–बिनायक पन्त
फर्केर हेर्दा,
जीवनले एक कोल्टो मारिसकेछ
फगत एक खुशीकाे निमित्त
हजार चोट सही सकेछ
र पनि खै किन
लर्खराउँदै हिँडिरहेछ
कुनै अँध्यारो गल्लीभित्र
एक धागो जस्तै
लम्बिरहेछ जीवन कैयन ।
उध्रिएका घाउहरु सिउन
र पनि खै अपुग छ किन
सायद अमूल्य छ्न्
सिलाउने सियोहरु
तर किन भाँचिन्छ्न्
एक झिनो बलसँगै
जसरी चुँडिन्छ रेट्दा रेट्दै
सारङ्गीको तार
जसरी झर्छ लेख्दा लेख्दै
कलमको निब
तर मेटिन्नन् पाईतालाका डोबहरु
आमाका यादहरुमा
जो हिँड्न सिकेका थिए ताते ताते गर्दै
या फेरि लात बझारिएका थिए
आमाको छातीमाथि।
जीवन पर्केर हेर्दा
सोंचिरहेछ कोही
आमाको काखदेखि
प्रियाका साथ सम्मका ती यादहरु
जो गुमाईसकेछ
अस्ताएको घामसँगै
र त गुजारिरहेछ नशामा ती रातहरु
तर किन मान्दैन बिर्सिन
सायद जीवनका ती घाउहरु
अचुक हुन्छ्न
जो सिलाइएका छैनन्
र त कोही खोजिरहेछ
सियो–धागो
जो लम्बिरहेछ,
जिन्दगीको उधारसँगै
र पनि खै अपुग छ किन
सायद अमुल्य छ्न्
ती चोटहरु ।
तर खै,
एक खुशी हात लगाउन
पोखिरहेछ आफ्नै पोल्टाका खुशीहरु ।
तर बुझ्दैन किन
सायद सिलाईरहेछ उध्रिएका घाउहरु
एक तमास
र त बल्झिरहेछ घाउ
हरेक प्रहर।
मान्छे,
हराई रहेछ त्यहीं साँघुरो गल्लीभित्र
जो अन्धाधुन्ध प्रहार गरिरहेछ लात
आमाको छातिमा जस्तै
किल्चिरहेको छ आफ्ना पाइतालाहरुले
प्रियाको प्रेमलाई जसै।
र त भोगिरहेछ सजाएँ
भागवतमा लेखिएका श्लोकले कहे जसै।
आखिरत:
लेख्दै गर्दा कविता
म सम्झिरहेछु ती पुराना दिनहरुलाई
र पनि किन
काँपिरहेछ्न मेरा हातहरु
सायद चाँहदैनन् लेख्न ती यादहरु
या फेरि असमर्थ छ्न्
तिनका भावहरु लेख्न
मानौँ किम्ती छ्न तिनका मुल्यहरु
सियो जस्तै।
र त खलबलिन्छन् ती स्वप्नहरु
ढुङ्गाको प्रहारले
बिथोलिएको तलाउ जस्तै ।
अन्ततः जीवन फर्केर हेर्दा
चुँडिएछ सारङ्गीको तारहरु
भाँचिएछ्न अनेक रहरका
कलिला सुइराहरु
झरेछन् कैयन कलमका निबहरु
लेख्दा लेख्दै
जसरी ब्युझिन्छ
देख्दा देख्दैको सपनाबाट
त्यसै गरी ।