(त्रिभुवन जन मावि, लुहापिङ, सल्यानको स्मारिकाबाट साभार)
सल्यानको रानीकोटमा जन्मे–हुर्केर, हाम्रै लुहापिङ स्कुलमा पढ्नु–पढाउनुभएका ‘ग्लोबल सिटिजन’ डा. प्रेम भण्डारीले क्यानडाको अल्बर्टा विश्वविद्यालयमा २ वर्ष पढाउनुभयो । सन् २००९ देखि अमेरिकाको मिचिगन विश्वविद्यालयमा जनसंख्यासम्बन्धी सामाजिक अनुसन्धानमा कार्यरत हुनुहुन्छ । अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त सामाजिक अनुसन्धाता डा. भण्डारीसित विमल आचार्यको इमेल–वार्ता :
मेरो जन्म
म साधारण किसान परिवारमा जन्मेको हुँ । तत्कालीन सेजवालटाकुरा गाउँ पञ्चायतस्थित रानीकोटको भरारी टोल (तल्नो गाउँ) मा बा स्व. जीतबहादुर भण्डारी र ज्यै सावित्रा भण्डारीको कोखमा २०१९ सालमा जन्मेको हुँ । मेरा एकमात्र दाइ डिल्लीबहादुर भण्डारी हुन् । जन्मेको केही महिनामै मेरी दिदीले यो संसार छोडेको कुरा मेरी ज्यै बेलाबेला सुनाउँछिन् ।
मेरो बाल्यकाल
मेरो बाल्यकाल (जन्मेदेखि १६ वर्षको झिल्के हुँदासम्म) रानीकोटमै बित्यो । म संयुक्त परिवारमा (संख्यात्मक हिसाबले ठूलै परिवार थियो) जन्मेको हुँ । यो घरमा मेरा बाजे र बै (शेरबहादुर र विष्णु), दुईजना ठूलोबाका परिवारसहित हामी बस्थ्यौँ । म जन्मेको (जर्मेको) केही महिनापछि नै हाम्रो ठूलो परिवार छुट्टाभिन्न भयो । परम्पराअनुसार ‘जेठोलाई जेठाक, कान्छालाई घर’ भन्ने चलन भए पनि मेरा बालाई म जन्मेको मूलघर भागमा परेनछ । त्यसैले हाम्रो परिवार बेग्लै घरमा बस्न थाल्यो । जुन खरले छाएको गोठ थियो । छुट्टिँदा कान्छो छोराको परिवार आमाबासँग बस्ने चलन भएकाले हामी बाजे र बैसँगै बस्ने भएछौँ । पछि मेरी आमाले मेहनत र पसिनाले ढुंगे घर बनाउनु भयो । यो घर अहिले बेचबिखन गरी आमा र दाइको परिवार दाङमा बस्दै आउनु भएको छ । हाल मेरी जीवनसाथी उषा र दुई छोराहरु आशिष र आवेशसँग अमेरिकाको मिचिगन राज्यको एन आर्बर सहरमा सन २००९ देखि बस्दै आएका छौं । यसभन्दा अघि सन् २००७ देखि २००९ सम्म क्यानडाको अल्बर्टा राज्यमा बस्ने सौभाग्य मिल्यो । त्यसभन्दा पहिले अमेरिकाको पेन्सिलभानिया राज्यको सानो सहर स्टेट कलेजमा सन् २००० देखि बस्दै आएका थियौं ।
हामी भिन्न भएको केही महिनामै मेरो बाको स्वर्गवास भएछ । यो बेला म करिब डेढ वर्षको मात्र रहेछु । त्यसैले मैले बाबाट सिक्नुपर्ने कुरा सिक्न पाइनँ । मेरो बाजे र माइँलो ठूलो बाले भने केही मात्रामा भए पनि त्यो पूरा गर्नुभएको थियो । बाल्यकाल सम्पूर्ण रुपले बाजे बै, ज्यै र मेरा दाइसँगै बित्यो । त्यसमा पनि मेरी ज्यै खेतीपातीमै समय बिताउनुपर्ने हँुदा मेरो अधिकांश समय घरमा बैसँग बित्यो । त्यसैले मैले मेरी बैसँग धेरै सिक्ने मौका पाएको छु ।
जब म स्कुल जान सुरु गरेँ, मेरो दिनचर्या फेरियो । म १ कक्षादेखि नै पिपलनेटा स्कुल (श्री महेन्द्ररत्न प्रा. वि.) मा पढ्न थालेँ । मेरी बै र ज्यैले भन्ने गर्थिन्, म सानैदेखि एकदम मेहनती थिएँ रे । पढाइ हुँदा स्कुल नै मेरो दिनचर्या थियो । बिहानै स्कुल जाने र स्कुलबाट आएपछि धेरैजसो समय अम्रैटाकुरामा भलिबल र डन्डिबियो खेल्ने त रुटिन नै थियो । अनि मीनपचासको जाडो बिदामा बिहान बारीमा मल फाल्न जाने, फर्कंदा सोत्तर खेरेर ल्याउने र दिउँसो ग्वाला जाने दैनिकी नै थियो । साथीसँग वनजंगल र ग्वाला जाँदा साह्रै रमाइलो हुन्थ्यो । वनमा सिम्ता पोलेर खाने, खोपी खेल्ने र वनमा लुकामारी खेलेको त कहिल्यै बिर्सन्नँ । चैत वैशाखको गर्मीसँगै नयाँ पालुवामा लुकेका काफल, एेंसेलु, चुत्रा, तीनुका बोट धाउँदै, र साउन भदौमा अम्रै, नास्पती र आरुका बोट चाल्ने अनि च्याउ खोज्दै जंगल चहार्ने र दसैँँ तिहारताका बेलौतीमा खुबै रमाइयो । तीज ताका काँक्रा चोरेको र भैली खेल्न जाने निहुँमा सुन्तला चोरी खाँदाको मजै अर्कै । मेरो बाल्यकालमा सधैं पछि लगाउने, माया गर्ने, गाली गर्ने, पिट्ने र मेरो हेरविचार गर्ने र सारोगारोमा हेर्ने मेरा खुइता दाइ (जगतबहादुर भण्डारी) हुन् । यी मेरो बाल्यकालका अनुभव र मैले मेरी बै र मेरा साथीहरुबाट सिकेका कुराले मेरो जीवनमा धेरै प्रभाव पारेका छन् ।
मेरो रहर
बाल्यकालमा मलाई पढिगुनी ठूलो मान्छे बन्ने र समाजको सेवा गर्ने रहर थियो । यो विचार मैले मेरी बैसँग सिकेको थिएँ । बैले जहिले पनि घरमुन्तिरको बाँसको झाङ देखाएर ठूलो भएपछि त्यस्तै गरी निहुरिनु पर्छ भन्नुहुन्थ्यो । सायद मेरी बैको प्रेरणाले होला, मेरा साथीहरु जस्तो कालापारतिर भाग्ने सोच कहिले पनि पलाएन । अलि बुझ्ने भएपछि डाक्टर बनेर सेवा गर्ने रहर पलायो । मेरा यी रहर पूरा भने भएनन् । तर पछि शिक्षण पेसामा लागेपछि यो काममा निकै रमाएँ र रमाउँछु । अब बड्डो भएपछि नजिकै वा टाढा बसेर होस्, आफ्नो गाउँठाउँमा सामाजिक सेवा गरेरै मर्ने रहर छ । आखिर रहर नै त हो । हेरौँ ।
मेरो शिक्षा
मैले मेरो प्राथमिक शिक्षा (१ देखि ५ कक्षासम्म) तत्कालीन श्री महेन्द्ररत्न प्राथमिक विद्यालय, पिपलनेटाबाट पूरा गरेँ । यो स्कुलबाट पढाइ सकी ६ कक्षामा भर्ना हुन लुहापिङ हाइस्कुल गएँ । मेरो घरबाट लुहापिङ करिब १ घण्टा हिँडनुपथ्र्यो । त्यस समयमा सल्यानमा जम्मा ३ वटामात्र हाइ स्कुल थिए (लुहापिङ, थारमारे र शंखमुल) । सदरमुकामको हाइस्कुलमा पढ्न पाउँदा निकै भाग्यमानी ठान्थेँ आफूलाई र रहेछु पनि । रानीकोटबाट लुहापिङ जान १ घण्टाको बाटो छिचोल्न भने त्यति सजिलो थिएन । एक त टाढा, त्यसमा पनि गाउँले टोपी लगाएर आउने ‘पाखे टोगे’ हरुलाई बजारको तत्कालीन सहरीया बस्ती काट्दै लुहापिङ पुग्नु भनेको ठूलै सकस । अरु त अरु, बजारका कुकुर समेतले लखेट्ने । कहिलेकाहीँबाहेक सधैँ हामी ठुल्धाराको बाटो जान्थ्यौँ । जहिले पनि ठूलो समूह बनाएर हिँड्थ्यौँ । रानीकोट, ढाँर, मार्के, पिपलनेटाका सबै विद्यार्थीहरु जम्मा भएर एक हुल भएर हिँड्नुपर्ने बाध्यता ।
सबै जना जैसी ठाँटीमा जम्मा हुन्थ्यौँ । यतातिरबाट पढ्न जाने छोरी मान्छे त कोही थिएनन् । कहिलेकाहीँ अलिकति ढिला भयो कि, घर फर्के हुने । स्कुल टाढा भएर होला, घरसम्म आउँदा साँझै पथ्र्यो, गृहकार्य गर्ने त परै जाओस् । ५ कक्षाको फस्टब्वाई त ६ कक्षामा झन्डै गुल्टेको, अनि ७ मा त २ विषय लागेर प्रमोटेड । ८ कक्षामा पुगेपछि भने मेरा प्रिय साथी अर्जुन घर्तीको (हाम्रो कक्षाको सेकेन्ड ब्वाई, म साह्रै आदर गर्छु) माया र छहारीमा फेरि कक्षामा सास फेर्न थालेँ । हुन त रानीकोटकै मोतीलाल दाइ, क्षेत्रबहादुर दाइ, कृष्णसिंह ठकुरी, निमबहादुर थापा आदि हामी धेरै जना थियौं । तैपनि म ८ कक्षामा पढ्दा रानीकोटबाटै सुवर्णसिंह ठकुरी पनि मसँगै छ कक्षामा लुहापिङ जान थालेपछि धेरै राहत मिल्यो । पछि बिस्तारै मेरा कक्षाका अरु साथीहरु हरिहर श्रेष्ठ, हिमाल श्रेष्ठ, गजेन्द्र श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, रमेश थापा, सुरेश शाह, विजय, तारा, मीन, सौभाग्य, महेश्वर, मुरिल्ला (मोतीराम), ज्युलाका गजेन्द्र बुढाथोकी, रामकुमार खड्गी, महेन्द्र श्रेष्ठ, किशोर श्रेष्ठ, अनि मैसेपानीका महेन्द्र आदि धेरै साथीहरु बनाउन सफल भएँ । हाम्रो कक्षामा केही छात्राहरु पनि थिए (जमुना भँडेल, सुमन प्रधान, मीना श्रेष्ठ, यशोधरा महर्जन, भगवती आदि) । तर केटी साथीहरुसँग बोल्ने भनेको त आकाशको फल थियो त्यसबेला । त्यसमा पनि हामी गाउँले पाखेलाई । अनि मेरो दिदी भिनाजु (पार्वती र गणेश राई, भीमसेनस्थान) को ठूलै सहारा मिल्यो । जसको फलस्वरुप २०३४ सालको एसएलसीमा एकैपटकमा उत्तीर्ण भएँ । त्यसबेला एउटा विषय लाग्यो कि गुल्ट्यो । अर्को साल पूरै विषयको जाँच दिनुपर्ने ।
अब फसाद । एसएलसी पास त भइयो । त्यसपछि के गर्ने ? पढ्ने त मन थियो, तर के विषय पढ्ने, कहाँ पढ्ने, केही पनि थाहा थिएन । अनि आर्थिक स्थिति पनि बलियो नाइँ । त्यसैले पहिलो वर्ष त्यतिकै बित्यो । अर्को वर्ष म कैलालीमा मेरो फुपू फुवाजुको (दुर्गा र वीरबहादर राई) घरमा गएँ । त्यहीँ मैले नयाँ शिक्षाका किताब स्वाध्ययन गरेँ । त्यही नै साइन्स पढेर डाक्टर बन्ने सपना पलायो ।
२०३६ सालमा त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा भर्ना भएँ । २०३६ सालको राजनीतिक भुमरीमा रामै्रसँग परेँ । २०३९ सालमा आईएस्सी पास गरेँ । मेडिसिन पढ्न प्लान पाइएन । अनि २०४० सालमा बीएस्सी कृषि पढ्न रामपुर क्याम्पस, चितवन गएँ । २०४४ सालमा बीएस्सी कृषिमा (कृषि अर्थशास्त्र) उत्कृष्ट नम्बर ल्याउन सफल भएँ । सन् १९९३ मा थाइल्यान्डको राजधानी बैंककस्थित एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्रामीण विकास योजनासम्बन्धी विषयमा एमएस्सी पास गरेँ । सन् २००६ मा अमेरिकाको पेन्सिलभानिया राज्यको पेन्सिलभानिया स्टेट युनिभर्सिटीबाट ग्रामीण समाजशास्त्र तथा जनसंख्यासम्बन्धी विषयमा डुएल टाइटल विद्यावारिधि (पिएचडी) गरेँ । रानीकोटमा जन्मी, लुहापिङबाट पढेर अमेरिकामा विद्यावारिधि (पिएचडी) गर्ने मौका पाउँदा भुट्न लागेको मकै हाँडीबाट फड्के जस्तै लाग्छ । गरे के नसकिने रहेछ र ?
मेरो पहिलो काम
मेरो पहिलो जागिर पनि लुहापिङ हाइस्कुलबाटै सुरु भएको हो । २०४२ सालको गर्मी बिदा मनाउन रामपुरबाट सल्यानमै आएको थिएँ । अर्जुन सर (अर्जुनबहादुर श्रेष्ठ, तत्कालीन हेडसर, मलाई विद्यार्थीदेखि नै एकदमै माया गर्नुहुन्थ्यो) ले कृषि विषय पढाउन स्कुलमा बोलाउनुभयो । मैले करिब ३ महिना पढाएँ । यो नै मेरो जिन्दगीको पहिलो जागिर थियो । यो पहिलो तलब खल्तीमा राखेर रामपुर पढ्न गएको मान्छे भरे त दार्जिलिङ पो पुगेछु, त्यो पनि एक्लै । वास्तवमै भन्ने हो भने यही लुहापिङको जागिरले मलाई शिक्षण पेसामा आउन प्रेरणा दिएको थियो ।
त्यसपछि २०४४ सालमा बीएस्सी कृषि पढाइ सकिनासाथ रामपुर क्याम्पसको कृषि अर्थशास्त्र विभागमा सहायक प्राध्यापक पदमा रही पढाउन थालेँ । २०५७ सालसम्म पढाएँ त्यहाँ । विद्यावारिधि (पिएचडी) सकेपछि क्यानडाको अल्बर्टा विश्वविद्यालयमा २ वर्ष पढाएँ । सन् २००९ देखि अमेरिकाको मिचिगन विश्वविद्यालयमा जनसंख्यासम्बन्धी सामाजिक अनुसन्धानमा कार्यरत छु ।
मेरा प्रकाशनहरु
अनुसन्धानमा आधारित कृतिहरु (एकल र सामूहिक गरी) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा करिब ५० वटा जति प्रकाशन भैसकेका छन् भने करिब १ दर्जन जति प्रकाशोन्मुख छन् । यी कृतिहरु नेपालभित्र र बाहिर विश्वविद्यालयहरुमा पठनपाठनमा उपयोग भएका छन् । मैले अनुसन्धानमा आधारित किताब भने लेखेको छैन र किताब लेख्ने काम त्यति सजिलो पनि त छैन । किताब लेख्ने योजनामा छु ।
तर, जर्नलमा छापिएको एउटा लेखको मेहनत र त्यसको एकेडेमिक भ्यालु किताबभन्दा कम हुँदैन, अझ बढ्तै हुन्छ । समूहमा मिलेर अनुसन्धानात्मक लेखहरु समावेश गरी नेपालको खाद्य सुरक्षासम्बन्धी एउटा किताबमा काम गर्दैछौँ । मेरो आफ्नै अनुसन्धानमा आधारित ‘कामका लागि बसाइँसराइ र विप्रेषणको उपयोगसम्बन्धी’ एउटा किताब लेख्दै छु । सल्यानकै बारेमा भने धेरै लेखकहरुका लेख समेटेर ‘सल्यान दर्पण’ हालै प्रकाशन गरेका छौँ ।
मेरो लेखन विषय
मैले कृषि तथा जनसंख्यासँग सम्बन्धित अनुसन्धानात्मक लेखहरु प्रकाशित गर्दै आएको छु । मेरा प्रायः सबै लेखहरु नेपालको कृषि, कृषि बजार, बसाइँसराइ, जनस्वास्थ्य, र सामाजिक अनुसन्धान विधिसँग सम्बन्धित छन् । विदेशमा बसेर पनि नेपालको बारेमा अध्ययन र लेखन गर्न पाउँदा आपूmलाई भाग्यमानी ठानेको छु । तर, भाग्य कर्मले नै कोर्दाे रहेछ जस्तो लाग्छ ।
मेरो पठन रोजाइ
अनुसन्धानमा आधारित कृतिहरु नै मेरो पठनपाठनको पहिलो रोजाइमा पर्छन् । तर गाउँघर, बदलिँदो नेपाली समाज, चालचलन र संस्कृति, हाम्रा समाजका विकृतिहरु जस्तो कि जातभात सम्बन्धी छुवाछूत, गरिबी र पछौटेपन, नछुने हुँदाको छुवाछूतको प्रचलन (सुदूर पश्चिमतिर त छाउपडी भन्छन्) र त्यस्ता प्रचलनको उन्मूलनसम्बन्धी गरिएका अनुसन्धान र लेखहरु पढ्न अति नै मन पर्छ । आखिर सल्यानकै गाउँले टोगे त हुँ । उसो त म विश्वेश्वरप्रसाद कोइरालाका सैद्धान्तिक र साहित्यिक लेखहरुबाट धेरै प्रभावित छु । त्यसैले उनका उपन्यास र हालैका अरु लेखकका सोचमुखी लेख र उपन्यास जस्तै ‘सोच’, ‘स्वप्न यात्रा’ आदि खुब मन पर्छन् । सल्यानी भाइ विमल आचार्यका अखबारी लेखहरु र लेखन कलाको पारखी हुँ ।
अनुसन्धानात्मक लेखनको महत्व
गफ त जसले पनि दिन्छन् नि । तर तथ्यपरक ज्ञान नै समाज र देश विकासका लागि मूल आधार हो । तथ्यपरक ज्ञानको मूल स्रोत नै विज्ञानमा आधारित अनुसन्धान हो । यहाँ अनुसन्धान भन्नाले नयाँ ज्ञान प्राप्त गर्न वा प्राप्त भएको ज्ञानलाई समयअनुसार पुनर्ताजगी गर्दै ज्ञानको दायरालाई अझ फराकिलो बनाउन वैज्ञानिक विधि अपनाई कुनै विषय वा घटनाक्रमको सिलसिलेवार अध्ययन भन्ने बुझ्नु पर्छ ।
विज्ञानमा आधारित अनुसन्धानबाट मात्र के, किन, कसरी आदि प्रश्नहरुको उत्तर पाउन सकिन्छ । त्यसैले समाजलाई सही बाटोमा डोर्याउन त अनुसन्धानात्मक लेख र त्यसबाट आएको निचोडले मात्रै सम्भव छ । फेरि अनुसन्धानमा आधारित लेख भन्दैमा पनि हुँदैन । त्यो त विज्ञानसम्मत पनि हुनुपर्यो । सही प्रक्रियाबाट गरिएका अनुसन्धानबाट निस्केका नतिजाबाट निस्केका निचोड सही हुन सक्छन् । त्यस्तै सही तथ्यमा आधारित निचोडलाई सम्बन्धित निकायले योजनामा लैजानुपर्यो र योजनाको कार्यान्वयन सही ढंगले गरेमात्र राम्रो काम हुन्छ ।
हावामा रेल चलाउँछु भनेर हुन्छ र ? रेल जरुरी छ कि छैन, सम्भव छ कि छैन, कुन ठाउँमा उपयुक्त हन्छ, रेलमा के सामान ओसारपसार गर्ने हो, यसको आर्थिक, सामाजिक, सांस्कृतिक प्रभाव के पर्छ भन्ने बारेमा अध्ययन हुनुपर्यो नि पहिले त । यहाँ रेल चाहिँदैन भनेको हैन तर हामीसँग तथ्यमा आधारित ज्ञान त हुनुपर्यो नि । त्यसैले देश विकासलाई सही दिशामा लैजाने हो भने अनुसन्धान र सही विश्लेषणमा मात्र सम्भव छ । त्यसैले अनुसन्धानमा आधारित लेखहरुको अति नै महत्व हुन्छ ।
प्रेम र विवाह
नामै प्रेम । नामै काफी ? प्रेम गर्न त म खप्पिस नै हो क्या । आफुभन्दा ठूलालाई प्रेम, आफुभन्दा सानालाई प्रेम, आमालाई प्रेम, दाइभाउजूलाई प्रेम, भाइबहिनीलाई प्रेम, साथीहरुलाई प्रेम, जनावरलाई प्रेम, प्रकृतिलाई प्रेम, प्रेम त कति कति । तर विवाहकै लागि सोचेर प्रेम गर्न भने म एकदमै डरछेरुवा । त्यसैले मेरो विवाह वैदिक परम्पराअनुसार दाङ बागरस्थित स्व. गोपालबहादुर थापा र स्व. श्रीमती गौरी थापाकी सुपुत्री उषा थापासँग भएको हो, २०४६ सालमा । विवाह अघि माया पिरेम गर्नै मिलेन । मैले अर्धांगिनीलाई पिरेम गर्न जानेकै विवाहपछि मात्रै हो । बिहेअघि २÷४ प्रस्ताव पनि खेर फालेको हुँ पिरेम गर्न नजानेर । क्या भन्ने हो र !
मेरो खानपान
म नन–भेज अर्थात् सर्वभक्षी । तर ढुंगा, फलाम, गौमाताजस्ता कुरा भने खान्नँ है । मेरो मुख असाध्यै मीठो छ । जे पनि मीठो लाग्छ । मेरी जीवनसाथी भन्छिन्, मलाई त नुन लागेको पनि थाहा हुन्न रे । त्यसैले खाना पकाउँदा खाना चाख्ने कुराबाट भने सधैँ वञ्चित छु । मकै भट्टाआ खाजा अर्नी खान खुबै मन पर्ने । सेता मकैको आटो र कोदाआ बासी रोटा खुब मन पर्ने । बेलाबेलामा सिन्कीको झोल, गोलबीरा, टिम्मुर र धनियाँ हालेको अचार, शारदा र सुकेखोलाका सेताला र गरेला माछामा गोलबीरा मिसाउ तिहुन त भनी सक्नछैन । अनि भाङ्गाउ अचार, तिर्मिलाउ अचार त अचम्मै मीठो क्या । अन्य खानपानमा दालभात त भइगो । नाश हुनु भत्यार खानारी टपरामा हाल्याउ भात, दालौ झोल र खस्सीको ट्वाल्ले रस च्वाउँदै खाको त झन्नै बिस्र्याउ ।
मेरो फुर्सद
मेरो फुर्सद भन्ने नै छैन । अलिकति ट्याम पायो कि बरु सुत्नमा व्यस्त । बड्यौली लागेर होला । उहिले उहिले त खेलकुदमा कुदिहाल्थे– ब्याडमिन्टन, टेबुलटेनिस, र भलिबल त एकदमै खेल्थेँ र पाएसम्म खेल्छु । सिनेमामा भने त्यति चाख गएन । बरु टिभीमा खेलकुद भने खुब हेर्छु । ओछ्यानमा पल्टेर सीधा कुरा जनतासँगजस्ता कार्यक्रम अनि केही बौद्धिकसितका टक शो हेर्छु सुन्छु ।
मेरो घुमघाम
मलाई गाडी हाँक्न जात्रै मन पर्छ । नेपालमा चैँ डर लाग्छ, गाडी चलाउन । त्यसैले अलिकति ट्याम पायो भने घुमघाममा सपरिवार निस्कन्छौँ । म अलि प्रकृतिप्रेमी जस्तो लाग्छ आफूलाई । ठूला सहर भन्दा गाउँ नै मन पर्छ । हिँड्न पनि उत्तिकै मन पर्छ । सल्लेरी पाखामा हिन्या हुनाले होला ।
मेरो साथी संगाती
मेरा साथीहरु विभिन्न घेरामा हुनहुन्छ । बाल्यकालका साथीहरु पहिलो घेरामा हुनुहुन्छ । तर थोरै मात्र हुनुहुन्छ । कहिलेकाहीँ मात्र भेट हुन्छ । सबैभन्दा विश्वासिला र भरपर्दा साथीहरु पनि यिनै हुन् । बाँकी साथीहरु बसका यात्रुजस्तै लाग्छ । म केही हदसम्म साथी बनाउन सक्नेभित्र पर्छु किनकि म सजिलै अरुलाई विश्वास गर्छु । त्यसैले होला बेलाबेलामा पुर्पुरोमा हात राख्ने मौका पनि मिल्छ । तैपनि साथी बनाउन भने छोड्दिनँ ।
मेरो सबल पक्ष
सकारात्मक सोच, सबैलाई आदर गर्न प्रयास गर्ने, विश्वास गर्ने, अनि आफ्नो काममा अरुको भर नपर्ने ।
मेरो कमजोरी
दिलदार, अरुलाई छिट्टै विश्वास गर्ने र कसैले भनेको कुरा नाइँ भन्न नसक्ने ।
सल्यानबाहिरबाट सल्यान
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ । यो कुरा आफू जन्मेको ठाउँबाट भौतिक रुपमा जति टाढा भयो उति सान्दर्भिक हुन्छ जस्तो लाग्छ मलाई । बाहिरबाट हेर्दा सल्यान जिल्ला प्रचुर सम्भावनाहरुले भरिएको जिल्ला हो । सल्यानको सल्ला, खोटो, टिम्मुर, अदुवा, रिट्ठा, चिउरी, ओखर, तिनु, दालचिनी, सिल्पु, सुन्तला, कागती र अमिला, तरकारी, जडिबुटी, ताल, मठमन्दिर, रमणीय शारदा गार र जिउलाका लहलहाउँदा फाँटहरु र यहाँको लोभैलाग्दो बारमासे मौसम अनि कति कति ! यहाँ के छैन ? प्राकृतिक स्रोतको कमी छ कि ? मानवीय स्रोतको कमी छ कि ? प्राकृतिक स्रोत तथा जातजातिमा भएको विविधता यहाँका गहना हुन् । छ त विकासका लागि आवश्यक सोच र अठोट भएको नेतृत्वको कमी । यो जिल्ला सल्यानका लागि मात्र नभई छिमेकी जिल्ला र देशकै आर्थिक स्रोतका लागि सम्भावना बोकेको जिल्ला हो ।
मलाई मेरो जन्म कर्मभूमिप्रति सधैँ केही गरौँ भन्ने भावना थियो, छ र भइरहनेछ । जति गर्नुपर्ने हो, त्यो गर्न भने सकिएको छैन । पोहोर साल सल्यान दर्पण निकाल्दा त्यसको संयोजन गर्ने एक जना भाइबाट केही अपारदर्शी व्यवहार भएको हुँदा म ‘बिजुलीदेखि तर्सेको’ जस्तो अवस्था पनि भको छ । सस्तो लोकप्रियताका लागि होहल्ला गरेर केही गर्ने भन्दा पनि सल्यानको मानवीय, शैक्षिक, सामाजिक सूचकमा गुणात्मक फड्को ल्याउन सकिने केही सानै होस् तर दीगो र प्रभावकारी केही गर्न सकिन्छ कि भनेर म विमल आचार्य भाइ लगायतसँग छलफल गरिरहेको छु ।
मेरो दुःख
नजिकको विश्वासपात्रले पुर्पुरोमा हात राख्ने बनाउँदा अनि आफैले चाहेर पनि हात बढाउन नसक्दा अति नै दुःख लाग्छ । प्राकृतिक दुःखमा त हुने नै भयो ।
मेरो गोप्य कुरा
सकारात्मक सोच । अनि बच्चैदेखि म स्वस्थानी माता (अनि शिवजी) को परमभक्त हुँ । आफैंलाई अघि बढ्न उनकै सहारा लिन्छु । कारण नसोध्नुहोला ।
मेरो जीवन दर्शन
मेरो जीवन दर्शनको पहिलो स्रोत मेरी बै हुन् । माथि भने जस्तै हाम्रो घर मुन्तिरको बाँसको झाँग देखाएर मेरी बै सिकाउने गर्थिन्, बाँस जति ठूलो हुँदै गयो उतिउति निहुँरिदै जान्छ, हो त्यस्तै हामी पनि जति ठूलो भयो उति नै निहुरिन जान्नुपर्छ ।
मैले मेरो जीवनमा यो दर्शन सकेसम्म लागू गर्ने प्रयास गरेको छु । साथै काम गर्ने हो भने दिलो ज्यान दिएर उच्च गुणस्तरको काम गरौैँ, नत्र लटरपटर कामै नगरौँ भन्ने मान्यता बोकेको छु ।
अन्तमा, मलाई यो स्मारिकामा मेरा बारेमा भन्न स्थान दिनुभएकामा मेरो स्कुल तथा यो स्मारिका प्रकाशन समितिका सदस्यहरु साथै मलाई व्यक्तिगत रुपमा केही प्रश्नावली पठाई यो मौका दिने हाम्रा सहृदयी अनुज तथा स्कुल अलुम्नस विमललाई मुरीमुरी धन्यवाद नदिई बस्न सकिनँ । साथै, मेरा अनुभवहरु यहाँहरुलाई रुचि नभए पनि मेरो बारेमा धित मेट्न खोज्ने सबैलाई मेरो हार्दिक नमन । स्कुलको उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना । मलाई आचार र विचारका प्वाँख जोडिदिने मेरो स्कुल परिवारका सबै सदस्यलाई मेरो हार्दिक नमन ।
०००
यो पनि पढ्नुहोस् :
‘दिप्ती क्षत्री नामबाट धेरै लेख छपाएँ’ – उषा हमाल
०००