मेलापात गरेर गुजारा चलाइ रहेको बिकास आफ्नो परिवारसँग एउटा सानो गाउँमा बस्दथ्याे । उसकाे परिवारमा उसकी पत्नी माया र छोरीहरु गीता, सीता र कविता थिए । छोराको मुख हेर्न सके स्वर्ग जाने बाटो खुल्छ भन्ने आशले दुबै दम्पती स्वर्गको बाटो खोज्दा-खोज्दा तीन छोरीहरुको आगमन भको पत्तो भएन । समाजले भाग्य फुटेको भनेपनि बिकास आफूलाई भाग्य चम्केको ठान्थ्याे । किनकि जहाँ छोरीको बास त्यहाँ लक्ष्मीको बास ।
छोरालाई पढाएर गाउँको स्कुलमा शिक्षक भएको हेर्ने सपना छाडेको बिकास माहिली छोरी सीता छिमेकीका छोराछोरीहरुभन्दा पढाइमा सानै उमेरदेखि नै उत्कृष्ट देखेर त्यो सपना फेरि पलाएर आयो । जेठी छोरी गीताले पनि बाबू बिकासको यस निर्णयमा सहभागी जनाउँछे । आफू पढ्न नसके पनि घरको काममा सीतालाई सहयोग गरेर पढ्ने वातावरण बनाउने प्रण लिन्छे । तर, उनकी आमा माया भने बिकासकाे यस निर्णयप्रति असन्तुष्ट हुन्छिन् ।
“छोरी भनेका अर्काको घर जाने जात हुन् । पढाइभन्दा भान्सामा चासो राख्नुपर्छ बुझ्यौ ?”
बिकासलाई चित्त बुझ्दैन, उ मायालाई सम्झाउन खोज्दै भन्छ, ” म चाहन्छु कि मेरा सबै छोरीहरुको भविष्य उज्जवल होस…”
बिचमा कुरा काट्दै माया जवाफ फर्काउँछिन,
“हेर बुढा ! यदि तिमी यिनीहरुको भविष्य उज्ज्वल बनाउन चाहन्छौ भने हातमा डाडु र पन्युँ देउ, किताब र कलम होइन ।”
बिकास उनैको भाषामा भन्छ, “हो छोरीहरु अर्काको घर जाने जात हुन र त तिनीहरुलाई शिक्षाको आवश्यकता छ । एउटा अशिक्षित बुहारीले कसरी आफ्नो घरलाई शिक्षित बनाउन सक्छे ?”
छोरा पाउन नसकेकाले समाजबाट घृणा र तिरस्कार सही रहेकी माया आफ्नो छोरीहरुलाई घृणित हुनुको दोषी ठान्छिन् । त्यसैले तिनको शिक्षाभन्दा बिहेमा जोड दिन्छिन् तर, बिकास छोरी सीतालाई उच्च शिक्षा दिन दिन-रात मिहिनेत गरिरहन्छ । गीता पनि बहिनीलाई पढ्ने समय मिलोस् भनेर घरको कामकाज सबै आफैले गर्छे । बिकास र गीताको मेहनतको नतिजा स्वरुप र सीताको प्रयासले घर प्रमाणपत्रहरुले सजिएको थियो । जुन मायालाई पटक्कै मन परेको थिएन र पनि मौन थिइन् । तर कहिलेसम्म ? समय बित्दै गयो । जेठी छोरी गीताको उमेर पनि बिबाह गर्ने भैसकेछ ।
श्रीमती मायाको दबाब सहन नसकी बिकासले जोठी छोरी गीताको बिहे पल्लो गाउँको लाहुरेसँग गरिदिन्छ । जेठी छोरी भएकाे नाताले घरको समस्या बुझेकी र बिहेलाई आफ्नो भाग्य सम्झंदै आँसुको धारा पिउँदै बिदा हुन्छे । उता दिदी गीताको बिहे भएको अनि यता सीता १६ वर्ष लागेकीले अब घरको काम सबै सीताको टाउकोमा थुप्रियाे । बहिनी कवितासँग मिलेर घरको काम गर्थिन् र केही समय बच्ने बित्तिकै पढ्न बस्थी । तर, बहिनी कविता सानी भएकाले काम बिगारिदिन्थी । सोही काम सितालाई फेरि गर्नु पर्ने हुन्थ्यो । जसले गर्दा कहिलेकाहीँ पढ्ने समय मिल्दैन थियो । बिकास भने गीताको बिहे गर्दा लागेको करिब पचास हजार जति ऋण भाका नाघ्नु अघि कसरी तिर्ने होला यहीं सोंची रहेको हुन्छ ।
“अब त घरको काममा कान्छीले सघाउन थालिछे । बरु सुनन बुढा, सीताको बिहे गर्दिन पाए आनन्द हुने थियो नि ?” माया भन्छे ।
“किन हतार भयो तँलाइ ? गीताको बिहेमा लाएको ऋण तिर्न सकेको छैन । भाका नाघ्न आँटिसक्यो । अब कस्ले ऋण दिन्छ र बिहे गर्दिनलाई ? कि कोइ भेटिस् टीकाटालो मात्र गरेर घर भित्र्याउने ?” बिकास कड्किन्छ ।
जसो तसो सीताले विसं २०५६ सालमा ७३ प्रतिशत ल्याइ एस. एल. सी .पास गर्छे । एस. एल. सी पास हुने गाउँकै पहिलो व्यक्ति त्यो पनि एउटा केटी । बिकास र सीताको भुइँमा खुट्टा रहेन । बिकास त यति खुसी थियो कि रिजल्ट सुन्नासाथ त्यहीं एक्छिन मज्जैले नाच्यो । बाबुलाई खुसी देखेर सीतालाई पहिलो पटक आफ्नो लक्ष्य हासिल भएको अनुभव भयो । स्कुलले सीताकाे सम्मानमा एउटा सानो कार्यक्रम आयोजना गर्यो । बिकास र बाँकी परिवारका सबै सदस्य त्यहाँ उपस्थित थिए तर दिदी गीतालाई नदेख्दा सीताको मनले खल्लो मान्यो । नमानोस् पनि किन ? आज जुन ठाउँमा सीता पुगेकी छिन् त्यहाँ पुग्नुको पछाडि बाबू बिकासको साथसाथै दिदी गीताको पनि ठूलो हात छ । सायद गीतालाई कार्यक्रममा सहभागी जनाउन फुर्सद मिलेन होला ।
कार्यक्रममामा यो थाहा भयो कि सीता गाउँको प्रथम एस एल सी पास हुने मात्र नभइ जिल्ला टप गर्ने एकमात्र विद्यार्थी रहेछिन् । बिकासको खुसीले सीमा नाघी सकेको थियो । कविता अरुको लहलहमा ताली पड्काउँदै थी । उता आमा मायाको अनुहारमा पनि मुस्कान छाएको चाल पाइन्थ्याे तर पनि मौन रहिरहिन् ।
कार्यक्रमबाट घरतिर फर्किंदै गर्दा … “भोक लायो ?” बिकास सोध्छ ।
“हजुर अलिअलि भोक लागेको छ ” सीता जवाफ दिन्छे ।
बिकासले नजिकको किराना पसलबाट रु बीसको चटपटे किन्छ र चौतारोमा बसी चटपटे खान्छन् । चट्पटे राखिएको पत्रिकामा एक्कासि सीताको नजर पर्छ । त्यसमा लेखिएको थियो … “एसएलसीमा ६० % भन्दा बढी अङ्क ल्याउनेलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ…”
“बुवा यहाँ हेर्नुस् त के लेखिएको रहेछ ?” सीता बिकासलाई पत्रिका देखाउँदै भन्छे ।
“खोइ म पढ्न लेख्न जान्दिंन । तँलाइ पढाएको के काम ? पढेर सुना त ?”
“सुन्नुस, यहाँ भनेको छ कि एसएलसीमा ६०% भन्दा बढी अङ्क ल्याउने विद्दार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।”
“बुझेँ तर छात्रवृत्ति भनेको चाहिँ के हो नि ?”
“छात्रवृत्ति त्यस्तो विद्दार्थीलाई दिइन्छ जो पढाइमा मिहिनेती छ तर आर्थिक अवस्था कम्जोर छ । ताकी उसले उच्च शिक्षा हासिल गरोस्, त्यसैको लागि छात्रवृत्ति दिइन्छ ।”
यो खबरले बिकास आफ्नो सपना सकार हुनेमा विश्वास्त हुन्छ ।
“भनेपछि तैँले निशुल्क उच्च शिक्षा हासिल गर्ने भइस् त ?”
सीता निराश हुँदै जवाफ फर्काउछे, “हो तर पत्रिका अनुसार मैले यसकाे लागि एउटा परीक्षा दिनु पर्ने भयो र त्यसकाे लागि सदरमुकाम जानुपर्ने हुन्छ। जाँदा आउँदा बस्दा लगभग एक हजार खर्च हुँदो रहेछ। अनि म एक्लै जान पनि सक्दिंन ।”
“जम्मा एक हजार ? तँ त्यसकाे चिन्ता नगर, मात्र अब परीक्षाको चिन्ता लिग् । नाम निकाल्नु पर्छ बुझिस् ?”
भन्नलाई त बिकासले भन्यो तर रकम जुटाउने कसरी ? भएको घर र सानो खेत बन्धकी राखी गीताको बिहे गर्यो । भाका नाघे घर खेत गुम्ने डर एकातिर, रकम जुट्न नसके सीताको पढाइ अघि नबढ्ने डर अर्कोतिर ।
“हैन कहाँबाट ल्याउँछाै हो त्यत्रो पैसा ? बाचा त गर्यौ ।” माया सोध्छिन ।
बिकास चुलोमा बलिरहेको आगोतिर हेर्दै टोलाइ रहेको हुन्छ । रकम जुटाउने कसरी ? सायद यहीं सोंच्दै थियो होला ।
जवाफ नआएपछि … “हैन सुनेनौ ?” मायाको तीखो स्वरले बिकास झकन्छ ।
एकछिन मायातिर हेर्छ र फेरि आगो भएतिर टोलाउँदै जवाफ फर्काउँछ, ” अब केही उपाय लाग्ला जस्तो भएन । त्यहीं भएको गाईवस्तु बन्धक राखेर भएपनि जसो तसो पैसा जुटाउनु पर्ला ।”
मायालाई बिकासको यो निर्णय गैरजिम्मेवारपूर्ण लाग्छ ।
“बेच भएको सबै बेच, जेठीको बिहे गर्दा घरखेत बेच्यौ । माहिलीको पढाइको लागि गाईवस्तु बेच अनि बिहेको लागि आफूलाइ बेच । कान्छीको बिहे गर्न मलाइ बेच ।” माया रिसले भान्सा छाडेर बाहिर जान्छिन् ।
बिकासकाे कुनै शब्द फुट्दैन । चुलोमा बलिरहेको आगोमा टोलाउँदै मन्द मुस्कान छर्छ । मुस्कान यो कारण कि छोरीको उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न पैस जुट्ने भयो ।
भोलि बिहान साहुलाई गाईवस्तु बन्धक राखी पन्ध्रसय लिइ छोरीको साथ बिकास सदरमुकामतर्फ हिँड्छ ।
दुई दिनपछि दुबै जना घर फिर्ता आउँछन् । सीताको परीक्षा राम्रो भएछ । छात्रवृत्ति पाउने पूर्णरुपमा विस्वस्त थी । तर, छात्रवृत्ति पाएको चिट्ठी आएपछि सीता सदरमुकाममै बसेर पढ्नुपर्ने हुन्छ । यतिका वर्ष आफूसँगै मायाले राखेको छोरीलाई टाढा पठाउनुपर्ने थाहा हुँदा बिकास निराशाको कुवा भित्र खस्न पुग्छ । केही चिज पाउन केही गुमाउनु पर्छ, घर छाड्नै पर्छ । यहीं भनी बिकास आफ्नो चित्त बुझाउँछ ।
राति नाै बजेतिर भान्सामा स-परिवार खाना खाँदै गर्दा कसैले ढोका ढक-ढक्याउँछ ।
“यति राति को आएको रहेछ जा हेर त ” बिकास सीतालाई ढोका खोल्न आग्रह गर्छ ।
प्रहरीहरु हातमा राइफल बोकेर आएका रहेछन् । सानो काम छ भनेर खाना खान लागेको बिकासको काँध समाइ उठाउन लाग्दा “किन उहाँले के अपराध गर्नु भयो र लग्न लागेको ?” माया सोध्छिन् ।
“तंपाईको श्रीमानलाई सुराकी गरेको आरोप लागेको छ । थानामा जाँच बुझ गरी फर्काइदिन्छाैँ ।” एक प्रहरी जवाफ दिन्छ । बिकास छिटै आउँछु भनेर प्रहरीहरुसँग जान्छ।
“आमा, बुवालाई केही त हुँदैन नि ?” सीता र कविता आत्तिंदै प्रश्न गर्छन् ।
अन्योलमा परेकी माया दुबैको टाउको सुम्सुम्याउँदै भन्छिन् , “केही हुँदैन तिमीहरुको बुवालाई । भोलि बिहानै आइपुग्नुहुन्छ ।”
सबेरै भाले बासेसँगै माया र छोरीहरु घरको काममा जुट्छन् । माया र कविता घर सरसफाइ र लिपपोतमा लाग्छन् भने सीता चाहिँ पानी भर्न गाग्री समाइ धारातिर लाग्छे ।
ढिकीमा धान पिसी रहँदा हुलाकी घर आइपुग्छ ।
“के कति कामले पाल्नु भयो हुलाकी दाइ आज ?” माया प्रश्न गर्छे ।
“सदरमुकामबाट चिट्ठी आएको छ । सीताको नाउँमा छ ।” हुलाकी जवाफ फर्काउँछ र त्यहाँबाट हिँड्छ । सीता पानी भरेर फर्केपछि माया सदरमुकामबाट चिट्ठी आएको अवगत गराउँछे । सीता हत्तपत्त चिट्ठी खोल्न थाल्छे तर बुबासँगै भएको बेला पढ्ने भनेर चिट्ठी पिँढीमा राख्छे ।
“म बुवालाई खोजेर आउँछु अनि चिट्ठी खोल्छु है आमा” यति भन्दै सीता थानातर्फ लाग्छे ।
केही समयपछि…..
माया जाँतोमा दाल पिसिरहेको बेला बिकास घर पुग्छ ।
बिकासलाई देख्न्र बित्तिकै भन्छिन्, “होइन के भएको तिमीलाई ? कस्ले यस्तो गरेको ? यी प्रहरीको पनि विस्वास लाग्न छाड्यो । शंका र सुनेको आधारमा कसैलाई यति यातना दिनु त हुँदैन नि ।” मुख भरी निलाे डाम बोकेको बिकास पिँढीमा थचक्क बस्छ ।
“खोइ त छोरीहरु ?”
“कान्छी स्कुल गएकी छे । माहिली तिमीलाई खोज्न बाहिर गएकी छे”
“बाहिर कता ?”
“सदरमुकामबाट चिट्ठी आएको छ । तिमी भएपछि मात्र पढ्ने भनी अनि तिमीला” खोज्न बाहिर हिँडी ।”
“अझै त सानै छे किन गाउँ-गाउँ डुल्न एक्लै पठाएको होला ?” बिकास आत्तिँदै छोरीलाई खोज्न गाउँतिर लाग्छ । साँझ थकित मुद्रामा घर फर्कन्छ । छोरी भेटेन क्यारे ।
“गाउँ भरी खोजे तर भेटिन खोइ कता पो गइ ?”
“सदरमुकामबाट चिट्ठी आएको छ के रहेछ हेर त बुढा ?” माया उत्सुकताका साथ सोध्छिन् ।
“कालो अक्षर भैंसी बराबर । छोरी दिउँसोदेखि बेपत्ता छे अनि तँलाइ चाहिँ चिट्ठीको चिन्ता छ ?” बिकासको रुखो जवाफ सुनेर माया मौन हुन्छे ।
“आजको दिनको लागि यतिका वर्ष प्रतीक्षा गरेँ । अब केही बेर अझ प्रतीक्षा गर्न नसकुँला ?” बिकास फेरि जवाफ फर्काउँछ ।
रातिको नाै बजिसक्दा पनि छोरी घर नआएपछि बिकास खाँदै गरेको खाना छोडी प्रहरीमा उजुरी गर्न बाहिर जान्छ ।
“सर आज बिहानदेखि छोरी घर आएकी छैन । केही नराम्रो भयो कि बुझिदिनु पर्यो । खोजिदिन पर्यो ।” बिकास प्रहरीलाई गुहार्छ ।
“तँ त्यहीं होइनस जसले हाम्रो सुराकी लगाएको ? गुहार जनयुद्धको सेनाहरुले सुन्नु भएन ?” प्रहरी होच्याउँदै जवाफ दिन्छ ।
“कुन जाठोसँग पोइला गइ होली । आफ्नो छोरीको ख्याल राख्न नसक्नेले के छोरी पाएको होला ? बरु गर्भमै तुहाउनु । ” अर्को प्रहरी जवाफ दिन्छ ।
यस्तो अपशब्द सुनेर कुन बाउ चुप लाग्न सग्थ्यो र ? प्रहरीको यस्तो वचन बिकासले पनि सहन नसकी कड्किएर जबाफ फर्कायो ।
“सक्दैन भन्नुस् जान्छु अन्तै अरुसित मद्दत माग्छु । म आफै लागि पर्छु । तर, मेरी छोरीको बारेमा अपशब्द बोल्ने अधिकार तंपाईलाइ सरकारले दियो कि निलो बर्दीले ? प्रहरी जनताकाे साथी हुनुपर्ने माथि पो हुनुभएछ । भोलि कसले देखेको छ र ? भगवानको कृपा तंपाईको सन्तानमा रहिरहोस् । हात जोडेर सहायताको भिख माग्न नपरोस् । हवस् त नमस्कार ।”
आक्रोस बोक्दै बिकास घर फर्कन्छ । घर पुग्दासम्म सीता आएकी थिइन । भोलि बिहानै आउली भन्नेमा विश्वास राख्दै खाटमा पल्टिन्छ तर एक जवान छोरीको बा छोरी घर नहुँदा कसरी निदाउन सक्थ्यो र ? बिहान चार बजे आँखा लागेछ कि क्या हो बिहानको ७ बजिसक्दासम्म निद खुलेन । एउटा अपरिचित आवाजले बिकासको निद खुल्छ ।
“हैन घरमा को हुनुहुन्छ ? बाहिर आउनुस त ।”
बिकास आवाज पछ्याउँदै ढोका खोल्दै सुस्त बोल्छ, “हजुर को हुनु हुन्छ होला ? कसलाई खोज्नु भएको ?”
प्रहरी आएको रहेछ । थाना जानुपर्ने भएछ । सीताको बारेमा खबर आएछ क्यारे । यहीं आशामा बिकास थानातिर कुद्छ ।
थाना पुगी बुझ्दा एक केटीको नजिकै रहेको खोला नजिक लास भेटिएछ । बिकासलाई प्रहरीले सनाखत गर्न बोलाएको रहेछ । बिकासलाई छाँगाबाट खसे झैं अनुभव हुन्छ । आशा निराशामा परिणत हुन्छ, नसोंचेको नकल्पेको समाचारले । दगुर्दै त्यहीं खोला नजिक पुग्छ ।
गाउँलेद्वारा लास घेरिएको थियो । कोही कोही त रोइ रहेको पनि देखिन्थ्यो । मन आत्तियाे । नदीको किनार फाटेको लुगा र निलडामका साथ पल्टिरहेको लास सीताकै रहेछ । यस्तो अवस्थामा आफ्नो छोरीलाइ देखेर मन थाप्न सकेन । बिकास बेस्सरी रोयो । आफ्नो पीडा र सीताप्रतिकाे माया बगाउने गरी आँसुको धारा खसाल्यो । काखमा सीतालाई बाेकेर, “आउ घर जाम् छोरी” भन्दै घरतिर लाग्छ ।
घटना भर्खर भएको जस्तो थियो । केही घन्टामात्र बितेको भान हुन्थ्याे । बिकासको उजुरीलाई प्रहरीले गम्भीरताका साथ लिएको भए सायद यस्तो अप्रिय घटना घट्ने थिएन । एउटाको लापरबाहीको नतिजा अरु काेहीले भोग्नुको पीडा असह्य हुन्छ ।
चितामा बलेको आगोले जसरी सीताको भौतिक शरीरलाई खरानीमा परिणत गरिरहेकाे थियो, त्यसरी नै बिकासको सपना पनि सीताको चितासँगै खरानीमा परिणत भइरहेको थियो । गहभरी आँसु बोकेको बिकास सितालाई अन्तिम बिदाइ दिंदै अन्तै बाटो लाग्छ । कहाँ कसैलाई पनि थाहा हुँदैन, स्वयं बिकासलाई पनि थाहा हुँदैन । लक्ष्य र आशा भएको व्यक्ति पो कहीं जान्छ तर जसले यी दुबै चिज गुमायो उ कहाँ जान्छ ? सायद भाग्यले जहाँ लग्छ त्यहीं । जब आशा नै हुँदैन उसकाे जीवनमा अन्धकार छाउँछ रे । बिकासको मन र मष्तिस्कमा पनि अन्धकार छाएको थियो । त्यहीं अन्धकारमा बिकास सानो जिम्मेवारीको ज्योति देख्छ । माया र छोरी कविताप्रतिको ज्योति । त्यहीं ज्योति पछ्याउँदै बिकास घरतर्फ लाग्छ ।
सदरमुकामबाट आएको चिट्ठी सीताले बुबा घर फर्कनु भएपछि सँगै भएकाे बेला पढ्ने निर्णय गरेकी थिइ । बिकास घर त फर्कियो तर सीता घरबाट सधैंकाे लागि टाढिइन् । दुई बाबू छोरी कहिल्यै सँगै नहुने भए र त्यो चिट्ठी कहिल्यै पनि नखोलिने भयो । चितामा नजले पनि त्यो चिट्ठीले बोकेको सपना तुहिएर गयो ।