Logo

सादा जीवनका उत्कृष्ट प्रेमचन्द



Spread the love

साहित्यमा प्रेमचन्द चिरपरिचत नाम हो । भारतका उत्कृष्ट कथाकारहरुका पङ्क्तिमा उनी सजिलै उभिन्छन् । भारतीय साहित्यका उनी नक्षत्र पनि हुन् जो पृथ्वी रहुन्जेलसम्म चम्किरहनेछन् ।

प्रेमचन्दको जन्म सन् १८८० को जुलाइ ३१ म बनारसदेखि चार मिल टाढा लमही गाउँमा भएको थियो । उनी अति सामान्य परिवारमा जन्मिएका थिए । उनको खास नाम धनपतराय थियो । उनी आठ वर्षको छँदा उनकी आमाको मृत्यु भयो । त्यसपछि उनले जीवनको अन्त्यसम्म विभिन्न किसिमका विषम परिस्थितिको सामना गर्नुपर्यो । आमाको मृत्युपश्चात् उनका बुवाले दोस्रो विहे गर्दा उनले बालप्रेम कस्तो हुन्छ अनुभव गर्न पाएनन् । उनको घरमा गरिबीले निकै गालेको थियो । त्यसमा पनि सौतेनी आमाको व्यवहार ।

प्रेमचन्दको विहे १५ वर्षको उमेरमा नै भयो । उनकी पत्नी उनीभन्दा जेठी अनि कुरुप थिइन् । पत्नीको कुरुपता र बोलीले उनको जलेको घाउमा नुन हाल्ने काम गर्यो । उनले लेखेका थिए कि,“उ मभन्दा धेरै जेठी थिई । जब मैले उसको अनुहार देखेँ तब मेरो रगत उम्लिएको थियो । यसको साथसाथै उसको बोली पनि कर्कश थियो । आफ्नो विवाहको फैसलालाई लिएर बुवाको बारेमा लेखेका थिए,“पिताजीले जीवनको अन्तिम वर्षमा एउटा ठक्कर खाए । उक्त ठक्करले उनलाई मात्र असर गरेन । मलाइ पनि गर्यो । मेरो विहे नसोचिकनै गरिदिए । यद्यपि पिताजीलाई यस बारेमा भने ज्ञात भयो अनि पछुताउनु भएको थियो । ”

उनले बिहे गरेको एक वर्षपछि नै पिताको मृत्यु भयो । अचानक उनको शिरमा घरको सम्पूर्ण बोझ आयो । आफूसँगै पाँच जनाको परिवार धान्नु पर्यो । सौतेनी आमा र उनका दुई सन्तान, आफू अनि आफ्नी श्रीमती ।

यस घटनालाई अनुमान गरेर बुझ्न सकिन्छ कि उनको जीवनमा कति संकट आएको थियो । त्यति बेला उनी जम्मा १६ वर्षका थिए । सम्भवत १६ वर्षको उमेर पढ्ने, खेल्ने उमेर हो तर प्रेमचन्दमा यो नसिब थिएन । जीवनयापन गर्ने क्रममा उनले कोट अनि पुस्तक बेच्नुपर्यो । एकचोटि त यस्तो दिन आयो कि उनले सबै किताबहरु लिएर स्टेशनरीमा गए । जहाँ उनको एक प्रधानाध्यापकसँग भयो । उनले आफ्नो स्कुलमा शिक्षक पदमा नियुक्त गरे ।

गरिबीको बाबजुत पनि प्रेमचन्दले मैट्रिक्ससम्म पढे । जीवनको सूरुवाती कालमा उनी नाङ्गा खुट्टा लिई गाउँदेखिको टाढा बनारस पढ्न जान्थे । यसै बेलामा उनका बुवाको मृत्यु भयो । पढेर वकिल बन्ने लक्ष्य थियो । गरिबीले उनको सपनालाई पुरा गर्न दिएन । स्कुल आउने अनि जाने कामदेखि वाक्क भएर उनले एक वकिलसाहबकोमा ट्युशन पढाउन थाले । वकिललै घरमा बसेर पढ्न थाले । ट्युसन पढाएवापत् उनलाई पाँच रुपैयाँ पाउँथे । जसमध्ये उनले तीन रुपैयाँ घरमा दिन्थे भने दुई रुपैयाँ आफ्नो जीवनको डुङ्गा चलाउन प्रयोग गर्थे । दुई रुपैयाँले के महिनाभर के चल्थ्यो र ? जसोतसो गरेर उनले मेट्रिक्स पास गरे ।

गरिबी, अभाव, शोषण तथा उत्पीडनबाट गुज्रिरहे पनि प्रेमचन्दको साहित्यतर्फ झुकाब हटेको थिएन । उनले बाटै उपन्यास पढ्न सुरु गरेका थिए ।

उनलाई बच्चाबाट नै उर्दु भाषा आउँथ्यो । उनलाई उर्दु उपन्यासको नशा यसरी छाएको थियो कि स्टेशनरीमा नै बसेर सबै पढी सकाउँथे । तीन सालमा नै उनले सयौँ उपन्यास पढे ।

उनले बच्चा बेलामा उर्दुको समकालीन उपन्यासकार सरुर मोलमा शार, रतन नाथ सरशार यति मन पर्थे कि उनले जसरी भए पनि यी दुईका किताब खोजी खोजी पढ्थे ।

उनकाे किताबको यति नशा थियो कि एकचोटि उनले तम्बाकुवालासँग मित्रता गाँसेका थिए ।

उनको समयका विदेशी उपन्यासकार रोनाल्डको उर्दुमा अनुवाद गरेको किताब सानै उमेरमा पढेका थिए । ठुला ठुला उपन्यास पढे पनि उनले विषयवस्तु आफ्नो व्यक्तिगत जीवनको अनुभवमा नै सीमित राखे ।

तेह्र वर्षको उमेरमा नै उनले लेख्न सुरु गरेका थिए । सुरुमा उनले नाटक लेखे अनि त्यसपछि उर्दुमा उपन्यास लेख्न आरम्भ गरे । यसरी उनको साहित्यिक यात्रा सुरु भयो ।

पहिलो श्रीमतीले घर छाडेर गएपछि उनले दोस्रो विहे गरे । पहिलो श्रीमतीसँग बिच्छेद भएपनि केही वर्षसम्म उनले पहिलो श्रीमतीलाई खर्च पठाइरहेका थिए । सन् १९०५ मा उनले दोस्रो श्रीमतीको रुपमा शिवरानीसँग विहे गरे । शिवरानी एक बाल विधवा थिइन् ।

दोस्रो विहेपछि उनले जीवनमा केही राहत पाए । आर्थिक समस्याले सताउन छाड्यो अनि लेखनमा बढी सक्रिय हुन थाले । त्यसपछि उनले पाँच कथाको संग्रह सोजे वतन प्रकाश प्रकाशन गरे । यो कथा संग्रह निकै मन पराइएको थियो ।

सादा जीवनमा नै मस्त रहने प्रेमचन्द जीवनका विषम परिस्थितिको डटेर सामना गरे । विषम परिस्थितिसँग पौठाजोरी खोजेर भए पनि जितेरै छाडे ।

उनको हृदयमा मित्रको लागि उदार भावना थियो । यसै गरी गरिब एवंम पीडितको लागि पनि सहानुभूतिको सागर थियो । उनले आफ्नो वास्ता नगरी आफ्नो प्रेसमा काम गर्नेलाई पैसा दिन्थे ।
उनलाई आफ्नो जीवनसँग निकै प्रेम थियो । उनी सधैं साधारण घरमा बसे । जीवनको अधिकांश भाग उनले गाउँमै बिताए । बाहिरबाट साधारण देखिने प्रेमचन्दको भित्र भने जीवन शक्तिको अधिपति थिए । जसले उनलाई भित्री हृदयबाट देख्थ्यो, उ उनबाट प्रभावित हुन्थ्यो । उनले जीवनमा कहिल्यै आडम्बर देखाएनन् । न त जीवनमा विलासितालाई भित्राए ।

जीवनप्रति अगाढ आस्था भए पनि अनेकन विषम परिवेशको कारणले गर्दा ईश्वरको बारेमा उनी आस्थावादी बन्न सकेनन् । विस्तारै उनी अनिश्वरवादी बने ।

एक चोटि उनले जैनेन्दजीलाई लेखे,“तिमी आस्तिकताको नजिक जाँदै छौ । जाँदै छौ पक्कै पनि भक्त बन्न जादै छौ । म नास्तिक बन्ने कुरामा कुनै सन्देह छैन ।”

मृत्यु हुनुभन्दा केही घण्टा पहिला उनले जैनेन्द्रजीलाई भनेका थिए,“ जैनेन्द्र, यस्तो समयमा मानिसहरु ईश्वरको याद गर्छन् । मलाइ पनि याद आयो । तर मलाइ अझै पनि ईश्वरलाई कष्ट दिने आवश्यकता रहेको छैन ।”

प्रेमचन्दले १३ वर्षको उमेरमा हुने विरुवाको चिल्लो पात नाम नामक नाटक लेखे ।

गोदान, प्रतिज्ञा, निर्मला, शत्रन्ज के खेलाडी जस्ता उत्कृष्ट उपन्यास लेखे । यसै गरी उनले लेखेका कथाहरुमा बडे घरकी बेटी, रानी सारन्धा, नमक का दरोगा, सौत, आभूषण उत्कृष्ट थिए ।

सन् १९३६ मा उनी बिरामी परे , यस अवस्थामा उनले प्रगतिशील लेखक संघको स्थापनाको लागि पैसा दिए । आर्थिक संकटको कारणले उनको उपचार राम्रोसँग हुन पाएन । जीवन अभावमा बिताएर सन् १९३६ को अक्टुबर ८ मा उनले यस संसार छाडेर गए । उनले संसार छाडेपनि हिन्दी साहित्यमा आफ्नो नाम सदाको लागि लेखेर गए ।

प्रतिक्रिया दिनुहोस्