फ्रान्सेली क्रान्तीको एक शताब्दी पुगेको सम्झनामा पेरिसले सन १८८९ मा एउटा ‘विश्व प्रदर्शनी’ को आयोजना गर्ने भयो । पेरिसको श्याम्प-डे-मार्सको सुन्दर भुमीमा राखिने गरी संसारका सबै डिजाइनरहरुलाई प्रदर्शनी प्रवेशद्वारको रुपमा रहने एउटा स्मारकको परीकल्पना पठाउन आह्वान गरियो । करीब १०० भन्दा बढी इन्जिनियर तथा आर्किटेक्टहरुले यसमा सहभागिता जनाए । तीमध्येको एउटा डिजाइनले प्रदर्शनी आयोजकहरुको मन आश्चर्यचकित पार्दियो । सबैको सहमतिमा उक्त डिजाइन प्रदर्शनीका लागि छनौट गरियो ।
मे ६ तारिख देखी प्रदर्शनी सुरु भयो । प्रदर्शनी हेर्न आएका सबै मान्छेको ध्यान एकै तिर केन्द्रित हुन पुग्यो । प्रवेशद्वारको रुपमा अडिएको एक भव्य संरचना, जुन न त्यस अघी कसैले कहीकतै देखेको थियो न त कल्पना नै गरेको । सब चकित खान्छन् । त्यो आश्चर्य थियो, सुपरिचित अाइफेल टावर । जसका डिजाइनर तथा निर्माता थिए, महान इन्जिनियर-आर्किटेक्ट एलेक्जेन्डर गुस्ताभ अाइफेल ।
सन १८३२ मा फ्रान्सको डिजोनमा जन्मिएका गुस्ताभ अाइफेलको वास्तबिक नाम ‘अाइफेल’ भने होइन । यो त उनका पुर्खाले आफ्नो उद्गमभुमी तिरको पहाड ‘अाइफेल’ को सम्झनामा ग्रहण गरेका थिए ।
अाइफेल टावरको अनपेक्षित प्रसिद्धीबारे दंग हुँदै ठट्टाको शैलीमा कुनै समय अाइफेलले भनेका थिए,“म अाइफेल टावरसँग निकै डाह गर्छु, किनकी उनी म भन्दा निकै प्रसिद्ध छिन् ।”
अाइफेल टावरको करिज्मा
अाइफेल टावर निर्माणको सम्पूर्ण श्रेय गुस्ताभ अाइफेललाई दिइने भएता पनि यसको अवधारणा भने उनका सहयोगी इन्जिनियर मरिस कोचलिनले ल्याएका थिए । सुरुसुरुमा धेरैले यो डिजाइनमाथि शंका गरे, जुन तत्कालिन समयको बिल्कुल नयाँ अवधारणा थियो । कतिपयले त यसलाई ‘भल्गर तथा कुरुप डिजाइन’ समेत भन्न भ्याए । तर कसैले पनि यो अनुमान सम्म गर्न सकेनन् कि कुनै दिन यही डिजाइनले विश्वभर तहल्का मच्चाइ दिनेछ भनेर ।
गुस्ताभ अाइफेलको गणित र डिजाइन डिटेल क्षमता निकै लोभलाग्दो थियो । अाइफेल टावर परियोजनालाई पेपरमा उतार्न मात्रै उनले ३० जना ड्राफ्टम्यानलाई लगातार १८ महिनासम्म खटाएका थिए ।
अाइफेल टावर त्यस समयको सर्वोच्च संरचना थियो, जुन उपाधी अहिले आएर दुबइको बुर्ज खलिफाको पोल्टामा छ । इन्जिनियरिङ्ग कलाको उच्चतम प्रयोगका कारण टावर निकै आश्चर्यजनक लाग्छ । ठुलो हुरी आएको बखत यो लगभग ५ इन्च सम्म र सुर्योदयको बखत उच्च तापका कारण ७ इन्च सम्म पनि तन्किन सक्छ । झन्डै १० हजार टन भन्दा पनि बढी तौलको यस टावरका जगका पिल्लरहरु हुबहु कम्पासको चार बिन्दुतिर उन्मुख छन् ।
अाइफेल टावरमा बसेर पेरिस अर्थात ‘सिटी अफ लाइट्स’को प्यानारोमिक नजारा हेर्न कै लागि वर्षेनी करीब ७० लाख भन्दा बढी पर्यटकहरु फ्रान्स आउने गरेको तथ्यांकले बताउछ । यो आधुनिक विश्वको आश्चर्यजनक वास्तुकलाको एक उत्कृष्ट नमुना हो ।
इन्जिनियरिङ्ग यात्रा
पेरिसको सुप्रसिद्ध सेन्ट्रल स्कुल अफ आर्ट्स एन्ड म्यानुफ्याक्चर्सबाट उनले रसायनशास्त्रमा राम्रो अंक सहित स्नातक गरे । उनको आशा थियो, स्नातक सकिए लगत्तै उनी आफ्नै अंकलको वर्कशपमा काम गर्ने छन् । तर अफसोस, पारिवारिक मनमुटाबका कारण उनको सपना पुर हुन सकेन । उनी अब आँफै काम खोज्न थाले । केही महिना त उनले भिनाजुको मेटल कारखानामा बिना तलब पनि काम गरे । उनको पहिलो तलबी जागिर थियो, रेलवे इन्जिनियर चार्ल्स नेभ्युको पर्सनल सेक्रेटरी ।
सब ठिकठाक चल्दै हुन्छ । एकाएक चार्ल्सको कम्पनी कङ्गाल हुन पुग्छ । अाइफेल चिन्तित हुन्छन् । हुँदाखादाको जागिर जादा उनलाई असह्य हुन्छ । तर उनको सौभाग्य, चार्ल्सले उनको दु:ख देख्न सक्दैनन् र उनकै रिफरमा अाइफेलले सेन्ट जर्मन रेलवे अन्तर्गतको एउटा फलामे पुल डिजाइनको काम पाउछन् । उनले त्यो काम निकै बखुबीका साथ पुरा गर्छन् ।
सन १८६८ को वर्ष थियोफिल सेरिगसँग मिलेर उनले ‘अाइफेल एन्ड कम्पनी’ स्थापना गर्छन् । सन १८७५ को वर्ष इफेल एन्ड क्म्पनीले दुइटा महत्वपूर्ण परियोजनाहरु प्राप्त गर्छ । पहिलो, भियना-बुडापेस्ट जोड्ने रेलवेको स्टेसन । देस्रो, पोर्चुगल डौरोमाथिको पुल । जसमध्य भियना-बुडापेस्ट रेलवे स्टेसनमा प्रयोग भएको नवीनतम इन्जिनियरिङ्ग डिजाइनको अझै सम्म पनि निकै प्रसंसा गर्ने गरिन्छ ।
अाइफेल एउटै कुरामा अडिएर बसिरहन सक्दैनथे । उनी हरदम केही नयाँ गर्न लालायित हुन्थे । यसैक्रममा सन १८७९ को वर्षदेखी उनी प्री-फ्याब्रिकेटेड पुलको सोचमा लाग्न थाले, जसअन्तर्गत पुलका सबै सामानहरु पहिले जसरी साइट मै बनाउनुको साटो रेडिमेड सामानहरु लिएर साइटमा मात्र जोड्ने चलनको सुरुवात भयो । विस्तारै पुलका स-साना पार्ट्सहरु बन्न थाले, तिनीहरुलाई एकापसमा जोड्ने बोल्ट, रिवेटको बिकास हुन थाल्यो । स-साना पुलहरु देखी लिएर रेलवे पुलहरुमा समेत उनको नविनतम प्रविधिको प्रयोग एकाएक ह्वात्तै बढ्न थाल्यो ।
स्ट्याचु अफ लिबर्टी
सन १८६५ को वर्ष । पाँच वर्षे लामो अमेरिकन सिभिल वार अन्तत टुङ्गिएको हुन्छ । त्यसै अवसरमा फ्रान्सेली ईतिहासकार एडवार्ड डि लेबोलीले फ्रान्स सरकार समक्ष एउटा प्रस्ताब राख्छन्, अमेरिकाको यो शान्ती-सेलिब्रेसनमा एक पुरानो असल मित्रको नाताले फ्रान्सको तर्फबाट एउटा स्ट्याचु बनाएर उपहार दिने । प्रस्ताब स्वीकार हुन्छ । फ्रान्स र अमेरिकाको जोइन्ट प्रोजेक्टको रुपमा काम सुरु हुन्छ । फ्रान्सले स्ट्याचु बनाउन थाल्छ र अमेरिकाले त्यसको फाउन्डेसन । यो समझदारीले दुई राष्ट्र बिचको आपसी सम्बन्ध झनै प्रगाढ तुल्याउने अपेक्षा राखिन्छ ।
स्ट्याचुको वाहिरी शेलको डिजाइन तथा निर्माण बर्थोल्डीले गरे भने अाइफेलले त्यसको भित्री स्टिल फ्रेम बनाएका हुन् । उनले यसमा बाहिरी लोड एवम् तिब्र हावाको प्रेसर थेग्ने नवीनतम चारखुट्टे पाइलन संरचनाको बिकास गरे । यसको सबै निर्माण पेरिस मै गरिएको थियो र पानीजहाजमा लिएर सन १८८६ मा अमेरिकाको लिबर्टी अाइसल्यान्ड, म्यानहट्टन न्युयोर्कमा राखिएको थियो, जुन अहिले स्ट्याचु अफ लिबर्टीको नामले संसार प्रसिद्ध छ ।
पनामा स्क्यान्डल
पनामा नहर, उनको जीवनको दुर्भाग्य हुन पुग्यो । फर्डिनान्ड डी लेसेपको डिजाइनमा बनेको नहर कमजोर इन्जिनियरिङ्ग योजनाका कारण पुर्णत असफल ठहरिएपछि त्यसमा अाइफेलको अवधारणाबाट बनेको लक सिस्टमको प्रयोग गरिन्छ । आयोजना धेरै हदसम्म सफल पनि हुन्छ । तर अफसोस अाइफेलको जीवनमा भने नमिठो दाग लाग्न पुग्छ । परियोजना सञ्चालक कम्पनी माथि ठगी र अन्यायपूर्ण व्यवस्थापनाको आरोप लगाइन्छ । यसमा अाइफेल देखी डी लेसेप लगायत सबै टिमलाई जरिवाना सहित दुई वर्ष जेलचलानको फैसला सुनाइन्छ । पछी फेरी फैसला त उल्टाइन्छ तर अाइफेलको प्रतिष्ठामा भने ठुलो आँच पुगी सकेको हुन्छ । यसबाट उनको मनमा नराम्रो ढंगले आघात पुग्न जान्छ । एकाएक उनले संरचना निर्माण तथा डिजाइनको दुनियाँबाट सदाका लागि सन्यास लिने घोषणा गर्छन् ।
उत्पादन र निर्माणको दुनियाँबाट सन्यास लिए पनि अध्ययन, खोज र अन्वेषणको दुनियाँमा भने अाइफेल मृत्यु पर्यन्त राज गरिरहन्छन् । मौसम विज्ञान र एरोडाइनामिक्समा उनले दिएको योगदानको कदर स्वरुप सन १९१३ मा उनलाई स्यामुयल मेडल पनि प्रदान गरिएको थियो ।
क्लोजिङ
अाइफेलको सारा जिन्दगी फलाम सँगै बित्यो । उनले आफ्नो करियरमा संसारभरी सयौको संख्यामा फलामे पुल तथा टावरहरुको डिजाइन तथा निर्माण गरे । यसकारण पनि उनलाई “फलामका जादुगर” भनेर समेत चिन्ने गरिन्छ । उनकै आविष्कारका कारण मान्छेहरुको आवतजावत निकै सहज हुन पुग्यो, वर्षौ लाग्ने ठाउहरु केही दिनमै पुग्न सकिने भयो । विशेषगरी अाइफेल टावर र स्ट्याचु अफ लिबर्टी मार्फत संसारैभरी कला र सौन्दर्यको ठुलो प्रभाव पर्न गयो ।
उनका हरेक डिजाइनहरु यसकारण पनि सफल भए किनकी उनी कला, सरलता र गुणस्तरमा असाध्यै विश्वास गर्थे । उनका परियोजना यती सम्म सरल हुन्थे कि ती सम्पन्न गर्न कुनै सिपालु कामदारको जरुरत पर्दैनथ्यो । तर उस्तै गुणस्तरीय र आकर्षक पनि । उनको यो जादुयी खुबीको सताब्दीयौ पछी आज सम्म पनि अझै सर्बत्र प्रशंसा गर्ने गरिन्छ ।
गुस्ताभ अाइफेल निकै कलात्मक थिए । सारा जीवन त उनको कला कै सेरोफेरोमा बित्यो नै, हुँदाहुँदा उनको मृत्यु पनि कलात्मक नै बन्न पुग्यो । सन १९२३ डिसेम्बर २७ तारिखका दिन पेरिसको रुर्याबेलीमा बिथोबिनको पाचौ सिम्फोनी सुन्दै गर्दा, उनी सदाका लागि अन्तर्धान भए ।
लेखकबाट थप रचनाहरू…
१. मिस नेपाल श्रृंखला खतिवडाको ‘मिस वर्ल्ड’ तयारी
२. रिङरोड अर्थात् स्वर्ग जाने बाटो !
३. इनोभेसनको यात्रा
४. सम्झनामा काठमाडौंका घरबेटी !
५. कलंकी एक्सप्रेस !!!
ooo
ooo