प्रथम विश्वयुद्धकाे अन्त्य भएपछि सन् १९१७ मार्च ८ भएको रसियन क्रान्तिको सुरुवात भयो र फलस्वरूप सन् १९२२ डिसेम्बर ३० मा सोभित यूनियनको स्थापना भयो । जसलाई भ्लादिमिर लेनिनले पहिलो पटक नेतृत्व प्रदान गरे । सन् १९२४ उनकाे मृत्यु भएपछि जोसेफ स्टालिनले सोभियत संघलाई नयाँ नेतृत्व प्रदान गरे । सोभियत संघ १५ कम्युनिस्ट विचारधारा बोकेका देशहरूकाे कानुनी संगठन थियो । यी देशहरु आफ्नो छुट्टै एउटा पार्लियामेन्ट पनि थियो ।
देशको लागि कानून बनाउन यिनीहरु स्वतन्त्र थिए तर एउटा संघमा आबद्ध भएकाले वैदेशिक नीति र आर्थिक नीति भने केन्द्रले मात्र बनाउँथ्याे । अर्थात् सोभियत संघले सो नीतिहरु निर्माण गरी कार्यान्वयनमा ल्याउँथ्याे । त्यहाँ मात्र एउटा पार्टीको शासन चल्थ्याे । कम्युनिस्ट पार्टी बाहेक त्यहाँ अरु कुनै पार्टीलाई मान्यता दिइदैंन थियो । सोभियत संघको स्थापनाकालमा यस प्रणालीले निकै नै ठूलो फड्को मार्यो । २२.४ मिलियन वर्ग किलोमिटर क्षेत्रफल ओगटेको सोभियत संघ सन् १९९१ डिसेम्बर २६ मा विघटन भयो ।
सोभियत संघको विघटन हुनुमा धेरै कारणहरु छन् । पहिलो कारण हो, संयुक्त राज्य अमेरिकासँगकाे शीत युद्ध । शीत युद्धको कारण विश्व दुई भागमा विभाजित भयो । विश्वको एक भाग अमेरिकाको पक्षमा थियो भने विश्वको अर्को भाग सोभियत संघको पक्षमा थियो । शीत युद्ध हुनुको प्रमुख कारण थियो, अमेरिका र सोभियत संघले अपनाएको नीति । अमेरिकाले पूँजीवादको विचारधारा बोकेको थियो भने सोभियत संघले समाजवादको विचारधारा बोकेको थियो । अमेरिकासँग भएको शीत युद्धमा अमेरिकालाई पछि पार्न सोभियत यूनियनले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्यायो । जस्तैः स्पेस रेस, आर्म्स रेस इत्यादि ।
स्पेस रेस अन्तर्गत पहिलो कृतिम उपग्रहलाई अन्तरिक्षमा पुर्यायो र पहिलो पटक मानवलाई ( महिला र पुरुष ) अन्तरिक्षमा पुर्याउन सफल भयो र आर्म्स रेस अन्तर्गत हजारौँ अणु बम बनायो । यी कार्यक्रमहरुलाई सफलता प्रदान गर्न सोभियत संघले अरबौँ खर्च गर्यो । तर सन् १९६९ मा अमेरिकाले चन्द्रमामा पहिलो पटक मानवको पाइला टेकाउन सफल भएपछि स्पेस वार सोभियतले हार्यो । सन् १९९१ मा सोभियत संघको बिघटनपछि शीत युद्ध हारेको थियो । सोभियत संघ बिघटन हुनु को यो एउटा प्रमुख कारण त सबैलाई अवगत नै छ । तर म आन्तरिक पक्षको कमजाेरीलाई केलाउन चाहन्छु जसले गर्दा सोभियत संघ विघटन हुन पुग्यो ।
सन् १९८५ मार्च ११ मा मिखाइल गोर्बाचेभ कम्युनिस्ट पार्टी अफ द साेभियत यूनियन (सीपीएसयू) को जेनरल सेक्रेटिमा नियुक्त भए । अर्थात् सन् १९५८ मा गोर्बाचेभले सोभियत संघको नेतृत्व गरे । उनको प्रमुख लक्ष्य थियो सोभियत संघको अर्थतन्त्रमा सुधार र सरकारी नोकरशाहीलाई निरुत्साहित गर्नु तर जब उनको यो प्रयास असफल भयो, तब उनले ‘ग्लासनोस्ट’ र ‘प्रेस्ट्रोइक’ नीति ल्याए । नेपाली भाषामा ग्लासनोस्ट को अर्थको ‘खुलापन’ र प्रेस्ट्रोइकको अर्थ हो ‘पुनर्संरचना’ । सोभियत संघमा कसैलाई पनि स्वतन्त्ररुपमा बोल्न र लेख्न अनुमति थिएन । सोभियत सरकारलाई कुनै प्रश्न गर्न पाइंदैन थियो ।
गोर्बाचेभको ग्लासनाेस्ट (खुलापन) को नीतिले गर्दा अब सबैले स्वतन्त्र भइ बोल्न र लेख्न पाउने भए । तर गोर्बाचेभले सोंचेको जस्तो भने भएन । कम्युनिस्ट पुनर्जागरण गर्नु भन्दा त्यहाँको पत्रपत्रिकाहरु र विद्वानहरु उल्टै सरकारको विरुद्धमा बोल्न र लेख्न थाले । सोभियत संघले गरेको जातिय विभेद र दमन विरुद्ध आवाज उठ्न थाल्यो । सोभियतले मिडिया र सार्वजनिक क्षेत्र दुबैमा नियन्त्रण गुमायो र प्रजातन्त्रको आवाज उठ्न थाल्यो । प्रेस्ट्रोइकले पूजीँवाद र समाजवादको खराब मिश्रणलाई उजागर गर्यो । बजारमा मूल्य नियन्त्रण त हटाइयो तर विद्दमान नोकरशाही संरचनाहरु भने जस्ताकाे त्यस्तै रहे । अर्थात् कम्युनिस्ट अधिकारीहरुले ती नीतिको विरोध गरी पछाडि धकेल्न सक्ने भए जसले उनीहरुलाई प्रत्यक्ष लाभ दिंदैन । अन्ततः मिखाइल गोर्बाचेभको यिनै नीतिहरु कारण बन्न पुगे सोभियतको विघटनको ।
सन् १९९० तिर सोभियत संघ अमेरिका पछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश थियो तर उपभोग्य वस्तुको अभाव थियो । यो अनुमान गरिएको थियो कि सोभियत संघको कुल ग्राहस्थ उत्पादनको १० % भन्दा बढी कालोबजारी हुन्थ्याे । यस कारण त्यहाँको आर्थिक वृद्धिदरको गतिमा ह्रास आइरहेको थियो जसले गर्दा देशलाई वर्षौ सम्म रोकिरहेको थियो । प्रेस्ट्रोइकाले मात्र समस्याहरु निम्त्याइ रहेको थियो । मुद्राको छपाइ गरी ज्याला वृद्धि गर्नाले मुद्रास्फितीलाई समर्थन गरिएको थियो । वित्तीय नितिको दुरुपयोगले देशलाई बाहिरी कारक तत्वबाट कमजाेर तुल्यायो र तेलको मूल्यमा भएको ठूलो गिरावटले सोभियत संघको अर्थतन्त्रलाई पुच्छरमा धकेल्यो । जसले सोभियत संघलाई विघटनतर्फ धकेल्यो ।
अमेरिकासँग सैन्य शक्तिमा बराबरमा आउन सोभियत संघले आफ्नो कुल ग्राहस्थ उत्पादनको २० % भन्दा बढी खर्च आफ्नो सैन्य बल बढाउनमा लाग्याे । अर्थतन्त्र पछि धकेलिंदै जाँदा पनि नाटकीय ढंगले रक्षा खर्चमा वृद्धि गर्यो । ठूलो मात्रामा रक्षा खर्च बढाउँदा पनि सोभियत संघले अफगानिस्तानमा हार ब्यहोर्नु पर्यो । करिब १० लाख सोभियत सेनाले करिब १० वर्ष अफगान युद्धमा भाग लिए । १५ हजार सोभियत सेना मारिए भने हजारौँ घाइते भए । यस युद्धले लाखौँ अफगानी नागरिकहरु बाहिरी रुपमा विस्थापित भए भने हजाराैँ मारिए । जबसम्म सोभियत सरकारले त्यहाँको प्रेसलाई नियन्त्रणमा राख्यो, सोभियत नागरिकले थाहा पाएनन् तर जब गोर्बाचेभले ल्याएको ग्लासनाेस्ट नीतिको कारण अफगान युद्धमा सोभियत सेनाको लज्जास्पद हार सबै माझ प्रस्तुत गर्यो र ठूलो बिरोध प्रदर्शन भयो । अफगानीहरुसँग लड्ने बेला सोभियत सेना ( मध्य एसिया ) ले रसियन भन्दा अफगानीहरूलाई जातिय र धार्मिक सम्बन्धले आफ्नो नजिक पाए । यहीं भावनात्मक सम्बन्धले अफगानीहरुलाई सोभियत विरुद्ध युद्ध जित्न ठूलो सहयोग गर्यो । सोभियत संघ जसले हिटलरलाई आत्महत्या गर्न बाध्य तुल्यायो । अमेरिकाजस्तो शक्तिशाली देशसँग आँखामा आँखा जुधाएर बोल्ने हिम्मत गर्न सक्छ त्यो देशले अफगानी युद्ध हार्नुले विश्वमाझ उसकाे प्रतिष्ठामा ठूलो आँच आयो । अफगानिस्तानसँगकाे युद्धमा भएको हारले आर्थिक र भौतिक दुबै क्षति ब्यहोर्नु पर्यो, जुन सोभियत संघ विघटन हुनुको अर्को कारण बन्न पुग्यो ।
सोभियत संघ १५ देशको समूह थियो । सबै देशहरुको विचारधारा सुरुमा एउटै भए पनि समय अनुसार सबैको विचार बदलिन्छ । सोभियत संघमा विभिन्न जातजातिका मानिसहरु बस्दथे । उनीहरु सबैको फरक–फरक सामाजिक सांस्कृतिक पृष्ठभूमि थियो । यी सबै जातजातिहरुको सम्मान हुनु पर्ने जुन भइ रहेको थिएन र एक देशको विचारधारा एउटा हुनुको अर्थ त्यहाँ रहेका सबै जनताको विचारधारा एउटै हुन्छ भनेको होइन । बहुमतको विचारधारा एउटै भनेको हो । त्यसैले त्यहाँ कति यस्ता थिए जाे सोभियत संघको शासकको विचारधारामा असहमति जनाउँथे । भनिन्छ जोसेफ स्टालिनले हिटलरले भन्दा बढी आफ्ना जनतालाई मृत्युको मुखमा पुर्यायाे । जो कोही उनको विचारलाई समर्थन गर्दैन थियो । यसै कारण त्यहाँ रहेका जनताहरु सोभियत संघबाट टुक्रिन वा छुटिन चाहन्थे । यो अवसर गोर्बाचेभले ल्याएको सुधार नीति ‘ग्लासनोस्ट’ र ‘प्रेस्ट्रोइक’ ले दियो । सोभियत संघ अफगानिस्तानसँग पराजित हुनुले उनीहरुलाई अलग देशको माग गर्न थप बल पुग्यो ।
यस्ता आन्तरिक कारणले सोभियत संघको बिघटन हुन गएको हो । सोभियत संघको बिघटनमा मात्र अमेरिकाको हात छैन, बरु सोभियतकै कमजाेर नेतृत्व पनि संघ बिघटन हुनुको एक कारक तत्व हो । सोभियत संघको विघटनबाट नेपालले के सिक्न सक्छ भने जनताको माग सम्बोधन नहुँदा कि देशको प्रणालीमा परिवर्तन आउँछ या त देशको नक्सामा ।