सन् १९३९ देखि सन् १९४५ सम्म चलेको विश्वको एक प्रमुख घटना थियो दोस्रो विश्वयुद्ध । जब विस्तारवादले आफ्नो सीमा नाघ्छ अनि त्यसलाई रोक्न विभिन्न शक्तिहरु परिचालन गरिन्छ, त्यसकाे नतिजा हुन्छ युद्ध । जर्मनीका शासक एडोल्फ हिटलरको यहीं विस्तारवादको नीतिले दोस्रो विश्वयुद्ध निम्त्याएको थियो । फलस्वरूप, विश्वले ठुलो जनधनको क्षति ब्यहोर्नु पर्यो । दोस्रो विश्वयुद्धको क्रममा विभिन्न घटनाहरु घटे जसले युद्धलाई कहीँ न कहीँ मोड दिइ नै रह्यो । त्यस्तै एउटा प्रमुख घटना थियो, पर्ल हर्बरको घटना । जसले यस युद्धमा तठस्त रहेको अमेरिकालाई दोस्रो युद्धमा होमिन बाध्य तुल्यायो । हवाइ टापुमा रहेको पर्ल हार्बरमाथि जापानीजहरुद्वारा भएको आक्रमण त सबैलाई थाहा नै होला। तर, आक्रमण गर्नुको मुख्य कारण सायद कमैलाई थाहा हुनसक्ला । त्यसैले आज म यहीं कारणको बारेमा चर्चा गर्न गइरहेको छु ।
सन् १९२९ मा आएको महामन्दीको कारण जापान आफ्नो अर्थतन्त्र बचाउन आफ्नो साम्राज्य फैलाइ स्रोतहरु संकलन गर्न थाल्यो । सन् १९३१ मा मन्चुरिया (चीन) लाई आफ्नो अधिनमा लिइ यस अभियानको सुरुवात गर्यो । अमेरिका र जापानबीच सामान्य मतभेद पहिले देखि भए पनि जापानले यस्तो अमानवीय कदम चालेसँगै दुई देशबीचको सम्बन्ध निकै खराब भएको थियो । अहिलेको सयुक्त राष्ट्र संघ भए झैं, विश्वमा शान्ति कायम गर्न प्रथम विश्वयुद्ध पछि लिग अफ नेसनको स्थापना भएको थियो । जापानको यस कदमलाई लिग अफ नेसनको एक आयोगले निन्दा गरेपछि जापानले लिग अफ नेसनबाट आफ्नो सदस्यता खारेज गर्यो । लिग अफ नेसनबाट सदस्यता खारेज गरेपछि अब उसलाई आफ्नो साम्राज्य बिस्तार गर्न रोक्ने कोही पनि भएन । यसरी जापानले मन्चुरियालाई सन् १९४५ सम्म आफ्नो अधीनमा राख्यो ।
आफ्नो साम्राज्य बढाउने क्रममा इम्पेरियल जापानीज सैनिकले सन् १९३७ डिसेम्बर १३ मा नान्जिङमाथि आक्रमण गर्यो । इम्पेरियल सैनिककाे यो आक्रमणमा लाखौँ नान्जिङका स्थानीयहरु प्रतिकारमा उत्रिए । प्रतिकारमा उत्रिएका ती सबै स्थानीयहरु इम्पेरियल सैनिकबाट मारिए । लगभग छ हप्तामा जापानीज इम्पेरियल सैनिकले लाखौँ स्थानीयको हत्या गर्यो भने हजारौँ महिलाको बलात्कार । यसको साथ-साथै लुट पनि मच्चायो । जसलाई नान्जिङ नरसंहार भनेर पनि चिनिन्छ । एकपटक दुई जापानीज सैनिकबीच बाजी नै लागेछ, कसले कति छोटो समयमा सय चीनीयाँको टाउको छप्काउँछ भन्ने । यसबाट अनुमान लगाउन सकिन्छ कि त्यो घटना कति डरलाग्दो थियो । यहीं घटनाबाट प्रेरित भइ सन् १९९७ मा आइरिस च्याङले द रेप अफ नान्जिङ नामक किताब पनि लेखिन् । यहीं किताबबाट प्रेरित भई नान्जिङ नामबाट सन् २००७ मा चलचित्र प्रदर्शनमा आयो । सन् १९४५ मा जापानले आत्मसमर्पण गरे लगत्तै त्यहाँको सरकारले यस घटनामा ज्यान गुमाउनेहरुको वास्तविक तथ्यहरु लुकायो । त्यसैले यो डरलाग्दाे घटनामा कतिले आफ्नो ज्यान गुमाए इतिहासविदहरु यकिनका साथ भन्न सकिरहेका छैनन् ।
द इन्टरनेसनल मिलिटेरी ट्रिबुनल फर द फार इस्ट ( जसलाई टाेकियाे ट्रायल भनेर पनि चिनिन्छ ) को अनुसार २ लाख चीनीयाँहरुले ज्यान गुमाए । तर, चाइनिज अधिकारीका अनुसार ३ लाख भन्दा बढी चीनीयाँहरुले आफ्नो ज्यान गुमाएको दाबी गर्छन् । दशकौँ पछि नोभेम्बर १३, २०१३ मा जापानको प्रधानमन्त्री हाटोयामा युकोले यस घटना प्रति दुःख व्यक्त गर्दै माफी मागे ।
चीनले फ्रेन्च इण्डाेचीनबाट हात हतियार आपूर्ति गर्ने भएकाले इम्पेरियल जापानीज सैनिकले फ्रेन्च इण्डाेचीनमाथि पनि आक्रमण गरी आपूर्ति ठप्प पार्यो । फ्रेन्च इण्डाेचीनलाई आफ्नो अधिनमा लिएपछि त्यस ठाउँबाट हुने गरेको चीनीयाँहरुको आक्रमणबाट आफूलाई सुरक्षित राख्यो । जापानले एक तीरले दुई शिकार गर्यो । जापानको विस्तारवाद र साम्राज्यवादलाई परास्त गर्न अमेरिकाले जापानमाथि आर्थिक प्रतिबन्ध लगायो । सन् १९३९ मा अमेरिकाले जापानसँग सन् १९११ मा गरेको वाणिज्य सन्धि तोड्यो । सन् १९४० जुलाई २ मा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टले निर्यात नियन्त्रण अधिनियममा हस्ताक्षर गरे । यस अधिनियमले राष्ट्रपतिलाई अमेरिकाबाट निर्यात हुने सम्पूर्ण अत्यावश्यक रक्षा सम्बन्धि सामग्रीमा रोक लगाउन सक्ने अख्तियार दियो । सन् १९४१ जुलाई २६ मा रुजवेल्टले अमेरिकामा रहेका जापानको सम्पत्तिलाई जफत गरे । यसरी दुई राष्ट्रबीचको ब्यापारीक सम्बन्ध पूर्णरुपमा समाप्त भयो ।
आर्थिक प्रतिबन्धले गर्दा जापान अप्ठ्याराे स्थितिमा रहेको र यसको प्रतिक्रिया स्वरुप जापान सरकारले युद्ध गर्ने सक्ने रुजवेल्टलाई थाहा थियो । तैपनि यस्तो गम्भीर जानकारी वासिङ्टनले हवाईमा रहेको कमान्डरलाई भनेन। यदि वासिङ्टनले यस्तो गम्भीर जानकारी पर्लमा रहेका सैनिकहरुलाई दिएको भए आफ्नो र टापुको रक्षा गर्ने थिए होला । हजारौँ अमेरिकी सैनिकले आफ्नो ज्यान गुमाउनु पर्दैन थियो होला । अमेरिकी जनता दोस्रो विश्वयुद्धमा तठस्ट रहेकाले उनीहरु युद्धमा जाने चाहना थिएन तर, पर्ल हार्बरमा भएको आक्रमणले अमेरिकी जनतामा राष्ट्रवादको आँधी ल्याइदियो र त्यहाँको जनताको मान अनुसार अमेरिका युद्धमा होमियो । पर्ल हार्बरमाथिको आक्रमण पूर्व युद्धलाई लिएर अमेरिकी जनताहरु एकजुट थिएनन् । त्यसैले अमेरिका युद्धमा एक्कासि हाम फाल्न सक्दैन थियो । अमेरिकालाई युद्धमा कारण चाहि रहेको थियो । त्यसैले पर्ल हार्बरमा जापानद्वारा हुनसक्ने आक्रमणको जानकारी लुकाइएको थियो । युद्धमा नजानू भन्दा युद्धमा जाँदा अमेरिकालाई बढि फाईदा हुने भएकाले वासिङ्टनले सो जानकारी लुकाएको हो भनी इतिहासविदहरु भन्छन् ।
पर्ल हार्बरमा आक्रमण हुनु अघि सम्म जापान अमेरिकासँग बार्ता गर्न लगातार कोसिस गरिरहेको थियो । तर, अमेरिकासँगकाे युद्ध निश्चितजस्तो भएपछि आफ्नो शाख जोगाउन अमेरिकाले भन्दा पहिला आक्रमण गर्नुपर्ने भयो । अमेरिकालाई युद्धमा जित्न मात्र एउटा विकल्प थियो, अमेरिकामाथि अकस्मात हमला । जापानले पर्ल हार्बरमा आक्रमण गर्ने निर्णय गर्यो । पर्ल हार्बरमा आक्रमण गर्नुको प्रमुख ३ कारणहरु छन् ।
१) एसिया र प्यासिफिक क्षेत्रमा जापानलाई आफ्नो साम्राज्य विस्तार गर्न प्राकृतिक स्रोतहरु जस्तै ; खनिज पदार्थ, कच्चा तेल र स्टिलको आवश्यक परेको हुनाले ।
२) जापान र अमेरिका दुबैको चासोको विषय थियो प्राकृतिक स्रोत । त्यसैले जापानको कदमलाई रोक्न अमेरिकी सरकारले जापानमाथि आर्थिक प्रतिबन्ध लगाउनाले ।
३) रुजवेल्टले सन् १९४० अप्रिल महिनामा क्यालिफोर्नियाबाट पर्ल हर्बरमा आफ्ना अमेरिकी सैनिक राख्नाले । जापानको प्यासिफिक क्षेत्रलाई आफ्नो अधिनमा लिने महत्वाकांक्षा तुहिएर जाने खतरा भएकाले सैनिक राखेकाे थियाे ।
पर्ल हर्बरमाथि जापानले आक्रमण गर्नुको यी तीन प्रमुख कारणहरु थिए । अझ रसिया र चीनमाथि युद्धमा जित हासिल गरेसँगै जापानीजहरुको हौसला बढेको थियो । जापान सरकारले पर्लमाथिको आक्रमणको जिम्मा एडमिरल इसोरोकु यामामोटोलाई दियो । एडमिरल इसोरोकु यामामोटो ( उनी हार्वर्ड यूनिभर्सिटीको विद्यार्थी पनि थिए ) ले पर्ल हार्बरमा आक्रमण गर्न आफ्ना सैनिकहरुलाई वर्षौ तालिम दिए । पर्ल हार्बरमा आक्रमण गर्नु अघि जापानीज सेनाले कोगोशिमा टापुमा आक्रमणको तालिम लिएको थियो । सो टापुलाई पर्ल हार्बरको जुम्ल्याहा बहिनी पनि भनिन्छ । उनले आफ्ना सैनिकलाई यस्तो कडा तालिम दिएका थिए ताकि प्यासिफिक फ्लिट पूर्णरुपमा ध्वस्त होस् र अमेरिकाले प्रतिकार गर्न हिच्किचाओस् । जसले गर्दा प्यासिफिक जापानको अधिनमा रहोस् । भनिन्छ की अन्तरराष्ट्रिय कानूनको पालना गरी पर्ल हार्बरमा आक्रमण गर्नु अघि जापानको परराष्ट्र मन्त्रालयले अमेरिकामाथि युद्धको घोषणा गर्ने तरखरमा थियो । तर, यसरी युद्धको घोषणा गर्दा अमेरिका सतर्क हुने हुँदा जोखिम बढ्ने भएर जापानीज आर्मीले परराष्ट्र मन्त्रालयलाई अमेरिका माथि युद्धको घोषणा गर्न रोकेको थियो ।
नोभेम्बर २६, १९४१ मा भाइस एडमिरल नगुमो चुइचीको नेतृत्वमा विभिन्न विध्वंशकारी यन्त्रहरूसहित पर्ल हार्बरमा आक्रमण गर्न पठाइयो । जापानबाट ४ हजार माइल पर पर्ल हर्बरमा रहेका अमेरिकी सैनिकले यस आक्रमणको कल्पना समेत गरेको थिएनन् । यति टाढाबाट कसले आक्रमण गर्छ ? सोही कारणले गर्दा पर्ल हार्बरले आफ्नो रक्षा गर्न सकेन । जापानीजहरुको लागि पर्ल हार्बरमा आक्रमण गर्न झन सजिलो भयो ।
प्यासिफिकमा जित हासिल गर्न पर्ल हार्बरमा रहेका सम्पूर्ण अमेरिकी सेना रहेको बेसलाई ध्वस्त पार्नु पर्ने एड्मिरल यामामोटोले निष्कर्ष निकाले । भौगोलिक रुपमा पर्ल हार्बर अमेरिकाको लागि उपयुक्त थियो । यस टापुमा साँघुरो प्रवेशद्वार र गहिरो पानी रहेकाले आक्रमण होला कसैले सोचेको पनि थिएनन् । इम्पेरियल जापानीज आर्मीले पर्ल हार्बरमा तीन चरणमा आक्रमण गर्ने योजना बनाएको थियो । पहिलो चरणमा सैनिकको अड्डा ध्वस्त पार्ने याेजना थियो । दोस्रो चरणमा केही सीमित क्षेत्रमा र तेस्रो चरणमा तेल स्टोर गरी राखेको ट्याङ्कहरुमा आक्रमण गर्नु थियो ।
सन् १९४१ डिसेम्बर ७ मा इम्पेरियल जापानीज नाभीले पर्ल हार्बरमा एक्कासी आक्रमण गर्यो । नाभीले तीनै चरणमा पर्ल हार्बरमाथि आक्रमण गर्यो र पूर्णरुमा पर्ल हार्बरलाई ध्वस्त पार्यो । तर, जुन उद्धेश्यका लागि आक्रमण गरिएको थियो त्यो नै पूरा भएन । जापानीज नेभीले अमेरिकाको विमान वहन गर्ने ठाउँ पत्ता लगाउन नसक्दा त्यसलाई नोक्सानी पुर्याउन सकेन । यदि जापानले विमान वहन गर्ने ठाउँ फेला पारी ध्वस्त गरेको भए विश्वयुद्धको नतिजा फरक आउँथ्याे । जापानले गरेको यो डरलाग्दाे आक्रमणको कारण पर्ल हर्बरमा ९२ अमेरिकी जहाज मध्ये १९ जहाज, ९६ वटा लडाकु विमान पानीमा डुबे र १२ ओटा ध्वस्त भए । २३८८ जना अमेरिकी सैनिक र नागरिकको मृत्यु भयो भने ११७८ जना घाइते भए । यो आक्रमणको क्रममा जापानले २९ लडाकु विमान, ५ पनडुब्बी गुमायो र १ जापानीज सिपाहीलाई हिरासतमा राखियो भने १२९ सिपाही मारिए ।
जापानको यो आक्रमणको कारण अमेरिकाले ठुलो क्षति व्यहाेरेकाले केही केही विज्ञहरु भन्छन् – पर्ल हर्बरमा जापानद्वारा गरिएको आक्रमण सफल रह्यो । अँह ! त्यो आक्रमणलाई सफल भन्न सकिदैन । म चाहिँ त्यो आक्रमणलाई सफल मान्दिन किनकी जापानले पर्लमा आक्रमण गर्नुको मुख्य कारण थियो, प्यासिफिक क्षेत्रलाई आफ्नो अधिनमा लिइ आफ्नो साम्राज्य विस्तार गर्ने जुन जापानले आफ्नो अधिनमा लिन सकेन । त्यसैले यस आक्रमणलाई जापानको सबैभन्दा ठूलो मुर्खता र गल्ती बाहेक केही भन्न सकिन्न । जापानले जानी-जानी सुतेको बाघलाई जिस्काएको थियो । डिसेम्बर ८, १९४१ मा अमेरेकी राष्ट्रपति रुजवेल्टले जापानमाथि युद्धको धोषणा गरे ।
पर्ल हार्बर ध्वस्त गरेपनि सोंचेको जस्तो नतिजा नपाउँदा, त्यही सफलतालाई निरन्तरता दिन र पूर्णरुपमा अमेरिकाको ढाँड भाँच्न सन् १९४२ मा मिडवेमाथि आक्रमण गर्ने तयारी भयो । तर, अमेरिकाले यो आक्रमणको जानकारी पहिल्यै पाएकाे थियाे । अमेरिकाले उल्टो जापानी नाभीमाथि आक्रमण गर्दा जापानले मिडवेमा युद्ध हार्यो । एडमिरल इसोरोकु यामामोटो यहीं युद्धको क्रममा आफ्नो ज्यान गुमाए । २०१९ मा प्रदर्शनमा आएको हलिउड चलचित्र मिडवे यसै घटनामा आधारित छ । यस्तै सन् १९४२ मै क्याराेल सीमा नियन्त्रण पाउन अमेरिका र जापान बिच युद्ध भयाे । यस युद्धमा पनि जापानको हार भयो । अन्ततः सन् १९४५ अगस्ट ६ र ९ गते अमेरिकाले जापानको प्रमुख दुई शहर ; हिरोसिमा र नागासाकीमा क्रमशः परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्व युद्ध समाप्त भयो ।
चीनीयाँ नागरिकहरुमाथि डरलाग्दो र अमानवीय व्यवहार जापान सरकार र उसका सैनिकहरुले गरे, नकी त्यहाँका नागरिकहरुले । आफ्नो सरकारलाई समर्थन केही जापानीज नागरिकले भने गरेका थिए । तर, यसको तात्पर्य यो होईन की अमेरिकाद्धारा जापानमाथि गरिएको आक्रमण मानवीय थियो । यो त झन् क्रुर थियो । दोस्रो विश्वयुद्ध अन्त्य गर्न परमाणु अस्त्रको प्रयोग गर्नुपर्ने स्थिति नै आएको थिएन । किनकि उता युरोपमा जर्मनीले र इटलीले पराजय भोगिसकेकाले जापान एक्लो भएको थियो र त्यतिबेला पनि अमेरिका जापान भन्दा शक्तिशाली नै थियो । त्यसैले मेरो विचारमा अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गर्न जापानमाथि परमाणु अस्त्रको प्रयोग गरेको जस्तो लाग्छ ।अमेरिकाद्धारा जापानमाथि गरिएको शक्ति प्रदर्शनले अर्को युद्ध निम्त्यायो र त्यो थियो शित युद्ध ।