आज चौकीमा नयाँ प्रभारी अधिकृत आउने समाचारले सबैलाई जिज्ञासु बनायो । नयाँ अधिकृत कस्ता होलान्, शील–स्वभाव कस्तो होला, आफूभन्दा मुनिका कामदारहरूसँग कस्तो व्यवहार गर्ने हुन्, घुसपेठको रस कहाँसम्म बुझेका हुन् भन्ने जान्न सबै उत्सुक थिए । तर सञ्मानलाई बेपर्वाह थियो । चालीस वर्ष भयो उसले प्रहरीमा जागिर खाएको । यसै चौकीमा उसका पैँतीस वर्ष बिते । त्यस्ता अधिकृत कति आए, कति गए । उसले सबै प्रकारका अधिकृत देखेको थियो । आज कस्तो पो आइजाला ! ऊ रतिभर पनि विचलित थिएन ।
आफ्नो ड्युटी नपरे पनि त्यस दिन सञ्चमान सबैसँग सामेल भई नयाँ ‘सर’ को स्वागत गर्न चौकीमा पुग्यो ।
अब एकैछिनमा नयाँ साहेबको सवारी हुनेछ । सबै उत्सुक थिए ।
सञ्चमान त्यस चौकीको सबैभन्दा पुरानो र बुज्रुक प्रहरी जवान थियो । उमेरले पच्पन्न टेकेको । प्रहरीको जागिर उसले अन्तिम विकल्पको रूपमा चुनेको थियो । जब उसले पानीखेती गाउँमा दस कक्षा पास गर्यो, त्यो एउटा इतिहास बन्न पुगेको थियो । त्यसपछि आफ्नो पछाडिएको गाउँलाई शिक्षाको उज्यालोमा ल्याउन उसले स्कुल खोल्यो, तर कसैले छोरा–छोरी नपठाएपछि ऊ निराश भयो । दुर्ईचार जना आएकाहरूले पनि शूल्क तिर्नमा भोलि–पर्सि, मेलोपातको हाँजिरामा कट्टा गर्ने, ऐँचो–पैँचोमा मिलाउने…भन्दाभन्दै बिताए । पैसा उठेन ।
त्यस पेसाबाट जीवन नधान्निने बुझेपछि सञ्चमान जग्गा–जमिनको पासपट्टा बनाउने काममा लाग्यो । यस कामका दुर्ईचार वर्ष बितायो । उसले धेरैका घरका पासपट्टा बनाइदियो, धेरैका जग बलिया भए । बनाएका एक–एक लिखत, राजिनामा, पासपट्टा र धनीपुर्जाका फोटोकपीहरू आज पनि उसका फाइलहरूमा भेटिन्छन् । आजभोलि पनि पुराना कागतपत्र चाहिएमा गाउँलेहरू सञ्चमानलाई सम्झिन्छन् ।
केही समय यही काम गरेपछि ऊ प्रहरीमा भर्ती भयो । सरुवा भइरहने हुनाले ऊ त्यति बाक्लै गाउँ गाऊँ फर्किन पाएन । उसको एकमात्र छोरो अमृतेलाई खोलाले बगाएपछि विक्षिप्त भएकी उसकी श्रीमती गङ्गा ती खोलानाला देखेपछि सधैँ अभिघातको सिकार हुने गर्थिन् । उसले सोच्यो, गाँवै छोडेपछि उनी ठीक हुने छिन् । यसले गङ्गालाई सहरतिरै लग्यो, र सरकारी आवासमा राख्न थाल्यो । अब गाउँ जानुपर्ने कुरै भएन ।
दिनहुँ प्रहरी चौकीमा बनाइने जाली रिपोर्ट, कथित साक्षी–सबुत, नक्कली कागजपत्र, पाल्सी बयानबाजीहरू देखेर ऊभित्रका आदर्शहरू सबै मरिसकेका थिए । दशैँ तिहारले गाउँका निच्छल आदर्शहरूको सम्झना गराउँथे तर सम्झनाले समाज परिवर्तन नहुँदो रहेछ ।
बिहान आठ बजे तार आयो । साहेब आइपुग्नआँटेको सङ्केत भयो । सबै जना टट्कारो भएर आ–आफ्ना स्थानमा उभिए । आठ बजेर दस मिनेट जाँदा साहेबको सवारी भयो । सबै उत्सुक देखिन्थे । त्यस सेतो सरकारी कारबाट उत्रिएर साहेब चौकीको गेटतिर प्रवेश गर्न लागे । अगिपछि दुर्ईचार जना अरु पनि देखिन्थे ।
इन्स्पेक्टर हिमांशु — होचेहोचे मान्छे, ठूलो बाटुलो अनुहार भएका, चिटिक्क परेका लुगा, टिलिक्क टल्किने फूली, पेटीमा रिभल्वर, त्यसै रमितलाग्दा । नवजवान अफ्सर, हेरिरहूँजस्ता । “ठूलो मान्छे हुन त अनुहार पनि परेको हुनुपर्छ । हेर त उः, क्या सुहाउँदा ?” सञ्चमान विज्ञ बन्यो ।
सबैजनाले सेल्युट गरे, सञ्चमानले पनि गर्यो । “कति कलिला साहेब, होलान् त्यही बाइस–पच्चीसका,” उसले सोच्यो ।
सञ्चमानको ठम्याइ थियो, प्रहरीमा कन्स्टेबल हुनु अर्के कुरा हो र अफ्सर हुनु अर्कै कुरा । इन्स्पेक्टर हिमांशुलाई देखेपछि ऊ एक्कासि भावुक बन्यो ।
उसले साहेबेलाई देख्दा मुटुभित्रबाट आत्मीयता फुटेर आयो । यो पहिलोपल्ट थियो उसको प्रहरी जीवनमा कुनै अफ्सरप्रति आत्मीयता जागेको । कानुनले वफादार हुनु भन्छ, तर आत्मीयता व्यक्तिगत कानुनको कुरा हो । उसलाई यस्तै लाग्यो ।
बैठक कक्षमा परिचय सभा बस्यो । आफ्नो कुर्सीमा बसेर त्यस सभाको सभापतित्व गरिरहेका साहेब क्या राम्रा देखिन्थे ! सबैले आ–आफ्नो परिचय दिए, नाउँ, नम्बर र गाउँ भनेर । सञ्चमानले पनि दियो आफ्नो परिचय ।
यो पनि पढ्नुहोस्ः
महेश पौड्यालका पाँच कविता
इन्स्पेक्टरले आफ्नो नाम हिमांशु आचार्य भएको र पानीखेती गाउँको बासिन्दा भएको जानकारी गराए । पानीखेती, सञ्चमानको पुरानो गाउँ, नगएको चालीस वर्ष भैसकेको । इन्स्पेक्टर आफ्नै गाउँको बुझेर ऊ हर्षविभोर भयो । जिज्ञासा थाम्नै नसकी उसले सोध्यो, “पानीखोती, कहाँनिर? कसको छोरो बाबु?”
“चौकीमा कसका छोरा, कसका नाति भन्ने कुरा गर्नुहुँदैन । हामी सबै नेपालआमाका छोरानाति ।”
सञ्चमान चुप लाग्यो ।
परिचयको क्रम सकिएपछि साहेबेबाट हुकुम भयो, “ल धन्यवाद । आज म अति नै थाकेको छु । अन्य कुरा भोलिपर्सि गर्दै जाऔँला । ”
प्रहरी जवानहरूका बीचमा गाइँगुइँ चल्यो, उनी अन्यन्त कडा मिसाजका छन रे । नेपालगञ्जमा हुँदा उनको कडाइको खुलेरै विरोध भएको कुरा कुलेले सुनायो । कुलेकी सानिमाको छोरो त्यहाँ कार्यरत थियो रे ।
भोलिपर्सि भर्निए पनि एक हप्तासम्म बैठक बसेन । के गर्छन् इन्स्पेक्टर कसैलाई थाह भएन । लेपटप चलाएर खै केके हो हेरेको भने सबैले देखे ।
एक हप्ता बित्दानबित्दा त्यहाँका प्रहरीहरूले उनको कडा स्वभावको भान पाए । कुलेले ल्याएको समाचार साँचो सिद्ध भइरहेको थियो । वषौँवर्षदेखि त्यसै चौकीमा रहेर खाइखेली ख्याक भएका उनीहरूले यो कुरालाई खासै महत्व भने दिएनन् ।
गफगफमै सञ्चमानले भन्यो, “हेर केटा हो । बूढो गोरु र बहर गोरु खेत जोत्न जाँदा र आउँदाको कथा सुनेका छैनौ?”
सबैले सुनेको कुरा बताए । “हो, त्यस्तै बहर गोरु हुन् हाम्रा साहेब !”
सबैका आँखामा मन्द मुस्कार झुल्कियो र ओठको बाटो हुँदै कोठाभरि फैलियो ।
एक हप्तापछि बैठक बस्यो । सहेबले सोधे, “यहाँको शान्ति सुरक्षाको स्थिति के छ?”
उत्तरका लागि बाटो हेराहेर भयो । कसले दिने जवाफ? सबैका आँखा सञ्चमानतिर एकोहोरिए । सबैभन्दा बुज्रुक र अनुभवी थियो ऊ त्यहाँ । तर चौकीमा अनुभव हैन रेङ्क बोल्छ । त्यसैले ऊ चुप लागिरह्यो ।
“भन्नोस् न । के भयो र? यहाँको व्यवस्था कस्तो छ?”
सबैले मुखामुख गरे । फेरि सबैको दृष्टि सञ्चमानतिरै । साहेब अलि छिटो रिसाउने खाल्का परेछन्, अलि रातापिरा देखिए । डरको हल्का प्रवाह कोठाभरि फैलियो ।
“किन? मलाई तपाईंहरूले आफ्नो नै ठान्नुभएन कि क्या हो ?”
जस्ता भ्रष्ट भए पनि पहिले पहिले आउने साहेबहरू एकदुई दिनमै घुलमिल हुन्थे सबैसँग । तर यी साहेब आएको एक हप्ता बितिसक्दा पनि खाली लेपटप चलाएर कोठाभित्रै धुम्धुम्ती बसेर खै केके हो हेरिरहने भएपछि त अरुले राम्रो मान्ने कुरै भएन । उनीहरूलाई वास्तवमै मन परिरहेको थिएन नयाँ साहबको चाला ।
साहेबले फेरि केही सोधे, तर उत्तर आएन । जवानहरूले साहेबलाई सङ्केतिक बहिष्कार गरे ।
सहेब निराश देखिए । उनका आँखाले हल्का असन्तुष्टिको सङ्केत गर्यो ।
अरुले जेजे सोचे पनि सञ्चमानलाई भने भित्रभित्रै साहेबको अनुहारको हुलिया निकै मन परिरहेको थियो । त्यो अनुहारमा कतै न कतै उसको आफ्नो विगतको कथांश छ भन्ने शङ्का उसलाई लागिरहेको थियो ।
साहेबका आँखामा रिस पलपल बाक्लिँदै गरेको देखियो । फूलेका जुँघाको कदर आखिरकार गर्नै पर्यो सञ्चमानलाई ।
“सर, यहाँ सबैतिर शान्ति छ । यो चौकी अहिले पहरबहादुर हत्याकाण्डको जाँच गर्दैछ । तर के गर्ने सर ? दिनहुँ फेरिने बयान्, दिनहुँ बद्लिरहने रिपोर्ट, दिनकै नयाँ–नयाँ साक्षीहरू । जाँचमा विलम्भ त भै हाल्छ नि !”
“वलम्भ किन हुन्छ?”
“चौकीको काम यस्तै हो नि बाबु !”
“सर भन्नुस् ।”
सञ्चमानले तुरन्त भूलकबुल गरेर माफी माग्यो । वास्तवमा उसको अमृतेजस्तै देखिन्थे ती अफ्सर ।
“चौकीमा बाबुनानी र छोरानातिको नाता लाउनु हुँदैन ।”
अरु धेरै कुराहरू भए । कुराकानीको अवधिभर अन्य जवानहरूले कहिले झ्यालबाहिर त कहिले सिलिङ्तिर हेरेर कुराकानीलाई वेवास्ता गरि नै रहे । अत्यन्त सचेत भएर सञ्चमान जवाफ दिँदै गयो । अरु सबै कुरा थाम्न सक्थ्यो ऊ । कसैले चुनौति नै दियो भने घुम्दै गरेको पृथ्वी पनि थाम्न सक्छु भन्ने लाग्थ्यो उसलाई । तर मुटु…उसको अमृते सानै छँदा उसको मुटुजत्तिकै हठी र जिद्दी थियो ।
सञ्चमानका मुखबाट फुस्किइहाल्यो, “बाबु!”
“बाबु नभन्नोस् न यार । मलाई यस्तो लोलोपोतो मनै पर्दैन क्या । प्रहरीमा यस्ता कुराले हामीलाई कमजोर बनाउँछन् । फेरि म यहाँ कसैको छोरोनाति पनि हैन नि । हुँ र ?”
कुरा त ठिकै थियो । सञ्चमान लाजले रातो भयो ।
तर उसको मनको द्वन्द शान्त भएन ।
सञ्मानप्रति अफ्सरले गरेको प्रतिक्रिया देखेर अरु खिन्न भए । साहेबका हरेक शब्दले उनीप्रति तिनीहरूले राखेको पूर्वाग्रहलाई बलियो बनाइरहेको थियो । सञ्चमानले बहर गोरु र बूढो गोरु जोत्न जाँदा र जोतेर घर फर्कँदाको कथा सम्झ्यो ।
ऊ डराएको भने थिएन । ऊ आश्चर्यचकित पनि देखिएन । ऊ सोचिरहेको थियो, “उमेरको दोष हो ।” तर सञ्चमानको छातीभित्र उम्लिएको आत्मीयता प्रभावित भएन ।
सञ्चमानलाई थाहा थियो प्रहरीमा मन कठोर पार्न सिकाइन्छ, मुटु दह्रो पार्नु भनिन्छ । त्यहाँ गरिने व्यावहारले पनि मान्छेलाई ढुङगो बन्न नै सहयोग गरेको पाइन्छ । त्यहाँ वीरताका कुरा हुन्छन् अनि वीरहरूलाई मुटु कमलो गर्न सुहाउँदैन । तर उसलाई यो पनि थाहा थियो कि कानुन र तालिमको कठोरताले र दिनैका युद्ध–अभ्यासले पनि मान्छेभित्रको मान्छेलाई मार्न सक्दैन ।
तर नबोल्नु हितकर सम्झ्यो उसले, बोलेन ।
“इन्स्पेक्टर हिमांशु आचार्यको चौकीमा कुनै काम ढिलो हुनु हुँदैन । नेपालगञ्जको समाचार यहाँहरूले सुन्नुभाकै होला । यहाँको कार्यसम्पादनमा धेरै ढीलासुस्ती भयो भनेर नै मलाई यहाँ सरुवा गरिएको हो । सबै काम समयमा हुनुपर्छ है,” भन्दै साहेब उठ्नुभो । सबैले हस् सर भन्दै सेल्युट गरे । नयाँ धोबीको कथा सम्झेर सञ्चमानलाई मनमनै हाँसो लाग्यो ।
सभा सकियो । चौकी सामान्य कामकाजतिर फर्कियो ।
दिनहरू बित्दै गए । सञ्चमान केही बोल्नुपर्दा गनीकुथीकन मात्र बोल्न थाल्यो ।
एक दिन अधीक्षकको आगमन हुने भयो । सबै तयारी सकियो । सञ्चमानले त्यसदिन पनि पहरबहादुर हत्याकाण्डको रिपोर्ट भन्ने दायित्व पायो । नयाँ साहेब आएको दुर्ई महिनापछिको कुरा थियो यो ।
“जाँच लगभग सकियो । दुर्ईजना सन्दिग्धहरू हिरासतमा छन् । २० गते जिल्ला न्यायाधीशको न्यायालयमा सुनवाइ गर्ने सबै तयारी सकियो ।”
“सबै कागजपत्रहरू तयार छन्?” अधिक्षबाट जिज्ञासा भयो ।
“छन् सर । यहाँ हाम्रो इन्स्पेक्टर बाबुले तयार पार्नुभएको छ ।”
सबैले सञ्चमानतिर हेरे । इन्स्पेक्टर हिमांशुका आँखामा आगो देखियो । केही गडबड भएछ कि क्यहो भन्ने कुरा सञ्चमानले थाहा पायो । तर उसकै उमेरका अधीक्षक सन्तुष्ट देखिन्थे उसको रिपोर्टबाट । टाउको हल्लाएर स्वीकारेक्तिको सङ्केत गरे उनले । सञ्चमान आफ्नो कुर्सीमा बस्यो ।
अधीक्षक गए । सञ्मानलाई इन्स्पेक्टरको कोठामा झिकाइयोे । उसले बडो ध्यानसँग बोलोको थियो त्यस दिन । कुनै गल्ती भएको नहुनु पर्ने । त्रुटि भएको भए अधीक्षक साहेबले नै केही भन्नु पर्ने । कताकता उसलाई उसको राम्रो प्रस्तुतिका लागि स्याबासी दिन बोलाइएको हो कि भन्ने पनि नलागेको हैन । ऊ जिज्ञासु भावले इन्स्पेक्टरको कोठामा पस्यो ।
“तपाईंलाई थाहा छ, आज अधीक्षकको अगाडि मेरो कत्रो बेइज्जती भयो?”
सञ्मानले केही सम्झिन सकेन । आत्मसमर्पण गर्दै भन्यो, “मबाट के अपराध भयो सर आज?”
“के अपराध ? कोर्रा लाएपछि थाहा पाइन्छ, बुझ्नुभो ? कान खोलेर सुन्नुहोस् म तपाईंको “बाबु” हैन यहाँ । ‘सर’ भन्नुपर्छ भनेर कतिपल्ट भनेँ मैले तपाईलाई? अब असह्य भयो । तपाईलाई सस्पेण्ड गरिदएँ, यही हो आदेश ।”
पर्यो फसाद । उसलाई आज पनि भावनाले मारेछ । ऊ अवाक उभिइरह्यो । अफ्सर बाहिरिने तर्खरमा कुर्सीबाट उठे ।
उसले मनमनै सोच्यो, “यस्ता नितान्त व्यक्तिगत र भावनाका कुराका आडमा निलम्बन हुनु गैरकानुनी कुरा हो । कानुनको किताबले कसैलाई माया गर्न पाउने–नपाउने विषयमा केही बोलेको छैन ।” उसले चाहेको भए मुद्दा हाल्न सक्थ्यो । तर उसले त्यो बाटो रोजेन ।
निलम्बनमात्रै थियो, पदमुक्ति थिएन । केही दिनमै पुनर्बहाली हुन सक्थ्यो । बिघ्नै भए सरुवा गरिदेलान् कुनै दुर्गम ठाउँमा । पानीखेतीमा हुर्केबठेको सञ्चमानलाई कुन दुर्गम, कुन सुगम । तर ऊभित्र यति तिक्तता भरिएर आइसकेको थियो कि ऊ कुनै पनि हालतमा पुनर्बहाली चाहाँदैनथ्यो । उसले जागिर छोड्ने निधो गर्यो ।
साँझ साहेबका कोठाबाहिर उभियो, र भित्र पस्ने अनुमति माग्यो । सोचिरहेको थियो “जागिर यसै गयो, उसै गयो । अब केको डर ? केही कुरा त भनिहाल्छु यस नाथेलाई ।”
“सर, केही कुरा गर्नुथियो । ”
“के कुरा? आउनुहोस्, बस्नुहोस् । ”
“सर, अधीक्षक साहबले त केही भन्नुभएन त ।”
“अधीक्षक? यस चौकीमा मेरो हुकुम चल्छ, मेरो । मलाई अरु केही कुरा सुन्नु छैन अब ।”
“ठूलै रहेछ अपराध, दयादृष्टि भएन हगि । अफ्सरहरूले दिनहुँ बनाउने फर्जी रिपोर्टभन्दा ठूलो भयो त्यो अपराध । राज बोहोरा हत्याकाण्डमा एकलाख रुपियाँ घुस लिएकोभन्दा ठूलो भयो बाबुकाण्ड, सुमित्रा हत्याकाण्डको पोष्ट मोर्टेम रिपोर्ट लुकाई त्यसलाई आत्महत्या बनाए भन्दा ठूलो भयो यो ।”
यस्ता असङ्ख्य अपराध देखेको थियो सञ्चमानले । तर उसका अनुभवहरूको त्यहाँ कुनै मोल थिएन ।
“मेरा फुलेका जुँघा र हल्लिएका दाँतको अतिकति पनि कदर भएन है,” यसले भन्यो । अफ्सर बालेनन् । अमिलो मन लिएर सञ्चमान बाहिरियो ।
०००
भोलिपल्ट बिहानै सञ्मानलाई गेटबाट बाहिरिँदै गरेको देखियो । ऊ निलम्बित मात्रै भएको थियो । केही प्रयास गर्दा पुनर्बहाली हुन सक्थ्यो, सरुवा पनि हुन सक्थ्यो । ऊ निकै पुरानो मान्छे, उसलाई माया गर्नेहरू नभएका हैनन् । उसकै भतिजाको पहुँचवालाहरूसँग राम्रो सम्बन्ध थियो । तर ऊ यी प्रयासतिर लागेन ।
ऊ बाहिरिँदा प्रहरीका लुगा थिएनन् उसको जीउमा । उसले पुराना दौरा सुरवाल लाएको थियो, सिरमा मैलो टोपी थियो, ढाकाको । काँधमा एउटा पुरानो झोला । न सुटकेस्, न सुटबुट, न त अरु केही । सञ्चमान आफूले प्रहरीको रूपमा कमाएको सम्पूर्ण सम्पति आफ्नै कोठामा फ्याँकेर बाहिरिएको थियो ।
पछिपछि मजेत्रोको छेउ सम्हाल्दै गङ्गा पनि हिँडी । फेरि सञ्चमानलाई कसैले त्यतातिर देखेन ।
०००
अहो कत्रो ठूलो परिवर्तन ? खोई डिल्लीरामको मतान ? यी ढकालबाले रोपेका बर–पीपल पनि कत्रा भएछन् ? यहाँ कसले चौतारो बनाएछ ? पौडेलले कट्टुसघारी पनि मासेर खेत पो खनेछ । अँ, अहिले सडक भने पक्की भएछ । ऊ त्यो पर टल्किने के हो ? कसले स्कुल पो खोलेछ कि क्याहा्, गङ्गा ? अहो, त्यो को हो ? कठैबरा ! साइँली अचार्जिनी पो रहिछ । हेर गङ्गा कस्ती चाउरी परिछ ? तर ती सेता कपाडा ? बिचरो अचार्ज साइँलो बितेछ । के हो र गङ्गा मान्छेको जुनी, प्रहरीको जागिरजस्तै त हो नि, हगि !
सञ्चमान र गङ्गाका संवादका केही अंश । उनीहरू भावुक भए, एकअर्कालाई हेरिरहे । फेरि उकालो लागे ।
“मलाई कति माया गर्थ्यो त्यो अचार्ज साइँलो ।” सञ्चमान अतीतलाई सम्झिन थाल्यो । “मसँग हाँस्थ्यो, खेल्थ्यो । ”
उनीहरू अगि बढदै गए, उकालो बाटो, निरन्तर । अलि पर कोही आएको देखेर गङ्गाले सोधी, “उः पर हेरिस्यो त? त्यो को हो?”
सञ्मानले केहीबेर हेरेपछि अनुहारमा विजयको हाँसो ल्याउँदै भन्यो, “कठैबरा, जुफ्ले पो रहेछ । बिचरो इऽऽऽत्रो थ्यो, बूढो भएछ । हेर न गङ्गा, दाँत फुस्केर चिनिनसक्नु भएछ । सम्झिन्छेऊ, घर भित्राउँदा तिमीलाई उसैले बोकेको थियो ?”
सञ्चमानले ङिच्च गर्यो । गङ्गा लजाएर उतातिर फर्किई ।
जाँदाजाँदै ती जोडी त्यस गाउँको बीचमा रहेको मसानघाटछेउ पुगेर उभिए । सञ्चमानको अनुहारको हुलिया एक्कासि बदलियो । ऊ भावुक भयो, आकाशतिर हेर्न लाग्यो । तल्लो ओठ टोकेर एकैछिन उभियो, र डाँको छेडेर करायो, “अमृते !” डाँकोमा गङ्गाको पनि स्वर मिसियो ।
दुर्ईचार दिन साथीभाइको घुँइचो रह्यो । बाल्यकालका दौँतरी, अहिलेका बूढा आफ्नो साथी सञ्चमानलाई भेट्न आए । सञ्चमान उसको सहरको नाउँ थियो, गाउँमा सबै उसलाई मोक्तान काइँलो भन्थे । आफ्नो कीपट छँदैथ्यो । उसले साथीभाइहरूसँग पराल–भाटा मागेर घर तयार गर्यो । गङ्गाले पोल्टामा लुकाएर ल्याएका पैसाले भाँडाकुँडा किनी ।
बिस्तारै सञ्मान त्यस पानीखेती गाउँको सामाजिक जीवनमा फेरि घोल्लियो । ऊ जस्ताको तस्तै थियो – सरस, सोझो, सबैसँग हाँस्ने–बोल्ने । उसँग प्रहरी जीवनका धेरै धेरै अनुभवहरू थिए । फुर्सद पाउँदा सबैलाई सुनाउँथ्यो ती अनुभवहरू । मान्छे सोध्थे, “जागिर किन छोडेर आयौ ?” तर उसले कसैलाई जवाफ दिएन ।
माटो खानु हुँदैन, काम नगरी भएन । सञ्चमानले आफ्नै पुरानो पेसा समात्यो । गाउँका सोझा मानिसहरूका जग्गाका पासपट्टा र धनीपुर्जा बनाइदिन पाउँदा ऊ पनि आनन्दित भयो ।
उसले कार्यालयको अनुभव यथेष्ठ बटुलेको थियो । त्यसैले उसले पनि गाउँमै एउटा अफिस खोल्यो । ऊ भित्रको कोठामा बस्थ्यो । आउनेजानेहरू आफ्नो नाम र काम बाहिर कोठामा बस्ने जेठालाई टिपाएर जाने व्यवस्था मिलाइयो ।
यसरी केही वर्ष बिते । सञ्चमानलाई पनि यो पेसा पोसायो । जेठाको पनि गुजरा चल्यो ।
एकदिनको कुरा हो । सञ्चमान भित्र आफ्नै कोठामा बसेर केही खातापाता हेरिरहेको थियो । जेठो पसेर एउटा कागज टेबलमा राखिदियो । कागजमा वि.सं. १९९० को भुइँचालोमा हराएको एउटा धनीपुर्जाको कपि उपलब्ध गराइदिने निवेदन रहेछ ।
सञ्चमानले ध्यान दिएर पढ्यो निवेदन । बिचरा अचार्ज साइँलाको धनीपुर्जा । ऊ बितेर गइगयो, कसलाई लेखाई होली साइँलीले निवेदन ? यति राम्रा अक्षर कसका होलान् ? हुन त जमाना कहाँ उहिलेजस्तो छ र ? स्कुल खुलेपछि कति निस्के निस्के पढालिखा । उसले यस्तै सोच्यो ।
उसले पत्र अन्त्यसम्म पढ्यो, र अन्त्यमा रहेको निवेदकको नाम र सहीलाई धेरैबेर नियालेर हेर्यो । त्यो परिचित नाम थियो । तर उसलाई लाग्नु पर्ने जति आश्चर्य लागेन ।
फाइल खोल्यो सञ्मानले । कागज फेला पार्यो । त्यसमा नम्बर लेख्यो, र जेठालाई भित्र बोलायो ।
“यो निवेदन कसले लिएर आयो ?”
“एकजना भाइले । उः त्यहाँ हुनुहुन्छ, बाहिर । ”
सञ्चमानले दैलोबाट ढल्केर चिहायो बाहिर । त्यो मान्छेलाई निकैबेर हेरेपछि आफूले लेखेको कागज जेठालाई दिँदै भन्यो, “लौ यो देऊ र सरलाई मेरो सेल्युट भनिदेऊ ।”
जेठो केहीबेर अल्मलियो । मनमा कुरा खेलाउँदै बाहिरियो ।
“बाले भन्नुभएको, सरलाई सेल्युट छ रे ।”
“सर, को सर ? मलाई ? कसले पठायो सेल्युट?”
“अँ, हजुरलाई । भित्र बाले ।”
इन्स्पेक्टर हिमांशुले पर्दाको एक छेउ उठाएर भित्र चिहाए । त्यहाँ सञ्चमान आफ्नै स्वाभाविक शैलीमा मुस्कुराइरहेको थियो । इन्स्पेक्टरलाई देख्नासाथ ऊ जुरुक्क उठ्यो र “सर” भन्दै सलाम गर्यो ।
सुस्त सुस्त पर्दा इन्स्पेक्टरको हातबाट सुल्किँदै ती दुर्ईकोबीच फैलियो ।
केहीबेर पछि बाहिर, अलि परबाट आएको एउटा मधुरो नारीस्वर सुनियो, “काकालाई चिनिनस्? तैँले त बा भन्नुपर्छ ।”
यसको कतैबाट कुनै जवाफ आएन ।
०००
०००