Logo

सुजन अधिकारीका दुई कविता



Spread the love


मेराे राष्ट्रियता बिक्रीमा छ

मरूभूमिबाट आधा जलेको शरीर लिएर स्वदेश फर्कंदा,
म, आफूलाई काँडेतारको सीमामा छेकिएको पाउँछु
हृदय तपेको समयमा मातृभूमिको शितलता दिलाउन नसक्ने,
नागरिकताले मेरा लागि के अर्थ राख्छ ?

मेघ गर्जनको स्वरले आक्रान्त मेरो आँत अन्न माग्छन्,
आँखाको नुनिलो समुन्द्र चुहिएर ओठसम्म आइपुग्छन
मलाई त्यस्तो त्यस्तो नागकिताको के काम ?
जुन कागजले मेरो भोक, प्यास मेट्ने सामर्थ्य राख्दैन !

अन्यायको क्षितिज सँधै मेरै धुरीमा ठोक्किन आइपुग्छ,
अनि, मैले न्याय माग्न आफ्नै परिवारको रगतले आँगन पोत्नुपर्छ
मेरो नागरिकताले मलाई, नागरिक हुनुको आभाष दिलाउन सक्दैन,
त्यस्तो नश्लीय न्यायको प्रत्याभूति गर्ने वर्गीय कागजको मलाई के वास्ता ?

मैले पाएको नागरिकताले मेरो अधिकारको सुरक्षा गर्न सक्दैन,
म र मेरो परिवारले भोग्ने अन्यायको वकालत गर्न सक्दैन
एक फगत कागजी खोस्टो हो, मैले पाएको प्रमाणपत्र
त्यसैले म, मेरो नागरिकता बेच्न चाहन्छु, लिलामी गरेर ।

मेरो राष्ट्रियता बिक्रीमा छ, तिमी किन्छौ मेरो नागरिकता ?
मलाई सपनाहरुको तुसारोबाट बच्न, आँङ ढाक्ने वस्त्र किन्नु छ ।

काेराेना अनि म

लोक भन्छ;
जगत् मिथ्या ईश्वर एक मात्र सत्य
स्लोक भन्छ;
जले विष्णु, स्थले विष्णु
विष्णु नै सर्वे सर्वा
यस संसारमा, विष्णुभन्दा पर केही छैन
न त विष्णुभन्दा भिन्न केही छ
म हुँ विष्णुको एक अंश,
तिमि पनि हौ विष्णुको एक स्वरुप !
यसरी त हामी एक अर्काका पर्याय बन्यौ कोरोना
आउ कोरोना, हामी एक अर्कामा एकाकार हौं ।


हाम्रो एकाकारीता,
जगतका लागि प्रलयको होइन, प्रेमको मिसाल बनोस्
शून्यदेखि, शून्यसम्मको यात्रामा,
हामी, एक अर्काका सारथी बनौँ
यसै प्रकृतिबाट निस्किएका हामी,
यसै धर्तीमा नामेट भै जाऔँ
हामी एक अर्कामा बिलीन हुँदा प्रकृति हास्नेछिन् !
पुनः एक पटक ।

@suzzanadhikary

प्रतिक्रिया दिनुहोस्