मास्टर डिग्री दुई विषयमा गरियो । जागिर पाइएन ।
साथीहरूले नयाँ आइडिया सिकाए । एल.एल.बी. पढ्ने ।
एल. एल.बी. पढे कानुन सेवा समूहमा शाखा अधिकृतको जागिरमा लोकसेवा पास गर्न सजिलो छ । यदि भएन भने पनि वकालत त छदैंछ । नभए लेखनदास यसो मालपोत, यातायात, नापी शाखा तिर पाइन्छ भन्थे साथीहरू ।
एक छिमेकी दाइ नेपाल सरकारको उपसचिव पदमा कार्यरत हनुहुन्थ्यो । कर्मचारीवृत्तमा उपसचिवलाई छोटकरीमा ‘उस’ भन्ने चलन पनि छ रे ! शाखा अधिकृतले नटेर्ने । सह–सचिव र सचिवले गाली गरिरहने हुँदा उप–सचिवको दैनिकी उस्ऽऽउस्ऽऽ गर्दै बित्छ भन्ने कुरा गर्थे साथीहरू । ‘उस’ दाइ कहाँ सल्लाह लिन गइयो । उनले पनि नेपालको मूल्य अभिवृद्धि कर जस्तै गरी एल.एल.बी.को महत्व पनि बढ्दै गइरहेको थपिदिए ।
कर र सल्लाह सुझाव उस्तै हुन् जस्तो लाग्छ मलाई । कर तिर्नै पर्छ तर खर्च कसले र कहाँ गर्ने हो त्यो कुरा थाहा हुदैँन हाम्रो नेपालमा । सल्लाह सुझाव पनि त्यस्तै हो । लियो या दियो तर प्रयोगमा ल्याउँदा खोई के खोई के ! कहाँ र कहिले, कसरी प्रयोग गर्ने थाहा नै हुदैँन । साथीहरू र उप–सचिव दाइको सल्लाहलाई घरका बासँगको सल्लाहसँग मिसाएँ । करिब शत प्रतिशत एल. एल. बी. पढ्ने भइयो ।
बाको सल्लाहमा अझ अरुको भन्दा बढी समर्थन मिल्यो । एल.एल.बी. को कुरा गर्ने बित्तिकै बाले भन्नू भयो, “तँलाई पहिलेदेखि नै कानुन पढाउने र वकिल बनाउने चाहना थियो । त्यसैले यो त झन गज्जब भइहाल्यो ।”
यति भएपछि सुरु भयो मेरो कानुन सङ्कायमा स्नातक गर्ने यात्रा ।
सरकार जोडिएकोले होला मेरो पहिलो दिनको एल. एल.बी. को कक्षा यसो भेटघाटमा टुङ्गिएला जस्तो देखियो । अलि दार्शनिक जस्तो देखिने एउटा साथी भेटिए । मैले परिचयको हात बढाएँ । “मेरो नाम… मिस्टर प्रमोद” उनले आफ्नो परिचय दिए । उनी अलि बहिरमुखी जस्तो देखिन्थे । एकसुरमा दिइहाले, “इकोनमिक्स र सोसोलोजीमा डिग्री गरिसकियो तर जागिरका लागि लोकसेवामा लक लागेको छैन । अरू सेक्टरमा बिक्री गर्न राखिएको जागिर किन्न सकिएन ।” अलि रिसाएर भने,”साला यहाँ योग्यता क्षमताको कुनै कदर नै छैन । जागिर खान कि आफ्नो मान्छे चाहिन्छ कि पैसाले किन्नु पर्छ । किन्नलाई पैसा छैन । बा कृषक परे । किसानलाई चिन्ने को छ र नेपालमा ।”
पेसा विहीन उनका कुराकानी सुन्दा लाग्थ्यो, नेता हुनुपर्ने नभए वकिल त पक्कै हुनुपर्ने मान्छे । तर उनी यी दुबै थिएनन् । हाम्रो देशमा सबभन्दा बिकाउ धन्दा कि राजनीति हो कि त वकालत । यी दुबै पेसामा आबद्ध मान्छे फोकटमा सरकारी क्याम्पस पढ्न आउँदैन । उनी पनि पहिलो दिन आएका रहेछन् ।
पढाइ हुने अतोपत्तो नभए पछि उनले स्वास नरोकेर भने,”राज्य हामी सबैको हो । त्यसैले राज्यलाई गाली गर्नु हुदैन भन्ने मेरो जबर्जस्त मान्यता छ । तर म हरेक सरकारी जोडिएको कार्यालय संस्था वा ठाउँ हेर्छु या देख्छु, म कन्फुजमा पर्छु । कि राज्य नै गलत त छैन ? राज्य नै त गलत हैन होला बरु सरकार गलत हुनसक्छ ! त्यसमा कार्यरत मान्छे गलत हुनसक्छ ! बरु यो कुरा अलि सत्यको नजिक छ जस्तो लाग्छ मलाई । हाम्रो राज्य त ठिक छ तर राज्य सञ्चालक व्यक्ति कस्ता छन् भन्ने कुरा जान्न कतै टाढाको यात्रा तय गर्नु पर्दैन केवल सरकार जोडिएको कार्यालयको सिँढीमुनी हेरे पुग्छ । त्यो भन्दा टाढा जानु पर्यो भने सरकार जोडिएको शौचालय गए पुग्छ । शायद धेरै मान्छेले सरकारलाई गाली गर्ने ठाँउ भनेकै सरकार जोडिएको शौचालय हो ।”
उनको कुरा म ट्वाऽऽ परेर सुन्दै थिए । अर्को फिमेल आवाज मिसियो ।
“सबैजनालाई नमस्कार है । मेरो नाम सुनिता ।”
उनको चालढाल हेर्दा लाग्थ्यो, पक्कै कुनै गैरसरकारी संस्थामा आबद्ध छन् ।
“रमेश सर आउनु भएन कि के हो ?” उनले प्रश्न गरिन्,”हिजो त आउने कुरा गर्नु भएको थियो ।”
यति भनेपछि उनी पहिलेदेखि क्याम्पस आइरहेको अनुमान गर्न मलाई गाह्रो भएन । एक दुई गर्दै विद्यार्थी थपिँदै गए । एक साथी शौचालय खोज्न थाले । उनी पनि म जस्तै नयाँ रहेछन । मलाई पनि हल्का च्यापेकै थियो । उनीसँगै म पनि पछिपछि लागे । शौचालय गएको अघिको साथीले भनेको सरकारको रूप देखिहालियो ।
बल्लतल्ल कर्म सकेर फर्किदै थिएँ, दुई जना भित्र जाँदै थिए । त्यो मध्येको एक जनाले भन्यो, “साला यो ट्वाइलेट र यो क्याम्पसका गतिविधि उस्तै छन् । सबैतिर कुनै न कुनै गन्ध आएकै हुन्छ । कतै पैसाको, कतै राजनीतिको, कतै जातको, कतै धर्मको, कतै क्षेत्रको । सब तिर गन्धै गन्ध । त्यसैले मान्छे पनि गन्हाएको जस्तो लाग्छ । यो सब टोटलमा साला गन्धनीति हो यार दोस्त ।”
सुनिताको भनाइ अनुसार हामी सबै जना रमेश सरको प्रतिक्षामा थियौं । तर सर आउने कनै छाँटकाँट देखिएन ।
एकजना साथीले भने,”साथीहरु क्याम्पस चिफलाई भेटौं ।”
उनको कुरामा सबैको मत मिल्यो । सबैजना क्याम्पस चिफको कार्यकक्ष तिर लाग्यौं । वार्ता छलफल, सहमति र प्रतिबद्धता गर्नमा नेपालीलाई सायद कुनै अरु देशको माइकालालले भट्दैन । छलफल पछिको निष्कर्ष निस्कियोः अर्को हप्ता देखि नियमित कक्षा सञ्चालन गर्ने ।
“नेपाली प्रतिबद्धता कार्यान्वयन नगर्दा फेरि छलफलमा बस्न सक्ने भएकोले नेपाली प्रतिबद्धता भनिएको हो” क्याम्पस चिफले भने,”यो छलफल शब्द बडो ताजुबको लाग्छ मलाई । यो चलाखले छल गर्ने अनि फल पनि आफैं खाने भएर नै शब्द छलफल भए जस्तो लाग्छ कहिलेकाँही त ।”
क्याम्पस चिफको प्रतिबद्धता अनुसार अर्को हप्ता लागे क्याम्पस तिर । मलाई क्याम्पस पढाउने सर भने पछि मास्टर डिग्रीमा म्याथ पढाउने सरको खुब याद आउँथ्यो । सर रियल एनालाइसिसको क्लास पढाउँदा पुरानो नोट ल्याएर आउनु हुन्थ्यो । एक दिन खोइ कुन हिसाब हो, नोटको बिचको पाना हराएछ । हिसाबको बिचको भाग हराउँदा सरलाई थाहा नै भएन । तर पनि सरले त्यो हिसाब करिब चार ब्याचलाई सिकाउनु भयो । चार बर्ष पछि कताबाट त्यही पाना फेरि भेटिएछ । अनि बल्ल सरलाई थाहा भयो कि आफूले गलत सिकाएको कुरा । मलाई प्रायः त्यस्तै लाग्छन्, सरकारी क्याम्पसका प्राध्यापक साबहरू ।
साथीहरू चलमलाउन थाले सर आउनु भयो भन्दै । एल.एल.बी. पढाउने शिक्षक भने पछि मलाई लागेको थियो सर पक्कै कपाल फूलेको हुनुहोला । चस्मा भन्दा माथिबाट आँखा हेर्ने, बोल्न पनि अलि गाह्रो हुने यस्तै यस्तै विशेषता भएको । मैले कल्पना गरिरहेको अनुहार खोज्न थालें तर कतै देखिनँ । पहिले देखि चिन्नेले नमस्कार गरे । म झल्यास्स भएँ । म जस्तै उमेरको । कपाल माथि चस्मा राखेर फ्रेन्च कट दारी भएको रमेश सर देख्दा म तिनछक परें । मेरो दृष्टिकोण प्रति हल्का दया पनि जाग्यो । सबैजना सरसँगै कक्षाकोठा गयौं ।
पाठः प्राकृतिक न्यायको सिद्धान्त
सरले पढाउन सुरु गर्नु भयो । पाठको परिचय खण्डमा सरले ननस्टप बोल्नुभयो ।
“संसारमा जति कानुनका ठेली वा दस्ताबेज बनेका छन्, ती सबै प्राकृतिक न्यायको सिद्धान्तमा आधारित छन् र हुनुपर्छ । मानव सभ्यताको रोम इतिहास देखि पूर्वीय दर्शन या पश्चिमा दर्शन सबै यही सिद्धान्तका पृष्ठभूमिकामा छन् । प्रकृति विपरित बनाइएका कानुन न्याय प्रणाली सर्बसम्मत अस्वीकृत हुन्छन् । प्रकृतिमा भएका सब कुरा ठिक छन् । यसलाई सच्याउने या सुधार गर्ने कुचेस्टा गरिनु हुँदैन । बरु सोही अनुसार आफूलाई परिमार्जन गर्नु पर्छ । यही नै प्रकृतिवाद हो । यहीअनुसार नै न्याय प्रणाली बन्नु पर्छ । कतै कतै प्रकृतिलाई भगवान सँग पनि तुलना गरिन्छ । भगवानलाई तेस्रो शक्तिका रुपमा पनि चित्रण गरिन्छ । यो सिद्धान्त माया, प्रेम, विनय मानवियतामा आधारित हुन्छ । यसलाई अलिखित कानुन पनि भन्न सकिन्छ ।”
झुस्स दारी पालेको डबल डिग्री होल्डरले सरलाई प्रश्न गर्यो,“सर, के प्रकृति र भगवान उस्तै हुन ?”
सरको जवाफ,”उस्तै नभनौं तर कतै तादम्यता छ जस्तो मलाई लाग्छ । नत्र एउटा जङ्गल भित्र बाघ, सिंह, खरायो र स्याल कसरी रहन सक्छन् होला ? अझ भनौं एउटै र उस्तै दुलो भित्र सर्प, भ्यागुता र मुसो कसरी रहन सक्छन् ? कस्ले फूल् भन्छ होला गुराँसलाई वसन्त ऋतुमा मात्र ? कस्ले र किन भन्छ होला गाईलाई दुध बनाऊ भनेर ? कस्ले भन्छ हुर्काऊ बच्चा, त्यो कुकुरलाई ? कस्ले सिकाइ दिन्छ होला चरालाई तिम्रो गुँड यही हो भनेर ? यी सबै हेर्दा कोही त छ जस्तो लाग्छ मलाई । यो संसार चलाउने त्यो पक्कै भगवानु हुनुपर्छ ।”
सरको कुरा मलाई अलि चित्त बुझेनँ ।
मैले दिइहालें,”सर प्रकृति अनुभवजन्य साक्षात कुरा हो भने भगवान काल्पनिक विश्वास मात्रै हो ।”
सबैले म तिर हेरे जस्तो लाग्यो । कतिको मुहारमा हेर्दा लाग्थ्योः कुरो यो ठिक हो ।
एक एनजिओकर्मी जस्तो देखिने महिलाले सोधिन्,“सर, नेपालको राज्य प्रणाली कसरी चलिरहेछ या भनौं कुन सिद्धान्तले चल्दै छ ?”
सरलाई प्रश्न नै मजाक जस्तै लाग्यो कि के हो मज्जाले एकपल्ट हाँसे र भनेः नेपालमा कुन सिद्धान्तले काम गरेको छ भन्ने खोइ म आफै पनि अलि प्रष्ट छैन । यहाँ बोलिने कुरा गरिदैँन, सुनिने कुरा भनिँदैन । जति बोलिन्छ, त्यो सब झुटको पुलिन्दा मात्र हुन्छ । जति गरिन्छ, त्यो सब देखाउने नाटक मात्र हुन्छ । सोच्नु, बोल्नु र गर्नु क्रमशः एक भन्दा अर्को खतरनाक छन् । जब सम्म सोचिने कुरा, बोलिने कुरा र गरिने कुरामा एकरुपता हुँदैन, तब सम्म कुनै पनि सिद्धान्तले काम गर्दैन । नेपालमा चलेको सिद्धान्त भन्ने नै हो भनेः भगवान भरोसा हो । अझ भनौं, हरेक गतिविधिमा कुनै न कुनै गन्ध जोडिएकाले ‘गन्धवाद’ भन्दा पनि हुन्छ कि !
अर्का एकजना अलि नाष्तिक रहेछन् क्यारे, सरको कुरामा अलि चित्त नबुझे जसरी सोधे ।
“सरले धेरैपटक भगवानको कुरा गर्नुभयो । सर, यी भगवान् भन्ने जन्तु खासमा कुन घरमा बस्छन् होला ?”
सर अहिले त आजित नै भए जस्तो लाग्यो । तर पनि जवाफ दिए,”त्यो त मलाई थाहा छैन ।”
अघिसम्म संसारका सबै प्रश्नको जवाफ दिन सक्ने जस्तो गरेका शिक्षक यो प्रश्नले थला परेको देखिए । पछाडि बस्ने अर्काे एकले बोल्ने आँट गरे,”सर, भगवान थिए । अहिले हराए ।”
नाष्तिक जस्तो देखिने अर्काले प्रतिप्रश्न गर्याे,”कसरी ?”
जवाफ यस्तो आयो,”जसरी वातावरण परिवर्तनले डाइनोसर लोप भए, त्यसैगरी मान्छे परिवर्तन हुनाले भगवान लोप भए ।”
उनले अझै थपे,”जस्तो अहिले हामी पढिरहेको भवन भत्काए पछि हाम्रा सन्ततीलाई ‘यहाँ भवन थियो । अहिले छैन ।’ भन्नुको विकल्प रहँदैन । त्यस्तै हो । त्यसैले भगवान थिए । तर मान्छेका व्यवहारले लोप भए ।”
अर्को उमेरले चालिस काटेका जस्ता देखिने दारीवाल व्यक्तिले थपे,”यसो भनौं, पहिले मान्छेका व्यवहारहरुमा सदाचार, नैतिकता, सहयोग, मानवता, दयाभाव, इमानदारिता, करुणा सबै थिए । अझ भनौं, हरेक मान्छे भगवान जस्तै थिए । अहिले त्यो छैन । त्यसैले भगवान हराए भन्न पनि सकिन्छ । या मान्छे भित्रको भगवान हरायो भन्दा पनि हुन्छ ।”
त्यसैमा सरले थप्नु भयो,”मान्छेहरु चर्पी जस्तै गन्हाउन थाले । त्यो गन्ध सहन नसकेर भगवान अरु नै कुनै ग्रहमा गए भन्दा ठिक होला ।”
यति भन्दै उनले क्लास समअप गरे ।
सर निस्केपछि कुन चाँहीले पछाडिबाट भन्यो,”वा रमेश ! मान्छेको गन्धले भगवान लापत्ता । जय गन्धवाद ! जय रमेश सर !”
लेखकका अन्य लेख !
नेपाली समाजले तय गरेको व्यवहार
सरकारका छोराछोरी सरकारी स्कुलमा
कविताः सुइँना र औंसीको चन्द्रमा
शैक्षिक गुणस्तर : हाम्रो अवस्था !
कसरी समय बिताउने लकडाउनमा बालबालिकासँग ?
सार्वजनिक कार्यक्रम र कर्मकाण्ड