Logo

कलेज जीवनका सम्झनाहरु-२



Spread the love

हामी जस्ता दूरदराजका गाउँका स्कूलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकाहरुका लागि पुल्चोक क्याम्पसमा अध्ययन गर्न पाउनु अध्ययनका हिसाबले मात्र नभएर जीवनका बहुआयामिक पक्षहरुप्रतिको दृष्टिकोण, सोच, सम्पर्कको दायरालाई समेत फराकिलो बनाउँदै लग्न पाइने अवसर पनि थियो । त्यतिबेला सिभिल डिप्लोमा तहमा जम्मा दश सेक्सन थिए ।

प्रत्येक सेक्सनमा २४ जना हुन्थे भने मेरो ‘एफ’ सेक्सन (रोल नं १२६) थियो । ‘ई’ र एफ सेक्सनको पढाई संयुक्त रुपमा हुने भएकोले हाम्रो कक्षामा कुल ४८ जना विद्यार्थी हुन्थे ।नामको अगाडिको अंग्रेजी अक्षरका आधारमा रोल नम्बर तय गरिएको हुन्थ्यो । हाम्रो सेक्सनमा सबभन्दा शुरुवातको रोल नंबर (९७) कृष्ण प्रसाद राजवंशी (झापा) को थियो भने अन्तिम रोल नंबर (१४४) प्रसन्न ताल्चाभण्डारी (भक्तपुर) को थियो । अंग्रेजी, ईञ्जिनियरिङ ड्रइङ र भौतिकशास्त्र, रसायनशास्त्र लगायतका प्रयोगात्मक कक्षाहरुमा भने २४ जना विद्यार्थीहरु मात्र राखिन्थे ।

हाम्रो ई/एफ सेक्सनमा झापाका कृष्ण प्रसाद राजवंशी, ताप्लेजुङका पर्वत विक्रम थापा देखि लिएर दार्चुलाका महादेव विष्टसम्म हुनुहुन्थ्यो । हाम्रा कक्षाले धेरथोर रुपमा सानोतिनो नेपालकै प्रतिनिधित्व गर्थ्यो भन्दा हुन्छ । ४८ जनामध्ये त्यतिबेला काठमाडौं उपत्यकाभित्रै स्थायी घर भएकाहरु १६ जना थिए । मुस्लिम समुदायका मोहम्मद समरुज्दिन एज्दी (रौतहट) देखि लिएर अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने पदम बहादुर जिरेल (दोलखा) सम्म हाम्रो कक्षामा हुनुहुन्थ्यो । धादिङ जिल्ला घर भएकाहरुमा म (सल्यानटार) र कुमार धमला (ज्यामरुङ) थियौं । वहाँसँगको चिनाजानी कक्षा शुरुवातसँगै भयो, यद्यपि वहाँ र म छिमेकी स्कूलकै (भीमोदय मावि, आरुघाट/गोरखा र अचने मावि, खहरे/धादिङ) रहेछौं ।

हाम्रो कक्षामा छात्राहरु छ जना भए पनि नियमित रुपमा कक्षामा आउने ५ जना थिए र सबैजना काठमाडौं उपत्यकाभित्रका थिए ।

सबैजसो साथीहरुको मुहारमा भर्खर क्याम्पस प्रवेश गर्दाको उत्साह र खुशी झल्केको देख्न सकिन्थ्यो । प्राय: सबैजसो साथीहरु आफ्नो स्कूल वा जिल्लाकै उत्कृष्ट विद्यार्थीहरु थिए । दूरदराजबाट आएका कतिपय साथीहरु भने कलेज शुरुवाती जीवनमा पढाइ वा अन्य नयाँ परिवेश र नौलो दैनिकीका कारण केही अल्मलिएका जस्ता पनि देखिन्थे ।

समय बित्ने क्रममा बिस्तारै अन्य सेक्सनका साथीहरुसँग पनि चिनाजानी बढ्दै गयो ।हाम्रो ब्याचको सिभिल डिप्लोमा तहमा सेक्सन ‘ए’ देखि लिएर ‘जे’ सम्म गरी जम्मा २४० जना थिए । अन्य विषयको कुरा गर्दा चाहिं इलेक्ट्रिकलमा २४, इलेक्ट्रोनिक्समा २४, रेफ्रिजेरेसनमा २४ र आर्किटेक्चरमा ७२ जना विद्यार्थीहरु थिए ।

सिभिल डिप्लोमा समूहका सबै सेक्सनको पढाई ‘डी’ ब्लकको भुँईतलामा हुन्थ्यो । भौतिक र रसायनशास्त्रका प्रयोगात्मक कक्षाहरु ‘जी’ ब्लकमा हुन्थे । ‘डी’ ब्लकको पूर्व सडकको अर्को छेउमा होचो भुईंतला सहितको पुस्तकालय रहेको थियो । पुस्तकालयको माथिल्लो खण्डमा रहेको पत्रिकाहरु रहन्थे भने तल्लो खण्डमा किताबहरु राखिएका हुन्थे । पुस्तकालयका कतिपय मोटा मोटा किताबहरु हामीले पहिलो चोटि देखेका थियौं । कक्षा नभएको खालि समयमा हामी पत्रिका पढ्न पुस्तकालयतिर पुग्थ्यौं । पुस्तकालय कार्ड बन्नेबित्तिकै पुस्तकालयको आफूलाई उपयोगी हुने किताब कसले हात पार्ने भन्ने कुरामा विद्यार्थहरु बिच दौडधुप पनि चल्थ्यो ।

एफ ब्लकको पश्चिमपट्टिको ‘एफ’ ब्लकमा सिभिल स्नातक तहको पढाई हुन्थ्यो । त्यतिबेला पुल्चोक क्याम्पसमा स्नातक तहमा सिभिल विषयको मात्र पढाई हुन्थ्यो । त्यसको दुई वर्षपछिबाट भने अन्य विषयहरु पनि थपिन थाले ।

पढाई शुरु भएको केही समयपछि विभिन्न विद्यार्थी संगठनहरुले नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम राख्थे । ती स्वागत कार्यक्रमहरुमा विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिहरुको आगमन भएको हुन्थ्यो । केही कलाकारहरु पनि आएका हुन्थे र ती कलाकारहरुले नाचगान प्रस्तुत गर्थे । विद्यार्थी नेताहरुको भाषण भने धेरैजसो राजनीति केन्द्रित नै रहन्थ्यो । केन्द्रबाट आएका तथा क्याम्पसका ती विद्यार्थी नेताहरुको भाषणको मुख्य उद्देश्य भनेको सकभर नयाँ विद्यार्थीहरुलाई आ-आफ्नो संगठन तर्फ आकर्षित गर्नु नै हुन्थ्यो ।

स्वागत कार्यक्रमहरुको कुरा गर्दा चाहिं नेविसंघको स्वागत कार्यक्रमका गीत, नृत्यहरु विशुद्ध मनोरञ्जनात्मक हुन्थे भने अखिल (पाँचौ, छैठौं) का स्वागत कार्यक्रमहरुमा प्राय: प्रगतिशील किसिमका गीत र नृत्यहरु प्रस्तुत गरिन्थे ।यस्ता कार्यक्रममा क्याम्पसकै कुनै विद्यार्थीले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउँथे । हाम्रो समयमा स्वागत कार्यक्रम गरिंदा नेविसंघका तर्फबाट एनपि सावद, चन्द्र भण्डारी लगायतका नेताहरु आएका थिए भने अखिलका कार्यक्रममा शंकर पोखरेल, जगन्नाथ खतिवडा लगायतका नेताहरु आएका थिए । विद्यार्थी संगठनहरुले प्रत्येक सेक्सनको कक्षाकोठाहरुमा गएर संगठनको सदस्यता वितरण पनि गर्थे ।

कक्षा शुरु हुनथाले पछि बिस्तारै साथीहरु बिचको मित्रता बढ्दै जान थाल्यो । हाम्रो कक्षामा मसँग सबभन्दा पहिले घुलमिल हुने मध्येमा एक फलेन्द्र डिसीजी हुनुहुन्थ्यो । वहाँ सल्यान जिल्लाको थारमारेबाट आउनुभएको थियो । वहाँकै जिल्ला र चिनजानको सिनियर विद्यार्थी विराज केसी हुनुहुँदो रहेछ, जो तल्लो होष्टेलमा बस्नुहुन्थ्यो । वहाँका रुममेटहरु गोरखाका शीतलकाजी श्रेष्ठ र रुकुमका रामधन श्रेष्ठ हुनुहुन्थ्यो । फलेन्द्रजी वहाँहरुलाई भेट्न कहिलेकाहीं जानुहुँदो रहेछ । मलाई पनि एकदिन तल्लो होष्टेलमा लगेर वहाँहरुसँग चिनजान गराउनुभयो ।

फलेन्द्रजीले स्कूलमा विज्ञान र अतिरिक्त गणित विषय पढ्नु भएको रहेनछ । वहाँको लागि ईञ्जिनियरिङ पढाई अझ कठिन हुने त भई नै हाल्यो । केही समयका लागि गणित, भौतिक शास्त्रमा केही समय ट्युसन पढ्ने कुरा पनि निस्कियो र वहाँ लगायत अन्य केही साथी (शिव प्रसाद पन्त/पर्वत हाल दिवंगत, उमाशंकर चौधरी/नवलपरासी, सोहन महर्जन/ललितपुर) हरुले ती विषयमा एक-दुई महिना ट्युसन पनि पढ्यौं ।

फलेन्द्रजी त्यतिबेला शंखमूलतिर बस्नुहुन्थ्यो र वहाँको रुममेट टोपेन्द्र खनाल (रुकुम, चौरजहारी/र दाङ) हुनुहुँदोरहेछ । टोपेन्द्रजी हाम्रै ब्याचको डिप्लोमा सिभिल, ‘आई/जे” सेक्सनमा हुनुहुन्थ्यो । फलेन्द्रजी मार्फत् मेरो चिनजान टोपेन्द्रजीसँग पनि भयो । उहाँहरुको शंखमूलको घरबेटी, बत्ती बाल्ने कुरा, पानी भर्ने आदि कुरामा धेरै नै किचकिच गरिराख्ने स्वभावका रहेछन् र वहाँहरु सकभर शंखमूलको कोठा छाड्न चाहनुहुन्थ्यो । हामी तिनै जना दुर्गम जिल्लाबाट आएका हुनाले केही पछि छात्रावासको सुविधा पाउने कुरा लगभग निश्चित जस्तै थियो । फलेन्द्रजीले पछि छात्रावासको सुविधा पाएपछि हामी तीन जनासँगै बस्ने प्रस्ताव गर्नुभयो र मैले स्विकारें पनि ।

हामी नयाँ विद्यार्थीहरुका लागि क्याम्पसको नौलो वातावरणसँग परिचित हुन र पढाइको मेसोमेलो राम्रोसँग अगाडि बढाउन सिनियर विद्यार्थीहरुको सहयोग धेरै महत्वपूर्ण हुन्थ्यो र पुल्चोक क्याम्पसको हकमा सिनियर र जुनियर विद्यार्थीहरुको सम्बन्ध एकदम मित्रवत् पाएँ । सिनियर ब्याचकाहरु हामी जस्ता नयाँ विद्यार्थीहरुका लागि सहयोग गर्न उत्सुक र तत्पर हुनुहुन्थ्यो । सिनियर ब्याचका विद्यार्थीहरुसँग पनि क्रमश: चिनजान बढ्दै गयो ।

यसरी चिनजान गर्ने क्रममा कतिपय सिनियरहरुले आफ्नो जिल्लाबाट पढ्न आएका नयाँ विद्यार्थीहरुको खोजीनीति पनि गर्दारहेछन् । यस क्रममा त्यतिबेला बिईमा अध्ययनरत धादिङ जिल्लाका दाइहरु विपिन पाठक (हाल अमेरिका) र सुरेश शर्मा (हाल सिंचाई विभाग) पनि हामीसँग चिनजान गर्न आउनुभयो र केही सहयोग चाहिएमा सहयोग माग्नका लागि नहिच्किचाइकन भन्न सकिने कुरा बताउनु भयो । त्यसैगरी, धादिङ जिल्ला घर भएका डिप्लोमा, तेस्रो वर्षमा अध्ययनरत दाइ रामशरण अधिकारीसँग पनि चिनजान भयो । त्यतिबेला हाम्रो ब्याचमा धादिङबाट म, कुमार धमला र कृष्णलाल श्रेष्ठ (जीवनपुर, धादिङ/हाल धादिङ जिसस) थियौं । कृष्णलालजी ‘सि/डि’ सेक्सनमा हुनुहुन्थ्यो ।

हाम्रो पहिलो कक्षा जेठ महिनाको चार गते (२०४९ साल) भएको थियो । चैत महिनामा भर्ना भएपछि पढाई शुरु नहुँदासम्मको करीब डेढ महिनाको खालि समयमा सिनियरहरुको चिनजानका कारण कुन कुन पाठ्यपुस्तकहरु किन्नु पर्ने हो थाहा पाएँ र त्यस एक महिनाको खालि समयमा स्वाध्ययन गरेर सक्दो उपयोग गर्ने प्रयत्न गरें ।पहिलो चोटि ‘साइन्टिफिक क्यालकुलेटर’ किनेर विशेष गरी गणित र भौतिकशास्त्रका थुप्रै प्रश्नहरु आफैंले अध्ययन गरी हल गर्ने प्रयास गर्दैगएँ । यसले गर्दा कक्षा शुरु हुन थालेपछि ती विषयहरुमा त्यति अल्मिलिईराख्नु परेन, यद्यपि स्कूलमा हुँदा नेपाली माध्यममा पढेका हामी जस्ता विद्यार्थीका लागि क्याम्पसमा सबै विषयको पढाई अंग्रेजीमा गर्नुपर्दा केही कठिन हुनु त स्वाभाविक थियो ।

म आफू बसिराखेको पुल्चोकको डेरामा पानीको ज्यादै समस्या भएकोले म त्यस डेरा छाड्न चाहन्थें, तर नयाँ डेरा खोज्नु पनि त्यति सहज थिएन ।पढाई अगाडि बढ्दै जाँदा कक्षाका साथीहरुसँग घुलमिल हुने क्रम पनि बढ्दै गयो । हाम्रै कक्षाका नारायणसिंह खवास (स्याङजा) तल्लो छात्रावासदेखि केही पूर्व खेतका बिचबिचमा बनेका केही नयाँ घरहरु मध्येको एक घरमा डेरा गरेर एक्लै बस्नुहुँदोरहेछ । वहाँ बसेको घर खेतको बिचमा थियो र त्यहाँ पढ्नका लागि शान्त वातावरण उपलब्ध हुनसक्थ्यो । मैले वहाँसँगै बस्नका लागि अनुरोध गरें । वहाँ राजी हुनुभयो । त्यहाँ कलबाट जमीनमुनिको पानी तान्न सकिने भएकोले पानीको समस्या थिएन । पुल्चोकको मेरो पुरानो डेरामा चाहिं फलेन्द्र र टोपेन्द्रजी गएर बस्नुभयो । वहाँहरु पनि त्यहाँ बस्दा पानीको समस्याले आजित हुनुभएछ, यद्यपि त्यहाँको समस्याका बारेमा जानकार हुँदाहुँदै पनि शंखमूलबाट डेरा सरेर त्यहाँ बस्न जानुभएको थियो ।

नारायणजी शान्त र सीधा स्वभावको व्यक्ति हुनुहुन्थ्यो । वहाँको घर स्याङ्जा (वालिङ, बाँस्तारा) भए पनि स्कूलको पढाई भने नवलपरासी, सुनवलबाट सकाउनु भएको थियो । शायद, वहाँको परिवार बिचमा बसाईं सरेर नवलपरासीतिर गएको थियो, यद्यपि स्याङजाको थातथलो छाडिसकेको अवस्था पनि थिएन। वहाँको ठूल्दाइ नेपाली सेनामा सेवारत हुनुहुन्थ्यो र कहिलेकाहीं भेट्न आइराख्नुहुन्थ्यो ।हामी दुई जना सँगै खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने तथा बिहानबेलुकी सँगै पढ्ने, गृहकार्य गर्ने काम गर्थ्यौं । वहाँसँग भात पकाउने एउटा कसौंडी थियो । एकदिन भात बसाउने बेला कति ट्वाक चामल राखेको भन्ने कुरा भुलिएछ र कसौंडीमा अट्ने भन्दा धेरै चामल राखिएछ । पछि भात पाक्ने बेला हुँदै गएपछि त भात कसौंडीमा नअटेर धेरै बाहिर पोखिने अवस्था आयो । कहिलेकाहीं कसौंडीमा भात पकाउनु पर्दा यो घटना मलाई याद आइहाल्छ ।त्यस घरमा म्याग्दी, बागलुङबाट आएका अन्य विद्यार्थीहरु पनि डेरा गरी बस्थे । नारायणजीसँगको मेरो बसाई छात्रावासमा सर्नु अघिको तीन, चार महिनासम्म रह्यो ।

पुल्चोकको डेरामा एक्लै बस्दा देखि नै अलिक मिहिनेत गर्न थालिएको हुँदा पढाईलाई रफ्तार दिन निकै सहज भयो । जसरी पनि पढाईमा राम्रो गर्नुपर्छ भन्ने भावना थियो । विशेषगरि गणितका प्रश्नहरु त चार पाँच चोटि दोहोर्‍याएर हल गर्दा तिनका उत्तरहरु समेत लगभग सबै कण्ठस्थ भईसकेका थिए ।

पहिलो सेमेष्टरमा गणित, विज्ञान लगायतका सैद्धान्तिक विषयहरु बाहेक प्लम्बिङ, ब्रिकवर्क्स र इञ्जिनियरिङ ड्रइङ विषयहरु पनि थिए । प्लम्बिङ, र ब्रिकवर्क्समा दुई दुई जनाको समूह बनाएर प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो । प्लम्बिङको वर्कशप अहिले अनवरत शिक्षा महाशाखा भवन रहेको भन्दा अलिक पूर्व थियो । प्लम्बिङको वर्कशपमा सँगै प्रयोगात्मक अभ्यास गर्ने मेरा साथी पर्वत विक्रम थापा (ताप्लेजुङ, जससँग मेरो क्याम्पस आउनु अघि नै परिचय भईसकेको थियो) थिए भने ब्रिकवर्क्समा सँगै रोल नंबर भएका नीरा राजभण्डारी । ब्रिक्सवर्कको अभ्यासमा प्राय: सबभन्दा उच्च अंक आउने गरेतापनि प्लम्बिङमा भने खासै राम्रो अंक आएन, पाइपको गुणा काट्ने (पेच काट्ने) काम प्राय: बिग्रिरहन्थ्यो ।

इञ्जिनियरिङ ड्रइङ विषय मलाई साह्रै मनपर्थ्यो, तर घरमा ड्रइङ गर्नका लागि राम्रो ड्रइङ टेबलको व्यवस्था नभएकोले घरमा बसेर ड्रइङको गृहकार्य राम्रोसँग गर्नका लागि कठिन हुन्थ्यो, यद्यपि ड्रइङको गृहकार्य त जसरी पनि बुझाउँदै जानु नै पर्थ्यो । सेमेष्टरको अन्तिमतिर सबै ड्रइङहरु गरेर बुझाउनुपर्थ्यो । यतिबेलासम्म नारायण खवासजीसँग नै सँगै बसिराखेको थिएँ । ड्रइङको अन्तिम गृहकार्य गर्नका लगि भने म केही दिन नयाँ छात्रावासमा बसें । त्यहाँ उपलब्ध गराइएका टेबलमा ड्रइङ गर्न अलिक सहज हुन्थ्यो । पहिलो सेमेष्टरदेखि नै सिनियर ब्याचका दाइहरुसँग चिनाजानी र घुलमिल बढ्दै गईराखेको थियो । अघिल्लो ब्याचका विष्णुहरि पाण्डे (स्याङजा, हाल क्यानाडा) ले मलाई आफ्नै भाइ जस्तै स्नेह गर्नुहुन्थ्यो । वहाँका रुममेटहरु अणराज सिलवाल (चितवन, हाल इञ्जिनियरिङ परिषद्) र अर्को एकजना दाङको हुनुहुन्थ्यो (नाम बिर्सें) । वहाँलाई मैले आफ्नो समस्याका बारेमा अनुरोध गरेपछि पाँच-सात दिन खुशीसाथ आफ्नो कोठामा राख्नुभयो र मैले ड्र्इङको गृहकार्य राम्रोसँग पूरा गरें । यति मिहिनेत गरेपछि आफ्नो कक्षामा ड्रइङमा आफ्नो सबभन्दा उच्च अंक नआउने त कुरै भएन ।

भदौ महिनातिर छात्रावास बस्ने विद्यार्थीको सुची प्रकाशित भयो । पहिले गरिएको सल्लाह अनुसार नै म, फलेन्द्र र टोपेन्द्रजी तीन जना सँगै बस्यौं । हामी शुरुको एक वर्ष पुरानो छात्रावास (कृष्ण गल्लीको छेउमा रहेको, आर्किटेक्चर ब्लकको पूर्व) मा बस्यौं । छात्रावासमा बस्न थालेपछि काठमाडौंमा डेरामा बस्दा भोग्नुपर्ने अनेकौं समस्याहरुबाट मुक्त भयौं । धेरै विद्यार्थी साथीहरु सँगै छात्रावासमा बस्न थाल्दा अर्कै खुशी र उल्लासको वातावरण पनि थियो । क्याम्पसमा खाना खानका लगि क्याफ्टेरियाहरु थिए । बिहान आनन्द निकेतन भवन हुँदै उत्तरतर्फको प्रवेशद्वारबाट बिचमा पर्ने सडक पार गर्दै होटल हिमालयको पूर्व पट्टिको छेउमा रहेको क्याफ्टेरिया (सोली आकारको भवन, हालको नवीकरणीय ऊर्जा भवनको पश्चिमपट्टि) सम्म पुग्न कम्तीमा दश मिनेट नै लाग्थ्यो, तर थुप्रै साथीहरु सँगै खाना खान जाँदा आउँदा एकदम रमाइलो हुन्थ्यो । बेलुकीको समयमा खाना खान जान भने क्याम्पसको मुख्य प्रवेशद्वार बन्द हुने भएकोले पाटनढोका हुँदै घुमेर आउजाउ गर्नुपर्थ्यो । खाना खान सँगै आउजाउ गर्दा साथीहरुमा घनिष्ठता बढाउँदै लग्ने काम पनि भयो ।

गोरखा जिल्लाबाटै प्रवेशिका परीक्षा उत्तीर्ण गरेर हाम्रो ब्याचमा पुल्चोकमा भर्ना भएका साथीहरु अरु पनि थुप्रै थिए । तीमध्ये छात्रावासमा बस्नेहरुमा नवराज अधिकारी, सुबोध कुमार रवि (न्यौपाने), टोप बहादुर बाँनिया, राजेन्द्र ढकाल, भरत सापकोटा, शंकर नेपाली थिए । उनीहरुसँग छुट्टै किसिमको आत्मीयता गाँसिएको थियो ।

क्याफ्टेरियामा खाना खान लाइन लाग्नुपर्थ्यो । त्यहाँ डिप्लोमा सिनियर ब्याच र स्नातक तहका दाइहरुसँग सँगै खाना खान लाम लाग्ने गर्थ्यौ । यसले गर्दा थुप्रै सिनियर दाइहरुसँग चिनजान पनि बढ्दै गयो । लाइनमा आफ्नो पालो आएपछि खाना सहितको थाल बोकेर टेबलमा गएर बस्थ्यौं । दाल जति पनि थप्न मिल्थ्यो ।कतिपय साथीहरु खाना खाइसकेपछि दाल थपेर टन्न पिउँथे । हप्तामा एकचोटि मासु दिइन्थ्यो भने बिचमा एक चोटि आफैंले पैसा थपेर मासु खान पनि पाइन्थ्यो । ईच्छा भए अनुसार अर्डर गरेर अम्लेट पनि खान सकिन्थ्यो ।

मेसमा खाना खाँदा महिनाको पाँच सयदेखि छसय रुपैंयामा पुग्थ्यो । घरबाट प्रत्येक महिना आउने करीब एक हजार रुपैंयाले महिनाभरिको खर्च जेनतेन चल्थ्यो ।मेरो बुबा त्यतिबेला गाउँको स्कूलमा पढाउनुहुन्थ्यो । तलब बुझ्नका लागि धादिङबेसीं सदरमुकाम आउनुहुन्थ्यो र तलब बुझेपछि मिलेसम्म काठमाडौं आएर मलाई खर्च छाडेर जानुहुन्थ्यो । आएका बेलामा घरबाट घ्यू लगायत खाजाका अन्य सामाग्रीहरु पनि ल्याउनुहुन्थ्यो ।हामी साथीहरु खूब रमाई रमाई घरबाट आएको खाजा खाने गर्थ्यौं । फलेन्द्र र टोपेन्द्रजीका घरबाट पनि कहिलेकाहीं केही कोसेलीहरु आइपुग्थे । टोपेन्द्रजीको घर दाङबाट पठाइएको घ्यूको सिसी हामीकहाँ आइपुग्दा फुटेर खान नसकिएको कुरा अझै पनि सम्झन्छु । फलेन्द्रजी र केही पहिले सँगै बसेको साथी नारायणजीको एउटा साझा विशेषता के थियो भने वहाँहरु दुवै जना खालि समयमा प्राय: आफ्नो गाउँठाउँका लोकभाकाहरु गुनगुनाइरहनुहुन्थ्यो ।

कुनै बेला समयमै घरबाट पैसा नआउँदा सेनामा काम गर्ने छिमेकी दाइहरुको ब्यारेकमा पैसा सापट लिन जान्थें र बुबाले गाउँतिर उनीहरुको घरमा त्यो पैसा तिरिदिनुहुन्थ्यो । डेराको साटो छात्रावासमा बस्न थालेपछि डेराभाडाको पैसा बच्न थाल्यो । बचेको त्यो पैसा मैले आफूलाई मन परेका किताब, पत्रिकाहरु किन्नमा धेरै खर्च गरें । त्यतिबेला म युवामञ्च, गरिमा, विज्डम लगायतका पत्रिकाहरु नियमित किन्थें । शुरुका दिनमा अन्तरराष्ट्रिय मञ्च पत्रिका पनि नियमित किन्थें, तर पछिल्ला दिनहरुमा यसको स्तर खस्किंदै गएको थियो ।

माथिल्लो छात्रावासमा हामी भन्दा अघिल्लो ब्याचका विद्यार्थीहरु पनि बस्थे । त्यसमध्ये आर्किटेक्चर दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरु धेरै थिए । उनीहरुको पढाई हुने ‘ई” ब्लक तल्लो छात्रावासबाट भन्दा यहींबाट नजिक पर्ने हुनाले यता बस्न रुचाउँदा रहेछन् । छात्रावासको भुईंतलामा टेलिफोन राखिएको थियो । हाम्रो घर वा अन्य स्थानबाट फोन आउँदा फोन उठाउन तल झर्ने गर्थ्यौं ।छात्रावासका केही साथीहरु भने फोनमा धेरै नै व्यस्त भईराखेका देखिन्थे । यो भवन तीन तल्लाको थियो । हाम्रो कोठा तेस्रो तल्लाको सबभन्दा दक्षिणी छेउमा भर्‍याङ नजिकै थियो । भवनमा पस्ने बित्तिकै भुईंतल्लामा दाहिने पट्टि सानो टिभिहल थियो ।बिहान बेलुकी हामी समाचार लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न टिभीहलमा जम्मा हुने गर्थ्यौं । राजनीतिक रुपमा बढी सक्रिय केही साथीहरु भने आफ्नो पक्षविपक्षका राजनीतिक समाचारहरुमा तुरुन्तै प्रतिक्रिया जनाइहाल्थे । सबैका कोठामा क्वाइल वाला माटोका हिटर हुन्थे । केही विद्यार्थीहरु त्यही हिटरको प्रयोग गरी कोठामै खाना पकाएर खाने गर्थे । छात्रावासमा बिजुलीको बिल धेरै बढी आयो भनेर एकदुई चोटि हिटरको लाइन पनि काटिएको थियो ।

छात्रावास अगाडिको चौरमा विद्यार्थीहरु भलिबल खेल्थे । उत्तर पश्चिमको कुनातिर टेबलटेनिसको बोर्ड पनि थियो । विद्यार्थीहरु आफ्नो रुचि अनुसार विभिन्न खेलकुदमा गतिविधिमा सहभागी हुन्थे । छात्रावासको पूर्वपट्टि एक अग्लो आकाशे पानीटयांकी थियो, त्यसैको छेउमा हाइड्रो ल्याब पनि । हाइड्रोल्याब भित्रको एक सानो पोखरीमा हरदम पानी हुन्थ्यो । छात्रावासमा पानीको समस्या हुँदा हामी त्यहींभित्र लुगा धुन जाने गर्थ्यौं । छात्रावासका शौचालयका ढोकाहरु निकै कडा (कसिला) थिए । कहिलेकाहीं शौचालयभित्र पसिसकेको मान्छे ढोका खोली बाहिर निस्कन नसक्दा भित्रै थुनिने अवस्था पनि आउँथ्यो र बाहिरबाट अरु कसैले ढोका खोलिदिन सहयोग गर्नुपर्थ्यो ।

पहिलो सेमेष्टरको छात्रावास बसाईंमा बिभिन्न जिल्लाबाट अध्ययनका लागि आएका साथीहरुसँग चिनापर्ची बढाउने र घुलमिल हुँदै जाने क्रम बढ्यो । छात्रावास बसाईंका क्रममा पढाइका बारेमा हुने छलफलका अलावा आफ्ना गाउँठाउँ, परिवेश, जीवनका भोगाइ र अनुभवहरु आदानप्रदान प्रदान गर्ने काम धेरै नै हुन्थ्यो । पढाईका कुरामा एक अर्कालाई आफूले जानेका, जान्न चाहेका कुरामा सिक्ने सिकाउने गरिन्थ्यो । यद्यपि पहिलो सेमेष्टरमा केही साथीहरुले अरु साथीको क्षमता थाहा पाउन पनि कठिन प्रश्नहरु हल गर्न सोध्ने गरेको समेत अनुभव गरेको छु ।

प्रत्येक सेमेष्टरको कुल प्राप्तांक मध्ये २० प्रतिशत आन्तरिक मूल्याकंनको परीक्षाबाट दिइन्थ्यो । सबैजसो आन्तरिक मूल्याकंनका परीक्षामा मैले राम्रै अंक ल्याएको थिएँ । हुँदाहुँदै पहिलो सेमेष्टरको अन्तिम परीक्षा नजिक आयो । परीक्षा नजिकै आउँदा म रुघाखोकी, ज्वरोले ग्रस्त भएर परीक्षा नै दिन नसकिने पो हो कि भन्ने अवस्थामा पुगें । यस समयमा रुममेट साथीहरुले मेरो धेरै नै हेरविचार गरे । तल्लो छात्रावासबाट शीतलकाजी श्रेषठ, हरिश्चन्द्र लामिछाने लगायतका दाइहरु पनि भेट्न आउनुभएको थियो । पहिलो दिन प्लम्बिङको मौखिक परीक्षा थियो । बिरामी अवस्थामा नै जाँच दिन गएकोले त्यस दिनको मौखिक परीक्षा त्यति राम्रो हुन सकेन । चश्मा लगाउने प्लम्बिङका प्रशिक्षकले शुरुमै तपाईंले कति कडा ‘भिक्स’ लगाएर आउनु भएको रहेछ भन्नुभएको थियो ।
पछि अलिक सञ्चो हुँदै गएँ । अन्य परीक्षाहरु केही दिन पछि राखिएको थियो । सैद्धान्तिक विषयहरु मध्ये गणितको परीक्षा पहिला परेको थियो, जुन विषयमा मैले सबै मिलाएको थिएँ र राम्रो अंक आउनेमा विश्वस्त थिएँ । अन्य विषयका परीक्षाहरु पनि राम्रै भए ।

पहिलो सेमेष्टरको परीक्षा सकिए लगत्तै दशैं आयो । हामी सबैजना घर जान आतुर थियौं । हामीहरु कतिपय छात्रावास नजिकै पर्ने साझा यातायातको कार्यालयमा टिकट किन्न गयौं । हुनत त्यतिखेर सुन्धारामा बसपार्क भएपनि साझा यातायातका बसहरु पुल्चोकबाट पनि चढ्न सकिन्थ्यो । दशैंमा घर जानका लागि आतुर साथीहरुले त्यसदिन बिहान तीन चार बजेदेखि नै हल्लीखल्ली गरेर घर जाने तयारी गरेको दृश्य अझै पनि आँखा अगाडि झल्झल्ती आउँछ ।

दशैंतिहार सकेर क्याम्पस सकिएको केही समयपछि दोस्रो सेमेष्टरको पढाई शुरु भयो । त्यसको केही समयपछि पहिलो सेमेष्टरको नतीजा प्रकाशन भयो । पासफेलको नतीजा थाहा पाउन आतुर कतिपय साथीहरु चाकुपाटको पांग्रे घर (परीक्षा नियन्त्रण कार्यालय) नै पनि पुगे । एकदुई दिन पछि ‘ए’ ब्लकको भित्तामा परीक्षाको नतीजा टाँसियो । मार्कसीटहरु पनि उपलब्ध भए । पहिलो सेमेष्टरमा मेरो प्राप्तांक ८० प्रतिशत भन्दा बढी आएछ । गणितको अन्तिम परीक्षामा त पूर्णांक नै आएछ, तर आन्तरिक परीक्षामा सानो केरमेट भएर १९ मात्र आएका कारण कुल प्राप्तांक भने ९९ आयो । विज्ञान र ड्रइङका विषयहरुमा पनि ९० माथि नै आएको थियो । पहिलो सेमेष्टरमा हाम्रो ब्याचको सिभिल, ‘ए/बी’ सेक्सनका विदुर घिमिरेजीको उच्चतम अंक आएको थियो । पहिलो सेमेष्टरको नतीजाले मलाई पनि साथीहरुका बिच एक पढैया विद्यार्थीका रुपमा भने चिनायो ।

(क्रमश:…………………)

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्