पुल्चोक क्याम्पस अनि छेवैको भट्टी । हेर्दा इटाँ थुपारेर मात्र बनाए जस्तो । मोर्टार छ कि छैन जस्तो । कलर ! कलरको नाममा सेतो पेन्टिङ । त्यस माथि लेखिएको छ – पुल्चोक क्याम्पसै भरी अखिल (क्रान्तिकारी) अनि ढोकाको अर्को साइडमा रातो झन्डा । जम्मा यत्ति त हो कलर । अनेकौँ कथाहरू छन् भट्टीभित्र । विभिन्न रङहरू समेटेको छ भट्टीले । भट्टीको पनि आफ्नै इतिहास छ । विभिन्न काल खण्डका बाधा व्यवधान धानेको छ, भट्टिले । बहत्तर सालको शक्तिशाली भूकम्पले पनि केही गर्न नसकेको वीर हो भट्टी । भट्टीले कुनै टसमस गरेन । यसर्थ पुल्चोकमा धेरै महत्त्व बोकेको भट्टी कहिले झुकेन ।
भट्टीलाई सञ्चालन गर्ने दिदी अचम्मै व्यस्त मानिस । अजङको जाँगर अनि क्षमता । उनी बाहेक कुनै महिलाले त्यो भट्टी सञ्चालन गर्न सक्दैन सायद । महिला मात्र कहाँ हो र ! पुरुष नै आए नि सक्दैनन् । अर्थात कसैले सक्दैनन् ।
भित्र पुरै मायापुर झैँ नजारा छ । अलिकति तुवाँलो, अलिकति अँध्यारो, अलिकति उज्यालो पनि । भित्ता भन्नु पनि के थियो र । कठै ! अनि त्यसमा झुन्डिएको एउटा पुरानो पङ्खा । जे होस् जेनतेन चलेकै थियो भट्टीको जिन्दगानी ।
कुनाको एउटा टेबलमा चार युवाहरू गफिदै थिए ।
-“पास भयौ नि ?” एउटा भन्दै थियो ।
– अ यार.. दुई वटामा । ” जवाफ आउँछ ।
त्यसै बिचमा दिदी चना अन्डा प्लस चाउमिन मिक्स दिँदै टेबल सफा गर्छिन् ।
-“कोइसनहरु कस्तो आथ्यो ?” अर्कोले सोध्छ ।
-“रेन वाटर हारभेस्टिङ, एच भी ए सी यस्तै यस्तै यार।
उनीहरूकै सर्कलको एउटा साथी भट्टी भित्र छिर्छ । सायद उ अलि त्यस्तै त्यस्तै… बिद्द्यार्थी थियो ।
-“कति वटा लाग्यो, चार वटा ?” बाहिर बाट आउँदै गरेको केटोलाई भित्रको मित्रले सोध्छ ।
-“कहाँ मलाई चार वटा लाग्नु । (अलि मुख खुम्च्याउदै) जम्मा तीन वटा मात्र।“
एउटा चाहिँ अघि देखी गेम खेल्दै थियो र अहिले पनि मोबाइलमा घोप्टो परेको छ । उनीहरूको कुरा अलि मोडिन्छ।
-“केटा हो, स्विमिङ जाने हो ?” एउटाले भन्छ ।
सबै शान्त छन् , कोही घोसेमुन्टो लगाएर चिया पिउँदै छन् । कोही भने चिया सँगै चुरोट फुइँ फुइँ तान्दै छन् । कसैबाट जवाफ नआएपछि उही प्रस्ताव गर्ने केटोले भन्छ ।
-“यार पैसै छैन, केको स्विमिङ जानु है ? ”
सबै मन्द मुस्कान छोड्छन् ।
दिदी आलु चना लिएर त्यो टेबलमा जान्छिन् ।
-“दिदी कालो चिया भनेको, आलु चना होइन । ” त्यो टेबलमा बसेको युवक बोल्छ ।
दिदी अक न बक्क पर्छिन् । तर एक जना नजिकैका मित्रले म खान्छु त्यो आलु चना भनेर दिदीको मेहनतलाई खेर जान दिदैंन् ।
भट्टीमा दुई प्रकारका स्पेस छन् – इनडोर स्पेस एन्ड आउट डोर स्पेस । इन्डोर भन्नाले टेबल बेन्च राखिएको ठाउँ । आउट डोर स्पेस चाहिँ काठका फलिया बिच्छाइएको बाहिरी खुला ठाउँ । त्यही आउट डोर स्पेसबाट एउटा जवान युवक उठ्दै पैसा तिर्न काउन्टरमा आउँछ ।
-“भाउजू कति भो, रारा, अन्डा, फ्रुटी, चुरोट ।” युवक बोल्छ ।
-“तिस, पैँतालिस, सत्तरी, असी।” दिदी त्यो युवक सँगै राइम मिलाएर बोल्छिन् ।
अघिकै पाल्टीको अर्को मित्र भट्टीभित्र छिर्छ । र छिर्न साथ आफ्नो ग्याङ तिर हेर्दै सबैले सुन्ने गरी बोल्छ । त्यो पनि उमङका साथ ।
-“धन्न हाइड्रोपावर लाग्यो, आर सी सी लागेन ।”
सबैले उसलाई ल बधाई छ यार भन्दै स्याबासी दिए ।
साइडको टेबलमा एक जना बुढा मानिस बसिरहेका थिए । जुन अलि अनौठो दृश्य थियो । उनी पुरै चुरोटको आनन्दमा थिए । एउटा हातमा भने स्प्राईट थियो । त्यो स्प्राइट उनी यसरी पिउँदै थिए कि मानौँ त्यो नै संसारको अन्तिम स्प्राइट हो । पुरै दुई खुट्टा बेन्चमा राखेर, एउटा हातले घुटुघुटु स्प्राइट अर्कोले फुइँ फुइँ चुरोट तान्दै । चिल्याक्स पारामा । क्या नजारा थियो त्यो ।
अर्का एक जना मित्र भित्रिन्छन् भट्टीभित्र ।
फेरी त्यही ग्याङको एउटाले भक्करै भित्रिएको केटोलाई भनिहाल्छ ।
-“साथी पास भएको पार्टी दिनु पर्यो ।”
भित्रिएको मित्रले भन्छ ।
-“कहाँ पास हुनु यार, एउटा लाग्यो नि ।” (केटीको जस्तै आवाजमा)
-“सेमेस्टर पास भन्या होइन साथी , पाँचवटामा पास भएको पार्टी भनेको नि । सेमेस्टर पास त को हुन्छ र अब ।”
एउटा रमाइलो गर्न खोज्ने युवकले जवाफ दिन्छ ।
( सबै गलल हास्छन । हाँसोले पुरै भट्टी गुन्जायमान हुन्छ । )
अर्को टेबलमा हेर्दा त्यहाँ छुट्टै गफहरू हाँकिँदै थिए । त्यो टेबल जहाँ फ्रुटीका रित्ता खोस्टाहरू थिए । कोही ठिङ उभिएका , कोही भने मजाले सुतेका ।अण्डाका बोक्राहरू पनि छरपष्ट छरिएका । टेबलकै अर्को कुनामा हल्का छ्यास्स पानी पोखिएको । यस्तै थियो त्यहाँ ।
-“अहिले त यार बाउ आमा क्यानडामा छ भने पनि, छोराछोरीलाई भिजिटिङ भिसामा जान गाह्रो छ यार। ” एउटाले फुइँ लाउँदै थियो ।
-“अहिले थाइल्यान्ड जान चाहिँ सजिलो छ यार ।” अर्को भन्दै थियो ।
-“मलाई त यार यु. एन. मा जागिर खान मन छ ।” तेस्रोले फुकाइदियो मनको बात ।
सब आआफ्नै तरिकाले फाँक्दै थिए । एक छिन सोचेर अर्का मित्र बोल्छन् ।
-” यु एन मा जागिर खायो भने त मा…(बिप. बिप.), सक्किगो नि ।”
-“नेपालमा त केही हुँदैन यार । ” केटोले धेरै नेपालीको भावना एकै श्वासमा पोखिदियो ।
एउटा अपरिचित मित्र ढोकाबाट भित्र छिर्दै चुरोट माग्छन् । सल्काउछन । बिचैमा झुन्डिएको लाईटर लाई माथि उचाल्दै छोडिदिन्छन् । अनि एक तमासले हल्लिरहन्छ, लाईटर डोरी सँगै । सिधै लाग्छन् उनी इनडोर स्पेसको टेबलतिर । टेबल जहाँ पत्रिकाहरू छरिएका छन् । ती पत्रिकाहरू लाग्छन् कुनै जमानाका हुन । तर गएर मिति हेर्नुहोला ती आजैका हुन । चुपचाप उ टेबलमा बस्छन् । र केही छिन पछि धुवाको मुस्लो मुखबाट निस्कन्छ । पुरै मायाबी छ त्यो धुवा । हावामा नाच्दै नाच्दै पर पर गइदिन्छ । उडिरहेको धुवामा हेर्दा, त्यो मान्छेका सोचहरू पनि आनन्दसँगै धुवाँ सँग नाचिरहेका जस्तो भान हुन्छ ।
त्यहाँ बस्दै अवलोकन गर्दा मान्छेहरू एक पछि अर्को परिवर्तित भइरहन्छ । तर ती टेबल, बेन्च, पत्रिका, इन्डोर स्पेस र आउट डोर स्पेस चाहिँ जस्ताको त्यस्तै छन् । भट्टी भित्र धुवाँको मुस्लो पनि सधैँ औलोकिक देखिरहन्छ । दिदी पनि एक तमासले काम गरिरहन्छिन् । अनवरत रूपमा । र त्यस्तै गफहरू सधैँ भईरन्छन, मात्र विषयहरू बदलिन्छन् ।
आखिर जसरी बिताए पनि जिन्दगी त बितिहाल्छ नै । भट्टी भित्र जिन्दगीहरू पनि रमाइलो सँगै बितिरहेका छन् । एक किसिमको छुट्टै मजा आउँछ त्यहाँ बस्दा । त्यसलै भन्न मन लाग्छ ।
जय भट्टीका रसरँगहरु ।
अन्ततः भन्न चाँहे,
“सायोनारा भट्टी । फेरी भेटौला ।“
लेखकबाट थप: