‘पढ्न भनेर कलेजमा भर्ना भएपछि विद्यार्थीको काम त खुरुखुरु पढ्नु होइन र?’
कलेज जाने विद्यार्थीले पढ्नुको साटो राजनीतितिर लाग्नु भनेको त बरालिनु होइन र?’
मलाई लाग्छ, विद्यार्थीको राजनीतिक संलग्नता र सक्रियताका बारेमा हाम्रो समाजले निर्माण गरेका मोटामोटी संकथनहरु यिनै हुन् ।
स्कूले जीवनदेखि कलेजसम्म एउटा ‘पढैया’ विद्यार्थीको छवि बनाएको म त्यतिबेला किन र कसरी राजनीतितिर आकर्षित भएँ हुँला त? आफ्नो अध्ययनमा लगाउनु पर्ने बहुमुल्य समय राजनीतिक गतिविधिहरुमा समेत किन खर्च गरें हुँला त?
अहिले लामो समयको अन्तराल पछि ती प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न गर्दैछु । यसको कारण खोज्दै जाने हो भने मेरो स्कूल जीवनदेखिकै राजनीतिक चासो र सक्रियतासम्म यो जोडिन पुग्छ ।
गोरखा, आरुघाटको भीमोदय मा.वि., मैले आफ्नो अध्ययनको शुरुवात गरेको स्कूल, जुन स्कूललाई राजनीतिक रुपमा नेपालको एक सचेत स्कूलको रुपमा लिन सकिन्छ । २०३३ देखि २०३५ सालमा कृषि शिक्षकका रुपमा यसै स्कूलमा कार्यरत पुष्पकमल दाहाल नेपालका प्रधानमन्त्री भए । यस स्कूलमा कार्यरत शिक्षक/प्रधानाध्यापकहरु यदु प्रसाद भट्ट, चिनकाजी श्रेष्ठ र रामकुमार श्रेष्ठ मन्त्री भए । यसबाहेक प्रधानाध्यापक/शिक्षक/विद्यार्थीका रुपमा यस स्कूलमा कुनै समय व्यतीत गरेका वीरेन्द्र कुमार पोखरेल, हरिलाल जोशी लगायतका व्यक्तित्वहरु सांसद बनेका छन् । २०४८ सालमा सिन्धुलीबाट सांसद बनेका प्रकाश कोइराला (दिवंगत) समेत २०४५ सालतिर हाम्रो स्कूलमा केही समय पढाउनका लागि आउनुभएको थियो ।
पञ्चायत कालमा दलीय राजनीति गर्नमा बन्देज भएपनि २०३७ सालको जनमत संग्रह पछि भने कम्तीमा विद्यार्थी संगठनहरुले आफ्ना गतिविधिहरु गर्न पाउँथे । २०४० सालमा ३ कक्षामा स्कूल भर्ना भएपछि ३-४ कक्षादेखि मैले स्कूलमा अखिल, नेविसंघको नाम सुन्न थालिसकेको थिएँ । धादिङ र गोरखा दुवै जिल्लामा पर्ने नजिकका बस्तीहरुबाट यस स्कूलमा पढ्न आउनेहरु सराबरी थिए । धादिङको माझगाउँ, आगिञ्चोक, छापथोक आदि गाउँबाट जाने विद्यार्थीहरु प्राय: प्रजातान्त्रिक पृष्ठभूमिका हुन्थे भने मेरो आफ्नै गाउँ, सिकटार तथा मुलपानी भेगबाट जानेहरुको प्राय: वामपन्थी झुकाव हुन्थ्यो । उता गोरखा जिल्लातर्फको कुरा गर्नुपर्दा आरुघाट बजारमा दुवैपट्टि झुकाव भएका विद्यार्थीहरु सराबरी जसो थिए भने तान्द्राङ, धावा, आरुपोखरी, मान्बु भेगबाट आउने प्रजातान्त्रिक तथा आरुटार, मंगलटार, फुलपातीभञ्ज्याङ, वयाक, थुमी भेगबाट आउनेहरु वामपन्थी झुकाव भएकाहरु धेरै हुन्थे ।
स्कूलमा जुनियर रेडक्रस सर्कल (जुरेस) को चुनाव हुन्थ्यो । यस चुनावमा अघोषित रुपमा नेविसंघ र अखिलले नै छुट्टाछुट्टै रुपमा प्यानल बनाएर चुनाव लड्ने गर्थे । नेविसंघ समर्थकले वैशाख ६ र अखिल समर्थकले जेठ १ गते आफ्नो संगठनको स्थापना दिवस मनाउँथे । विद्यार्थी संगठनको स्थापना दिवसको कार्यक्रममा सरिक हुन जाँदा ती संगठन समर्थक विद्यार्थीहरुको त्यस दिनको पढाइ छुट्थ्यो । अर्का विद्यार्थी संगठनका समर्थक विद्यार्थीले त्यस दिनको कक्षा लिईदिंदा भोलिपल्ट अघिल्लो दिनको पढाई दोहोर्याउने कि नदोहोर्याउने भन्ने बारेमा विवाद हुन्थ्यो । कहिलेकाहीं त यस्ता विवादहरु सहज किसिमले सल्टिन्थ्यो, तर कहिलेकाहीं चाहिं विवाद बढ्दै गएर झैझगडा र मुठभेडको अप्रिय अवस्थामा पुग्थ्यो । म कक्षा सातमा पढ्दै गर्दा यस्तै विवाद बढ्दै गएर भीडन्तमा परिणत भई एक-डेढ महिना स्कूल बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको थियो ।
हाम्रो स्कूलको माहौल वास्तवमा राजनीतिक रुपमा प्रशिक्षित हुन चाहनेका लागि उर्वर थियो । हाम्रा प्रायजसो गुरुहरु को कुन राजनीतिक विचारधारा निकट हुनुहुन्छ भन्ने हामी विद्यार्थीहरुलाई थाहा हुन्थ्यो ।कतिपय गुरुहरु त संभवत अप्रत्यक्ष रुपमा दलीय राजनीतिमा समेत संलग्न हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।
फरक विद्यार्थी संगठनका समर्थक विद्यार्थीले ‘जयनेपाल’ र ‘लालसलाम’ का फरक फरक अभिवादन प्रयोगमा ल्याउने नै भए, नेविसंघ समर्थकले विपि स्टाइलको कालो टोपी लगाएर आउँथे । छात्राहरुमा पनि नेविसंघ समर्थकले नीलो रिबन बाँध्ने र अखिल समर्थकले सिन्दुरे रंगको रिबनले कपाल बाटेर आउने गर्थे ।
मैले कहिलेदेखि राजनीतिक घटनाका बारेमा चाहिं कहिलेबाट थाहा पाउन थालें हुँला त? यसो फर्केर हेर्दा सम्झन्छु, म चार पाँच वर्षको उमेर हुँदा बुबाआमाहरु २०३७, ०३८ सालका जनमत संग्रह र राष्ट्रिय पञ्चायतको चुनावमा मतदान गर्न जानुहुँदा पछ्याउँदै जान खोजेको थिएँ । २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा हाम्रो धादिङ जिल्लाबाट हरि बहादुर थापा र बुद्धिमान तामाङ राष्ट्रिय पञ्चायत सदस्य (रापंस)मा निर्वाचित भएका थिए । फणिकान्त छत्कुली, सल्यानटारको प्रधानपञ्चको रुपमा निर्वाचित भएको स्थानीय चुनावको पनि सम्झना छ ।
घरमा रेडियो भएकोले नियमित रुपमा समाचार र अन्य रेडियो कार्यक्रमहरु सुन्ने गर्थें । यसले गर्दा सानो उमेरदेखि नै राजनीतिक घटनाका बारेमा चासो लिने, बुझ्न चाहने बानीको विकास हुँदै गयो । २०४३ सालको चुनावसम्म आईपुग्दा त धेरै बुझ्ने भईसकेको थिएँ । यो चुनावमा धादिङबाट रापंसमा योगेन्द्रसिंह थापा र बुद्धिमान तामाङ विजयी भएका थिए भने गोरखातर्फ राजेश्वर देवकोटा र वीरेन्द्र कुमार पोखरेल । त्यस चुनावका उम्मेदवारहरुले गरेको प्रचारप्रसारको झल्को अझै पनि आँखा अगाडि आउँछ । राजेश्वर देवकोटा, वीरेन्द्र कुमार पोखरेल, यदु प्रसाद भट्ट लगायतका कतिपय उम्मेदवारहरु चुनाव प्रचारको क्रममा हाम्रो स्कूल प्रांगणमै आएर ‘भोट’ माग्ने काम गरेका थिए ।त्यस चुनावमा धनुषाबाट हेम बहादुर मल्ल सबैभन्दा धेरै भोट ल्याएर निर्वाचित भएका थिए भने उनकी पत्नी शारदा मल्ल पनि चुनावमा विजयी भएकी थिइन्। काठमाडौंबाट पद्मरत्न तुलाधरले धेरै भोट (करीब ८६,०००) ल्याएर रापंस बन्न सफल भएका थिए ।
वडाध्यक्ष र प्रधानपञ्चहरु सहित निर्वाचित हुने स्थानीय चुनाव अझ रोचक लाग्थ्यो । विशेषगरी हाम्रो वडामा वडाध्यक्षको उम्मेदवार कसलाई बनाउने र छानिएको उम्मेदवारलाई कसरी जिताउने भन्ने बारेमा मेरै घरमा पनि थुप्रै बैठकहरु बस्थे । साँझपख मानिसको जमघट हुन्थ्यो । म ती छलफलमा भएका कुराकानीलाई चासोपूर्वक सुन्ने गर्थें ।
मानिसहरु माननीय रापंस र मन्त्रीलाई ठूला मानिसका रुपमा हेर्थे । उनीहरु आउँदा गलाभरि माला लगाइदिन्थे । आ-आफ्नो गाउँठाउँको विकासका लागि विभिन्न मागहरु राख्थे । गुनासोहरु सुनाउँथे । यस्तो लाग्थ्यो, गाउँठाउँ र देश विकास गर्नु भनेको उनीहरुकै हातमा हुन्छ । नयाँ स्कूल खोल्नुपर्यो, नयाँ स्कूल भवन बनाउनु पर्यो वा नयाँ शिक्षक दरबन्दीहरु थप्नु पर्ने भयो भने पनि तिनै ठूलाबडाहरुको भनसुन र सहयोगको आश गरिन्थ्यो । रेडियो नेपालले रापंसहरुले राष्ट्रिय पञ्चायतमा बोलेका कुराहरुलाई एक कार्यक्रम मार्फत प्रसारण गर्थ्यो । म त्यस कार्यक्रम नियमित सुन्ने गर्थें । यसले गर्दा त्यसबेलाका प्राय: रापंस, मन्त्रीहरुको नाम समेत कण्ठ भएको थियो ।
स्कूलमा कक्षा उक्लदैं जाँदा कक्षाका पाठयपुस्तक बाहेकका बाहिरी पुस्तकहरु अध्ययन गर्ने बानी ममा बढ्दै गयो । बुबा गाउँकै स्कूलमा पढाउनु हुने भएकोले घरमा एक दराज किताब थिए । ती किताबहरु पनि विस्तारै पढ्दै गएँ । मलाई प्रभावित पार्ने केही किताबहरुको नाम लिनुपर्दा कक्षा आठमा पढिएका चितरञ्जन नेपालीद्वारा लेखिएको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल (२०१३ सालको मदन पुरस्कार प्राप्त कृति)’ तथा खड्गमानसिंह द्वारा लेखिएको ‘जेलमा बीस वर्ष किताब’ किताब हुन् ।
जनरल भीमसेन थापाको कार्यकाललाई नेपालको आधुनिक इतिहासमा अत्यन्त महत्वपूर्ण समयावधिको रुपमा लिइन्छ । उक्त समय, कालखण्ड प्रशासनिक, सैनिक, सामाजिक, आर्थिक, धार्मिक अवस्था र अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम थप्न महत्वपूर्ण रहेको देखिन्छ । नाबालक रण बहादुर शाह राजा हुँदा महारानी ललितत्रिपुरासुन्दरीको नायबीकालमा उनले प्रशस्त शक्ति आर्जन गर्न सफल बनेका थिए र त्यस शक्तिलाई मुलुकको प्रतिष्ठा अभिवृद्धिमा पनि लगाएका थिए । यद्यपि उनको पालामा भएको नेपाल अंग्रेज युद्ध ले गर्दा नेपालले आफ्नो विस्तारित राज्यको आधाभन्दा धेरै राज्य भूमि गुमाउनु परेको थियो । बाबुराम आचार्य, ज्ञानमणि नेपाल लगायतका इतिहासकारले तत्कालीन समयमा अंग्रेजसँग युद्ध गर्ने उनको निर्णय गलत र व्यक्तिगत स्वार्तप्रेरित समेत थियो भने तर्क समेत राखेका छन्, तर चितरञ्जन नेपालीले माथि उल्लेखित पुस्तकमा प्रस्तुत गरेका विभिन्न ऐतिहासिक दस्तावेजहरुका आधारमा कम्तीमा उनको राष्ट्रभक्तिमा शंका गर्ने स्थान देखिंदैन । सुगौली सन्धिले नेपाल राज्यको भूभागलाई खुम्च्याएको भएतापनि सम्पूर्ण भारतीय उपमहाद्वीपलाई निल्दै अंग्रेजहरुले नेपाललाई त्यतिखेर एक सार्वभौम, स्वाधीन राष्ट्रको मान्यता दिनु समेत वास्तवमा हाम्रा लागि ठुलै उपलब्धि थियो ।
जङ्गबहादुर राणाले ‘हामी सबै बजिरहरूमध्ये ठूला बुद्धिमान बजिर भीमसेन थापा हुन्’ भन्न हिच्किचाएनन् । उनीभन्दा अझ एक कदम अघि बढेर श्री ३ चन्द्रशमशेर जबराले त ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो’ भनेर भीमसेन थापाको महत्व माथि लालमोहर लगाएका थिए ।विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता दार्शनिक कार्ल मार्क्सले ‘एसियामा अङ्ग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र भीमसेन थापा थिए’ भनेका थिए । भीमसेन थापाको पछिल्लो शासनकालमा दरबारको आन्तरिक कलह बढ्दै जाँदा र उनका शत्रुहरु बलियो हुँदै जाँदा अन्तमा दु:खद मृत्यु वरण गर्नु परेतापनि उनले तत्कालीन समयमा राष्ट्रको सुरक्षाका लागि उठाएका विभिन्न कदम उनका सामाजिक, आर्थिक, सैनिक क्षेत्रहरुमा गरेको सुधारहरुले गर्दा उनलाई राष्ट्रिय विभुतिको सम्मान दिइएको हुनसक्छ र यसमा खासै विवाद पनि देखिंदैन ।
खड्गमानसिंह द्वारा लेखिएको ‘जेलमा बीस वर्ष किताब’ किताबमा हामी एक राजनीतिक योद्धा खड्गमानसिंहले वि.स. १९८७ देखि २००७ सालसम्म जहाँनियाँ राणा शासनका विरुद्ध गरेको संघर्ष गर्दा पाएको सँजाय बापत दिइएको जेलको बीस वर्षको बसाईका क्रममा भोगेका पीडा र यातनाहरुको कथा पढ्न सक्छौं । वि.स. १९०३ को कोतपर्व पछि जंगबहादुर राणाले जहाँनिया राणा शासनको शुरुवात गरेपछि रोलक्रमले प्रधानमन्त्री भएका भीमशमशेरको शासनकालमा सशस्त्र संघर्ष सहित राणा शासन हटाउने उद्देश्यले उनीसहित खण्डमान सिंह, मैना बहादुर लगायत भएर स्थापना भएको ‘प्रचण्ड गोरखा’ संस्थाका सबै योजना र कार्यक्रमहरु राणा शासक समक्ष खुल्न पुगेपछि प्राय: सबै सदस्यहरु गिरफ्तारीमा पर्छन् र उनीहरुलाई गोलघरमा थुनेर राखिन्छ ।उनले गोलघरको कालकोठरीमा बिताएका कठोर दिनहरुको विशद वर्णन गरेका छन, त्यस पुस्तकमा । वास्तवमा बृहत राजनीतिक उद्देश्यप्राप्तिका लागि युवावयका बीस बीस वर्षका समयहरु यातनामय कालकोठरीमा बिताउनु पक्कै सहज र चानचुने कुरा थिएन । अहिलेको पुस्ताका धेरैले यो किताब पढ्न पाएका छैनन् जस्तो लाग्छ । कम्युनिष्ट नेता मोदनाथ प्रश्रितले भने उनले लेखेको ‘गोलघरको सन्देश’ किताबमा यस पुस्तकको चर्चा गरेका छन् ।
यस पुस्तकका लेखक खड्गमानसिंहले गणेशमान सिंहलाई त्यसै जेलमा पहिलोचोटि भेटेका थिए । विशेष गरी पुस्तकमा गणेशमानसिंहले जेलबाट भाग्ने योजना बनाएको, त्यसलाई मूर्त रुप दिन एउटा फलामको डण्डी खोजेर ल्याएको, त्यसलाई जेलको एक कोठामा आगो फुकेर तताउँदै महिनौं लगाएर बंग्याएको, यसरी बंग्याइएको हुकमा धोतीका लागि दिइने कपडाहरु गाँठो पारेर कस्दै लामो बनाएको र रातिको समयमा जेलको चौकिदारको आँखा छली फलामको हुकलाई पर्खालको सिरानमा फ्याँकेर कैयौं रातको प्रयासपछि अड्काउन सफल भएको तथा धोतीको कपडाहरु जोडी बनाएको गाँठोमा समात्दै औंसीको रातको कालो अन्धकारमा गणेशमानसिंह अलप भएको र जानेबेलामा सँगै भागौं भन्दा लेखकले उनलाई तपाईं बाहिर गएर हामीलाई यहाँ जेलबाट छिटो मुक्त पार्ने प्रयास गर्नुहोस् भनेको कुरा ज्यादै मार्मिक लाग्छ । जेलजीवनका अन्य प्रसंगहरु पनि कम्ता रोचक र मार्मिक छैनन् । वास्तवमा ती क्रुर र जहाँनिया राणाशासन हुँदै अहिले हामीले उन्मुक्त रुपमा उपभोग गर्न पाएको स्वतन्त्रता प्राप्तिको यो लामो यात्रामा थुप्रैले ज्यान गुमाएका छन्, रगत पसीना बगाएका छन् र अमानवीय यातनाहरु भोगेका छन् ।
कक्षा नौंमा पुग्दा पढिएको मलाई प्रभावित पार्ने अर्को पुस्तक थियो, रामचन्द्र पोखरेलद्वारा लेखिएको ‘प्रजातन्त्रका महान् सेनानी विश्वेश्वर प्रसाद कोइराला’ । विपि कोइराला तथा उनको परिवारले प्रजातन्त्र प्राप्तिका लागि त्यतिबेला गरेका संघर्षका कहानीहरु पनि साँच्चिकै रोमाञ्चक र प्रेरणादायी लाग्छन्, उक्त पुस्तक पढेपछि । सिरहा, माडरको (चन्द्रगञ्ज) भन्सारमा कार्यरत विपिका पिता कृष्ण प्रसाद कोइरालाले एक गरीब भरियाको थोत्रो र मैलो लुगालाई पार्सल गरेर शासकीय सुधार गर्नुपर्ने आशयको चिठीसँगै दरबारमा पठाएपछि आत्तिएका र क्रुद्ध भएका चन्द्रशमशेरले उनका सबै परिवारलाई भारत निर्वासित हुन बाध्य तुल्याएपछि उनको परिवारमा दु:खका दिनहरु शुरु हुन्छन् । त्यतिबेलाको निर्वासित जीवनको चरम गरिबीका क्षणहरुमा विपिहरुले चना भिजाएर अड्कलिई अड्कलिई खाने गरेको कुराको पुस्तकमा मार्मिक वर्णन गरिएको छ ।
भारतमा पढ्दै गर्दा विपिमा राजनीतिक र साहित्यिक चेत भरिंदै गएको, अंग्रेजसँगको विरोधमा सामेल भएपछि तीन वर्ष हजारीबाग जेलमा बसेको, र त्यहाँ भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादसँग भेट भएको, उनी त्यहाँ जेलमा पर्दा यता नेपालको जेलमा उनका पिता कृष्ण प्रसाद कोइराला रहेको, कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे पश्चात् संगठन गर्ने क्रममा नेपाल आउँदा पक्राउ परेको र विराटनगरबाट अड्डासार गरिंदै काठमाडौं ल्याएर थुनिएको, जेलमा कठोर यातना पाएको, जेलबाट निस्कनका लागि लामो अनशन बसेको र मोहनशमशेरले विपिका आमा दिव्या कोइरालालाई छोरालाई सम्झाउन भन्दा ‘केही वर्ष अगाडि जेल परेका मेरो श्रीमानको किरिया गरेर गरेको थिएँ, अहिले छोराको किरिया गर्न पनि तयार भएर आएको छु’ भन्ने दिव्या कोइरालाको साहसिक बोलीले उनी हतप्रभ बनेको र पछि जहावरलाल नेहरुसम्म विपिको ज्यान खतरामा रहेको खबर पुगेपछि उत्पन्न भएको दबाबले समेत गर्दा मोहनशमशेर विपिलाई रिहा गर्न बाध्य भएको जस्ता प्रसंगहरुले जो कोहीलाई प्रजातन्त्रका लागि लड्न प्रेरित गर्छन् । त्यसैगरी २००७ सालपछिको खुकुरीदल काण्डको प्रसंग पनि कम्ता रोमाञ्चक छैन । विपिले नेपाली कांग्रेसको २०१२ सालमा वीरगञ्जमा भएको छैठौं महाअधिवेशनमा प्रवेश गराएको समाजवादकै कारण हुनसक्छ, २०७२ सालको संविधानमा ‘समाजवाद उन्मुख’ लेखिंदा नेपाली कांग्रेसले खासै विरोध जनाउनुपर्ने आवश्यकता ठानेन ।
यी तीन पुस्तक पढेपछि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षाका लागि, समाज र देश परिवर्तनका लागि, राजनीतिको नै अहं भूमिका हुन्छ भन्ने कुरामा सहमत भईसकेको थिएँ । बाँच्नका लागि पढेर कुनै सम्मानपूर्ण पेशामा लागे पनि एक नागरीक हुनुको नाताले देश र राजनीतिका बारेमा चासो एवं सरोकार राख्नुपर्छ भन्ने कुरा मनमा त्यत्तिकै गडिसकेको थियो । यस बाहेक मेरो घरमा राजनीति सम्बन्धित अन्य थुप्रै किताब र पत्रिकाहरु थिए । नेविसंघ स्थापना हुनुअघि गठित गण्डकी छात्र समितिका प्रकाशनहरु ‘विवेक विन्दु’, नेविसंघको मुखपत्र ‘संक्रान्ति, नेविसंघ, गोरखाको मुखपत्र ‘चिराग’ पत्रिकाका अंकहरु पनि घरमा थिए र ती देखेपछि नपढिकन बस्ने त कुरै भएन ।
कहिलेकाहीं मामाघर गोरखा जान्थे, मामा स्कूलमा पढाउनुहुन्थ्यो । वहाँमा वामपन्थी झुकाव थियो । मामाघरमा मार्क्सवाद लगायतका केही कम्युनिष्ट दर्शनका किताबहरु थिए । मामाघर जाँदा ती किताबहरु पढ्ने प्रयत्न गरें, तर ती किताबले मलाई खासै आकर्षित गरेनन् ।
वास्तवमा आठ, नौ कक्षातिर पुग्दा अलिक अलिक रुपमा राजनीतिक चेतना बढ्न थालेको थियो । त्यतिबेला कक्षामा पढाईमा अलिक राम्रो भएका साथीहरुसँग नै मेरो बढी संगत हुन्थ्यो ।उनीहरु प्रायजसो: नेविसंघतिर झुकाव राख्थे । हाम्रो गाउँबाट स्कूल पढ्न जाने मध्ये मेरो कक्षामा म मात्र थिएँ । गाउँबाट सँगै पढ्न जानेहरुको पढाई प्राय: औसत वा त्यसभन्दा निम्नस्तरका थियो । म अरुभन्दा सानो उमेरको थिएँ र स्कूल आउँदा, जाँदा पनि धेरैजसो एक्लै हुने गर्थ्यो । यसले गर्दा पनि गाउँबाट पढ्न जाने अखिल पृष्ठभूमि भएका अन्य विद्यार्थीहरुसँग प्रभावित हुने अवसर त्यति भएन कि जस्तो पनि लाग्छ ।
यसबिच सम्झनामा रहेका राजनीतिक घटनाहरुमा २०४२ सालमा तत्कालीन पञ्चायती व्यवस्थाले ‘पञ्चायतको चाहना, शान्ति र सिर्जना’ मूल नारा सहित मनाइएको पञ्चायत रजत जयन्ती, २०४२ साल असार ६ गते जनवादी मोर्चाद्वारा गराइएको बमकाण्ड, राजा वीरेन्द्रद्वारा २०५७ सालसम्म नेपाललाई एशियाली मापदण्डमा पुर्याउने घोषणा (पछि न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने भनिएको), नेपाल शान्तिक्षेत्रको प्रस्ताव तथा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या आदि हुन् ।
शायद कक्षामा भएका अन्य साथीसँगको उमेरगत भिन्नताले गर्दा पनि हुनसक्छ, मेरो रुचि खेलकुदमा भन्दा पनि पुस्तक अध्ययनमा नै बढी मोडियो । कक्षा नौ, दशतिर पुग्दा नियमित रुपमा रेडियो सुन्नुको अलावा अन्तरराष्ट्रिय मञ्च जस्ता पत्रिकाहरु नियमित पढ्थें । सन् १९९० आसपासको समय वास्तवमा संसारकै लागि युगान्तकारी परिवर्तनको समय थियो । सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्वाचोभले ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनर्निर्माण) को एजेण्डा अगाडि ल्याएका थिए । शीतयुद्धको औपचारिक समाप्तिका लागि अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचोभका बिच आइसल्याण्डको रेक्जाभिक लगायतका निर्णायक वार्ताहरु हुँदै थिए । सन् १९८९को मे, जुनमा चीनको बेजिङको तियानमेन स्क्वायरमा भएका विद्यार्थी प्रदर्शनका समाचारहरु विश्वव्यापी रुपमा मिडियामा छाएका थिए । सन् १९९० मा बर्लिनको पर्खाल ढल्न पुग्यो । पूर्वी युरोपको विभिन्न देशमा भएका कम्युनिष्ट शासनहरु एकपछि अर्को गरी ढल्दै थिए । प्रसिद्ध राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले त उनको चर्चित किताब ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ पुस्तकमा सन् १९९० को यस परिवर्तनलाई राजनीतिक र आर्थिक उदारवादको विश्वव्यापी विजयको रुपमा चित्रित गरेका छन् ।
उता दक्षिण अफ्रिकामा रंगभेद नीतिको विरोध गर्दा जेल परेका नेल्सन मण्डेला सत्ताइस वर्षपछि जेलमुक्त हुँदैथिए । यी सबै घटनाक्रमले गर्दा प्रजातन्त्रिक हक, अधिकार र स्वतन्त्रताको कुनै विकल्प छैन भन्ने कुरामा सहमत हुँदै गएको थिएँ ।
२०४७ सालपछि मदन भण्डारीले तत्कालीन नेकपा मालेमा बहुदलीय जनवादको प्रवेश गराएपछि तथा माओवादमा विश्वास राखेर सर्वहाराको अधिनायकत्वका लागि दश वर्षे ‘जनयुद्ध’ मा होमिएको तत्कालीन नेकपा माओवादीले समेत प्रचण्डपथ छाडेर, बाह्रबुँदे सहमति हुँदै, देशको राजनीतिक मूलधारमा आएर, गणतन्त्र पश्चात् संसदीय बहुदलीयतालाई स्वीकार गरिसकेपछि त यसमा अब धेरै विवाद हुने अवस्था अब देखिन्न ।
२०४५ सालको भूकम्प र त्यसपछि भारतले नेपाललाई लगाएको एक वर्षे नाकाबन्दीले देशको आर्थिक अवस्था कमजोर हुँदै थियो । २०४६ सालको कार्तिकतिर आफन्त दाइ चीनकाजी श्रेष्ठ (तत्कालीन गोरखा जिल्ला अध्यक्ष, नेपाली कांग्रेस) हाम्रो घर आउनुभएको थियो । वहाँले अब देशमा राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेसले संयुक्त वाममोर्चासँग मिलेर पञ्चायत व्यवस्थाका विरुद्ध आन्दोलन गर्ने तर्खर गरिराखिएको कुरा बताउनु भएको थियो । पछि २०४६ सालको माघ १-५ मा नेपाली कांग्रेसका तत्कालीन सर्वमान्य नेता गणेशमानसिंहको घरमा भएको राजनीतिक सम्मेलनमा भारतका चन्द्रशेखरले गरेको विचारोत्तेजक भाषणका चक्काहरु गाउँगाउँसम्म पुगेको थियो र यसले देशव्यापी रुपमा राजनीतिक तरंग ल्याएको थियो ।राजनीतक दलका कार्यकर्ताहरु आन्दोलनका लागि जुर्मुराउँदै थिए । यता पञ्चायती शासन व्यवस्था भने ठाउँ ठाउँमा पञ्चर्याली गर्न र सरकारी संचार माध्यम मार्फत आन्दोलनकारीलाई ‘अराष्ट्रिय तत्व’, ‘भेडाका छाला ओड्ने ब्वाँसाहरु’ जस्ता विशेषणहरु दिएर उछित्तो काढ्न व्यस्त थिए ।
२०४६ साल फाल्गुण ७ गतेबाट शुरु भएको जनआन्दोलनको रापताप गोरखाको आरुघाट बजारसम्म पनि आइपुग्यो । फागुन ७ गतेको अघिल्लो रात आरुघाट बजारको पुल लगायत विभिन्न स्थानमा गाडिएको नेपाली कांग्रेसको झण्डाले त्यस भेगमा हल्लीखल्ली मच्चाएको थियो । त्यतिबेला प्रतिबन्धित दलहरुले सार्वजनिक स्थानमा झण्डा राख्नु वा पञ्चायत विरोधी अन्य गतिविधिहरु गर्नु निकै जोखिमपूर्ण र साहसिक कार्य मानिन्थ्यो । यसको केही दिनपछि आरुघाट बजारबाट नेपाली कांग्रेसका नेता हरिलाल जोशी (हाम्रा आफन्त दाइ) र हाम्रै कक्षाका साथी अमर घले गिरफ्तार भएका थिए । हाम्रा साथी अमर घले दुई हप्तापछि जेलबाट छुटे । हरिलाल जोशी भने बहुदलको घोषणापछि मात्र छुट्नुभएको थियो । धादिङपट्टिको विशालनगर बजारबाट गणेशमान श्रेष्ठ पनि पक्राउ पर्नुभएको थियो । हामी भीमोदय मा.वि.मा पढ्ने विद्यार्थीहरुले पनि नाराजुलुस गर्ने, बजार बन्द गर्ने लगायतका पञ्चायतव्यवस्था विरोधी कार्यक्रमहरु गर्न थालेका थियौं । वास्तवमा विभिन्न सार्वजनिक स्थानहरुमा दलको झण्डा गाड्ने काम हाम्रै कक्षाका साथी चन्द्रबहादुर गुरुङले गर्नुभएको थियो र त्यसपछि वहाँ केही समय भूमिगत हुनुभएको थियो ।
फागुनको अन्ततिर सेलाउँदै गएको आन्दोलन, काठमाडौंमा चैत्र ३ र ५ मा भेला भएका बुद्धिजिविहरुको व्यापक गिरफ्तारीले पुन: तातिन थाल्यो । चितवन र धनुषाको जदुकुहा पनि आन्दोलनका केन्द्रका रुपमा चर्चित भएका थिए, त्यतिखेर । गोली लागेर त्यहाँका केही व्यक्तिहरुले शहादत प्राप्त गरेका थिए । चैत १६, १७ तिर पाटनमा निस्केको जुलुसमा गोली चलेर सागर सिंह लगायत शहिद भएपछि त काठमाडौं उपत्यकाको माहौल आन्दोलनले पुरै तातियो । चैत २४ मा दरबार मार्गमा ठूलो जुलुस दरबार घेर्न जाँदा धेरै नै मानिस हताहत भए रे भन्ने खबर देशभरि फैलिएको थियो ।
अन्तत: २०४६ चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रले नेकाका कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला तथा संयुक्त वाममोर्चाका साहना प्रधान र राधाकृष्ण मैनालीसँग वार्ता गरेपछि दलमाथिको प्रतिबन्ध फुकुवा भयो । त्यसको भोलिपल्टबाट देशभरि नै दलमाथिको प्रतिबन्ध फुकुवा भएको खुशियालीमा जुलुसहरु निस्कन थाले । हाम्रो आरुघाट बजारमा पनि जुलुस र आमसभा भयो । त्यस जुलुस र आमसभामा वक्ताको रुपमा म सहभागी भएँ । शुरुका दिनहरुमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले जुलुस र आमसभाका कार्यक्रमहरु संयुक्त रुपमा आयोजना गर्दथे । यस्ता संयुक्त आमसभाहरु मध्ये गोरखाको आरुघाट बजार, आरुपोखरी, धावा तथा धादिङको सल्यानटार, खहरे, बुढाथुमको आमसभामा समेत म वक्ताको रुपमा सहभागी भएको थिएँ ।
२०४६ सालको आन्दोलन पछि दल तथा तिनका भातृ संगठनहरु संगठन विस्तारमा तीब्र रुपमा लाग्न थाले । हाम्रो विद्यालयमा नेविसंघको ईकाई गठन गर्न नेविसंघ, गोरखाका जिल्ला सदस्य भरत भट्ट आएका थिए । ईकाई अध्यक्षका रुपमा चन्द्र बहादुर गुरुङ (विशालनगर, धादिङ) लाई चयन गर्यौं भने म ईकाई सचिव भएँ । उपाध्यक्षमा देवीदत्त खनाल (आरुपोखरी), कोषाध्यक्ष रुपकलाल जोशी (आरुघाट बजार), सहसचिव उपेन्द्र लामिछाने (धावा), सदस्यहरु तिर्थ न्यौपाने, रिक बहादुर गुरुङ (आरुपोखरी) लगायत थिए ।पछि नेविसंघको गोरखा जिल्ला अधिवेशनमा हामीले भाग लिएर चन्द्र बहादुर गुरुङजीलाई जिल्ला सदस्य समेत बनायौं ।
दश कक्षा उत्तीर्ण भएपछि एसएलसी परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिने क्रममा, तत्कालीन समयमा हाम्रो स्कूलको छाएको अशान्त वातावरणले गर्दा गोरखाको घ्याम्पेसालमा गएका थियौं । आरुघाटबाट म लगायत केही साथीहरु दुल्लभ मावि घ्याम्पेसालमा रहेर एसएलसी परीक्षाको तयारीका लागि तीन महिना कोचिङ कक्षा लियौं । त्यसबेला घ्याम्पेसालको स्कूलमा नेविसंघ राजनीतिमा सक्रिय विनोद भट्ट (हाल अमेरिका), राजेन्द्र बजगाईं (हाल पर्यटन व्यवसायी तथा नेका नेता), विनोद दवाडी (हाल त्रिविवि, सहप्राध्यापक) जीहरुँसग घनिष्ठ सम्बन्ध गाँसिएको थियो । विनोद भट्टजीको त मसेलस्थित घरमा गएर बास बसें पनि ।
दलमाथिको प्रतिबन्ध खुलेसँगै त्यसको हप्ता दश दिनपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा मन्त्रिपरिषद गठन भयो । २०४७ साल असारमा विश्वनाथ उपाध्यायको अध्यक्षतामा संविधान सुझाव आयोगको गठन भयो र २०४७ साल कार्तिक २३ गते देशले नयाँ संविधान पायो । यो संविधान आउनु एक महिना जति अगाडि दरबारले आफ्नै मस्यौदाको संविधान बाहिर ल्याएको थियो, तर व्यापक जनविरोधपश्चात् दरबार उसको आफ्नै मस्यौदा संविधानमा अडिराख्न सकेन । त्यस दरबारिया मस्यौदा संविधानको विरोधमा कार्यक्रमहरु गर्ने सिलसिलामा धादिङबेसींमा आयोजित विरोध आमसभामा म वक्ताको रुपमा सहभागी भएको थिएँ ।
मेरो यो समय भनेको एसएलसी परीक्षा दिएर बसेको खालि समय थियो । फुर्सदिलो थिएँ, एक किसिमले । यस समयमा नेपाली साहित्यका अतिरिक्त राजनीतिका धेरै किताबहरु पढिए । भोला चटर्जी र फणिश्वरनाथ रेणुले विपि कोइरालासँग लिएका अन्तर्वार्ताका सँगालोहरु विशेष पठनीय र मननयोग्य थिए । त्यो खालि समयलाई अध्ययनमा गरिएको सदुपयोगले मेरो राजनीतिक बुझाइको एउटा आधार खडा गर्नका लागि ठूलो सघाउ पुर्याएको थियो ।
कलेज प्रवेश गर्नुअघिको यस खालि समयमा २०४८ सालको आम निर्वाचन भयो ।यस आमनिर्वाचनमा चुनाव प्रचारप्रसारको सिलसिलामा धादिङको सल्यानटार, आगिञ्चोक, बुढाथुम, बसेरी, गुम्दी लगायतका धेरै स्थानहरुमा पुगियो र कतिपय आमसभाहरुमा वक्ताको रुपमा सहभागी भइयो । त्यस चुनावमा हाम्रो धादिङको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार दामन पाख्रिन विजयी भएका थिए । काठमाडौंमा अध्ययनका लागि आउँदा सँगै बसेका दाइहरु पूर्ण दाहाल (हाल आरुघाट गाउँपालिका अध्यक्ष) र राजाराम इटनी (हालसालै दिवंगत) पनि त्यतिखेर देखि नै राजनीतिक रुपमा निकै सक्रिय हुनुहुन्थ्यो र कतिपय आमसभामा हामी वक्ताका रुपमा सँगै सहभागी भएका थियौं ।
स्कूल पढ्दादेखि नै गोरखापत्र, साप्ताहिक विमर्श, देशान्तर, नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकार जस्ता पत्रिकाहरु नियमित पढ्ने गर्नाले म हरेक राजनीतिक घटना र गतिविधिहरु प्रति एकदम अद्यावधिक रहन्थें । रेडियो नेपालमा पुरुषोत्तम दाहालले चलाउने तत्कालीन ‘घटना र विचार’ कार्यक्रम पनि निकै चर्चित थियो ।
काठमाडौं आइसकेपछि पत्रपत्रिका र मन परेका किताबहरु पढ्ने बाहेक कहिलेकाहीं नेपाली कांग्रेसको जमलस्थित पार्टी कार्यालय जाने गरिन्थ्यो, जुन जमलमा रहेको चेम्बर अफ कमर्सको ठूलो भवनको छेउमा रहेको सानो गल्लीबाट अलिकति भित्रको चारकोठे दुईतले घरमा रहेको थियो ।
एकदिन त्यही पार्टी कार्यालयको छतमा टहल्दै गर्दा एक युवासँग परिचय गरियो । उनी नेविसंघ, ताप्लेजुङको जिल्ला सचिव रहेछन्, नाम – पर्वत विक्रम थापा । भर्खर जिल्लाबाट आएका रहेछन् र उनले पुल्चोक क्याम्पसको डिप्लोमा प्रवीणपत्र तहको प्रवेश परीक्षाको पर्खाईमा रहेको कुरा बताए, म पनि त्यसैको पर्खाईमा रहेको कुरा बताउँदा दुवै जना खुशी भयौं । संयोगले दुवै जनाको नाम पुल्चोकको प्रवेश परीक्षा उत्तीर्ण सुचीमा निस्कियो । अझ हामी दुवै जना सिभिल समूह, ई/एफ सेक्सनमै पर्यौं । हाम्रो सेक्सनमा त स्कूल जीवनमा नेविसंघका तर्फबाट सक्रिय राजनीति गरेका धेरै साथीहरु परेका रहेछौं । दाङका नगेन्द्रनाथ योगी, बझाङका लाल बहादुर थापा, चितवनका नगेन्द्र प्रसाद अधिकारी । हाम्रा सेक्सनका साथीहरु नृपराज जोशी (बझाङ) र महादेव विष्ट (दार्चुला) पछि पुल्चोक क्याम्पसको अखिल प्राकमा सदस्यको रुपमा रहनुभयो । कुमार धमलाजी (धादिङ) पनि विद्यार्थी संगठनको कुनै पदमा हुनुहुन्थ्यो जस्तो लाग्छ ।
पुल्चोक क्याम्पसमा अध्ययन अगाडि बढ्दै जाँदा नेविसंघ र अखिलको संगठनमा आबद्ध रहेका जिम्मेवार व्यक्तिहरु आ-आफ्नो संगठनको सदस्यता वितरण र संगठन विस्तारका लागि कक्षा कक्षामा आउन थाले ।नयाँ विद्यार्थीका स्वागतका लागि आयोजना गरिने कार्यक्रमहरु पनि आ-आफ्नो संगठनमा नयाँ विद्यार्थीलाई तान्नका लागि भरपुर उपयोग हुन्थ्यो । धेरै नयाँ साथीहरुको राजनीतिक झुकावसँग विस्तारै परिचित हुँदै गइयो । हाम्रो समयमा विद्यार्थी संगठनको विस्तारमा सक्रियतापूर्वक लाग्नेहरुमा चाहिं नेविसंघका तर्फबाट शंकर पण्डित, सत्यनारायण शाह, नारायण काफ्ले, श्रीराम न्यौपाने, अनुप रेग्मी, हरिश्चन्द्र लामिछाने, दीपकबाबु कडेंल आदि थिए भने अखिलका तर्फबाट केशव नेपाल, सुशील ज्ञवाली, लेखनाथ खरेल, तुलसी राई (अखिल पाँचौं), यज्ञ तिमिल्सिना, चञ्चल नकर्मी, बलभद्र सेन, तिलक भट्टराई, छविराज पोख्रेल (अखिल छैंठौं) आदि …….. ।
पुल्चोक क्याम्पस छिरिएको लगभग पाँच महिनापछि छात्रावासको बसाई शुरु भयो । पहिलो वर्ष हामी पुरानो छात्रावासमा बस्यौं । त्यहाँ बस्न थालेको एक महिना जति पछि छात्रावास समितिको निर्वाचन हुने भयो । पर्वतजीले नेविसंघका तर्फबाट उठ्न रुचि देखाउनुभयो । हाम्रै सिभिल समूह, ‘ए/बी’ सेक्सनका विक्रम प्रसाद शाह (सप्तरी) पनि यस चुनावमा उठ्न मन भएको र सहयोग गरिदिनुपर्ने आशय सहित मकहाँ आउनुभयो । खै कुन्नि, किन हो, मैले पर्वतजीलाई नउठेर विक्रमजीलाई सघाउन अनुरोध गरें, पर्वतजीले मेरो अनुरोधलाई स्वीकारेर उम्मेदवार नहुन राजी हुनुभयो । अखिलका तर्फबाट अर्का उम्मेदवार हाम्रै ब्याच, आर्किटक्चर समूहका राजेन्द्र ढकाल (गोरखा) हुनुहुन्थ्यो । राजेन्द्रजीले मलाई धेरै पछिसम्म अखिल समर्थक विद्यार्थीका रुपमा लिनुभएको रहेछ । चुनाव हुनेभएपछि त राजनीतिक आबद्धता थाहा हुने भईहाल्यो । पर्वतजी र म छात्रावासका प्रत्येक कोठामा गएर विक्रमजीका लागि भोट माग्यौं ।
चुनाव भयो, मतगणना पनि । यस चुनावमा राजेन्द्र ढकालजी विजयी हुनुभयो ।
(क्रमश………..)
लेखकका थप संस्मरणहरू