Logo

कविताः सेतो रंग



Spread the love

सेतो रंग ,

यो कुनैबेला

मेरो सबैभन्दा मनपर्ने रंग थियो

किनकी मैले सुनेको थिएँ,

ठ्याक्कै यस्तै हुन्छ रे

डाक्टरले लगाउने एप्रोनको रंग ।

त्यतिबेला

जैल्यै निधारमा रातो टिका लगाइदिँदा

ती सेता कपाल भएका हजुरबा

खै के-के के-के फलाक्नुहुन्थ्यो

र अन्त्यमा यही भन्नुहुन्थ्यो,

“डाक्टर बनेस् छोरो !”

म ङिच्च सेता दाँत देखाइदिन्थेँ ।

लाग्थ्यो,

सेतो भनेको त सौभाग्यको रंग हो !

सेतो रङ्ग सेवाको प्रतिक हो, सद्भावको प्रतिक हो !

सदाचारको प्रतिक हो, शुरक्षाको प्रतिक हो !

त्यसैले,

सेतो मेरो सपनाको रंग थियो ।

तर म जतिजति बुझ्दै गएँ

उती-उती बाझिँदै गए मेरा बुझाइहरु

उती-उती बुझ्नै सकिनँ मेरा बुझाइहरुलाई ।

सिमिकोटमा महिनौँदेखी ताला झुण्डिरहेको

अस्पतालको भवन हेरेर

चुक्क चुक्चुकाउँदै फर्कँदा,

जब नेपालगन्जको एक महङ्गो क्लिनिकमा भेटेँ

सरकारी तलब र दुर्गम भत्ता सहित

आक्कलझुक्कल सिमिकोटतिर झुल्कने

एउटा सेतो एप्रोन,

बुझ्नै सकिनँ,

मैले सेवाको प्रतिक मान्दै आएको

यो एप्रोनको सेतो रंग

कतै स्वार्थको प्रतिक त हैन ?

जुन दिन मैले सुनेँ,

कमिसनको आयतन नापेर

कायम गरिन्छ रे औषधिहरुको गुणस्तर !

बाझिँन थाले मेरा बुझाइहरु,

मैले सदाचारको प्रतिक मान्दै आएको

यो एप्रोनको सेतो रंग

कतै

कुनै फर्मास्युटिकल कम्पनीको रात्रीभोजपछिको बिहान

सिद्धान्तहरुको स्वप्नदोष भएर स्खलित

लगौँटीका सेता टाटाहरुको प्रतिक त होइन ?

जब कुनै दिन

काला झण्डा बोकेर सडकमा चिच्याइरहेको देखेँ

सेता एप्रोनहरुलाई

र त्यति नै बेला देखेँ,

अस्पतालको बन्द ढोका बाहिर

सेतो कपडामा बेरिँदै गरेको शरीर

फेरि थपियो अर्को एउटा प्रश्न,

मैले शुरक्षाको प्रतिक मान्दै आएको

यो एप्रोनको सेतो रंग

कुनै सामन्ती शासकको प्रतिक त हैन ?

साँच्चै ,

जतिजति बुझ्दै जान्छु

उतिउती बुझ्नै सकिरहेको छैन,

यो एप्रोनको सेतो रंगले के सङ्केत गरिरहेको होला ?

स्वच्छता या सजिलै मैलिने क्षमता ?

अचेल हरेक दिन जसो,

बेस्सरी हिर्काउँछन् यी प्रश्नहरुले कन्चट तात्ने गरी ।

म रन्थनिन्छु, छटपटिन्छु, अलमलिन्छु,

अनि आफ्नै एप्रोन हेर्छु,

खोल्छु, पट्याउँछु, फेरि फुकाउँछु,

हेर्छु, हेरिरहन्छु, घोरिइरहन्छु घन्टौँसम्म ,

यो एप्रोनको सेतो रंगलाई

कसरी स्थापित गराउने  होला आम-मानसपटलमा

मेरो बालमष्तिस्कमा जस्तै

सेवा, सदाचार, समानता, सद्भाव र शुरक्षाको प्रतिक भनेर ।
लेखकबाट थपः

गाउँमा आमुल परिवर्तन भइसक्यो

काठमाडौं मेडिकल कलेज सिनामंगलमा एम.बी.बी.एस. अध्ययनरत गोर्खालि सल्लेरीखबरमा सामाजिक कटु-यथार्थ माथिको दृष्टिकोण बारे कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्