नविन ज्ञवाली साहित्यलाई माया गर्ने एक सचेत पाठक हुन् । यो साताको सल्लेरी वार्तामा हामीले उनै ज्ञवालीसँग पुस्तक–चलचित्रको वार्ता गरेका छौँ ।
१.सर्वप्रथम पढेको किताब ?
सानो छँदा ह्यारी पोर्टर सिरिजको कुनै पुस्तक पल्टाएजस्तो लाग्छ तर खास सम्झना छैन । सम्झना भएको सुरुको पुस्तक भने पारिजातको शिरीषको फूल हो ।
२.सबैभन्दा बढी पढेको किताब ?
अर्नेष्ट हेमिङ्वेको ओल्ड म्यान एण्ड द सी, हेस्सेको सिद्धार्थ अनि लामिछाने र देवकोटाका निबन्ध संग्रहहरु बारम्बार पढिरहेको हुन्छु । जिब्रानको द प्रोफेट र मदनमणि दिक्षीतको मेरी निलिमा पनि यहीं सूचिमा पर्दछन् । यी पुस्तकहरुले मलाइ निकै गहिरो प्रभाव पारेका छन् । यी पुस्तकहरुले नै मलाइ जीवित राखेका छन् । अरु पुस्तकको तुलनामा मलाइ यी पुस्तकको विशेष महत्वका लाग्दछन् ।
३. कस्ता खालका किताबहरु रोजाइमा पर्छन् ?
फिक्सन, ननफिक्सन दुबै। पुस्तक किन्दा वा पढ्दा निकै रोजेर पढ्ने गर्छु तर त्यो रोजाइको प्रक्रिया भने मैले बुझ्न सकेको छैन । कुनै बेला भए भरका निबन्ध संग्रह पढेर सक्न मन लाग्छ भने कहिले जादूले भरिएको यथार्थ फिक्सन पढ्न मन लाग्छ ।
४.किताबले समाजको प्रतिनिधित्व गर्नु पर्दछ भन्ने गरिन्छ ? समाजको प्रतिनिधित्व कत्तिको गरेको पाउनु हुन्छ ?
यो प्रश्नमा भने मेरो विमति रहेको छ । समाजको प्रतिनिधित्व गरिनु पर्दछ भन्ने मलाइ चैं लाग्दैन । लेखकको उद्गम थलो समाज र समाजले जन्माएको मनोविज्ञान हो । अब यदि लेखक पूर्ण इमान्दार छन् भने समाजका प्रतिविम्बहरु देख्न सकिन्छ । त्यसैलाई पछि कुनै समालोचकले समाजको प्रतिनिधित्व गरिनु पर्दछ भनी सिद्धान्त बनायो होला तर म यस कुरालाई स्वीकार गर्दिन ।
५.नेपाली साहित्यमा कुन–कुन विधाको किताब कमी पाउनु हुन्छ ?
नेपाली साहित्यको अध्ययन गर्ने हो भने निकै फराकिलो रहेको छ तर यसको प्रयाप्त अध्ययन नै नभएको जस्तो मलाइ लाग्छ । अहिलेको साहित्यिक समयलाई मात्र हेर्ने हो भने केही खस्किदो देखिन्छ । अनि नेपाली साहित्यमा पहुँचवालाको मनमानी पनि रहेको छ । साहित्य सीमित व्यक्तिले मात्र पढ्ने कुरा हुँदैन । साहित्य रहरको विषय पनि होइन । कसैले जीवनमा रहर लागेर एउटा किताब लेख्छु भनेर विकास हुँदैन । नेपाली साहित्य जुन अनुपातमा फैलिनु पर्ने हो, त्यो अनुपातमा फैलिन सकेको छैन । नेपाली साहित्यमा पनि सिन्डिकेट देखिन्छ । यसलाई पनि हटाउनु आवश्यक देखिन्छ ।
६.सरकारले किताबमा कर लगाएको छ । यस बारेमा तपाईं के भन्नुहुन्छ ?
मुर्खताको उच्चतम उदाहरण । मस्तिष्कमा भुसा भरेर बिर्कोले छोपिदिएपछि यस्तै यस्तै तर्कहीन उपायहरु आउनेछन् । सरकारले दूर्गम भूभागमा कसरी सहज पुस्तक पुर्याउन सकिन्छ भनेर सोच्नुपर्दछ । जहाँ पुस्तकालयहरु प्रायः शून्य छन् । अब किताबलाई सर्वसुलभ बनाउने बेलामा किताबमा कर लगाइ विद्यार्थीको नैसर्गिक अधिकार खोसिदिएको छ । यो नितान्त गलत कदम हो । चाँडै नै किताबमाथिको कर हटाइयोस् ।
७. सर्वप्रथम हेरेको चलचित्र ?
त्यो त याद छैन तर मलाइ बच्चा बेलामा नै चलचित्रप्रति रुचि रहेछ । अहिले आएर बल्ल थाहा पाउँदै छु । कुनै दिन म पनि चलचित्र बनाउने छु ।
८. सबैभन्दा बढी हेरेको चलचित्र ?
ला डोल्स भिट्टा, ओम दर–ब–दर, देयर विल बी ब्लड र मसान ।
९. कस्ता खालका चलचित्रहरु हेर्नुहुन्छ ?
चलचित्र पनि पुस्तक छानेजस्तो गरी हेर्ने गर्दछु । म यहीं जनरा हेर्छु भन्ने छैन तर म अचेल आर्ट चलचित्रप्रति बढी झुकाब भएको पाउँछु ।
१०.नेपाली चलचित्रको विकास नहुनुको कारण ?
नेपाली चलचित्रको विकास नहुनुको कारण खासमा सृजनात्मक चेत नहुनुलाई म मान्छु । चलचित्रलाई बुझ्ने मानसिकतामा नै खराब छ । लगानी नहुनु, प्रविधि नहुनु भनी चलचित्रकर्मीहरु पन्छिने बाटो गरिरहेका छन् । थोरै लगानीमा बनेका चलचित्रहरु पनि राम्रा बनेका छन् ।