बा !
तिम्रो दु:ख देख्दा
यस्तो लाग्छ
तिमी भगवानका पनि भगवान हौ !
हजारौँ भिड त्यो ढुङ्गालाई
पुज्न जाँदा तिमीलाई पुज्ने ,
एउटा सन्तान रहँदैन त्यहाँ
तर पनि तिमी तिनै सन्तानका लागि आफ्नो जिन्दगी सुम्पिदिन्छौ ।
बिहान उठे देखि
शीतका लहरसँगै
तिम्रा निधारका
पसिना पनि मिसिन्छन् है बा !
मलाई डर लाग्छ !
तिम्रो जिन्दगीबाट पाएका
यी खुसीहरू,
कतै तिम्रो पोल्टोमा
भर्न सकिन भने
तिमी निसन्तानको एउटा उदाहरण हुने त हैनौ ?
अहँ ! देखिन कसैको हातका
रेखाहरू मेटिएको,
निधार खुम्च्याउँदा बनेका ती,
निधारका रेखा पसिनाले मधुरा भएका ।
संसार अट्ने यो पृथ्वीभन्दा
मलाई तिम्रो छाती फराकिलो लाग्छ,
त्यसैले त म भन्छु
तिमी करोडौँमा एक छौ ।
सोच्छु,
कुनै दिन म
त्यो सगरमाथाको टापुमा पुगे भने
तिम्रो नामको धर्को कोरेर आउँथे
हिउँ पग्लिएर बनेका थोप्ला भन्दा मलाई
तिम्रो निधारबाट बगेका पसिना अमूल्य लाग्छ बा ।
०००
०००