महेश पौड्याल
१.
पानी
धरतीमा
उचाइको सीमा पनि पानी हो
गहिराइको सीमा पनि पानी ।
ऊ सधैँ भन्छ, त्यसैले-
“सगरमाथा टेक्नेहरू हो, मजस्तै झर्न पनि सिक,
रसातलमा खस्नेहरू हो, मजस्तै उठ्न पनि सिक ।”
२.
रुख र हामी
पहाडजस्तै पुरानो त्यो रुख
र हामी
सगैँ लडेका हौँ, जमिनमा ।
हामी अतीतको गर्तमा एक अकथा बनेर हरायौँ
रुखले फेरि पालुवा फेर्यो
र बोलायो फेरि अर्कोे एउटा वसन्त ।
३.
माइतीको देश
चेलीले पल्लो डाँडोमा उक्लेर गाइन् गीत—
“त्यै र पापी तमालैले
छेक्यो बरै माइतीको देश !”
घरबाट बूढा बाले भने-
“कहिलेबाट कमजोर देखिन थाल्यो
हिमाल ढाल्ने मेरो माया
जो तुवाँलोमा छेकियो?
आफ्नै धडकन छाम् छोरी
र त्यसैको मूल पहिल्याएर आइज, घर।”
४.
पेट
उसका कविता र हृदयसरोवरमा भेटिने
प्रेम लहरी र मानवताका गीत
तथा उसले दिनहुँ खोल्ने र बन्द गर्ने
सडक किनारको खानदानी बधशालाबीच
फगत एक पेटको दूरी त छ !
पेटमा टेकेर ऊ कवि बन्न सक्छ कि सक्दैन ?
कविताको मुटुमै टेकेर ऊ पेट भर्न सक्छ कि सक्दैन ?
५.
समय
हेरिरह्याे उसले
अाफ्नै वृत्तमा चक्कर काटिरहेकाे
घडीकाे काँटालाई
एक फन्काे मारुञ्जेल ।
यसै बेला
यसकाे जिन्दगीकाे बहीखाताबाट
उडिगएछ एउटा स्वर्णीम पाना
र अाकाश बनेछ ।
(पौड्यालको भोली चैत १७ गते आइतबारबाट पाठकमाझ आउने तयारीमा रहेको कविता संग्रह “शून्य प्रहरको साक्षी” बाट)
०००
०००