जीवन यात्रा हो । हामी हिडिरहेका छौँ । हरकोही सडकमा निस्कन्छन् र हिडिरहन्छन् । हरेकसँग आ-आफ्ना कथा हुन्छन्- आ-आफ्ना यात्राका । सडकमा यात्राहरु घटित छन्- हरदिन । सडकमा हिड्दा-हिड्दै हाम्रो चप्पल चुट्छ, जुत्ता फाट्छ । अनि त्यहीँ सडकमा अर्का यात्री छन्- जसले तुरुन्तै फाटेका जुत्ता चप्पल ठीक गरिदिन्छन् । र, फेरि हामी आफ्नो यात्रालाई निरन्तरता दिन सक्छौं ।
यसो भनौं न-
कोही जुत्ता चप्पलले यात्रा गर्छन्
कोही जुत्ता चप्पलसँग यात्रा गर्छन् !!
रामसुफल महरा, यस्ता यात्री हुन्- जो जुत्ता चप्पलसँग यात्रा गर्दैछन् । उनी अरु यात्रीको जुत्ता चप्पल ठीक गरेर यात्रा सहज बनाउँछन् । काठमाडौं ढुङ्गेधारा चोकबाट अलिकति भित्र नागरिक बजारको ठ्याक्कै रोडको मोडमै भेटिन्छन्- उनी । एनसेलको वैजनी रङ्गको छाता मुनि दिनभर जुत्ता चप्पल सिउँदैं, टाल्दै गरेका देखिन्छन्- उनी ।फाटेको जुत्ता चप्पल बनाउने, पालिस गर्ने, बिग्रेका छाता ठिकठाक पार्ने- उनको नियमित कर्म हो ।
रामसुफल महराको घर तराई जिल्ला धनुषामा पर्छ । उनको परिवारमा अहिले तीन जना मात्रै छन् । उनी, उनकी श्रीमती र उनका छोरा । सन्तान त उनका तीन जना छन् । दुईजना छोरीको चाहिँ बिहे भैसक्यो ।
नोटः छोरीको बिहे गर्दा दाइजोको ऋृण पनि लागेको छ उनलाई । दाइजो प्रथाको विरोध गर्छन् तर समाजको चलनले गर्दा आफुले पनि सकिनसकी दाइजो दिइयो भन्छन् उनी । उनलाई के लाग्छ भने- मधेसी समुदायको बिहे गाविस कार्यालयमा बिहे-दर्ता गरेर गराउनुपर्ने अनि दाइजो लिए नलिएको कडा परिक्षण गर्यो भने दाइजो माग्न डराउँछन् र यसको विस्तारै उन्मुलन गर्न सकिन्छ ।
रामसुफल अहिले ५६ वर्षका भए । ०६२ सालमा उनी काठमाडौं आएका हुन् । १४ वर्ष देखि ढुङ्गेधारा चोकको त्यहीँ एउटै ठाउँमा एउटै कर्म गरिरहेका छन् । “कमाई कस्तो छ त अङ्कल ? पुग्छ ?” भन्ने प्रश्नको उत्तरमा उनले हाँस्दै भने,”पुग्छ हैन पुगाइरहेछु भनम् न, नानी । अरुजस्तो मासु-मासु , जाँडरक्सी खान्नँ । आफ्नो कमाई हेरेर खर्च गर्ने हो ।” आफुलाई पुर्याएर सकेजति घरमा पनि पैसा पठाउँछन् उनी । उनको घरमा खेतीकिसानी गर्छन् । सानो छोरा (१२वर्ष) स्कुल जान्छन् ।
विगतलाई फर्केर हेर्दा रामसुफल महराको आफ्नै छुट्टै कथा छ । उनको बुवा जमिनदारको खेतीबाली लगाउने काम गर्थे । जिम्मेवारी पुस्तान्तरणका हिसाबले उनले पनि त्यही काम गरे । किशोरावस्थामा साहुसँग झगडा गरेको कथा पनि सुनाउँछन् उनी । उनलाई पढ्न त मन थियो, साहुको भैंसी चराउन मन थिएन । “न पढियो, न भैंसी चराउन गैयो !” हाँस्दै थपे । उनकी आमाले पनि साहुको भैंसी चराउँन पठाईनन् ।
“के भयो भन्दा, साहुको काम, जति राम्रो गरेपनि उसलाई चित्त नबुझ्ने के ! हामीले त एकबार लठ्ठिले साहुलाई कुट्यो । १५ वरश हुँदा साहुलाई कुटेछु । अनि धेर गल्ती त साहुकै थियो नि । गाउँको पञ्चायतले हामी दुबैलाई सजाय दियो । अनि हात मे हात मिलायो।”- उनले सुनाए । अनि मतिर फर्किएर मुसुक्क हाँस्दै सोधे,”अनि तिमीले लेख्न सक्छ त मेरो कथा ?”
चियाको मुस्कान
मधेसको पहिचान र हक अधिकारका मुद्दा हाम्रो देशमा बारम्बार उठिरहन्छन् ।
नागरिकता सम्बन्धी सोध्दा उनले भने,”अरे ओ वात ! नागरिकता बनाउन हामी सदरमुकाम त कहिले गएन । कोही पनि जाँदैन । नागरिकता टोली हुन्छ नि । गाउँमा जहिले आयो, तब बनाउँछ । म ११/१२ वरशको हुँदा आएको थियो । पछि ०६० सालमा आयो । तब न मेरो नागरिकता बन्यो । अनि के भयो भन्नुस् न, मेरो हजुरबुवा उता इन्डियामा बस्नुभएको थियो । मेरो बुवा त यतै (नेपालमा) बस्नुभएको छ नि । तर पनि नागरिकता बनाउँदा के-के सोधेको ! धेरै कागज हेरेको थियो नि !”
रामसुफलको २०४६ सालमा भएको गाडी दुर्घटनामा खुट्टा भाँचियो । उनी ज्याला मजदुरी गर्न त्यसैले सक्दैनन् । अपांग भएका कारण साहुको खेतीकिसानी गर्न नसक्ने भएर साथीहरुसँग यतै आएर यो पेसा सिकेर काम थालेको उनी बताउँछन् । धनुषा जाँदा पटकपटक अपाङ्ग भत्ताको फारम भरे पनि फेरि अर्को पटक जाँदा कर्मचारी फारम हरायो भनेर बहाना बनाउँछन् ।
अन्ततः उनले ढुङ्गेधारा चोकमा सडकको एक कुनामा बसेर जुत्ता चप्पलसँग जीवनको यात्रा थाले ।
उनी ठूलो भर्याङमा एक्लै बस्छन् ।
आफ्नो कामदेखी उनी एकदमै सन्तुष्ट छन् । खुसी पनि छन् ।
“गरिबको छोराले ठूलो सपना कहाँ देख्नु । जीवनभर खेतीकिसानी गर्छु, जीवन पाल्छु सोचेको हो । त्यो पनि आफ्नो मजबुरीले सकिनँ । अपांग भएँ । अहिले यै काम गर्दा खुसी छु । दुःख त हो, कहिलेकाहीँ लागिहाल्छ । नत्र त म खुसी नै छु ।”
उनले यसो भन्दा मैले हामीहरुलाई सम्झिएँ- जो जीवनप्रति गुनासो गरेर कहिल्यै थाक्दैनौं ।
चौध वर्षसम्म एउटै ठाउँ, एउटै चोकमा, बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म । आउँदाजाँदा, एउटै काम गर्दा, वर्षमा एकपटक मात्रै घर जान पाउँदा पनि उनलाई कत्ति पनि “बोर” लागेको छैन । उनी भन्छन्- “म त यस्तै हो । जीवन यस्तै हो, नानी ।”
सडकमा धेरै कुरा बद्लिए । देशमा धेरै कुरा बद्लिए । धेरैका जीवन बद्लिए । उनको जीवन उस्तै छ । १४ वर्षदेखि उनी बस्तै आएको उनको कर्मस्थल ‘त्यो सडक’ त अहिलेसम्म स्थायी रुपमा पिच हुन सकेको छैन । १४वर्षदेखि त्यहाँको धुलो (स्वच्छ हावा मात्रै खान पाउनुपर्ने) खाईरहेछन् उनी । अझै कतिसम्म त्यो धुलो खानुपर्ने हो उनलाई थाहा छैन । आँखामा पट्टी बाँधेको सरकार भएपछि जनताले मुखमा मास्क लगाउनुपर्ने बाध्यता भयो नै ।
रामसुफल कहिलेकाँही समाचार पनि सुन्छन् । चुनाव हुँदा सधैं घर गएर भोट पनि हाल्छन् । उन-“भन्नलाई त कमलिश्टको राज छ भन्छन् । तर समान्ताको सरकार छ ।”
नोटः उनी कम्युनिष्टलाई कमलिश्ट र सामन्तलाई समान्ता भन्छन् ।
मलाई एकदमै अबोध तर व्यङ्ग्यात्मक लाग्यो उनको कुरा ।
मैले सोधिहालें- कमलिश्ट भनेको के होला नि अङ्कल ?
“कमलिश्ट भनेको गरिबहरुको राज भनेको हो नि । तर हाम्रोमा त नामको मात्रै कमलिश्ट छ । काम त समान्ता छ । अहिले सब उल्झनमा परेछ ।”
मलाई उनको कुराले नराम्ररी घोच्यो । मनमा तितोपना छायो । तर उनी मुस्कुराउँदै थिए । कुरा गर्दै उनी फाटेको जुत्तामा सियो चलाउँदै थिए ।
उनलाई कसैप्रति गुनासो छैन । हाँस्दै, मुस्कुराउँदै आफ्नो काम गरिरहेका छन् ।
जुता चप्पलसँग यात्रा गरिरहेछन्
निरन्तर यात्रामा छन्…
०००
(सल्लेरी खबरले सल्लेरी विशेषको साप्ताहिक अंक ‘सल्लेरी कोलाज’ मा ‘गल्लीको कथा’ शृङ्खला शुरु गरेको छ । यो दोस्रो खुड्किलो हो । यसमा हामी ती जिन्दगीहरूका कथा ल्याउने छौं- जो काठमाडौंका गल्लीहरूमा हाँस्दै-मुस्कुराउँदै जिन्दगी जिउँन प्रेरित गरिरहेछन् । तपाईंको आसपास पनि त्यस्ता जीवनकथा छन् जस्तो लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोला । सल्लेरी खबर यहाँहरूसँग हातेमालो गर्दै समाजमा थप सकारात्मकता र उर्जा सञ्चार गर्न उत्साहित छ । धन्यवाद !)
०००
०००