र कानुन रीतिथिती हुन्छन् ।
समाजले मानिसको व्यवहार, आचरण, चाख र जीवनशैलीलाई प्रभाव पार्छ । व्यक्तिले आफ्ना आवश्यकता पुरा गर्ने तथा दृष्टिकोण निर्माण गर्ने मञ्चका रूपमा समाजलाई उपयोग गर्छ । त्यसैले समाज अन्तरक्रियाको मञ्च हो । जसको सहायताले व्यक्ति विस्तृत भएर समाज अनुकूल फैलिन्छ । सामाजिक क्रियाकलाप अनुसार व्यक्तिले आफ्ना व्यवहार पर्दशन गर्दछ । नेपाली अहिलेको समाजमा दिनानुदिन भइरहने घटना तथा व्यवहार हेर्ने हो भने हामी हरेक ठाउँमा सरकारलाई गाली गरिरहेका हुन्छौँ ।
जनताको भलाइ गर्ने बाचा सहित हामीले निर्वाचित गरेका जनप्रतिनिधिहरूबाट बनेको सरकार हो । त्यसैले गाली गर्नु पनि स्वाभाविक नै हो । अझ गहिरोसँग भन्ने हो भने हामीले नै तिरेको करबाट चल्ने सरकार हामी अनुकूल व्यवहार गरेन भने त गाली गर्नु ठिक हो । तर के हाम्रो समाजमा हुने गतिविधि सकारात्मक छन् त ?
केही उदाहरण हेरौँ;
ट्राफिक प्रहरीको चेक जाँच
गाडी चलाउने हरकोहिलाई सोध्नुहोस् ।
चालकको पहिलो शत्रु को भन्दा उसले ट्राफिक प्रहरीलाई देख्छ ।
ट्राफिक प्रहरीले पनि प्रायः जहाँ अलि साँघुरो बाटो छ, त्यही चेक जाँच गरिरहेको पाइन्छ । त्यसको कारण नियमअनुसार गाडी नचलाउनेहरू सजिलै भाग्न नसकुन भन्ने हुन सक्छ । जसले गर्दा चेक जाँच भइरहेको कारबाही गर्न सजिलो होस् । गाडी चेक जाँच हुने ठाउँमा चालक सहचालकबाट एउटै शब्द निस्कन्छ ।
“यो देशमा नियम नै छैन, सरकार नै खतम छ, यो सबै खानलाई गरेका हुन् ।”
आम यात्रीहरूले पनि त्यही कुरामा समर्थन जनाइरहेको पाइन्छ । ट्राफिक चेक जाँच भइरहेको बेला चेकजाँचमा पर्नेहरू प्रायः नियमअनुसार नै कागजात भएका र सोही अनुसार गाडी चलाइरहेको देखिन्छ ।
बरु अर्को गजब दृश्य गाडीको चेक जाँच भइरहेको ठाउँभन्दा करिब दुई सय मिटर अगाडी र पछाडि देखिन्छ । घुमाउरो बाटोको कारणले ट्राफिक प्रहरीले गरिरहेको काम चालकले देख्न नसक्ने गरी गरिरहेको चेक जाँच ।
खोइ कसरी हो, नियमविपरित हुनेहरूले पहिले थाहा पाए जस्तो देखिन्छ । त्यहाँ अर्को लाइन हुन्छ । मोटरसाइकलमा तीन जना सवार भएका, हेलमेट नलगाएका, गाडीहरूमा ओभर लोड गरेकाहरूको लाइन चेक जाँच गराएर जानेहरू भन्दा धेरैको सङ्ख्यामा हुन्छन् । कति त ट्राफिक प्रहरीको चेक जाँज देखेर घुमेर भाग्ने गरेको पनि देखिन्छ । तिनीहरूको हाँसोको पात्र ती चेक जाँच गर्ने ट्राफिक प्रहरीहरू बनिरहेका हुन्छन् ।
साँघुरो र घुमाउरो बाटोमा चेक जाँच गर्दा नियमअनुसार चलाउनेलाई मात्र चेक जाँच हुने अवस्था सिर्जना हुन्छ । यो कुरा ट्राफिक प्रहरीलाई कसले बुझाउने ?
दुई सिट क्षमता भएको मोटरसाइकलमा तिन जना, त्यो पनि हेलमेट नलगाएर चलाउनु हुँदैन भन्ने कुरा कसका लागि जोखिमपूर्ण छ ? के त्यसले ट्राफिक प्रहरीलाई असर पर्ने हो त ? ओभर लोड बोक्न हुँदैन भन्ने कुरा सवारी चालकलाई कसले सिकाउने ? सवारी बोक्ने लोकल बसलाई जहाँ पायो त्यही रोक्न हुँदैन भन्ने कुरा कसले सिकाउने ?
आफूलाई उपयोगमा आउन छोड्यो भने घरपालुवा जनावरलाई जथाभाबी छोड्न हुँदैन भन्ने कुरा कसले सिकाउने ? सवारी चालक अनुमति विना गाडी चलाउनु हुँदैन भन्ने कुरा कसले सिकाउने ?
उत्तर आउन सक्छ- विद्यालयले सिकाउनु पर्छ । यहाँ प्रश्न उठ्छ विद्यालयलाई कसले सिकाउने ? सरकारले ? समाजले ? कानुनले ? नीतिले कि नियमले ? समाजले विद्यालयलाई सिकाउने होला कि ?
धेरैजसो हाम्रा व्यवहार हेर्दा लाग्छ, हामी नेपालीहरू तह तथा पहुँच अनुसारको अनियमितता गर्न तल्लीन छौँ ।
कार्यान्वयन तहको कर्मचारी कार्यान्वयनमा भ्रष्ट्राचार गर्छ । नीतिगत तहकोले नीतिगत भष्ट्रचार गर्छ ।
प्रायः सवारी साधन चालकहरू ट्राफिक प्रहरीले दुःख दिएको गुनासो गर्छन् । ट्राफिक प्रहरीले गर्ने काम प्रहरीका लागि भन्दा पनि सवारी चालक र यात्रीहरूको सुरक्षासँग बढी सम्बन्धित छ । तर पनि हामी आफ्नै ज्यान जोखिम राखेर नियम उलङ्घन गर्न निरन्तर उद्यत छौँ । सवारी चालक अनुमति पत्र नभए पनि गाडी चलाउनै पर्ने ।
मोटरसाइकलमा तीन जना सवार हुनै पर्ने । बाइकको हेलमेट नलगाउँदा मज्जा मान्ने । यो कसको दोष समयमै सवारी साधनको कागजी नियमितता नगर्ने कुरा पक्कै पनि ट्राफिक प्रहरीले भन्दैन होला । एक यो प्रतिनिधि उदाहरण हो हाम्रो समाजको ।
धेरैजसो हाम्रा व्यवहार हेर्दा लाग्छ, हामी नेपालीहरू तह तथा पहुँच अनुसारको अनियमितता गर्न तल्लीन छौँ । कार्यान्वयन तहको कर्मचारी कार्यान्वयनमा भ्रष्ट्राचार गर्छ । नीतिगत तहकोले नीतिगत भष्ट्रचार गर्छ । सारमा हामी सबै नियमितता ल्याउने भन्दा पनि अनियमिततामा बढी जोड दिन्छौँ ।
सार्वजनिक सेवा
कुनै सरकारी कर्मचारीले नियम प्रक्रियाको कुरा गर्ने रहेछन् भने आम सेवाग्राही तथा सम्बन्धित सरोकारवालाको ठुलो आचोलनको पात्र हुने अवस्था देखिन्छ । कतिपय अवस्थामा नियम प्रक्रिया कुरा गर्दा कर्मचारी पैसा खाना खोजेको, फरक पार्टीको कर्मचारी भएको आरोप सम्बन्धित सरोकारवालाहरूले लगाउने गरेको पाइन्छ ।
कानुनले, नियमले वा जिम्मेवारीले दिए भन्दा फरक काम गरिदिने अर्थात् नियम विपरीत काम गर्नेलाई साहसीको उपमा दिइन्छ । आफू अनुकूल हुने गरी काम भयो ठिक नत्र बेठिक ।
कतिपय अवस्थामा आफू अनुकूल निर्णय गर्ने कर्मचारीको वा-वाही भएको देख्ने सुन्ने गरेको पाइन्छ । तिनैलाई पुरस्कृत गर्ने हरकत सम्म गरेको पाइन्छ । यो नियमले गर्न मिल्दैन भन्ने कर्मचारीलाई कामचोर, निर्णय क्षमता भएको तथा डरपोक जस्ता आरोप लाग्ने गर्दछ । आफ्नो स्वार्थ अनुकूल काम नभएको अवस्थामा सार्वजनिक रूपमा गाली बेइज्जती गर्ने तथा कालो मोसो दल्ने सम्मका देखिनु पनि कानुनको परिपालनमा समाजको सहभागिता कम्जोर छ भन्ने देखिन्छ ।
सम्बन्धित कार्यालयमा कोही आफ्नो नातेदार छ कि ? त्यो नभएको कोही बिचौलिया पो छ कि ?
कोही राजनीतिक नेता कार्यकर्तालाई भनेर हुने हो कि ? भन्ने चिन्ता नलिएर सेवा लिन जाने प्रायः सेवाग्राही कमै हुन्छन् होला ।
यो अवस्था कसरी सिर्जना भयो होला !
“साला हामीसँग नियम खोज्ने” भन्ने गरेको पनि सुनिन्छ । यसो भन्दैमा सरकारी निकाय चुस्थदुरुस्थ छन् भन्न खोजेको हैन । कुनै सार्वजनिक प्रदान गर्ने कार्यालयमा सेवा लिन जानु भन्दै अगाडी एउटा सेवाग्राहीले कम्तीमा दुई पटक सोच्नु पर्ने अवस्था छ ।
सम्बन्धित कार्यालयमा कोही आफ्नो नातेदार छ कि ? त्यो नभएको कोही बिचौलिया पो छ कि ? कोही राजनीतिक नेता कार्यकर्तालाई भनेर हुने हो कि ? भन्ने चिन्ता नलिएर सेवा लिन जाने प्रायः सेवाग्राही कमै हुन्छन् होला । यो अवस्था कसरी सिर्जना भयो होला !
सार्वजनिक सेवा प्रवाह कस्तो भन्ने कुरा जान्न धेरै केही गर्नु पर्दैन । एक पटक सरकारी संस्थाको टेलिफोन डायल गर्दा हुन्छ । अपवाद बाहेक फोन रिसिभ नै हुँदैन । सम्पर्कको लागि दिइएको मेल आदिमा मेल पठाउँदा पनि थाहा हुन्छ । दिइएको मेलमा कुनै जिज्ञासा पठाउनुहोस् । बरु स्वर्ग गएको मान्छे फर्किन्छ होला तर कार्यालय बाट मेलको जवाफ आउँदैन ।
यस्ता गतिविधि किन हुन्छन् त ? कतै हाम्रो समाजले त्यो कुरालाई सहजै ग्रहण गरेर त हैन र ? कुनै दुई जना व्यक्ति सँगै सरकारी सेवामा प्रवेश गर्दछन् । एकले दुई वर्षमा सहरमा ठुलो घर बनाउँदछ, जग्गा जमिन खरिद गर्दछ । अर्को सँगैको व्यक्ति जागिर अवकाश हुँदा सम्म डेरामा जिन्दगी विताउँछ । इमानदारीले काम गर्छ जिन्दगीलाई गुजारा गरेर चलाउँछ ।
हाम्रो समाजले पहिलोलाई बाठो, चलाख र बुद्धिमान भन्दछ । दोस्रोलाई लाटो केही नबुझ्ने सम्झन्छ । समय अनुसार चल्न नजान्ने भन्छ । घरेलु रक्सी बनाउने महिला सोच्छिन् आफ्नो श्रीमान् र छोराछोरीले उक्त रक्सी नखाउन् । आफूले बनाएको रक्सी अरूका श्रीमान् र छोराछोरीहरूले खानाका लागि खरिद गरुन् र आफ्नो आम्दानी बढोस् । यस्तो सोचले हामीलाई कहाँ पुर्याउँछ ?
अब हाम्रो समाजका अवस्थाको कुरा गर्दा बुढापाकाले आशिर्वाद दिँदा भन्छन्- मनले सोचेको पुगोस्, धेरै धन कमाउनु, ठुलो मान्छे बन्नु ।
भन्नु पर्ने हो- असल कुरा सोच्नु, इमानदारिताले जीवन बिताउनु, अरूको भलो चिताउनु, आदि इत्यादि । कतै यस्तै कुरा ले गर्दा पनि हामी प्रणाली बिगार्न सहयोग गरिरहेका त छैनौँ ? यस्ता तमाम व्यवहार यत्र तत्र सर्वत्र देख्न पाइन्छ ।
सारः
कर्मचारी होस् या राजनीतिक नेता सबै यही समाजका उत्पादन हुन । एउटै समाजबाट सुरु भएको व्यक्ति अरूभन्दा भिन्न हुन सक्दैन ।
पहिले राजनीतिको रूपान्तरण कि समाजको कुन पहिले भन्ने भन्दा पनि
सँगसँगै सबैको रूपान्तरण गर्न जरुरी छ ।
तहगतरुपमा जो जुन तहमा छ त्यही अनुसार सबै जिम्मेवार नहुँदा सम्म प्रणाली सुध्रदैन ।
जब सम्म हाम्रा सामाजिक व्यवहारहरू सकारात्मक हुँदैनन्, तबसम्म न हाम्रो विद्यालय सुधारिन्छ न सरकार न हाम्रो व्यवहार । समाज परिवर्तनका आधारभूत तत्त्व विद्यालय, मानवीय व्यवहार र सामाजिक सोचाई र राजनीति हुन् । यी पक्षको महत्त्वपूर्ण पक्ष राजनीति हो । राजनीति नेताले हैन जनताले नेता सुधार गर्ने हो । सुध्रेको नेताले सरकार सुधार गर्छ । त्यसका लागि सक्षम नेता छान्ने समाज चाहियो । यी सबै पक्षमा सकारात्मक परिवर्तन आउन जरुरी छ । यसका लागि पहिले राजनीतिको रूपान्तरण कि समाजको कुन पहिले भन्ने भन्दा पनि सँगसँगै सबैको रूपान्तरण गर्न जरुरी छ । तहगतरुपमा जो जुन तहमा छ त्यही अनुसार सबै जिम्मेवार नहुँदा सम्म प्रणाली सुध्रदैन ।
त्यसको पहिलो आधारशिला विद्यालय हो । साधन पाठ्यक्रम हो । नेपालको विद्यालय तहको पाठ्यक्रम सैद्धान्तिक ज्ञान दिनका लागि प्रयाप्त छ व्यवहार रूपान्तरणको कोणबाट हेर्यो भने धेरै कुरा थप्न, सुधार गर्न जरुरी देखिन्छ । समाज अलिखित नियमले चल्ने संयन्त्र हो । भनिन्छ देश कस्तो छ भन्ने कुरा हेर्न उक्त देशको नागरिकको व्यवहार हेर्न पर्छ । जब सम्म हाम्रो समाजले नियमलाई मिच्नेलाई बहादुर सम्झिन्छ । गतललाई गलत भन्न सक्दैन । नियम परिपालन गर्ने तिर मुखरित हुँदैन । तबसम्म समग्र प्रणाली सुधार हुँदैन । जब नियम तथा विधिले काम गर्दैन त्यसको प्रत्यक्ष प्रभाव निरीह, कमजोर र पहुँच विहीनलाई पर्दछ ।
०००
०००
लेखकका अन्य लेख !
सार्वजनिक कार्यक्रम र कर्मकाण्ड
सरकारका छोराछोरी सरकारी स्कुलमा
कविताः सुइँना र औंसीको चन्द्रमा
शैक्षिक गुणस्तर : हाम्रो अवस्था !
कसरी समय बिताउने लकडाउनमा बालबालिकासँग ?