Logo

सृजना देबकाेटाका तीन गजल



Spread the love

गजल–१

आमा के यहाँ चुप लाग्नुको अर्थ हार हुन सक्छ
होइन मौनता नै ठुलो हतियार हुन सक्छ

बादलमा आगो सल्काई, सपना तरङ्गीत पारी
हँसाउन सक्यो भने सायद त्यो प्यार हुन सक्छ

काँडा पनि यति मख्ख छ फूलसँग आजभोलि
आफू फूलभन्दा नि फूल हुनु अहंकार हुन सक्छ

आमा भन्नुहुन्छ गाउँ पठाउ बिरामीलाई
मेरो यो काख नै हरेक रोगको उपचार हुन सक्छ ।

भिखारी हरेक रात यहीं सोंचेर निदाउने गर्छ
मृत्युबाट अवश्य नै भोकको उद्यार हुन सक्छ

गजल–२

जागिर खान पद, पावर र ठुलै नाम हुनुपर्छ
मित्र टेबुलमुनिबाट दिन गतिलो दाम हुनुपर्छ


तंपाई भन्नुहुन्छ सानो चिजको महत्व हुँदैन
पत्र पठाउनको लागि पनि त खाम हुनुपर्छ

यसरी अरुलाई दोष लगाई नरहनुहोस् मित्र
कहिले काहीँ हजुरको मुखमा लगाम हुनुपर्छ

आमा सडकमा छरिएका चामल बटुल्दै छिन्
त्यो भरे छोराछोरीको पेटमा इन्तजाम हुनुपर्छ

चुप लाग्नुस नगर्नुस गुनासो आँशु झर्यो भनेर
रुन दिनुहोस् जरुर यो आँखाको काम हुनुपर्छ

गुरु के हामी आज पनि राम भएर बाँच्न सक्छौँ ?
होइन बाबु यो कलियुग हो यहाँ हराम हुनुपर्छ ।

गजल–३

कहिले बुझ्दैन यो मनले मनको कुरा
जसरी बुझेन अभावले जीवनको कुरा

काटेको पाइन्टकै माग गरिरहन्छ छोरा
बुझ्नै सकेन उसको बाको गन्थनको कुरा

अब बाले लफङ्गिदै हिँड्न नदिएपछि
छोरो जोडिरहन्छ सधैं बन्धनको कुरा

उसका यादबाट बेजात हुने वाचा गर्छ
साँच्चै कसरी मानुँ यो धड्कनको कुरा

डढेलो लागेकै वर्ष चराको घर भत्कियो
सम्झिन्छ होला उ आगो र वनको कुरा ।

प्रतिक्रिया दिनुहोस्