Logo

काम माग्ने त्यो दाई !



Spread the love

 असार ३, काठमाडौं –

“भाई, सुन्नुस न, यता कतै काम पाइन्छ?”19265102_638205789706323_1281273109_n

यहाँ काठमाडौँमा आफु भन्दा ठुलो होस् वा सानो ठाडै दाई वा दिदि भन्ने चलन छ। भाई वा बहिनी भनेको सुन्न आफुले चिनेको वा भर्खर-भर्खर काठमाडौँ छिरेको मान्छेको मुखबाट मात्र सुन्न पाइन्छ।

मुटु दिवसको दिन हो, हाम्रो क्लास नभएर प्रोग्राम भयो। म एकैछिन प्रोग्राममा बसेर बाहिर निस्किए। हतार थियो। दाईसंग माइक्रोबायोलोजी किताब लिनुपर्ने। फोन गरे, तर उठेन। अनि एकछिन बस्दैगर म आउन अलि समय लाग्छ भनेर मेसेज आयो। त्यसदिन दाईको डीउटि ओ.टि( ओप्रेशन-थिएटर) मा रैछ। फेरी फर्केर प्रोग्राममा जान झ्याउ लग्यो र अस्पताल अगाडिको बगैचा नजिकको बेन्चमा बस्दै थिए। सायद बसेको ५-६ मिनेट जति भएको थियो, कोहि अन्जानले भाई शब्दले मलाई इसारा गर्दै बोलायो।

त्यो मगर लवजको आवाज मिठो लाग्यो। अझ त्यो भन्दा मिठो उनको ‘भाई’ शब्द प्रिय लाग्यो। मैले सुनेन भनेर होला उनले फेरी भने,”भाई यता ज्याला-मजदुरीको काम कता पाइन्छ?” मलाई पनि खासै थाहा थिएन, र, “खै दाई मलाई पनि थाहा नै भएन” भने। उनले थपे, “यति ठुलो शहर छ, कस्तो के, एउटा काम खोज्दा पनि नपाइने। के काम खोज्न पनि पैसै चाहिने हो र?? उनले त्यसो भन्दा मसंग बोल्नलाई कुनै शब्द थिएन। म के भनु?? पहिलो पटक कसैले मलाई अस्पताल भित्र काम कता पाइन्छ भनेर सोधेको थियो। म के भनु?? म संग उत्तर नै थिएन। त्यसैले उनको त्यो प्रस्नमा म चुप नै रहे। मेरो अगाडी उभिएका उनि पछि छेउमा आएर बसे। कसैसंग अगाडी उभिएर बोल्नू र छेउमा बसेर बोल्नुमा धेरै फरक हुन्छ। छेउमा बसेर बोल्दा अर्कै आत्मियता लाग्छ। एकछिन उनि चुपचाप बसे। सुस्केरा हाल्दै अनुहारको पसिना आफुले लगाएको सुइटरको बाउलाले पुछे। गोरो बर्णका उनि, घामले डढेर होला अलि कालो देखिन्थे। झूस्स उम्रेको दारी,नकोरेको कपाल। निलो रंगको सुइटर लगाएका थिए जुन मैलो देखिन्थ्यो। हातमा ओ.पी.डी कार्ड र हस्पिटलका अरु रिपोर्ट देखिन्थे। खुट्टामा चप्पल लगाएका थिए, खुट्टै भरि धुलो भरिएको थियो।

काठमाडौँमा यतिका वर्ष बस्दा, अनि बाटोमा हिड्दा, यस शहरको बातावरणले, परिस्थितिले निकै प्रभाब पारेको थियो मलाई। रत्नपार्क होस् या सुन्धाराको फुटपाथ, बानेश्वर चोक, न्युरोडको गल्ली, चाबहिल चोक, बसपार्क होस् वा कुनै निजि/सरकारी अस्पतालमा जहाँ उभिदा वा हिड्दा पनि दाई/दिदि वा अरु कुनै सम्मान योग्य नाता लगाई बच्चा होस् या यौबन वा वृद्ध जो कोहि पैसा माग्न पछि लाग्थे। सुरु-सुरुमा दया लागेर अलिकति भएको पैसा दिन्थे। पछि-पछि शहरको हरेक चोक,अस्पताल आस-पास र कुना-कुनामा यस्तै देख्दा-देख्दा हुक्क लाग्न थाल्यो। काठमाडौँ बसाई जिबन जिउनु भन्दा दैनिकी गुजारा चलाउनुमा बित्छ। महिनाभरिको तलब आफ्नै जिबन यापनमै चल्छ। आफ्नै दैनिकी धौ-धौ लाग्छ। त्यसमा आरुको पिडा हेर्ने फुर्सद नै मिल्दैन। कसैको पिडा देखे पनि नदेखेझै गर्नुपर्ने बाध्यता बन्छ। आ-आफ्नो पिडा, बेदना सबैको हुन्छ भन्ने सोच बन्दै जान्छ।

यस शहरमा पिडा देखाएर पैसा माग्ने मान्छेहरुको भिडमा उनि (त्यो दाई) फरक देखिन्थे। उनको अनुहारमा पिडा प्रस्ट झल्किन्थ्यो, पैसाको अभाब छरप्रस्ट देखिन्थ्यो तैपनि उनि पैसा हैन काम माग्दै हिडेका थिए। पौरख खर्चेर बल्ल पैसा पाइन्छ भन्ने सोच भएका देखिन्थे। उनीसंग धेरै कुरा सोध्न मन लाग्यो, बोल्न मन लाग्यो अनि मैले सोधे-

“दाई, हजुरको घर कहाँ हो नी”?

म तिर फर्केर, “टाढा हो भाई, सिन्धुपाल्चोक तिर हो” उनले भने।

“सिन्धुपाल्चोक कता दाई”? चौताराबाट ५-६ घण्टा लाग्छ, उनले भने। मलाई उनीसंग धेरै कुरा गर्न मन थियो, अनि फेरी सोधे, “काम खोज्नलाई राजधानीनै छिर्नु परेछ दाईलाई या बिरामी भएर आउनुभएको,दाई??” उनि एकछिन टोलाएर उत्तर फर्काए। मैले गरेका हरेक प्रस्न र उनले दिदै जाने उत्तरहरुमा उनको जिबन थियो, सङघर्ष थियो र त्यो भन्दा ठुलो कुरा पिडाहरुका पोका थिए।

खासमा उनि काठमाडौँ काम खोज्न होइन बिरामी श्रीमती लिएर आएका रैछन। आघिल्लो वर्ष बैसाख १२ गते भूकम्पमा उनले ९ बर्षे र १४ बर्षे दुइ छोरी गुमाएका रैछन। बस्ने घर भत्किएछ र घरले थिचेर कक्षा २ र कक्षा ७ मा पढ्ने दुवै छोरीको थिच्चिएर मृत्यु भएको रैछ। र सोहि दिन घास काट्न गएकी श्रीमती पनि रुखबाट खसेर घाइते भएकी थिइन रे। उनको पेटमा ५ महिनाको बच्चा थियो त्यो पनि रुखबाट खस्दा पेटमै मरेछ। पेटको बच्चा मर्यो भन्ने कुरा उनले दुइदिन पछि बल्ल थाहा पाएछन्। एकातिर छोरीहरुको मृत्यु र आर्कोतिर श्रीमतीको छटपटाहटले निकै पिडा भएको उनले बताए। गाउमा कोहि थिएन, बाच्ने धेरै-जसो सबै अन्तै कतै गैसकेका थिए। दुइ छोरीहरुको लाश जलाउन नसकेर आफैले खानेर गाडेको उनले बताए। आसुको भल बगेको थियो, एकातिर लाउला-खाउला भन्ने उमेरमा दुइ छोरीहरुको मृत्यु र आर्कोतिर श्रीमतीको दुखाई र छटपटाहट। दिमाग ठाउमा थिएन रे उनको त्यो बेला। उनमा घाइते श्रीमती लिएर चौतारा जिल्ला अस्पताल जाने हिम्मत भएन। उनी भन्छन भूकम्प पछिको पहिरोले बाटो भत्किएको थियो र श्रीमतीलाई बोकेर लाग्ने सम्भब नै थिएन। दुइदिन पछि अर्थात तेस्रो दिन बल्ल गाउमा डाक्टर, नर्स र अन्य संघ-सस्था पुगेका थिए रे। डाक्टर आए भनेको सुन्दा भगवान आएझैँ लागेको उनले बताए। दुइदिन देखि पिडामा छटपटाइ रहेकी श्रीमती बोकेर उनि हेल्थ क्याम्प पुगेछन। श्रीमतीको पेटमा रहेको ५ महिनाको बच्चा मरेको रहेछ र ४८ घण्टा भन्दा बढी मरेको बच्चा पेटमै रहेकाले र रुखबाट खस्दा बजारिएर पाठेघरमा असर पुगेको छ भनेका थिए रे डाक्टरले। मरेको बच्चा निकालेर फेकेछन्। आराम गर्नुहोला र समय मिलाएर फेरी राम्ररी जचाउन काठमाडौँ नै जानुपर्छ भनेर १५-१६ दिनलाई औसधि दिएका थिए रे डाक्टरले त्यो बेला। ३ दिन जति हेल्थ क्याम्पमै बसेछन। दुइ छोरी पछि १ छोराको चाहनाले पेट बोकेकी थिइन उनकी श्रीमती र त्यो चाहना पनि भूकम्प संगै भत्किएको उनले बताए।

सुस्त-सुस्त उनको श्रीमतीको स्वास्थ्य सुधार हुदै गएको थियो। भूकम्पपछि अस्थाई पालमा बसेका उनि १-२ महिनासम्म त भत्किएको घर बनाउन जुटेछन् र त्यसपछि श्रीमतीलाई काठमाडौँ जचाउने कुरा भोलि जाउला भन्दा भन्दै समय बितेछ। कहिले कहिँ उनको श्रीमतीको पेट फेरी दुख्थ्यो, दुख्दा ब्रुफिन (दुखाई कम गर्ने औसधि) खान्थिन रे अनि बल्ल दुख्न छाडथ्यो। पछि-पछि पेट झन् दुख्न थालेछ, ब्रुफिनले पनि काम गरेन रे अनि बल्ल हतारिएर चौतारा जिल्ला अस्पताल लिएर गएछन्। चौतारामा जचाउदा डाक्टरले काठमाडौँ नै जानु भनेछन्। उनले चौतारा अस्पतालमै श्रीमती छाडेर गाउ गएर १८ हजार ऋण मागेर फर्की फेरी श्रीमतीलाई लिएर काठमाडौँ आइपुगेका रैछन।

काठमाडौँ आएको १३ दिन भएछ र ऋण लिएर आएको सबैजसो पैसा सिद्धिएको रैछ। सरकारले भूकम्प पिडित र बिपन्न भनेर फ्री बेड दिएको छ। दुइ छाक खाना पनि अस्पतालले फ्री मै दिन्छ। सबैजसो औसधि अस्पतालले निसुल्क दिन्छ तर कुनै-कुनै औसधि मात्र आफुले किन्नु परेको उनले बताए। श्रीमतीलाई धेरै नै ठिक हुदै गएको र अब ६-७ दिन मै डीस्चार्ज गरिदिन्छु भनेका छन् रे डाक्टरले। तर ३ दिन देखि श्रीमतीको खुट्टामा सेतो दाग देखिएको रैछ। खुब चिलाउछ रे। त्यसैले छाला सम्बन्धि डाक्टरलाई देखाउन टिकट काटेर कोठा नं. E३२ मा पालोमा राखेर एकैछिन काम भेटिन्छ कि कतै भनेर निस्केका रैछन।

लिएर आएको सबै पैसा सकिन लग्यो, अब ६-७ दिनमा डीस्चार्ज भएर घर जाने हो तर जानलाई बाटो खर्च छैन। अरु मान्छेसंग मागु भने के माग्नु?? अस्पताल सबै बिरामी भएरै आउने ठाउँ हो। म भन्दा बढी दुक्ख अरुको पनि हुन सक्छ। सबैका आ-आफ्नै पिडा हुन्छन। अनि हामीलाई सरकारले दिन सक्ने दियो। यति धेरै भूकम्प पिडित छन्। म जस्ता बिपन्न पनि थुप्रै छन्। कतिलाई हेर्न सक्छ र सरकारले पनि?? मैले उपचार गर्ने रकम सबै जुटाउन सकिन, र, त सरकारले हेर्यो तर घर जाने खर्च आफै जुटाउन सक्छु जस्तो लाग्छ। सरकारको आश गर्नु ठिक हो तर आफुले जुटाउन सके सरकारलाई पनि भार कम हुने। सरकारले गर्ने काम गर्छ तर आफुले पनि सक्ने काम गर्नु पर्छ। मैले मजदुरी गर्न सक्छु, मेरो शरीरले काम गर्न सक्छ। सक्दा सम्म अरुको भर किन पर्नु, नसके छुट्टै कुरा हो- उनले बताए। उनिसंग कुरा गर्दा-गर्दै फोन आयो। दाईको फोन रैछ। फोन उठाए। किताब लिन बोलाए। उनलाई छाड्न मन थिएन तर दाई एउटा काम पर्यो हजुर बस्दै गर्नुस म आइहाल्छु भनेर म किताब लिन हिडे। उनि पनि हस भनेर मुसुक्क हासे। अलि पर पुगेर फेरी पछाडी फर्केर हेरे, उनि त्यहि थिए।

एकछिनमा म किताब लिएर उनि भएको ठाउमा पुगे, उनि त्यहा थिएनन्। यता-उता हेरे कतै देखिएनन्। मलाई किताब लिएर आउन अलि ढिला भएछ। १५ मिनेट जति बितेको थियो। सायद मैले ढिलो गरेछु। उता जचाउन पालो आयो भनेर उनि श्रीमती भएको ठाउँ गए होलान भन्ने लग्यो। एकैछिन अगि बसेको बेन्चमै बसे। खै के-के सोचेछु, मन गाह्रो भएर आयो। संगै भएको ब्याग खोले, साथमा एउटा हजार, दुइवटा सय र एउटा बिसको नोट रैछ। हातमा हजारको नोट समते। गएर यो नोट त्यो दाईलाई खोजेर भए पनि दिन्छु भन्ने सोचे। अनि फेरी सायद हजार मात्र के दिनु, भोलि अलि पैसा थपेर दिन्छु भने। आफु पढ्ने अस्पताल हो, खोज्यो भने उनि फेरी भेटिहाल्छन भन्ने सोच्दै म कोठा तिर फर्किए।

आर्को दिन उनलाई दिने भनेको पैसा ल्याउनै बिर्सेछु। मसंग हिजो जति थियो त्यति मात्र थियो। क्लास सिद्धिएपछि बल्ल चाल पाए। होस समय अझै छ, भोलि दिनुपर्ला भन्ने सोचे। त्यस दिन क्लास साझसम्म थियो। बिहान खाना नखाएर होला भोकले आन्द्रा बटारिएझैँ जस्तो लाग्यो। खुब भोक लागेको थियो। काठमाडौँमा बस्दा भोकको अर्थ म:म नै हो। चाडै पाक्ने अनि चाडै खान मिल्ने। पेट पनि टन्न हुने। अस्पतालको बिद्यार्थी क्यान्टिनमा गएन, त्यहाको म:म मिठो हुदैन त्यसैले ओ.टि (अपरेशन थिएटर) तिर जाने बाटोमा पर्ने पुरानो क्यान्टिन तिर गए। अहिले पुरानो क्यान्टिनको साइडमा नया क्यान्टिन खुलेको छ जुन अलि ठुलो पनि छ। तर नास्ता मिठो पुरानोमै हुन्छ। म:म खाएर फर्किदै थिए साइडको नया क्यान्टिनमा हिजोको त्यो दाई जस्तो मान्छे लाग्यो। उनि जस्तै देखे। नियालेर फेरी हेरे। हो रैछ। उनको हातमा कपडाको टालो थियो। उनि टेबुल पुछ्दै थिए। कामको खोजीमा हिडेका उनले काम पाए जस्तो देखिन्थ्यो। मैले केहि सोचेन बोल्न हतार भयो। भित्र पसे। उनले पनि मलाई देखे। मलाई उनले चिने या बिर्से त्यो थाह भएन तर उनको अनुहार मलाई स्पस्ट याद थियो।

“काम पाउनु भएछ दाई”?? मैले हासेर भने। उनि मेरो प्रश्नमा मुसुक्क हासे। उनको त्यो हासोमा काम पाएको खुसि थियो। अरु केहि सोधिन। मैले हतारिएर हजुरको श्रीमतीको बेड नं. दिनुस् न भनेर मात्र मागे। उनले बेड नं. भने। मलाई उनीसंग भन्दा उनको श्रीमतिलाई देख्न हतार थियो। जान्छु भनेर म हिडी हाले। म हतारिएर बेड तिर लागे। हिजो दिउसो दखि भेट्न मन भएकोले भेट्ने उत्सुकता थियो। उनको बेड भएको वार्डमा पुगे। वार्ड भित्र छिरे। बेड नजिक गएन, टाढै बाट हेरे। नर्सलाई सिन्धुपाल्चोकको बिरामी उ त्यहि हो भनेर सोधे। हो रैछ। उनि त्यो दाईको श्रीमतीनै रैछिन। उनको अनुहारमा पिडा झल्किन्थ्यो। भूकम्पमा दुइ छोरी र पेटमा रहेको बच्चा गुमाउनुको पिडा थियो। त्यो पिडा कस्तो हुन्छ मलाई थाह थिएन र म बुझ्न लायकको पनि थिएन तर त्यो पिडा अनुहारमा प्रस्ट भेटिन्थ्यो। एकछिन हेरे तर नजिक गएन। गएर के भन्नु?? म संग बोल्नलाई केहि जात थिएन। सायद कसैलाई पहिलोपटक जिउदै लास भएको देखेको थिए। मेरो ओठ संगै मन चुप थियो। उनको स्वास्थ्यमा धेरै नै सुधार भएको छ रे नर्सले भन्दै थिइन। त्यो सुन्दा खुब खुसि भए। आखा रसाएझैँ लाग्यो। वार्ड बाहिर निस्किए। झ्याल नजिक गए। सायद त्यो दाईको दुक्खमा म पनि बगेको रैछु क्यारे। एकैसाथ निराश र खुसि म कहिले भएको थिएन तर त्यो दिन भए। धेरै सोचे, तर मैले त्यो दाईलाई दिने भनेको पैसा दिएन। उनी अरु जस्तो पिडा देखाएर सहयोग माग्दै हिडेका थिएनन्। उनि स्वाभिमानी देखिन्थे। सहयोग होइन काम माग्दै हिडेका थिए उनि। अरुमा होइन आफैमा भर पर्नु ठुलो कुरा हो। स्वाभिमानी हुनु ठुलो कुरा हो। सायद उनले काम नपाएको भए कुरा अर्कै हुन्थ्यो तर उनले काम पाएका थिए। मलाई उनले घर जाने खर्च जुटाउछन् भन्ने लाग्यो। दिन भनेर राखेको हजारको नोट पाइन्टको खोल्तीमै रह्यो। मैले उनलाई सहयोग गरेको भए म उनलाई दयाको पात्रमा मात्र हेर्थे। खासमा उनि सम्मान र प्रेरणाका पत्र थिए। मैले ठिक गरे की गल्ति गरे, मलाई पनि थाह छैन। ४-५ दिन पछि म फेरी त्यो दाईको श्रीमतीलाई राखेको वार्डमा पुगे। त्यो बेडमा अर्कै मान्छे थियो। उनिहरु डीस्चार्ज भएर घर गएछन् भन्ने कुरा नर्सबाट थाह पाए। खुसि लाग्यो उनले बाटो खर्च आफै जुटाएछन्। सायद सरकार र सरकारी अस्पतालले आफु प्रति गरेको कार्यमा सकारात्मक भावना राख्ने धेरै कम मान्छे भेटेको छु। र उनि त्यो अति नै कम मान्छेको संख्यामा पर्थे। त्यसैले त उनि प्रेरणाका पात्र थिए।

अस्पतालमा यस्ता दुक्खका पहाड भेटिन्छ। दुक्खका कथाले पक्कै पनि दुखि बनाउछ तर दुक्ख पछि खुसिका क्षणले आनन्द दिन्छ। जिबन जिउने प्रेरणा दिएर जान्छ। त्यसैले त जीवनको सबैभन्दा ठुलो साहित्य अस्पताल हो।

(लेखकका थप रचचना पढ्न उहाँको व्यक्तिगत ब्लगमा जान सक्नुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्