जीवन न्यौपाने
नपठाऊ प्रिय तिम्रा यादहरु !
क्लाइमेट चेन्जले गर्दा
ती सब दुषित भइसकेका छन् ।
दुषित तथा प्रदुषित यादहरु,
मेरो स्वास्थ्यकालागि हानिकारक छन् !
कहिलेकाहीँ मलाई पनि
तिम्रो सम्झना नआएको हैन,
तर ती सम्झनाहरु पनि खोई कस्ता थिए !
‘स्लिपिङ ट्याब्लेट खानु पर्छ’
भन्नुहुन्छ डाक्टर साब !
तिमी र म छुट्टिनु भन्दा पहिले
गज्जबको भ्रममा बाचेका थियौं,
थियो न कुनै रहर, न थियो बेग्लै शहर !
थियो त केवल सुन्दर तर निरस बगर ।
कहाँ गएनौं तिमी र म ?
अरुले त खोई देखे-देखेनन्,
अवश्य त्यो धुलोले सम्झिएको हुनुपर्छ
किनकी
हजारौं भ्रममा बाच्नेहरुका पाइला जस्तै
तिमीले र मैले सँगै टेकेका छौं त्यहाँ ।
शायद तिमीलाई थाहा छैन होला,
तिमी छुटिए पछि,
म ती हरेक ठाउँमा दोहोर्याएर पुगेको छु ।
जहाँ हामी बेइमानी भित्र,
इमान साट्न पुगेका थियौ
तिमी हुँदा भन्दा दुईगुणा बढी मज्जा आयो
तिमी नहुँदा खेरी !
न तिमी थियौ,
न भ्रमहरु थिए
न थियो बेइमानी भित्रको इमान !
तिमीले दिएका भ्रमका पोकाहरु
एक-एक गर्दै सुनाए,
त्यो पिपलको हरेक पातहरुले
जुन पिपलको छहारी मुनी बसेर
हामीले अन्तिम तृप्ती पिएका थियौं !
एउटा पात त हाँस्दै कानमा आएर भन्दै थियो ,
प्रिय दोस्त मलाई पहिले नै भन्न मन थियोः
“तिमी सुइँनामा छौ”
तिमी काहिलेकाँही भन्थ्यौ,
“डियर, हेर त म चन्द्रमा जस्तै छु”
हो रहेछ !
हिजो मैले तिमीलाइ भेटेको
हरेक दिनको पात्रो हेरें
बल्ल थाहा भयो,
त्यो दिन पुर्णिमा रहेछ !
हरेक औंसीको रात तिमीलाई सुइँनामा देख्छु ।
खोई को-को आउँछन् सुइँनमा ?
तर, सबैलाई काला देख्छु
मात्र तिमीलाई चन्द्रमा जस्तै देख्छु !!