–हरि न्याैपाने निराकार
सानो छँदा असारे गर्मी बिदामा प्रायः घरका कान्छा सदस्यको काम एउटै हुन्थ्यो– हरिया केराका पातले छाएको सानो छाप्रामा बसेर धानको बीउ हेर्ने । गर्मी भए दुलही खोलामा डुबुल्की मार्ने र माछा भन्दै चेपागाँडाका बच्चालाई रारा चाउचाउको खोलमा राखेर पाल्न घर ल्याउने ।
कहिलेकाहीँ कुलो ताछेर चौडा बनाउन हिँडेका झलारीहरुले,“ ओइ थरुनीको पोइ, के छ ?” भन्दा हाम्रा कान लाजले राता खुर्सानी झैं लाल हुन्थे । बा भन्नुहुन्थ्यो,“ चौधरीलाई पौरखमा कसैले जित्न सक्दैन ।” जेठ असारको उष्ण गर्मीमा पनि झलारीहरु हातमा फरुवा बोकेर कुलो ताछ्न निस्कन्थे ।
मेरो केटाकेटी मन कुलाको डिलमा बसेर पौरखी पाखुराको लय निहाल्थ्यो । झलारीले ताछेर चौडा बनाएको गाउँको कुलोलाई मैले कसैले फड्केर नागेको देखेकै थिएन ।
एकपटक खेत बटैया लगाउने बड्काले जाँडको जोसमा हाम फालेर नाग्न खोज्दा खसेको देखेर मेरी आमालाई खित्काको लहर सम्हाल्न गाह्रो भएको थियो । एकदिन धानको ब्याड गोड्न मस्त मेरी आमालाई, “यो कुलो कस्ले नाग्न सक्छ ?” भनी जिज्ञासा राखेको थियो । आमाले फिस्स हाँस्दै आफ्नै सुरमा राजाले भनी फर्काएको जवाफले मेरो मस्तिष्कको एउटा कुरामा चार आनाको घडेरी किनेर सानो छाप्रो नै हालेर बस्यो । मलाई लाग्दथ्यो कि त्यो कुलो भगवानले बाहेक कसैले नाघ्न सक्दैन । के भगवान र राजा एउटै हुन ?
आमाको जवाफपछि मेरो मनमा राजा शब्दले अनौठोसँग आफ्नो कब्जा जमायो । मानौँ उनमा दैवीशक्ति छ । त्यसैले त उनले आम मानिसले गर्न नसक्ने काम पनि गर्न सक्छन । वर्षाको भेलमा उर्लिएको राप्ती नदी पौडिएर पार गर्न होस् वा बिहेको भतेरमा पाकेको एक ताउला पुलाउ एकै पटकमा सिध्याउन किन नहोस ! ती काम राजाका लागि मात्र सम्भव थियो । उनी सिमलको रुख चढ्न सक्थे, सिस्नाको झाडीमा दौडन सक्थे, उनलाई गुच्चा खेल्नमा कसैले जित्न सक्दैनथ्यो ।
‘तैले भन्दा राम्रो त राजाले गर्छन् ‘ भन्दै कसैको घमण्ड चकनाचुर पार्न उनै काम लाग्थे ।
शिरमा ढाका टोपी, ठुलाठुला सिसा भएको चस्मा, घोप्टिएका काला जुँगा र ओठको मन्द मुस्कान भएको राजाको फोटो दाइ दिदीका किताबबाट खोजेर आफ्ना कापीमा टाँस्नु र अरुलाई रुप्पे गोटा बेच्नु मेरो लागि नौलो कुरा थिएन ।
“बा राजा कहाँ बस्छन ?” एकदिन आँगनको डिलमा बसेर आफ्ना दाह्री बनाई राखेका बालाई मैले प्रश्न तेर्साएथेँ । “काठमाडौको नारायणहिटीमा” बाले फर्काएको छोटो जवाफले ठूलो अर्थ बोकेको थियो किनकी मेरो गाउँबाट काठमाडौ जाने बस छुट्थ्यो तर बैकुण्ठ जाने बस मैले कहिल्यै देखेको थिइन् ।
भगवानले अवतारको रुप धारण गरेपछि बैकुण्ठबाट झरेर यस मर्त्यलोकमा हाम्रोबीच बस्छन् भनेर बाले बेला बेलामा रामायण र महाभारतका कथा सुनाउनु हुन्थ्यो । आखिर भगवान राम र कृष्ण पनि त राजा नै थिए ।
“हाम्ले नि राजालाई हेर्न पाउँछम बा ?” मेरो कौतुहलता मेट्न बाले पाइन्छ भन्ने संकेतमा टाउको हल्लाउनु भएको थियो । अनि छुन नि बा ! मेरो इच्छाले नचाहिँदो उचाई लिंदै थियो । बाले ठुला मानिसले मात्र पाउँछन् भनेपछि मेरा मनमा ठुलो कसरी बन्ने भन्ने होला भनी हुटहुटी जगाइदिनुभयो ।
५६ सालको चुनाव आयो । मान्छेहरु आफ्ना नेताको चुनाव प्रचारमा दिलो ज्यानले लागेका थिए । कतै सूर्य, कतै रुख, कतै हलो, गिलाससँग जोडिएका मान्छेका पोस्टरले बिजुलीका पोल, बिक्रम ट्याम्फुका भित्ता, चौपारीका पिपल ढाकिएका थिए । चुनावमा जिताए देशको माहोल फेरिने भन्दै मान्छे आफ्ना–आफ्ना नेताका तारिफ गर्थे र मान्छेका हुल जोडले थपडी बजाउँथे ।
आफ्ना घरका भित्तामा टाँस्नु भनेर छिमेकी काकाले दिएका पोस्टर दिदीका किताबका गाता बनेका थिए, जसमा भएका मान्छेमा मैले लुकीलुुकी जुँगा दाह्री थपिदिन्थे । त्यसो गर्दा मलाई पापको कुनै भय थिएन किनकी त्यसमा राजा थिएनन् । मलाई लाग्यो चुनाव जित्नलाई उनलाई प्रचार प्रसार गर्नै पर्दैन । उनलाई कस्ले चिन्दैन र ? जसलाई कसैले चिन्दैन उनैलाई प्रचार प्रसारको आवश्यकता पर्दछ ।
तर मेरो मनले मानेन । राजाका लागि चुनाव प्रचार मैले गर्नैपर्ने भन्ने कर्तव्य बोध भयो । तर चुनाव प्रचार प्रसार एक्लैले हुँदैनथ्यो । त्यसैले एकदिन लुकामारी खेल्न जम्मा भएका सबै साथीहरुलाई जम्मा गरेर मैले आफ्नो योजना सुनाएँ । राजाका पराक्रमका कथा सुनाएर जम्मा भएका सबैलाई राजालाई भोट हाल्न राजी गराएँ र आफ्ना आमाबुवालाई पनि फकाउनु भन्ने आदेश दिएँ ।
अर्को दिन स्कुलको बिहानी प्रार्थनाको लाइनमा उभिएर रुद्रघण्टी च्यातिने गरी ‘श्रीमान गम्भिर नेपाली ….’ गाउँदै गर्दा पछाडिबाट बिमलले कोट्याउँदै भन्यो, “ ओइ ! भोट हाल्न त अठार बर्ष पुग्न पर्छ रे अनि मेरा बाले गिलासमै भोट हाल्ने रे ।”
म निराश हुँदै आफ्ना प्रार्थना गर्न जोडिएका हातका औँला गनेँ । भोट हाल्न लायक हुन अझै एघार बर्ष बाँकी रहेछ । त्यस दिन साँझ अगेनाको छेउमा बसेर दुध तताउँदै गरेका मेरा बालाई मैले मलिन स्वरमा फेरि एक पटक अनुरोध गरेँ, “ बा ! हजुरले जसरी भए नि राजा भोट हाल्नु है ।” मेरा रसाएका आँखा र मलिन अनुहार देखेर बाले फिस्स हाँस्दै सहमति जनाउनु भयो ।
दसैं तिहार जसरी आएको चुनाव पनि एकदिनमै सकियो । चुनावको केही दिनपछि सडकमा घडा राखेर, स्वागतम् लेखेर, केरा र बाँसका गेट बनाएर गाउँलाई सिँगारियो ।
“आज बा चुनाब जितेको मान्छेलाई लिन जानू भा छ”, राजेशले फुर्ती लगाउँदै भन्यो । राजा गाउँ आउँदैछन भन्ने थाहा पाउँदा मेरा खुट्टाले भुइँ छाडे ।
“सँगै आउने हो ?”
“अँ ! एउटै गाडीमा ”
“सँगै एउटै सिटमा बसेर ?”
उसले हो भन्ने इशारामा टाउको हल्लायो र मलाई पहिलो पल्ट उ ठुलो मान्छेको छोरो हो भन्ने कुराको जानकारीले उप्रति ईर्ष्या जाग्यो । मेरा बा पनि लिन गएको भए बाको नजिक जाने बहानाले राजालाई त छुन पाउँथे । मलाई थकथकी लाग्यो ।
करिब एक घण्टाको कुराईपछि गाडीका लावालस्कर आए । अघिसम्मका मधुरा नाराहरु बुलन्द भए । मानिसहरु गाडीका अगाडि झुम्मिए । अघिसम्म मान्छेका कालासेता गाला राता अबिरले छोपिए । राजालाई हेर्न म भीड छिचोल्दै अघि बढेँ । अलि पर कुर्सीमा अबिरले अनुहार नचिनिने अनुहार देखेँ । त्यो रातो आकृतिको चित्रमा जस्तो काला जुँगा थिएनन् न त उसको शिरमा ढाका टोपी नै थियो । जति जति अघि बढ्यो मलाई त्यो आकृति राजाजस्तो लाग्न छाड्यो ।
“राजा यिनै हुन् ?”, आफ्नो धैर्यताको बाँधलाई भत्काएर मैले छिमेकी दाइलाई प्रश्न गरेँ ।
“अँह होइनन्”, दाइले लगाई राखेको नारा रोकेर मेरो जवाफ फर्काए । मेरो मनमा चिसो पस्यो ।
“यो को हो त ?”, मैले अब आदर गरिराख्न पर्ने आवश्यक ठानिंन ।
“खुमबहादुर खड्का !”
मेरा ओठमुख सुके । चक्कर आउला जस्तो भयो । त्यो रक्ताम्मे आकृतिसँग घोर घृणा जागेर आयो । म हतार हतारमा भीड छिचोलेर बाहिर निस्किएँ । “खुमबहादुर दाइ हाई हाई, पर्सेलाई बाई बाई”, भन्दै लगाइएको नाराको अर्थ बुझेपछि मेरा लागि त्यो फगत ध्वनि प्रदुषण भन्दा बढी केही भएन । त्यो राजाको हारमा रमाउने देशद्रोहीहरुले लगाएको नारा थियो । ‘सायद यी नै माओवादी हुनुपर्छ’ मेरो मनले अड्कल काट्यो ।
बाको अगाडि पुग्नासाथ मेरा आँखाबाट बर्बरी आँशु बगे । मेरा थरथरी काँपेका ओठबाट एउटा कारुणिक आवाज निस्कियो,“ बा ! राजाले त चुनाव हारे !”