पहिलो घटना
करिव दुई महिना अघिको कुरा हो । कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको अंग्रेजी माध्यमबाट पढाइ हुने एउटा विद्यालयमा म पुगेको थिएँ । विद्यालयमा पुगेपछि अंग्रेजी माध्यमबाट पढाइ भैरहेको थाहा पाइयो । कम्तिमा ८ वर्षको उमेर सम्ममा मातृभाषाबाट वालवालिकालाई सिकाउँदा उसले धेरै भन्दा धेरै ज्ञान हासिल गर्न सक्छ भन्ने तथ्य पढेको मैले बालबालिका विद्यालय प्रवेश गर्दादेखि नै अंग्रेजी माध्यमबाट पढाउँदा कस्तो प्रभाव देखिएको रहेछ भनेर जान्न खोज्नु कुनै नौलो कुरा भएन ।
सबैभन्दा पहिले मैले विद्यार्थीहरुसँग अन्तर्क्रिया गरेँ । शुरुमा नखुलेका विद्यार्थीहरुको विश्वास जितेपछि अन्तरंग कुराकानी शुरु भयो । एक जना विद्यार्थीको कुरा सुन्दा त मलाई यस्तो लाग्यो कि हामीले अंग्रेजी माध्यमको नाममा भोलीका कर्णधारमाथी घोर अन्याय गरिरहेका छौँ । राम्रो बनाउने नाममा बालबालिकाहरुको श्रृजनशीलता निमोठिरहेका छौँ । तपाईले कल्पना पनि गर्न सक्नुहुन्न ।
“शिक्षकसँग कति बोल्न र सोध्न मन लाग्छ तर सोध्नै सक्दिनँ ।” उनले भने,”कक्षामा अंग्रेजी भन्दा अरुमा बोल्न-सोध्न नपाईने नियम छ, नेपालीमा बोल्न पाइँदैन, बरु भो नभनौं भनेर चुप लाग्छौँ, प्रश्न सोध्दा नमिलेर साथीहरु हाँस्छन् कि भनेर लाज पनि लाग्छ ।”
अंग्रजी माध्यमबाट पढाइ हुने भए पछि परिक्षा पनि अंग्रेजीबाटै हुने भयो । परीक्षामा नेपाली बाहेकका अरु विषय अंग्रेजीमै लेख्नु पर्छ । विद्यार्थीले जानेकै कुरा पनि माध्यमका कारणले लेख्न नसक्दा समस्या हुँदो रहेछ । विद्यार्थीहरु नलेख्नुभन्दा जे होला होला भनेर रोमनमा लेख्दा रहेछन् । अक्षर त अंग्रेजी भयो नि !
यस्तो तरिकाले अंग्रेजीमा पढिरहेका छन् विद्यार्थीहरूले । न उसले नेपाली राम्रोसँग जान्यो, न ऊ अंग्रेजीमा नै पोख्त भयो । जसले गर्दा विद्यालयमा विद्यार्थीहरुको अवस्था यस्तो विकराल छ । यसको असर अरुलाई नभएर सिधैं विद्यार्थीहरुलाई परेको देखिन्छ । परीक्षा आए पछि विद्यार्थीहरुले हिंसा महसुस गरेको देखिन्छ ।
दोस्रो घटना
कक्षाकोठामा विद्यार्थीहरुसँग छलफल गर्दा जति अचम्मित थिएँ म, त्यो भन्दा धेरै शिक्षकहरुसँगको छलफलमा भएँ । विद्यार्थी भन्दा शिक्षकहरु पो अझ धेरै पिडामा रहेछन् । शुरुमा अंग्रेजी माध्यमको खुलेर वकालत गरिरहेका अनि प्रगति सुनाइरहेका सरहरु पनि घनिभूत छलफल शुरु भएपछि पिडा, निरासा र कुण्ठाहरु ओकल्न थाल्नुभयो । हेडसर विद्यालयमा नआएको मौकामा र स्तम्भकारले खोतल्न चाहेको कुरा बुझेपछि उहाँहरु खुल्न थाल्नुभयो ।
“अहिले सम्म नेपाली माध्यममा पढाउँदै आएका, नेपाली मै पढाउँछु भनेर पेशामा छिरेका हामीहरुलाई यसरी अहिले अंग्रेजी पढ्नुपर्ला भनेर कसैले सोचेको थियो ? एक्कासी अंग्रेजीमा पढाऽऽ भनेर त जादुको छडी जस्तो त हुन्न अहिलेको अहिल्यै भाषा बदल्ने, जिब्रो बदल्ने भन्ने त सम्भव छैन नि !” एकजना शिक्षकले भन्नुभयो,”नानी देखि लागेको बानी त छुट्दैन । हेडसरहरु, विव्यस र स्थानिय सरकारले पनि राम्रो बनाउने नाममा अंग्रेजी माध्यम गर् कि गर् चाँही भन्ने तर, उनीहरुलाई त्यसरी तयार नगर्दा हुने यस्तै हो नि ।”
उहाँले थप्नुभयो–”मैले एउटा पुस्तकमा पढेको थिएँ अहिले अंग्रेजी माध्यमबाट पढाउने विद्यालयका शिक्षकलाई बारी जोत्दा दाहिने जोत्ने गोरुलाई देब्रे जोत्दा कस्तो हुन्छ, हो त्यस्तै भएको छ ।”
अहिले देशका धेरै विद्यालयमा रहेका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाउने संस्कृति शुरु भएको छ । आम जनमानसमा झट्ट हेर्दा विद्यालय सुधारको लागि निकै उपयोगी र राम्रो भएको प्रतिक्रिया पनि यस कामले पाउने गरेको छ । कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको सन्दर्भमा भन्ने हो भने त झन् केहि राम्रो गरिरहेका विद्यालयहरुले नै अंग्रेजी माध्यमबाट पढाउन शुरु गरेको अवस्था छ ।
तर वास्तवमा मसिनो ढंगले केलाउने हो भने अहिले सामुदायिक विद्यालयहरुले शुरु गरेको अंग्रेजी माधयमको पढाइ साँच्चै आवश्यकता हो कि एउटा लहड ? अनि निजी विद्यालयका अगाडि अव्वल सावित गर्न खोजिएको पिसावको न्यानो हो कि शिक्षकले आफ्ना कमजोरी लुकाउन विद्यार्थीमाथी थोपरिएको भार ? यसबारेमा तथ्यगत विश्लेषण र वहस हुनु जरुरी छ ।
माध्यम महत्वपुर्ण कि सिक्ने कुरा ?
विद्यार्थीले आफुले बोल्ने भाषामा पढ्न लेख्न पाउँदा सहजै सिक्न सक्छन् । कक्षामा नबुझेको कुरा शिक्षकलाई सोध्न, साथीहरुबीच अन्तरक्रिया गरी रचनात्मक तरिकाले सिकाइलाई गति दिन सक्छन् । तर सामुदायिक विद्यालयमा समेत लहडको रुपमा अंग्रेजी माध्यमबाट शिक्षा दिने क्रम बढ्दो छ । शिक्षाको गुणस्तर र अंग्रेजी माध्यमको शिक्षा विलकुल फरक अवधारणा हुन् ।
अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्नु गुणस्तरीय शिक्षा होइन । शिक्षाको गुणस्तर विद्यार्थीको सिकाइ स्तर, उनीहरुमा आउने असल परिवर्तन, सिकारुले हासिल गरेका जीवनोपयोगी सीप, उनीहरुले आत्मसाथ गरेका सकारात्मक धारणा जस्ता कुराले निर्धारण गर्दछ । आफुले पाएको शिक्षाबाट आत्मनिर्भर बन्न सक्नु गुणस्तरीय शिक्षाको मापन गर्ने दरिलो आधार हो ।
तर आज कनीकुथी अंग्रेजी माध्यममा पढ्नु, पढाउनुलाई गुणस्तरीय शिक्षा भन्ने भ्रम हामीकहाँ छ । उदाहरणको लागी तपाइलाई गाईको विषयमा बोल्न लगाइयो भने नेपाली भाषाबाट शिक्षकले हजार बढी कुरा सिकाउन सक्छ । उसले गाईको विषयमा बुझेका, जानेका, सुनेका, देखेका, भोगेका सबै कुराहरुको फेहरिस्त विद्यार्थीहरुका सामु राख्न सक्छ। त्यही कुरालाई अंग्रेजीबाट भन्दा उसले विद्यार्थीलाई भन्ने कुराहरु आधा कम भैसक्छ । शिक्षकले नै आधा सिकायो भने विद्यार्थीले बुझ्ने कति ?
पछिल्ला दिनहरुमा अंग्रेजी माध्यममा शिक्षा दिने लहड गाउँगाउँमा फैलिएको छ । संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्नको लागि पनि विद्यार्थीलाई विना तयारी हचुवाको भरमा अंग्रेजी माध्यममा पढाइदै आएको छ । सामुदायिक विद्यालयमा आवश्यक मात्रामा अंग्रेजी विषय शिक्षक त उपलब्ध नभएको अवस्थामा लहडवाजीको रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिँदै आएको छ जुन विलकुलै अनावश्यक छ ।
अंग्रेजी माध्यममा शिक्षा दिनको लागि सर्वप्रथम शिक्षकलाई भाषामा दक्ष बनाउनु जरुरी छ । आवश्यक तयारी बिना शिक्षक तथा विद्यार्थीमा अंग्रेजी माध्यम लादिनुले सिकाई उपलब्धी स्तर र विद्यार्थीको सिर्जनशिलतामा प्रहार गरेको छ । विद्यार्थी आफ्नो दिमागले विश्लेषण गर्न नसक्दा पाठ्यपुस्तक हुबहु घोक्न बाध्य छन्, घोकेको भन्दा बढी लेख्न सक्दैनन् अनि थोरै मात्र प्रश्नहरु घुमाउँदा पनि कुहिरोको काग जस्तै अलमलिन्छन्, हराउछन् र हल गर्न सक्दैनन् ।
विद्यालय तहको शिक्षाको माध्यम अंग्रेजी आवश्यकता हो वा केवल लहड ? यसबारेमा हामीले एकपटक सोच्नुपर्ने बेला आएको छ । अनिवार्य अंग्रेजी नै प्रभावकारी ढङ्गले पढाउँदा मात्र पनि अंग्रेजी भाषा सहजै सिक्न सकिने कुरामा दुइमत छैन । अनि सिँगो शिक्षा प्रणाली नै अंग्रेजी माध्यममा लैजानु किन जरुरी छ ? भर्खर बोली फुटेका कलिला बालबालिकाहरुलाई जबरजस्ती अंग्रेजी भाषा बोल्न र सिक्न लगाउँदा ऊ कसरी विद्यालयमा रम्न सक्छ ? उसले आफ्ना समस्या कसरी सहजै राख्न सक्छ ? यस्ता कुराको विचार गर्नुपर्दैन ?
नेपालका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम र संस्थागत विद्यालमा विद्यार्थी संख्या उच्च हुनुमा नेपाली र अंग्रेजी भाषाको भिन्नतालाई प्रमुख कारणको रुपमा लिएको पाइन्छ जुन विलकुल गलत छ । निजी विद्यालयले प्रदान गरेका अन्य सेवा सुविधा, खेलकुद, अतिरिक्त क्रियाकलापको उचित प्रबन्ध, विद्यालयमा अपनाइएका आधुनिक प्रविधिका नविनतम शिक्षण विधि र आशालाग्दो नतिजाको कारण आम मानिसको आकर्षण संस्थागत विद्यालयतर्फ बढेको मात्र हो । निजी विद्यालयका शिक्षकहरुको मेहेनतलाइ हेर्नुभयो भने निजी विद्यालयको सिकाइ उपलव्धी गुणस्तरीय देखिनु कुनै नौलो कुरा हैन । सामुदायिक विद्यालयमा अहिले सम्म मैले हेरेका विद्यालयमा शिक्षकहरुले पाठयोजना बनाएर शैक्षिक सामाग्रीको भरपुर प्रयोग गरेर सिकाउने गरेका उदाहरण सायदै छन् ।
भाषा त सञ्चारको महत्वपूर्ण माध्यम हो । जब विद्यार्थीले सहज तरिकाले आफ्नो विचार राख्न, अन्तरक्रिया गर्न नै पाउँदैनन् भने उनीहरुको सिकाइमा कसरी सक्रिय सहभागिता हुन्छ ? यस्ता कुराको गम्भिर विश्लेषण हुन जरुरी छ ।
दक्ष जनशक्ति अंग्रेजी भाषाको कारण भन्दा पनि सीपको माध्यमबाट तयार हुने हो । भाषा त केवल सञ्चारको माध्यम हो, जसलाई छोटो समयको अध्ययनबाट पनि सम्पन्न गरी दक्षता हासिल गर्न सकिन्छ । नेपालमा पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरुले दैनिक अभ्यास कै क्रममा पनि सहजै अंग्रेजी भाषामा दक्षता हासिल गरेको देख्न सकिन्छ । वैदेशिक रोजगारमा गएका दाजुभाइ तथा दिदिबहिनीहरुले पनि दैनिक अभ्यास कै क्रममा अंग्रेजी र सम्वन्धित देशको भाषामा दक्षता हासिल गरेको देखिन्छ । यसकारणले पनि विद्यालयमा शिक्षाको माध्यम अंग्रेजी बनाउनु आवश्यक छैन । बरु अनिवार्य अंग्रेजी पढाउनको लागि दक्ष शिक्षकको अविलम्ब व्यवस्था गर्नु नै सरकार र सरोकारवालाहरुलाई चुनौति भएको छ ।
अंग्रेजी माध्यमको शिक्षाले विद्यार्थीको सिर्जनशिलतामा नराम्रो प्रहार गरेको, विद्यालयभित्रै जान्ने र नजान्ने विद्यार्थी भनी वर्गीकरण गरी विभेदकारी वातावरण सिर्जना गरिएको, सबै विषयगत कक्षाहरु अंग्रेजी भाषा सिक्ने थलो बनेको, शिक्षण सिकाइ झन् बढी पाठ्यपुस्तक र शिक्षण केन्द्रित भएको विद्यार्थी खुलेर सिक्ने र शिक्षकले खुलेर पढाउने अवस्था बन्द भएको छ । त्यसकारण माध्यम ठुलो होइन सिक्ने कुरा महत्वपुर्ण हो । अंग्रेजी भाषा जान्नु अनिवार्य भए पनि माध्यम भाषा नै बनाउनु गलत हो ।
के भन्छ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ?
अंग्रेजी भाषाको माध्यमबाट बालबालिका पढाउने चलन बढेका बेला उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले भने कक्षा ८ सम्मको पढाइ मातृभाषाको माध्यमबाट गर्दै बहुभाषिक शिक्षा प्रणाली लागु गर्न प्रस्ताव गरिसकेको छ । शैक्षिक गुणस्तरको नाममा अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा बालबालिकाले घोकेको भरमा प्राप्तांक हासिल गर्न सके पनि सिकाइको अवस्था खस्कँदो रहेको आयोगले तथ्यांक प्रस्तुत गरेको देखिन्छ । आयोगले प्रस्तुत गरेको तथ्यांक अनुसार ८ वर्षसम्म मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा प्रणाली अपनाएका विद्यार्थीको सिकाइ उपलब्धी दर (विज्ञान, गणित तथा अंग्रेजीलगायतका विषयमा) ६ वर्षमात्र बहुभाषिक शिक्षा प्रणाली अपनाउने जिल्लाको तुलनामा धेरै उच्च रहेको उल्लेख छ ।
आयोगका अनुसार अंग्रेजी माध्यममा पढाउँदा अन्य विषयको सम्भावित उपलब्धी पनि नभएको र अंग्रेजीमै पनि राम्रो दखल नदेखिएको अध्ययन प्रस्तुत गरिएको छ । यसैगरी, कक्षा १ मा भर्ना भएकामध्ये ठूलो संख्यामा प्रत्येक वर्ष विद्यार्थी बीचमै हराउने प्रमुख कारणमध्येको एउटा कारणको रुपमा विद्यालयमा आफ्नै मातृभाषामा पठनपाठन नहुनुलाई समेत मानिएको छ ।
मातृभाषामा आधारित बहुभाषिक शिक्षा किन आवश्यक छ ?
बालबालिकाहरुले आफ्नो मातृभाषा पहिल्यै जानेका हुन्छन् । विद्यालयमा भर्ना भएपछि बलबालिकाहरू आफ्ना वरिपरिका, सम्पर्कमा आइरहने वस्तुहरू देखेर वा छोएर अनुभुति गर्न सकिने र नमुना देखाएर स्पष्ट पार्न सकिने ठोस (जस्तै आँप, सुन्तला, टेवल, ढुङ्गा आदि) चिज वा बस्तुका बारेमा कुराकानी गर्न थाल्दछन् । यस्ता विषयमा तिनीहरू आफ्नै मौलिक लवजमा सुरुसुरुमा बोल्न सक्छन् । बालबालिकामा आफ्ना मातृभाषाका ब्याकरणको सामान्य जानकारीका साथै ठोस वस्तुहरूको सामान्य शव्दभण्डार पनि हुन्छ । उनीहरू सहजरूपले मातृभाषामा आफ्ना आधारभूत आवश्यकतावारे व्याख्या गर्न सक्छन् र तिनीहरूमा आपसी सञ्चारका सीप पनि हुन्छ ।
शिक्षाविद् तोभे स्कुतनाब काङगासका अनुसार कक्षा कोठामा पनि बालबालिकाले चिनेजाने कै चिजबिजका बारेमा शिक्षकहरूले कुरा गर्ने भएकाले तिनीहरूलाई पहिलो कक्षामा पठनपाठनका क्रियाकलापमा भाग लिन सहज हुन्छ । तर पछि गएर भाषागत रूपले बढी अमूर्त र बौद्धिक अवधारणाको जानकारी राख्नुपर्ने हुन जान्छ । आफुभन्दा टाढा रहेका र आफुले नदेखेका कुराहरूका बारेमा (जस्तै भूगोल, इतिहास) तथा देख्न नसकिने अवधारणाबारे (जस्तै गणित वा बिज्ञानका अवधारणा, इमान्दारीता, संबिधान, सुन्दरता आदि) जान्नु तथा बुझ्नु जरुरी हुन्छ । यस अवस्थामा उनीहरूले अमुर्त चिन्तन तथा तर्कको प्रयोग गरेर समस्याको समाधान खोज्नु पर्ने हुन्छ । मातृभाषामा पहिल्यै जानेबुझेका र देखेसुनेका कुराहरूका आधारमा बच्चाहरूले यस्ता अमूर्त अवधारणाको विकास गर्छन् ।
त्यसैले यदि बालबालिकालाई यस्ता बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणताको विकास गर्ने उचित अवसर दिन सकिएन भने तिनीहरूमा पछि कहिल्यै कुनै पनि भाषामा यस्ता कल्पनाको विकास हुन गाह्रो पर्दछ ।
यदि बालबालिकालाई उनीहरूका आ-आफ्नै मातृभाषाको माध्यमबाट सिक्ने अवसर प्रदान गरियो भने पढाएका कुराहरू राम्ररी वुझ्छन, सिक्छन् र बौद्धिक चिन्तन तथा प्राज्ञिक भाषिक प्रविणता हासिल गरेर आफुलाई भविष्यमा योग्य एवं विचारवान् व्यक्तिका रूपमा विकसित गर्न तथा आफ्नो अध्ययनलाई निरन्तरता प्रदान गर्न सक्छन् । बच्चाहरूले जीवनमा एक पटक लेखपढका सिप सिक्नै पर्दछ जो आफ्नेै मातृभाषामा सवै भन्दा सजिलोसँग हुन्छ । मानिसको सुनाइ र बोलाइ बीचको सम्वन्ध र भाषाको लेखपढका प्रवृत्तिवारे आफ्नो मातृभाषामा एकपटक बुझेपछि त्यो सिकाइलाई बच्चाले अन्य भाषामा सहजै रूपान्तरित गर्न सक्छन् (लिपि फरक हुँदैमा त्यसले सिकाइको स्थानान्तरनमा केही फरक पर्दैन ।)
शिक्षाविद् काङगास भन्छन् – यसरी मातृभाषाका धरै अमूर्त अवधारणमा दक्षता हासिल गरेपछि त्यसलाई सहजरूपले नेपाली भाषामा सहजै रूपान्तरित गर्न सक्छ । त्यसका लागि केवल नेपाली भाषाको शब्द जाने पुग्छ विषयगत जानकारी पहिल्यै हासिल गरिसकेको हुन्छ । यसरी मातृभाषा र नेपाली भाषामा दक्षता हासिल गरेर द्विभाषिक भइसकेपछि अंग्रेजी लगायत अन्य भाषाको सिकाइ छिटो र सरल हुनजान्छ र छोटै अवधिको प्रयास र सम्पर्कमा पनि बच्चाले सजिलै र राम्रैसंग अंग्रेजी सिक्न सक्दछ ।
संसारभरका विभिन्न मुलुकमा गरिएका अध्ययन तथा अनुसन्धानले बच्चालाई मातृभाषाका माध्यमबाट शिक्षा हासिल गर्न जति लामो अवसर प्राप्त हुन्छ त्यसै अनुपातमा उसका विषयगत सिकाइ पनि राम्रो हुन्छ र मुलुकको प्रमूख भाषा लगायत अन्य भाषा पनि त्यतिनै सरलता र प्रभावकारीतापूर्वक सिक्न सक्दछ । बच्चाका शिक्षण सिकाइका नतिजा उसका बाबूआमाको आर्थिक हैसियतमा भन्दा उसले मातृभाषामा कति अवधिको शिक्षा पाएको छ त्यसमा बढी भर पर्दछ अर्थात् बहूभाषिक शिक्षा गरीब बाबूआमाका सन्ततिको सिकाइ उपलव्धी बढाउनमा सहायक हुन सक्दछ ।
ऐन नियमले के भन्छ ?
शिक्षा ऐनको दफा ७ (१) ले विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुबै हुनेछ भन्ने व्यवस्था गरेको छ । उक्त दफाको उपदफा २ को खण्ड (क) मा प्राथमिक शिक्षा मातृभाषामा दिन सकिने छ भन्ने उल्लेख छ ।
नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई मौलिक हक अन्तर्गत राखिएको छ । धारा ३१ को उपधारा (५) ले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भन्ने उल्लेख छ ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को दफा २८ (१) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायका नागरिकलाई आफ्नो मातृभाषामा आधारभूत तह वा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ भन्ने उल्लेख गरिएको छ । संविधान तथा कानुनमा मातृभाषामा शिक्षा प्राप्त गर्ने हक हुनेछ भनेर लेखिदिने तर दुर दराजका सामुदायिक विद्यालयमा समेत देखासिकी-होडबाजीको लहडमा अंग्रेजी माध्यममा शिक्षा दिनु कति जायज र आवश्यक हो यसको गम्भिर विश्लेषण हुनु जरुरी छ ।
अन्तर्राष्ट्रिय परिदृश्यको अवस्था नियाल्दा जापान, स्वीटजरल्यान्ड, इजरायल, इटाली, अर्जेन्टिना, बंगलादेश, श्रीलंका जस्ता अधिकांश देशहरुमा सामुदायिक विद्यालयलाई प्राथमिक तहमा अंग्रेजी माध्यमको प्रयोग गर्ने अनुमति छैन । अझ साउदी अरब, इजरायल, इराक, इरान, ब्राजिल जस्ता धेरै मुलुकमा माध्यमिक तहमा पनि अंग्रेजी माध्यमको प्रयोग नै गरिएको पाइँदैन ।
तर नेपालमा अंग्रेजी माध्यमको लहर चलेको छ । विद्यार्थी तथा तिनका अभिभावकलाई अंग्रेजी माध्यमको ललीपप देखाएर विद्यालयमा विद्यार्थी भर्ना गरिन्छ, शिक्षकहरुले पनि कनीकुथी पाठ्यपुस्तक पढाएर बुझाएको अभिनय गर्छन् । विद्यार्थीले पनि सकीनसकी पाठ्यपुस्तकको सुगारटाई गर्ने प्रयास गर्छन् परिणाम स्वरुप गुणस्तरीय शिक्षाका मूलभूत पक्ष सिकाइमा सहभागिता, अन्तरक्रिया र सिकाइमा लगानी, सोच्ने समय र अभ्यासको घाँटी निमोठिन्छ । जापान, चिन कोरिया जस्ता मुलुककका नागरिक पनि अंग्रेजी भाषामा कमजोर नै भए पनि दक्ष छन् तर नेपाली समाजमा अंग्रेजी भाषामा पोख्त भई युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा गई विलिन हुनु नै विकास र प्रगती हो भन्ने भ्रम फैलिएको छ जसलाई रोक्नु आवश्यक छ ।
०००
०००