कलरफुल, रोमान्टिक, म्याजिकल पेरिसका अर्का पाटाहरू हुन्- कलात्मक संस्कृति र ग्लोरियस इतिहास । फ्रान्सेली सभ्यता, क्रान्ति, इतिहास, कला, संस्कृति, संरचना, वर्तमान, भविष्य सबै बोकेको छ- पेरिसले । तिनै मध्य इतिहास, संस्कृति र कला बोकेका दुई कुराहरू हुन्- ‘आईफेल टावर’ र ‘नोट्र ड्याम क्याथेड्रेल’ ।
फ्रेन्च इन्जिनियर तथा आर्किटेक्ट आईफेल गुस्ताभेको एक्सिपेरिमेन्टल डिजाइनमा बनेको प्रवेशद्वार ‘आईफेल टावर’ पेरिसको मात्र नभएर फ्रान्सकै ल्यान्ड मार्क स्ट्रक्चरको रूपमा वर्षौँदेखि उभिएको छ । सँगै अझ बढी कलात्मक तथा ऐतिहासिक ईमोसन बोकी ठडिएको छ- ‘नोट्र ड्याम क्याथेड्रेल’ ।
भनिन्छ,“युरोप सम्झना साथ धेरै अमेरिकीहरू सबैभन्दा पहिले नोट्र ड्याम क्याथेड्रेलको आकृति सम्झन्छन् ।“
अर्थात् यसको सिधा अर्थ हो, नोट्र ड्याम क्याथेड्रेल सम्पूर्ण युरोपकै पनि महत्त्वपूर्ण ल्यान्ड मार्क मानिने गर्छ । तर अहिले आएर क्याथेड्रेल एकदम नाजुक अवस्थितिमा उभिएको छ । हिजो ऐतिहासिक साक्षी बनी ठडिएको क्याथेड्रेल, आंशिक क्षतिका कारण आज दोबाटोमा आइपुगेको छ । यसले कुन बाटो समात्ने छ यो भोली नै थाहा होला ।
आउनुहोस् चढम्, टाइम ट्राभलर मेसिन…अनि क्याथेड्रेल अर्थात् गिर्जाघरको ऐतिहासिक यात्रा तिर लागौँ ।
पेरिसस्थित स्यान नदिको किनारको मानव निर्मित आईल्याण्डमा अवस्थित यो गिर्जाघर राजा लुई सातौको पालामा करिब सन ११६३ मा सुरु भएर १३४५ मा सम्पन्न भएको थियो । १६ औ शताब्दीको, आधुनिक युगको सुरुवाततिर पनि क्याथेड्रेलमा केही परिवर्तनहरू भए । १८ औँ शताब्दीको अन्तिम सन १७९३ तिर फ्रान्सेली क्रान्तिको पालामा यसले केही गरगहना, मूर्तीहरूजस्ता बहुमूल्य चिजहरू गुमायो र बिस्तारै अन्न तथा सामाग्री थुपार्ने गोदाम घरको रूपमा पनि परिणत भयो- क्याथेड्रेल ।
अठारौँ शताब्दीको अन्तिमतिर जब नेपोलियनको युग सुरु भयो । उनले गोदाम घर बनिसकेको क्याथेड्रेललाई गिर्जाघरमा परिवर्तन गर्ने निर्णय गरे । सन १८०२ मा यो आधिकारिक रूपमा गिर्जाघरमा परिणत पनि भयो । उन्नासौं शताब्दीको सुरुवातमा गिर्जाघर राम्रैसँग चल्यो । तर फितलो व्यवस्थापनको कारण यसले गति लिन सकेन । केही बिग्रियो, केही भत्कियो । फेरि मुर्झाउँदै गयो गिर्जाघर ।
अन्ततः पेरिसका आधिकारिक मान्छेहरु भत्काउने निर्णयमा पुगे । त्यतिबेलाको समय शताब्दीको मध्य युगतिर प्रवेश गर्दै थियो । गोथिक वास्तुकलालाई संरक्षण गर्नु पर्छ भन्ने मान्यता त्यतबेलाका कलाप्रेमीहरूलाई पनि थियो ।
त्यसै कारण एकजना आर्किटेक्ट साथीको अनुरोधमा लेखक भिक्टर ह्युगो पनि यस अभियानमा जोडिए । उनले आफ्ना समकालीनहरू माझ सचेतना जगाउन एउटा किताब नै लेखे –“दि हन्चब्याक अफ नोट्र ड्याम” । पछि यो किताब निकै चर्चामा रह्यो । पुरानो व्यवस्थापन हटेर नयाँ टिम संरक्षण अभियानमा जोडिए । आर्किटेक्ट युजिन भ्वालेट लि डकको नेतृत्वको टिमले यसमाथि रहेको ३०० फिटको शिखर डिजाइन गरेर थप्न लगाए । जुन सुरुमा थिएन । ग्लासेजहरु फेरिए । पछि पनि ससाना उतारचढावसँगै हालको स्वरूपमा आइपुग्यो क्याथेड्रेल । जसको श्रेय लेखक भिक्टर ह्युगो र आर्किटेक्ट लि डकलाई जान्छ ।
फेरि वर्तमानमा आईपुगम् है !
केही समय अगाडि यस गोथिक वास्तुकलाको उच्चतम नमुना “नोट्र ड्याम क्याथेड्रेल”मा आगो लागेको खबर संसारभर ब्रेकिङ न्युज बनेर फैलियो । ८५६ वर्ष पुरानो गिर्जाघर जो दङ्गा, आन्दोलनहरूबाट बच्यो । ठुल्ठुला युद्धहरूबाट बच्यो । विविध कालखण्डका क्रान्तिहरूबाट बच्यो । तर एक्कासौं शताब्दीको आगोबाट बच्न सकेन । पूर्ण रूपमा क्षति नभए नि ठुलो महत्त्वपूर्ण यसले हिस्सा गुमायो । र, फ्रान्सेलीहरू मात्र नभएर संसारभरका कलाप्रेमी मानिसहरू निकै दुखित भए ।
आगोले जलेर नोट्र ड्यामको महत्त्वपूर्ण छत जलेसँगै एउटा प्रश्न उठेको छ ।
के यो फेरि उस्तै बन्ला त ? या त समयसँगै परिवर्तन होला ?
“दि फरेस्ट” उपनाम पाएको नोट्र ड्याम क्याथेड्रलको छत निर्माणको बेला हजारौँ रुखहरू प्रयोग गरिएका थिए । प्राचीन जङ्गलमा पाइने ओक रुखहरूबाट बनाइएको थियो क्याथेड्रलको छाना । भनिन्छ, करिब ५२ एकड क्षेत्रफल बराबरका ओक जातीका रुखहरू काटिएका थिए । हरेक बिमहरु छुट्टाछुट्टै रुखहरूबाट निर्माण गरी बनाइएको नोट्र ड्याम काष्टनिर्मित बिमहरु र कुदिएका काष्टकलाको लागि प्रसिद्ध थियो । गोथिक शैलीबाट प्रभावित यो कलाकृति सयौँ वर्षसम्म पनि गोथिक आर्किटेक्चरको मास्टरपिसको रूपमा प्रसिद्ध रहिरह्यो ।
के फेरि उस्तै बनाउन सकिएला त भन्ने जवाफमा फ्रान्सेली सांस्कृतिक धरोहर संस्था (फाउन्डेसन डु प्याट्रीमोअन) का भाईस प्रेसिडेन्ट बर्टर्न्ड डी फेड्यु भनाई थियो,“क्याथेड्रेलको छाना पहिले जस्तै दुरुस्त बनाउन असम्भव जस्तै छ । किनभने बार्हौं र तेर्हौं शताब्दीमा काटिएका रुखहरूको आकार अहिले यहाँ पाईदैनन् ।“
विज्ञ आर्किटेक्टहरुले पनि मान्छन्,“नोट्र ड्याम क्याथेड्रल पुन: दुरुस्त उस्तै बनाउन एकदम गाह्रो छ । किनभने मध्यकालीन फ्रान्सका प्राचीन जङ्गलका रुखहरू करिब सातौँ र आठौँ शताब्दीबाट हुर्केन थालेका थिए । अर्थात् क्याथेड्रेलको छतमा प्रयोग गरिएका कुनै कुनै रुखहरू त १३०० वर्ष भन्दा पुराना थिए । अब फ्रान्ससँग पहिलेजस्तै एकदम पुराना ओक रुखहरू छैनन् । वनविनासको कारण गर्दा उस्तै रुखहरू पाउन सम्भव पनि छैन । भएका ती जङ्गलहरू पनि पछि आएर निर्माण प्रयोगका लागि नै मासिए । नोट्र ड्यामको अफिसियल वेबसाइट आफैले उल्लेख गरेको छ कि “बार्हौं शताब्दीमा नोट्र ड्याम बन्ने बेला विनाश भएको जङ्गलको ठुलो भूभागको बारेमा उति बेलै धेरैले चिन्ता चासो राखेका थिए ।“
आज युरोपमै पनि करिब ४ % मात्र प्राचीन जङ्गलहरू पाउन सकिन्छ । यस्तो आँकडामा फेरी दुरुस्तै, उस्तै बनाउन कुरा एक हिसाबले असम्भव जस्तै लाग्छ ।
अबको बहसः ”क्याथेड्रेल बार्हौं शताब्दीमा बन्न सुरु भएर चौधौँ शताब्दीमा सम्पन्न भएको थियो । पछि फेरि अठारौँ र उन्नाइसौँ शताब्दीमा आएर धेरै कुरा थपिए , घटिए । समय बदलियो, वस्तुहरू बदलिए, फलस्वरूप नोट्र ड्याम पनि फेरि उस्तै बन्न निकै कठिन छ । त्यसैले नयाँ ज्ञान, नयाँ प्रविधिलाई किन नजोड्ने भन्ने कुराहरू निस्किरहेका छन् ।“ यसै अवधारणामा रहेर घटना लगतै फ्रान्सका प्रधानमन्त्रीले नोट्र ड्यामको छाना पुनःडिजाईनको लागि अन्तर्राष्ट्रिय आर्किटेक्चरल डिजाइन कम्पिटिसनको घोषणा गरे । प्रधानमन्त्री फिलिपले भनेका थिए,”कम्पिटिसनले क्याथेड्रेलले छानाको रूपमा त्यस्तो शिखर पाउने छ, जो अहिलको प्रविधि र समयको उच्चतम प्रयोग हुनेछ । र, पहिले भन्दा अझै सुन्दर पनि हुनेछ ।“
घोषणा लगतै सर नर्मन फोस्टर, गोर्डाट एन्ड रस्सेल, डेभिड डेरो जस्ता नामी आर्किटेक्ट आर्टिस्टहरुको टिमले आफ्ना अवधारणाहरू प्रस्तुत गरेका थिए । जसमा प्रायजसो डिजाइनहरू अहिलेको समयको प्रविधिबाट प्रभावित थिए । जसबाट गोथिक थिमकै वरिपरि रहेर ग्लासेसहरु उत्कृष्ट प्रयोग, लाईटसको प्रयोग, ग्रिन रुफ जस्ता अवधारणाहरू निस्किएका थिए ।
वास्तुकलात्मक धरोहर संरक्षणको सन्दर्भमा भने पुरानै किसिमका निर्माण पदार्थहरू प्रयोग गरी फेरी पहिलेको जस्तै बनाइनु नै सबैभन्दा उत्तम विकल्प मानिन्छ । जसले पुरानै महत्त्व, पुरानै भावलाई बचाइ राख्छ । हाम्रै देश नेपालमा पनि भूकम्प पछि निकै संरचनाहरू भत्किए । पाटन दरबार क्षेत्र, काठमाडौँ दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र धरहरा जस्ता अनगिन्ती ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरू भत्किए, बिग्रिए । जसको पुनः निर्माण गर्दा पनि पहिलेकै अवस्था प्राप्त गर्नु निकै महत्त्वपूर्ण मानिन्छ । जसले परम्परागत वास्तुकलाको इतिहास र , संस्कृतिलाई पुस्तौंपुस्तासम्म जोगाई राख्छ ।
यही पुरातात्विक सम्पदाको महत्त्वलाई ध्यानमा राखी फ्रान्सेली सिनेटले करिब एक महिनापछि पहिलेकै जस्तै बनाइनु पर्छ भन्ने कुरालाई पास गरेको छ । तर प्रधानमन्त्री र राष्ट्रपति भने यस क्षतिलाई अवसरको रूपमा हेरेर अहिलेको प्रविधि सुहाउँदो, अझ सृजनशील पुनः निर्माण भन्ने कुरामा जोड दिएका थिए । हेरम् ! फ्रान्सको अन्तिम निर्णय के हुनेछ जसले नोट्र ड्याम क्याथेड्रेलको भविष्यलाई निर्धारण गर्नेछ ।
अहिले आएर क्याथेड्रेलको निर्माण पोलिटिकल इस्युसँग जोडीसकेको देखिन्छ । फ्रान्सको उच्च तह भित्रै दुई फरक अवधारणाहरू निस्केका छन् । जसको अन्तिम निर्णय होला छिट्टै ।
अब चुनौतीको कुरा के ठ्याक्कै पहिले जस्तै बन्ला त ? जसले यसको महत्त्वलाई बचाई राख्ला ? या समयसँगै नयाँ निर्माण प्रविधिमा टेकेर यसले नयाँ आकार, प्रकार लिने छ । कसैले भनेझैँ जुन अझै औलोकिक, अझ भव्य हुनेछ ।
‘नोट्र ड्याम क्याथेड्रेल’ निकै ठुलो दायित्व र चुनौती बन्दै छ- फ्रान्सको लागि ।
(एजेन्सीहरूको सहयोगमा)
लेखकबाट थपः
पुल्चोक भट्टी
०००
०००