कोभिड–१९ अर्थात् कोरोना भाइरसको विश्व महामारीका कारण यतिखेर विश्व नै आतङ्कित छ । विश्वका शक्तिशाली मुलुकलाई समेत उथलपुथल बनाई रहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका साथ काम भइरहेका छन् । रोकथामकै लागि नेपाल सरकारले देशव्यापी रूपमा लकडाउन गरेको छ ।
स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरु गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका पुगेर यी बिषयमा सवाल जवाफ गरिरहेको छ ।
देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू हुँदा यसै क्रममा ५ नम्बर प्रदेश गुल्मी जिल्ला मालिका गाउँपालिकाको अवस्थाबारे कुराकारानी गरिएको छ ।
मालिका गाउँपालिकाले कोरोना भाइरस रोकथाम गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै बिषयमा मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीसँग सल्लेरी खबरकर्मी डि.बी. खड्काले गरेको यो कुराकानी ।
विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि मालिका गाउँपालिकाले के कस्ता कार्यहरू गरिरहेको छ ? र, बाग्लुङसँग सिमाना जोडिएको यस गाउँपालिकाको सतर्कता कस्तो छ ?
मालिका गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि विभिन्न कार्यहरू गरेका छ । सर्वप्रथम त हामीले राष्ट्रिय स्तरबाट जारी भएका आदेशलाई सही ढङ्गले पालना गरेका छौँ भने अर्को तर्फ हामीले यसको पूर्व तयारीको लागि गाउँपालिकास्तरबाट आफ्नै रणनीति बनाएर कार्यान्वयनमा लागेको अवस्था छ । विशेष गरेर यो रोगलाई भित्रिन नदिनको लागि पूर्व तयारीका कुराहरू र भित्रिसकेपछि संक्रमित व्यक्तिहरूलाई बचाउनको लागि गर्न सकिने क्रियाकलापहरू बारे काम गरेका छौँ । क्वारेन्टाइनको व्यवस्था गर्ने, सचेतना कार्यक्रमहरू अगाडि बढाउने, लकडाउनलाई पालना गर्नेजस्ता गतिविधि गरेका छौँ र जुन बाग्लुङमा कोरोना संक्रमित भेटिनु भयो । त्यसप्रति हामी सचेत छौँ र बागलुङतिरका सीमाहरू सबै बन्द गरेका छौँ । बागलुङसँग बढी घुलमिल भएको वडा नम्बर तीनको गङगरे नाका र नेटा दर्लिङ हो । त्यहाँका स्थानीय युवाहरू परिचालन गरी पूर्णरुपमा बाग्लुङका नाका बन्द गरेका छौँ । हाम्रो क्षेत्र हुँदै जाने मानिस तथा सवारी साधनलाई पूर्ण रूपमा बन्द गरेका छौँ । जुन हाम्रो परम्परागतरुपमा घोत लगेर जाने प्रचलन छ यस्तो केसमा पनि हामीले वरपर गर्न निशेष गरेका छौँ । प्रत्येक दिन त्यस क्षेत्रको रिपोर्टिङ समेत हुने गर्दछ ।
अहिले कर्मचारीहरूले कोरोना नियन्त्रणको लागि के कसरी आफ्नो भूमिका निर्वाह गर्नु भएको छ ? र स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सामग्रीको अवस्था कस्तो छ?
हामीले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई सुरक्षित बनाएर मात्र उपचारमा खटाउनु पर्छ । हामीले प्रत्येक स्वास्थ्य संस्थामा २० हजार प्रोत्साहन भत्ता दिएर हेल्थ डेस्कको निर्माण गरेका छौँ । हामीले हाम्रा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पीपीई उपलब्ध गराएका छौँ । कोरोना नियन्त्रणको लागि अति आवश्यक सामग्री काठमाण्डौंबाट खरिद गरेर स्वास्थ्य संस्थामा उपलब्ध गराएका छौँ । त्यस्तै गरी कर्मचारीको टिम, सूचना अधिकारी, लेखा अधिकृत, स्वास्थ्य संयोजक, र म आफै गाउँपालिकामा नियमित उपस्थित भएका छौँ र हरेक क्रियाकलापमा सहभागी भएका छौँ । स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई उच्च मनोबलका साथ बिहान ७ बजे देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कमा खटिनु भएको छ ।
सबै गाउँमा भित्रिएसँगै लकडाउन कार्यान्वयन गर्न समस्या पैदा भएको छ ? निम्न वर्गका नागरिकलाई कस्तो सहयोग प्रदान गर्नु भएको छ ?
हामीले पहिलो कुरा त लकडाउनलाई कार्यान्वयन गर्न हाम्रा साबिकका गाविसका वडाहरूमा स्वयमसेवकहरु परिचालन गरेका छौँ । उहाँहरूलाई खाजा र अति आवश्यक कामको लागि १० लिटर पेट्रोलको व्यवस्था गरेका छौँ । प्रचार प्रसारको लागि करिब ४ सय फेल्क्स प्रिन्ट गरी टोल टोलमा प्रचार गरेका छौँ । त्यस्तै गरी नागरिकलाई घरमा बस्नको लागि स्थानीय कटुवालको प्रयोग गरेका छौँ । लकडाउनको उलङ्घन गर्नेलाई सम्झाउने बुझाउने काम गरेका छौँ । अटेर गरेको खण्डमा प्रहरीको सहयोगमा कारबाही समेत गरेका छौँ । त्यस्तै गरी नागरिकहरूको जीवनस्तर सहजताको लागि अहिलेसम्म ६ सय ५० घरपरिवारलाई राहत वितरण गरेका छौँ । करिब १२ सय नागरिकलाई थप राहत वितरण गर्न तयारी गरिरहेका छौँ । प्रत्येक वडामा रहेका खाद्यवस्तुहरूको बिक्री वितरणलाई व्यवस्थित बनाएका छौँ । कालोबजारी नियन्त्रणमा पनि जोड दिएका छौँ । वडा अध्यक्ष र क्रियाशील राजनीतिक दलको प्रतिनिधिमा अनुगमन गरेका छौँ । यदि पसलमा समान खरिद गर्नुपरेमा गाउँपालिकाको सिफारिस लिएर स्थानीय बजारमा गएर खरिद गर्नु पर्ने नियम बनाइएको छ ।
क्वारेन्टाइनको व्यवस्था के कसरी गर्नु भएको छ ? पछिल्लो समय कति नागरिक मालिका गाउँपालिका प्रवेश गरे?
प्रत्येक वडामा त्यहाँको सामुदायिक विद्यालयलाई प्रयोग गरी त्यस वडाको भौगोलिक अवस्था, जनसङ्ख्या र त्यस विद्यालयको भौतिक अवस्था हेरिकन १ सय ५७ वटा क्वारेन्टाइन बेडको व्यवस्था गरेका छौँ । त्यसको लागि हामीले हाम्रा गाउँपालिकाका ८ वटा विद्यालय प्रयोग गरेका छौँ । हामीले केही दिन अघि मात्र छिमेकी मुलुक भारतबाट आएका १० जनालाई १० दिनसम्म क्वारेन्टाइनमा राखेर छाडिदिएका छौँ । अहिलेसम्म छिमेकी मुलुक भारतबाट ५७ जना प्रवेश गर्नु भएको छ । उहाँहरू जोखिममुक्त हुनुहुन्छ र सबै आफ्नै होम क्वारेन्टाइन बस्नु भएको छ ।
राहत व्यवस्थापन कोषमा जनप्रतिनिधि तथा कर्मचारीले के कति सहयोग गर्नु भएको छ?
राहत व्यवस्थापन कोष भनेर गाउँपालिकाले खाता सञ्चालन गरेको छ । जनप्रतिनिधिज्यूबाट विशेष गरी कार्यपालिका सदस्यहरूबाट उहाँहरूले सेवा सुविधा पाउने सेवा सुविधाको दुई महिना बराबरको रकम जम्मा गर्ने र कर्मचारीहरूबाट तीन दिन बराबरको पारिश्रमिक, शिक्षकहरूबाट दुई दिन र गाउँपालिकाले पनि आफ्नो वार्षिक बजेटको चालू र पुँजीगत गरी ५० लाख रकम विपदकोषमा जम्मा गरेका छौँ भने अन्य नागरिकहरूले पनि आफू सक्दो सहयोग गर्नु भएको छ ।
विशेषतः स्वास्थ्य क्षेत्रका कर्मचारी बढी जोखिममा हुने हुँदा उनीहरूको मनोबल उच्च बनाउन के गर्नु भएको छ ?
हामीले पहिलो चरणमा ११ वटा हेल्थ डेस्क सञ्चालन गरेका छौँ । प्रत्येक हेल्थ डेस्कमा मासिक २० हजार र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेका छौँ । स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सामग्री उपलब्ध गराएका छौँ । हरेक दिन प्रत्यक्ष वा फोनबाट रिपोर्टिङ गरेका छौँ । त्यहाँको समस्या बारे बुझेका छौँ । स्वास्थ्य संस्थाको क्षमता वृद्धि गर्ने कार्यहरू गरेका छौँ ।
कोरोनाले त्रसित बनेको मालिका गाउँपालिकामा बस्नेहरूलाई उच्च मनोबल बनाउन तपाईँको सन्देश के छ ?
कोरोना विश्वव्यापी महामारीको रूपमा फैलिएको छ । यसबाट बच्न उच्च सतर्कता अपनाउने, आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित गराउने महत्त्वपूर्ण पाटो भनेको लकडाउनको पालन गर्नु हो । घर बाहिर ननिस्किनु होला । आफू सक्दो सहयोग अरूलाई गर्नु होला ।
राहत पाउनु पर्ने नागरिकहरूलाई कार्यविधि बनाएर राहत प्रदान गरेका छौँ । यदि राहत पाउनु भएको छैन भने वडा कार्यालयमा सम्पर्क गर्नुहोला । राहतको लागि कार्यविधिले दिएको मान्छेले मात्र प्रयास गर्नु होला । आफूले गर्न सक्ने मानिसले राहतको लागि पहल नगर्नु होला । यदि त्यसो गर्नु भयो भने विपन्न परिवारमाथि अन्याय हुने छ । राहत पाउने कुरामा प्रतिस्पर्धा नगर्नु होला । सबैलाई कोरोना लाग्दैन, लाग्दैमा मरिँदैन पनि । त्यस कारण नआत्तिनु होला, घरमै बसिदिनु होला ।