Logo

कोरोना भाइरस र यसले अर्थतन्त्रमा पारेको प्रभाव



Spread the love

संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ अथार्त् कोरोना भाइरस विश्वको लागि एउटा चुनौतीको रुपमा देखा परिसकेको छ । कोभिड-१९ सर्वप्रथम सन २०१९ डिसेम्बर २० मा चीनको एउटा प्रमुख शहर युहानमा देखा परेको थियो ।

डब्ल्यूएचओको अनुसार संसारभर लगभग १ सय ९૪ देशमा कोरोना भाइरस देखिएको छ । विश्वभर संक्रमितको सङ्ख्या ३ लाख ५८ हजार ८ सय ५२ रहेको छ । कोरोनाको कारणले विश्वभर १५ हजार ૪ सय ३३ जनाको ज्यान गइसकेको छ । १ लाख ६ सय ५८ जनाको सफल उपचार भइसकेको छ भने २ लाख ૪२ हजार ७ सय ७३ जना हाल उपचाररत छन् । गम्भीर अवस्थामा रहेका बिरामीको सङ्ख्या ११ हजार ६ सय ३२ रहेको छ । चीनमा सबैभन्दा बढी ८१ हजार १७१ जना व्यक्तिमा संक्रमणको को केस दर्ता गरिएको छ । जसलाई रोक्न चीनको विभिन्न शहर लकडाउन गरिएको छ । फलस्वरूप प्रत्यक्ष रुपमा विश्वको दोस्रो ठूलो र एसियाको पहिलो ठूलो अर्थतन्त्रको वृद्धिमा -०.५% ले ह्रास आएको छ। चीनको उत्पादन क्षेत्र विशेष रुपले यस भाइरसको कारण प्रत्यक्ष प्रभावमा परेको छ । प्राइभेट कम्पनीद्वारा गरिएको एक सर्वेक्षण अनुसार चीनमा रहेको कारखानाको क्रियाकलापको रिडिङ ४०.३ रहेको छ । यस्तो सर्वेक्षणमा ५० भन्दा तलको आएको रिडिङले कन्ट्र्याक्सन जनाउँछ । चीनको उद्दोगको उत्पादन १३% ले खस्केको छ । चीनको अर्थतन्त्रको गतिमा ह्रास आउँदा मात्र चीन नभइ चीनसँग व्यापार गर्ने अन्य देशहरु जस्तै भियतनाम, साउथ कोरिया र सिङ्गापुर जस्तो देशहरुलाई पनि ठूलो धक्का पुग्न सक्छ । अर्थशास्त्रीहरुका अनुसार आफ्नो क्रियाकलाप सुचारु गर्न चीन र अन्य मुलुकमा रहेको कारखानाहरुले आशा गरिएको भन्दा बढी समय लाग्ने अनुमान गरेका छन । जसकारण विश्वको अर्थतन्त्रको गतिमा ह्रास निश्चित छ । विश्वको अर्थतन्त्रको गतिविधिमा आएको ह्रासले कच्चा तेलको माग पनि घटेको छ । तेलको मुल्य केही वर्ष यताकै कम हुन गएको छ । मागको भन्दा पुर्तीको मात्रा बढी भएकाले पनि तेलको मूल्य कम भएको अर्थशास्त्रीहरु जनाउँछन। चीन विश्वकै सर्वाधिक कच्चा तेल आयात गर्ने मुलुक भएको र चीनभित्र आर्थिक गतिविधिमा कमी हुनाले आयातमा पनि कमी आएको हो । जसकारणले तेलको माग र मूल्यमा ह्रास आयो । यस भाइरसको कारण २ खर्ब ७० अर्ब अमेरिकी डलर बराबरको नोक्सानी विश्वको अर्थतन्त्रमा पर्नेछ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक एक प्रतिवेदन अनुसार व्यापार तथा कर्जा प्रवाहमा संकुचन आएको, रेमिट्यान्स घटेको र बजार भाउ बढेको जनाएको छ । कोभिड-१९ को प्रत्यक्ष प्रभावले विभिन्न आर्थिक सुचक नकारात्मक देखिएको छ । भारतमा भएको मुल्यवृद्धि तथा उच्च मागको कारण माघ महीनामा खाध्य तथा पेय पदार्थको मूल्यवृद्धि ९.७९% रहेको छ । सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौ उपत्यका र कम हिमाली क्षेत्रमा कम देखिएको छ । काठमाडौ उपत्यकाको मूल्यवृद्धिदर ७.५८%, तराई ७.२९%, पहाड ५.४६% र हिमालमा ५.२८% रहेको छ । उच्चदरमा बढ्दै आएको रेमिट्यान्समा ०.५५% ले ह्रास आएको छ । माघ महिनासम्म ५ खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्ष यहि अवधिमा रेमिट्यान्स २८.५ % ले बढेको थियो । यसै गरी अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रिदर तोकेको छ । कोभिड-१९ को कारण कूल आन्तरिक कर्जा २.९ % ले बढेको छ । गत बर्षको तुलनामा कूल आन्तरिक कर्जाको वृद्धिदर ७.४% ले घटेको छ । गत वर्ष कूल आन्तरिक कर्जा १०.३% ले बढेको थियो । त्यस्तै बैंक तथा बित्तीय सस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा समेत ५.१% ले कमी आएको छ । माघ मसान्तसम्ममा निजी क्षेत्र तर्फको कर्जामा ८.९% ले बढेको छ । जुन गत बर्ष १४% ले बढेको थियो । कर्जा वृद्धिदर घट्ने संकेत देखिएको कारण नेपाल राष्ट्र बैंकले चालू आ. ब को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कर्जा प्रवाह नीतिलाइ केही खुकुलो बनाएको छ । कर्जा मात्र नभई निक्षेप वृद्धिदरमा पनि ह्रास आएको छ । समीक्षा अवधिमा बैंक तथा बित्तीय सस्थामा रहेको निक्षेप ६.४% बढेको छ । अघिल्लो बर्ष सोही अवधिमा ८.७% ले बढेको थियो ।

भारतसँग नेपालले लगभग ४२० मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार गर्ने भएकाले अन्य देशको तुलनामा भारतको अर्थतन्त्रमा आउन सक्ने परिवर्तनले नेपालको अर्थतन्त्रमा आउन सक्ने परिवर्तनको निर्णय गर्दछ । भारतमा मूल्य वृद्धि बढी हुनु , डलरमा वृद्धि आउनु र नेपाल तर्फको माग पनि उच्च हुनुको कारण मूल्यवृद्धि भएको हो । नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव फागुन महिना देखि देखिन थालेको हो । रेमिट्यान्स आय, मूल्यवृद्धि र आर्थिक वृद्धिदरमा कोरोनाको प्रभाव बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्