Logo

बाल्यकालका ती रमाइला दिन, जसको सम्झना अझ ताजै



Spread the love

बाल्यकालका हरेक दिनहरु सम्झिएर हाम्रो भविष्य सून्दर बनाउनु पर्दछ । आजको दिन तपाईं आफ्नो बाल्यकालमा फर्कनुहोस् । तपाईं कस्तो हुनुहुन्थ्यो ? कसरी रमाउनुहुन्थ्यो ? त्यसबेला गरिएका स-साना बदमासी, मूर्खता पनि तपाईंलाई आज रमाइलो लाग्छ ।

चाहेर पनि फर्काउन सकिन्न अब ती दिनहरु । वनपाखा , डाँडाकाँडा अनि चौतारातिर डुलेको । आनन्दसँग रमाएका ती दिनहरु। अब सबैलाई त्यो बाल्यकाल एक सम्झना मात्रै हुनेछ । भएको छ । तर बाल्यकाल मात्रै सम्झिएर दिनहरु विताउँदैनौँ । बाल्यकाल सम्झिँदै आगामी दिन झन् सुन्दर अनि रमाइलोपनको अनुभूति गर्ने खालका हुनेछन् ।

बाल्यकालमा हामी मनमा जे लाग्छ, त्यही बोल्थ्यौं । छल, कपट, बेइमानी गर्न सिकेका थिएनौं । न त पढाइको चिन्ता , न त जिवनको चिन्ता । भोक लागे आमाको चिन्ता हुन्थ्यो । पाक्यो कि पाकेन भनेर । अनि पैसा चाहिए बाबाको चिन्ता हुन्थ्यो , पैसा दिन्छन् कि नाई भनेर । आफ्नो आँखाले जे देख्छ, जतिबेला देख्छ, त्यही क्षण हामी आफ्नो प्रतिक्रिया जनाउने गर्थ्यो । केही राम्रो कुरा देख्नसाथ खुशी हुन्थ्यौं । उत्साहित हुन्थ्यौं । कसैले गाली गर्नसाथ तुरुन्तै रोइदिन्थ्यौं । कसैले स्यावासी दिनसाथ मख्ख पर्थ्यौं ।

दिन भरि डुल्थ्यौ, पागल झै घुम्थ्यौ, कहिले झगडा गर्थ्यौ, कहिले आफैँ मिल्थ्यौ। बास्तबमा जिन्दगी त त्यतिबेला रमाइलो थियो ,जब बाल्यकालमा रोइदिदा आमाले फकाएर, पिठयुमा बोकेर हिडनुहुन्थ्यो। मनमा कुनै गुनासो हुँदैनथ्यो । कुरा लुकाउने वा चपाउने बानि विकास भएकै थिएन । आमाबुबासँग होस वा साथीसंगीसँग हामी चित्त नबुझेको कुरामा तुरुन्त प्रतिक्रिया जनाउँथ्यौं । र, तुरुन्तै हाम्रो मनको मैला पखालिन्थ्यो । हामी पुनः उही साथीसँग रमाउँदै खेल्न पुग्थ्यौं । तर अहिले खुशी हुनका लागि, रमाउनका लागि हामीलाई अरु थुप्रै बहाना चाहिन थाल्यो ।

हामीसँग बाल्यकालमा ठूलाठूला आकांक्षा थिएन , त्यसैले हामी जे जति प्राप्त गर्थ्यौं, त्यसैमा खुशी हुन्थ्यौं । ती दिनहरु साचिकै सुन्दर र यादगार छन् ।

प्रतिक्रिया दिनुहोस्