काठमाडाैँ । विश्वभर कोरोना महामारी चलेको २ वर्ष पुरा हुन लागेको छ । पहिलो चरणमा विश्वमा नै कोरोना भाइरस नियन्त्रण उन्मुख भइरहेको बेला भारत लगायत नेपालका भने कोरोना महामारीको दोश्रो लहर सुरू भयो ।
कोरोना महामारीको पहिलो लहरभन्दा दोश्रो लहरले नेपाल लगायत भारतमा ठूलो क्षति गर्यो । मानिसहको मृत्यु हुनेको संख्या पनि दोश्रो लहरमा आकासियो । अवस्था पुनः लकडाउन कै पैदा भयो ।
यस्तो अवस्थामा अत्यावश्यक बाहेकका सबै क्षेत्रहरू बन्द हुन पुगे । त्यसमाथि पनि खुलेको एक महिना पनि पुरा नहुँदै फिल्महलहरू बन्द हुने अवस्था सिर्जना भयो । यसबाट भएको क्षतिको विवरण ठूलो छ ।
यही समग्र नेपाली फिल्म क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभाव र यसले पारेको प्रभावलाई आगामी दिनमा कसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारे काफिया फिल्मसका निर्देशक, फिल्म निर्माता तथा कलाकार गोविन्द शाहीसँग गरिएको संक्षिप्त कुराकानीमा आधारित अन्तर्वार्ता :
समग्र फिल्म क्षेत्रमा कोरोना महामारीले पुर्याएको क्षतिको अवस्था के छ ? बताइदिनुहोस् न !
पछिल्लो वर्षजस्तै यो वर्ष पनि कोरोना महामारीले हामीलाइ छोडेन फिल्महलहरू खुल्न नपाउँदै बन्द भए । पुराना फिल्म रिलिज भएता पनि नयाँ फिल्महरूले हलको अनुहार देख्न पाएनन् । त्यस कारणले पछिल्लो वर्ष ठूलो क्षति व्यहोरेको नेपाली फिल्म क्षेत्रको क्षति यो वर्ष दोब्बर भएको छ । कोरोना महामारीले झन विकराल रूप लिँदा चलचित्र उद्योगले अझै ठूलो क्षति सामना गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
फिल्म क्षेत्रमा कोरोना भाइरसको प्रभावले फिल्म क्षेत्रमा कस्ता समस्या आइरहेका छन् ?
फिल्मि क्षेत्रसँग प्रत्यक्ष जोडिएका हरेका व्यक्तिको दैनिकीमा कोरोनाले व्यापक असर पुर्याएको छ । यस क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने फिल्म हल, चलचित्र संघ, चलचित्र कर्मी तथा फिल्म क्षेत्रका प्राविधिक सहित फिल्म निर्माण र वितरणमा समेत ठूलो असर पारेको छ । यसले वर्तमान परिस्थितिमा जटिलता त थपेको नै छ । यसको असर फिल्म क्षेत्रले धेरै पछिसम्म व्यहोर्नुपर्नेछ ।
लकडाउन भएको दिनदेखि अहिलेसम्म कति जतिको नोक्सानी भयो होला त ?
क्षतिको निश्चित आँकडा नभएपनि लकडाउन सुरू भएदेखि अहिलेसम्मको समयलाई फिल्मका लागि उपयुक्त समय मानिन्छ । राम्रा फिल्म प्रदर्शनका लागि धेरैले यहि समयलाई अनुकुल ठान्दछन् । करीब डेढ वर्ष नै फिल्महल बन्द भइसकेको अवस्थामा नोक्सानीको हिसाबकिताब पनि ठुलो भइसकेको छ ।
तपाईका अनुसार फिल्म क्षेत्रले ठुलो नै नोक्सानी व्यहोरेको छ । यस्तो अवस्थामा सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?
सरकारले यो क्षेत्रलाई भनेर अहिलेसम्म कुनै राहत तथा अन्य प्रकारको सहयोगको व्यवस्था गरेको जस्तो मलाई लाग्दैन । फिल्म क्षेत्र भनेको अरबौको लगानि भएको क्षेत्र हो । करोडौँको लगानीमा खुलेका फिल्म हल लगायत मल्टिप्लेक्सहरू बन्द भएर ठुलो मारमा परेका छन् । तर, ठुलो लगानी हालेर ठुलै मारमा परेको यो पक्षमा सरकारको दृष्टि पुग्न सकेको छैन । अबका दिनमा सरकारले यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्नु जरूरी छ । पक्कै पनि सरकारले यस क्षेत्रको पुनरूत्थानका लागि ठूलो प्याकेज ल्याउनेछ भन्नेमा अाशावादी छु ।
चलचित्र क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने संस्थाहरूसँग कसरी समन्वय भइरहेको छ ? प्रतिवेदनहरू बनाउने, पेश गर्ने जस्ता कामहरू भइरहेका छन् कि छैनन् ?
नेपाल चलचित्र विकास संघका साथीहरूले अर्थमन्त्री विष्णु प्रसाद पाैडेलसँग भेट गरेर फिल्म क्षेत्रको क्षतिको बारेमा ध्यानाकर्षण गराउनु भएको छ । यस क्षेत्रले ठूलो क्षति व्यहोरिसकेको छ । अहिलेको अवस्थामा व्यक्तिगत भन्दा पनि समग्र उद्योग क्षेत्रकै क्षतिको सवाल उठ्छ । यस्तो अवस्थामा सबै क्षेत्रहरूसँग समन्वय नगर्ने भन्ने त कुरा नै हुँदैन । यसका लागि संस्थागत प्रयासहरू पनि भइरहेका छन् ।
कोरोनाको प्रभावबाट माथि उठ्न यो क्षेत्रलाई कति समय लाग्ला ?
यथार्थमा भन्नु पर्दा फिल्म क्षेत्रमा कोरोनाले पारेको नोक्सानीको हिसाब किताब अत्यन्तै ठूलो भइसकेको छ । वर्षेनी अरबाैको कारोबार हुने यस क्षेत्र अहिले व्यापारशुन्य अवस्थामा छ । आम्दानी सुक्को छैन । हामीले तिर्नुपर्ने बैंकको ब्याज, अफिसको भाडा, कर्मचारीको तलब निरन्तर तिरिरहेका छाैँ । पैसा तिर्नका लागि पनि ऋण लिनुपर्ने अवस्था छ । यस्तै, हो भने यो क्षेत्रमा माथि उठ्न दशकसम्म लाग्नसक्छ भन्दा फरक नपर्ला ।
चलचित्र प्राविधिकहरूको अवस्था पनि उस्तै नाजुक बन्दै गइरहेको छ । यसबारे कति जानकार हुनुहुन्छ तपाइँ ?
फिल्म क्षेत्रको कुरा गर्दा हामीले प्राविधिक पक्षको कुरा कुनै हालतमा विर्सन सक्दैनाैँ । दिन दिनै काम गरेर घरको चुल्हो बाल्ने, छोराछोरी पढाउने प्राविधिकहरूको अवस्थाबारे मैले जानकारी लिइरहेको छु । प्राविधिकहरूको समस्या समाधान गर्नका लागि सरकारले एक पटक विचार गर्नुपर्ने बेला आएको छ । उहाँहरूको अवस्थाबारे विचार गर्दै सबैले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कोरोना भाइरसले थलिएको सिनेमा क्षेत्र उकास्न चलचित्रसँग सम्बन्धित संगठनले कस्तो भूमिका खेल्नु पर्ला त ?
फिल्म क्षेत्रमा भएको नोक्सानीको बारेमा बुलन्द आवाज उठाउन जरूरी छ । फिल्मलाई फिल्मको नजरबाट मात्र नभर फराकिलो दायराबाट सोच्नुपर्ने देखिन्छ । मानौ मुस्ताङमा सुटिङ भएको एउटा कुनै फिल्मले त्यो क्षेत्रको प्रमोट गरेको हुन्छ । फिल्मका माध्यमबाट सो क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा बढावा दिन सकिन्छ । त्यसै गरी फिल्म भाषाशैली तथा संस्कार, संस्कृतिको दस्तावेज पनि हो । यही आधारमा अब खस्केको फिल्म क्षेत्रलाई माथि ल्याउन सबैको आवाज तथा साथ एक हुनु पर्दछ । त्यस्तै, सरकारले पनि यो क्षेत्रलाई नजरअन्दाज गर्ने भन्दा पनि एउटा राम्रो राहत प्याकेजको व्यवस्था गर्नु पर्ने देखिन्छ । देशको समग्रताको प्रतिनिधित्व गर्ने फिल्म क्षेत्रलाई उकास्न सरकारले सहयोग गर्नुपर्ने अहिलेको आवश्यता हो । यसका लागि सम्बन्धित संगठनहरूले समन्वयकारी भूमिका खेल्नुपर्छ ।