पश्चिम पहाडको सल्यानमा जन्मेर–हुर्केर आफ्नो कृति र कीर्ति फैलाउन सफल लेखक उषा हमाल । उहाँले साहित्यका नाटकबाहेक सबै विधामा कलम चलाउनुभएको देखिन्छ । उहाँ कवि हुनुहुन्छ (क्यानभास नपाएका चित्र, समय समुद्र) । उहाँ कथाकार हुनुहुन्छ (साझा प्रकाशनबाट लोप्पा कथासंग्रह) । उहाँ उपन्यासकार हुनुहुन्छ (गत वर्ष सांग्रिला बुक्सबाट बालु प्रकाशित छ) । यो उपन्यास सल्यानको सेटिङमा छ ।
उहाँ निबन्धकार हुनुहुन्छ (गत वर्ष अक्षर क्रियसन्सबाट छापिएको सागओल अजरबैजान नियात्रा कृति अत्यधिक रुचाइएको चर्चित पुस्तक हो) । उहाँका शैक्षिक लेख निबन्धहरुको संग्रह ‘स्कुलभित्र स्कुलबाहिर’ प्रकाशोन्मुख छ । यसैगरी ‘तेरे तुलेमास्त’ यात्रानिबन्ध पनि प्रकाशोन्मुख छ । उहाँका लेखरचना, पुस्तक समीक्षा विभिन्न पत्रपत्रिकामा २०३० सालदेखि छापिइरहेका छन् । सरकारी सेवाबाट निवृत्त हमाल हालै भाषा आयोगको सदस्य नियुक्त हुनुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँ ६ वर्षका लागि सदस्य नियुक्त हुनुभएको हो । काठमाडौं विश्वविद्यालयबाट शिक्षाशास्त्रमा एम.फिल. हमालसँग विमल आचार्यको संवाद :
मेरो जन्म
मेरो जन्म २०१९ सालमा सल्यान खलंगा, डाँडागाउँ, जोली पिपलमा (शारदा नगरपालिका) मा भएको हो । बुबा स्व ईश्वरबहादुर हमाल र मुमा स्व कृतकुमारी हमालकी म पाँचौं सन्तान हुँ । मेरी दिज्यू स्व लक्ष्मी शाह, माण्डवी शाह र बहिनी रमा शाह हुन् । दाइ स्व श्याम हमाल, राम हमाल र भाइ लक्ष्मण हमाल हुन् ।
मेरो बाल्यकाल
मेरो बाल्यकाल सल्यान खलंगा, डाँडागाउँ, जोली पिपलमै बितेको हो । सल्यान खंलगाको मनोरम प्रकृतिमा ऐंसेलु, काफल, चुत्रा, घुएली, तीनु खाँदै अत्यन्त रमाइलो अवस्थामा मेरो बाल्यकाल बित्यो । बुबामुमा, फुपू, ठूलीमुमा, काका बुवाहरु, मुमाहरु, काका बुवाका छोराछोरी दिदी दाजुहरुको विशाल संयुक्त परिवारको लाडप्यारमा मेरो बाल्यकाल बितेको हो । म अत्यन्त स्वच्छन्द तरिकाले खेल्दै खाँदै हुर्केकी हुँ । हाम्रो परिवारमा अनुशासन, नियमको पालना पनि कडा थियो र साथै प्रेम, हेरचाह, लालनपालन सारा कुरा व्यवस्थित थियो । मेरी ठूलीमुमा घरकी मूली हुनुहुन्थ्यो । हाम्रो घरमा महिलाको स्थान पनि त्यत्तिकै महत्वपूर्ण थियो । ठूलाहरुले सानालाई शिक्षा मात्र होइन, संस्कार पनि सिकाउँथे ।
मेरो रहर
मेरो रहर बाल्यकालमा जे थियो त्यो कालान्तरमा परिवर्तन हुँदै गइरहेको छ । स्कुल जीवनमा म नर्स बन्न चाहन्थें । त्यसको कारण अरु केही नभई एकपटक स्वास्थ्य शिविर बसेको बेला नर्सहरुलाई देखेर हो । अरु बेला नर्स नदेखेकी मैले त्यति बेला नर्स देखेर अचम्ममा परेकी थिएँ । उनीहरुले गरेको काम र उनीहरुले लगाएको सेतो साडी र कपालको जुरोमाथि लगाएको स्कार्फ मलाई साह्रै मन परेको थियो । उनीहरुकै जस्तो ड्रेस लगाएर बिरामीको सेवा गर्ने रहरले म हुरुक्कै भएकी थिएँ र ती नर्सहरुलाई हेर्न म दिनदिनै स्वास्थ्य शिविरमा गइरहन्थें । पछि गएर मेरा ठूला दाजुका साथी धनकुटा निवासी कवि रामबहादुर श्रेष्ठका कारणले म साहित्य लेखनमा तानिएँ । मेरी दिज्यू माण्डवी शाह पनि साहित्य लेखनमा रुचि राख्नुहुन्छ । अब मलाई हालसम्म नेपाली साहित्यमा नलेखिएको विषयमा उपन्यास लेख्ने रहर छ तर त्यो उपन्यास लेखन हाल प्राथमिकतामा परेको छैन ।
मेरो शिक्षा
मेरो शिक्षा आरम्भ बुबाबाट नै भएको हो । त्यति बेला ठूलो वर्णमाला किताब पढ्नुपथ्र्यो । बुबाको बालमनोविज्ञान बुझेर शिक्षण गर्ने तरिका अनौठो थियो । कुनै दिन बुबाको हातको न पिटाइ खाइयो न वहाँको ठूलो डाको सुनियो । त्यसपछि लामा चौतारामा गुरू विष्णु शर्माको हातको सिड्कनी खाँदै पढियो । गोडा दसेक ठाउँका घुम्ती चहार्दै स्कुलको प्राथमिक शिक्षा पूरा गरेर त्रिभुवन जन माध्यमिक विद्यालय, त्यसपछि सल्यान क्याम्पस, पद्मकन्या क्याम्पस, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा गएर मेरो हालसम्मको औपचारिक शिक्षा टुंगिएको छ ।
मेरो पहिलो काम (आम्दानी)
मैले २०३७ सालमा बालशिक्षा मन्दिर प्राथमिक विद्यालयमा शिक्षण गर्न थालेकी हुँ । त्यसबेलादेखि सुरु गरेको मेरो जागिरे जीवन औपचारिक रुपमा २०७४ मा आएर टुंगिएको छ । त्यो पहिलो नियुक्तिपत्र मसँग अहिले पनि छ । त्यस पत्रमा २२५ रुपैयाँ मासिक तलब खाने गरी काम गर्ने कुरा लेखिएको छ । त्यतिबेला २२५ रुपैयाँ तलब भनेको साह्रै धेरै नभए पनि थोरै पैसा पनि होइन । पैसाको मूल्य महंगीले निर्धारण गर्दो रहेछ । मैले मेरो पहिलो कमाइ मुमाको हातमा बुझाएकी थिएँ तर मुमाले त्यो मेरो पहिलो तलबले नेपालगन्जबाट मेरै लागि दुईवटा राम्रा साडी मगाइदिनु भएको थियो ।
मेरा किताब
मैले सानैदेखि कविता लेख्ने गरेको हुँदा स्कुलदेखि नै कविता प्रतियोगिताहरुमा भाग लिन्थें । मेरो पहिलो कविता ‘सगरमाथा’ हो । यो कविताका धेरैजसो हरफ म अहिले पनि सम्झिन्छु । कविता लेख्दै जाँदा संग्रह प्रकाशित गर्ने साथीहरुको सल्लाहअनुसार मैले २०५८ सालमा ‘क्यानभास नपाएका चित्र’ प्रकाशित गरेँ । यस कविता संग्रहमा त्रिविविका स्नातकोत्तर शोधार्थी रमिता दाहाल र मनमाया केसीबाट शोध गरिएको छ । त्यसपछि २०७१ मा ‘सागआल अजरबैजान’ यात्रा निबन्ध संग्रह, २०७२ मा ‘समय समुद्र’ कविता संग्रह, २०७२ मा ‘बालु’ बाल उपन्यास र २०७४ मा ‘लोप्पा’ कथा संग्रह प्रकाशित भएका छन् र हाल ‘स्कुलभित्र स्कुलबाहिर’ शैक्षिक लेख संग्रह प्रकाशोन्मुख रहेको छ । (पछिल्ला यी पुस्तकमा कुनै न कुनै रुपमा तिम्रो अमूल्य सहयोग छ नि !)
मेरो अखबारी लेखन
मैले अखबारमा लेखरचना प्रकाशित गर्न थालेको तीसको दशकदेखि नै हो । दाङबाट प्रकाशित हुने युगबोधबाट मैले अखबारी लेखन सुरु गरेकी थिएँ । पछि काठमाडौंमा अध्ययन गर्न आउने क्रममा विविध पत्रपत्रिकामा लेखरचना प्रकाशित गरियो । पछिल्लो समयमा कान्तिपुर दैनिक, नागरिक दैनिक लगायतका पत्रिकामा विभिन्न समसामयिक सन्दर्भमा लेखिएका लेखहरु प्रकाशित भइरहेका छन् र साहित्य सिर्जनाहरु मधुपर्क, कोशेली, अक्षर लगायतका पत्रिकामा प्रकाशित भइरहेका छन् ।
मेरो छद्म लेखन
मैले प्रजातन्त्र आएपछि समेत पनि छद्म नामबाट लेखहरु प्रकाशित गर्ने स्थिति थियो । यस बेलासम्म पञ्चायतकालमा छद्म नाममा लेख्ने लेखकहरुले स्वतन्त्ररुपमा आफ्नो नाममा लेख्न थालेका थिए तर मेरा लागि प्रजातन्त्र आएको थिएन । यसको पछाडि लामो कथाव्यथा छ । जो यहाँ उल्लेख गरिरहन सम्भव भएन । कुनै दिन अवसर मिलेछ भने म यो पीडालाई अवश्य ओकल्नेछु । युगबोध साप्ताहिक र बुधबार साप्ताहिकले ‘दिप्ती क्षत्री’ छद्म नामबाट मेरा धेरै लेखहरु प्रकाशित गरेका थिए । तर यसरी छद्म नामबाट लेख छपाउँदा खुशी नलाग्दो रहेछ किनभने पाठक प्रतिक्रिया नै नपाइने । पाठक प्रतिक्रियाले लेखकलाई अघि बढ्न ठूलो मद्दत पुर्याउँदो रहेछ भन्ने कुरा मैले यसै समयमा महसुस गरें । त्यसैले मैले छद्म नामबाट स्तम्भ लेखन गर्न आएको प्रस्तावलाई पनि छोडिदिएकी थिएँ ।
मेरो पठन रोजाइ
पठन रोजाइ पनि उमेर अवस्था वा परिस्थितिहरुले निर्धारण गर्ने रहेछ जस्तो मलाई लाग्छ । कविता विधा पाठ्यभन्दा श्रव्य विधा हो । हाल कविता वाचनका धेरै कार्यक्रम भइरहेका हुन्छन् । निम्तो आएका कार्यक्रममा म प्रायः जाने गर्छु । मैले बढी पढ्न मन पराउने विधा आख्यान हो । किताबहरुका नाम नलिऊँ । आजभोलि ठाडै मलाई यी किताब मन परे भनेर विज्ञापनको शैलीमा भनिदिने चलन छ । त्यसरी भन्दा सबै किताबहरु पढिसकेर मूल्यांकन गर्ने जिम्मा लिए जस्तो भएन र ? कति राम्रा किताबहरु पढ्नै छुटेका हुन्छन् । के हामीले नपढेका किताबहरु राम्रा हुँदैनन् त ? यिनै किताबहरु मात्र राम्रा भन्दा अरु लेखकहरुलाई पर्ने असरबारे हामी किन वास्ता गर्दैनौं । बरु मन परेका किताबहरुको समीक्षा नै लेखिदिए भैहाल्यो नि ।
मेरो विवाह
मेरो विवाह २०५९ सालमा इलाम जिल्ला निवासी पिता देवीभक्त उपाध्याय तथा माता देवीमाया उपाध्यायका सुपुत्र चिदानन्द शर्मा (वहाँको घरको नाम मुकुन्द अधिकारी हो) सँग काठमाडौंमा वैदिक परम्पराअनुसार भएको हो ।
मेरो खानपान
खानपानबारे हामी सल्यानीहरुका विशेषता बेग्लै छन् । हामी बाल्यकालमै खाएका खानेकुराहरुको स्वाद छोड्न नसक्ने । जति आधुनिक पश्चिमा शैलीका खाना खाए पनि स्वादमा भने आफ्नै रैथाने खाना खोज्ने । सल्यानका साथीहरुका बीचमा हामी यस्ता कुराहरु गर्ने गर्छौं । हामीले कहिलेकाहीँ जति राम्रो खाना खाए पनि सिन्कीको झोल खान पाएको दिन अर्कै रमाइलो हुने । भट्ट भुटेर पिठो हालेर पकाएको फाँडो पाए त अरु दिनभन्दा दोब्बरै भात जान्छ । पाप्रो (कर्कलो) को तिहुन कति मिठो मिठो । चैते बाँकोको सुकुटीमा आलु, गोलभेडा हालेर पकाएको तिहुनको स्वाद सायद सल्यानीलाई मात्र थाहा होला । फिनी, अनरसाको कुरै नगरौं । तर खानपानको आदतको कुरा गर्दा म सामान्य दालभात, रोटी, तरकारी अचार नै मन पराउँछु । खाने समय पनि मेरो प्रायः एकैनास हुन्छ ।
मेरो फुर्सद
मेरो फुर्सदको समय कुन बेला हो म भन्न सक्दिन । फुर्सद भनेको एक कामबाट अर्को काममा सिफ्ट हुनुमात्र जस्तो भएको छ । बिहान उठेदेखि नसुतेसम्म कुनै न कुनै काममा अल्झिरहेकी हुन्छु । काम केही नहुने बित्तिकै फेसबुकले पनि तान्छ । सोचेकी थिएँ सेवानिवृत्त जीवनमा समय कसरी कटाउने होला ? तर मलाई अहिले अचम्म के लाग्दै छ भने मलाई झन बढी व्यस्तता बढ्न थाल्यो । जागिरे हुँदा साँच्दै आएको आफन्त भेटघाटको कामसमेत सेवानिवृत्त भएको छ महिना बित्दा पनि गरेकी छैन । निवृत्तिभरणको समयमा मलाई सबै साथीले भन्ने गरेका थिए– ‘तँलाई सेवानिवृत्त जीवनमा समय बिताउन गाह्रो हुने छैन । लेखाइले नै व्यस्त बनाइहाल्छ ।’ त्यसबेला मैले सोचेकी थिएँ उनीहरु मलाई सान्त्वना दिँदैछन् । तर त्यो कुरा सही रहेछ ।
मेरो घुमघाम
म घुमघाम गर्न मन पराउने गर्छु । जागिरकै सन्दर्भमा नेपालका धेरैजसो जिल्ला घुमिसकेकी थिएँ । तर त्यो घुमाइमा खास घुमाइको आनन्दभन्दा काम गराइको बोझ हुन्थ्यो र त्यो ठाउँका विविध भौगोलिक सांस्कृतिक पक्षमा आँखा घुमाउने फुर्सद नै हुँदैनथ्यो । जब घुम्नकै लागि घुम्न थालियो अनि मात्र घुमाइको वास्तविक स्वाद थाहा हुन थाल्यो । घुम्न गएका ठाउँहरुमा सतही रुपमा आँखा घुमाएर मात्र हिँड्ने होइन, त्यो ठाउँबारे सक्दो जानकारी बटुल्ने र त्यो ठाउँका विशेषताहरु बुझ्ने, खानाका स्वाद लिने, संस्कृतिमा रमाउने जस्ता कुराहरु मैले सहयात्री मुकुन्द अधिकारीबाट सिकेँ र यो सिकाइले मलाई नियात्रा साहित्य लेखनमा अत्यन्त सहयोग गरिरहेको छ ।
मेरो साथी संगाती
मेरो साथी सर्कल ठूलो छैन । मेरा थोरै मात्र साथी छन् तर ती अत्यन्त आत्मीय छन् । म हेलो साथीमा भन्दा भलो साथीमा विश्वास गर्छु । बाल्यकालका साथीहरु स्मृतिमा सबैभन्दा बढी डेरा जमाएर बसेका छन् जसलाई चाहेर भुल्न सकिँदैन । स्कुलदेखि विश्वविद्यालयसम्म नजिकमा जो साथीहरु थिए उनीहरु नै अहिलेसम्म नजिक छन् । जागिरे हुँदाका साथीहरु जो आत्मीय थिए उनीहरु पनि त्यत्तिकै नजिक छन् । साहित्य क्षेत्रका साथीहरु छन् जोसँग राम्रो समय बित्छ । लेखाइका लागि उनीहरु नै मेरा ऊर्जाका स्रोत हुन् । तथापि म अरुको मूल्यांकनमा धेरै साथी नबनाउनेमा पर्छु ।
मेरो सबलता
मेरो सबल पक्ष भनेको मेरो कामप्रति, साथी भाइ, परिवारप्रति विश्वसनीयता हो, प्रेम र लगन हो । आफ्नो आफैले मूल्यांकन गर्नुपर्दा लामो जागिरे अवधिमा आफ्नो जिम्मेवारीलाई बेवास्ता गरेर बस्न सकिएन । त्यही आदत अहिले पनि छ । कसैसँग काममा आबद्ध भइयो भने त्यो काम समयमा सक्ने प्रयत्न गर्छु । अन्याय र झुठलाई साथ दिन सक्दिनँ । देखेको कुरा कालो र सेतो छुट्याएर बोल्न मन लाग्छ । यो मैले मेरा बुबाबाट सिकेको संस्कार हो । बुबा भन्नुहुन्थ्यो–‘नबिराउनु नडराउनु’ बुबाको यही उपदेश मेरा लागि गीता हो ।
मेरो कमजोरी
मेरा कमजोरी कति छन् कति भनी साध्य छैन । कसैले चित्त नबुझ्दो कुरा गरेको छ भने प्रतिक्रिया दिइहाल्नु पर्छ । मनले नखाएको काम गर्न हम्मेसी मन नगर्ने । यो कुरा गलत छ है भन्ने लाग्यो भने त्यसको समर्थन गर्न नसक्ने । यस्तो आदत आफ्नै लागि घातक सिद्ध हुन्छ । समय त्यस्तो छैन । लाभका लागि मानिसहरु विवेक बन्धकी राख्छन् । तर म त्यसो गर्न सक्दिनँ । मेरो यही स्वभावका कारण म जहिले पनि आउटसाइडरमा पर्छु । जागिरमा यही स्थिति भोगें । अहिले साहित्यमा त्यही स्थिति भोग्दैछु । मेरा कुनै गुट पनि छैनन् । नेपालमा साहित्य क्षेत्र अनौठो तरिकाले गुटबन्दीमा बाँधिएको छ । उनीहरु कुन बेला सिर्जना गर्छन् र कुन बेला यस्ता गुटबन्दी गर्छन् मलाई
आश्चर्य लाग्छ ।
मेरो लेखन बानी
म प्रायः बिहानको समयमा लेख्न मन पराउँछु । बिहान चार बजेपछि उठेर नित्य कर्मपछि लेख्न बस्दा मलाई भावना राम्ररी प्रष्फुटित भएको आभास हुन्छ । विशेष गरी साहित्य सिर्जनामा यो समय मेरो उर्वर समय हो । कविता, निबन्ध लेख्दा मलाई एकान्त र शान्त ठाउँ मन पर्छ । अखबारी लेख लेख्दा यदि विषय र तथ्यांक निर्धारित छ भने जुन समयमा लेख्दा पनि फरक पर्दैन । आख्यान लेख्दा प्लट बनाइसकिएको अवस्थामा जुन समयमा लेख्दा पनि फरक पर्दैन । मेरो लेखाइमा पाठक प्रतिक्रियाको ठूलो प्रभाव पर्छ । यदि कुनै पाठकबाट सकारात्मक प्रतिक्रिया आउँछ भने मलाई त्यसले थप ऊर्जाशील बनाउँछ ।
मेरो जागिरे जीवन
एसएलसी पास गरेदेखि हालसम्म मेरो जागिरे जीवन करिब चालीस वर्ष अटुट रुपमा चल्यो । उच्च शिक्षाका लागि अभिभावकलाई खासै आर्थिक भार पार्नु परेन । पढाइ र जागिरलाई सँगसँगै लग्नु पर्दा कतिपय अवस्थामा कठिनाइ पनि आउँथ्यो । मेरो जागिर शिक्षा क्षेत्रकै वरपर घुम्यो । काममा रमाउने आदत भएर पनि हुनसक्छ समय बितेको थाहै नभए जस्तो लाग्छ । पढाइ र जागिरलाई आफूले सँगसँगै लगेको भएर होला अहिले केटाकेटीहरु पूर्णकालीन विद्यार्थी हुँदा पनि किन राम्रो गर्न सकिरहेका छैनन् जस्तो लाग्छ ।
मेरो दुःख
मेरो सबैभन्दा ठूलो दुःख आफन्तहरुको मृत्यु हो । म ठूलो संयुक्त परिवारमा हुर्किएँ । परिवारका सबै सदस्यप्रति उत्तिकै निकट भएँ । म परिवारमा जति सदस्यहरुको निकट रहें वहाँहरुको मृत्यु हुँदा मलाई उत्तिकै पीडा भयो । मेरी मुमाको मृत्युको पीडा र ठूलीमुमा र अरु सबै मुमाहरुको मृत्युको पीडा मैले समानरुपले भोगें । त्यस्तै बुबाहरु, दाइ र दिदीहरुको मृत्युको पीडाले पनि म त्यत्तिकै दुःखी भएँ । हाम्रो परिवारमा आफ्नै र अर्काको भन्ने छुट्ट्याउने चलन नै थिएन । त्यसैले पनि मृत्युपछि पनि मेरा आफ्नै बुबाआमाको मृत्यु र काकाबाबु र मुमाहरुको मृत्युको पीडामा मेरालागि अन्तर भएन । यसरी मैले परिवारका धेरै निकटका सदस्यलाई गुमाउनु पर्यो । तर अब म संयमित हुने कोसिसमा छु । यसका लागि मलाई आध्यात्मिक चिन्तनको जरुरत पर्दछ ।
मेरो गोप्य कुरा
मेरो सिक्रेट के छ खै ? मलाई यसै भन्न आएन । म सकारात्मक सोचाइमा विश्वास गर्छु तर यो अभ्यास गर्न धेरै गाह्रो हुँदो रहेछ । जतिबेला आफूले सकारात्मक सोचाइ राख्यो त्यतिबेलै बाहिरी वातावरणले नकारात्मक ऊर्जा प्रवाह गर्छ । म समय मिलेसम्म विपश्यना ध्यान गर्न जाने गर्छु । विपश्यनाले मेरो सोचाइमा निकै ठूलो सकारात्मक प्रभाव पारेको छ तर विपश्यना ध्यानलाई निरन्तरता दिन सकिएन भने मोबाइलमा चार्ज सकिएजस्तो ऊर्जा सकिँदै जान्छ र बाहिरी प्रभावले असर गर्न थाल्छ । म आफूलाई बुद्ध दर्शनबाट प्रभावित पाउँछु ।
मेरो जीवनदर्शन
मेरो जीवन के हो र कसरी बितिरहेको छ यो विषयमा सोच्दा के कुरालाई सुख भन्ने के कुरालाई दुःख भन्ने यही कुरामा पुग्नुपर्ने हुन्छ । मान्छेका जीवनका प्राथमिकता फरक हुन्छन् । कोही भौतिक वैभवमा रमाउलान् केही आध्यात्मिक र आत्मिक सन्तुष्टिमा रमाउलान् । आफू के कुरामा रमाउन सक्छु भन्ने नै नबुझी हाम्रो जीवन सकिसकेको हुन्छ । जब थाहा हुन्छ अनि गर्नलाई समय नै बाँकी रहँदैन । एकदिन म सानोठिमी कार्यालय जाँदै थिएँ । लोकल बसबाट झर्न लाग्दा एउटी किशोरी बेहोस भएकी र उनकी आमा उनलाई काखमा लिएर आत्तिदै रोइरहेकी देखें । गर्मी दिन थियो । चर्को घाम लागेको थियो । मेरो ब्यागमा आधा लिटरको बोतलमा पानी थियो । मैले त्यो पानी ती बेहोस किशोरीको टाउको, अनुहारमा छ्यापे र पानी खुवाइ दिएँ । उनी ब्युँझिइन् र आमाछोरी खुसी हुँदै गए । यो सानो सहयोगले म यति धेरै खुसी भएँ कि त्यस्तो खुसी मैले अहिलेसम्म महसुस गरेकी छैन । मलाई लाख रुपैयाँले दिन नसक्ने खुसी मिलेको थियो त्यो क्षण । यो घटनाले मलाई मेरो जीवनको प्राथमिकता बुझाइदियो ।
(त्रिभुवन जन मावि, लुहापिङ, सल्यानको स्मारिकाबाट)
०००
०००