Logo

नाइँ आमा म होस्टेल बस्दिनँ



Spread the love

आफूले फेर्ने सासभन्दा छिटो मुखबाट शब्द पोखिए । आमाको सारीको एक फेर समातेर म बोलेँ, “नाइँ आमा म होस्टेल बस्दिनँ ।”

अहिले सम्झिदा झस्किन्छु आमा । त्यो हात यही थियो जुन हातले तिम्रो सारीको एक फेर समातेर म रोएकी थिएँ । त्यो बिछोडले मेरो मन मात्र हैन तिम्रो सारीको फेर पनि च्यातिएको थियो । अफसोच ! म रोएको कराएको, मेरो मन च्यात्तिएको कसैले देखेन, सबैले ध्यान तिम्रो सारीको फेरतिर दिए ।

थाहा छ आमा ? तिमीसँगको दुरी तन्किंदै थियो, मलाइ भने तिम्रो हात कहिले नछुटोस् जस्तो भइरहेको थियो । मलाई होस्टेल पठाउनुमा बाबाआमा तिम्रो विवशता भन्दा बढी व्यस्तता थियो । मैले आफ्नो बालापनदेखि लिएर यो उमेरसम्म होस्टेलकै एउटा कोठामा बिताएँ, जहाँ बन्द कारखानाबीच एउटा कैदी बसिरहेको हुन्छ । म होस्टेलमा अपराधबिनाको बन्दी/कैदी थिएँ । आमा बारबार मैले सुनाउने त्यो सत्यले किन तिमीलाई छोएन ? जुन सत्य सम्झिदा अझै पनि मेरो आङ सिरिङ्ग हुन्छ । मसँगै पढ्ने मेरो साथीले मलाई हजुर र बाबा शुक्रवार घर लिन आउँदा एकान्तमा बोलाएर उसले २ रुपैयाँको डलर पैसा मेरो हातमा थमाउँदै भन्यो, “सरिता मलाइ तिमी होस्टेल आउँदा पाउरोटी लिएर आइदेऊ है ।” बाफ रे ! पाउरोटीको महत्त्व मैले त्यो बेला भोक लाएर हो कि, खान मन लाएर हो, यसरी लिन पठाएको बुझिन । तर, त्यो शोक-भोक नभएर अभाव थियो, जुन अभाव आफ्नो परिवार, बाबाआमा बिना बिलकुल अपुरो थियो आमा ।

तिम्रो पछाडि लुटुपुटु गर्दै सुत्नु, बुवासँगै स्कुल जानु मेरा लागि सबै मनभित्र दबिएका सपना हुन् । मलाई सपनाहरूसँग त्यति धेरै लगाव राख्नु थिएन किनकि मेरा लागि सपना अनि बिपना भन्नू नै एउटा मात्र कोठा थियो । मेरा लागि यो घरको आँगन बिरानो थियो, बाबा घरका प्रत्येक कोठाहरू बिराना थिए । लाग्थ्यो म कुनै बेग्लै दुनियाँमा आएकी छु । 

मलाई टुट्नुको डर थिएन किनकि म बारबार टुटिसकेकी थिएँ ।

कतिपय यादहरु कालोपाटीमा सेतो चकले लेखिने अक्षरहरु जस्तै हुँदा रहेछन् आमा । मेटिंदै जाने तर कतिपय याद ताजै हुँदा रहेछन् शरीरमा खोपिने ट्याटुजस्तै ।

हरेक घाउहरूले दुखाइको मात्र अनुभव गराउँदैनन्, कुनै-कुनै घाउहरू बेस्सरी पोल्छन् पनि । मलाइ त्यो नमिठो यादले बारबार अझै पोल्छ । हजुरलाई थाहा छ आमा ? मैले लिने टिफिनको पनि समय तालिका हुन्थ्यो हरेक हप्तामा के खाजा लिने के खाने कति बेला खाने । जब टिफिन टाइम हुन्थ्यो प्राय: सबै साथीहरूको आमाबुवा खाजा खुवाउन आउनु हुन्थ्यो । कोही रोटी तरकारी, कोही सुकुटी त कोही भुजा दालमोठ चपाइरहेका हुन्थे । म भने सधैँ टिफिन निकालेर एकनासले आफ्नो खाजा चपाइरहन्थेँ, जसमा स्वाद त थियो होला तर आफ्नोपन हुँदैन थियो । मैले आफ्नो इच्छाले आफूले खान खोजेको खाजा हुँदैन थियो । अरूले थरीथरिका खाजा खाएको देख्दा मलाइ तिम्रो औधी याद आउँथ्यो आमा, जिन्दगीमा त्यति धेरै थुक कहिले निलिन सायद । निल्ने पनि छैन जुन त्यो बेला निलेँ । मलाइ टिफिनमा सधैँ एउटै खाजा भइदिओस् तर त्यो खाजा दिने हात पनि सधैँ तिम्रो होस आमा ।

एक दिन जब खाजा खाएर सबै बाहिर गए । बेन्चमुनि थुप्रै भुजा र दालमोठ पोखिएको थियो । मेरा नजर त्यहीँ पोखिएकै भुजा र दालमोठतिर गए । मैले आफ्नो हातले मेरो मिल्ने साथीलाई कोट्याउँदै भने, “हेर न कति धेरै भुजा र दालमोठ टिपेर खाऔँ न त ।” हामी दुवै जना बेन्च मुनि गयौँ । लाग्थ्यो कुनै प्रतिस्पर्धा भइरहेको छ, कसले बढी टिप्ने, कसको गोजी पहिले भर्ने ।

त्यो मीठो याद भयो कि तितो याद तर सत्य अवश्य थियो जुन यादले बेला-बेला मलाइ झस्काउँछ । जिन्दगीमा कतिपय यादहरु सुखका मात्र नहुँदा रहेछ्न ।

होस्टेल वार्डेनको पासपोर्ट साइजको फोटो तेर्स्याउँदै मसँग एक जना साथीले भनेको थियो, “सरिता यो सरले मलाइ सधैँ पिट्नु हुन्छ, तिमी त कहिले काहीँ घर जान पाउँछ्यौ । मेरो बाबालाई भेटेर यो सरको फोटो देऊ अनि उहाँलाई भनिदेउ कि यो सरले हजुरको छोरालाई धेरै पिट्छ रे चाँडै लिन जानु ।” उसले दिएको त्यो फोटोभन्दा पहिला उसका आँसु मेरा हातमा परे । म बच्चै थिएँ, म आँसु केहो बुझ्दिन थिएँ, पीडा केहो बुझ्दिन थिएँ । किनकि म पनि रुँदै कराउँदै होस्टेल जाँदा मेरा पीडाहरू मेरा आँसुहरूको मुल्य बुझिएको थिएन । मैले आँसु पढ्न जानेकी थिइन आमा देख्न र पोख्न बाहेक । पीडामा खुशी हुन जानेकी थिइन आफू डुब्न बाहेक। मलाइ तिमीले किन कहिल्यै पीडा बुझ्न, आँसु पढ्न सिकाएनौ ? मलाई आँसु अमूल्य कहिले लागेन अनि पीडा भारी कहिले भएन ।

यादहरु आगोजस्तै हुँदा रहेछन् बेस्सरी पोल्ने। कतिपय घाउहरू बर्षौँ पुराना हुँदा पनि मेटिंदैन छन्  । कास, जसरी कपडाहरू लगाउँदा लगाउँदै च्यातिंदै जान्छन्, त्यसरी नै चोटहरू मेटिंदै जाने भए, बाबा मान्छेहरू पीडाको भारी बोक्दैन थिए होला है ?

होस्टेल ! आमा कसरी बयान गरुँ म मेरा यी दैनिकीहरू ? कसरी बताउँ यी मेरा ब्यथाहरु ?  कुन माध्यमबाट कसलाई गुनासो पोखुँ मेरा यी अभावहरू ? झट्ट हेर्दा सजिलो र आरामदायी देखिने होस्टेल जीवन मेरालागि अभाव नै अभावले भरिपूर्ण रहेको छ । बिहान ठिक पाँचबजे कोठाको ढोकामा ढकढक आवाज आउँछ । त्यो ढकढक भनेको उठ्ने समय हो । मोबाइलको घण्टी पनि नचाहिने । बिहान साँझको खाना अनि दिउसोको खाजा हरेक कुराको समय निश्चित छ । कति सजिलै बितेका मेरा यी दिनहरू ? मैले केही गर्नु पर्दैन । तर, विडम्बना मलाई यी होस्टेलका दिनहरू पनि कैदी जीवन नै लाग्यो । एउटा कैदीको लागि मर्न पाउनु पनि ठूलो अवशर हो ।

कहिले काही भगवानसँग पनि गुनासो पोख्दै आफैले आफैलाई प्रश्न गर्छु । होस्टेल राख्न सक्ने हैसियत भएको परिवारमा किन जन्म दियौं भनेर । सायद मैले माया प्रेम स्नेह बुझ्थेँ होला यदि मेरो जन्म एउटा न्यून वर्गको परिवारमा हुन्थ्यो भने । जसको लागि होस्टेल सोंच्न सक्ने क्षमताभन्दा माथि हुन्थ्यो । सरकारी स्कुलको पढाइ किन नहोस, आफ्नै आमाबुवाले किनिदिएको किताब कापी हुन्थे । खोले सिस्नो किन नहोस, हात आमाको हुन्थ्यो । थोरै अरु कपडा गाँसेको स्कुल ड्रेस किन नहोस, बुवाको स्नेह हुन्थ्यो । बिहान बेलुका डटिएर काम गर्न किन नपरोस्, साथ आमा बुवाको हुन्थ्यो ।

हो ! आमा मैले धेरै कुरा सिक्न बाँकी छ । होस्टेलमा नियम पालना गर्न मात्र सिकेकी छु । बेलुका सात बजेभन्दा अगाडि नै होस्टेलभित्र आइसक्नुपर्छ । यो नियम हो या संस्कार ? मलाई नियम भन्दा बढी संस्कार सिक्नु छ आमा ।

यहाँ त आमा हरेक बिहान ढोकाको आवाजसँगै मान्छेको आवाज पनि आउँछ, तर त्यो मलाई निर्जीव लाग्छ । खाना पाक्दा तरकारीमा नुन पक्कै हुन्छ होला तर मलाई यो होस्टेलको खाना खल्लो लाग्छ । ढोकाको आवाजमा मान्छेको आवाज हुन्छ तर बाबाको जस्तो स्नेह हुँदैन । तरकारीमा नुन हुन्छ तर आमाको जस्तो माया-ममता मिसिएको हुँदैन । हरेक दिन प्रार्थना गर्छु, कुनै दिन त यस्तो होस् सपनामा भए पनि जहाँ बाबाको आवाजसँगै मेरा दिनहरूको सुरुवात होस् । आमाको आवाजसँगै मेरो निन्द्रा खुलोस् । म उठ्ने बित्तिकै तिम्रो अनुहार हेर्न चाहन्छु आमा । बिहानको खाना पकाउने समयमा म तिमीसँगै खाना पकाउने कोठा जान चाहन्छु आमा । तिमीलाई खाना पकाउन सघाउन सकुँला या नसकुँला तर हेर्न मन छ भात कसरी पाक्छ, तरकारीमा के-के राख्नु पर्छ ।

हो ! आमा मैले धेरै कुरा सिक्न बाँकी छ । होस्टेलमा नियम पालना गर्न मात्र सिकेकी छु । बेलुका सात बजेभन्दा अगाडि नै होस्टेलभित्र आइसक्नुपर्छ । यो नियम हो या संस्कार ? मलाई नियम भन्दा बढी संस्कार सिक्नु छ आमा । तिमीले सोध्ने प्रश्न खाना खायौँ ? भन्नेमा कहिलेकाहीँ यो सोधे पनि त हुने, खाना कस्तो थियो ?  म हतार छु आमा तिम्रो प्रश्नको जवाफ दिन । खाना एकदमै खल्लो थियो । त्योभन्दा बढी होस्टेलमा खाना राखिदिने मान्छेको बोली खल्लो थियो । तिम्रो बोली खल्लो लाग्ने थिएन आमा, तितै भए पनि । तिमीले पकाएको खाना मिठो मानेर खाने थिएँ, नमिठै भए पनि । म कल्पना गरिरहेछु त्यो मेरो सुत्ने कोठा जुन एकान्त र सुन्दर  थियो । सपरिवार एउटा कोठामा सुत्नु परे पनि म आफूले आफैलाई स्वतन्त्र अनुभव गर्ने थिएँ । घरको अनुमतिबिना बाहिर जान नपाए पनि, तिमीले जति सुकै ठुलो स्वरमा गाली गरे पनि आफ्नै लागि सोंच्ने थिएँ ।

हो आमा ! मैले मान्ने थिए तिमीले भनेका हरेक कुरा । मैले सिक्ने थिएँ, मेरो आफ्नो संस्कार । होस्टेलमा साथी छन् , राम्रो सम्बन्ध छ । तर, म आफूले आफैलाई पिँजडामा राखेको सुगाँसँग तुलना गर्छु । खानै पर्‍यो जे दिए पनि । सुत्नै पर्‍यो जस्तो कोठा भए पनि । खिसिक्क हाँस्नै पर्‍यो मन जति दुखे पनि । बोल्नै पर्‍यो जति रिस उठे पनि । हो मेरो बाबा ! हो मेरी आमा ! म मेरो जीवन पिँजडामा बितेजस्तो सोंची रहेछु । तिमीले सोंचेका छौ हौला होस्टेलमा राख्दिएका छौँ, खानाको चिन्ता छैन, बस्नको चिन्ता छैन । चाहिने भन्दा बढी पैसा दिएका छौँ, पैसाको चिन्ता छैन । तर, कहिल्यै सोधेनौँ म के मागिरहेछु, म के चाहन्छु अनि के कुरामा खुसी हुन्छु । 

आमा, तिमीलाई साँच्ची याद छ कि नाइँ म पहिलोचोटि महिनावारी भएको रात अनि तिमीलाई महसुस भयो कि नाइ आमा मेरो पेटको दुखाइसँगै त्यो अन्धकारमा पोखिएका मेरा आँसु । मैले कहिलै सोध्ने हिम्मत पनि गरिंन आमा महिनावारी हुँदा कसरी सम्हालिने भनेर ।

मलाइ रुन मन लाग्दा बाथरुमको सहारा चाहिएको थिएन, आमा मलाइ त तिम्रो न्यानो काख अनि बाबाको स्नेह चाहिएको थियो ।

कसरी भनुँ बाबा यहाँ तरकारीको झोल जति खल्लो हुन्छ त्यो भन्दा बढी मेरो जीवन खल्लो भएको छ । आमा, हजुरलाई साँच्ची याद छ कि नाइ आमा म पहिलोचोटि महिनावारी भएको रात अनि हजुरलाई महसुस भयो कि नाइ आमा मेरो पेटको दुखाइसँगै त्यो अन्धकारमा पोखिएका मेरा आँसु । मैले कहिलै सोध्ने हिम्मत पनि गरिंन आमा महिनावारी हुँदा कसरी सम्हालिने भनेर ।

मलाई अचम्म लाग्छ ! कस्तो संस्कार बसाल्दै छौँ हामी । आज बाआमाले छोराछोरीलाई होस्टेलमा राख्दिन्छन्, भोलि तिनै छोराछोरीले बाआमालाई वृद्धाश्रम पुर्याइदिन्छ्न । 

मलाइ प्रेम बुझ्नु थियो, महसुस गर्नु थियो, पीडा पोख्दै हजुरकै काखमा रुनु थियो ।

मैले देखेका कतिपय यस्ता अभिभावक हुनु हुन्छ, जो आफ्ना छोराछोरी होस्टेल छोडेको बर्षौसम्म पनि भेटन आउनु हुँदैन।

होस्टेलको चपेटामा च्याप्पिएकी म मात्र थिएन, म जस्ता सयौँ थिए । जुन हरेक दिन त्यहीं पिडामा रुमल्लिएका थिए ।

आज यति धेरै व्यस्त भएका छौँ, आफ्नो छोराछोरीलाई समेत समय दिन सक्दैनौँ । मलाई अचम्म लाग्छ ! कस्तो संस्कार बसाल्दै छौँ हामी । आज बाआमाले छोराछोरीलाई होस्टेलमा राख्दिन्छन्, भोलि तिनै छोराछोरीले बाआमालाई वृद्धाश्रम पुर्याइदिन्छ्न ।  फलाको छोरा/बुहारीले आफ्नै आमाबालाई आश्रम पठाएछन नि ! कस्तो व्यस्तता हो, जाबो आमाबुबा हेर्न नसक्ने भन्दै खेदो खन्ने हामी । अनि बच्चै हुँदा छोराछोरी राम्रो पढ्लान भन्दै आफ्नो व्यस्तताले होस्टेल पठाउने हामी । त्यो व्यस्तता थियो कि विवशता आफ्नै आमाबुवा आश्रम छोड्दा छोरा बुहारी गलत हुने, कुसंस्कारी हुने । काखको दुधे बालक होस्टेल छोड्दा सही अनि संस्कारी कसरी हुन्छ्न ?  त्यसैले म भन्छु विवशताले भन्दा बढी मान्छे व्यस्तताले बिग्रन्छ ।

मेरो सबैभन्दा नजिकको र मिल्ने साथी होस्टेलमा त्यहीं एक छ, जुन मलाई असाध्यै प्यारो लाग्छ । यदि मैले उसलाई राम्रोसँग बुझ्न सकेकी छु भने उसको पनि आफन्त भन्ने म नै हो । मबिना उ पनि एक्लो छ । उसलाई त यो पनि थाहा छैन कि उसका बा आमा को हुन् ? कहाँ जन्मिएको ? कसले हुर्काएको ? कसले लगेर यो होस्टेलमा छोडिदिएको ? यस अर्थमा म उभन्दा अलि बढी भाग्यमानी छु होला । त्यो हरेक बिदाका दिन होस्टेलमा उ हुन्छ अनि म । सबैजना होस्टेलमा हुँदा उसले त्यति धेरै मलाई समय दिएको हुँदैन । सायद यसमा मेरो पनि कमजोरी छ होला । हामी सकेसम्म एक्लो हुनुको पीडा बिर्सिन खोजेका छौँ । 

होस्टेल वार्डेनको पासपोर्ट साइजको फोटो तेर्स्याउँदै मसँग एक जना साथीले भनेको थियो, “सरिता यो सरले मलाइ सधैँ पिट्नु हुन्छ, तिमी त कहिले काहीँ घर जान पाउँछ्यौ । मेरो बाबालाई भेटेर यो सरको फोटो देऊ अनि उहाँलाई भनिदेउ कि यो सरले हजुरको छोरालाई धेरै पिट्छ रे चाँडै लिन जानु ।”

उ बोल्न सक्दैन । म उसलाई बुझ्न सक्छु । म बोल्न सक्छु तर पनि मलाई कसैले बुझ्न कोसिस गर्दैन । उ त्यो को हो ? जो बोल्न सक्दैन । विगत केही पनि थाहा छैन तर पनि मेरो साथी बनेको छ । सम्झिनुहोस् त्यो त्यहीं होस्टेलको बिरालो हो, कुकुर हो या पिंजडामा झुन्ड्याइएको सुगा हो । जे सुकै होस् । उसको विगतका केही कुरा थाहा नहुँदा उ एक्लो छ, म हरेक कुरा थाहा हुँदै पनि एक्लो छु ।हो आमा ! हो बाबा ! म साँच्चै एक्लो अनुभव गरिरहेछु । तिमीहरु मेरा अभिभावक हौ । तिमीले नै मेरो पीडा बुझेनौ भने अरू कसले बुझिदिन्छ । मलाई तिम्रो माया ममताको खाँचो छ । तिमीले जुन उद्देश्यले मलाई होस्टेलमा राखेका हौ, त्यो उद्देश्य त पुरा गर्न सकुँला । तर, मेरा लागि त्यो सबै कुरा हुने छैन । होस्टेलले धेरै मान्छेलाई राम्रो भन्दा नराम्रो कुरा सिकाएको छ । यो कुरा बाट पनि म टाढा हुन् कोसिस गरुँला । तर, त्यो मात्र मेरा लागि उपलब्धि हुने छैन । तिम्रो सजिलोको लागि मलाई होस्टेलमा राख्नु उत्तम विकल्प होइन । म घरमै कोसिस गरुँला । आफै खाना पकाउन सिकुँला । तिमीलाई सकेसम्म दु:ख दिने छैन । मान्छेलाई स्वतन्त्र चाहिन्छ भन्ने कुरा मलाई भन्दा बढी अरू कसलाई थाहा होला । तिमीहरूलाई स्वतन्त्र बनाउन कोसिस गर्ने छु । म हुनुको बोझ हुन दिने छैन । म आफ्नै घरमा स्वतन्त्र हुन चाहन्छु । हे मेरा बा! हे मेरी आमा! मलाई फर्काई देऊ, म फर्किन चाहन्छु । म आफ्नै घरमा बाआमासँग हाँस्न चाहन्छु, रमाउन चाहन्छु ।

लेखकका थप रचना !

मैले देखेको पुरुष हिंसा

बुवाको आत्मकथा

सरकारी जागिर रहर कि बाध्यता ?

‘बा’ को कथा

सामाजिक दृष्टिकोण र चेतनाबारे लेख्न रुचाउने के.सी. सल्लेरी खबरमा कला-साहित्य विविधमा कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्