हरेक पटक भेट हुदा,
हरेकले हरेकलाई सोध्ने प्रश्न,
‘के छ नया हालखबर ?’
पहाड बन्छ प्रश्न,
घोत्लिन्छु आफ्नै दैनिकीमा,
हरेक बिहान, सुतेर उठ्दा,
यौटा लामो दिन लम्पसार परेको हुन्छ मेरा अगाडी,
अनि म कुद्छु रिले दौड,
एउतै वृत्तमा निरन्तर घुमिरहने,
न मलाइ कहिँ पुग्नु छ, न म कहिँ पुगेको छु,
साच्चि के छ नया मेरो हालखबर ?
खासमा भन्नुपर्दा,
बिहान सबेरै उठिन्छ,
हतार हतार बाथरुम पसिन्छ ,
नित्यकर्म सकिन्छ,
अनि रोबर्ट जस्तै,
क्लास छ भन्दै त्यतै दौडिन्छ,
क्लासमा पनि पोहर-पोहर जे जे खोक्यो
अहिले पनि त्यहि-त्यहि खोकिन्छ,
मानौ म टेपरेकर्ड हुँ, सुन्नेहरु सुगा/
कसम ढाट्या छैन,
बिद्ध्यार्थीका अनुहार मात्र फरक हुन्,
बर्षौ भयो,
न मैले ज्ञान बढाएको छु न ज्ञान बाड़ेंको छु,
मात्र भ्रम छरेको छु,
म शेष भैकन पनि बिशेष छु !
अझ साच्चै भनु महाशय,
मैले भेट्ने मान्छे उनै छन्,
उनीहरु भेटिने ठाउ एउटै छ,
अझ उनीहरुलाई भेट्ने र देख्ने ठाउ उही छ,
हिजो जसलाई जहाँ भेटे, जहाँ देखे,
त्यो आज त्यहि भेटिन्छ, त्यहि देखिन्छ,
अनि यहाँ कसरि नौलो खबर लेखिन्छ?
बर्षौ भयो,
मैले हिड्न लागेको यौटै बाटो,
उही गल्लि, उनै घरहरुको बीचबाट,
म गुज्रिन्छु, यौटा सर्प जस्तै,
उही यौटा लक्ष लिएर,
अनि फर्किन्छु उही बाटो,
कति गिज्याउदो हो त्यो बाटोले मलाइ ?
यद्दपी रोकिएको छैन,
यात्रा निरन्तर चलेकै छ,
हिजो जे गर्यो त्यहि गरिन्छ,
अनि बेलुका घरमा आएर,
भोलिको रिलेको तयारी गर्दै ,
बिस्तारामा बिस्तारै
लम्पसार परिन्छ ।