२०४६को जनआन्दोलन र २०४८ को आमचुनाव पछि देशभरि नै एक किसिमको राजनीतिक जागरण र उत्साहपूर्ण वातावरण छाएको थियो । मानिसहरुले राजनीतिक कुरामा धेरै चासो राख्न थालेका थिए । यसमा सचेत विद्यार्थी वर्ग अपवाद हुन सक्ने कुरै भएन । विशेष गरी स्कूल वा जिल्लामा सक्रिय रुपमा राजनीति गरेका विद्यार्थीहरु कलेज आएपछि पनि राजनितिमा चासो राख्ने भई नै हाले ।
२०४६ सालको परिवर्तनले आम मानिसमा विकास र प्रगतिका पक्षमा एक किसिमको उत्साह जगाएको थियो । तीस वर्षको लामो समय पश्चात् मानिसहरुले राजनीतिक स्वतन्त्रताको उन्मुक्ति महसुस गर्न पाएका थिए । जननिर्वाचित सरकार बनेको थियो । मानिसका अपेक्षाहरु बढ्दै गएका थिए । सर्वसाधारण जनता तीब्र परिवर्तन र विकासको उत्कट प्रतीक्षामा थिए । राजनीति गर्नेहरुका लागि ती आकांक्षाहरुलाई बुझ्नु र पूरा गर्नु अवसर तथा चुनौती दुवै थिए । राजनीतिक दलहरुले पञ्चायती शासनको लामो समायवधिमा भूमिगत किसिमले आफ्ना गतिविधिहरु गर्नुपर्दा आफ्नो संगठनलाई त्यति मजबुत बनाउन सकेका थिएनन् । दलका धेरैजसो बाहिरी गतिविधि र क्रियाकलापहरुलाई विद्यार्थी संगठनहरुले नै थेगेका थिए । पञ्चायती शासनकालमा विद्यार्थी राजनीति नै किन नहोस्, यसमा संलग्न हुनु जोखिमपूर्ण काम ठहरिन्थ्यो । राजनीतिप्रति दह्रो निष्ठा भएका र त्याग गर्न सक्नेहरु मात्र राजनीतिमा हाम फालेका हुन्थे । २०४६ सालपछि भने यो जोखिम रहिरहेन ।
हामी क्याम्पस प्रवेश गर्दै गर्दा देशमा भर्खर नेपाली कांग्रेसको जननिर्वाचित सरकार बनेको थियो । स्थानीय निकायका चुनावहरु पनि २०४९ वैशाखमा सम्पन्न भएका थिए । विद्यार्थीहरुलाई उसै त परिवर्तनका संवाहक शक्ति भनेर सम्बोधन गरिन्थ्यो । साँच्चैको परिवर्तनको संवाहक शक्ति बन्नका लागि विद्यार्थीहरुले पनि आफूहरुलाई वैचारिक रुपले सक्षम बनाउन पनि जरुरी थियो । यसका लागि प्रशस्त चिन्तन, मनन र अध्ययनको आवश्यक हुन्थ्यो । मलाई कलेजमा पढाई हुने पाठयपुस्तकहरुका अलावा राजनीति, दर्शन, इतिहास, साहित्य, भूगोल र अन्य समसामयिक विषयमा पनि सकभर धेरै अध्ययन गर्नुपर्छ भन्ने लाग्थ्यो । समयले भ्याएसम्म ती विषयहरुमा सकभर धेरै अध्ययन गरियो होला जस्तो लाग्छ । विद्यार्थी संगठनहरु चाहिं हामीले संगठित रुपमा राजनीति गर्नका लागि सिक्ने प्लेटफर्महरु थिए भन्ने लाग्छ ।
हाम्रो कलेज अध्ययनको दोस्रो सेमेष्टरमा पुग्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने भयो । चुनावको मिति घोषणा गरिएसँगै कलेजमा विद्यार्थी संगठनहरुको चहलपहल पनि बढ्ने नै भयो । माथिल्लो छात्रावासमा हामीहरुलाई भेट्न तल्लो छात्रावासबाट नेविसंघका दाइहरु शंकर पण्डित, राजेश ढकाल, श्रीराम न्यौपाने, सत्यनारायण शाह लगायत आइरहनुहुन्थ्यो । पुल्चोक क्याम्पसमा यस अघि संभवत सँधै अनेरास्ववियुले जित्ने गरेको हुँदा यस चोटिको चुनावका लागि भने वहाँहरुको सक्रियता अलिक धेरै देखिन्थ्यो ।
हाम्रो ब्याचको कुरा गर्नुपर्दा सबै समूह र सेक्सनको मोटामोटी सर्वेक्षणमा नेविसंघको उपस्थिति उत्साहजनक नै थियो । विस्तारै स्ववियु चुनावका लागि मनोनयन दर्ता गर्ने दिन आयो । नेविसंघका तर्फबाट अध्यक्ष पदका आकांक्षीहरुमा नारायण काफ्ले, श्रीराम न्यौपाने, सत्यनारायण शाह आदि हुनुहुन्थ्यो जस्तो लाग्छ । अन्तत: चुनाव लड्नका लागि नेविसंघको प्यानल तयार भयो । जस अनुसार अध्यक्षमा नारायण काफ्ले, उपाध्यक्षमा दीपकबाबु कँडेल, सचिवमा विनोद कुशवाहा, सहसचिवमा आशीष पाण्डे, कोषाध्यक्षमा देव नारायण यादव, सदस्यहरुमा नवीन कुमार कर्ण, लगायत थिए । हाम्रो ब्याचबाट समावेश भएका नामहरुमा भवेश चन्द्र प्रधानाङ्ग (सिभिल ए/बी सेक्सन, भक्तपुर), जीवन कुमार श्रेष्ठ (सिभिल सि/डि सेक्सन, अर्घाखाँची), नगेन्द्रनाथ योगी (सिभिल ई/एफ सेक्सन, दाङ), अजय कुमार शाह (इलेक्ट्रिकल, धनुषा), विनिता अग्रवाल (आर्किटेक्चर, काठमाडौं) थिए ।त्यतिबेला कुनै पदमा बसेर आफ्नो राजनीतिक सोपान अगाडि बढाउने सोच तथा योजना नभएको हुँदा मैले कुनै पदको उम्मेदवारीका लागि चासो राख्ने र दाबी प्रस्तुत गर्ने काम गरिंन । अखिलको समूहमा सुशील ज्ञवाली, तुलसी राई, छविराज पोख्रेल, तिलकराज भट्टराई दाइहरु लगायत थिए ।
देशमा त्यतिखेर नेपाली कांग्रेसको सरकार बनेको र स्कूल जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिक गतिविधिमा संलग्न भएको हिसाबले क्याम्पसमा आफ्नो इञ्जिनियरिङ अध्ययनको साथसाथै नेविसंघलाई पनि बलियो बनाउनु पर्छ भन्ने सोच रहेको थियो । क्याम्पस प्रवेश गरेको केही समयपछि नै नेविसंघको सक्रिय राजनीतिमा संलग्न दाइहरुको नियमित सम्पर्कमा पुगें । श्रीराम दाइले विपि स्मृति कल्याण कोषको स्थापनाका लागि मुम्बईबाट उदितनारायण झालाई झिकाएर एक सांगितिक साँझको कार्यक्रम गर्ने योजना बनाउनु भएको थियो । त्यस कार्यक्रमको टिकटहरु बेच्नका लागि हामी परिचालित भएका थियौं । यस कार्यमा नगेन्द्र, मुनेशजी लगायतका हाम्रा सेक्सनका साथीहरु सक्रियतापूर्वक लागेका थियौं ।
स्ववियुको चुनाव हुनेभए पछि त हाम्रो सक्रियता झन् बढ्ने भइहाल्यो । विशेषगरी हामी छात्रावासमा बस्नेहरु त त अझ बढी सक्रिय हुने भयौं । त्यतिबेला चुनाव प्रचारप्रसारका लागि संगठनको माथिल्लो स्तरबाट खासै उल्लेख्य आर्थिक सहयोग उपलब्ध भएको थिएन । नेविसंघका केन्द्रीय नेतृत्वमा रहेका एनपी सावद, चन्द्र भण्डारी, सरिता प्रसाई लगायतका विद्यार्थी नेताहरु भने क्याम्पसमा आयोजित चुनावी प्रचारको सभामा आएर सम्बोधन गरेका थिए । यस आमसभामा सबै उम्मेदवारहरुले आफ्नो परिचयको दिनुको साथै केही बोल्नु पनि पर्थ्यो । सबै उम्मेदवारहरु राजनीतिक रुपमा उत्तिकै पोख्त नहुने भएकोले केही उम्मेदवारका लागि लिखित भाषणको तयारी गरिदिने काम मैले गरेको थिएँ ।
क्याम्पसमा चुनाव नजिकिंदै गर्दा चुनाव प्रचारप्रसार तीब्र हुँदै थियो । ब्यानर र पम्प्लेटले क्याम्पस झकिझकाउ बन्दै गए । पम्प्लेटहरु टाँस्दा सबैले देख्ने ठाउँहरुमा कसले पहिले टाँसेर कब्जा गर्ने भन्ने बारेमा नेविसंघ र अखिलका बिचमा प्रतिस्पर्धा हुन्थ्यो । हामीले नेविसंघका साथीहरुलाई शुरुमै व्यापक रुपमा परिचालित गरेर धेरैजसो यस्ता महत्वपूर्ण ठाउँहरु पहिले नै कब्जा गरी एक प्रकारको मनोवैज्ञानिक युद्ध चाहिं जितिसकेका थियौं । सामान्यतया एक संगठनले पम्प्लेट टाँसेको भित्तामा अर्को संगठनले पम्प्लेट नटाँस्ने सहमति हुने गर्थ्यो ।
पहिलो चुनावमा प्रिन्ट गरिएका प्रचारसामाग्रीहरुको खासै उपलब्ध भएनन् । केही मात्रामा उपलब्ध भए पनि अन्तिम दिनतिर ज्यादै न्यून रुपमा प्राप्त भएको थियो । दाइहरुले हामीलाई नेविसंघको झण्डा बनाउन फोटोकपी कागज, सीसाकलम र रंगहरु उपलब्ध गराए । हामी पुरानो छात्रावासमा बसेर राति एक-दुई बजेसम्म झण्डा बनाउने काम गर्थ्यौं । यसका लागि हाम्रो छिमेकी कोठाको उपयोग भएको थियो । त्यो कोठा थियो – स्ववियु सदस्यका उम्मेदवार जीवनकुमार श्रेष्ठको, वहाँका रुममेट साथीहरु चेत कुमार खत्री र कृष्ण प्रसाद पौडेल पनि नेविसंघका सक्रिय कार्यकर्ताहरु हुनुहुन्थ्यो ।
झण्डा बनाउनका लागि एक जनाले स्केच बनाउने, अनि अर्काले त्यसको बीचमा गोलो बनाएर कलम र मशाल बनाउने, अर्कोले झण्डामा एउटा रंग लगाउने र र अर्काले अर्को रंग लगाउने काम पालैपालो गरिन्थ्यो । यस क्रममा हामीले छात्रावासमा बस्ने र नेविसंघप्रति झुकाव राख्ने प्राय: सबै साथीहरुलाई परिचालित गरेका थियौं । कतिपय साथीहरु मलाई इंगित गर्दै फलानो जस्तो पढन्ता मान्छे त लागिराछ भने हामी किन नलाग्ने भनेर सामान्य आस्था र झुकाव भएका अन्य साथीहरु पनि राम्रैसँग परिचालित भए र प्रचारमा दिलोज्यान दिएर प्रचारमा लागे ।
क्याम्पस नजिकै कुपण्डोल, पाटनढोका, चाकुपाटतिर बस्ने साथीहरु पनि कहिलेकाहीं यस हुलमा थपिन्थे ।राति अबेरसम्म झण्डा बनाउन खट्ने साथीहरुका लागि दालमोठ, चिउरा, चिया आदि खाजाको व्यवस्था गरिएको हुन्थ्यो । साथीहरुका बिचमा यसपालि पुल्चोकमा जसरी पनि अखिलको किल्ला भत्काउनैपर्छ भन्ने कुराकानी हुन्थ्यो । एक रातमै सयौं झण्डाहरु बनाउँथ्यौं र भोलिपल्ट बिहान क्याम्पस भवनका भित्ताहरुमा लगेर टाँस्ने काम गर्थ्यौं । यसरी एकदिन बनाइएका तीन सय भन्दा बढी झण्डाहरुलाई हाइवे ल्याब भवनको भित्तामा टाँसेर झण्डाको पोष्टरले नै ‘जय नेपाल” बनाएपछि क्याम्पसमा भएका धेरैजनाको ध्यान त्यसतिर आकृष्ट भएको थियो । हामीले भित्तामा इनामेलले लेख्ने कामलाई पूर्णत बन्देज गरेका थियौं । भित्तामा सेता कागजहरु टाँसिन्थ्यो र राम्रो हस्तलेखन भएका साथीहरुले त्यसमा चुनावी नाराहरु लेख्थे । यस लेखन कार्यमा हामीभन्दा अघिल्लो ब्याचका दाइहरु शीतलकाजी श्रेष्ठ र पुरुषोत्तम यादव अग्रपंक्तिमा थिए । हाम्रो अनवरत खटाइ देखेर अखिलका साथीहरु समेत चकित थिए ।
प्रत्येक सेक्सनका विद्यार्थीहरुको राजनीतिक र पारिवारिक पृष्ठभूमि पत्ता लगाएर कुन सेक्सनबाट कसको कत्ति मत आउँछ भन्ने लेखाजोखा गरिन्थ्यो । पुल्चोक क्याम्पसमा राजनीतिप्रति निरपेक्ष रहेका विद्यार्थीहरुको जमात पनि ठुलै थियो । ती निरपेक्ष जमातमा रहेका विद्यार्थीहरु मध्ये कसलाई कुन साथीका माध्यमबाट वा अन्य उपायबाट प्रभावित बनाएर आफ्नोतिर आकर्षित गर्ने भन्ने बारेमा पनि छलफल हुन्थ्यो । एकदिन सदस्य पदका उम्मेदवार साथी, जीवन कुमार श्रेष्ठलाई ‘ए/बी’ सेक्सनका साथी विनोद पौडेलले एकातिर कुनामा लगेर उनको आफ्नै सदावहार शैलीमा ‘हेर केटा ! नेविसंघलाई भोट दिनुपर्छ नि।’ भनेछन् । वास्तवमा जीवनजी आफैं नेविसंघको उम्मेदवार हुनुहुन्थ्यो, तर विनोदजीले चिन्नुभएको रहेनछ त्यतिखेर, आफ्नै प्यानलको उम्मेदवारलाई । जीवनजीले हामीलाई हसाँउँदै सुनाउनुभएको थियो, पछि ।
चुनावको दिन आयो । चुनावका उम्मेदवारहरुका लगि नेविसंघको झण्डा सहितको बाहिरबाट लगाउन मिल्ने भोटो बनाइएको थियो र अन्य सक्रिय रुपमा खटिने अन्य थुप्रै कार्यकर्ताहरुले पनि कपडाबाट बनेका प्रचार सामाग्रीहरु भिरे, त्यसदिन । जसले गर्दा चुनावको दिन नेविसंघको पक्षमा माहौल बनाउन थप सहज भएको थियो । केही साथीहरुले ट्याक्सी रिजर्भ गरेर उपत्यकाको विभिन्न ठाउँमा रहेका मतदाता विद्यार्थीहरु ओसार्ने काम गरे । शान्त र सौहाद्रपूर्ण वातावरणमा स्ववियु चुनाव सम्पन्न भयो ।
बेलुकी मतगणना शुरु भयो । यसरी मतगणना हुँदै जाँदा प्रत्येक ब्याच, सेक्सन र समूहबाट अनुमान गरे अनुसारको मत आए नआएको हिसाब हुँदै जान्थ्यो । मतगणनाको नतीजा आउँदै गर्दा नेविसंघका साथीहरु उत्साहित हुँदै गएका थिए । अन्ततिर आउँदासम्म नेविसंघको प्यानल नै आउने जस्तो देखियो, तर सदस्यको पदहरुमा भने केही प्रतिस्पर्धा देखिएको थियो । अखिलका तर्फबाट अनिलभक्त श्रेष्ठ दाइको उच्चतम मत आइरहेको थियो भने हाम्रै सेक्सनका साथी, नेविसंघका तर्फबाट सदस्य उम्मेदवार नगेन्द्रनाथ योगीको न्यूनतम मत । नभन्दै अनिलभक्त श्रेष्ठ दाइले (शायद) १२ मत को फरकले अखिलका तर्फबाट सदस्य पदमा विजयी हुने एक मात्र उम्मेदवार बन्न सफल हुनुभयो । राति दश एघार बजेतिर मतगणनाको अन्तिम नतीजा बाहिर आयो । नेविसंघले एक सदस्य बाहेक सबै पदमा विजय प्राप्त गर्यो । जीतको खुशियालीमा निस्केको जुलुस राति नै भएपनि नाराबाजी गर्दै पाटनढोकासम्म पुग्यो । हाम्रो छेवैको पाटन संयुक्त क्याम्पसमा भने अखिलका तर्फबाट अध्यक्षमा रुपनारायण श्रेष्ठ सहितको प्यानल विजयी भएको थियो ।
भोलिपल्ट उपत्यकामा नेविसंघका तर्फबाट विजयी र अखिलका तर्फबाट विजयी क्याम्पसहरुबाट संयुक्त रुपमा छुट्टाछुट्टै जुलुसहरु निस्केर शहर परिक्रमा गर्ने काम गरेको थियो । केहीदिनसम्म क्याम्पसमा चुनावको रमरम लागि नै रह्यो, विद्यार्थीहरुलाई । हामी जस्ता दिनरात चुनाव प्रचारमा खटिनेहरु केही दिन सुस्ताएर आराम गर्यौं ।
स्ववियु चुनाव जितेर आउने सबै साथीहरुमा नयाँ उत्साह थियो, केही गर्नुपर्छ भन्ने । यो देशमा बहुदलीय व्यवस्था आए पछिको पहिलो स्ववियु कार्यकाल थियो । हाम्रो क्याम्पसको कुरा गर्नुपर्दा भने स्ववियु चुनावको लगभग दुई महिनापछि नै मुठभेडको दुखद घटना भयो र यसै मुठभेडका बिच क्याम्पस प्रांगणमा भएको भरत देवकोटाको मृत्युको घटनाले सबैलाई स्तब्ध तुल्यायो । उनको मृत्युलाई लिएर लामो समयसम्म नेविसंघ र अखिलका बिचमा आरोपप्रत्यारोप चालिराख्यो । यसका बारेमा विस्तृत रुपमा अघिल्ला लेखमा लेखिसकेको छु ।
वास्तवमा विद्यार्थी संगठनहरुको प्रमुख दायित्व भनेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हकहित र कल्याणका लागि आवाज उठाउनु, त्यस सम्बन्धी गतिविधिहरु संचालन गर्नु नै हो । राजनीतिक आस्था र झुकावका आधारमा एक आपसमा स्वस्थ बहस र छलफल गर्न पनि सकियो । आफ्ना सांगठनिक गतिविधिहरु पनि संचालन गर्न पाइयो, तर राजनीतिक दलहरुको गोटी मात्र बन्ने, कुनै नेता वा राजनीतिक समूहको संकीर्ण स्वार्थपूर्ति गर्ने हतियार बन्नका लागि परिचालित हुने, ठूला नेताका स्वार्थ बाझिंदा, स्वार्थ बाझिने विद्यार्थी समूहहरु समेत झैझगडा र मुठभेडमा उत्रिनु भनेको चाहिं साच्चिकै दुर्भाग्यपूर्ण हो ।
असल मनसायले लिएमा यस्ता संगठनहरु विद्यार्थीका लागि राजनीतिका आधारभूत कुरा (सिद्धान्त, विचार, सांगठनिक परिचालन आदि) हरु सिक्ने थलो बन्न सक्छन् । संगठनको ऊर्जालाई रचनात्मक कुरामा पनि लगाउन सकिन्छ । म सांगठनिक गतिविधिमा संलग्न हुनुको कारण चाहिं यस्ता कुरामा कसरी आफूलाई प्रशिक्षित तुल्याउन सकिन्छ भन्ने थियो । राजनितिमा संलग्न भएपछि कुनैपनि हालतमा संगठन वा स्ववियुको कुनै पदमा आसीन हुनै पर्छ भन्ने सोच आएन ।
हामी दोस्रो वर्षमा पुगेपछि शंकर पण्डित लगायतका दाइहरु अध्ययन सकाएर कलेज बाहिर निस्कनुभयो । नेविसंघ पुल्चोकको दोस्रो सेमेष्टर र आइ. एस्सीको पहिलो वर्षको परीक्षा सकिएपछि म हप्ता दशदिन बिरामी परेर कलेज जान सकिराखेको थिईंन । त्यसैबेला नेविसंघको क्याम्पस ईकाईको पुनर्गठन भएछ । म त त्यहाँ उपस्थित हुन सकिंन । साथीहरुले बताए अनुसार अध्यक्षको आकांक्षीमा श्रीराम न्यौपाने र सत्यनारायण शाह दाइ हुनुहुन्थ्यो । श्रीराम न्यौपाने अध्यक्ष चुनिनु भएछ । उपाध्यक्षमा विद्यापति चौधरी, सचिवमा आमोद निरौला, कोषाध्यक्षमा मुकेश काफ्ले तथा सदस्यहरुमा बिईका दाइहरु कुसाङ शेर्पा, शंकरराज लोहनी, हाम्रो अघिल्लो ब्याचका मोहनश्याम रञ्जितकार लगायत हाम्रो ब्याचका निरज खरेल, द्वारिका खनाल, नगेन्द्र अधिकारी आदि सहितको पन्ध्र सदस्यीय कार्यसमिति बन्यो ।
पछि तीन सदस्यीय सल्लाहकार समिति पनि बनाइयो । त्यसमा बिईका दाइहरु जिष्णु सुवेदी र मोहन थापा (हाल दुवै क्यानाडा) र म रह्यौं ।
नयाँ स्ववियु कार्यसमिति आएपछि खेलकुद सप्ताह लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालित भए । त्यसमध्ये हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने जिम्मेवारी मलाई दिइएको थियो । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्यौं (यसका बारेमा धेरै कुरा अघिल्ला लेखमा लेखिसकेको छु)। स्ववियुका तर्फबाट ‘म्यागाजिन’ प्रकाशन गर्ने जिम्मेवारी समेत पाएको भएपनि विविध कारणले गर्दा यो जिम्मेवारी भने पूरा गर्न सकिंन ।
यता नेविसंघ ईकाईले भने मलाई भित्ते पत्रिका संचालनको जिम्मेवारी दिएको थियो । भित्ते पत्रिकाको सम्पादनमण्डलमा बिईका दाई मोहन थापा, मेरो अघिल्लो ब्याचका दाइ मुकेश काफ्ले र म थियौं । यस कार्यमा मुकेश दाइ खासै सक्रिय हुनुभएन । मोहन थापा दाइले केही सहयोग गर्नुभएको थियो । भित्ते पत्रिकाको पाँच सात अंकहरुका लागि, लेखहरु संकलन गर्ने, सम्पादन गर्ने धेरैजसो म एक्लैले गरें । बरु मेरै ब्याचका द्वारिका खनाल, जीवन कुमार श्रेष्ठ, चेत कुमार खत्री, रमेश श्रेष्ठ लगायतका साथीहरुले भने धेरै सहयोग गर्नुभएको थियो ।
हाम्रो ब्याचका साथी जीवन कुमार श्रेष्ठ स्ववियु सदस्यका रुपमा सबभन्दा समय दिनेमध्येमा पर्नुहुन्थ्यो । स्ववियुका केही सदस्यहरु कलेजको अध्ययन समाप्तिपछि स्वत: बाहिरिंदै जाने भए । समय बित्दै जाने क्रममा स्ववियु पदाधिकारीहरुको उत्साह क्रमश: सेलाउँदै गएको र स्ववियुका गतिविधिमा कम ध्यान दिएका हुन् कि भन्ने आभाष विद्यार्थीहरुमा हुन थालेको थियो । नारायण काफ्ले लगायतका दाइहरु त्यतिखेर शायद केन्द्रको राजनीतितिर पनि जोडिने प्रयत्न गर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ ।
यस बिचमा नेपाली कांग्रेसभित्र अघिल्लो आमनिर्वाचनमा मदन भण्डारी बाट पराजित नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष कृष्ण प्रसाद भट्टराईलाई संसदमा लगिनुपर्छ भन्ने धारणाले प्रश्रय पाउँदै गएको थियो भने अर्कातिर नेपाली कांग्रेसको झापा, कलवलगुडीमा भएको महाधिवेशन पश्चात् पार्टीभित्र आन्तरिक कलह र खिचलो पनि बढ्दै गएको थियो ।
लामो समयसम्म प्रतिबन्धित अवस्थामा रहेको नेपाली कांग्रेसले आफ्नो संगठनभित्र संस्थागत पद्धतिको विकास गर्न पाएको थिएन । भलै विपि, गणेशमानसिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला जस्ता नेताहरुको विचार, साहस, त्याग, आदर्श, मूल्य मान्यताको राजनीति र सांगठनिक कुशलताबाट लाभान्वित भएर नेपाली कांग्रेसले २०४७ को आमनिर्वाचनमा बहुमत पाएको थियो । सर्वसाधारण जनता ती नेताहरुको त्याग र आदर्शको राजनीतिबाट धेरै हदसम्म प्रभावित र आशावादी पनि थिए । सरकारले शुरुका वर्षहरुमा देश र अर्थतन्त्रलाई गति दिने किसिमका कतिपय सुधारका कामहरुको शुरुवात पनि गर्दैथियो, तर सत्तामा पुगेपछि शायद मानिसहरुको लोभलालच र दम्भमा पनि केही बढोत्तरी हुने रहेछ क्यारे । यसको प्रतिच्छाँया लामो त्यागको विरासत बोकेर राजनीतिमा उभिएको नेपाली कांग्रेसमा पनि धेरथोर देखिन थाल्यो । मदन भण्डारीको देहावसान पश्चात् कृष्ण प्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नं १ को उपनिर्वाचनमा उम्मेदवार बनाइएपछि राजनीतिका ती विकृत पाटोहरु अझ बढी उजागर हुँदै जान थाल्यो । यस उपनिर्वाचनमा दिवंगत मदन भण्डारीकै पत्नी विद्या भण्डारी उम्मेदवार बनेकी थिइन् ।
काठमाडौं क्षेत्र नं १ मा तत्कालीन नेकपा एमालेको सांगठनिक अवस्था मजबुत थियो भने मदन भण्डारीको भर्खरै भएको देहावसन पश्चात् उनकी पत्नी विद्या भण्डारीले सहानुभूतिको मत पनि राम्रै बटुल्ने वाला थिइन् । यता नेपाली कांग्रेसमा भने एक समूहले कृष्ण प्रसाद भट्टराईको उम्मेदवारीलाई रुचाईराखेका थिएनन् ।
जे होस्, पार्टीले उम्मेदवार बनाईसकेको हुँदा हामी पनि कृष्ण प्रसाद भट्टराईको प्रचारप्रसारमा सक्रिय रुपमा लागेको थियौं । चुनावी र्याली र आमसभाहरुमा भाग लियौं । चुनाव प्रचारमा हिंड्यौं । नाङलेभारे, साँखु, जोरपाटी, गौशाला हुँदै बानेश्वर, कोटेश्वर, शंखमूलसम्म फैलिएको काठमाडौं क्षेत्र नं १ को भूगोलका बारेमा पनि धेरथोर जानकारी भयो । चुनावको दिन आयो । हामी पुल्चोक क्याम्पसको छात्रावासमा बस्ने धेरैको नाम त्यस क्षेत्रको अस्थायी मतदाताको रुपमा समावेश गरिएको रहेछ । हामी पनि भोट खसाल्न जानेभयौं । बिहान पाँच बजेतिर हल्लीखल्ली गर्दै छात्रावासबाट भोट खसाल्ने भनेर बाहिर निस्कन लागेको त, हामीभन्दा पहिले नै छात्रावासमा बस्ने हामी भन्दा धेरै अखिल समर्थक साथीहरु भोट दिनका लागि निस्किसकेका रहेछन् । हाम्रो मतदान केन्द्र परेको थियो – बत्तीसपुतली । त्यहाँको बुथमा बुथ प्रतिनिधि थिए, हाम्रै ब्याचका साथी, स्थानीय दिनेश पराजुली । छात्रावासबाट गएका अखिलका कतिपय साथीहरुसँग मतदान केन्द्रमा भेट भयो, तीमध्ये एक साथी थिए – काली प्रसाद नेपाल । मलाई लाग्छ, हाम्रो क्याम्पसबाट गएका कतिपय साथीहरुले दोहोर्याई तेहर्याई भोट खसाले । काली प्रसादजी हाल अष्ट्रेलियाको एक विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । नेपाल आएको बेला हामी भेट्छौं र म वहाँलाई प्रश्न गर्छु – “हामीले त्यतिखेर खसालेको भोटले हामीलाई र देशलाई के उपलब्धि भयो होला त?”
त्यस उपनिर्वाचनको दिन पो देखियो त । पहिले चुनाव प्रचारमा हिंडेका हाम्रा कतिपय साथी तथा नेपाली कांग्रेसका केही कार्यकर्ताहरु चुनावको दिन भट्टराईलाई हराउने अभियानमा पो हिंडिराखेका छन् त । उनीहरुले पार्टीको कार्यकर्ता भएर पनि खुल्लमखुल्ला आफ्नै पार्टीको उम्मेदवारलाई हराउने अन्तर्घात अभियानमा सामेल भएर हिंडेको देख्दा त्यो दिन राजनीतिको घृणित पाटोलाई पनि प्रत्यक्ष रुपमा आफ्नै आँखा अगाडि अनुभव गर्न पाइयो ।
यस चुनावमा कृष्ण प्रसाद भट्टराई पराजित भए, विद्या भण्डारीबाट, तर त्यो भन्दा पनि बढी त यसले नेपाली कांग्रेसभित्र नराम्रोसँग अन्तरकलहको बिजारोपण गर्यो । चुनावमा अन्तर्घात गर्नेलाई पार्टीले कारवाही गर्नुपर्छ भन्ने आवाज जोडतोडका साथ उठ्यो । पार्टीका तत्कालीन महामन्त्री तथा उपनिर्वाचनको केही दिन अगाडि मात्र प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३ मिनेट लामो वक्तव्य सरकारी संचार माध्यमबाट प्रत्यक्ष रुपमा प्रसारित भयो । यस वक्तव्यबाट अन्तर्घात अभियानमा लाग्नेहरुलाई मलजल पुग्यो भन्ने भन्ने आरोप अर्का पक्षले लगाएका थिए । केही नेताहरु त्यतिबेलाको सत्ता राजनीतिको खेलमा डुबेर राजनीतिक निष्ठा र सिद्धान्तबाट च्युत हुँदै गएका थिए । अन्तर्घातीलाई कारवाही गर्नुपर्छ र पर्दैन भन्ने बारेमा सडकमा विभिन्न नेताको नेतृत्वमा जुलुस निस्किन थाल्यो । एकपक्षको जुलुसको नेतृत्व तत्कालीन मन्त्री गोविन्दराज जोशीले गर्थे भने अर्को पक्षको नेतृत्व प्रकाशमानसिंह लगायतले । यस कुरालाई सल्टाउन नेपाली कांग्रेस, केन्द्रीय समितिका दर्जनौं बैठकहरु गणेशमानसिंहको निवासस्थान चाक्सीबारीमा बस्ने गरेको थियो । त्यस बाहिर हुने धर्ना कार्यक्रममा म पनि केही पटक सामेल भएको थिएँ ।
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेपाली कांग्रेसको संगठनभित्र दह्रो पकड भएको र सत्तामा पनि रहेको कारण, उनी र उनी समर्थकलाई अन्तर्घातको आरोप लगाए जसरी पार्टीले कारवाही गर्नु सजिलो थिएन । लामो समयसम्म यो विषयमा पार्टी अनिर्णित भईरहँदा पार्टीको संसदीय दलमा चौहत्तरे र छत्तीसे गुट जन्मियो । छत्तीसे गुटमा लाग्ने आठ मन्त्रीहरु पछि बर्खास्तमा परे । सरकारको नीति र कार्यक्रम पारित गर्ने दिन छत्तीसे गुटका सांसदहरु अनुपस्थित भए । त्यसले गर्दा सरकारको नीति र कार्यक्रम पारित हुन नसकेपछि तत्कालीन प्रधानममन्त्री गिरिजा प्रसाद कोइरालाले संसद भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरे । नेपाली कांग्रेस लगभग फुटकै संघारमा पुगेपनि फुट्न भने फुटेन । यी सबै घटनाबाट विचलित भएर नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमानसिंहले पार्टी परित्यागको घोषणा गरे । वास्तवमा त्यसबेलाको मध्यावधि निर्वाचनको घोषणा नेपाली राजनीतिको इतिहासमा एक अक्षम्य गल्ती र गंभीर मोड थियो । यसले नेपाली राजनीतिलाई नै अर्को जोखिमपूर्ण दिशातिर मोडिदियो । मध्यावधि निर्वाचनको घोषणालाई तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला स्वंयले पनि गल्तीका रुपमा स्वीकार गरे, पछि आएर।
मध्यावधि निर्वाचनका बेलामा थुप्रै क्षेत्रमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरु देखा परे । यस चुनावमा म गाउँ गएको थिएँ । चिनावी प्रचारको सिलसिलामा पोष्टर च्यातिएको विषयमा भएको सामान्य भनाभनलाई बढाएर विपक्षी पार्टीका समर्थकहरुबाट हाम्रो घर घेराउ गर्ने काम पनि भएको थियो । आफ्नो गाविसमा म पार्टीको तर्फबाट बुथ एजेन्ट भएर चुनावी माहौलको अनुभव बटुँले । गाउँघरमा प्राय: सबैले सबैलाई चिन्ने हुन्छ । मैले आफ्नो बुथमा एक भोट पनि फर्जी मत खसाल्न दिईंन । यसले गर्दा कतिपय मानिसहरु मदेखि धेरै चिढिए । कुटपिटको धम्की पनि आयो ।
बहुमतको सरकार हुँदाहुँदै गरिएको मध्यावधि निर्वाचनलाई जनताले सहज ढंगले लिन सकेनन् । नेपाली कांग्रेस अघिल्लो चुनावमा आएको ११० सिटबाट घटेर ८३ सिटमा ओर्लियो भने नेकपा एमालेले अघिल्लो चुनावको ६८ सिटबाट बढाएर ८९ सिट पुर्यायो । राप्रपाले पनि उल्लेख्य सिट बढायो । सबभन्दा ठूलो दल बनेको नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनायो, तर स्पष्ट बहुमत नपुग्दा अर्को अस्थिरताको शुरुवात हुने देखियो ।
काठमाडौंको क्षेत्र नं १ को उपनिर्वाचनसँग सम्बन्धित अन्तर्घात आरोपको असर हाम्रो पुल्चोक क्याम्पसको नेविसंघ ईकाईमा पनि देखा पर्यो । मुकेश काफ्लेको नेतृत्वमा ईकाईका एघार जना सदस्यहरुले श्रीराम दाइले राजीनामा नदिएमा आफूहरु नै ईकाईबाट हट्ने भनेर राजीनमा दिए । ईकाईमा कचिंगल शुरु हुन थाल्यो । श्रीराम दाइले पछि आमोद निरौलालाई हटाएर अजय कुमार शाहलाई ईकाई सचिव बनाउनुभयो । यसपछि समग्र संगठनमा झन् नैराश्यता छाउने वातावरण बन्यो । क्याम्पसमा नेविसंघका सांगठनिक गतिविधिहरुमा विस्तारै शिथिलता आउन थाल्यो ।
यसको असर त्यसपछि भएको स्ववियु चुनावमा पनि पर्यो । पछिल्ला दिनहरुमा नारायण काफ्ले दाइले पनि स्ववियुका गतिविधिहरुमा त्यति समय दिइराख्नु भएको थिएन र स्ववियु गतिविधिहरुको प्रभाव मधुरो बन्दै गएको थियो । संगठनको अवस्था अस्तव्यस्त हुँदै गएको थियो । भलै हामी पछाडिका ब्याचबाट नेविसंघका थुप्रै उत्साही साथीहरु थपिएका थिए । ती मध्ये केहीको नाम लिनुपर्दा ध्रुवराज शर्मा, हिरासिंह थापा, ज्ञान प्रसाद गौतम, मनोज घिमिरे, परशुराम पन्त, खड्क रावल, मोहनराज भट्टजी आदिको नाम आउँछ ।
यस चुनावमा नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा आमोद निरौला, उपाध्यक्षमा ध्रुवराज शर्मा, सचिवमा शिवराज पौडेल, सहसचिवमा खड्क रावल, कोषाध्यक्षमा ज्योति पाण्डे, सदस्यहरुमा मोहनबाबु यादव, ज्ञान प्रसाद शर्मा लगायतका उम्मेदवारहरु हुनुहुन्थ्यो भने अखिल पाचौंका तर्फबाट अध्यक्षमा अनिलभक्त श्रेष्ठ, उपाध्यक्षमा विमल गुरुङ, सचिवमा कृष्ण प्रसाद ढकाल, कोषाध्यक्षमा पुजा प्रधान तथा अखिल छैठौंका तर्फबाट हाम्रै ब्याचका साथीहरु टोप बहादुर बाँनिया, कुमार धमला लगायतका साथीहरु समेत उम्मेदवार बन्नु भएको थियो ।
विविध कारणले गर्दा यो चुनाव नेविसंघका लागि उत्साहपूर्ण बन्न सकिराखेको थिएन ।संगठनप्रति प्रतिबद्ध कार्यकर्ताहरुले भने जस्तोसुकै विषम परिस्थिति खडा भएपनि भाग्न मिल्दैनथियो । यस स्ववियु चुनावमा नेविसंघको चुनाव प्रचारप्रसार समितिको संयोजक मलाई बनाइएको थियो । चुनावी घोषणापत्र लेख्ने काम बिईका दाइ रुद्रहरि कोइराला (हाल युके) र मैले गरेको थिएँ । पाटनढोकाभित्र रहेको एक प्रिन्टिङ मेशीनमा हातैले अक्षर मिलाउँदै लिथोले छापेर घोषणापत्रहरु तयार पारिएका थिए । यसचोटिको चुनावमा त थुप्रै उम्मेदवारहरुलाई चुनावी भाषण लेखेर तयार पारिदिनु पर्ने परिस्थिति समेत आइपर्यो । पम्प्लेटहरुको हकमा भने नेविसंघको बागबजारमा रहेको केन्द्रीय कार्यालयबाट ल्याइएकोले धेरै सहज भएको थियो । निश्चित ब्याचका सेक्सनहरुका तर्फबाट नारा सहितका ब्यानरहरु बनाएर टाँगिने पनि गरिन्थ्यो । नेविसंघका यस्ता ब्यानरमा प्रचलित एक नारा चाहिं “शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने स्थल होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो भन्ने विपिको उदगार पनि हुन्थ्यो ।
नेविसंघका साथीहरुमा अघिल्लो चुनावमा जस्तो चुनाव प्रचारमा लाग्ने जाँगर देखिएको थिएन । अघिल्लो चुनावमा चिउरा, दालमोठ खाएर साथीहरु रातभर खट्न तयार हुन्थे भने यस चोटिको चुनावमा उनीहरुको खाजाको माग चिउरा, मासु र बियरमा पुग्न थालेको थियो । चुनाव अघि विदा परेकोले कतिपय विद्यार्थीहरु घरतिर लागेको अवस्था पनि थियो । हाम्रा ब्याचका साथीहरु नगेन्द्र, मुनेशजी लगायतका साथीहरु चुनाव प्रचारका क्रममा छात्रावासतिर आइरहनुहुन्थ्यो ।श्रीराम दाइ र म तनहुँका सांसद रामचन्द्र पौडेलको बानेश्वरस्थित डेरामा गएर ‘एसटिडी कल’ गर्दै उपत्यका बाहिर गएका विद्यार्थीहरुलाई मतदानका दिन आउन अनुरोध गर्यौं । केही सांसदकहाँ गएर आर्थिक सहयोगका लागि पनि अनुरोध गर्यौं । यसै क्रममा गोरखा सांसद क्षेत्र नं २ का सांसद कमला पन्तको सामाखुशीस्थित डेरामा पुग्दा वहाँले चुनावका लागि भनेर चन्दा स्वरुप तीनसय रुपैंया दिनुभएको अझै याद छ ।
हामी भन्दा पछिल्लो ब्याचका साथीहरु चुनावमा भरपुर उत्साहका साथ लागेका थिए । यति हुँदाहुँदै पनि नेविसंघको पक्षमा त्यति माहौल बन्न चाहिं सकिराखेको थिएन । चुनावको दिन म भित्री व्यवस्थापनका काममा सक्रिय थिएँ भने नगेन्द्रजी लगायतका साथीहरु बाहिरी व्यवस्थापनका काममा सक्रिय हुनुहुन्थ्यो ।
चुनाव सम्पन्न भयो, साथै बेलुकी चुनावी नतीजा पनि आयो । राम्रै मतको अन्तरालमा नेविसंघका सबै साथीहरु पराजित भए । पराजय पछि बाहिर परिणाम कुरेर बसेका नेविसंघका साथीहरु केही निराश त हुने भई नै हाले । त्यतिखेर सबैका सामुन्ने विनोद पौडेल (हाल बुढानीलकण्ठ नगरपालिका) जीले भन्नुभयो – “अब अर्को चुनावमा निरञ्जनलाई पुल्चोकको स्ववियु सभापतिमा उठाउने हो, जिताउने जिम्मा मेरो भयो ।”
तर पछि मैले न त पुल्चोक क्याम्पसमा नै पढें, न कुनै स्ववियु चुनावमा नै उठें । अझ अध्ययनका लागि विदेश गएपछि त सक्रिय राजनीतिका दिनहरु पनि त्यसै साथ लगभग सकिए । अध्ययन पश्चात् म सक्रिय राजनीतिमा लागिंन, सिवाय २०६२-६३को जनआन्दोलनमा देखाइएको सक्रियता बाहेक । तैपनि नेपाली कांग्रेसको २०७४ सालको अधिवेशनमा भने गाउँमा गएर भाग लिएको थिएँ ।
हामीले त्यस स्ववियु चुनावमा नेविसंघलाई जिताउन आफ्नो तर्फबाट सक्दो मिहिनेत त गरेकै थियौं, तर चुनाव हो, मिहिनेत गर्दैमा जित्ने भन्ने कुनै सुनिश्चितता हुँदैन । यसको हारजितमा धेरै तत्वहरुले असर पारिराखेका हुन्छन् ।यसको एक प्रमुख कारण त नेविसंघको सांगठनिक अस्तव्यस्तता पनि थियो । मध्यावधि निर्वाचन पछि नेपाली कांग्रेस अनुकुलको जनमत पनि देशभर केही खस्किएको थियो । राप्रपालाई राष्ट्रिय तहमा बढेको मतसँगै क्याम्पसमा पनि केही विद्यार्थीहरुले पुल्चोक क्याम्पसमा पनि राप्रपा विद्यार्थी संगठनको अस्तित्व देखाएका थिए ।
यो दोस्रो स्ववियु चुनाव हुँदा पुल्चोक क्याम्पसमा नेविसंघको संगठन नै छ कि छैन भन्ने अवस्थामा थियो । नारायण काफ्ले र श्रीराम दाइले क्याम्पसको सांगठनिक गतिविधिमा ध्यान दिन छाड्दै जानुभएको थियो । हामी पछिका ब्याचका साथीहरु भने संगठनमा सक्रिय हुँदैथिए । यस बिचमा नेविसंघको ईकाई पुनर्गठन हुनेभयो ।
पुल्चोकमा त्यतिखेर बिई र डिप्लोमा (प्रवीण) तह दुवैको अध्यापन गराइने हुँदा संगठनको नेतृत्व गर्ने जिम्मेवारी पनि प्राय: बिईका विद्यार्थीलाई नै दिइन्थ्यो । हामी तेस्रो वर्षमा पुगेका समयमा भने बिईबाट सक्रिय रुपमा राजनीतिमा संलग्न हुन चाहने अनुहारहरु खासै देखिएका थिएनन् । यस्तो अवस्थामा हाम्रो र पछिल्लो ब्याचका साथीहरुले ईकाई अध्यक्षका रुपमा मलाई ल्याउने सल्लाह गरे । म आफैंले ईकाई अध्यक्ष बन्ने योजना चाहिं बनाएको थिईंन, तर साथीहरुले जिम्मेवारी सुम्पन तयार भएको अवस्थामा पछि हट्न पनि मिल्थेन । ईकाई गठनका लागि ‘एफ ब्लक’ को हलमा नेविसंघका साथीहरु भेला भए । त्यतिबेलाका नेविसंघ, ललितपुरका जिल्ला अध्यक्ष रामकृष्ण चित्रकार, पाटन संयुक्त क्याम्पसका ईकाई अध्यक्ष प्रेम लामा लगायतका विद्यार्थी नेताहरु पनि बाहिरबाट आउनु भएको थियो ।
बिईका तर्फबाट विद्यापति चौधरी दाइले उम्मेदवारी दिनुभयो । साथीहरुको सल्लाह र अनुरोध अनुरुप मैले पनि अध्यक्षमा उम्मेदवारी दिएँ । हलबाट दह्रो तालीका गडगडाहटका साथ मेरो उम्मेदवारीको समर्थन भयो । आर्किटक्चरका केही साथीहरुलाई भने मेरो उम्मेदवारी शायद चित्त बुझेको रहेनछ क्यारे? हाम्रो ब्याचका द्वारिका खनालजीले आर्किटेक्चरका केही साथीको समर्थनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनुभयो । हाम्रै ब्याचका अजय कुमार शाहजीले पनि यसअघि ईकाईको सचिव भईसकेको आधारमा अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गर्नुभयो । त्यसै क्रममा अजयजीलाई केही साथीहरुले मुख छाड्ने र हातपात गर्ने गलत प्रयास पनि गरे । अजयजी रुंदै हलबाट बाहिर निस्कनुपर्ने अवस्था आयो ।
विशेषगरी हाम्रो र पछिल्लो ब्याचका साथीहरुले मेरो सक्रियता र क्षमताका आधारमा मलाई उम्मेदवार बन्न भनेका थिए होलान् भन्ने जस्तो लाग्छ । बिईका केही दाइहरुले भने यस्तो फुच्चे (म त्यतिखेर अठार वर्षको थिएँ) लाई कहाँ पुल्चोक क्याम्पसको ईकाई सभापति बनाउने भन्ने तर्क पनि निकाले, त्यस तर्कमा पाटन संयुक्त क्याम्पसबाट आएका ईकाई सभापति प्रेम लामाले पनि उस्तै परे अखिलसँग भीडन्तमा समेत उत्रन नडराउने किसिमको मान्छे पुल्चोकमा अध्यक्ष बन्नुपर्छ भन्ने कुरा थपे ।
हलमा होहल्ला, कचिंगल बढ्दै गएपछि र सावझ पर्दै गएपछि सहभागी विद्यार्थीहरुको संख्या पातलिंदै गयो । उम्मेदवारहरुका बिचमा छलफल गरेर सहमतिमा यसलाई टुंग्याउने भन्ने कुरा आयो । यसको समन्वय रामकृष्ण चित्रकार दाइले गरिराख्नु भएको थियो । सीमित व्यक्तिका बिच अर्कै कोठामा भएको छुट्टै छलफलमा विद्यापति चौधरी दाइले आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो । म पनि वास्तवमा सर्वसम्मतिबाट वा मतदानबाट मात्र अध्यक्ष चुनिन इच्छुक थिएँ । यदि त्यसदिन त्यस हलमा मतदान भएको भए असी प्रतिशत भन्दा बढी मतका साथ म जित्ने कुरामा चाहिं ढुक्क थिएँ, तर मतदान चाहिं भएन । यद्यपि व्यक्तिगत रुपमा म कहिल्यै पनि पदको आकांक्षी भईंन र अहिले पनि छैन । अधिवेशन गराउन प्रतिनिधि बनाउनका लागि आउनुभएका दाइहरुले द्वारिकाजीको नाम अध्यक्षका लागि प्रस्ताव गर्नुभयो र त्यसै अनुरुप माइन्युट भयो । साँझ अबेर भईसकेको थियो । अध्यक्षको रुपमा द्वारिका खनालजीको नाम घोषणा गरियो । त्यसबेलासम्म हलमा पहिलेको भएको उपस्थितिको करीब पच्चीस प्रतिशत मात्र उपस्थिति बाँकी रहेको थियो । मेरा समर्थनमा उभिएका साथीहरु यस घोषणाबाट निराश हुँदै घर फर्किए । विशेषगरी हाम्रा र पछिल्ला ब्याचका सिभिल समूहका साथीहरु चाहिं धेरै नै निराश भएका थिए ।
मेरा लागि कलेज जीवनमा कुनै पदमा बस्ने भन्दा पनि राजनीतिक विचार, सिद्धान्तको अध्ययनलाई खार्ने, बुझ्ने, तिखार्ने र संगठनलाई मजबुत बनाउन पनि सकेको सहयोग गर्ने कुरा प्राथमिकतामा थियो । आफूलाई केही कुराका लागि योग्य बनाउन सकियो भने कुनै पदका लागि मरिमेटी गर्नु पर्दैन भन्ने विश्वास मलाई त्यतिबेला थियो र अहिले पनि छ । पदासीन हुनुभन्दा पनि अझ बढी महत्वपूर्ण कुरा, कुनै विषयमा आफूले के कति योगदान दिन सकिने विषय हुन्छ भन्ने लाग्छ । अझ ठूलो घेरामा गएर भन्नुपर्दा गणेशमान सिंह प्रधानमन्त्री नभएकै कारणले उनको राजनीतिक योगदानको कसैले नजरअन्दाज गर्न सक्लान् जस्तो लाग्दैन । चीनका कतिपय प्रधानमन्त्री भन्दा पनि प्रधानमन्त्री नै नभएका देङ स्याओ फिङको नामलाई चीनमा बढी श्रद्धा र सम्मानका साथ लिइने गरिन्छ ।म व्यक्तिगत जीवनमा यस्तै कुराहरुबाट बढी प्रभावित छु ।हाम्रा अहिलेका शीर्षस्थ समकालीन नेताहरुले पनि यस्तै सोचाई राखिदिए कस्तो हुने थियो होला भन्ने पनि लाग्छ कहिलेकाहीं ।
ईकाई गठन भएको शायद भोलिपल्टकै दिन हो जस्तो लाग्छ, नेविसंघका तत्कालीन ललितपुर जिल्लाध्यक्ष रामकृष्ण चित्रकार दाइ (पहिलो संविधान सभाका सदस्य) नयाँ छात्रावासमा मलाई भेट्न आउनु भएको रहेछ । संयोगले त्यतिखेर म कोठामा थिईंन । कोठामा टोपेन्द्र खनालजी मात्र हुनुहुँदो रहेछ । त्यतिबेला वहाँको झुकाव अखिल छैठौंतिर थियो । टोपेन्द्रजीले नेविसंघ ईकाई गठनका विषयमा धेरै कुरा थाहा पाउने र चासो राख्ने अवस्था भएन । वहाँसँग रामकृष्ण दाइले कागजको टुक्रा मागेर त्यसमा केही लेखी मेरो बेडको तकियामुनि छाडेर हिंड्नु भएछ ।
म कोठा फर्केपछि टोपेन्द्रजीले रामकृष्ण चित्रकार नामको दाइ मलाई भेट्न आउनुभएको र भेट नभएपछि कागजमा केही लेखेर मेरो तकिया मुनि छाडेर गएको कुरा बताउनुभयो । तकियामुनिबाट कागजको टुक्रो निकालें । त्यसमा लेखिएको रहेछ – “निरञ्जनजी, हिजोको अधिवेशनमा हामीले तपाईंलाई अध्यक्ष बनाउनु पर्ने थियो, गल्ती भयो । यसका लागि क्षमाप्रार्थी छु ।”
ईकाई अध्यक्ष बन्नुभएपछि द्वारिकाजी केही दिन वहाँ छात्रावासमा देखिनु भएन । वहाँको घर काठमाडौं, महाराजगञ्ज भएकोले घरमा बस्न जानुभएको रहेछ । केही दिनपछि घरबाट फर्कनुभएको बेलामा पुस्तकालय तलको ओरालोमा वहाँसँग मेरो भेट भयो र भन्नुभयो – “निरञ्जनजी, अस्ति मैले तपाईंको उम्मेदवारीलाई समर्थन गर्नुपर्ने थियो । तपाईंलाई समर्थन नगरिकन मैले उम्मेदवारी दिएँ । वास्तवमा मबाट गल्ती भयो, त्यसका लागि धेरै सरी ।” मेरा लागि भने म अध्यक्ष बन्नु भन्दा पनि पुल्चोकमा नेविसंघलाई बलियो बनाउने कुरा बढी महत्वपूर्ण थियो । कुनै पदमा बस्ने कुराहरु गौण थिए, मेरा लागि ।
खोइ किन हो कुन्नि, त्यसपछि द्वारिकाजी क्याम्पसमा निकै कम आउन थाल्नुभयो । वहाँको छात्रावास बसाई पनि पातलिंदै गएको थियो । वहाँ अध्यक्ष हुनुभएको एक, डेढ महिनासम्म क्याम्पसमा ईकाई गठनले पूर्णता पाउन सकेन । विशेषगरी कलेजमा प्रवेश गर्नुभएका साथीहरु संगठनमा रहेर सक्रिय हुन बढी आतुर हुनुहुन्थ्यो । अखिलको किल्ला भत्काउन सफल भएको नेविसंघ केही वर्षमै पुल्चोक क्याम्पसमा संगठनविहीन भएर रहिरहन संभव पनि हुन्थेन ।
एक-डेढ महिनासम्म पनि नेविसंघको ईकाई गठनले पूर्णता पाउन नसकेपछि साथीहरुले नेविसंघको ईकाई गठनलाई पूर्णता दिने जिम्मेवारी मलाई सुम्पिए । नेविसंघ ईकाई विस्तार समितिको एक सदस्यीय संयोजकका रुपमा मैले नै ईकाई गठनलाई पूर्णता दिएँ । डिप्लोमा (प्रवीण) तहबाट अध्यक्ष भएपछि बिईबाट कम्तीमा सचिव राखिनुपर्थ्यो । त्यसका लागि उपयुक्त सक्रिय राजनीतिक अनुहार भेटिन गाह्रो भएको थयो । बल्लतल्ल बिई प्रथम वर्षमा अध्ययनरत सुरेन्द्र मिश्र दाई सचिव पदमा बस्न राजी हुनुभयो । हाम्रो पछिल्लो ब्याचका ध्रुवराज शर्मा, हिरासिंह थापा, ज्ञान प्रसाद शर्मा, मनोज घिमिरे, परशुराम पन्त, खड्क रावल, मोहनराज भट्टजी लगायतका साथीहरुलाई पनि समितिमा राखें । समितिमा हाम्रो ब्याचका केही साथीलाई पनि समावेश गरें । त्यसमध्ये, हाम्रो ब्याचका साथी रामकृष्ण रेग्मी (हाल पुल्चोक क्याम्पसमा प्राध्यापनरत) लाई पनि समितिमा राखेको थिएँ । वहाँले मलाई भन्नुभयो – “तपाईं आफैं ईकाई गठन गर्ने मान्छे, आफू चाहिं ईकाईमा किन नबस्नुभएको? कम्तीमा सल्लाहकारमा त बस्नुपर्यो नि?” प्रत्युत्तरमा म फिस्स हाँसे मात्र ।
यस कार्यसमितिले आफ्नो समयावधिमा आफूलाई त्यति चलायमान बनाउन सकेन । डिप्लोमा दोस्रो वर्षमा अध्ययनरत नेविसंघका साथीहरुले पहिलो वर्षमा अध्ययनरत साथीहरुका लागि स्वागत कार्यक्रम राख्दा समेत मलाई प्रमुख अतिथि बनाएका थिए । द्वारिकाजीले कार्यसमितिका बैठकहरु विरलै राख्नुभयो जस्तो लाग्छ । शुरुका केही बैठकमा म कार्यसमितिमा नभएपनि उपस्थित भएर सहजीकरण गरिदिने, निर्णयपुस्तिकामा निर्णयहरु लेखिदिन सहयोग गरिदिने काम गरेको थिएँ । द्वारिकाजीमा अनपेक्षित रुपमा त्यस पदमा पुग्दा भएको ग्लानि मैले धेरै पछिसम्म वहाँमा महसुस गरें । आजभोलि कहिलेकाहीं द्वारिकाजीसँग मेरो भेट हुँदा त्यतिबेलाको प्रसंगलाई गल्ती महसुसका साथ कोट्याउनु हुँदा म आफैंलाई अप्ठयारो लाग्छ ।
हामी तल्लो छात्रावासमा बस्दा तेस्रो वर्षको पढाइ सकिने बेलातिर, छात्रावास समितिको निर्वाचन पुन: हुने भयो । त्यतिबेला म ‘बी’ ब्लकमा बस्थें । हाम्रो ब्लकमा नेविसंघ समर्थक साथीहरुको बाहुल्यता थियो । चुनाव भएमा नेविसंघले स्वत: जित्नसक्थ्यो । अखिल पाँचौं र छैठौं दुवै संगठनसँग आबद्ध साथीहरुले हाम्रो ब्लकमा चुनाव नगर्ने र मलाई निर्विरोध छाडिदिने कुरा गर्नुभयो । हाम्रो ब्लकमा अखिल पाँचौं आबद्ध साथीहरुमा मेरा रुममेट फलेन्द्र डिसी लगायत, केपी नेपाल, महादेव विष्ट, नृपराज जोशी लगायत हुनुहुन्थ्यो भने छैठौंसँग आबद्धमा मा रुममेट तोपेन्द्र खनाल, कुमार धमला, टोप बहादुर बाँनिया, गुणहरि अधिकारी लगायत साथीहरु हुनुहुन्थ्यो । यसैबिचमा सुनिल शाह (हाल एनआरएन, अमेरिकाको अध्यक्ष) जीले चित्तरञ्जन चौधरीजीले छात्रावास समितिमा उठ्न रुचि देखाउनुभएको कुरा गर्नुभयो । चित्तरञ्जनजी मधेशी साथीहरु मध्येमा पनि अरुसँग निकै कम बोल्ने र घुलमिल हुने स्वभावको हुनुहुन्थ्यो । वहाँ उम्मेदवार हुने कुरा आएपछि दुर्गा ढकालजी लगायतका केही नेविसंघ समर्थक साथीहरुले म नै उठ्नुपर्ने र अखिलका साथीहरुको समेत समर्थन जुटाएर भए पनि मलाई विजयी गराउने कुरा गर्नुभयो । मैले त्यसरी चुनावमा उठ्न चाहिंन । नेविसंघ ईकाईको अध्यक्ष पदलाई समेत व्यक्तिगत रुपमा कुनै प्रतिष्ठाको विषय नबनाएको मान्छेले छात्रावासको चुनावको उम्मेदवारीलाई कुनै प्रतिष्ठाको विषय बनाउनु जरुरी थिएन, मलाई । नेविसंघबाट एकमात्र उम्मेदवार चित्तरञ्जन चौधरीजी बन्नुभयो र वहाँले जित्नु पनि भयो । मैले उठ्न नमानेकोमा अखिलका साथीहरुले दु:खमनाउ गर्नुभयो ।
क्याम्पसमा गठन भएको नेविसंघको त्यस कार्यसमितिले जसोतसो आफ्नो कार्यकाल पूरा गर्यो । पुल्चोकमा हाम्रो पढाई पूरा हुने समयसम्ममा डिप्लोमा र बीई दुवै तहमा नयाँ विद्यार्थीहरु आइसकेका थिए । बिईमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सदस्य भईसकेका तुला नारायण शाह र डिप्लोमामा उमेश थानी जस्ता राजनीतिक पृष्ठभूमि भएका विद्यार्थीहरुको प्रवेश भएको थियो । सक्रिय राजनीतिक पृष्ठभूमि भएको र मधेशी समुदायको समेत प्रतिनिधित्व हुने हिसाबले हामीले त्यतिबेला बिई प्रथम वर्षमा अध्ययनरत तुला नारायण शाहलाई नेविसंघको ईकाई अध्यक्ष बनायौं ।
धेरैवर्ष पछि तुला नारायण शाह दाइ र मैले संयुक्त रुपमा एक लेख लेखेका थियौं । ‘नयाँ नेपाल समुदायमा ईञ्जिनियर समुदाय’ शीर्षकको त्यस लेख हामी दुवैका लागि कान्तिपुरमा प्रकाशित पहिलो लेख (२०६३ चैत्र २९) थियो । २०६३-०६४ सालतिर मधेश आन्दोलनको रापताप बढ्दै जाँदा पहाडी र मधेशी समुदाय बिचको द्वन्द्व समेत बढ्न सक्ने आशंका र भयको वातावरण बिच, पहाडी र मधेशी समुदायका बिचमा मेलमिलाप र सामञ्जस्यताको अभिवृद्धि गर्ने, मधेश सम्बन्धित विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान गर्ने जस्ता उद्देश्य राखी वहाँले मसँग मिलेर ‘नेपाल मधेश फाउण्डेशन’ संस्थाको स्थापना गर्ने प्रस्ताव गर्नुभयो । यस संस्थाको संस्थापक अध्यक्षमा तुला नारायण शाह तथा महासचिवमा म भएँ । यसका साथसाथै म अध्यक्ष र वहाँ महासचिव हुनुभएको ‘विकासका लागि बहस’ नामक संस्था नेपालमा विकासका बारेमा बहस चलाउने विषयमा क्रियाशील हुनका लागि सँगसँगै दर्ता गरेका थियौं । वहाँले आफू राजनीतिबाट मोहभंग भईसकेको र यी संस्थाहरुलाई विशुद्ध प्राज्ञिक संस्थाका रुपमा अगाडि बढाउने कुरा गर्नु भएपनि मैले पछि वहाँमा राजनीतिप्रतिको मोह यथावत रहेको पाएँ । मैले ती संस्थामा सक्रिय भईराख्न सकिंन । पछि वहाँ शायद तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गर्नुभयो जस्तो लाग्छ । नेपाल मधेश फाउण्डेशन संस्थालाई चाहिं वहाँले अहिले पनि सक्रिय नै राखिराख्नु भएको छ ।
नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थी संगठनहरुको ऐतिहासिक भूमिका भएपनि हामीले तीन वर्ष क्याम्पसमा पढ्दै गर्दा पछिल्ला दिनहरुमा भने विद्यार्थी संगठनहरुमा पार्टीगत र गुटगत राजनीतिको प्रभाव बढी नै पर्न थालेकोले यी संगठनहरुको औचित्यमा नै प्रश्नचिन्ह खडा हुने अवस्था आइरहेको थियो । विशेषगरी नेपाली कांग्रेसमा आन्तरिक विग्रह देखा पर्दा नेविसंघका कतिपय नेताहरुको भूमिका त्यस विग्रहलाई झन् मलजल गर्ने किसिमको र विवादास्पद देखिएको थियो । प्रजातन्त्रप्राप्तिको लडाईंमा पार्टीहरुलाई सघाउ पुर्याउने विद्यार्थी संगठनहरु प्रजातन्त्र पुनर्बहालीपछिको अवस्थामा पनि के पहिलेकै स्वरुप र अवस्थामा सक्रिय हुन आवश्यक छ त? भन्ने कुरामा समेत हामी कहिलेकाहीं छलफल, बहस गर्ने गर्थ्यौं ।
मलाई लाग्छ, २०६२-६३ को जनआन्दोलन पश्चात २०७२ मा देशले संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान बनिसकेको अवस्थामा अब कलेजमा हुने गरेको विद्यार्थी राजनीतिको स्वरुप, अवस्था, औचित्य र सान्दर्भिकताका बारेमा पुनर्विचार वा पुनर्व्याख्या गरिनुपर्ने उपयुक्त समय भने अहिले आएको छ ।
लेखकका थप संस्मरणहरू